विकासन्युज

प्रदेश नं २ मा ३ बजेसम्म ६३ प्रतिशत मतदान

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा अपराह्न ३ बजेसम्म करिब ६३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र जेइओसीबाट प्राप्त पछिल्लो जानकारीअनुसार सिरहा, बारा, रौतहट र धनुषामा ६५, महोत्तरीमा ६२ तथा सप्तरी, पर्सा र सर्लाहीमा ६० –६० प्रतिशत मतदान भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने जानकारी आयोगले दिएको छ ।रासस

हवाई मार्गले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित

चितवन । देशका प्रमुख चार पर्यटकीय शहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ । काठमाडौँबाट तीन वटा शहरमा हवाई यातायात सुविधा भए पनि एक शहरबाट अर्को शहरमा सिधा हवाई सेवा थिएन । अहिले पोखरा–भरतपुर र पोखरा–भैरहवा हवाई सेवा शुरु भएको छ । बुद्ध एयरले यी तीन शहर हवाई यातायातमार्फत् जोडेको हो । यससँगै छोटो समयका लागि नेपाल आउने विदेशी पर्यटक लाभान्वित हुने भएका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे नारायणगढ–मुग्लिन सडक बिग्रिएको अवस्थामा पोखरासँग हवाई यातायातले जोडिंदा निकै उत्साहित भएको बताउँछन् । यहाँ आएका पर्यटक हवाई माध्यमबाट पोखरा जान थालेको र पोखराबाट यहाँ आउन थालेको उनले बताए । चितवन आएका पर्यटक पनि पोखरा हुँदै लुम्बिनीसम्म जहाजमै जानसक्ने भएका छन् । यसअघि काठमाडौँबाट जुन शहरमा गए पनि पुनः काठमाडौँ गएर अर्को शहरमा जानुपर्ने बाध्यता रहेको थियो । पछिल्ला वर्षमा विदेशीको तुलनामा नेपाली पर्यटकको संख्या उल्लेख्य रहेको छ । हवाई सुविधासँगै नेपाली पर्यटक पनि एक अर्को गन्तव्यमा आवतजावत गर्न थालेको घिमिरेले बताए । चितवनमा चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न र यहाँका थारु संस्कृति हेर्न वर्षेनी २ लाखको हाराहारीमा पर्यटक आउने गर्दछन् । पोखराबाट चितवन पर्यटक पठाउन अप्ठ्यारो परिरहेको अवस्थामा हवाई सम्बन्ध जोडिएपछि पोखरेली पर्यटन व्यवसायी पनि खुशी भएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन सडकका कारण समस्या भइरहेका बेला हवाई सम्बन्ध जोडिएपछि समग्र नेपालको पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताउँछन् । चारवटै सहरसँगको ‘एयर कनेक्टिभिटी’पछि स्तरीय पर्यटक बढ्ने उनको अनुमान छ । छोटो समयका लागि नेपाल आउने पर्यटकले महत्वपूर्ण पर्यटकीय गन्तव्य घुम्न पाउने उनले बताए । नारायणगढ–मुग्लिन सडकका कारण दयनीय अवस्थामा रहेको चितवनको पर्यटनलाई पनि यसले उकास्ने तुलाचनको भनाइ छ । पोखरामा वर्षेनी चार लाखको हाराहारीमा विदेशी पर्यटक आउने गर्दछन् । पोखरा र चितवनमा होटल सञ्चालन गर्नेको संख्या पनि बढ्दो छ । त्यसमध्येको एक होटल बाराहीका प्रबन्ध निर्देशक विप्लव पौडेल प्रमुख शहरमा हवाई सम्बन्ध जोडिएसँगै व्यवसायिक हिसाबले फलदायी हुने बताउँछन् । पोखराका पर्यटक चितवन ल्याउन र चितवनका पर्यटक पोखरा लैजान हवाई मार्ग उपयोगी हुने उनको भनाइ छ । भारतीय ट्राभल्स एजेन्सीले बुद्धको जन्मभूमि भन्दै लुम्बिनीसम्म पर्यटक ल्याएर त्यहीँबाट फर्काउने गरेका छन् । जसका कारण लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई पनि आफू नेपाल आएको थाहासम्म नहुने गरेको छ । सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ सहज हवाई सम्बन्ध नेपालका पर्यटकीय गन्तव्यमा हुनसकेमा सोझै पर्यटक आउने बताउँछन् । एक रातसम्म नेपाल नबसी बिहान आएर बेलुका लैजाने भारतीय ट्राभल्सका कारण अन्य शहरमा पर्यटक नजाने गरेको उनले बताए । भिसा लगाउन नपार्ने भएपछि भारत हुँदै आएका पर्यटकलाई लुम्बिनी कुन देशमा पर्दछ भन्नेसमेत थाहा नभएको उनको भनाइ छ । बुद्धको दर्शन गर्न आउने पर्यटकले पोखरा, सौराहा र काठमाडौँका पर्यटकीय स्थलको दर्शन गर्ने अवसर एयर कनेक्टिभिटीबाट प्राप्त हुने उनले बताए । लुम्बिनीमा म्यानमार, थाइल्याण्ड, भियतानाम, श्रीलंका, कोरिया, जापान, चीनलगायतका देशबाट आउने बौद्ध धर्मावलम्बी त्यहीँबाट फर्किने गरेका छन् । यातायातको सुविधा प्रबद्र्धन गर्न सकेमा ती पर्यटक सोझै यहाँ आउने र प्रमुख गन्तव्यको भ्रमण गर्ने पनि उनले बताए । सन् २०१६ मा लुम्बिनीमा १ लाख ३६ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म १ लाख ५६ हजार पर्यटक भित्रिएका छन् । होटल एसोसिएसन अफ नेपाल हानका महासचिव विनायक शाह पर्यटकीय शहरको बीचमा हवाई यातायात हुँदा पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने बताउँछन् । सानो जहाजबाट यातायात जोडेको भए पनि यात्रुको चाप बढाउन सकेमा ठूला जहाज चल्ने बताउँदै उनले छोटो समयका लागि आएका पर्यटकलाई धेरै ठाउँमा देखाउन सकिने पनि बताए । विदेशी ट्राभल एजेन्सीहरुले आफ्नो नेपाल आउने भ्रमण प्याकेजमा चितवनलाई हटाउने गरेकामा अब सहज भएको उनले बताए । हाल बुद्ध एयरले मात्र सेवा विस्तार गरेकामा अन्य एयरलाइन्सलाई पनि यसमा आकर्षित गर्नुपर्ने शाहको भनाइ छ । सन् २०१६ मा नेपालमा सात लाख ५३ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म चार लाख ५० हजार पर्यटक नेपाल भित्रिएको बताउँदै उनले यो वर्ष नौ लाखको हाराहारी पर्यटक भित्रिने अपेक्षा गरिएको बताए । यसअघि सन् २०१२ मा सबैभन्दा बढी आठ लाख तीन हजार पर्यटक नेपाल भित्रिएका थिए । नेपालको पहिलो पर्यटकीय गन्तव्य काठमाडौँ हो भने दोस्रो पोखरा, तेस्रो चितवन र चौँथो लुम्बिनी हो । रासस  

बैंकिङ प्रणालीमा तरलता बढ्यो, बजारबाट ५ अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौं । बजारमा लगानीयोग्य पुँजी तरलता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट पैसा उठाउन थालेको छ । बैंकले रिभर्स रिपोमार्फत प्रतिस्पर्धाबाट एक साताका लागि बुधबार ५ अर्ब रुपैया तरलता प्रशोचन गर्न लागेको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको रकम प्रशोचन सुरु गरेको हो । गत साता राष्ट्र बैंकले १ अर्ब रुपैयाँ तरतला प्रशोचन गरेको थियो । बजारमा अझै ७० अर्ब रुपैयाँ बढी तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि निक्षेपको ब्याज दर पनि घट्न थालेको छ । बैंकले सस्तो दरमा कर्जा दिन थालेका छन् । तरलता अभाव भएपछि गत वर्ष बैंकले १३ प्रतिशत ब्याजमा निक्षेप उठाएका थिए ।

टाटा मोटर्सको नयाँ शोरुम भैरहवामा

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लिले टाटा पेसेन्जर भेहिकलहरुको लागि भैरहवामा नयाँ आधिकारिक शोरुम बुद्धम अटोमार्ट संचालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन हालै आयोजित एक कार्यक्रममा गरिएको हो । शोरुममा टाटाका विभिन्न मोडेलका कारहरुको विक्री वितरण गरि स्थानीय ग्राहकहरुलाई विक्री को समय र विक्री पश्चातका सेवाहरु सहज रुपमा प्रदान गर्ने कुरा बुद्धम अटोमार्टका प्रतिनिधिले जानकारी गराएका छन् । सिप्रदी ट्रेडिङ्ग भारतको सुप्रसिद्ध गाडी निर्माता कम्पनी टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक हो । पेसेन्जर भेहिकल अन्तर्गत नेपालमा टाटा मोटर्सको प्रमुख आकर्षणहरुमा बजारको प्रमुख मल्टी यूटीलिटी भेहिकल, सुमो गोल्ड, कम्प्याक्ट सेडान वर्गमा बजारमा उत्कृष्ट जेस्ट, नेपालको पहिलो मल्टी ड्राइभ ह्याच बोल्ट, टियागो र स्टाइलब्याक टिगोर आदि रहेका छन् ।

१५ दिनदेखि बीमा संस्थान प्रमुृखविहीन, नियुक्तिमा ढिलाइ

काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानमा नयाँ प्रशासक नियुक्तिमा ढिलाइ गरेको छ । गत भदौ १९ गतेदेखि प्रशासक आश्विनीकुमार ठाकुरको पदावधि सकिएपछि अहिले संस्थान प्रमुखविहीन भएको छ । हाल निमित्त प्रशासकको रुपमा सुरेन्द्र थापाले जिम्मेबारी सम्हालेका छन् । स्थानिय तहको निर्वाचन आचारसंहिता र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अमेरिकामा रहेकाले नियुत्तिको प्रक्रिया रोकिएको हुन सक्ने अर्थ मन्त्रालयका प्रवत्ता अर्जुनप्रसाद पोखरेलले बताए । नियुत्तिका लागि अर्थले सूचना प्रकाशित गर्नुपर्नेमा हालसम्म नभएको उनले स्पष्टपारे । यता संस्थानका अध्यक्ष डा. खोमराज खरेलले पनि संस्थानमा प्रशासक नियुक्तिको प्रक्रिया सुरु नभएको बताए । औपचारिक रुपमा नियुक्ति भएको जानकारी नपाएको उनले स्पष्टपारे । संस्थानमा ०६८÷०६९ देखियताको लेखापरीक्षण भएको छैन् । महालेखा परीक्षकको कार्यलयले लेखापरीक्षक पठाएर परीक्षणको काम सुरु गरेको छ ।

‘ली मोबी क्यर सेन्टर’ नेपाली बजारमा, ग्राहकलाई तत्काल सेवा दिने

काठमाडौं । ली मोबी क्यर(एलएमसी) सेन्टरले कुलप्याड स्मार्टफोन र ओट्टो फोनको लागि पहिलो आधिकारिक सर्भिस सेन्टर  राजधानीको सीभिल मलमा विस्तार गरेको छ । यसको उद्देश्य ग्राहकलाई तत्काल सेवा सुविधा उपलब्ध गराउनु हो । जाइमा इन्टरकन्टिनेन्टल प्रालि (जेआइपीएल) का अध्यक्ष गणेश बहादुर श्रेष्ठले सोमबार सो सेन्टरको उद्घाटन गरेका हुन् । यसले कुनै पनि देशबाट पर्सनल डीजिटल इलेक्ट्रोनिक्स खरिद गरेको पीडीइ ग्राहकलाई सेवा दिने कम्पनीले जनाएको छ । यो कम्पनीले ग्राहकलाई न्युनतम टर्नअराउन्ड टाइममा अधिकतम सन्तुष्टि प्रदान गर्न कुलप्याड स्मार्टफोन प्रयोगकर्ताको लागि ९० दिन निःशुल्क सेवा सुविधा दिने भएकोे छ भने ओट्टो फोनको प्रयोगकर्ताले ४५ दिनको निःशुल्क सेवा दिने जानकारी दिएको छ । यस सेवा हरेक हप्ता १० देखि ६ बजेसम्म खुल्ला हुने एलएमसीले जानकारी दिएको छ ।

सेयर बजारमा ४६ करोडको कारोबार, विशाल बजारको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं । सोमबारको सेयर बजारमा ४६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ११ करोड रुपैयाँ घटि हो । अघिल्लो दिन (आइतबार)को सेयर बजारमा ५७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । कारोबार रकम सँगैै सोमबारको नेप्से परिसूचकमा पनि गिरावट आएको छ । सो दिन नेप्से परिसूचक ४ दशमलब २४ अंकले घटेर १५४३ अंकमा झरेको छ । नेप्से र कारोबार दुबैमा गिरावट आएको दिन पनि बिशाल बजारको सेयर मूल्यमा करिब १० प्रतिशत वृद्धि भएको छ । सोमबार ९.९८ प्रतिशतले सेयर मूल्य बढेको यस कम्पनीको प्रतिकित्ता सेयर २७०१ रुपैयाँमा कारोबार भएको छ । बजारमा सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर करोबार भएको छ । यस बैंकको २ करोड रुपैयाँ बढीको सेयर करोबार भएको छ । सो दिन बैंकको प्रतिकित्ता सेयर मूल्य १२३२ रुपैयाँ रहेको छ । त्यस्तै, उतार चढाव रहेको सेयर बजारमा तीन समूहको परिसूचक उकालो लागेका छन् भने अन्य बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । ट्रेडिङ २०, हाइड्रोपावर १४ र उत्पादनमूलक २ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक २० अंकले घटेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको आईपीओ ल्याउने योजना अलपत्र

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको साधारण सेयर (आईपीओ) ल्याउने योजना अलपत्र परेको छ । अर्थ मन्त्रालयले प्रक्रिया अघि नबढाएपछि बैंकको आईपीओ निष्कासन योजनामा ढिलाइ भएको हो । तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराका पालामा आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढेको थियो । वाणिज्य व्यवस्थापनले आईपीओ निष्कासन मापदण्डलगायत अन्य कामका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । तर अर्थले हालसम्म यसको कुनै निर्णय गरेको छैन् । “वाणिज्य बैंकको आईपीओ तत्काल नआउने अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख गणेशप्रसाद पाण्डेले बताए । प्रस्ताव आएपनि यस विषयमा छलफल र प्रक्रिया अघि नबढेको उनले स्पष्टपारे । “प्रक्रिया नै सुरु नभएकाले आईपीओ आउने संभावना देखिन्न” उनले भने । यता वैंकका प्रवत्ता तथा नायवमहाप्रवन्धक किरणकुमार श्रेष्ठ आईपीओ निश्कासनका लागि मन्त्रालयमा प्रस्ताव गएपनि हालसम्म प्रतिक्रिया नआएको बताए । यता वाणिज्य बैंकमा एनआईडिसी डेभलपमेन्ट बैंक गाभिने भएको छ । एनआईडीसी गाभ्ने (मर्जर) सम्बन्धमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसकेको छ । आउदो माघ १ गते देखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।