विकासन्युज

भारत मोबिलिटीका सन्दर्भमा नाडाका पदाधिकारी तथा सदस्यहरूबीच अन्तरक्रिया

काठमाडौं । भारत मोबिलिटीका सन्दर्भमा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबीच काठमाडौंमा अन्तरक्रिया भएको छ । नेपालस्थित भारतीय दूतावासका प्रमुख वाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा अन्तरक्रिया भएको हो । सो अन्तरक्रिया कार्यक्रममा इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डियाका तर्फबाट पल्लवी साह, सोसाइटी अफ इण्डियन अटोमोबाइल मेनुफेक्चर्स (सीयाम) का तर्फबाट देवासिस मजुमदर तथा नाडाका अध्यक्ष करण चौधरीबीच रोड्स शो अन भारत मोबिलिटी ग्लोबल एक्सपोका सम्बन्धमा विस्तृत अन्तरक्रिया भएको छ । उक्त अन्तरक्रियामा नाडाका अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल क्षेत्रका विविध पक्षहरूका सम्बन्धमा चर्चा गर्दै नेपालको अटोमोबाइल क्षेत्रको प्रवर्द्धनका लागि भारतको सहयोग अपरिहार्य भएको बताए । यही २०२५ जनवरीको १७ देखि २२ सम्म सोसाइटी अफ इण्डियन अटोमोबाइल मेनुफेक्चस (सीयाम) को पहलमा भारतको नयाँ दिल्लीको भारतमण्डपम, यसोभूमि द्वारिका र ग्रेटर नोयडामा भारत मोबिलिटीअन्तर्गत ‘अटो एक्सपो : दि मोटर शो २०२५’ हुन लागेको पूर्वसन्ध्यामा यी अन्तरक्रिया भएका हुन् । कार्यक्रममा नाडाको तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमितिका सदस्यद्वय कपिल शिवाकोटी, यमुना श्रेष्ठ, प्रकाश कपुरी, ऋद्धि कार्की, दीपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, निलमणी पाठक, अभिक ज्योति, दीपकराज गिरी, नवीनकुमार पारख र नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो ।

म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा हिउँदे आलुखेती विस्तार

म्याग्दी । म्याग्दीमा आठ सय रोपनी बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ । नगदे बालीका रुपमा जिल्लामा रहेका एक नगरपालिका र पाँचवटै गाउँपालिकामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा खायन आलु प्रवद्र्धन कार्यक्रममार्फत किसानलाई अनुदान उपलब्ध गराएपछि जिल्लामा हिउँदे आलुखेती विस्तार भएको हो । खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत विभिन्न २१ वटा कृषक समूह तथा सहकारीहरुले आठ सय ५० रोपनीमा व्यावसायिक रुपमा आलुखेती लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए । उनका अनुसार, यस कार्यक्रममार्फत करिब तीन सय रोपनीमा बर्खे आलुखेती गर्ने तयारी गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आर्थिक वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुनआएका किसान समूह र सहकारीलाई आलुको बीउ, यान्त्रिक उपकरण खरिद, सिँचाइ सुविधा विस्तार र बजारीकरणमा अनुदान दिएको कार्यालयले जनाएको छ । खायन आलु प्रवद्र्धन कार्यक्रमको लागि छनोटमा परेका कृषक समूह र सहकारीमा आबद्ध किसानले आलुको बीउ र सिँचाइतर्फ ७५ प्रतिशत तथा यान्त्रिकीकरण र बजारीकरणतर्फ ५० प्रतिशत अनुदान पाएका छन् । यस वर्ष जिल्लामा एक हजार दुई सय रोपनी जमिनमा आलुखेती विस्तार गर्ने लक्ष्य लिइएको छ । मन्त्रालयबाट प्राप्त बजेटमध्ये रु एक करोड रकम किसानलाई अनुदान वितरणमा खर्च हुने र २० लाख रकम किसानलाई तालिम, अभिमुखीकरण, निरीक्षण, पुस्तक प्रकाशन, प्राविधिक सहयोगको क्षेत्रमा परिचालन हुने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिए। जिल्लामा खेती गरिने प्रमुख बालीमध्येमा पर्ने आलुखेतीबाट जिल्लालाई आत्मनिर्भर बनाउँदै स्थानीयको आयआर्जनमा सुधार ल्याउन आलुखेतीले सहयोग पुग्ने किसानको भनाइ छ । जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ जातका आलु उत्पादन हुने गरेको छ ।

अण्डाको मूल्य १५ रुपैयाँ बढ्यो, प्रतीक्रेट ५ सय रुपैयाँ

काठमाडौं । अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मुल्य बढाएको हो । संघको पुस ४ गते बसेको बैठकले बिक्री मूल्य १५ रुपैयाँ बढाएको हो । यससँगै मध्यम किसिमको प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकिएको छ भने ठुलो अण्डा प्रतीक्रेट ५ रुपैयाँ तोकिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए । यसअघि गत मंसिर २७ गते बसेको बैठकले मध्यम किसिमको प्रतीक्रेट ४ सय ७० रुपैयाँ र ठुलो अण्डा प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकेको थियो । एक सातामा नै अण्डाको मूल्य बढाएको हो । संघका अनुसार चितवनलाई आधारमानी पुस ५ गतेदेखि अण्डाको नयाँ बिक्री मुल्य लागू हुनेछ । उक्त मूल्यमा कारोबार गर्न संघले अनुरोध गरेको छ । चितवनबाट लोड भइ देशभरीको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ लाग्नेछ ।

विद्युत् प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारी मागेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै पाँचौँ तहदेखि दसौँ तहसम्मको प्रशासन र प्राविधिकतर्फ विभिन्न पदका लागि कर्मचारी मागेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत प्राधिकरणले ९५३ जना स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । प्राधिकरणले दसौँ तह अन्तर्गत प्राविधिकतर्फ एक जना प्रबन्धक माग गरेको छ भने आठौँ तह प्रशासनतर्फ सहायक निर्देशक दुई जना र एक जना सहायक प्रबन्धकका लागि दरखास्त आह्वान गरेको हो । यस्तै, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, इलेक्ट्रिकल इन्जिनियर, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त मागेको हो । प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर, सुपरभाइजर लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पुष २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माग ३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।

महुली लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, मूल्य १ सय रुपैयाँ

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आज पुस ५ गतेदेखि थप सार्वजनिक सेयय (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर बिक्री खुला गरेको हो । लघुवित्तमा सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात् चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार ५ सय रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १९ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमाफएत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

लगातार चौंथो दिन अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । अमेरिकी डलरको मूल्यले लगातार चौंथो दिन पनि नयाँ उचाई कायम गरेको छ । गत पुस २ गतेदेखि नयाँ रेकर्ड कायम राख्दै आएको डलरको मूल्यले आज पुस ५ गते शुक्रबार पनि नयाँ रेकर्ड कामय गरेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.८२ रुपैयाँ र बिक्रीदर १३६.४२ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि हिजो पुस ४ गते सबैभन्दा धेरै खरिदर १३५.६३ रुपैयाँ र बिक्रीदर १३६.२३ रुपैयाँ थियो । आज युरोपियन यूरोको एकको खरिदर १४१.३९ रुपैयाँ र बिक्रीदर १४२.०१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.६५ रुपैयाँ र बिक्रीदर १७२.४१ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.५९ रुपैयाँ र बिक्रीदर १५२.२६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.८८ रुपैयाँ र बिक्रीदर ८५.२६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.४० रुपैयाँ र बिक्रीदर ९४.८२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.०१ रुपैयाँ र बिक्रीदर १००.४५ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६५ रुपैयाँ र बिक्रीदर ८.६९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.१५ रुपैयाँ र बिक्रीदर ३६.३१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.२६ रुपैयाँ र बिक्रीदर ३७.४३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९४ रुपैयाँ र बिक्रीदर ३.९५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.९८ रुपैयाँ र बिक्रीदर ३७.१४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१५ रुपैयाँ र बिक्रीदर ३०.२८ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३३ रुपैयाँ र बिक्रीदर १२.३८ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९५ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४८ रुपैयाँ र बिक्रीदर १७.५६ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.९७ रुपैयाँ र बिक्रीदर ४४२.९२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६०.०७ रुपैयाँ र बिक्रीदर ३६१.६६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५२.७८ रुपैयाँ र बिक्रीदर ३५४.३४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

रसुवागढी नाकाबाट ३ हजार सवारी नेपाल भित्रिए, २ सय बढी कन्टेनर भन्सार प्रकृयामा

काठमाडौं । केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा २ दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमा सुरक्षाकर्मीले जनाएका छन् । स्याउ, लसुन, अदुवा, स्याउपाति, ओखर तथा चप्पल, तयारी पोशाक तथा विद्युतीय सामान, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, खेलौना गरी विविध प्रकारका मालसामान आयात हुने गरेको र त्यस्ता वस्तु बोकी आएका २ सयभन्दा बढी कन्टेनर भन्सार प्रकृयामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार सवारीसाधनका हकमा रसुवागढी नाकाबाट सबैभन्दा बढी ईभी आयात हुने गरेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि मङ्सिर मसान्तसम्म सानाठूला गरी ३ हजार सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिएका छन् । वर्तमान अवस्थामा राजस्व आर्जनको प्रमुख स्रोत सवारी साधनकै बढी हिस्सा भएको प्रमुख भट्टराईले जानकारी दिए । चालु आव २०८१/८२ को प्रथम चौमासिकअन्तर्गत करिब १२४ अर्बको सामग्री आयात भई १२ अर्बभन्दा बढी राजस्व आर्जन भएको भन्सार कार्यालयले जनाएको छ । रसुवागढी नाकाबाट अन्यन्तै न्यून माल सामग्री निर्यात हुने गरेको बताइन्छ । प्राप्त विवरणानुसार ऊनी गलैँचा, बक्रम कपडा, तयारी कपडा, चाउचाउ, नुडल्स, जडीबुटी, अगरबत्ती, भाँडामा झ्ने स्टिलउड र काठका सामग्री छन् । आयाततर्फ भने जुत्ताचप्पल, तयारी पोशाक, विद्युतीय सामग्री छन् । आयातका साथसाथै गैरकानुनी तवरका व्यक्तिसमेत सल्बलाउन थालेका कारण राजस्व चुहावत नियन्त्रण र सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीले मितेरी पुलमा २४सै घण्टा पालो पहरा दिइरहेका कारण सीमाक्षेत्र शान्त रहेको भन्सार अधिकारी बताउछन् । विसं २०७२ देखि पूर्ण रूपमा चालु भएको रसुवागढी नाकामा सडकमार्ग मर्मत हुन नसक्दा मालवाहक सवारीसाधन सञ्चालनमा निकै असहज बन्दै गएको सवारी चालकले बताएका छन् । सडक सुधारका लागि थोरै खर्चले धेरै काम हुने चालकहरूले सुझाव पनि दिएका छन् । स्याफ्रुबेँसी-रसुवागढी खण्डका वर्षायाममा होचो अग्लो भएको स्थानलाई सम्म बनाइ रोलारले पेलिदिने व्यवस्था भएमा हिउद यामलाई सवारीसाधन गुढाउन सहज हुने डिब्बा चालक जङ्गबहादुर तामाङले सुझाव दिए । सडक अधिकारीको भने न्यून उपस्थिति हुने गरेको स्थानीयले जानकारी दिएका छन् ।

गोरूगाडा, हलो, मलको खाली बोरासहित हजारौँ किसान सडकमा, मल उपलब्ध गराउन माग

काठमाडौं । गहुँ बाली लगाउने बेलामा मलको चरम अभाव खेप्दै आएको भन्दै सप्तरी जिल्लाका किसानले कृषि औजारसहित मल उपलब्ध गराउनुपर्ने माग गरेका छन् । जनमत पार्टीका संसदीय दलका नेतासमेत रहेका प्रदेश सांसद महेशप्रसाद यादवको अगुवाइमा किसान सडकमा उत्रिएका हुन् । गहुँ बाली लगाउने बेलामा मलखाद नपाउँदा समस्या भएको भन्दै पटकपटक सम्बन्धित निकायमा लिखित र मौखिक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएकाले बाध्य भई सडक सङ्घर्षमा उत्रनुपरेको किसानले बताएका छन् । स्थानीय राजरङ्गशालाबाट गोरूगाडा, हलो, मलको खाली बोरालगायत सामानसहित हजारौँका सङ्ख्यामा निस्केको किसानका जुलुस ‘मलखादको व्यवस्था गर, किसानको समस्या समाधान गर, कालोबजारी बन्द गर, पर्याप्त मल किन वा किन्न देऊ, कालोबजारी गर्नेहरूलाई कारबाही गर’ लगायत नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेको थियो । बजार परिक्रमापश्चात राजविराजको सहिद दशन चोकमा जनमत पार्टीका जिल्ला इन्र्चाज रामगमन साहको अध्यक्षतामा आयोजित विरोध सभामा प्रदेश सांसद यादव, हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझी, बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवलगायतले बर्सेनि उत्पन्न हुने मलखाद अभावको स्थायी समाधान नखोजिए आन्दोलनमा जाने बताएका छन् । सप्तरीमा ७० हजार हेक्टर खेतीयोग्य जग्गा छ । तर मलखाद अभावमा आधा जग्गामा पनि खेती गर्न कठिन भइरहेको हुनमाननगर कङ्कालिनी नगरपालिका–१ का किसान फुलटेन विश्वासले गुनासो गरे । मलखाद वितरण गर्ने काम साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले गर्ने गरे पनि ती दुवै निकायमा अहिले मागअनुसारको मलखाद नहुँदा समस्या भएको जनाइएको छ । मलखादबिनाको खेतीले उत्पादन राम्रो दिन्न, प्रदर्शनमा सहभागी किसान विजुली सरदारले भने, ‘बर्सेनि रासायनिक मलको प्रयोग गरेको खेतलाई त्यही मल नै चाहिन्छ, तर बजारमा चरम अभाव छ ।’