लक्ष्मी बैंक र भारतको एक्सिस बैंकबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । लक्ष्मी बैंक र भारतको एक्सिस बैंक बीच रेमिट्यान्स सम्झौता भएको छ । मंगलबार सम्पन्न उक्त सम्झौता अन्तर्गत एक्सिस बैंक मार्फत पठाइएको रकम नेपाल स्थित लक्ष्मी बैंकको जुन सुकै शाखाबाट नगद भुक्तानी लिने सकिने छ । साथै, खातामा सोझै रकमान्तरको माध्यमबाट रेमिटान्स प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सो सम्झौता पश्चात भारतमा रहेका नेपालीहरुले आफनो संचित रकम सजिलै र सुरक्षित तरिकाले नेपाल पठाउन सक्नेछन् । त्यसैगरी, लक्ष्मी बैंकबाट सर्वसाधारणहरुले वैंकको जुनसुकै शाखाबाट प्रिपेड कार्ड मार्फत आफुले चाहेको १६ प्रकारका विदेशी मुद्रामा प्रिपेड कार्ड सटही गर्न सक्ने व्यवस्था गरिएको छ । सो सम्झौतामा लक्ष्मी बैंकको तर्फबाट बैकका नायब प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाहले र भारत स्थित एक्सिस बैंकका तर्फबाट अशोक गौतम, एज्क्यिूटिभ भि.पी वित्तिय संस्था समूह र निरज सिन्हा, सिनियर भि.पी. अन्तराष्ट्रिय रिटेलले काठमाडौमा एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।
नेविसंघको महामन्त्रीमा आनन्दराज त्रिपाठी मनोनीत
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको महामन्त्रीमा आनन्दराज त्रिपाठी मनोनीत भएका छन् । नेवि संघको विधानबमोजिम त्रिपाठीलाई मंगलबार महामन्त्रीमा मनोनीत गरिएको नेवि संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । नेवि संघको विधानमा दुई महामन्त्री निर्वाचित हुने र एक मनोनीत हुने प्रावधान छ । युवा नेता त्रिपाठीले यसअघि नेवि संघको केन्द्रीय सदस्य र विश्व भाषा क्याम्पस तथा नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा सचिव पदको जिम्मेवारी सम्हाली सकेका छन् । रासस
ब्याजदर करिडोर लागु, राष्ट्र बैंकले बुधबार १५ अर्ब बजारबाट उठाउदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याज दर करिडोर लागु गरेको दिन बुधबार बजारबाट १५ अर्ब रुपैयाँ उठाएको छ । केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थाबाट सो रकम उठाएको हो । ३ प्रतिशत भन्दा फरक ब्याज दर प्रस्ताव नगर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । २ साताका लागि उठाइएको रकम आगामी मंसिर १३ गते परिपक्व हुने छ । केन्द्रीय बैंकले बजारमा बढी भएको तरलता प्रशोचन गर्न लागेको हो ।हाल बैकिङ प्रणालीमा २० अर्ब बढी तरलता रहेपछि बुधबार ठुलो रकम बैंकिङ प्रणालीबाट प्रशोचन गर्न लागेको राष्ट्र बैंककी निर्देशक सीता घिमिरेले जानकारी दिइन् । चालु आर्थिक वर्षको मौद्रिक नीति लागु भएको ४ महिनापछि केन्द्रीय बैंकले ब्याज दर करिडोर लागु गरेको हो । तरलताको अल्पकालीन व्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने मौद्रिक नीतिमा करिडोरको व्यवस्था गरिएको थियो । ब्याजदर करिडोर लागु गर्न दुई हप्ता अवधिको निक्षेप संकलन तथा रिपो उपकरण जारी गर्ने सम्बन्धी कार्यविधि गभर्नरले स्वीकृत गरेपछि बुधबारदेखि कार्यान्वयनमा आएको हो । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत छ । ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत तोकिएको छ ।
ज्योति विकास बैंकको नयाँ शाखा हेटौडामा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा मकवानपुर जिल्लाको हेटौडा बजारमा विस्तार गरेको छ । बैंकले उक्त स्थानमा थप शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, बीरगन्जका प्रमुख, निर्देशक रबिन्द्र महर्जनले गरेका थिए । विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले बैंकिङ सेवा क्षेत्रलाई शहरी एवं ग्रामिण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने बताए । साथै, उनले मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिदै आएको बताए । हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलब्ध गर्दै आएको छ । हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्ब ३७ करोड पुगेको छ । गत आवको नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्ने बैंकले जनाएको छ ।
ट्रेडमार्क नपाएपछि हिमालयन डिष्टिलरीका रोयल स्ट्याग र बेलेन्डर्स प्राइड मदिराको उत्पादन बन्द
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले रोयल स्ट्याग र बेलेन्डर्स प्राइड ब्राण्ड मदिराको ट्रेडमार्क अधिकार नपाएपछि नेपालमा उत्पादन बन्द भएको छ । भारतको प्रेन रिकार्ड कम्पनीले हिमालयनसंग गरेको सम्झौता नवीकरण नगरेपछि रोयल स्ट्याग र बेलन्डर्स प्राइडको उत्पादन बन्द भएको हो । ट्रेडमार्क नदिएपछि भारतीय कम्पनीसंग विवाद भइरहेको हिमालयनले जनाएको छ । अहिले ट्रेडमार्क अधिकारका लागि अदालतमा मुद्धा चलेको हिमालयनले जनाएको छ । उत्पादन बन्द भएपछि आम्दानीमा असर परेको कम्पनीले जनाएको छ । यस्तै बजारमा ल्याइएको रोयल ट्रेजर ब्राण्डको बिक्री पनि लक्ष्य अनुसार नहुदा आगामी दिनमा कारोबारमा असर गर्ने कम्पनीले जानकारी दिएको छ । सन् १९९५ देखि रोयल स्ट्याग र पछिल्लो समयमा ब्लेन्डर्स प्राइड ब्राण्डको ह्विस्की नेपालमा उत्पादन तथा बिक्री वितरण हुदै आएको थियो । दुबै ब्राण्डका ह्विस्की नेपाली बजारमा निकै रुचाईएको थियो । ब्राण्ड अधिकार नपाएपछि हिमालयनले अहिले रोयल ट्रेजर ह्विस्की, गोल्डेन ओक र आइला ब्राण्डको ह्विस्की मात्र उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । विदेशी कम्पनीले ट्रेडमार्क अधिकार नदिएपछि कम्पनीका लगानीकर्ता र उपभोत्ताको हितका लागि भनेर कानुनी उपचारमा गएको हिमालयनले जनाएको छ । रोयल ट्रेजरको र गोल्डेन ओकको बिक्री सोचेअनुसार नभएको कम्पनीले जनाएको छ । यस्तै नयाँ ब्राण्ड गोल्डेन ओकको पनि अन्य कम्पनीले नक्कल गरी न्युन गुणस्तरको मदिरा उत्पादन गरी बिक्रीमा आएपछि यसको असर बजारमा परेको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा हिमालयनले २ करोड ४६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४३ लाख ८० हजार रुपैयाँ नोक्सान ब्योहरेको हिमालयनले पहिलो त्रैमाशमा भने नाफा गरेको छ । गत वर्ष कम्पनील ३ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत असारको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानीमा गिरावट आएर ६ रुपैयाँ ३८ पैसा पुगेको छ । गत असारमा प्रतिसेयर आम्दानी १० रुपैयाँ थियो । ३ महिनामा हिमालयनले ३४ करोड ७३ लाख रुपैयाँको मदिरा बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत आवमा १ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ मदिरा बेचेर आम्दानी गरेको थियो । हिमालयनमा ६२ प्रतिशत संस्थापक र ३८ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । कम्पनीको वार्षिक मदिरा उत्पादन क्षमता १ करोड १७ लाख ६० हजार लिटर छ ।
कुचो किन्न बोलपत्र प्रक्रिया अगाडि बढ्दै
काठमाडौं । महानगरका प्रमुख र उपप्रमुखले स्थानीय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाडौंको धुलोमुक्त बनाउने अभियान अझै पनि अगाडि बढ्न सकेको छैन । काठमाडौं महानगरपािलकाले तत्काल बु्रमर(यान्त्रिक कुचो)का माध्यमबाट काठमाडौंको फोहोर सफा गर्न नसक्ने जनाएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले बु्रमरका लागि केही समयअघि नै बोलपत्र गरिसकिएको भए पनि मूल्य धेरै पर्न आएको हुँदा पुनः बोलपत्रको गर्नुपर्ने अवस्था आएकाले तत्काललाई उक्त यन्त्र खरिद गर्न नसकिने बताए । उक्त यन्त्र ल्याउनका लागि पुनःबोलपत्रको प्रक्रिया अघि बढिसकेको बताइएको छ । प्रमुख शाक्यले कामपाको वातावरण विभागलाई निर्देशन दिँदै भने, “सफा गर्दा सडक छेउमा रहेको कागजको टुक्रा टिप्ने काम मात्र नगरी सबै स्थानमा धुुलोसमेत सफा गर्न आवश्यक छ ।” यसैबीच कामपाले एक हप्ताभित्र सक्ने गरी त्रिपुरेश्वर, सुनधारा, नयाँ सडक, रत्नपार्कलगायत स्थानका सडक छेउछाउ र सडकको बीच भागमा रहेको खाली जग्गामा हरियाली बनाउन रुखबिरुवा रोप्ने काम तीव्र रुपमा अघि बढिरहेको सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा नयाँ निर्माण र दोस्रो चरणमा निर्माण भइसकेका स्थानमा मर्मत गरिने छ । रासस
स्वावलम्बन लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्री हुने, न्युनतम मूल्य १ हजार १ सय
काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकको ३ हजार कित्ता संस्थापक सेयर बिक्री हुने भएको छ । प्रतिसेयर न्युनतम मूल्य १ हजार १ सय रुपैया तोकिएको छ । ३५ दिनभित्र प्रस्ताव पेश गर्न बैंकले भनेको छ । समूह क अन्र्तगत गोकुल प्याकुरेलले आफनो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले सेयर बिक्रीको लिलामी सूचना प्रकाशित गरेको हो ।
आशा लघुवित्त संस्थाले ३ करोडको आईपीओ निष्कासन गर्ने, साधारणसभामा प्रस्ताव पेश हुदै
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । संस्थाको जारी पुँजी १० करोड रुपैयाँ रहेको छ । संस्थापक ७० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । आगामी मंसिर २३ गते हुने प्रथम वार्षिक साधारणसभामा आईपीओ निष्कासनका लागि प्रस्ताव पेश हुने आशाले जनाएको छ । सभाले आईपीओ निष्कासनको अख्तियारी सञ्चालक समितिलाई दिएपछि प्रक्रिया अघि बढ्ने छ । सभाले संस्थापक समूहको ४ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । संस्थाको केन्द्रीय कार्यलय नुवाकोटको मदानपुरमा रहेको छ ।