कार्की आयोग भन्छ–‘४२ अर्ब नोक्सान’, योजना आयोग भन्छ–‘८४ अर्ब बढी’
काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेन्जी आन्दोलनमा भएको भौतिक क्षतिबारे दुई सरकारी आयोगले फरक फरक नोक्सानी भएको प्रतिवेदन बनाएका छन् । गौरीबहादुर कार्की नेतृत्वको छानविन आयोगले भदौं २३ र २४ गते भएको आन्दोलनका क्रममा कुल भौतिक क्षति करिब ४१ अर्ब ६९ लाख १८ हजार ५०९ रुपैयाँ बराबर रहेको उल्लेख गरिएको छ । तर यसअघि सरकारद्वारा गठन गरिएको छुट्टै समितिले भने क्षतिको परिमाण अझ ठूलो देखाएको छ । सरकारको असोज ५ गतेको निर्णयअनुसार राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठित समितिले बनाएको प्रतिवेदनमा कुल क्षति करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ पुगेको अनुमान गरिएको छ । कार्की आयोगले देशभरिबाट क्षतिको विवरण संकलन गर्न सार्वजनिक आह्वान गरेको थियो । धेरै क्षति भएका जिल्लामा आयोगका अध्यक्ष तथा सदस्यहरूको नेतृत्वमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी प्रत्यक्ष रूपमा क्षति विवरण संकलन गरिएको जनाइएको छ। साथै विभिन्न निकायसँग पत्राचार गरी थप विवरण पनि माग गरिएको थियो । कार्की आयोगले भने आफ्नो रिर्पोट पूर्ण नभएको स्वीकार गरेको छ । सरकारले दिएको कार्यादेश, जनशक्ति र समय अभावका कारण सबै जिल्लाबाट पूर्ण विवरण संकलन गर्न सम्भव नभएको, तोकिएको ढाँचामा सम्बन्धित निकायबाट समयमै विवरण प्राप्त नहुँदा क्षतिको यथार्थ परिमाण अझै पूर्ण रूपमा यकिन हुन नसकेको कार्की आयोगले जनाएका छ । यस अवस्थालाई ध्यानमा राख्दै कार्की आयोगले आफ्नो प्रतिवेदनसँगै राष्ट्रिय योजना आयोगको प्रतिवेदनलाई समेत आधार मानेर क्षतिको समग्र चित्र बुझ्नुपर्ने जनाएको छ । विशेषज्ञहरूले प्रारम्भिक र सरकारी अनुमानबीच ठूलो अन्तर देखिएकाले थप विस्तृत र एकीकृत अध्ययन आवश्यक रहेको औंल्याएका छन् ।
खेत जोत्दाजोत्दै प्रेमनाथको हत्या, दुई महिना पुग्न लाग्दा पनि दोषी अझै फरार
काठमाडौं । गत माघ १६ गते सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । खेत जोतिरहेका बेला सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए । मृतक यादवका दुई नाबालक छोरा छन् । घरको मुख्य सहाराकै हत्यापछि परिवार विचल्लीमा परेको छ । कक्षा १० मा अध्ययनरत जेठो छोरो रामजनम यादवले आफ्नो र भाइको भविष्य अन्योलमा परेको बताए । ‘हाम्रो सहारा बुवा नै हुनुहुन्थ्यो, अब हाम्रो भविष्य अन्योलमा परेको छ,’ उनले भने । घटनाको ५४ दिन बितिसक्दा पनि मुख्य दोषीको पहिचान हुन नसक्दा पीडित परिवारमा निराशा र आक्रोश बढेको छ । मृतकका भाइ अभयनाथ यादवले प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै भन्नुभयो, ‘प्रहरीले अनुसन्धान भइरहेको छ मात्रै भन्छ, तर अहिलेसम्म दोषी पत्ता लागे नलागेका बारेमा कुनै जानकारी दिन सकेको छैन ।’ प्रहरीले सुरुमा घटनाका प्रत्यक्षदर्शी रामविलास यादव र रामप्रसाद महरालाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि २३ दिनपछि उनीहरूलाई रिहा गरेको थियो । पीडित पक्षले हत्यामा संलग्नलाई यथाशीघ्र कारबाही गरी न्यायको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वासुदेव पाठकले घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार हालसम्म शङ्कास्पद १४ जनालाई अनुसन्धानको दायरामा ल्याएर सोधपुछ गरिएको छ । प्रहरीले यस घटनाको गम्भीरतालाई हेरेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)सँगको समन्वयमा अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरी उपरीक्षक पाठकले भने, ‘अनुसन्धानका क्रममा केही महत्वपूर्ण सूचना प्राप्त भएका छन् । शङ्कास्पद व्यक्तिहरू प्रहरीको निगरानीमा छन् । दोषी चाँडै पक्राउ पर्नेमा हामी विश्वस्त छौं ।’
राजीनामा दिनु पर्नेबारे के भन्छन् गभर्नर पौडेल ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी) (रास्वपा)ले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने दिन नजिकिएसँगै अहिले राजनीतिक नियुक्तिको विषय चर्चामा छ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठनको तयारी भइरहँदा रास्वपाले राजनीतिक नियुक्ति लिएका निकाय तथा संस्थामा कार्यरत व्यक्तिहरुले मार्ग प्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक भइरहेको छ । यद्यपि रास्वपाको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन । तर, रास्वपाका नेताहरूले यस्ता खालका धारणा राख्दै आएका छन् । रास्वपाले संवैधानिक निकाय, सार्वजनिक संस्थान, कूटनीतिक नियोग र विभिन्न बोर्डहरूमा राजनीतिक रुपमा नियुक्त हुँदै आएका व्यक्तिहरूलाई हटाएर नयाँ नियुक्ति गर्ने तयारी थालेको पनि बुझिएको छ । रास्वपाका नेताहरूले बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि बस्ने मन्त्रिपरिषद्को पहिलो बैठकमै यसबारे निर्णय हुने बताउँदै आएका छन् । सोही कारण रास्वपाले नयाँ सरकार गठन हुनुअघि नै त्यस्ता पदमा रहेका व्यक्तिहरूलाई नैतिकताका आधारमा स्वैच्छिक पदत्याग गर्न आग्रह गरिएको छ । रास्वपाको बुझाइमा यस्ता नियुक्तिको संख्या करिब ११ सय छन् । यसैबीच राजनीतिक नियुक्ति हुने नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको धारणा पनि सार्वजनिक भएको छ । एक टेलिभिजन अन्तर्वार्तामा उनले आफ्नो राय राखेका छन् । उनले भनेका छन्, ‘अहिलेसम्म त्यस्तो कुनै दबाब र औपचारिक पत्र आएको छैन । नियुक्तिहरू कानुनअन्तर्गत नै रहेको हुन्छ । हामीले आफ्नो काम गर्ने हो । रास्वपाको आग्रहलाई मैले यसलाई सहज रूपमा लिएको छु । त्यसमा पनि विभिन्न मतहरू हुन्छन् । अहिलेसम्म प्रधानमन्त्रीबाट आएको छैन । प्रधानमन्त्री नियुक्त भएपछि के आउँछ, हामीले हेर्ने भनेको अफिसियल स्टेटमेन्ट हो ।’ उसले अघिल्लो सरकारले ती मानिसहरूलाई योग्यता र क्षमताका आधारमा नभएर, राजनीतिक आस्था, पहुँच र कतिपय अवस्थामा आर्थिक लेनदेनका आधारमा नियुक्ति दिएको बताउँदै त्यस्ता व्यक्तिलाई हटाउने योजना रास्वपाको छ । उसो त रास्वपाले अर्थमन्त्रीका रूपमा डा. स्वर्णिम वाग्लेलाई अगाडि सार्ने तयारी गरिरहेको छ । डा. वाग्ले र गभर्नर पौडेल कुनै समयका असल साथी र सहकर्मी हुन् । धेरैले पौडेललाई वाग्लेको शिष्यका रूपमा बुझ्छन् तर पछिल्लो समय दुईबीचको सम्बन्धमा दरार आएको बुझाइ अधिकांशको छ । यद्यपि त्यस्तो विवाद सार्वजनिक रूपमा देखिएको र सुनिएको छैन ।
गाडी भाडा नबढे यातायात ठप्प पार्ने व्यवसायीको चेतावनी
काठमाडौं । इन्धनको मूल्य लगातार बढ्दै गएपछि सार्वजनिक यातायात क्षेत्र थप संकटमा परेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । महासंघले बुधबार (आज) प्रेस विज्ञप्ति गर्दै सरकारले चाँडो निर्णय नगरे सेवा बन्द गर्नुपर्ने वा स्वघोषित रूपमा भाडा बढाएर सेवा सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएको हो । नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुनेगरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएपछि यातायात व्यवसायीहरू आर्थिक दबाबमा परेको महासंघको भनाइ छ । महासंघका अनुसार मूल्य अझै बढ्न सक्ने संकेतले व्यवसायी झनै चिन्तित बनेका छन् । महासंघले इन्धन मूल्यवृद्धिको असरलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले पनि भाडा समायोजनका लागि सरकारलाई सिफारिस गरिसकेको जनाएको छ । विभागले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत, तराई क्षेत्रमा मालवाहक सवारीमा ८.८१ प्रतिशत र पहाडी क्षेत्रमा १४.२९ प्रतिशत भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । तर, पटक-पटक अनुरोध गर्दा पनि मन्त्रालयले हालसम्म कुनै निर्णय नगरेको महासंघले जनाएको छ । ‘अब धेरै दिन घाटामा सेवा सञ्चालन गर्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुन सक्छन् ।’ यो पनि पढाैं- गाडी भाडा र जोर–बिजोर प्रणालीबारे विभागले मन्त्रालयमा पठायो प्रतिवेदन
ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश २०८३ सालको क्यालेन्डर सार्वजनिक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटले संयुक्तरुपमा उक्त २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेका हुन् । पौभा कला नेवार जातिको मौलिक चित्रकला हो । क्यालेण्डरमा विशेषगरी काठमाडौं उपत्यकामा बस्ने नेवाः समुदायसँग गहिरो सम्बन्ध रही आएको पौभा कलाको दुर्लभ चित्रहरु समावेश गरिएको छ । थान्कासँग मिल्दोजुल्दो देखिए पनि पौभाको आफ्नै विशिष्ट पहिचान र दार्शनिक गहिराई रहेको छ । बैंकले विगत केही वर्षदेखि नेपाली कला, साहित्य, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका आफ्नो क्यालेण्डरमा मौलिक चित्रहरु समावेश गर्ने गरेको छ । बैंकले २०७९ मा नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्र, २०८० मा मण्डला चित्रकला, २०८१ मा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचित कलाकृति र २०८२ मा पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश गरी क्यालेण्डर प्रकाशन गरेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गसहित बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
नक्कली सुन देखाएर ठगी गर्ने वाईबा पक्राउ
काठमाडौं । नक्कली सुन देखाएर १४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोमबार सिन्धुलीका ३८ वर्षीय विजय लामा भन्ने धनवीर वाईबालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार झोला भित्र लुकाई गरी राखेको पहेँलो रङको बिष्कुट आकारको ५४७.६९० ग्रामको सुन जस्तो देखिने पहेँलो धातु, बिल १ थान, चेकबुक १ थान, राहदानी १ थान, मोबाइल ३ थान, सुनको मुद्रा १ थान र नगद १ हजार २० रुपैयाँसहित प्रहरीले वाइबालाई नियन्त्रणमा लिएको हो । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्रीले साइत हेरेर सपथ लिने परम्परा मन परेन : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले साइत हेरेर सपथ लिने परम्परामाथि टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री, मन्त्रीलगायतले साइत देखाएर शपथ लिने विषयमाथि टिप्पणी गरेका हुन् । उनले यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन नपरेको उल्लेख गरेका छन् । ‘उनले लेखेका छन्, ‘यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन, हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन । तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त ।’ बालेन्द्र शाह (बालेन)ले साइत हेरेर सपथ लिने विषय सार्वजनिक भएपछि उनले शुक्रबार १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका हुन् । उनको सपथमा सात वटा शंख एकसाथ बजाइनेछ भने १०८ जना बटुकहरूले स्वस्ति वाचन गर्ने तयारी छ । शपथ ग्रहण समारोहमा १६ जना भिक्षुहरूले अष्ठमंगल पाठ गरी कार्यक्रमलाई धार्मिक विधिअनुसार सम्पन्न गर्ने तयारी गरिएको छ ।
उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । बागमती प्रदेश महासंघलाई भौतिक संरचना सम्पन्न बनाउने, जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरूको क्षमता विकासमा केन्द्रित हुने, साना तथा मझौला उद्यम व्यवसायलाई लक्षित गरी प्रदेशको आर्थिक र औद्योगिक नीति निर्माणमा केन्द्रित हुने जस्ता एजेण्डासहित श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् । उनले बागमती प्रदेशका भूगोलका उद्योग वाणिज्य संघहरू, सबै वस्तुगत संघहरू तथा एसोसियट सदस्यहरुलाई स्थानीय तह र प्रदेश सरकारसँग जोडेर कर प्रणाली र लेखा प्रणालीदेखि नापतौल सम्मका विषयमा आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । बजार अनुगमनमा नाममा व्यवसायीहरूले पाउने दुःख र हैरानी सधैँका लागि अन्त्य गर्न बजार अनुगमनको स्पष्ट मापदण्ड बनाउनका लागि सम्बन्धित उद्योग वाणिज्य संघहरूसँग स्थानीय प्रशासनले सहकार्य गर्नुपर्ने नीतिगत प्रबन्ध गर्ने आफ्नो योजना रहेको पनि श्रेष्ठले बताएका छन् । २०६२ सालबाट व्यवसायिक यात्रा प्रारम्भ गरेका उनी नेपाल वितरक संघको कार्यसमिति सदस्य हुँदै अध्यक्षसम्म भएका थिए । उनले २०७४ देखि २०७६ सम्म वितरक संघको अध्यक्ष भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका थिए । उनी उद्योग वाणिज्य संघ काठमाडौंको संस्थापक हुन् । आफू संस्थापक सदस्य रहेको यस संघको हाल उनी महासचिव छन् । यति मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा नेपालको औद्योगिक र व्यवसायिक क्षेत्रको प्रतिनिधित्व गर्दै उनी ‘नेपाल–माल्टा चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री’को एक्जुकेटिभ मेम्बर (कार्यकारी सदस्य) छन् । पोखरा विश्व विद्यालयबाट एमबीए उत्तीर्ण गरेका श्रेष्ठले प्रदेश सरकारसँग उद्योगी व्यवसायीका कुराहरुमा ‘स्ट्रङ लविङ’ गर्ने र समस्या समाधानमा दिनरात केन्द्रित हुने प्रतिवद्धतासहित आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।