विकासन्युज

प्रिमियर इन्स्योरेन्सको एफपीओ बिक्री खुला आजसम्म

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) बिक्री बुधबारसम्म मात्र खुला हुने भएको छ । गत आइतबारदेखि बिक्री खुला भएको एफपीओको माग भन्दा बढी आवेदन परेपछि बुधबार बैंकिङ सयमपछि बन्द हुने भएको हो । कम्पनीले प्रतिकित्ता ७९९ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । प्रिमियम मूल्य ६९९ र अंकित मूल्य १ सय रुपैयाँ थप गरी एफपीओ निष्कासन गर्न लागेको हो । न्युनतम् १० देखि २ हजार २९० कित्तासम्म एफपीओ भर्न सकिने छ । कम्पनीले चुक्तापुँजी बढाउन प्रिमियम मूल्यमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको सेयर मूल्य १ हजा ५३५ रुपैयाँ छ । एफपीओबाट कम्पनीमा ५२ करोड ६९ लाख ९२ हजार रुपैयाँ थप हुने छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ । दरखास्त दिन पाउने न्युनतम सेयर संख्या १० र बढीमा ३ हजार २९० कित्ता रहेको छ ।

आज राष्ट्र बैंकले १० अर्ब बजारमा पठाउदै, तरलता समस्या समधान होला ?

काठमाडौं । वाणिज्य बैंकहरुले धेरै रकम मागेपछि नेपाल राष्ट्र बैंकले आज बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीमा पुनः रकम पठाउन लागेको हो । आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएपछि केन्द्रीय बैंकले लगानीयोग्य पुँजीको समस्या समधान गर्न थप रकम पठाउन लागेको हो । आइतबार २१ वाणिज्य बैंकले १९ अर्ब रुपैयाँ मागेकोमा केन्द्रीय बैंकले ५ अर्ब रुपैयाँ बैंकलाई दिएको थियो । राष्ट्र बैंककाअनुसार मंगलबारसम्म बैंकिङ प्रणालीमा ३१ अर्ब रुपैयाँ अधिक तरलता छ । आइतबार औसत साढे ४ प्रतिशत ब्याजमा विकास ऋणपत्र राष्ट्र बैंकमा धितो राखेर बैंकहरुले पैसा उठाएका हुन् । अधिक तरलता भएपनि केही बैंकमा लगानीयोग्य पुँजीको समस्या देखिएपछि तत्कालका लागि राष्ट्र बैंकले ऋणपत्र खरिद गर्न लागेको हो । विकास ऋणपत्रको समयसम्म यो कायम हुने राष्ट्र बैंकले जनाएका छ । यो दीर्धकालिन तरलता प्रवाह हो । राष्ट्र बैंकले गत वर्ष पनि यस्तै समस्या आएपछि सिधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । बजारमा लगानीयोग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहदा राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन् । अन्तर बैंक ब्याजदर साढे ४ प्रतिशतमा अडिएकाले राष्ट्र बैंकले रिपो निष्कासन गर्न नपाएको हो । अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट माथि गएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाएर हस्तक्षेप गर्छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा अधिक तरलता रहेको राष्ट्र बैंकको भनाई छ । बैंकरले मुद्दती निक्षेपको ब्याज दर नबढाउने आन्तारिक सहमति गरेका छन् । मुद्दतीको ब्याजदर बढ्दा कर्जा धेरै महंगो हुने भएपछि नेपाल बैंकर्स एसोसियसनको पहलमा बैठक गरी ब्याजदर अब नबढाउने सहमति गरेका हुन् । हाल मुद्धति निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिने गरी बैंकले योजना ल्याएका छन् । ब्याज नबढाउने बैंकको निर्णयले सेयर बजारमा सुधार आउन थालेको छ । बैंकले साधारण वचतमा भने ६ प्रतिशत भन्दा कम ब्याज दिइरहेका छन् ।सरकारले खर्च गर्न नसक्दा ढुकुटीमा ३ खर्ब २८ अर्ब रुपैयाँ वचतमा छ । यो महिना सरकारले कुल राजश्व लक्ष्यको ४० प्रतिशत उठाउदै छ । अर्बौ रुपैयाँ करको रुपमा ढुकुटीमा थपिदै छ ।

गर्भनर नेपालद्धारा ग्लोबल आइएमईको नवनिर्मित रजिर्ष्टड कार्यालयको उद्घाटन

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. को ११औँ वार्षिकोत्सवको अवसरमा बैंकको नवनिर्मित कर्पोरेट/रजिर्ष्टड कार्यालयकोे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजिवी नेपालले मंगलबार उद्घाटन गरेका छन् । सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको यस बैंकले स्थापनाको ११ वर्ष मा नै आफ्नौ कर्पोरेट/रजिर्ष्टड कार्यालय स्थापना गर्न सफल भएको हो । कर्पोरेट/रजिर्ष्टड कार्यालय उद्घाटन समारोहमा बोल्दै गर्भनर नेपालले स्थापनाको छोटो समयमा नै आफ्नै लगानीमा कर्पोरेट/रजिर्ष्टड कार्यालय खोल्न सफल भएकोमा ग्लोबल आइएमई बैंकलाई बधाई दिएका छन् । उक्त कर्पोरेट/रजिर्ष्टड कार्यालय उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । ११ औँ वार्षिकोत्सवकै अवसरमा एकै दिन देशका विभिन्न ५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरेको छ । बैंकले नवनिर्मत भवन कमलादी, भक्तपुर जिल्लाको गोठाटार, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका, गुल्मी जिल्लाको गौडाकोट र झापा जिल्लाको दमक नगरपालिकामा गरि ५ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । उक्त ५ वटा शाखा संचालनमा ल्याएसंगै हाल बैंकको शाखा संख्या ११३ पुगेको छ । बैंकले शाखा मुलुकका हरेक क्षेत्र र वर्ग सम्म सेवा पुर्याउने उद्देश्यले ७ वटै प्रदेशमा शाखा विस्तार गरिसकेको छ । साथै, नवनिर्मित कर्पोरेट/रजिष्र्टड कार्यालय परिसरमा एटिएम सेवा समेत सञ्चालनमा ल्याएको छ । उक्त एटिएम सेवा संगै बैंकको एटिएम संख्या १२७ पुगेको छ ।

नबिल फाउण्डेसनद्धारा गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई सहयोग

काठमाडौं । नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले बालिकाहरुको शिक्षाका लागि श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई बालिकाहरुको शिक्षा प्रयोजनको लागि एक लाख २० हजार रुपैंया प्रदान गरेको छ । नबिल बैंकले विगतको ३ वर्षदेखि बालिकाहरुको शिक्षा प्रयोजनको लागि पुर्याउँदै आएको उक्त सहयोगलाई नबिल फाउण्डेसनले निरन्तरता प्रदान गरेको छ । नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले सो रकम बराबरको चेक वरिष्ठ समाजसेवी एवं प्रतिष्ठानकी संरक्षीका श्रीमती अंगुरबाबा जोशीलाई गत पुस १६ गतेका दिन हस्तान्तरण गरेका छन् । सो प्रतिष्ठान समाजका विभिन्न समुदायहरु जस्तै दलित, थारु, शेर्पा, नेवार, मगर, क्षेत्री, ब्राम्हण, गुरुङ्ग, तामाङ्ग, राई, मधेसी आदिका बालिकाहरुको शैक्षिक विकासमा गुरुकुल पद्धति द्वारा पठन पाठन गराउने नेपालको एक मात्र कन्या गुरुकुल रहेको छ । बालिकाहरुलाई संस्कृत साहित्य तथा वेद, पुराण, उपनिषद जस्ता उच्चकोटीका ग्रन्थहरुको साथै अंग्रेजी भाषा, विज्ञान, कम्प्युटर, ललित कला, नृत्य, योग, ध्यान जस्ता विषयहरुमा पारङ्गत ज्ञान दिलाइ प्राचीन तथा आधुनिक ज्ञानको संयोजन गरी समाजमा बौद्धिक नेतृत्व प्रदान गर्न सक्ने भावी विदुषीहरु उत्पादन गर्न प्रतिष्ठान लागि परेको छ । सो अवसरमा प्रतिष्ठानको कार्यको सरहाना गर्दै अग्रवालले नबिलको यस सानो सहयोगले प्रतिष्ठानलाई सामाजिक कार्यका क्षेत्रमा सेवा प्रदान गर्न अझ बढी उत्पे्ररणा मिल्ने विश्वास व्यक्त गरेका छन् । सोही अवसरमा श्रीमती जोशीले आगामी दिनहरुमा अझ बढी प्रभावकारी सेवा प्रदान गर्न प्रतिष्ठान प्रतिबद्ध रहेको विचार व्यक्त गरेका छन् ।

गभर्नर डा.नेपालको बैंकका सीईओप्रति आक्रोस, निक्षेप बढाउन सक्नुहुन्न भने चुप लागेर बस्नुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले निक्षेप संकलन गर्न नसके चुप लागेर बस्न बैंकहरुलाई भनेका छन् । १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६७ अर्ब बैंकले लगानी गर्दा बजारमा लगानीयोग्य पुँजीको अभाव भएको दावी गर्दै गभर्नर नेपालले भने “निक्षेप बढाउनुस सक्नु हुन्न भने चुप लागेर बस्नुस, नत्र कार्वाही हुन्छ ।” निक्षेप नबढाइ लगानी गर्न नसक्ने अवस्था नरहेको उनको भनाई थियो । ग्लोबल आईएमई बैंकको नयाँ कर्पोरेट कार्यलयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बैंकरलाई भने “निक्षेप संकलन गरेर मात्र कर्जा प्रवाह गर्नुस नत्र भने कार्वाही हुने छ ।” अधिकाँश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहभागी कार्यक्रममा गभर्नर नेपालले बैंकको कार्यशैलीप्रति कडा आलोचना गरे । उनले आफनो क्षमता भन्दा बढी लगानी गर्दा समस्या आएको भन्दै क्षमता बढाएर मात्र लगानी विस्तार गर्न बैंकलाई सुझाए । उनले अहिलेको अवस्था आउनुमा बैकहरु दोषि रहेको दावी गर्दै आक्रोस व्यक्त गरेका छन् । पछिल्ला केही समययता बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको संकट बढेको छ । अधिकाँश बैंक लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।गभर्नरले लगानीयोग्य पुँजीको समस्या समधान गर्न बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको जानकारी दिए ।  बैंकका कारण रिपोमार्फत बजारमा पैसा पठाउन नसकेको गुनासो गरे । उनले सञ्चालक समितिलाई खुसी पार्ने काम मात्र नगर्न सीईओलाई चेतावनी दिएका थिए । राष्ट्र बैंकले बैकिङ प्रणालीमा ३१ अर्ब रुपैयाँ अधिक तरलता रहेको जानकारी दिएको छ । यता बैंकको पुँजी, कर्जा र निक्षेप अनुपात बढेर ७७ प्रतिशत पुगेको छ । सरकारले खर्च गर्न नसक्दा ढुकुटीमा ३ खर्ब २८ अर्ब रुपैयाँ वचतमा छ । यो महिना सरकारले कुल राजश्व लक्ष्यको ४० प्रतिशत उठाउदै छ ।

वित्तीय विवरण पेश गर्न नेप्सेको आग्रह

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीलाई लेखा परीक्षण भएको वित्तीय विवरण र शेयरधनीको सूची तत्काल बुझाउन निर्देशन दिएको छ । स्टकले प्रकाशित गरेको सूचनामार्फत उक्त विवरण तत्काल बुझाउन निर्देशन दिएको हो । सूचीकृत सबै कम्पनीको संस्थापक र पब्लिक शेयरधनीको सूचीका साथै आव २०७३/७४ को लेखा परीक्षण सम्पन्न भएको वित्तीय विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सूचीकृत कम्पनीले लेखा परीक्षण नगरेको भए पनि अघिल्ला तीन वर्षको वित्तीय विवरण बुझाउन निर्देशन दिएको जानकारी दिए । नेप्सेले सूचीकृत कम्पनीको वर्गीकरणका लागि उक्त विवरण माग गरेको जनाएको छ । उक्त विवरण आगामी माघ १० गतेभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०५३ अनुसार चुक्ता पुँजी (साधारण शेयर) कम्तीमा रु दुई करोड भएको, साधारण शेयरवालाको सङ्ख्या कम्तीमा एक हजार जना भएको, सार्वजनिक रुपमा शेयर बिक्री गरेको भए त्यसको विवरणसमेत उल्लेख गर्न कम्पनीलाई आग्रह गरेको छ । कम्तीमा तीन वर्षदेखि लगातार मुनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा उक्त आर्थिक वर्षको कारोबार तथा आयव्यय विवरण स्टक एक्सचेन्जमा पेश गरिसकेको कम्पनीलाई (क) वर्गमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । रासस

अल्फानजाईमी लाइफ साइन्स इन्डियाको उत्पादनहरु नेपाली बजारमा

काठमाडौं । भारतको ख्याति प्राप्त कम्पनी अल्फानजाईमी लाइफ साइन्स इन्डिया प्रा लिको नेपाल स्थित आधिकारिक विक्रेता अल्फान जाईमी लाइफसाइन्स नेपालद्धारा कम्पनीका उत्पादनहरु नेपाली बजारमा शुभारम्भ भएको छ । कम्पनीले विगत १२ वर्ष देखि विविध उत्पादनहरुमा प्रयोग हुने इन्जाइम्स(अर्गानिक स्टिमुलेट प्रडक्स) उत्पादन गर्दै आइरहेको छ । आइएसओ ९००१ः२००८, एफएसएसएआई, भेडिक अर्गानिक सर्टिफिकेट आदि प्राप्त कम्पनी आफ्ना उत्पादनहरु भारत, अफ्रिका, साउथ इन्ट एसियाली मुलुकहरुमा निर्यात गर्दै आइरहेको छ । विशेष गरी कम्पनीद्वारा उत्पादित इन्जाइम्स चीनी उत्पादन, खाद्यतथा पेय पदार्थ प्रोशेसिङ, वेकरी, स्वास्थ्य, बायो फर्मास्युटीकल्स, कृषि, पशु पालन आदि क्षेत्रमा अर्गानिक तरिकाबाट उत्पादन बृद्धि गर्न प्रयोग गर्ने गरिन्छ । नेपाली बजारमा विशेष गरी चीनी कारखाना, पेय पदार्थ उत्पादक कम्पनी, औषधीजन्य उत्पादक कम्पनी, पशु खाद्य उत्पादक कम्पनी आदि क्षेत्रमा लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।

अघि बढ्यो भेरी बबई डाइभर्सन, ४८ मेगावाट विद्युत् उत्पादन गर्ने

काठमाडौं । बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ शुरु गरिएको भेरी-बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सो आयोजनामा पहिलो पटक ‘टनेल बोरिङ मेशिन’ टिबिएम प्रयोग गरिएको छ । अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम मेशिनको सफलतापूर्वक परीक्षण सम्पन्न भएको र हालसम्म एक हजार ५० मिटर सुरुङ खनि सकिएको छ । प्रमुख बस्नेतले टिबिएमको सफल परीक्षणपछि नेपालमा सुरुङ निर्माणका लागि अब परम्परागत प्रविधि प्रयोग गर्नु नपर्ने भएको छ । परम्परागत तवरले सुरुङ खन्दा विस्फोट गराउने गरिन्छ । “मेशिनको प्रयोगपछि अब नेपालमा सुरुङ निर्माणका लागि टिबिएम युग शुरु भएको छ”, आयोजना प्रमुख बस्नेतले भने, “मेशिनको प्रयोग सफल भएको छ ।” भेरी बबई परियोजनालाई बहुउद्देश्यीय आयोजनाका रुपमा अगाडि बढाइएको छ । सो आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाह्रै महिना बर्दिया र बाँकेमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । आयोजनाको सुरुङ खन्ने काम गत कात्तिक २९ गतेदेखि शुरु भएको हो । कूल १२ किलोमिटर लामो सुरुङ खन्ने अवधि २४ महिना राखिएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्माङ्गत खनालले दैनिक २० मिटरका दरले सुरुङ खन्ने कार्य अगाडि बढेको जानकारी दिए । “अब हामी सुरुङ खन्ने कार्यलाई थप गति दिन्छौँ । तोकिएको समयभन्दा अगावै सुरुङ निर्माण कार्य सम्पन्न हुने छ”, उनले भने । प्रदेश नं ५ र प्रदेश नं ६ को आर्थिक समृद्धिसँग जोडिएको सो आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गराउने गरी आफूहरु क्रियाशील रहेको जानकारी दिँदै खनालले हालसम्म आयोजनाको भौतिक प्रगति २० प्रतिशत र वित्तीय प्रगतिसमेत २० प्रतिशत नै रहेको बताए । आयोजनाको कूल लागत रु १६ अर्ब ४५ करोड रहेको छ । सुरुङ निर्माणका लागि मात्रै रु १० अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । सुरुङ निर्माण अगाडि बढेपछि विद्युत् गृह निर्माणको कामसमेत शुरु हुनेछ । भेरीको पानीलाई बबई नदीमा झारेर सिँचाई तथा विद्युत् उत्पादन गर्ने सो नेपालको पहिलो बहुउद्देश्यीय आयोजना हो । सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) बीच आयोजना निर्माणका लागि २०७१ साल माघमा ठेक्का सम्झौता भएको थियो । हाल आयोजनामा दैनिक तीन सयभन्दा बढी नेपाली तथा चिनियाँ कामदार कार्यरत छन् । सुर्खेतकोे चिप्लेस्थित भेरी नदीमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेण्ड ४० घनमिटर पानी बबई नदीमा खसालिनेछ । बबईमा खसालिएको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके तथा बर्दियामा सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको लक्ष्य छ । पहिलो चरणमा सुरुङ निर्माण र दोस्रो चरणमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य राखिएको छ । हालसम्मको प्रगति सन्तोषजनक एवम् उत्साहप्रद भएको टिप्पणी गर्र्दैआयोजना प्रमुख बस्नेत राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई आयोजनालाई नमूना बनाउने विश्वास व्यक्त गरेका छन् । सो आयोजनामा टिबिएम प्रयोग सफल भएपछि नेपालमा निजी क्षेत्रका ऊर्जा उद्यमीसमेत टिबिएम ल्याउने तयारीमा लागेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले यही पुस २१ गतेदेखि आयोजना गरेको हिमालयन हाइड्रो एक्पो र २०१८ मा समेत टिबिएम मेशिन प्रदर्शनीमा राखिनेछ । इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले टिबिएम मेशिनका बारेमा चासो राख्दै केही उद्यमी चीन पुगेको जानकारी दिएका छन् । रासस