सांग्रिलाले वार्षिकोत्सवको अवसरमा गर्यो प्रभातफेरी
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पूरा गरी १६औं बर्षमा प्रवेश गरेको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रीय कार्यालय बालुवाटार आई सम्पन्न भएको थियो । ‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बंैकिङ्ग पहुँच’ भन्ने मूल नारालाई मनन् गरी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै ‘रक्तदान–जीवनदान’ भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाडौंमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । वार्षिक उत्सवकै अवसरमा आइतबार बिहान ८ बजे नेपालगञ्ज क्षेत्रीय कार्यालय तथा गल्छी शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिनुका साथै बैंकको सातवटै प्रदेश कार्यालयबाट सरसफाई लगायतका विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोईराला नियुक्त
काठमाडौं। नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोईराला नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आज बसेको बैठकले डा.कोईरालालाई काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षको रहनेछ। मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए। यसअघि काउन्सिलको अध्यक्ष डा. धर्मकान्त बाँसकोटा रहेका थिए। उनको कार्यकाल जेठमा सकिएपछि अध्यक्षको पद रिक्त थियो।
नेपाली जडीबुटीमाथि लगाइएको प्रतिबन्ध हटाइयो, धमाधम निकासी शुरु
राँझा । भारतले जडीबुटीे निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नेपाली व्यवसायी उत्साहित भएका छन् । गत वर्षदेखि नेपालबाट निकासी हुने प्रमुख ३१ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश नगरिएकाले नेपाली जडीबुटी निकासी ठप्प हुँदै आएको थियो । भारत सरकारले गत महिना अक्टुवर १ मा भारतीय राजपत्रमा सूचना प्रकाशित गरेर जडीबुटी निकासीमा लगाइएको प्रतिबन्ध हटाइएको जानकारी गराएकाले नेपाली व्यवसायी उत्साहित भएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताएका छन् । नेपाल र भारतका प्लान्ट क्वारेन्टाइनका उच्च अधिकारीबीच काठमाडौँमा गत भदौमा भएको बैठकमा भारतीय क्वारेन्टाइनले सूचीकृत नगरेका जडीबुटीमध्ये ३१ प्रकारका जडीबुटीलाई तत्काल सूचीकृत गर्ने सहमतिबमोजिम भारत निकासी हुने जडीबुटीलाई सूचीकृत गरिएको सङ्घका अध्यक्ष अन्सारीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी भारत निकासी हुने ३१ प्रकारका जडीबुटीमाथि लगाइएको प्रतिबन्ध हटाइएपछि अब फेरि पहिलेझैँ निकासी शुरु हुनेछ । “नेपालगञ्जमा लामो समयदेखि थन्किएको चार हजार टन जडीबुटीको निकासी प्रक्रिया शुरु भएको छ”, नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष अन्सारीले भने, “प्रतिबन्ध हटेपछि अब फेरि पहिलेझैँ जडीबुटी व्यवसाय फस्टाउनेछ ।” लामो समयदेखि निरन्तरको माग र प्रयासपछि भारत सरकारले राजपत्रमा सूचना जारी गरेर प्रतिबन्ध हटाएको जानकारी गराए पनि अझै केही जडीबुटीको प्रतिबन्ध फुकुवा नगरिएको अध्यक्ष अन्सारीले बताएका छन् । भारतमा सबैभन्दा बढी निकासी हुँदै आएको रिठ्ठा, कुट्की, दालचिनी, पाखनवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाइ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामसी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइललगायतमा लगाइएको प्रतिबन्ध हटेको छ । नेपालबाट निकासी हुने ३१ प्रकारका जडीबुटीलाई भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश गरिएसँगै नेपालगञ्जमा लामो समयदेखि थन्किएको चार हजार टन जडीबुटीको निकासी प्रक्रिया शुरु भएको व्यवसायी शकील अहमद जसगढले बताए । नेपालगञ्ज नाकाबाट सबैभन्दा बढी जडीबुटी भारत तथा तेस्रो मुलुकमा निकासी हुने गर्दछ । नेपाल जडीबुटी व्यवसायी सङ्घको तथ्याङ्कअनुसार केही वर्ष पहिलेसम्म यो नाकाबाट वर्षेनी ७० लाख किलोसम्म जडीबुटी निकासी हुने गरेकामा हाल एक लाख किलो पुग्न पनि मुस्किल भएको थियो । प्रतिबन्ध फुकुवासँगै गोदाममा थन्किएको ठूलो परिमाणको जडीबुटी निकासी हुने आशामा व्यवसायी खुशी भएको व्यवसायी जस गढले बताए । रासस
कलंकी-कोटेश्वर सडकमा जोखिम बढ्दै, यात्रुले भत्काउन थाले रेलिङ
काठमाडौँ । कलंकी–कोटेश्वर सडक हेर्दा जति सुन्दर, सुविधाजनक र अत्याधुनिक देखिन्छ, प्रयोगका हिसाबले उति नै जोखिमपूर्ण बन्दै गएको छ । चीन सरकारको सहयोगमा बनेको उक्त सडक १ वर्ष अघि नेपाल सरकालाई हस्तान्तरण गरेको हो । केही वर्ष अघिसम्म अस्तव्यस्त रहेको कलंकी कोटेश्वर सडक अहिले आठ लेनको बनेको छ । सडक हेर्दा सुन्दर देखिन्छ । तर, व्यवस्थापन राम्ररी हुन नसक्दा पैदलयात्रु र सवारी चालकहरुले सास्ती खेप्दै आएका छन् । सडकमा पैदलयात्रुहरुलाई सडक वारपार गर्दा दुर्घटना बढ्दै गएपछि यात्रुहरुले सडकको बीचमा भएको रेलिङ भत्काउन थालेका छन् । चीन सरकारले ५ वर्ष लगाएर निर्माण पूरा गरेको सडक २०७५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक बिस्तार र निर्माणमा सहयोग गरेको थियो । २७ किलोमिटर लामो चक्रपथको सडक खण्ड मध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड सरकारलाई हस्तान्तरण गरिसकेको छ भने कलंकी, चाबहिल हुँदै कोटेश्वरसम्मको सडक निर्माण शुरु गरेको छ । ड्यूटीमा खटिएका एक ट्राफिक प्रहरीले भने–‘यात्रुहरुले भत्काएको रेलिङ केही समयमा नै निर्माण हुनेछ ।’ आठ लेनको कोटेश्वर–कलंकी सडक तीन भागमा बाँडिएको छ । बीचमा चार लेनको एक्सप्रेस वे छ । जहाँ ५० किमि प्रतिघन्टाको गतिमा सवारी चल्छन् । दायाँ–बायाँ दुई–दुई लेनका सहायक सडक छन्, जसमा २० किमि प्रतिघन्टाको गतिमा सवारी चल्छन् । त्यसपछि दुवैतर्फ सर्भिस लेन पनि रहेको छ । कलंकी–कोटेश्वर सडक निर्माण भए पछि सडक जाम त कम भएको छ । तर सो सडकमा आवश्यता अनुसार जेब्राक्रसिङ नहुँदा सर्वसाधारणहरुले सास्ती खेप्दै आएका छन् । सानेपामा बाटो कटेर वारी आएका चरिकोटका हरि केसीले भने–बाटोमा जेब्राक्रसिङ नहुँदा बाटो काट्दा मरिन्छ कि बाचिन्छ कुनै भर छैन् ।’ बाटो बनिसके पछि गाडीहरु स्पीडमा चल्ने गरेको छ । सडक प्रयोगकर्ताहरुले जेब्राक्रसिङ र आकाश पुल नहुँदा कठिनाई भोग्नु परिरहेको छ । कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु र कलंकीमा मात्र जेब्रा क्रसिङ राखिएको छ । त्यस्तै, कोटेश्वर, बिएन्डबी अस्पताल अगाडि र बागडोलमा आकाशे पुल बनाइएको छ । १०.३९ किलोमिटर सडकमा यो पर्याप्त नभएको विज्ञहरु बताउँछन् । जेब्राक्रसिङ र आकाश पुल मात्रै हैन यो सडकमा पर्याप्त मात्रामा बस बिसौनी बनाइएको छैन । कोटेश्वर, ग्वार्को, बिएन्डबी अगाडि, चापागाउँ दोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना, बल्खु र कलंकीमा मात्र बस बिसौनी बनाइएको छ ।
सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठमाथि छानबीन गर्ने, सञ्चालक समितिको बैठक आज
काठमाडौँ । सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि अनियमितताको आरोपमा छानबिन गर्ने भएको छ । लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लगायत आरोपमा श्रेष्ठमाथि छानबिन हुन लागेको हो । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको लगायत आरोप पनि उनीमाथि छ । तिहारअघि मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गरी सिफारिस गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई निर्देशन दिने निर्णय गरेको एक मन्त्रीले बताए । ‘राष्ट्र बैंक ऐन–२०५८ मा सञ्चालक समितिले छानबिन गरी सिफारिस गर्नुपर्ने, स्पष्टीकरणको मौका दिने र त्यसपछि पदमुक्त गर्नुपर्ने प्रावधान छ । मन्त्रिपरिषद् निर्देशनमा छानबिन भनिए पनि श्रेष्ठलाई पदमुक्त गर्ने प्रक्रिया हो,’ ती मन्त्रीले भने । श्रेष्ठमाथि छानबिन गर्ने विषयमा छलफल गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक आइतबार बोलाइएको छ । बैठकले छानबिन समिति गठन गर्ने सम्भावना छ । बैठकका एजेन्डामा भने यो विषय समावेश नरहेको सञ्चालक समिति स्रोतले जनायो । ‘बिग मर्जर र अर्को एउटा सामान्य विषय एजेन्डा भनेर बैठक बोलाइएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यही बोर्ड बैठकमा मन्त्रिपरिषद्को निर्णयको पत्र पेस हुने सम्भावना छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।
छठ पर्वको अन्तिम दिन आज सार्वजनिक बिदा
जनकपुरधाम । मिथिलावासीको पर्व छठको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश २ मा आइतबार छठको अवसरमा सार्वजनिक विदा दिइएको हो । २ नम्बर प्रदेश सरकारले चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।
अमेरिकामा अक्टोबरमा मात्रै सवा एक लाख नयाँ रोजगारी सिर्जना
वासिङ्ट्न । अमेरिकामा गत अक्टोबर महिनामा मात्रै एक लाखभन्दा बढी नयाँ रोजगारी सिर्जना भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार गत महिना अमेरिकी श्रम बजारमा एक लाख २८ हजार जनाले जागिर पाएका छन् । श्रम विभागले मासिकरूपमा तयार पार्ने गरेको रोजगारी विवरणमा अपेक्षित सुधार भएको देखिएको उल्लेख छ । यद्यपि अमेरिकाको बेरोजगारी दर भने बढेकै देखिएको छ । पछिल्लो विवरणका आधारमा ३.६ प्रतिशत बेरोजगारी दर बढेको देखिएको अधिकारीहरूले जनाएका छन् । रासस÷एएफपी
‘बेल्ट एण्ड रोड’ कार्यक्रमसँग जोडिएका मुलुकमा चीनले गर्यो १० अर्ब लगानी
बेइजिङ । ‘बेल्ट एण्ड रोड’ कार्यक्रम अन्तर्गत चीनसँग जोडिएका मुलुकहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले शनिबार जनाएको छ । यो लगानी गत बर्षको सोही (जनवरीदेखि अक्टोबरसम्म) भएको लगानीको तुलनामा छ प्रतिशतले कमी हो । यो लगानी चीनको गैर–नाफामुलक वैदेशिक लगानीका क्षेत्रमा भएको लगानीको १२.४ प्रतिशत हो । खासगरी सिङ्गापुर, भियतनाम, लाओस, इन्डोनेसिया, पाकिस्तान, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, कम्बोडिया र काजकस्तानमा उत्त लगानी भएको मन्त्रालयद्वारा दिइएको तथ्याङ्कमा उल्लेख छ । वैदेशिक आयोजनाका हकमा यस बर्षको सुरूका नौ महिनामा चिनियाँ उद्योगहरूले चार हजार ९०४ नयाँ करारमार्फत ८६ अर्ब आठ करोड अमेरिकी डलर ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका मुलुकहरूमा लगानी गर्ने सम्झौता गरेका छन् । यो लगानी रकम गत बर्षको सोही अवधिको तुलनामा १८.४ प्रतिशतले बढी हो । नयाँ करार भएका कार्यक्रमको मूल्य चीनको वैदेशिक कार्यक्रम करारका लागि भएका कुल लगानीको ५९.२ प्रतिशत रहेको देखिएको छ । ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका मुलुकहरूसँग चीनको वैदेशिक कार्यक्रमका लागि करार भइ सम्पन्न भएका आयोजनाको कुल लगानी ५५ अर्ब ८९ करोड अमेरिकी डलर रहेको र यो गत बर्षको अक्टोबरसम्मको तुलनामा ४.४ प्रतिशतले कमी हो । करार भइ सम्पन्न भएका आयोजनाको कुल प्रतिशत ५४.७ प्रतिशत रहेको छ । रासस/सिन्ह्वा