विकासन्युज

नेपाल इन्भेष्टमेन्ट बैंकको असोज १८ गतेदेखि २१ दिन बुक क्लोज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको आगामी असोज १८ गतेदेखि २१ दिन बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभा प्रयोजनको लागि असोज १८ गतेदेखि कात्तिक ७ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको ३१औँ वार्षिक साधारणसभा आगामी कात्तिक ७ गते हुने भएको छ । उक्त साभामा बैंकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने विशेष प्रस्ताव लैजाँदै छ । बैंकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरि सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैंककाे चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँ छ । चुक्ता पुँजीकाे २५ प्रतिशतले कायम हुन आउने २७ करोड ५७ लाख २३ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको बैंकले जनाएकाे छ । सञ्चालक समितिकाे निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको बोनस पाउने छन् ।

सननेपाल लाइफ इन्स्योरेन्सको उद्घाटन शुक्रबार हुँदै, अब ११ वटा जीवन बीमा कम्पनी सञ्चालनमा

काठमाडौं । शुक्रबारदेखि नयाँ जीवन बीमा कम्पनी सञ्चालनमा आउने भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ गर्ने भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले कमलादीस्थित यस कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेर सेवा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । २ अर्ब चुक्ता जारी पुँजी राखेर खुल्न लागेको यस कम्पनीको अध्यक्षमा अनुज कायल छन् भने महाप्रबन्धक कमलराज गौतम रहेका छन् । यस कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ । कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्नेछ ।

तरलता बढेपछि राष्ट्र बैंकले बजारबाट पैसा उठाउन थाल्यो, निक्षेपको ब्याज दर पनि घट्दै

काठमाडौं । बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) बढेपछि यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले रिभर्स रिपो उपकरणमार्फत धमाधम बजारबाट पैसा उठाउन थालेको छ । अघिल्लो साता १ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको राष्ट्र बैंकले आज बुधबार बजारबाट थप ५ अर्ब रुपैयाँ उठाउदै छ । यो रकम एक सातालाई उठाएको केन्द्रीय बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्न थालेका प्रवत्ता नारायणप्रसाद पौडेल बताउछन् । राष्ट्र बैंकले बढी भए बजारबाट प्रशोचन र कम भए बजारमा पैसा पठाउने काम गर्दे आएको उनको भनाई छ । पौडेलले बैंकिङ प्रणालीमा ७० अर्ब रुपैयाँ बढी तरलता रहेको  जानकारी दिए । तरलता बढ्दै गएपछि बैंकले धमाधम मुद्धती निक्षेपको ब्याज दर घटाउन थालेका छन् । गत वर्ष मुद्धति ब्याज दर १३ प्रतिशत बढी भएकोमा अहिले घटेर ९ प्रतिशत हारहारीमा आएको छ । निक्षेपको ब्याज दर घटेपछि कर्जाको ब्याज दरमा पनि कमी आउने भएपछि ऋणलाई फाइदा हुने छ । बजारमा अझै तरलता बढ्दै जाने भएकाले निक्षेपको ब्याज अझै घट्ने अनुमान बैंकरको छ । बजारमा तरलता बढ्दै गएकाले बैंकिङ प्रणाली अब सहज अवस्थामा आएको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनील शाह बताउछन् । विकास न्युजसंग कुरा गर्दे उनले बजारमा तरलता बढ्दै गएकाले विस्तारै निक्षेप र कर्जा दुबैको ब्याज दर घट्दै जाने संभावना रहेको जानकारी दिए । उनले बजारमा ५० अर्ब रुपैयाँ बढी तरलता रहेको बताए । तरलताको अवस्था सहज भएमा दोस्रो त्रैमाशदेखि निक्षेप र कर्जा दुबैको ब्याज दरमा कमी आउने उनको भनाई छ । “हामीले १४ प्रतिशतसम्म ब्याज तिरेर बजारबाट अर्बो रुपैयाँ निक्षेप उठाएका छौ, त्यसैले तत्काल कर्जाको ब्याज दर घटाउन सक्ने अवस्था छैन” उनले भने । मेगाले पनि मुद्धति निक्षेपको ब्याज दर घटाएर १० प्रतिशतमा झारेको शाहाले बताए । यता बैंकले सेयर, गाडी, साना तथा मझौला कर्जा लिन बोलाउन थालेका छन् । सेयर, गाडी कर्जाको ब्याज दर घटाएको बैंकहरुले जानकारी दिएका छन् । सेन्चुरी बैंकले आज बुधबार ९ प्रतिशत ब्याज दिने गरी ९० दिने मुद्धति योजना ल्याएको छ । अन्य बैंकले पनि ब्याजदर घटाउन थालेका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकसंग थप ऋण लगानी गर्न पुँजी नभएपछि वित्तीय घर्षण बढेको थियो । त्यसबेला बैंकहरुले ठुला निक्षेपकर्तासंग मोलमलाई महंगो ब्याज दरमा मुद्धति निक्षेप उठाएका थिए ।

ग्लोवल आईएमई बैंकको डेपुटी सीईओमा सुमन शर्मा नियुक्त, जनक शर्मालाई सीईओ बनाउने तयारी

काठमाडौं । ग्लोबल आईएमई बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुमन शर्मालाई नियुक्त गरेको छ । शर्मालाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको सो बैंकको सञ्चालक समिति सदस्य सुमन पोखरेलले बताए । शर्मा यसअघि माछापुच्छ्रे बैंकमा डेपुटी सीईओ थिए । आफू ग्लोवल आईएमई बैंकमा आवद्ध हुने लागेको तर प्रक्रिया केही प्रक्रिया बाँकी रहेको शर्माले बताए । शर्माले माछापुच्छ्रे बैंकबाट राजीनामा दिएका छन् । तर उनको राजीनमा स्वीकृत हुन बाँकी छ । नेदरल्याण्डबाट एमबीए गरेका शर्मासँग बैकिङ क्षेत्रमा करिव २० वर्ष काम गरेको अनुभव छ । सन् १९९७ मा एसविआई बैंकबाट बैकिङ सेवामा प्रवेश गरेको शर्माले सो बैंकमा ८ वर्ष, एनएमबी बैंकमा करिव १४ वर्ष काम गरिसकेको अनुभव छ । शर्मा माछापुच्छ्रे बैंकमा विगत तीन वर्षदेखि डेपुटी सीईओ थिए । जनक शर्मा पौड्याललाई सीईओ बनाउने तयारी डेपुटी सीईओमा शुमनको नियुक्तीसँगै कामु प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई बैंकले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने सम्भावना अधिक देखिएको छ । प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएपछि बैंकले उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । तीन दशक बैकिङ सेवामा सक्रिय पौड्याल विगत १० वर्षदेखि ग्लोवल आईएमई बैंकमा सेकेण्ड म्यानको भूमिकामा थिए । बेलायतबाट एमबीए गरेका पौड्यालले नविल बैंकमा ११ वर्ष काम गरेका थिए । एनआईसी र लक्ष्मी बैंक स्थापना गर्ने क्रममा उनी ती बैंकको उच्च व्यवस्थापन टिममा रहेर काम गरेको थिए । पढाईको सिलसिलामा बेलायतको बैंकमा काम गरेको अनुभव समेत छ उनीसँग ।

फास्ट ट्रयाकको डिजाइन परिवर्तन हुँदै, सेनाले ४ वर्षमा सक्ने, बजेटको अभाव नहुने

काठमाडौं । निर्माणको जिम्मा पाएको नेपाली सेनाले राजधानीलाई तराई मधेश जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को प्रारुप (डिजाइन) परिवर्तन गर्ने भएको छ । आउँदो ९ महिनामा फास्टट्रयाकको डिजाइनमा परिवर्तन सक्ने भएको छ । यसअघि भारतको आईएलएफएस इन्फास्टक्चर लिमिटेडले तयार पारको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा सेनाले परिमार्जन गर्न लागेको हो । आउदो ९ महिनामा आयोजनाको डिजाइन परिवर्तन गरी ४ वर्षमा फास्ट ट्रयाक सम्पन्न गर्ने सेनाका इन्जिनियरिङ विभागका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडले जानकारी दिए । विकास समितिको बुधबार बिहानको बैठकमा फास्टट्रयाकको पछिल्लो प्रगति विवरण सार्वजनिक गर्दे प्रमुख खाँडले सेना, विदेशी र नेपाली निर्माण व्यवसायीले सडकको काम गर्ने जानकारी दिए ।फास्टट्रयक एसियन हाइ वेको प्राइम क्लासको हुने उनले बताए । भूकम्पको जोखिम भएकाले ७५ मिटर अग्ला पुगको उचाइ घटाउने तयारी भएको छ । कुल ७६ किलोमिटर लामो सडक अन्तर्गत ललितपुरमा ७.९, काठमाडौं ४, मकवानपुर ५६ र बारामा ७.६ किलोमिटर हुने खाँडले जानकारी दिए । यस्तै १.३ किलोमिटर लामो सुरुङका अतिरित्त ९ किलोमिटर लामो ९९ वटा पुल बन्ने उनले बताए । फास्ट ट्रयाकमा मोटरसाइकल चलाउन प्रतिवन्ध हुने छ भने सडकमा न्युनतम ६५ देखि १२० किलोमिटरसम्मको गति निर्धारण गरिने भएको छ । सो अवसरमा अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले फास्टट्रयाकलाई बजेटको अभाव नहुने प्रतिवद्धता व्यक्त गरे । उनले यो वर्ष १० अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए । आयोजना निर्माणका लागि १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने यसअघि आईएलएफएसले तयार पारेको डीपीआरमा उल्लेख छ । सरकारले बैशाख २१ गते नीतिगत निर्णय गर्दे फास्टट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको हो । राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष डा. मीनबहादर श्रेष्ठको संयोजकत्वमा गठित उच्चस्तरिय सुझाव समितिले नेपाली लगानीमा बनाउन सक्ने प्रतिवेदनलाई कार्यन्वयन गर्ने आज सरकारले यस्तो निर्णय गरेको हो । नेपालको आफ्नै लगानीमा निर्माण गर्न सकिने देखिएको छ । फास्ट ट्रयाकका लागि सरकारले वार्षिक १० देखि २० अर्ब रुपैयाँ बजेटको व्यवस्था गर्न सक्ने भएकाले यो सडक स्वदेशी लगानीबाट बनाउनुपर्ने सुझाव समितिले सिफारिश गरेको थियो । यसअघि सेनाले निजगढसम्म ट्रयाक खोल्ने काम समपन्न गरिसकेको छ ।  

महंगो सेयर मूल्य भएका राष्ट्रिय बीमाको ५ र नागरिक लगानी कोषको २ वर्षदेखि लेखापरीक्षण हुन बाँकी

काठमाडौं । महंगो मूल्य भएका दुई सुचिकृत संस्थाले ५ वर्षदेखि लेखापरीक्षण नगराएको पाइएको छ । सरकार स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र नागरिक लगानी कोषले लेखापरीक्षण नगराएका हुन् । राष्ट्रिय बीमाको सेयर मूल्य प्रतिकित्ता १५ हजार ६८० रुपैया छ । यस्तै कोषको सेयर मूल्य प्रतिकित्ता ३ हजार ६५९ रुपैयाँ छ । दुबै संस्थालाई लेखापरीक्षण छिटो सक्न महालेखा परीक्षकको कार्यलयले निर्देशन दिएको छ । महालेखा परीक्षक टंकमणि शर्माले भदौसम्म लेखापरीक्षण नसके अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा विवरण पुर्याउने भनेपछि दुबै संस्थाले बल्लतल्ल लेखापरीक्षण सुरु गर्न लागेका हुन् । राष्ट्रिय बीमाले आर्थिक वर्ष ०६६/०६७ देखि ०६८/०६९ सालसम्म प्रारम्भीक लेखापरीक्षण प्रतिवेदनको जवाफ दिन बाँकी छ । आव ०६९/०७० देखिको लेखापरीक्षण गर्न बाँकी रहेको महालेखाका निर्देशक तथा सहायक प्रवत्ता अशोककुमार कार्कीले बताए । उनका अनुसार राष्ट्रिय बीमाको चाँडै लेखापरीक्षण सक्ने कार्ययोजना तयार पारेको छ । य स्तै कोषले २ वर्षको लेखापरीक्षण गर्न बाँकी छ । कोषले आव ०७२÷०७३ को वित्तीय विवरण तयार भई लेखापरीक्षणको प्रारम्भीक प्रतिवेन प्राप्त हुन बाँकी रहेको कार्कीको भनाइ छ । बाँकी अवधिका लागि लेखापरीक्षण गर्न महालेखाले कर्मचारी खटाएको उनको भनाई छ । महालेखाले लामो समयदेखि लेखापरीक्षण नगरेका सार्वजनिक संस्थानमा कर्मचारी खटाएर लेखापरीक्षणको काम थालेको छ । यस्तै राष्ट्रिय बीमा संस्थानको ०६८/०६९ सालसम्मको लेखापरीक्षण सम्पन्न भई त्यसपछिको वर्षको लेखापरीक्षणका लागि परीक्षक नियुक्त भएको छ । लेखापरीक्षण नगरी संस्थानले प्रति हजार वार्षिक ६५ रुपैयाँ बोनस घोषणा गरेको छ ।  

सुर्या लाइफले व्यतित जीवनबीमा लेखमा ब्याज छुट दिने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यत्तित (ल्याप्स) भएका बीमालेखमा ब्याज छुटको घोषणा गरेको छ । कम्पनीले ल्याप्स भएका बीमालेख असोज ३१ गतेसम्म पुर्नजागरण गरेमा शत्प्रतिशत ब्याज छुट दिने जानकारी दिएको छ । यसपछि पनि पुर्नजागरण नगर्ने जीबन बीमालेखमा जोखिम बहन नगर्ने कम्पनीले स्पष्टपारेको छ ।