मर्चेण्ट बैंकरले आफ्नै लगानीकर्ताको सेयर निष्काशन गर्न नपाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकरलाई आफ्ना लगानीकर्ता कम्पनीको सेयर निष्काशन गर्न रोक लगाएको छ । अब धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले आफू आधारभूत शेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्न पाउने छैनन् । आफ्नै लगानीकर्ता कम्पनीको सेयर निष्काशन गर्दा स्वार्थ बाझिन सक्ने भन्दै रोक लगाएको हो । ‘निष्काशन तथा बिक्री प्रवन्धकले आफू आधारभूत शेयरधनी रहेको कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य नगर्ने ।’, बोर्डले आफ्नो निर्देशनमा भनेको छ । त्यस्तै, निष्काशन तथा बिक्री प्रबन्धकले आफ्नो मुख्य कम्पनीको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य पनि गर्न पाउने छैनन् । बोर्डले नयाँ व्यवस्था कार्यान्वयनमा आएसँगै धितोपत्रको निष्काशन कार्य थप व्यवस्थित भई अझ स्वच्छ, स्वतन्त्र तथा पारदर्शी हुने दावी पनि गरेको छ ।
राजनीतिक नेतृत्वले श्रमिकको मात्र होइन, लगानीकर्ताको हित पनि हेर्नुपर्छ-सिर्जना राणा
पछिल्ला वर्षमा विदेशी पर्यटकलाई लक्षित गरि ठूलो लगानीमा धेरै होटलहरु खुल्दैछन् । ती होटलका पूर्वाधार निर्माणको काम भईराखेको छ । यसैबीच १२० कोठा भएको अन्नपूर्ण होटलले पनि क्षमता विस्तार गरी २०० कोठाको बनाउने तयारी गरिरहेको छ । पाँचतारे होटल अन्नपूर्ण नेपालको पर्यटन क्षेत्रको एक महत्वपूर्ण पूर्वाधार हो । ५० वर्ष पुरानो यो होटलले आफ्नो भौतिक पूर्वाधार पुनर्निर्माण गर्ने र सेवा स्तरोन्नतिको तयारी भईरहेको नजाएको छ । यसै सन्दर्भमा डेल अन्नपूर्ण होटलका कार्यकारी निर्देशक तथा होटल संघ नेपालको उपाध्यक्ष सिर्जना राणासँग विकासन्युजले समग्रमा होटलहरुबीचको प्रतिस्पर्धा, यो क्षेत्रमा गरिएको लगानीको प्रतिफल र अन्नपूर्ण होटलको भावी योजना गरेको कुराकानी गरेको छ । सिर्जना राणा – कार्यकारी निर्देशक,डेल अन्नपूर्ण होटल विदेशी पर्यटकलाई लक्षित होटल निर्माणमा पछिल्ला वर्षमा लगानी ह्वात्तै बढेको छ । यसको परिणाम कस्तो हुनेछ ? पछिल्लो समयमा होटलहरु धेरै खुलेका छन्, अझै पनि नयाँ होटलहरु खुल्ने क्रममा रहेको समाचारहरु आईरहेका छन् । बाहिरबाट हेर्दा होटल केही ग्ल्यामरस विजनेश जस्तो देखिन्छ । बाहिरबाट देख्दा होटल व्यवसाय जति आकर्षक छ, भित्र त्यत्तिकै चुनौतिहरु पनि छन् । नेपाल धेरै सुन्दर देश हो । नेपाल भ्रमण गर्दा पर्यटकहरु खुशी हुन्छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो देशमा पर्यटन सेवाको भविष्य राम्रो छ भनेर सबैले भन्छन् । यो सबैलाई थाहा भएकै विषय हो कि पर्यटन क्षेत्रको, होटल क्षेत्रको सम्भावना राम्रो छ । तर यो क्षेत्रको विकासका लागि सरकार, राजनीतिक दलबाट सहयोग आएन । पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा राज्यको तर्फबाट लगानी भएन । हामीले चितवनमा लगानी विस्तार गर्दैछौं । तर मुग्लिन–नारायणगढको सडक देख्दा, त्यो बाटो विस्तारमा भएको ढिलासुस्ती र लापरवाही देख्दा मलाई निकै दुःख लाग्छ । खराव बाटोका कारण धेरै मान्छेले ज्यान गुमाएको छन् । मानिसलाई जनावरको जस्तो व्यवहार गरिएको छ । यो विषयमा मानवअधिकारबादी संस्थाहरु किन बोल्दैन् ? एयरपोर्टको हालत सबैलाई थाहा छ । भएको एउटा मात्र अन्तराष्ट्रिय विमानस्थलको स्तरउन्नति हुन सकेको छैन । निजगढका अन्तराष्ट्रिय विमानस्थतल बनाउने भनेको वर्षौ भयो । तर काम कत्ति पनि भएको छैन । पोखारामा विमानस्थल बनाउने, लुब्बिनीमा विमानस्थल बनाउने दिशामा आशा लाग्दोरुपमा काम भएको छैन । सबैलाई थाहा छ कि नेपालमा पर्यटन उद्योगको भविष्य राम्रो छ । नेपालमा ठूलो संख्यामा पर्यटक भित्र्याउने सकिन्छ । यो पनि सबैलाई थाहा छ कि नेपालमा कम्तिमा तीन वटा अन्तराष्ट्रिय विमानस्थल जरुरी छ । आन्तरिक विमानस्थलको पनि क्षमता वृद्धि गर्नुपर्छ । सडक राम्रो हुनुपर्यो । पानी, विजुलीको आपूर्ति राम्रो हुनुपर्यो । तर खोई त काम भएको ? योजना बनाएर मात्र भएन, कार्यान्वयन गर्नुपर्यो । ठूलो लगानीमा खुल्ने नयाँ होटलले पुराना होटललाई कस्तो असर पर्ला ? व्यवसायिक प्रतिस्पर्धाबाट आउने जोखिम भन्दा राजनीतिक कारणले उत्पन्न हुने जोखिम बढी छ । हामीसँग धेरै तितो अनुभव छ । कुनै समय श्रमिकलाई उचालेर ठूलो समस्या सिर्जना गराईयो । होटलका लगानीकर्ता धुरुधुरु रुनु पर्यो । लगानीकर्तालाई धम्क्याउने, थर्काउने, अत्याउने र होटल नै हत्याउने खालको गतिविधि भए । यस्तो अवस्था सिर्जना गरिदा कुनै पनि लगानी सुरक्षित हुँदैन । होटल मात्र थपिए, पूर्वाधार बन्न सकेन भने ठूलो संकट आउँने छ । सबै होटलहरुले सानो केक बाँडेर खानुपर्छ । सबैले भएका पर्यटकलाई तानातान गर्ने हो । त्यहि भएर नेपालमा होटलहरुको रुम रेट बढेको छैन । होटलहरु थपिदै जाँदा पूर्वाधार निर्माण पनि भए, पर्यटकको खर्च पनि बढ्यो भने सबैलाई राम्रो हुन्छ । आम्दानी राम्रो भयो भने मैले चिया पिउने कप नयाँ किनेर प्रयोग गर्ने हो, आम्दानी बढेन भने पुरानै कम प्रयोग गर्ने हो । वास्तवमा नेपालका सबै होटल कसरी सर्भाइभ गर्ने भनेर सोचिरहेका छन् । पुरानो कपमा नै काम चलाईरहेका छन् । पुराना होटलहरुसँग धेरै उतारचढावको अनुभव छ । मुलुक द्वन्द्वमा पर्दा हामीले कस्तो समस्या भोग्नु पर्यो, आर्थिक वृद्धि उच्च रहेको समयमा कस्ता पर्यटक आए, हाम्रो आम्दानीको कस्तो असर पर्यो, त्यो अनुभव भइसक्यो । अर्थतन्त्र संकटमा पर्दा कसरी चल्नुपर्छ भन्ने अनुभव पनि हामीलाई छ । होटलमा गरिएको लगानी कति सुरक्षित हुनेछ ? व्यवसायिक प्रतिस्पर्धाबाट आउने जोखिम भन्दा राजनीतिक कारणले उत्पन्न हुने जोखिम बढी छ । हामीसँग धेरै तितो अनुभव छ । कुनै समय श्रमिकलाई उचालेर ठूलो समस्या सिर्जना गराईयो । होटलका लगानीकर्ता धुरुधुरु रुनु पर्यो । लगानीकर्तालाई धम्क्याउने, थर्काउने, अत्याउने र होटल नै हत्याउने खालको गतिविधि भए । यस्तो अवस्था सिर्जना गरिदा कुनै पनि लगानी सुरक्षित हुँदैन । कोही ८ घण्टा काम गर्छन्, कोही १२ घण्टा काम गर्छन्, कोही १६ घण्टा काम गर्छन् । कोही ८ घण्टा काम गर्ने समयमा पनि कसरी काम चोर्ने, ठग्ने भनेर सोच्छन् । सबैले मिहेनत अनुसारको प्रतिफल खोज्ने हो । तर राजनीति गर्नेहरु सबैको आम्दानी समान हुनुपर्छ भन्छन् । काम र राजनीतिलाई मिसाइन्छ । मेरो भनाई के हो भने काम गर्ने थलोमा राजनीति मिसाउनु भएन । काम गर्ने बेलामा काम गर्ने, राजनीति गर्ने समयमा राजनीति गर्ने । यूनियन भनेको कर्मचारीको हितमा काम गर्ने हो, कर्मचारीको सेवा सुविधाको पक्षमा बोल्ने संगठन हो । यूनियन भएको कम्पनीको विरुद्ध काम गर्ने, कम्पनी विरुद्ध गतिविधि सञ्चालन गर्ने समानान्तर संस्था होइन । राजनीति गर्नेले श्रमिक र लगानीकर्तालाई उत्तिकै संरक्षण गर्नुपर्छ । राजनीति गर्नेले श्रमिकको हितमा मात्र काम गर्ने, लगानीकर्ताको हितबारे सोच्दै नसोच्ने हो भने होटलको मात्र होइन, कुनै पनि क्षेत्रको लगानी सुरक्षित हुँदैन । होटलहरुबीच सेवा, गुणस्तर र मूल्यमा हने प्रतिस्पर्धाले ल्याउने जोखिमलाई लगानीकर्ताले वहन गर्न सक्छ । तर राजनीतिक जोखिमलाई लगानीकर्ताले वहन गर्न सक्दैन । विश्व बजारसँग नेपाललाई तुलाना गरेर पनि हेरिनुपर्छ । विकसित देशमा होटलको कुल आम्दानीको १३ देखि १४ प्रतिशत कर्मचारीमा खर्च हुन्छ । तर हाम्रो होटलमा आम्दानीको ३२ प्रतिशत खर्च कर्मचारीमा हुन्छ । तैपनि नेपालमा किन ट्रेडयूनियनहरु आन्दोलन गर्छन ? होटल क्षेत्रमा जनशक्ति आपूर्ति र व्यवस्थापन कस्तो छ ? आगामी दिनमा कसरी अगाडि बढ्ला ? ब्रेनड्रेन भई रहेको छ । सक्षम र मिहेनती मान्छे विदेश गईरहेका छन् । नेपालमा पनि जनशक्तिको विकासमा जोड दिनुपर्छ । तालिम दिने संस्थाहरुलाई प्रोत्साहित गर्नुपर्छ । होटलका लगानीकर्ताले कस्तो प्रतिफल पाईरहेका छन् ? विदेशमा पाँच तारे होटलको रेट प्रतिकोठा प्रतिदिन २०० डलरभन्दा माथि छ । तर नेपालमा १०० डलर भन्दा कम छ । खर्च बढिरहेको छ तर आम्दानी बढ्न सकिरहेको छैन । अरब देशहरुमा सानो कोठाको २०० डलर तिर्नुपर्छ । मेरो देशमा ढोकादेखि बेडसम्म सबै किसिमको सेवा दिँदा पनि १०० डलर लिन पाएका छैनौं । नेपालमा होटलका लगानीकर्ता र व्यवस्थापनबीच पनि केही तालमेल मिलेको छैन । मेरो बुझाईमा होटलका लगानीकर्ताले राम्रो प्रतिफल पाउन पनि सकेका छैनन् । अन्नपूर्ण होटलको पूर्वाधार र क्षमता विस्तारको योजना के के छन् ? अन्नपूर्ण होटल ५० वर्ष पुरानो भयो । अब समय अनुसार पूर्वाधार निर्माण गर्नुपर्छ । नयाँ डिजाईन बनेको छ । हाल १२० कोठाको होटल हो । अब यसलाई २०० कोठा बनाउँदै छौं । क्यासिनो सञ्चालनमा भएको विवाद र अवरोधले अन्नपूर्ण होटललाई कस्तो असर परेको छ ? क्यासिनो विजनेश धेरै राम्रो थियो । तर क्यासिनोले सरकारप्रतिको जिम्मेवारी निर्वाह नगरेको, कर नतिरेको, नविकरण नगरेको जस्ता विवाद देखिएपछि हामीले क्यासिनो हटाएका हौ । कमजोरी क्यासिनोको पनि थियो, कमजोरी सरकारको पनि थियो । अहिले सरकारले नयाँ नीति लिएको छ । क्यासिनो हुँदा गेष्ट पनि बढ्छ, फुड्सको डिमाण्ड पनि बढ्छ, होटललाई फाइदा नै हुन्छ । त्यसैले नयाँ क्यासिनो भित्र्याउने विषयमा सोचिरहेको छ । करिब ५ वटा प्रस्ताव आएका छन् । हामी ती प्रस्तावहरु अध्ययन गरिरहेको छौं ।
गण्डकी विकास बैंकको नयाँ शाखा विरगञ्जमा
काठमाडौं । गण्डकी विकास बैकले आफ्नो नयाँ शाखा पर्सा जिल्लाका विरगञ्जमा सञ्चालन गरेको छ । उक्त शाखाको औपचारिक उद्घाटन विरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका हुन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक एवं विरगंज शाखा प्रमुख रविन्द्र महर्जनले शुभकामना दिएका थिए । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले बैंकको वित्तीय अवस्था, वैकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधीको बारेमा जानकारी दिएका थिए । उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटिएम, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । बैंकले निकट भविश्यमा काठमाडौंको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा शाखा खोल्ने तयारी गरिरहेको छ ।
रेमिट्यान्स आप्रवाह २.६ प्रतिशत बढ्यो, शोधानान्तर वचतमा फर्कियो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २.६ प्रतिशतले बढेको छ । चालु आवको असोजसम्मा १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएका छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ४.६ प्रतिशतले वृद्धि भई रु. २०३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.५ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्या (पुनः श्रम स्वीकृति बाहेक) मा कमी आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १६.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्म लगातार घाटामा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा ४ अर्ब २७ करोडले बचतमा फर्केको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा समग्र शोधनान्तर १९ अर्ब ७० करोडले बचतमा थियो ।
एलजीको नयाँ टप लोड वासिङ मेसिन नेपाली बजारमा, १० वर्षको वारेण्टी
काठमाडौं । एलजी ब्राण्डको लागि अधिकारिक विक्रेता चौधरी समूह अन्तर्गतको सीजी इम्पेक्स प्रालिले नयाँ टप लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ । कम्पनीले “द फ्यिूचर अफ वासिङ” भन्ने मुल नाराका साथ नयाँ ७ र ८ केजीका उक्त मेसिन बजारमा भित्र्याएको हो । कम्पनीका अनुसार यी दुई वासिङ मेसिनमा टुर्बो ड्रम जडित छन्, जसले तीन फरक किसिमले लुगा धुने गर्दछ । जसलाई कम्पनीले स्मार्ट मोसन भन्ने गरेको छ । यी दुई मेसिनमा स्मार्ट इन्भेन्टर मोटर जडित छन् जसमा १० वर्षको वारेण्टी रहेको कम्पनीले जनाएको छ । यो बीएमसी मोटर वाटर प्रुफ र खिया नलाग्ने खालको छ । स्मार्ट क्लोजिङ डोर भएका यी वासिङ्ग मसिनमा ३६ प्रतिशत उर्जा बचत हुने कुरा कम्पनीले जनाएको छ । विश्व बजार र नेपाली बजारमा अग्र स्थानमा आफ्नो पहिचान कायम राख्न सफल एलजीका वासिङ मेसिन गुणस्तरिय र इन्नोभेटिभ उत्पादनका लागि प्रख्यात छन् ।
मूल्यवृद्धि ३ प्रतिशत, सबैभन्दा कम काठमाडौंमा
काठमाडौं । चालु आर्थिक वर्षको त्रैमाशमा उपभोक्ता मूल्य वृद्धि दर ३ प्रतिशत हारहारीमा रहेको छ ।गत वर्ष मूल्यवृद्धि ६.७ प्रतिशत थियो । गत वर्षको आधारमूल्य उच्च रहेको कारण समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । खाद्य मुद्रास्फीति समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ५.७ प्रतिशत थियो । गत वर्षको तुलनामा यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २२.९, मसलाको मूल्यमा ५.७, तरकारीको मूल्यमा ५.१ र फलफूलको मूल्यमा ३.७ प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून भएको हो । समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.२ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ७.६ प्रतिशत थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, हाउजिङ्ग तथा युटिलिटी लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । क्षेत्रगत उपभोक्ता मुद्रास्फीति क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.१, तराईमा ३.६, पहाडमा ३ र काठमाडौं उपत्यकामा २.३ प्रतिशत छ ।
२१६ मेगावाटको माथिल्लो त्रिशुली १ को बिजुली डलरमा खरिद गर्ने सम्झौता, ६० अर्ब कोरियन लगानी भित्रिदै
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनासंग अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । कामदार तथा कर्मचारी बस्नका लागि आयोजनाले निर्माण गरेको अस्थाइ क्याप विद्युत प्राधिकरणले प्रवद्र्धक कोरियाको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसंग पीपीए गरेको हो । प्रारम्भीक भएपनि औपचारिक रुपमा पीपीए सम्झौता हुन बाँकी छ । विद्युत प्राधिकरणको सञ्चालक समितिले पारित गरेपछि औपचारिक पीपीए हुनेछ । पीपीएको प्रस्ताव प्राधिकरण सञ्चालक समितिमा पेश भएको छ । ३० वर्षका लागि पीपीए भएको हो । सरकारले आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) ३५ वर्षका लागि दिएको छ । पीपीए भएकाले आयाजना निर्माण हुने पक्का भएको छ । सुख्खायामको ६ महिनामा प्रति युनिट ८ रुपैयाँ ४० पैसा र वर्षादमा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको हो । आगामी १० वर्षसम्मका लागि पीपीए भएको छ । प्राधिकरणले कुल पीपीए रकमको ८० प्रतिशत डलर र २० प्रतिशत नेपाली रुपैयाँमा भुक्तानी गर्ने सहमति भएको छ । नेपाल वाटरले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि पाउने छ । कोरियाली कम्पनीले विदेशबाट डलरमा लगानी ल्याउने भएपछि प्राधिकरणले डलरमा पीपीए गरेको हो । आयोजना बनाउन ५८ करोड डलर झण्डै ६० अर्ब रुपैयाँ नेपाली लाग्ने भएको छ । ९० प्रतिशत कोरिया र १० प्रतिशत जेड कन्सल्ट नेपालीको छ । नेपाल वाटरमा कोरियाको साउथ इष्ट कम्पनी लिमिटेड (कोसेप) को ५२, डेलियम इन्डिष्ट्रियल कम्पनी लिमिटेडको १६ र केर्योङ कन्ट्रक्सन कम्पनी लिमिटेडको १०, विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) को १२ तथा स्थानिय लगानीकर्ता जेड कन्सल्ट प्रालिको १० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार गरिएको छ । आयोजनामा विश्व बैंक अन्र्तगतको आईएफसी र जर्मनीको बैंक डीइजीलगायत अन्य अन्तराष्ट्रिय वित्तीय संस्थाले लगानीका लागि कम्पनीलाई आशयपत्र दिएका छन् । यसअघि ऊर्जा मन्त्रालय र नेपाल वाटरबीच आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ । आन्तरिक खपतका लागि आयोजना निर्माण हुन लागेको हो । आफै निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) नीति अन्र्तगत सरकारले आयोजना कोरियाली कम्पनी नेपाल वाटरलाई दिएको हो । आयोजनाबाट वार्षिक १ अर्ब ४६ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने छ । पीडीए सम्झौता भएको मितिले आउदो २ वर्षभित्र आयोजनाले लगानी जुटाउने र ५ वर्षमा आयोजना सम्पन्न गर्ने उल्लेख गरिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशतसम्म सेयर दिनुपर्ने पीडीएमा उल्लेख छ । पीडीएमा पानीको प्रयोग अनुमति, रोयल्टी तथा कर, विद्युत खरिदविक्रि सम्झौता (पीपीए) को सिद्धान्त, नेपाली स्रोतसाधनको प्रयोग, कावु बाहिरको परिस्थिती जोखिम व्यवस्थापन लगायतका विषय समेटीएको छ । पीपीए भएकाले आगामी कात्तिकदेखि आयोजनाको सिमिल निर्माण थाल्ने भएको छ । हाल सडकलगायत आवासको निर्माण भइरहेको छ । एक वर्षभित्र लगानी जुटाएर आगामी कात्तिकदेखि निर्माण सुरु हुने कम्पनीले जनाएको छ । आगामी सन् २०२२ देखि बिजुली उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । नेपालमा डलर पीपीए हुनेमा यो ७ औं आयोजना हो । यसअघि खिम्ती, भोटेकोसी, माथिल्लो मस्र्याङदी, तल्लो सोलुलगायत छन् ।
सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर काठमाडौंको गौशालामा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो छैठौं एक्सटेन्सन काउन्टर काठमाडौंको गौशालामा सञ्चालन गरेको छ । उक्त काउन्टरको उद्घाटन काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्य तथा सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकले चाँडै नै २ वटा थप वित्रीय संस्थाहरुसँग एकिकृत कारोबारको तयारी गरिरहेको छ । साथै, बैंकले निकट भविश्यमा नै १०० भन्दा बढि शाखा कार्यालयहरुबाट सेवा विस्तार गर्दैछ ।