जेसीबीका ग्राहक बेलायतस्थित मुख्य प्लान्टको भ्रमणमा
काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई बेलायतको रोसेस्टरस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण आयोजना गरेको छ । एक साता लामो भ्रमणमा जेसीबीका नेपाली ग्राहकले विश्वमै सबैभन्दा बढी विश्वास गरिएको हेभी इक्विपमेन्टको निर्माण कसरी हुन्छ भन्ने अवलोकन गरेका थिए । भ्रमणका क्रममा जेसीबीका ग्राहकले स्टिलबाट कसरी मेसिन बनाइन्छ ?, प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ र पार्टस्को एसेम्ब्ली गरेर कसरी जेसीबी मेसिन तयार पारिन्छ ? भन्ने निरीक्षण गरेका थिए । साथै, उनीहरुले जेसीबी कम्पनीका संस्थापक जोसेफ सिरिल बमफार्डले आविष्कार गरेको संसारकै पहिलो ब्याकहो लोडर र जेसीबीले निर्माण गरेको संसारकै सबैभन्दा तीव्र गतिमा दौडने डिजेल कारको समेत निरीक्षण गरेका थिए । ‘निर्माण कार्यका क्रममा खराबभन्दा पनि खराब परिस्थितिको सामना गर्न जेसीबीलाई कसरी तयार पारिन्छ भन्ने हेर्यौं ।’ भ्रमणमा सहभागी गोल्डेन गुड्स शेर्पा कन्स्ट्रक्सनका कार्यकारी निर्देशक गेल्जे लामाले भने, ‘जेसीबी मेसिन कसरी बनाइन्छ भन्ने हेर्न पाउनु ठूलो अवसर हो । यो दुर्लभ मौका दिनुभएकोमा हामी एमएडब्लु अर्थमुभर्सप्रति आभारी छौं ।’ जेसीबी संसारकै ‘टप थ्रि’ हेभी इक्विेमेन्ट निर्माता कम्पनीमध्ये पर्छ । चार महादेशमा फैलिएको जेसीबीको सञ्जालमा १२ हजार कर्मचारी आवद्ध छन् । जेसीबीका मेसिनहरु दुई हजार डिलरमार्फत एक सय ५० देशमा विक्रीवितरण हुने गर्छ । हाल जेसीबीले तीनसयभन्दा बढी प्रकारका मेसिनको उत्पादन गर्छ भने अतुलनीय ग्राहक सेवाले गर्दा यसप्रतिको विश्वास विश्वव्यापी रुपमा फैलिएको छ । नेपाली बजारमा जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन उपलब्ध छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कार्यक्षमताका कारण यी मेसिनहरु लोकप्रिय छन् । अझ पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दो छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । नेपालको अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । विक्रीभन्दा पनि त्यसपछिको सेवालाई जोड दिने भएका कारण जेसीबीले आफूलाई नेपालकै नम्बर १ हेभी इक्विपमेन्ट ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ ।
सानिमाको पहिलो एक्सटेन्सन काउन्टर भक्तपुरमा, राजस्व संकलन गर्ने
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो पहिलो एक्सटेन्सन काउन्टर भक्तपुर जिल्ला प्रशासन कार्यालयमा खोलेको छ । यस काउन्टरबाट भक्तपुर जिल्ला प्रशासन कार्यालयको राजस्व संकलन गर्ने छ । उक्त काउन्टरको उद्घाटन भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकृत द्रोणा पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले संयुक्त रुपमा गरेका हुन् । हाल यस बैंकको ४७ वटा शाखा संजाल तथा ५३ वटा एटिएम रहेका छन् ।
पञ्चकन्या माई हाइड्रोपावरले ११ करोडको आईपीओ निष्कासन गर्न पायो अनुमति
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले ११ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डले मंगलबार पञ्चकन्या माईलाई जलविद्युत आयोजनाबाट प्रभावितका लागि आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले इलाममा ९.९ मेगावाट क्षमताको अपरमाई खोला आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । कम्पनीको जारी पुँजी ९९ करोड रुपैयाँ रहेको छ । यसमध्ये १० प्रतिशत स्थानिय बासिन्दालाई निष्कासन गर्न लागेको हो । यसपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ ।
सात दिनको तालिम, ४९ सय भत्ताः ५३ हजारलाई रोजगारी
काठमाडौं । जागिर नपाएर हैरान हुनु भएको छ ? त्यसो हो भने चिन्ता नगर्नुस, अब भत्तासहितको तामिल र तालिमपछि रोजगारीको अवसर प्राप्त हुँदैछ । राष्ट्रिय पुननिर्माण प्राधिकरले ७ दिनको तालिमसँगै रोजगारीको अवसर प्रदान गर्दैछ । प्राधिकरणका प्रवक्ता यमलाल भुषालका अनुसार प्राधिकरणले ५३ हजार युवालाई ७ दिनको तालिम दिएर पुननिर्माणको काममा खटाउँदैछ । प्राधिकरणले भूकम्प प्रभावित जिल्ला र त्यसका केहि केन्द्रहरु तोकेर तालिम दिनेछ । त्यसरी तालिम लिनका लागि सोही क्षेत्रमा निर्माण क्षेत्रमा काम गरिरहेका युवाहरुलाई वडा कार्यालयहरुको सिफारिसका आधारमा तालिममा समावेश गरिनेछ । ‘गाउँ गाउँमा डकर्मीलाई सात दिनको तालिम दिएर ५३ हजारलाई रोजगारी दिँदैछौं’, प्राधिकरणका प्रवक्ता भुषालले विकासन्युजसँग भने । मंसिर भित्र डकर्मी सिफारिस तथा छनौट सकेर पुस महिनादेखि तालिम आरम्भ गर्ने पनि उनले जानकारी दिए । हाल प्राधिकरणले तालिम उपलब्ध गराएका ४७ हजार डकर्मीहरु पुननिर्माणको काममा खटिएका छन् । उनीहरुले पाउने ज्याला भने स्थानीयस्तरमा आपसी समझदारीबाट तय हुनेछ । ‘रोजगारीका लागि भन्दै दैनिक हजारौं युवा विदेशिएका छन, प्राधिकरणले प्राबिधिक तालिम दिएर आफ्नै गाउँ ठाउँमा रोजगारीको अवसर प्रदान गर्दैछ’, भुषालले भने । यसरी तालिम प्राप्त जनशक्तिले भूकम्पपछिको पुननिर्माण सम्पन्न भएसँगै निर्माण क्षेत्रमा काम गरेर राम्रो आम्दानी गर्न सक्नेछन् । नेपालको निर्माण क्षेत्रमा स्वदेशी जनशक्तिको अभावमा ठुलो मात्रामा भारतीय कामदारले रोजगारी पाईरहेका छन् । नेपालको निर्माण क्षेत्रलाई राम्रो आम्दानी हुने रोजगारीको क्षेत्र मानिन्छ । पुननिर्माणको काम सम्पन्न भएपछि नेपालको निर्माण क्षेत्रमा ठुलो संख्यामा नेपालीहरुले नै रोजगारी पाउनेछन् । प्राधिकरणले पुननिर्माणको कामलाई भूकम्प प्रतिरोधी र छिटो गतिमा अघि बढाउनका लागि डकर्मीहरुलाई तालिम उपलब्ध गराएको भएपनि तालिम लिईसकेपछि विदेशिने क्रम बढेपछि भने पुननिर्माणमा असर गरेको छ ।
साढे ८ करोडको कारोबार गर्दै सकियो १५ औं हस्तकला व्यापार मेला, १ लाख ८ हजारले गरे अवलोकन
काठमाडौं । १५ औं हस्तकला व्यापार मेला सकिएको छ । मंगलबार सम्पन्न भएको मेलामा ८ करोड ५० हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल हस्तकला व्यापार मेला समितिका संयोजक धर्मराज शाक्यले जानकारी दिए । यसअघि मेलामा १० करोड भन्दा बढी कारोबार हुने अनुमान गरिएको थियो । मेलामा लक्ष्यभन्दा १ करोड ५० करोड कम कारोबार भएको शाक्यले बताए । नेपाल हस्तकला महासंघको आयोजनामा गत मंसिर १ गतेदेखि मेला सुरु भएको थियो । मेलामा ३ करोड भन्दा बढीको सामान बुकिङ भएको छ भने १ लाख ८ हजार जनाले अवलोकन गरेका छन् । शाक्यले समापन कार्यमा मन्तव्य दिँदै हस्तकला क्षेत्रले आर्थिक विकासको क्रममा निर्यात व्यापारमा अग्रणी भूमिकाको साथै रोजगारी सिर्जनाद्वारा गरिबी निवारणको क्षेत्रमा खेलेको बताए । सो क्रममा उनले महासंघको अभिलेख अनुसार गत आर्थिक वर्षमा हस्तकला निकासी करीब ५ अर्ब बराबरको रहेको बताए । उनका अनुसार चालू आवको प्रथम चौमासिकमा तथ्यांकले यस वर्ष हस्तकलाका वस्तुहरुको निर्यात वृद्धि हुने संकेत देखाएको छ । मेलामा उत्कृष्ट प्याभिलियन तर्फ फेयर ट्रेड ग्रुप नेपाललाई १ लाख रुपैयाँ बराबरको पूरस्कार प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट स्टलमा फिंगर प्रिन्ट आर्ट एण्ड क्राफ्ट्सलाई दिइएको थियो । परम्परामा आधारित समसामयिक वस्तु, होम डेकोर (टेक्सटाईल, सेरामिक, ऊनीजन्य वस्तु) र फेशन एसेसरिज र गरगहना तर्फ प्रथममा नेपाल बनकी श्रिभूषण मानन्धर, दोस्रोमा सबाह नेपाल र तेस्रोमा नेपलिज डि कलेक्सनकी मिनु बज्राचार्य सम्मानित भएका छन् । त्यस्तै परम्परागत विधातर्फ बीरेन्द्र चित्रकार, पुनम कुमारी दास र नरेन्द्र चौधरी पूरष्कृत भएका छन् । समकालिन विधामा ज्ञान कुमारी शाक्य, श्री कुमारी चौधरी र अम्बीका सिन्चुरी बिकेलाई सम्मान गरिएको छ । महासंघका अनुसार हस्तकला क्षेत्रमा करीब १२ लाख व्यक्ति प्रत्यक्ष तथा प्रत्यक्षरुपमा आबद्ध छन् ।
नेपाल बङ्गलादेश बैंकका नवनिर्वाचित अध्यक्ष जलाल अहमदद्धारा शपथ ग्रहण
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको नवनिर्वाचित अध्यक्ष जलाल अहमदले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बैंकको हालै सम्पन्न तेईसौं बार्षिक साधारणसभाले सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा जलाल अहमदलाई अध्यक्ष चयन गरेको थियो । उक्त सभाबाट संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह अलाम सरावर, मनिरुल इस्लाम तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्र बहादुर थापा, दीपक कार्की र मुकुन्द नाथ ढुंगेलसञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।
माथिल्लो तामाकोशी २०७५ मंसिरमा सम्पन्न हुने
दोलखा । विसं २०७५ मंसिरदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने बताइए पनि सबै युनिट एकैसाथ सञ्चालनमा ल्याउने गरी नयाँ समयसीमा निर्धारण गरिएको हो । सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ९३ प्रतिशतको हाराहारीमा पुगेको छ । कुल ८.५ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको प्रमुख काम सम्पन्न भएको छ । सुरुङ निर्माण सम्पन्न भएपछि त्यसको मर्मत तथा सम्भार(कंक्रिटिङ) गर्ने कार्य शुरु हुनेछ । सो आयोजनाको सुरुङ अन्य आयोजनाको तुलनामा फरक ढंगले निर्माण गरिएको छ । नेपालमा पहिलो पटक सुरुङमार्गमा ठाडो सुरुङसमेत रहेको छ । ठाडो सुरुङमा ‘स्टिल लाइनिङ’ गर्ने कार्य नै सबैभन्दा अप्ठ्यारो कार्यको रुपमा रहेको आयोजना प्रमुख विज्ञान श्रेष्ठको भनाइ छ । आयोजनामा अत्यन्तै अप्ठ्यारो कार्यका रुपमा रहेको दुईवटा ठाडो सुरुङ निर्माण यसअघि नै सम्पन्न भएको हो । आयोजना प्रमुख श्रेष्ठले दुईवटा ठाडो सुरुङ नेपालमा निर्माणाधिन आयोजनामध्ये पहिलो भएको बताए । कुल ३११ मिटर लामो माथिल्लो पेनस्टक सार्प टनेल गत भदौ ३१ गते निर्माण सम्पन्न भएको हो भने ३७३ मिटर लामो तल्लो पेनस्टक सार्प टनेल २०७१ माघमा सम्पन्न भएको हो । तर सो कार्यमा संलग्न निर्माण व्यवसायीको कार्यशैली र कार्यक्षमतामा प्रश्न उठेको छ । पेन स्टक पाइप आयात गर्न समय लागेको छ । सो कार्यको जिम्मा भारतीय कम्पनी टेक्स म्याको रेल एण्ड इञ्जनियरिङ कम्पनीले लिएको छ । आयोजनाले ठेकेदारलाई कुनै पनि विषयमा लापरबाही नगर्न र तोकिएको समयमा काम गर्न निर्देशन दिएको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका अध्यक्ष समेत रहनुभएका कुलमान घिसिङले आयोजना आम नेपालीको आशा र भरोसाको केन्द्रका रुपमा रहेकाले यसलाई शीघ्र सम्पन्न गराउन आयोजनामा कार्यरत सबै कर्मचारी र निर्माण व्यवसायीलाई निर्देशन दिए । “एक दिन पनि ढिला गर्ने र हुने काम नगर्न म सबैलाई निर्देशन दिन्छु, यो राज्यको प्राथमिकताको आयोजना हो । कुनै पनि व्यक्ति वा निकायले कमजोरी गरे, त्यो मान्य हुँदैन,” उनले भने । सरकारले आयोजनाका लागि अत्यावश्यक सबै साधन स्रोत उपलब्ध गराएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार मुलुकको विद्युत् माग सम्बोधन गर्न महत्वपूर्ण मानिएको आयोजनामा समस्या आउन नदिन सरकारले अत्यावश्यक स्रोत साधन उपलब्ध गराएको र बजेट समेत समयमै दिइएको छ । भौतिक निर्माण कार्य लगभग सम्पन्न हुने चरणमा रहेको छ । बाँकी रहेको काम भने हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र सिभिल निर्माणमा संलग्न ठेकेदारको आवश्यक समन्वयमा गर्नुपर्नेछ । ‘गोरखा भूकम्प’का कारण डेढवर्ष पर धकेलिएको आयोजना निर्माणमा देखिएको प्रगति जस्तै प्रसारण लाइन निर्माणमा सफलता हासिल भएको छ । कुल २२० केभी क्षमताको प्रशारण लाइनमा निर्माण हुने १२७ टावरमध्ये हालसम्म ९७ वटा टावर जडान कार्य सम्पन्न भएको छ । त्युस्तै ११८ वटा टावरको जग निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएकामध्ये ७.५ किलोमिटर तार तान्ने कार्य समेत सम्पन्न भएको छ । आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि निर्माणको क्रममा रहेको न्यू खिम्ती सवस्टेशनका कारण भने समस्यापर्ने देखिएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्न भारतको केइसिइन्टरनेशनले माटो परीक्षण गरिरहेको छ । एक वर्षभित्र सवस्टेशन निर्माण सम्पन्न हुने अवस्था भने देखिदैन । सो सवस्टेशन निर्माण सम्पन्न नभए पनि खिम्तीमा रहेको हिमाल पावरको सवस्टेशनबाट काठमाडाँै वा तराईमा विद्युत् प्रवाह गर्न कुनै समस्या नहुने आयोजनाले जनाएको छ । रासस
विस्तृत शान्ति सम्झौताको एघार वर्ष पुरा, पीडितले अझै न्याय पाएनन्
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा हुँदा पनि पीडितले न्याय पाउन नसकेको ठहर गरेको छ । आयोगले आज विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्तीले सरकार मानवअधिकारप्रति संवेदनशील नभएको बताए । आयोगले गरेका सिफारिस कार्यान्वयनमा सरकारले उदासीनता देखाएको उल्लेख गर्दै उनले आयोगले गरेका सिफारिस कार्यान्वयनमा ढिलासुस्ती गरिरहे कडारुपमा प्रस्तुत हुने चेतावनी दिए । आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले उम्मेदवारलाई लक्षित गरेर वम विस्फोट भइरहेको घटनाप्रति गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै सुरक्षा व्यवस्था कडा हुनुपर्नेमा जोड दिएका छन् । आयोगका सदस्य सुदीप पाठकले संविधान जारी हुनु र स्थानीय तहको निर्वाचन सम्पन्न हुनुबाहेक विस्तृत शान्ति सम्झौता भएपछि सशस्त्र द्वन्द्वका पीडितले न्याय पाउन नसकेको बताए । आयोगले द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय दिनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएता पनि कानून, स्रोत, साधन र स्वनिर्णयको अभावमा आयोगले काम गर्न नसकेको जनाएको छ । त्यसैगरी, आयोगले स्थानीय तह निर्वाचन २०७४ को अनुगमन प्रतिवेदन समेत सार्वजनिक गरेको छ । आयोगका सदस्य वस्तीले सो प्रतिवेदन सार्वजनिक गरेका छन् । प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा तीन व्यक्तिको हत्या भएको, केही जिल्लामा दलहरुबीच सामान्य झडप भए पनि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख छ । साथै, स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग केही घटे पनि कमी नभएको, निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको, मतदान केन्द्र अपांगमैत्री नभएको, मतदान शिक्षा प्रभावकारी नभएकोलगायत प्रतिवेदनमा उल्लेख छ । रासस