विकासन्युज

५ करोडको अस्पताल ४ वर्षदेखि अलपत्र, स्थानीयले दिएका थिए निःशुल्क जग्गा

काठमाडौं । सिरानमा छ भिरालो जग्गामा गुजमुज्ज परेको दोबागाउँ । गाउँको पुछारमा उजाड लाग्दो पाखो छ । पाखोको छेउमै छ पहेँलो रङको पक्की भवन । अनकन्टारजस्तो ठाउँमा आकर्षक देखिने त्यो भवन दोवाको पालिकास्तरीय अस्पताल भवन हो । वि.सं २०७८ मा निर्माण सम्पन्न भएको त्यो भवन बाहिर हेर्दा चिटिक्कको देखिए पनि भित्र खण्डहरजस्तै बनेको छ । कारण हो- अस्पताल सञ्चालनमा आउन नसक्नु । निर्माण सम्पन्न भएको ४ वर्ष बितिसक्दा पनि ५ शय्या क्षमताको सो अस्पतालमा न उपकरण आए, न त चिकित्सक नै । अहिले करोडौं रुपैयाँ खर्च गरेर बनाएको सो भवन अलपत्र अवस्थामा छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा पर्छ दोवागाउँ । अस्पताल भवनबाट गाउँमा पुग्न गाडीमा १५-२० मिनेट लाग्छ । गाउँदेखि टाढा अपायक ठाउँ । न राम्रो सडक न व्यवस्थित बस्ती । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीतिअनुरुप स्थानीयवासीले जग्गा दान दिएर निर्माण गरिएको सो अस्पताल दोवावासीका लागि अहिले ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेझैँ भएको छ । बजेट अभाव र जनशक्ति व्यवस्थापन नहुँदा अस्पताल भवन प्रयोगमा आउन नसकेको अन्नपूर्ण गाउँपालिका-१ दोवाका वडाध्यक्ष दिली पकुमार गर्बुजाले बताए । वडाध्यक्ष गर्बुजाका अनुसार ४ वर्ष अगाडि निर्माण सम्पन्न भएको ५ शय्याको पालिकास्तरीय अस्पतालको भवन उपकरण, चिकित्सकसहितको जनशक्ति व्यवस्थापनमा तीनै तहको सरकारको ध्यान नपुग्दा अलपत्र अवस्थामा पुगेको हो । १२ रोपनी ७ आना २ दाम क्षेत्रफल रहेको अस्पताल रविना-अमित जेभीले ५ करोड १२ लाख ६० हजार ६५२ रुपैयाँमा ठेक्का लिई निर्माण गरेको अध्यक्ष गर्बुजाले बताए । अस्पताल निर्माण गर्न स्थानीय ७ व्यक्तिले १२ रोपनी ७ आनाभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराएको गर्बुजाले बताए । अस्पतालमा अपाङ्गमैत्री भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टा छुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहित ३५ कोठा छन् । अस्पताल भवन बनेर पनि सञ्चालनमा आउन नसकेपछि सामान्य बिरामी पर्दा पनि उपचारका लागि बेनी धाउनुपरेको अन्नपूर्ण गाउँपालिका-१ दोबाकी मनसरा गर्बुजाले गुनासो गरिन् । ५ शय्या क्षमताको भूकम्पप्रतिरोधी भवन निर्माण भए पनि प्रदेश र सङ्घीय सरकारले आवश्यक स्रोतसहितको जनशक्ति व्यवस्थापन गर्न नसकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले बताए । 

७ महिनामा नेपालगन्ज भन्सारले संकलन गर्यो ११ अर्ब बढी राजस्व, लक्ष्यको ४५ प्रतिशत मात्रै

काठमाडौं । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ निर्धारण भएकोमा माघ मसान्तसम्ममा मात्र ११ अर्ब ४ करोड ६५ लाख ८५ हजार रुपैयाँ अर्थात् लक्ष्यको ४५.०१ प्रतिशत असुली भएको भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका ५ महिनामा ५५ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती छ । भन्सार कार्यालयको मासिक लक्ष्य अुनसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्लन हुनसकेको छैन । चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशत मात्र राजस्व असुली भएको छ । आव २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । नेपाल-भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात-निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको भन्सार प्रमुख पौडेको भनाइ छ । उनले चालु आवको ७ महिनामा गत आवको ७ महिनाको तुलनामा ९ करोड २४ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्लन भएको उल्लेख गर्दै लक्ष्य पूरा हुन नसके पनि राजस्व सङ्कलन वृद्धि हुने क्रममा रहेको बताए । गत आवको सात महिनामा नेपालगन्ज नाकाबाट १० अर्ब ९५ करोड ४१ लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । नेपालगन्ज भन्सारमा चालु आवको साउनमा १ अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ लक्ष्य रहेकामा ७४.१४ प्रतिशत १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ, भदौमा १ अर्ब ९३ लाख ६४ हजार रुपैयाँ लक्ष्य रहेकोमा ६९.७७ प्रतिशत १ अर्ब ३५ करोड १० लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यसैगरी, असोजमा १ अर्ब ९८ करोड ३१ लाख ३० रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ७४ करोड १६ लाख ५ हजार रुपैयाँ, कात्तिकमा २ अर्ब १२ करोड ६१ लाख ३० हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ५३ करोड ७० लाख ८२ हजार रुपैयाँ, मङ्सिरमा १ अर्ब ९६ करोड ३६ लाख १४ हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ६३ करोड ८५ लाख १० हजार रुपैयाँ, पुसमा २ अर्ब ३ करोड ४५ लाख २१ हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ६९ करोड ४४ लाख १३ हजार रुपैयाँ र माघमा १ अर्ब करोड ६९ लाख ४० हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ७० करोड १ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आव २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत र माघमा ७५.१३ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

सेनाको हेलिकोप्टरबाट मतपत्रसहित १० प्रकारका सामग्री हुम्ला आइपुगे

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिनमात्र बाँकी रहँदा हिमाली जिल्ला हुम्लामा मतपत्रसहित निर्वाचन सामग्री आइपुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई मार्गमार्फत ढुवानी गरेर मतपत्रसहित अन्य निर्वाचन सामग्री पठाएको निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए । नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतबाट मतपत्रसहित अन्य निर्वाचन सामग्री शनिबार हुम्ला आइपुगेको हो । निर्वाचन अधिकारी रोकायाका अनुसार शनिबार सेनाको हेलिकोप्टरबाट १० प्रकारका सामग्री हुम्ला आइपुगेका छन् । निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिने कर्मचारीको भत्ता, ढुवानी र हेलिकोप्टरको खर्च पठाइ सकिएको तथा आवश्यकताका आधार आयोगले थप काम गर्दै जानेछ । ३ हजार मिटरभन्दा माथि जिल्लामा लेक लाग्ने अवस्थालाई मध्यनजर गरेर औषधि खरिदका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बजेट पठाइएको आयोगले जनाएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा निर्वाचनपूर्व र निर्वाचनपश्चात् मतदान केन्द्रमा खटाइने कर्मचारीको आउने-जाने व्यवस्थाको सुनिश्चित गर्न बैठकमा सुरक्षा प्रमुखहरूले अनुरोध गरेका थिए, सोहीअनुसार व्यवस्था गर्ने गरी आयोगमा कुरा भएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए । जिल्लामा ३४ हजार ३७२ मतदाता, ६० मतदानस्थल र ६४ मतदान केन्द्र रहेका छन् । मतपत्रसहित अन्य सामग्री बुझ्नका लागि मुख्य निर्वाचन अधिकृत बराल, प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी, गुल्मपति हरिबाबु श्रेष्ठ, प्रहरी नायब उपरीक्षक शङ्कर खड्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक पुष्करसिंह ऐर, अनुसन्धान प्रमुख मेघराज कँडेल, आचारसंहिता अनुगमन समिति अधिकृत राजेन्द्र चन्द र अङ्गबहादुर कार्की, जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकाया लगायतको उपस्थितिमा निर्वाचन सामग्री हस्तान्तरण गरिएको हो  निर्वाचनका लागि ३६९ कर्मचारी परिचालन मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा ३६९ कर्मचारी परिचालन गरेको छ । जिल्लाका १५ मतदान केन्द्रका लागि पाँच-पाँच कर्मचारी ७५ जना र अरु बाँकी ४९ मतदान केन्द्रमा छ-छ कर्मचारी गरी २९४ कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए ।  जिल्लाका ६४ मतदान केन्द्रमध्ये ३०० भन्दा कम मतदाता भएका केन्द्रमा पाँच–पाँच जना र सोभन्दा धेरै मतदाता भएका केन्द्रमा छ-छ जना खटाइएको छ । यसमा दुई मतदान अधिकृत र दुई  सहायक मतदान अधिकृतलाई जगेडामा राखिएको छ । यदि कुनै कारणवश आउन नसकेको खण्डमा उनीहरूलाई पठाउन जगेडामा राखिएको उनको भनाइ छ ।  यस्तै अदालतका श्रेस्तेदार तथा सहायक मतदान अधिकृत श्रीदीप वाग्लेको संयोजकत्वमा तीन जनालाई प्रशासनिक कामको जिम्मेवारी दिएको छ । जिल्ला अदालतका नासु छत्त बहादुर बोगटीलाई प्रशासनिक काम र लेखापाल श्याम प्रसाद सापकोटालाई लेखा तथा भुक्तानीका लागि जिम्मेवारी दिइएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश बरालका अनुसार जिल्लाको ६४ मतदान केन्द्रमा ६४ मतदान अधिकृत, ६४ सहायक मतदान अधिकृत, १७५ सहायक कर्मचारी र ६४ सहयोगी कर्मचारी परिचालन गरिएको छ । 

हानिकारक सूचना फैलाउने २९० कन्टेन्ट उत्पादकविरुद्ध साइबर ब्यूरोमा उजुरी

६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी काठमाडौं । निर्वाचनलाई बढी भन्दा बढी सहभागितामुलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ । आयोगले फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएको जनाएको छ । आममतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको आयोगले उल्लेख गरेको छ । मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ । यस्तै, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न तथा गैरकानुनी कार्य गर्ने व्यक्ति र संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगले अधिकतम प्रयास गरिरहेको छ । आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा क्रियाशील रहेको जनाएको छ । हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० कन्टेन्ट उत्पादक र सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ ।  यस्तै, ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । त्यस्तै, ६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र एक वटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम कारबाहीका लागि पठाइएको आयोगले जनाएको छ ।

कोशी, गण्डकी र बागमतीमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागलगायत अन्य बाँकी हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति तराई भागका केही स्थानमा तुवाँलो लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

नापतौलमा अनियमितता गर्ने ११ सय व्यवसायीलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा एक हजार १५३ व्यवसायी तथा उद्योगीलाई कारबाही गरेको छ । नापतौल इजाजतपत्र नलिई आफूखुशी नापतौल यन्त्रको प्रयोग गर्ने, उपभोक्तालाई ठगी गर्ने, तथा तोकिएको समयमा नवीकरण नगराउनेलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनिलकुमार यादवले जानकारी दिए । सोही अवधिमा कार्यालयले ६२६ व्यवसायीलाई नयाँ नापतौल इजाजतपत्र तथा एक हजार ३९७ व्यवसायीको नापतौल यन्त्रको नवीकरण गरेको छ । सो अवधिमा अनुगमन, नवीकरण, कारबाही तथा इजाजतपत्र प्रदान गरेबापत रु २५ लाख ४६ हजार ६०४ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख यादवले जानकारी दिए । गत आर्थिक वर्षमा ९१७ वटा नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई व्यवसायिक कारोबारका लागि नापतौल यन्त्र सञ्चालन गर्न कार्यालयले इजाजतपत्र प्रदान गरेको थियो । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले ती जिल्लाका व्यवसायीलाई नयाँ नापतौल इजाजतपत्र प्रदान गर्दै आएको छ । साथै कार्यालयले पाँचै जिल्लामा नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कारबाही गर्नुका साथै अनुगमन तथा निरीक्षण र नापतौल यन्त्रको इजाजतपत्र दिँदै आएको जनाएको छ ।  उक्त अवधिमा नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नविकरण नगराउने दुई हजार ४३ उद्योगी तथा व्यवसायिक फार्मलाई कारबाहीका साथै जरिवाना गरिएको कार्यालय प्रमुख यादवले बताए । कारबाहीमा परेका व्यवसायी तथा उद्योगीले आफूखुशी जथाभाबी ढक तथा तराजु (डिजिटलसमेत) नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि जरिवाना गरी कानुनी दायरामा ल्याइएको उनको भनाइ छ । कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०८१/८२ को साउनदेखि असारसम्म गरिएको डोर खटनपटन, अनुगमन तथा नापतौल यन्त्रको प्रयोगमा पाइएको कैफियतको आधारमा कारबाही तथा जरिवाना गरिएको यादवले उल्लेख गरे। प्राप्त विवरणअनुसार सो अवधिमा दुई हजार ६३० जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरिएको थियो । सर्लाहीको लालबन्दी तथा हरिवन नगरपालिका, महोत्तरीको गौशाला, रामेछापको मन्थली नगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिकामा नापतौल यन्त्रको प्रयोग, नापतौल जरिवाना तथा कानुनी कारबाहीसम्बन्धी चेतनामूलक जानकारी गराइएको प्रमुख यादवले जानकारी दिए । उक्त अवधिमा कार्यालयले एकल अनुगमन २९ पटक, व्यवसायिक फार्मको अनुगमन २७२ पटक, संयुक्त अनुगमन १८ पटक तथा व्यवसायिक फार्मको अनुगमन ४९९ पटक गरी विभिन्न शिर्षकबाट रु ५१ लाख एक हजार ९६० राजस्व सङ्कलन गरेको प्रमुख यादवले जानकारी दिए। आव २०८०/८१ मा कार्यालयले रु ४० लाख ६७ हजार २४२ राजस्व संकलन गरेको थियो । त्यस्तै पाँच जिल्ला कारोबार रहेको कार्यालयसँग आफ्नो भवन नभएकाले साँघुरो भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको छ । डोरको खटनपटन र अनुगमनका लागि सवारी सुविधा नभएको तथा कार्यालय सञ्चालनका लागि बजेटको अभाव हुँदा प्रभावकारी कार्यसम्पादनमा समस्या हुँदै आएको यादवले गुनासो गरे । रासस

गोरखामा बसको ठक्करबाट वृद्धाको मृत्यु

गोरखा । गोरखामा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा बसले ठक्कर दिँदा स्थानीय ९५ वर्षीया सुकमाया लामाको मृत्यु भएको हो ।  काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ना ५ ख ५०३० नं को बसले ठक्कर दिँदा गम्भीर घाइते लामाको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए । प्रहरीले चालक र सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए । 

विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ : घनश्याम भुसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताएका छन् । यो निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको उनले बताए। बुटवलमा आायेजित पत्रकार सम्मेलनका क्रममा उनले मुलुकले सामना गरेको विध्वंशकारी घटनाबाट शिक्षा लिनुपर्ने बताए । राजनीतिक पार्टीहरूको नालायकीपनलाई उजागर गरी राष्ट्रिय संकल्प गर्नुपर्ने भएपनि त्यसो नगरी निर्वाचनमा जाने तयारीले समस्या लुकाउने काम मात्र भएकाे उनले बताए । गौरीबहादुर कार्की नेतृत्वको आयोग जस्ता प्रक्रियाले पनि यथार्थ उजागर नगर्ने  उनले बताए। भुसालले यो अवसर गुमाएर मुलुक भूराजनीतिक दबाबमा रहेको सानो राष्ट्रका रूपमा कमजोर बन्दै गएको बताए । निर्वाचनपछि पनि पुरानै प्रवृत्ति दोहोरिने र विकासको पराश्रित बाटोले रोजगारी नदिने, विचौलियातन्त्र बलियो हुने र सुशासन नहुने चेतावनी उनले दिए । उनले राजनीतिलाई घरेलुकरण गर्नुपर्ने, पश्चिमेली मोडेलबाट मुक्त भएर नेपाली बाटो खोज्नुपर्नेमा जोड दिए। मुलुकको मूल समस्या परनिर्भर विकास, दलाल पुँजीवाद र विचौलिया तन्त्र भएको भन्दै बौद्धिक वर्ग तथा राजनीतिकर्मीहरूलाई यस्ता प्रश्न उठाई निकास दिन आह्वान गरे। भुसालले निर्वाचनलाई सौभाग्य माने पनि यसले मात्र संकटको निकास नदिने, गहिरो पुनर्विचार आवश्यक रहेको बताए ।