विकासन्युज

आरविवि मर्चेन्ट बैंकिङको सिईओमा डा.रमेशकुमार भण्डारी नियुक्त

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक मात्र सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । कम्पनीले भण्डारीलाई आगामी चार बर्षका लागि उक्त सिईओ पदमा नियुक्त गरेको हो । डा. भण्डारीले पुँजी बजारको लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् । उनले यसअघि राष्ट्रिय योजना आयोगको सार्वजनिक तथा निजी साझेदारी परियोजनामा परामर्शदाता तथा ग्रोमोर क्यापिटल मार्केट लिमिटेडमा नायब महाप्रवन्धकको रुपमा कार्य गरिसकेका छन् । २०७४ साउन २९ गतेबाट कारोबार सुरु गरेको आरविवि मर्चेन्ट बैकिङको हाल चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ सेवा राष्ट्रिय वाणिज्य बैंकको ६९ जिल्लामा रहेका १७९ वटा शाखा कार्यालयबाट पनि आरविवि मर्चेन्ट बैंकिङको सेवा लिन सकिने छ ।

नेप्से दोहोरो अंकले ओरालो, ५१ करोडको सेयर कारोबार

काठमाडौं । साताको पहिलो कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आइतबारको नेप्से ११.०१ अंकले ओरालो लागेर १५०९ अंकमा अडेको छ । बजारमा १५८ कम्पनीको ५१ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नागबेली लघुवत्तको ६ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल ११ लाख ६ हजार कित्ता सेयर किनबेच भएको छ । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.०९ प्रतिशतले ओरालो लागेको छ । त्यस्तै, सबैभन्दा बढी बोटलर्स नेपाल(तराई)को सेयर मूल्य ८.३३ प्रतिशतले बढेको छ । आइतबार बीमा समूहको परिसूचक ८८ अंकले राताम्मे भएको छ । त्यस्तै, विकास बैंक १८, हाइड्रोपावर १६, बैंकिङ १२.७८ र माइक्रोफाइनान्स सममूहको परिसूचक १२ अंकले राताम्मे भएका छन् । सो दिन सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक ३५ अंकले उकालो लागेको छ ।

८५ वटा डिलर्स सहित सिजी इलेक्ट्रोनिक्स इजिप्ट भ्रमणमा

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले “इन्जोए एण्ड ह्याभ अ ग्रेट ट्रीप टु इजिप्ट २०१७” भन्ने आवजका साथ आफ्ना ८५ वटा डिलर्सहरुलाई इजिप्ट भ्रमण लगेको छ । प्रत्येक वर्ष नेपाल भरिका सिजी इलेक्ट्रोनिक्सका डिलर्सहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ । यस परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ सिजी इलेक्ट्रोनिक्सले हरेक वर्ष झैं यसपाली पनि आफ्ना डिलर्सहरुलाई इजिप्ट भ्रमण लगेको बताएको छ ।

जनसेवी लघुवित्तको शतप्रतिशत हकप्रद पारित, चुक्ता पुँजी ९ करोड ८० लाख पुग्यो

काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद शेयर पारित भएको छ । पर्वतको कुस्मामा प्रधान कार्यालय रहेको यस संस्थाको दोश्रो बार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरको हो । संस्थाका अध्यक्ष विकाश गौचनको सभापतित्वमा सम्पन्न सभाले अध्यक्षको प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन लाई छलफल गरी पारित गरेको बताइएको छ । १०० प्रतिशत हकप्रद शेयर जारी पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ पुग्नेछ भने जारी पुँजी १४ करोड रुपैयाँ पुग्नेछ । संस्थापकहरुमा हकप्रद शेयर निश्कासन पश्चात ४ करोड २० लाख रुपैयाँ बराबरको ३० प्रतिशत शेयर सर्वसाधारणलाई विक्री गरी संस्थाको चुक्तापुँजी १४ करोड पुर्याउने अध्यक्ष बिकाश गौचनले बताए ।   २०७२ आश्विन २२ देखि कारोवार शुरु गरेको यस वित्तीय संस्थाले कारोवारको दोश्रो वर्षसम्ममा १० जिल्लामा २० वटा शाखा मार्फत १० हजार भन्दा वढि महिलाहरुलाई सामुहिक जमानीमा ६४ करोड लगानी गरी २१ लाख ४९ हजार रुपैयाँ मुनाफा गरेको प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्रीले बताए ।

२ वर्षपछि बुटबल पावरको आम्दानी भारी घट्ने, लगानीकर्ताको लाभांशमा पनि कटौती हुने

काठमाडौ । आगामी २ वर्षपछि बुटबल पावर कम्पनी लिमिटेड (बीबीसी) को आम्दानीमा भारी गिरावट आउने भएको छ । ६० मेगावाटको खिम्ती आयोजनाको विकासकर्ता हिमाल पावर लिमिटेडबाट वर्षेनी पाउँदै आएको ४० करोडदेखि ५० करोड रुपैयाँ बराबरको लाभांशमा भारी गिरावट आउने भएपछि बीपीसीको आम्दानी घट्ने भएको हो । आम्दानीमा कमी आएपछि लगानीकर्ताले पाउने लाभांशमा पनि गिरावट आउने छ । २ वर्षपछि अर्थात सन् २०२० जुलाईमा हिमाल पावरले निर्माण गरेको खिम्ती आयोजनाको आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा जाने छ । सोही समयदेखि हिमाल पावर र विद्युत प्राधिकरणबीच अमेरिकी डलरमा भएको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) को म्याद सकिने भएपछि करोडौ रुपैयाँ आम्दानी गुमाउने भएको हो । खिम्तीको आधा स्वामित्व विद्युत प्राधिकरणमा हस्तान्तरण र डलर पीपीएको म्याद सकिएर नेपाली मुद्रामा कम दर रेट कायम भएपपिछ बीपीसीले हिमाल पावरबाट हाल पाउदै आएको वार्षिक ५० करोड रुपैयाँ लाभांश घटेर केही करोडमा सीमित हुनेछ । त्यसपछि लगानीकर्ताले पाउने लभांशमा भारी गिरावट आउनेछ । हिमाल पावरबाट पाउने ५० करोड रुपैयाँ लाभांशले बीपीसीको नाफा बढेर वार्षिक २८ प्रतिशत हारहारीमा लाभांश वितरण गर्दै आएको छ । २ वर्षपछि बीपीसीले खिम्तीबाट प्राप्त हुने न्युन लाभांश र ९.४ मेगावाटको आँधिखोला, १२ मेगावाटको झिम्रुक र ४ मेगावाटको खुदी हाइड्रोपावर लिमिटेडबाट पाउने लाभांशमा मात्र निर्भर हुने छ । यी आयोजनाबाट धेरै आम्दानी नहुने भएपछि नाफामा कमी आउने देखिएको छ । नयाँ आयोजना नबनाएर हिमाल पावरमा मात्र निर्भर रहदा सन् २०२० पछि बीपीसीले लगानीकर्तालाई लाभांश नै दिन नसक्ने अवस्था देखिएको छ । खिम्तीको प्रवद्र्धक हिमाल पावरमा बीपीसीको १७ प्रतिशत स्वामित्व छ । बीपीसीले हिमालबाट वार्षिक औसत न्युनतम् ४० करोडदेखि बढीमा ५० करोड रुपैयाँ लाभांश पाउँदै आएको छ । आयोजनाको आधा स्वामित्व प्राधिकरणमा गएपछि हालको पीपीए सम्झौता पनि सकिनेछ । नयाँ पीपीए सम्झौता हुने भएपछि हिमाल पावरबाट बीपीसीले पाउने लाभांशमा पनि भारी गिरावट आउनेछ ।खिम्ती आयोजना बुट नीतिअन्र्तगत निजी तथा विदेशी लगानीबाट निर्माण भएको पहिलो आयोजना हो । आयोजनाले सन् २००० को जुलाइ ११ तारिखदेखि विद्युत उत्पादन थालेको हो । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) रहेको छ । हिमाल पावर बीपीसी, नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको छ । त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो । विद्युत प्राधिकरणसंग डलरमा पीपीए गदा १ डलर बराबर ५२ नेपाली रुपैयाँ थियो । २ दशकको अन्तरालमा डलर मजवत भएर १०४ रुपैयाँ पुगेको छ । सरकारले सांग्रिला इनर्जी लिमिटेडलाई ९६ करोड रुपैयाँमा बीपीसीको ७० प्रतिशत सेयर बेचेको हो । यसमा सांग्रिलाको ६८.९५ प्रतिशत, सर्वसाधारणको १०, सरकारको ९.९, इन्टरकास्ट नेपालको ६, युनाइटेड मिसन टु नेपालको २.७९, कर्मचारीको २ र प्राधिकरणको १ प्रतिशत सेयर छ । ५ वर्षमा बीपीसीले १ हजार मेगावाट बिजुली उत्पादन गर्ने केहि वर्ष बीपीसीको आम्दानीमा गिरावट आएपनि पाँच वर्षको लक्ष्य सम्पन्न भएपछि बीपीसीका लगानीकर्ता मालमाल हुने अवस्था आउने देखिन्छ । आगामी पाँच वर्षपछि बीपीसीले चीनियाँ कम्पनीको साझेदारीमा १ हजार मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले २ खर्ब रुपैयाँ चीनियाँ लगानी ल्याउनेछ । आफनो लगानीमा बीपीसीले ३७.६ मेगावाटको कावेली ए आयोजना कावेली इनर्जी लिमिटेड र ३० मेगावाटको न्यादी आयोजना न्यादी हाइड्रोपावर लिमिटेडमार्फत बीपीसीले निर्माण गरिरहेको छ । यी दुबै आयोजना ३ वर्षमा सम्पन्न हुदैछन् । बीपीसीले जलविद्युत आयोजना बनाउन चीनका ३ वटा कम्पनी र नेपाली साझेदार बीपीसीको संयुक्त लगानीमा एसजीआईजी इन्टरनेसनल नेपाल हाइड्रोपावर ज्वाइन्ट डेभलपमेन्ट कम्पनी स्थापना भएको छ । तत्काल १ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा बीपीसीका २०, चीनको सिचवान इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड (एसजीआई) ५१ र छेन्दु सिनचेन इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको १७ र क्योङ इन्जिनियरिङ कनसल्टिङ कम्पनी लिमिटेडको १२ प्रतिशत स्वामित्व रहने गरी लगानी संरचना तयार पारेको छ । होल्डिङस कम्पनीमा बीपीसीले ३८ करोड रुपैयाँ लगानी गर्नेछ । बीपीसीको संचित कोषमा २ अर्ब ३६ करोड ९० लाख रुपैयाँ छ । यस्तै सहायक कम्पनीमार्फत बीपीसीले १०८ मेगावाट क्षमताको तल्लो मनाङमस्र्याङदी आयोजना निर्माण गर्ने भएको छ । यो आयोजनामा चीनियाँ लगानी हुने छ । सानो आयोजनामा मात्र बनाउन नहुने मान्यताका आधारमा जविद्युतमा ठुलो लगानी भित्राउने तयारी भएको उनको भनाई छ ।      

नेरुडे र सूर्योदय लघुवित्तले तोके बुक क्लोजको मिति, कहिले कहिले हुँदै छ?

काठमाडौं । नेरुडे लघुवित्त विकास बैंक र सूर्योदय लघुवित्त वित्तीय संस्थाले बुक क्लोजको मिति तोकेका छन् । नेरुडे लघुवित्तको आगामी पुस ९ गतेदेखि २९ गतेसम्म बुक क्लोज हुन लागेको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि यस कम्पनीको उक्त २१ दिन बुक क्लोज हुन लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २९ गते हुँदै छ । सभामा सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर सहित ७.६८ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरिने कम्पनीले जनाएको छ । त्यस्तै, सूर्योदय लघुवित्तको पनि आगामी पुस ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज हुँदै छ । यस कम्पनी आगामी पुस २२ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ ।

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले एक करोड ८४ लाख रुपैयाँ लाभांश दिने

काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई एक करोड ८४ लाख २१ हजार ५३ रुपैयाँ लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको २१.२१ प्रतिशतले हुन आउने एक करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर वापत ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ करोड २५ लाख रुपैयाँ रहेको छ । २१.२१ प्रतिशत बोनस सेयरपछि कम्पनीको पुँजी ९ करोड ९९ लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९५८ रुपैयाँ रहेको छ ।

एसबीआई बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर पछि मूल्य समायोजन

काठमाडौं । आइतबार मात्रै नेपाल एसबीआई बैंक र लुम्बिनी जनरल इन्स्योेरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले एकैदिन यी दुई कम्पनीको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले एसबीआई बैंकको १५.४२ प्रतिशत बानेस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि एसबीआई बैंकको सेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८४८ रुपैयाँ रहेको थियो । त्यस्तै, लुम्बिनी जनरल इन्स्योेरेन्सको पनि १२.८२ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८०३ रुपैयाँ रहेको थियो ।