भिजिट नेपालको गन्तव्यमा नुवाकोट जोडिन सक्ने, सरोकारवालाले सुझाए दर्जन पर्यटकीय क्षेत्र
काठमाडौं । विश्व पर्यटन दिवसको अवसर पारेर नुवाकोेटको विदुर नगरपालिका ४ मा‘होटल तथा पर्यटन व्यवसायी संघनेपाल प्रदेश नम्बर ३’ले अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार आयोजित उक्त कार्यक्रमले पर्यटकीय गन्तव्यको रुपमा नुवाकोट स्थापित हुने आधारहरु प्रस्तुत गरेको हो । पूर्व खेलकुद मन्त्री तथा हालका सासंद हितबहादुर तामाङ्गले भ्रमण वर्ष २०२० लाई सफल पार्न आन्तरिक तथा बाह्य दुवै किसिमका पर्यटकमा आकर्षण जगाउँन जरुरी रहेको बताए । नुवाकोटका स्थानीय उत्पादनमा जोड दिदै दिर्घकालिन पूर्वाधारको विकास गर्न जरुरी रहेको उनको मत छ । साथै, वर्तमान समयमा राजमार्गका सडक लगाएका अन्य पूवार्धारमा समेत केही समस्या रहेपनि आगामी दिनमा पर्यटन क्षेत्रमा नेपालको भविष्य उज्जवल रहेको उनको तर्क छ । यस्तै,प्रदेश नम्बर ३ का सभासद केशव पाण्डेले नेपालमा २० लाख पर्यटक ल्याउँदा नुवाकोटमा कति ल्याउँने भन्ने कुरा महत्वपूर्ण हुने बताए । वर्तमान समयमा अवसर र चुनौति दुवै रहेको उनको बुझाई छ । सोही कारण चुनौतिसँग मुकाविला तथा अवसरहरुको सदुपयोग गर्न आवश्यक रहेकोमा उनले जोड दिए । विदुर नगरपालिकाका मेयर संजु पण्डितले भने– ‘त्रिदेशीय मार्गको रुपमा नुवाकोटले पर्यटनमा सहयोग गर्न सक्छ ।’ उनले सकेसम्म चाडै बाटोको अवस्था सुधार गर्न सकिएमा छोटो मार्ग मात्र नभई विदेशी पाहुनासँगपनि सहकार्य गर्न सकिने उनले बताए । कार्यक्रममा सारोकारवालाहरुले नुवाकोटमा दर्जनभन्दा बढी पर्यटकीय क्षेत्र रहेको बताए । नुवाकोटमा पर्यटकीय गन्तव्यको रुपमा ककनी, सागरकुण्ड, सूर्याचौर, नुवाकोट दरबार, बेलकोटगढी, दुप्चेश्वर महादेव, चिम्टेश्वर क्षेत्र रहेका छन् । यस्तै, भैरमकोट क्षेत्र, भैरवी मन्दिर, बेत्रावती, उत्तरगयाधाम, देविघाट जालपा मन्दिर, राम मन्दिर, गोरु जुधाउने जात्रा, लाखे नाच नुवाकोटका आकर्षणका रुपमा लिन सकिन्छ । भ्रमण वर्ष २०२० मा नुवाकोटले थप सहयोग गर्ने विषयमा चर्चा गरिएको थियो । कार्यक्रममा होटल तथा पर्यटन व्यसायी संघ नेपाल प्रदेश नम्बर ३ का अध्यक्ष सन्तोष उप्रेतीले सभापतित्व गरेका थिए । पूर्व युवा तथा खेलकुद मन्त्री तथा संघीय संसदका सदस्य हित बहादुर तामाङ्ग प्रमुख अतिथिको रुपमा उपस्थित थिए । विषेश अतिथिका रुपमा प्रदेश नम्बर ३ का प्रतिनिधि सभा सदस्य केशव पाण्डे थिए । साथै, जिल्ला समन्वय समितिका नुवाकोटका सभापति सन्तमान तामाङ्ग, नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल लगायतका व्यक्तिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
साढे ४ महिनाभित्र कुमारी बैंककाे तेस्रो पटक साधारणसभा, पुँजी साढे ९ अर्ब नाघ्यो
काठमाडौं । साढे ४ महिनाको अन्तरमा कुमारी बैंकले तेस्रोपटक बोलाएको साधारणसभा शनिबार सकिएको छ । शनिबार बिहान ११ः३० बजे नक्सालस्थित एक पार्टी प्यालेसमा बोलाइएको बैंकको १९ औं वार्षिक साधारणसभाले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि लाग्ने नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु.९ अर्ब ५५ करोड हुनेछ । त्यस्तै, सभाले बैंकको तर्फबाट अध्यक्ष अमिर प्रताप राणाले प्रस्तुत गरेको लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५÷०७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत समावेश भएको वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंकले गत बैशाख २६ गते १८ औं वार्षिक साधारणसभा बोलाएको थियो । उक्त साधारणसभाले अन्य सबै एजेन्डाहरु उपर छलफल गरि पारित गरे पनि महिला सञ्चाललको प्रतिनिधित्वमा सम्बन्धमा मुद्दा परेपछि पाटन उच्च अदालतको आदेशपछि सञ्चालकको निर्वाचन प्रक्रिया भने रोकिएको थियो । सो प्रक्रिया पूरा गर्न बैंकले जेठ ३१ गते विशेष साधारणसभा बोलाउनु परेको थियोे । यो भने १९ औं वार्षिक साधारणसभा हो । आर्थिक वर्ष २०७५÷७६ को मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८४ अर्ब ४० करोड परिचालन तथा कुल कर्जा रकम रु. ७६ अर्ब ९८ करोड प्रवाह गरी संचालन मुनाफा रु.१ अर्ब ७६ करोड तथा रु.१ अर्ब २३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १०७ शाखा संजाल, ९३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।
कुमारी बैंकको साधारण सभामा शेयरधनीलाई १० प्रतिशत बोनसकाे प्रस्ताव पारित
काठमाडौं । कुमारी बैंकको १९औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा नक्सालमा सम्पन्न भएको हो । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/०७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेका हुन् । साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/०७६ को लागि १०% बोनस शेयर तथा बोनश शेयरको कर प्रयोजनार्थ ०.५२६% बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु.९ अर्ब ५५ करोड हुनेछ । आर्थिक वर्ष २०७५/७६ को मसान्तसम्म बैंकले कुल निक्षेप रु.८४ अर्ब ४० करोड परिचालन तथा कुल कर्जा रकम रु. ७६ अर्ब ९८ करोड प्रवाह गरी संचालन मुनाफा रु.१ अर्ब ७६ करोड तथा रु.१ अर्ब २३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १०७ शाखा संजाल, ९३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।
शिवपुरी माध्यमिक विद्यालयलाई एनसीसी बैंकको सहयोग
काठमाडौं । एनसीसी बैंकले काठमाडौंको एक विद्यालयलाई ४ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालबाट शिवपुरी माध्यमिक विधालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरेका हुन् । बैंकले प्रदेश नं. ३, काठमाडौं जिल्लाको महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विद्यालयलाई सो रुपैयाँ सहयोग प्रदान गरेको हो । शिवपुरी माध्यमिक विधालयमा अध्ययनरत स–साना नानीहरुका लागि सूचना प्रविधिमा पँहुच पुर्याउन टिभि तथा आवश्यक सामग्रीका साथै खेलकुदका लागि मैदान तथा सामग्रीको व्यवस्थापन गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको थियो ।
सनराइज क्यापिटलको साधारण सभामा २० प्रतिशत नगद लाभांश पारित
काठमाडौँ । सनराइज क्यापिटलको ९ औं वार्षिक साधारण सभाबाट २० प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश (४ करोड नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब एवं नगद प्रवाह, लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फोन पेमा मर्चेन्टको संख्या ५० हजार नाघ्यो
काठमाडौं । नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन–पे ५० हजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक ५० हजार भन्दा धेरै कारोबार हुने गरेको छ ।फोन पे नटेवर्क , बैंक , ग्राहक र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । फोन पे मा ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । फोन पे ले धेरै भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्तालाई यसको सदस्य र व्यवसायिक नेटवर्क मार्फत सक्रिय बनाएर आफ्नोे क्षमतालाई ससक्त गर्दैछ । ५० हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैँ तिहारलाई लक्षित गरी फोन पे प्रा.लि.ले ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत हरेक दिन १० जना मर्चेन्टले एक हजार, २ जना मर्चेन्टले ५ हजार, १ जना मर्चेन्टलले १० हजार रुपैयाँ प्राप्त गर्न सक्नेछन् । यो योजना असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुनेछ । साथै एजना भाग्यशाली मर्चेन्टले दशैँ, तिहार र छठ पर्बपछि एकलाख रूपैयाँ प्राप्त गर्नेछ । विजेता घोषणा कार्तिक १७ गते गरिनेछ । यस योजनामा फोन पे मर्चेन्टका सदस्य बैंक तथा वालेटमार्फत क्युआर भुक्तानी स्विकार गर्ने मर्चेएन्टलाई मात्र सहभागी गराइनेछ । यस्तो छन् सहभागी हुने तरिका : धेरै व्यवसायीहरूले फोन पे का सदस्य बैंक तथा वालेटमार्फत कारोबार विस्तार गर्दै आफ्ना ग्राहकलाई विभिन्न छुट दिँदै आएका छन् । फोन पे का अफर फोनपेको वेभ पेज https://www.fonepay.com/offer-promo मार्फत हेर्न सकिन्छ । साथै फोन पे नेटवर्कका मोबाईल बैंकिङ मार्फत समेत जानकारी लिन सकिन्छ । फोन पे ले निकट भविष्यमै अफर एप्स सार्वजनिक गर्दैछ । जहाँ चलिरहेका अफर तथा मर्चेन्ट्, इभेन्ट्स् र स्थान जस्ता ग्राहकलाई आवश्यक पर्ने जानकारीहरू समावेश गरिनेछ ।
साताको शेयर बजार : अर्बको हाराहारीमा कारोवार
काठमाडौं । धितोपत्र बजारमा साता अपेक्षाकृतरुपमा बजारले गति लिन सकेन । निरन्तर ओरालो लागेको कारोवार मापनक नेप्से परिसूचक एक दिन मात्रै थामियो । अन्य दिन भने नेप्सेले आरोलो यात्रा नै कायम गर्यो । धेरैले यसलाई चाडबाडको असरका रुपमा समेत चित्रण गरेका छन् । चाडबाड शुरु हुन लागेका कारण नेप्से मात्रै नभई कारोवार रकममा समेत गिरावट आई बजार एक हजार १२९ को विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ४० लाख ४१ हजार ९१९ कित्ता शेयर कारोवार भयो । कारोवार भने अर्बको हाराहारीमा मात्रै रह्यो । कूल रु एक अर्ब १९ लाख ७० हजार ८५७ बराबरको भएको स्टकले जानकारी दिएको छ । साताको पहिलो दिन नै शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्यो । सो दिन नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुग्यो । कूल १६६ कम्पनीको आठ लाख ४८ हजार ६६२ कित्ता शेयर रु २२ करोड ६९ लाख ५० हजार २३८ मूल्यमा खरीद बिक्री भए । साताको दोस्रो नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार १४०.९८ मा पुग्यो । कूल १७० कम्पनीको सात लाख ४३ हजार ३१५ कित्ता शेयर रु १७ करोड ७२ लाख ७९ हजार ३९ मा खरीद बिक्री भए । साताको तेस्रो दिन नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक ६.४२ बिन्दुले घटेर एक हजार १३४।५६ बिन्दुमा झर्यो । कूल १७१ कम्पनीको आठ लाख ७३ हजार ७९ कित्ता शेयर रु २१ करोड ८२ लाख ७८ हजार ४४९ मूल्यमा खरीद बिक्री भए । बुधबार पनि नेप्सेको ओरोलो यात्रा कायम रह्यो । सो दिन नेप्से परिसूचक ३.०३ अङ्कले घटेर एक हजार १३१.५३ मा पुग्यो । कूल १६६ कम्पनीको सात लाख ७७ हजार ७३५ कित्ता शेयर रु १६ करोड ६९ लाख २१ हजार ७७९ मा खरीद बिक्री भए । साताको अन्तिम दिन पनि नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । सो दिन नेप्से १.७३ बिन्दुले घटेर एक हजार १२९.८० बिन्दुमा पुग्यो । नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६८ कम्पनीको सात लाख ९९ हजार १२८ कित्ता शेयर रु २१ करोड २५ लाख ४१ हजार ३५२ मूल्यमा खरीद बिक्री भए । यस साता पनि बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी नै शीर्ष स्थानमा रह्यो । नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, कृषि विकास बैंक, एनएमबी बैंक र एनआइसी एशिया बैंक क्रमशः शीर्ष स्थानमा रहे । स्टकमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भए । त्यसमा लुम्बिनी विकास बैंकको ३७ लाख ७१ हजार ९७२ कित्ता शेयर लाभांश, सिद्धार्थ म्युअल फण्डको १२ करोड एकाइ साधारण शेयर, सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार ८१६ कित्ता शेयर लाभांश र सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ लाख २९ हजार ३१० कित्ता शेयर लाभांश सूचीकृत भएका छन् । रासस
नेपालका उपभोक्ता भारतीय बजारमा
काठमाडौं । व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया जाने गरेका छन् । सरकारी निकायको उदासिनता र व्यापारीको उपभोक्ता आकर्षण गर्ने प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ता हित संरक्षणमञ्च बाँकेका अध्यक्ष वसन्त गौतम बताए । “गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो, भारतीय व्यापारीको तुलनामा नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्नु र रुपैडियामा सस्तोमा पाइन्छ भन्ने भ्रम चिर्न नसक्नु कमजोरी हो”, अध्यक्षले भने, “नेपालगञ्जका व्यापारीमा उपभोक्ता आकर्षण गर्ने व्यवहारिकता भन्दा पनि वस्तु तथा सेवा लाद्ने प्रवृति पनि हानिकारक छ ।” चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रुपैडियामै निर्भर रहने गरेका छन् । नेपालगञ्जमै सस्तो पाइने सामान किन्न समेत नेपाली उपभोक्ता भारतीय बजारमा जाने गरेका छन् । हिन्दूहरूको मुख्य पर्व दशैं शुरू भए पनि नेपालगञ्ज बजार सुनसान छ । तर, सीमा पारी भारतीय बजार रुपैडियामा दशैंँको किनमेल गर्न नेपाली उपभोक्ताको चहलपहल बढेको छ । घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खानेकुरा र लत्ताकपडा खरीदका लागि दैनिक सयौंको सङ्ख्यामा स्थानीयवासी सीमावर्ती बजारतिर जाने गरेका छन् । चाडवाडका समयमा कालोबजारी, चर्को महङ्गी, अनियन्त्रित मूल्य र गुणस्तरहीन उपभोग्य सामग्री बिक्री हुने क्रम निरन्तर बढेपछि उपभोक्ता सीमापारिका भारतीय बजारप्रति आकर्षित हुने गरेका छन् । “न मूल्यको ठेगान हुन्छ न उचित सामानको” सीमावर्ती बजारमा किनमेल गर्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१० का किशोर श्रेष्ठले भने, “नेपालगञ्जमा एउटै समानको पसलैपिच्छे फरकफरक मूल्य हुन्छ, सामान पनि गुणस्तरहीन हुने भएकाले सीमा क्षेत्रका बासिन्दा भारतीय बजारप्रति आकर्षित भएका हुन् ।” चाडवाडका समयमा वर्षभरि बिक्री हुन नसकेका उपभोग्य वस्तु र लत्ताकपडा जसरी पनि बिक्री गर्ने व्यवसायीको क्रियाकलापले सीमापारिको रुपैडिया बजारमा नेपालीको घुइँचो लाग्नुको मुख्य कारण भएको बताए । दशैंँको किनमेल गर्न भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित् छन् । नेपालगञ्जमात्र नभइ बाँकेका ग्रामीण क्षेत्र र सुर्खेत, दैलेख, जाजरकोट, दाङलगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् । चिनी, तेल, आलु तथा प्याजमा प्रतिकिलोमा १५ देखि ५० रुपैयाँसम्म सस्तोमा पाइने गरेको दशैंँका लागि सामान किन्न रुपैडिया पुग्नुभएकी खजुरा गाउँपालिका– २ सीतापुरकी चित्रा थापाले भनाई छ । नेपालगञ्ज भन्सारमा भेटिएका कोहलपुर नगरपालिका –८ पिपरीका मोहन खड्काले नेपाली बजारमा अत्यन्त चर्को मूल्यका कारण सीमापारि जान बाध्य भएको गुनासो गरे । स्थानीय मङ्गलीमाया श्रेष्ठको बुझाइमा नेपालगञ्जका व्यापारीले पसलैपिच्छे फरकफरक दरमा सामान बेचेर विश्वास गुमाएका छन् । नेपाली उपभोक्ता नेपालगञ्जमै रोक्ने लक्ष्य उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गर्दछ, तर निर्वाचनपछि सेलाउँदै जाने गरेको छ । सङ्घका अहिलेका अध्यक्ष नन्दलाल वैश्यले भने, “हामी सङ्घका तर्फबाट धेरै नै प्रयास गरेका छौं, हाम्रो मात्रै प्रयासले केही हुन सकेको छैन ।” वाणिज्य सङ्घको तथ्याङ्क अनुसार, भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ताले प्रत्येक दिन करीब पाँच करोड रुपैयाँ बराबरको घरायसी सामान खरीद गर्ने गरेका छन् । गतवर्ष दशैँमा रुपैडिया किनमेल गर्न जाने नेपाली उपभोक्तालाई स्वदेशमै रोक्न वाणिज्य सङ्घलगायत विभिन्न वस्तुगत सङ्घहरुले दशैं सस्तो बजार सञ्चालन गरे पनि सोंचे अनुसार सफल नभएको वितरक सङ्घका अध्यक्ष अमित बस्नेतले बताए । पछिल्लो एक सातायता किनमेल गर्न भारतीय बजार रुपैडियातर्फ जाने नेपाली उपभोक्ताको भीड बढेको जमुनाहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले बताए । दैनिक करीब दुई÷तीन सय नेपाली उपभोक्ता किनमेलका लागि रुपैडिया जाने गरेका जानकारी दिँदै त्यसैले नीतिगत तहबाटै योजनावद्ध रुपमा भन्सार कार्यालय, सम्बद्ध सरकारी कार्यालय र नागरिकसँग सहकार्य गरी नियमित पहल कदमीको खाँचो देखिएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठको भनाई छ । रासस