अनुदानमा ट्र्याक्टर मिलाइदिने भन्दै ९६ लाख ठगेर कार्यालय सहयोगी फरार
सिरहा । कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित भएका छन् । पीडितले आफूहरूको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ट्र्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिका नबिल र ग्लोबल आइएमई बैंकको चेक सहीछाप गरी पीडितलाई दिएका थिए । पीडितले पटक–पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारीपछि चेक अनादारमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्टसहित निवेदन दिएका बताइएको छ । प्रहरी कार्यालय सिरहाका अनुसार कर्ण फरार रहेको र खोजी जारी रहेको छ । सिरहा प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले फरार कर्णको ‘केवाइसी’ अध्ययन भइरहेको र प्राप्त भएका निवेदनको आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने बताए । आफूहरूलाई प्रलोभनमा पारी रकम असुली गरिएको औरही गाउँपालिका–२ स्थित तुलसीपुरकी पुनिता महतोले बताइन् । उनले भनिन्, ‘ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति हुन् । कृषि ज्ञान केन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरी ट्र्याक्टर पाउने आशले अग्रिम अनुदानको आधा रकम बुझाइयो । तर अहिले न ट्र्याक्टर पाइयो, न रकम फिर्ता नै ।’ उनका अनुसार कर्णले गत कात्तिक १९ र २० गते नबिल र ग्लोबल आइएमई बैंकको चेक दिएका थिए । तर उक्त खातामा पर्याप्त रकम नभएको बैंकले बताएको थियो । महतोजस्तै सुखीपुर नगरपालिका–५ का राजकिशोर यादव पनि ठगी गरी कर्ण फरार भएपछि आफू मानसिक तनाबमा परेको बताए । यादवमार्फत सिरहाको औरही, अर्नामा, कल्यानपुर, मिर्चैया, वरियारपट्टी, लक्ष्मीपुर पतारीलगायतका स्थानबाट ११ स्थानीयले जम्मा रू ९६ लाख कर्णलाई ट्र्याक्टर पाउने आश्वासनमा बुझाएको जानकारी दिए । उनका अनुसार प्रत्येक पीडित व्यक्तिबाट रु पाँचदेखि नौ लाखसम्म लिइएको थियो । केही बैंकमार्फत त केही नगदमा उक्त रकमको कारोबार गरिएको यादवले जानकारी दिए । पीडितहरूको यकिन तथ्या्क नभए पनि सयौँको सङ्ख्यामा हुनसक्ने स्थानीय मनोज यादव बताउछन् । उनका अनुसार नागरिकको कम्तीमा पनि रु १० करोडबराबरको रकम हिनामिना गरी कर्ण फरार भएका छन् । फरार कर्णको सिरहा नगरपालिका–१० स्थायी घर हो । अहिले दैनिक दर्जनौँ पीडित व्यक्ति घर पुग्ने गरेको कर्णको बुवा कृष्णदेवलाल कर्णले जानकारी दिए । छोराको बदमासीका कारण यतिबेला आफू तनाबमा परेको जनाउँदै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएको उनले बताए । कृषि ज्ञान केन्द्र सिरहाले भने फरार रहेका कर्ण कार्यालय सहयोगीमात्र भएको जानकारी दिएको छ । पीडितका अनुसार कर्णले नायबसुब्बाको परिचयपत्र झुण्ड्याएको बताए पनि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने कर्ण कार्यालय सहयोगीमात्र भएको र विगत दुई महिनादेखि तलब पनि नलिएको जानकारी दिए । कर्णले सर्वसाधारणको रकम हिनामिना गरेको सम्बन्धमा आफू जानकार नभएको प्रमुख महासेठले बताए । रासस
पाथीभरा केबुलकार निर्माण तत्काल अघि बढाउन राजनैतिक दलको चासो
ताप्लेजुङ । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ) मा केबुलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरूले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यलय, ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुको बैठकले केबुलकार निर्माणसम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केबुलकार निर्माणको कामलाई सहजीकरण गर्दै अधि बढ्ने निर्णय गरेका हुन् । केबुलकार कम्पनीले निर्माण कार्य तत्काल सुरु गर्ने र त्यसको लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय वैठकले यो निर्णय गरेको हो । उक्त बैठकमा उपस्थित राजनैतिक दलहरुले आ–आफ्नो आधिकारिक धारणामार्फत केबुलकार निर्माणमा सहजीकरण गर्ने सहमति गरेका हुन् । बैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिले केबुलकार जिल्लाको सर्वांगिण विकास, रोजगारी र पहिचानसँग जोडिएकोले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने बताएका थिए । आइएमई समूहको अगुवाईमा ताप्लेजुङ जिल्लाको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथिभरा मन्दिरसम्म पुग्ने केबुलकार निर्माण गर्ने योजना रहेको छ । ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा क्षेत्र पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र हो ।
यस्तो छ आज दिनभरको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना ६ गुणाले बढे
काठमाडौं । पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई हजार तीन सय एक निवेदन आएकामा चालु आवको फागुन २३ सम्म १२ हजार सात सय ८९ निवेदन आएका हुन् । त्यस्तै आव २०७७/७८ मा तीन हजार नौ सय छ, आव २०७८/७९ मा चार हजार छ सय ८६ र आव २०७९/८० मा नौ हजार १३ निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । प्रहरीका अनुसार चालु आवको फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका एक सय ६४, बालिकाका दुई सय ४२, महिलाका पाँच हजार सात सय तीन, पुरुषका छ हजार एक सय ७७ र अन्यमा पाँच सय तीन गरी जम्मा १२ हजार सात सय ८९ निवेदन प्रधान कार्यालयमा आएका छन् । साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपकराज अवस्थीले अनलाइन ठगी, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गर्ने, वेभसाइट ह्याकिङलगायतका अपराधका विभिन्न स्वरूपमध्ये पछिल्लो समय ब्यूरोमा आर्थिक ठगीका निवेदन बढी आएको जानकारी दिए । साइबर अपराधका प्रवृत्तिमा विभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको मुहार जोडी अनलाइन प्रविधि राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोली बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य सङ्घ संस्थाको वेभसाइट ह्याकिङ गर्ने, अनलाइन ठगी गर्नेजस्ता गतिविधि पर्दछन् ।
परम्परागत खेती छाडेर कफीखेतीमा गुल्मीका किसान
गुल्मी । गुल्मीमा परम्परागत कृषि पेसा गर्दै आएका कृषक आजभोलि कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकले बारीमा मकै र कोदो लगाउन छोडेर कफीखेती सुरु गरेका हुन् । यहाँका कृषकको रोजाई यतिबेला परम्परागतरूपमा उत्पादन गरिने मकै र कोदोलाई छाडेर कफीखेतीमा परेको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाले कृषकलाई व्यावसायिकरूपमा कफीखेती गर्न उत्प्रेरित गरेको हो । परियोजनाले कृषकलाई कफीको उत्पादन र महत्वबारे जानकारी गराउँदै खेतीका लागि अनुदान उपलब्ध गराउन सुरु गरेपछि कृषक कफीखेतीमा आकर्षित बनेका हुन् । परम्परागत खेतीबाट बादर, बदेँल, दुम्सी तथा चराचुरुङ्गीबाट हैरानी खेप्दै आइरहेका अवस्थामा कफीखेती कृषकको लागि अन्य बाली उत्पादनको तुलनामा थप सजिलो बनेको छ । सिर्सेनीका कृषकले समूहमार्फत गाउँमा तीनधारे कफी उत्पादन कृषक समूह गठन गरेका छन् । तीन वर्षअघि गठन भएको उक्त संस्थामार्फत यहाँका प्रत्येक घरधुरीले व्यावसायिकरूपमा कफीखेतीको सुरुआत गरेका हुन् । प्रत्येक घरमा ५० देखि दुई हजारसम्म कफीका बोट छन् । तीन वर्षअघि रोपेका बोटले फल दिन सुरु गरेपछि कृषक उत्साहित बनेका छन् । सिर्सेनी टोरेटाका कृषक मेघलाल अर्याल यस क्षेत्रमा सबैभन्दा धेरै कफी लगाउने कृषकमध्येमा पर्छन् । उनको बारी यतिबेला दुई हजारभन्दा कफीका बोटले ढपक्कै ढाकेको छ । चाँडै हुर्किएका बोटले उत्पादन दिन सुरु गरेका उनले बताए । ‘विगतमा मकै र कोदो रोप्दै आएका बारीहरू अहिले सबै कफीले ढपक्क ढाकेका छन्,’ अर्यालले भने, ‘दश रोपनी जग्गामा सबै कफी लगाएको छु ।’ उनीजस्तै सोही गाउँका शशिधर अर्यालले सुरुमा बिरुवा हुर्काउन समस्या परे पनि अहिले कफीखेतीले आशा जगाएको बताए । परियोजना गुल्मीकी प्रमुख गङ्गाकुमारी पोख्रेलले व्यावसायिक कफीखेतीको विस्तारका लागि कार्यालयकातर्फबाट बिरुवा, मल, सिँचाइ, छहारीका लागि नेटजालीलगायतमा अनुदान उपलब्ध गराउँदै आइएको बताइन् । साथै गाउँमा कफी पाठशाला सञ्चालन गरेर कृषकलाई व्यावसायिक र प्राविधिक ज्ञान दिने गरिएको उनले जानकारी दिइन् । जिल्लामा कफीखेतीमा कृषकको आकर्षण बढे पनि समयसमयमा देखिने गवारो, ढुसी र डढुवा संक्रमणका कारण कफीका बोटमा क्षति पुग्ने गरेको कृषकले गुनासो गर्दै आएका छन् । समयमै यस्ता समस्याको समाधान गर्नसकेमा जिल्लामा व्यावसायिकरूपमा कफीखेती गर्ने कृषकको सङ्ख्यामा उल्लेखनीयरूपमा वृद्धि हुने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले बताए । गुल्मीमा अहिले दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७९÷८० मा ३० मेट्रिकटन कफी उत्पादन भएको थियो । सोअन्तर्गत आठ टन ग्रिनविन मात्र तेस्रो मुलुकमा निर्यात भएको छ । पछिल्लो समयमा कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्रलगायत कार्यालयका साथै स्थानीय तहले जिल्लामा रहेका कृषकलाई कफीखेतीमा लाग्न प्रेरित गर्दै आइरहेका छन् ।
मेटिएको इतिहास खोजी गर्दै कुहूँ
म्याग्दी । सिरानमा घना जङ्गल । जङ्गलको पुछारमा मालिकादेवीलाई शिरमा राखेर लोप भएको खाम भाषा र मेटिएको इतिहासको झझल्को दिँदै छ म्याग्दीको कुहूँ गाउँले । जिल्लाको मङ्गला गाउँपालिका–१ मा पर्ने यो गाउँ चिटिक्क परेको छ । प्राकृतिक सौन्दर्य र यहाँको ऐतिहासिक महत्वले मगर बाहुल्यगाउँमा १७ औँ शताब्दीको सुरुङमार्ग र तत्कालीन पर्वत राज्यसँग सम्बन्धित किंवदन्ती रहेका छन् । तर यहाँका मगरसमुदायले खाम भाषा र लिपिको संरक्षण गर्न नसक्दा इतिहास मेटिएको छ । तत्कालीन पर्वत राज्यका राजाले प्रयोग गर्ने गरेको सुरुङमार्ग भेटिएको छ । जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ । बाइसेचौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरुङमार्गको प्रचारप्रसार गरी आवश्यक पूर्वाधारको निर्माण गर्ने हो भने इतिहासका अध्येता र पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्नसक्ने प्रशस्तै सम्भावना रहेको स्थानीय बुद्धिजीवी एवं दीपशिखा मावि कुहूँका भूतपूर्व प्रधानाध्यापक भद्रबहादुर जिसीले बताए । उनका अनुसार म्याग्दीको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल मालिकाको धुरी जाने बाटोमा पर्ने सो सुरुङमार्गको लम्बाइ करिब ५० मिटर रहेको छ । पूर्व–पश्चिम फैलिएको सो सुरुङमार्गको पूर्वतिरबाट प्रवेश गरेर पश्चिमतर्फ ५० मिटरको दूरीमा रहेको मालिका मन्दिरमा निस्कन सकिन्छ । गुफाको पूर्वतर्फ करिब ७० मिटरको दूरीमा तत्कालीन कुहूँले राजाको राजधानी रहेको थुमाको अवशेष मात्र बाँकी रहेको छ । गाउँको शिरानमा उच्च स्थानको समथर मैदानमा राजधानी थुमामा काजिला (सानो दरबार) बनाएर तत्कालीन पर्वते राजा बस्ने गर्दथे भन्ने किंवदन्ती रहेको छ । १६।२ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो गाउँमा दुई हजार, नौ सय, ४२ जनसङ्ख्या रहेको छ । मगरको बाक्लो बस्ती रहेको कुहूँ गाउँ प्राकृतिक, ऐतिहासिक, जैविक र सांस्कृतिक सम्पदाले महत्वपूर्ण भए पनि भाषाको अभावमा कैयौँ सम्पदा पहिचान गर्न नसक्दा यो गाउँको इतिहास उजागर हुन नसकेको मङ्गला गाउँपालिका– १ का वडाध्यक्ष एकजित रोकाले बताए । ‘पछिल्लो समय कुहूँ पुख्र्यौंली समाजले आफ्नो भाषा र यसको इतिहासको खोजी गरिरहेको छ, मगर खाम भाषाको लिपिको पनि खोजी हुँदैछ’, वडाअध्यक्ष रोकाले भने । मगर जातिका मगर ढुट, काइसे र खाम गरी तीन वटा भाषा प्रचलनमा रहेका रहेका छन् । म्याग्दीको कुहूँका मगरले खाम भाषा बोल्ने गरेका र अहिले त्यहाँ खाम भाषा लोप भइसकेकाले त्यस क्षेत्रको इतिहासका बारेमा धेरै कुरा बाहिर आउन नसकेको उनको भनाइ छ । चिटिक्क परेको बाक्लो बस्ती, खेतीका लागि उर्वर जमिन, प्राकृतिक सुन्दरताले ऐतिहासिक महत्वको ठाउँ भएर पनि कुहूँ गाउँ बत्तिमुनिको अध्याँरो नियतिलाई भोग्न बाध्य भएको छ । यहाँ रहेको १७औं शताब्दीको सुरुङ, मालिका देवीको किंवदन्ती, गाउँको शिरानमा रहेको जङ्गलमा रहेका जैविक सम्पदा, ऐतिहासिक पर्वत राज्यमा कुहूँले गरेको योगदान आदि विषय खाम भाषा र लिपिको अभावका कारण इतिहासको गर्भमा नै रहेका स्थानीय टेक रोकाले बताए । उनका अनुसार सुरुङ रहेको स्थानको पूर्वतर्फबाट तामाको सिक्का खसाल्ने हो भने त्यो सिक्का बजेको आवाज तीन मिनेटसम्म सुन्न सकिन्छ । सुरुङ रहेको पहराको शिरानबाट म्याग्दीका अधिकांश गाउँ, हिमशृङ्खला र वनजङ्गलको मनमोहक दृश्य देखिन्छ । स्थानीय ज्येष्ठ नागरिकका अनुसार सो सुरुङको प्रवेश भाग मालिका मन्दिरको छेउबाट कुखुराको भाले भित्र छिराउने हो भने हालको बेनी नगरपालिका-४, सिङ्गा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डको छेउमा रहेको ओढारबाट निस्कने गरेको किंवदन्ती रहेको छ । सो सुरुङको भित्रितर्फको मध्यभाग दुईतिर फैलिएको छ । पूर्व–पश्चिम सिधा मार्ग रहेको छ भने सुरुङभित्र तलतिर जाने ओढार पनि रहेको बताइन्छ । सुरुङको प्रचारप्रसार गरी त्यसको ऐतिहासिक महत्वका बारेमा बुझाउन र देखाउन सक्ने हो भने सो स्थान म्याग्दीको आकर्षक ऐतिहासिक विरासत बोकेको पर्यटकीय स्थान हुनसक्ने स्थानीय बुद्धिजीवीको भनाइ छ ।
निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अघि बढ्छ : उपप्रधानमन्त्री महासेठ
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् । नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महासेठले भने, ‘देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ ।’ उनले मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको बताए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गर्नुपर्ने बताए । यसका लागि आफ्नो मन्त्रालय निजी क्षेत्रसँगै रहेको उनले बताए । ‘निजी क्षेत्रसँग नजिकबाट सहकार्य गर्न सरकार तयार छ,’ मन्त्री भण्डारीले भने । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। उहाँले निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्छ भने । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तयारी पोशाक तथा कृषिजन्य उत्पादनको निर्यात सहजीकरण गर्न, मुलुकमा लगानीको वातावरण निर्माण गर्न सुझाव दिए । उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा लैजान नदिने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभा, उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य एवं सङ्घका सदस्य गणेश पराजुलीले नेपालको निर्यातजन्य वस्तुको प्रमुख हिस्सा तयारी पोशाक रहेको उल्लेख गर्दै निर्यातमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे । उनले निर्यातमा अनुदान दिने व्यवस्थालाई थप व्यवस्थित बनाउन सुझाव पनि दिए । प्रतिनिधिसभाको उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य सीता मिजारले उद्योग व्यवसायलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिँदै निकासी प्रवद्र्धनमा ध्यान दिन आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तयारी पोशाक उद्योग मुलुकको अर्थन्त्रको मेरुदण्डका रूपमा रहेकाले यो क्षेत्रको विकासमा ध्यान दिन अनुरोध गरे । सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन थप सहयोग आवश्यक भएको उनले बताए । नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन सुझाव दिए । आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन गर्न आग्रह गरे । नेपाल तयारी पोशाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले तयारी पोशाक उद्योगलाई प्रवद्र्धन गर्न नीतिगत सुधार, प्रक्रियागत सरलीकरण तथा व्यावसायिक वातावरण बनाउनुपर्नेमा जोड दिए । सन् १९८७ मा स्थापना भएको सङ्घमा एक सयभन्दा बढी तयारी पोशाक उद्योगी आबद्ध छन् । तयारी पोशाक उद्योग क्षेत्रमा ४० हजार रोजगारी सृजना भएको सङ्घले जनाएको छ । गत आवमा भारत तथा तेस्रो मुलुकमा करिब रु नौ अर्ब बराबरको तयारी पोशाक निर्यात भएको सङ्घले जनाएको छ । तयारी पोशाक प्रमुख निर्यातजन्य वस्तुको सूचीमा छ । गलैँचा प्रथम र तयारी पोशाक दोस्रो स्थानमा रहेको सङ्घका अध्यक्ष पाण्डेले जानकारी दिए । त्यस अवसरमा उपप्रधानमन्त्री महासेठले सन् २०२२/२३ मा भारत तथा तेस्रो मुलुकमा सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने तीन उद्योगलाई सम्मान प्रदान गरेका थिए । सो अवधिमा ट्राई क्रट इन्डस्ट्रिजले रु एक अर्ब १७ करोड, नेपाल फेसन प्रालिले रु ६६ करोड र पल्स फेसन सोलुसन प्रालिले रु ४३ करोडको तयारी पोशाक निर्यात गरेको थियो । सङ्घको कार्यसमितिमा १० वर्षभन्दा बढी समय सेवा गरेका पदाधिकारी एवं सदस्यलाई सम्मान गरिएको थियोभने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साधारणसभाको सफलताको कामना गर्दै पठाएको शुभकामना सन्देश सुनाइएको थियो ।
चीनमा उपभोक्ता मूल्य ६ महिनामा पहिलो पटक बढ्यो, उत्पादक मूल्यमा २.७ प्रतिशत गिरावट
बेइजिङ । अगस्टपछि पहिलो पटक फेब्रुअरीमा चीनको उपभोक्ता मूल्य वृद्धि भएको शनिबार सार्वजनिक तथ्यांकले देखाएको छ । बेइजिङस्थित राष्ट्रिय तथ्यांक विभाग (एनबीएस) का अनुसार उपभोक्ता मूल्य सूचकांक गत महिना ०.७ प्रतिशतले बढेको छ । यो अगस्टपछिको पहिलो वृद्धि हो भने जनवरीमा उपभोक्ता मूल्य सूचकांक ०.८ प्रतिशतले घटेको थियो । ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए । सन् २०२१ पछि पहिलो पटक जुलाईमा चीनमा गिरावट आएको उपभोक्ता मूल्य तथा सेवामा अगस्टमा केही समयका लागि सन्तुलन आए पनि त्यसयता मूल्यमा निरन्तर गिरावट आएको छ । परम्परागत रूपमा चिनियाँ नयाँ वर्षको अवधिमा उपभोक्ता मूल्यमा वृद्धि हुन्छ, तर यस वर्षको फेब्रुअरीमा यसको मूल्यमा कमी आएको थियो । एनबीएसका अनुसार फेब्रुअरीमा उत्पादक मूल्यमा २.७ प्रतिशतले गिरावट आएको छ । रासस