विकासन्युज

त्रिभुवन विमानस्थलः यात्रुकाे चापलाई व्यवस्थापन गर्न पार्किङ क्षमता बढाइँदै

काठमाडौं । दैनिक करिब २० हजार यात्रु आवतजावत गर्ने मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्रमिक रुपमा क्षमता विस्तारको काम भइरहेको छ । हालको अन्तरराष्ट्रिय विमानस्थल सबै हिसाबले पूर्ण क्षमताका साथ सञ्चालनमा आउँदा ९० हजार यात्रु क्षमताको हुन्छ । पछिल्ला वर्षमा हवाई यात्रुको चाप बढेसँगै विमानस्थल पनि साँघुरो हुँदै गइरहेको छ । अहिले विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय गरी वार्षिक ७२ लाख यात्रु पुगेका छन् । विमानस्थमा दुवैतर्फ गरी दैनिक ५ सय हाराहारीमा जहाजको ओहर दोहर हुने गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २००९ को तुलनामा सन् २०१८ मा दुई गुणा यात्रुको सङ्ख्या बढेको छ । यसले आगामी दिनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप बढ्ने अनुमान गर्न सकिन्छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पछिल्ला १० वर्षमा यात्रुको चाप निरन्तर बढ्दै गएको र हालको विमानस्थलले धान्न नसक्ने बताए । सन् २०२१ सम्म यात्रुको वार्षिक सङ्ख्या ९० लाख पुग्ने देखिएको छ । बढ्दो चापलाई व्यवस्थापन गर्न वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलको अति आवश्यक भएको महानिर्देशक पोखरेलले बताएका छन् । विमानस्थलमा बढ्दो यात्रुको चापसँगै थपिएका वायुसेवाको सहज व्यवस्थापनका लागि प्राधिकरण लागि परेको छ । विमानस्थलको क्षमता अभिवृद्धि गर्ने र हवाई उडानलाई सहज बनाउने उद्देश्यका साथ काम भइरहेको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थलको क्रमिक रुपमा क्षमता विस्तारको काम भइरहेको तथा धावनमार्ग र टयाक्सी वे जीर्णोद्धारको काम सकिएलगत्तै अहिले धावनमार्गसँगै प्यारालल ट्याक्सी वे को बोलपत्र प्रक्रिया अघि बढेको जानकारी दिए । उक्त काम सकिएपछि जहाजलाई मुख्य धावनमार्गमा जान सहज र छिटो हुनेछ । जसले उडान चापलाई न्यूनीकरण गर्नेछ । अन्तरराष्ट्रिय टर्मिनल भवनमा डिपार्चर हल थपिँदैछ । विमानस्थलको आवागमनतर्फ थप दुई ‘कन्भेर वेल्ट’ थपिँदै छन् । हाल चार मात्र छन् । यसले यात्रुलाई ब्यागेज लिन छिटो हुनेछ । हाल आधा घण्टादेखि ४५ मिनेटभित्र यात्रुले ब्यागेज लिइसक्छन् । महाप्रबन्धक केसीले ‘बुटिक एयरपोर्ट’ को अवधारणाअनुरुप विमानस्थलको सौन्दर्यकरणसँगै क्षमता अभिवृद्धिको काम पनि साथसाथै भइरहेको बताए । पछिल्ला दिनमा विमानस्थलको मर्मत र क्षमता वृद्धिपछि अहिले उडान व्यवस्थापनमा धेरै सहजता आएको उनको भनाइ छ । धावनमार्ग स्तरोन्नतिका साथै जहाज पार्किङ विस्तार तथा यात्रु कक्षको क्षमता बढाउनेलगायत कार्यमा विमानस्थल निरन्तर लागि परेको छ । मुलुकको उड्डयन इतिहासमै पहिलोपटक विमानस्थलको धावनमार्ग र ‘ट्याक्सी वे’ को जीर्णोद्धारको काम सम्पन्न भएको छ । योसँगै अहिले अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन भइरहेको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१८ अन्तरराष्ट्रिय उडानतर्फ ४३ लाख ४२ हजार ४८६ यात्रुको आवागमन भएको छ । सन् २०१७ मा कूल ३८ लाख ८७ हजार ८ सय ४५ यात्रुको आवागमन भएको थियो । आन्तरिकतर्फ सन् २०१८ मा २८ लाख ४७ हजार ७ सय ५२ यात्रुको आवागमन भएको थियो । सन् २०१७ मा २४ लाख ५१ हजार ३९० पुगेको थियो । सन् २०१९ को अक्टोबरसम्म २७ लाख ३७ हजार १७२ यात्रुको आवागमन भएको देखिन्छ । यो वर्ष करिब ३३ लाख हवाई यात्रु आवागमन हुने अनुमान गरिएको छ । विमानस्थमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ अबको दुई महिनाभित्रै सञ्चालनमा आउनेछ । प्राधिकरणका महानिर्देशक पोखरेलका अनुसार फेब्रुअरीको अन्तिमसम्म रिमोट पार्किङको काम सकिनेछ । यो स्थानमा दुई वाइडबडी र दुई न्यारो बडी जहाज पार्किङ गर्न सकिने छ । प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ)को रु एक अर्ब छ करोडको लागतमा विमानस्थलमा दुईवटा ‘पार्किङ वे’ निर्माण गरिरहेको हो । रिमोट पर्किङ वे सञ्चालनले विमानस्थलको चाप नियन्त्रण गर्न सघाउ पुग्ने प्राधिकरणले जनाएको छ । दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महिनादेखि नै सञ्चालनमा आइसकेको छ । उक्त पार्किङ क्षेत्रमा दुई वाइडबडी र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ । अन्तरराष्ट्रिय टर्मिनलमा नौवटा जहाज मात्र पार्किङ क्षमता छ । उत्तरपूर्वी पार्किङ वे सञ्चालनमा आएसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय पार्किङ वेको सङ्ख्या ११ पुगेको छ । विमानस्थलको उत्तरतर्फ पनि पाकिङ क्षेत्र निर्माणको प्रक्रिया अघि बढेको विमानस्थलले जनाएको छ । आन्तरिक उडानतर्फ २२ साना जहाज राख्न सकिने क्षमताको उक्त पार्किङको बोलपत्र आह्वान भइसकेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । करिब रु आठ अर्बको बोलपत्र आह्वान भएको छ । यो तीन वर्षभित्र निर्माण सकिनेछ । हाल आन्तरिकतर्फ १७ जहाजको पार्किङ क्षमता भए पनि ३५ सम्म जहाज अटाइँदै आइएको छ । रिमोट पार्किङ वे सञ्चालनले विमानस्थलको चाप हटाउन तथा विमानस्थलमा आइ पर्नसक्ने अन्य सुरक्षा चुनौती समाधान गर्न सहयोग पुग्ने प्राधिकरणका महानिर्देशक पोखरेलले बताए । “अहिले विमानलाई आकाशमै होल्ड गर्नुपर्ने अवस्था छ, यसले त्यो समस्या समाधानमा सहयोग गर्नेछ, यस्तै ग्राउन्डेड भएका जहाज पार्किङ गर्न पनि यसको उपयोग हुनेछ”, उनले भने । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रियतर्फ हाल तीन नेपालीसहित २८ र आन्तरिकमा १० हेलिकप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस

सरकारले भूमि बैंक खोल्दै, जग्गा नभएकाहरुले पनि खेतियोग्य जमिन पाउने

काठमाडौं । सरकारले उत्पादन वृद्धि गर्न भूमि बैंक खोल्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले काठमाडाैंमा आयाेजित एक कार्यक्रममा बाेल्दै सरकार भूमि बैंक खोल्ने प्रयासमा रहेकाे बताएका हुन् । ‘सरकार भूमि बैंक खोल्ने तयारीमा लागेको छ, भूमि बैंकको स्थापना पछि खेतियोग्य जमिन बाँझो रहँदैन, आफुले उपयोग गर्न नसक्ने जग्गा धनीले भूमी बैंकमा लगेर राख्न र जग्गा नहुने तर कृषि उत्पादन गर्न चाहानेहरुले पनि भूमि बैंकबाटै जग्गा प्राप्त गरी उत्पादन गर्न सक्ने छन् ।’ अर्थमन्त्रीले भने । सरकारले तोकेको मूल्य भूमि बैंकमा बाँझो जग्गा राख्नेले पाउने छ भने उत्पादन गर्न चाहानेले पनि सरकारले तोकेको मूल्यमा जग्गा प्रयोग गरी उत्पादन गर्न पाउने छन् । सरकारले कृषिमा आत्मनिर्भर गराउन, न्यून ब्याजदरमा कृषि ऋण उपलब्ध गराएर बाँझो खेती योग्य जग्गालाई प्रयोगमा ल्याउन लागेको हो । कृषकलाई बैंकिङ ऋण, बीमा र बजार मूल्यसम्बन्धी जोखिम बहन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र उत्पादित वस्तु बिक्री-वितरणमा सजिलो हुने पनि उनले बताए । ‘समावेशीभन्दा अलि माथि उठ्ने गर्नु पर्यो, हामी समावेशी विकासमा नै छौ, लैंगिक विभेद पनि छ, हाम्रो जातजातीबीचमा पनि कमाईमा फरक छ, सम्पत्तिको असमान वितरणले पनि समाज भएको प्रभावलाई सरकारले  हेर्नु पर्नेछ, यो अवस्थामा भूमि बैंक खोल्न उचित हुन्छ ।’ उनले भने । खानी भएको देशमा पनि समान र समावेशी विकास भएको छैन । आर्थिक वृद्धिमात्रै भएको छ । सबै स्रोतको प्रयोग गर्दा मात्रै समावेशी विकास हुने उनको भनाइ छ ।  सम्पूर्ण उत्पादन क्षेत्रमा सरकारले हेर्न नसकेको उनले बताए । भूमि र पुँजीको समानुपातिक वितरण गर्ने कुरामा सरको काम गरी रहेको उनको भनाइ छ । जग्गा धनीलाई जमिन बाँझो नराख्न र खेती गर्न प्रोत्साहनस्वरुप कार्यक्रम ल्याउने र आफैँले नसक्ने भएमा अरुलाई भाडामा दिएर भए पनि जमिन बाँझो नराख्ने नीति ल्याउने उनकाे भनाइ छ । विभिन्न स्थानिय सरकारले पनि भूमि बैंक कार्यक्रम अगाडि सारेका छन् ।  नेपालको २७ प्रतिशत जमिन कृषियोग्य भए पनि भूमि बैंकको अभावका कारण कार्यान्वयनमा कठिनाइ रहेको छ । विसं २०६८ को जनगणना अनुसार देशको ७४ प्रतिशत जनसङ्ख्या कृषिमा आत्मनिर्भर भए पनि ५३ प्रतिशत नागरिकसँग आधा हेक्टरभन्दा थोरै जमिन छ । हाल देशमा धेरै जमिन बाँझो छ । सरकारको यो प्रयासले पनि धेरै जमिन उपयोग विश्वास छ । भू-उपयोग नीतिअनुसार सरकारले याे कार्यक्रम अगाडि बढाउने भएकाे हाे ।

नारायणगढ–बुटवल सडक विस्तारकाे काम तीव्र

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । सडक विस्तारले तीव्रता पाएसँगै सडक फराकिलो बनाउन आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागबाट पहाड खनेर लैजान शुरु गरिएको छ । सडक विस्तारका लागि यहाँका १० व्यक्तिको नाममा रहेको ७५ रोपनी जग्गाबाट बाटो विस्तारका लागि आवश्यक माटो लैजान शुरु गरिएको वडाध्यक्ष कोपीसरा रानामगरले बताए । शनिबारदेखि माटो निकालेर लैजान शुरु गरिएको उल्लेख गर्दै उनले त्यहाँको माटो सडक विस्तारभन्दा अन्य काममा प्रयोग गर्न नपाउने गरी सहमति भएको जानकारी दिँदै भागरको पहाड नै काटेर सडक विस्तारका लागि माटो लैजान शुरु गरिएको उनले बताए । रुख बिरुवा नभएको पहाडको ढिस्को खनेर बाटो विस्तारमा प्रयोग गर्दै खेतीयोग्य जमिन बनाउने उद्देश्यले माटो बिक्री गरेको स्थानीय चन्द्रमान गन्द्रमाले बताएका छन् । उनका अनुसार प्रतिटिपर रु ५ सय २५ मा माटो बिक्री गरिएको हो । पहाडमा कुनै पनि खेतीबाली नहुने तर सरकारलाई राजश्व मात्रै बुझाउनु परेकाले माटो बिक्री गरेर खेतीयोग्य जमिन बनाउन लागिएको उनले बताए । सडक विस्तारका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई निर्माण सामग्री उपलब्ध गराउने जिम्मा पाएको सुपा निर्माण कम्पनी प्रालिले पहाड काटेर माटो लैजान शुरु गरेको हो । माटो लगेबापत नगरपालिकालाई प्रतिघनमिटर रु १५ का दरले कर दिन सहमत भएपछि माटो लैजान दिइएको नगरप्रमुख छत्रराज पौडेलले बताए । माटो लैजाँदा दिउँसोको समयमा लैजानुपर्ने, सडक बिगारेको अवस्थामा तत्काल मर्मत गर्नुपर्ने तथा अन्तिममा छ मिटरको कालोपत्र सडक निर्माण गरिदिनुपर्ने लगायतका विभिन्न सहमति भएको जानकारी दिए । प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएबमोजिम मात्रै माटो खन्न पाउने गरी सम्झौता गरिएकाले सम्झौतालाई प्रभाव पार्ने गरी माटो खन्ने काम भएमा ठेक्का रद्द गरेर कारवाही गर्ने अधिकार नगरपालिकासँग भएको पौडेलले बताए । सो स्थानको माटो नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि खण्ड १ मा प्रयोग हुने नगरपालिकाले सहमति गरेको थियो । कावासोती नगरपालिकाअन्तर्गत पर्ने जङ्गल क्षेत्रबाट नारायणगढ–बुटवल सडकखण्ड चार लेनको हुने गरी सडक विस्तारको काम भइरहेको छ । रासस

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा

काठमाडौं । नबिल बैंकको स्वतन्त्र सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको बैठकले शर्मालाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त शर्माले सोमबार(पुस २१ गते) नै बैंकको सञ्चालक समितिको ५२६औं बैठकबाट पदबहाली गरेकी छिन् । उनी निर्वाचन आयोगकी पूर्वआयुक्त हुन् ।

प्रहरीले पक्राउ गर्दा प्रतिष्ठा गुम्ने डरले फरार अभियुक्त आफैँ अदालतमा हाजिर

निजगढ । बारा प्रहरीले फरार अभियुक्त धमाधम पक्राउ गर्न थालेपछि फरार अभियुक्त आफैँ अदालतमा हाजिर हुन थालेका छन् । प्रहरी प्रशासनले पक्राउ गर्दा समाजमा प्रतिष्ठा घट्ने डरले पनि उनीहरु आफैँ अदालतमा हाजिर हुन थालेका हुन् । फैसला कार्यान्वयनका लागि अदालतको निर्देशनमा प्रहरीले फरार रहेका अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ । फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले चासो देखाएपछि विगत लामो समयदेखि फरार रहेका पनि केही पक्राउ परेका छन् भने केही अदालतमा आफैँ हाजिर हुन पुगेका छन् । अदालतले कसुरबमोजिम कारागार पठाउने र जरिवाना असुली गर्ने गरेको छ । गम्भीर प्रकृतिका अपराधदेखि चोरी–तस्करी तथा सामान्य लेनदेनका दोषी आफैँ आएर अदालतमा हाजिर हुने गरेका जिल्ला अदालत बाराले जनाएको छ । प्रहरीले पक्राउ गर्दा प्रतिष्ठा गुम्ने डरले पनि उनीहरु आफैँ अदालतमा आउने र कैद सजाय तथा जरिवाना भुक्तान गर्ने गरेका आएका अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताए । गम्भीर प्रकृतिका अपराधदेखि चोरी–तस्करी तथा सामान्य लेनदेनका दोषी हरेक दिन पाँच/सातजना आफैँ अदालत आउने गरेका ज्ञवालीले जानकारी दिए । प्रहरीले विगतमा दोषी ठहरिएका कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, राजनैतिक दलका नेता तथा कार्यकर्तालाई पक्राउ गरी अदालत ल्याउन थालेपछि अरू त्यस्ता व्यक्तिसमेत आफैँ अदालत आएर कैद सजाय र जरिवाना भुक्तान गर्न निवेदन दिइरहेका स्रेस्तेदार ज्ञवालीले बताएका छन्। जिल्लाका विभिन्न स्थानबाट प्रहरीले तीन महिनाको अवधिमा करिब १ सय ५० भन्दा बढीलाई पक्राउ गरिसकेको छ भने प्रहरीले पक्राउ गर्ने डरले कतिपय मानिस आफैँ अदालतमा आएर निवेदन दिने तथा हाजिर गर्ने गरेका अदालतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक परिवर्तन भएपछि गम्भीर प्रकृतिका अपराधदेखि चोरी–तस्करी तथा सामान्य लेनदेनका दोषी त्रसित हुनाका साथै धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरी उपरीक्षक सानुराम भट्टराईको सरुवा भएपछि प्रहरी उपरीक्षक विकासराज खनाल प्रमुख भएर आएपछि गम्भीर प्रकृतिका अपराधदेखि चोरीतस्करी तथा सामान्य लेनदेनका दोषी त्रसित हुनाका साथै धमाधम पक्राउ पर्न थालेका हुन् । रासस

नक्कली नोटसहित दुईजना पक्राउ

भद्रपुर । झापाको विर्तामोड नगरपालिका–५ बाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो वडाकै ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनीहरुलाई रु एक हजार दरका दुई थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो । सोमबार पक्राउ परेको दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अतिक्रमित जग्गा पुनः सरकारकै नाममा फिर्ता गराउँदै प्रशासन

सुर्खेत ।  जिल्ला प्रशासन कार्यालय, सुर्खेतले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका व्यक्तिका घरटहरा हटाउन थालेको छ । सरकारी कार्यालयका नाममा रहेको तथा यसअघि विभिन्न तहका अदालतले गरेका फैसलाबमोजिम जिल्ला प्रशासनले अतिक्रमण गरिएका जग्गा धमाधम फिर्ता ल्याउन थालेको हो । प्रशासनले कतिपय जग्गा भने पुनः सरकारकै नाममा फिर्ता ल्याइसकेको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार हालसम्म सडक विभागको नाममा रहेको आठ कट्ठा ११ धुर जग्गा फिर्ता ल्याइएको छ । सडक विभागबाट मुआब्जा लिएर पुनःमालपोत कर्मचारीसंगको मिलेमत्तोमा आफ्नै नाउमा दर्ता गरिएका वीरेन्द्रनगर जुम्ला रोड चाइलापुल नजिकको उक्त जग्गा सरकारकै नाउमा ल्याइएको हो । लक्ष्मीकुमारी बूढाक्षेत्रीको नाममा रहेको ६९०, १४६१ र १४६२, पोषराज केसीको नाममा रहेको १०६८, सुवेन्द्र प्रधानको नाममा रहेको ८९१ र ९३६, लीलबहादुर भण्डारीको नाममा रहेको ९३७, रामकुमारी थापाको नाममा रहेको २४९०, नन्दकुमारी भण्डारीको नाममा रहेको २४८९, महेशराज पौडेलको नाममा रहेको २४११, विष्णु पौडेलको नाममा रहेको २०१२ र इन्द्रलाल जैसीको नाममा रहेको १४६१ नम्बर कित्ताको जमिन सरकारको नाममा ल्याइएको हो । सडक विभागले २०३६ सालमा सुर्खेत–जुम्ला सडकको ट्रयाक खोल्नका लागि स्थानीय लिलबहादुर भण्डारीबाट १६ कट्ठा साढे १३ धुर जमिन अधिग्रहण गरेको थियो । २०४५ मा भण्डारीले तत्कालीन नापी शाखा र मालपोतका कर्मचारीसँगको मिलेमतोमा मुआब्जा बुझेर सरकारलाई हस्तान्तरण गरिसकेको जमिनमध्येको आठ कट्ठा ७ धुर छुट्टै कित्ता खडा गरेर आफ्नो नाममा नामसारी गरेको खुलेको थियो । जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतले सरकारीकरण गर्न फैसला गरिसकेको सुर्खेत–जुम्ला सडकको मुख्य खण्डसँग जोडिएको उक्त जमिन केही व्यक्तिले उपभोग गर्दै आएका थिए । यसअघि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयले मातपोत कार्यालयलाई लेखी पठाए पनि कारबाही अघि बढेको थिएन । २०७२ भदौ २९ गते सर्वोच्च अदालतले जिल्ला र पुनरावेदन अदालतले सरकारीकरण गर्न गरेको फैसला सदर गरेको थियो । जग्गा सरकारकै नाममा ल्याए पनि व्यक्तिका संरचना भत्काउन प्रशासनले १५ दिने सूचना टाँस गरेको छ । प्रजिअ अधिकारीले उक्त अवधिमा नहटाए प्रशासनले हटाउने र हटाउँदा लाग्ने खर्च स्वयं व्यक्तिबाट असुल गरिने बताए । स्थानीय प्रशासन ऐनले प्रमुख जिल्ला अधिकारी र स्थानीय तहलाई सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अधिकार दिएको छ । यही अधिकारको प्रयोग गरी प्रजिअ अधिकारीले मालपोत कार्यालयको जग्गा अतिक्रमण गरेर बनाइएका ७४ घरटहरा हटाउन निर्देशन दिएका छन् । त्यस्तै, विद्युत् र खानेपानीको लाइन काटिसकेको छ । लाइन काटिएपछि अधिकांश त्यहाँबाट हट्ने तयारीमा छन् । प्रजिअ अधिकारीले अतिक्रमणमा परेका सरकारी जग्गाको खोजी भइरहेको जानकारी दिए । विभिन्न पक्ष र व्यक्तिले हडपेको सरकारी जग्गा फिर्ता लिएरै छाड्ने उनको भनाइ छ । सुर्खेतमा विभिन्न सरकारी निकायका नाममा रहेको जग्गा सुकुम्वासी, बाढीपीडित र अन्य सरकारी कार्यालयबाटै अतिक्रमण भइरहेको पाइएको छ । सरकारी भवनसँग जोडिएका सडक किनारामा बनाइएका टहरा पनि हटाउन सूचना जारी गरिएको छ । वीरेन्द्रनगर बजार क्षेत्र र सरकारी कार्यालय आसपासमा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिइसकेको छ । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय अनुसन्धान विभाग प्रदेश कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल टेलिकम आसपासमा सडक मिचेर बनाइएका टहरालाई १५ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ । नक्कली सुकुम्वासी वीरेन्द्रनगर–७ खारखोलीमा मालपोत कार्यालयको जग्गा छ । जहाँ सुकुम्वासीको नाममा अतिक्रमण गरेर ७४ घरपरिवार बसेका छन्, तर त्यहाँ वास्तविक सुकुम्वासी भने नभएको पाइएको छ । “यो बस्तीका अधिकांश सुकुम्वासी नभएको पाइयो, त्यहाँ बसोबास गर्ने पहाडमा प्रशस्तै जग्गा भएका व्यक्तिहरु रहेछन्”, प्रजिअ अधिकारीले भने, “कामको सिलसिलामा वीरेन्दनगर झरेको बेला घर तथा टहरा बनाएर अतिक्रमण गरेको भेटिएको छ ।” सुकुम्वासीका नाउमा यसअघि सरकारबाट जुठे कामीले १० धुर जग्गा पाए पनि उक्त जग्गामा जेठी श्रीमतीको नाममा वीरेन्द्रनगर चिसापानीमै घर बनाएर बसिरहेको पाइएको छ । मालपोत कार्यालय सुर्खेतको नाममा रहेको वीरेन्द्रनगर–७ खारखोली क्षेत्रमा रहेको जग्गामा बनाइएका घर तथा टहरा भत्काइने भएको छ । मालपोत कार्यालय सुर्खेतको नाममा दर्ता कायम रहेको सुर्खेत साविक कटकुवा गाविस वडा नम्बर ५ मा कित्ता नम्बर ७२ र १८४ मा दुई बिघा तीन कट्ठामध्ये खोला किनारको जग्गा अतिक्रमणमा परेको हो । रासस

सर्लाहीमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

हरिवन । नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा आज बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा पाँच जना घाइते भएका छन् । सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आइरहेको बीआर ०६ पीडी ३६३७ नम्बरको स्कारपियो सडकमा हिँडिरहेको राँगोलाई ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कारपियोमा सवार भारतीय नागरिक ३८ वर्षीय प्रमोद सदाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा भारतीय नागरिक ३५ वर्षीय सञ्जय सदा, ३० वर्षीया अकलया देवी, उनको एक वर्षीया छोरी राधिका कुमारी, ४० वर्षीय अमरजीत राम र स्कारपियो चालक सर्लाहीको हरिवन नगरपालिका–४ सासापुरका ३० वर्षीय मोहम्मद रफतात घाइते भएका छन् । घाइते पाँचै जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिनुभयो ।