विकासन्युज

काठमाडौं महानगरमा ‘महिला सञ्जाल सञ्चालन कार्यविधि, २०७९’ कार्यान्वयन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरणका लागि ‘महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९’ कार्यान्वयनमा ल्याएको छ । हिंसा, शोषण, दमन भेदभाव तथा अन्य कारणले अन्यायमा परेका महानगरमा बस्ने महिलाहरुमा छिटो न्यायको पहुँच पुर्‍याउन महिला सञ्जाल गठन गरिएको महानगरले जनाएको छ । हिंसाजन्य घटनामा परेर उपचार, प्रशासनिक कारवाही प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग, अस्पतालको एकै ठाउँ उपलब्ध गराउने सेवा नै ओसीएमसी हो । काठमाडौंका ५ वटा अस्पतालमा यस्ता केन्द्र छन् । केन्द्रहरूमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक सामाजिक कारणबाट सिर्जित समस्याबाट पीडित भएका तथा घटनाबाट प्रभावित भएका महिला, बालबालिका र पुरुषहरू आउने गरेका छन् । उनीहरूका लागि स्वास्थ्य तथा चिकित्सा सेवा, मनोसामाजिक परामर्श, सुरक्षित घर तथा आवास सेवा, कानुनी सहयोग र जीविकोपार्जन सेवा प्रदान गर्ने गरिन्छ । छलफलका क्रममा सञ्जालका संयोजक तथा सदस्यहरूले वडागत अवस्थाका विषयमा जानकारी गराएका थिए । वडामा सञ्चालन भएका मेलमिलाप केन्द्रहरूमा मेलमिलापकर्ताबाट मेलमिलाप गराउने महानगरले जनाएको छ । सञ्जालले गरेका काम कारवाहीको उपप्रमुखबाट अनुगमन र सुपरीवेक्षण हुने व्यवस्था छ ।

५ महिनामा जीवन बीमाको व्यापार पौने ६६ अर्ब, व्यवसाय वृद्धिमा रिलायबल र सिटिजन आक्रामक

काठमाडाैं । जीवन बीमाको व्यापार चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा पौने ६६ अर्ब पुगेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको साउनदेखि मसिंर मसान्तसम्म १४ जीवन बीमा कम्पनीले ६५ अर्ब ७४ करोड १८ लाख बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको प्राधिकरणले जनाएकाे छ । नेपाल लाइफले १८ अर्ब ७६ करोड ४८ लाख बीमाशुल्क संकलन गर्दा नेशनल लाइफलले ७ अर्ब ९८ करोड ६८ लाख, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) ले ७ अर्ब ६६ करोड ३६ लाख, हिमालयन लाइफले ६ अर्ब ७९ करोड १४ लाख, सूर्यज्योति लाइफले ३ अर्ब ९९ करोड ६८ लाख र एशियन लाइफले ३ अर्ब ३६ करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । व्यवसाय वृद्धिमा यी कम्पनी अगाडि व्यवसाय वृद्धिमा रिलायबल लाइफ आक्रामक देखिएको छ । रिलायबलले चालु आवको ५ महिनामा गत आवको सोही अवधिको तुलनामा २५.४३ प्रतिशतले व्यपार वृद्धि गरेको हो । गत आवको मसिंर मसान्तसम्म रिलायबलले १ अर्ब ५३ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गर्न सफल भएको छ । यसैगरी, सिटिजन लाइफको व्यपार १८.५८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको मसिंर मसान्तसम्म २ अर्ब २३ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले २ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ । यसैगरी, प्रभु महालक्ष्मी लाइफको व्यवसाय १५.९० प्रतिशत, आईएमई लाइफको व्यवसाय १५.७० प्रतिशत, सूर्यज्योति लाइफको १५.५६ प्रतिशत र नेपाल लाइफको ११.९५ प्रतिशतले वृद्धि भएको छ । यस्तै, नेशनल लाइफ, एशियन लाइफ, एलआईसी नेपाल र सानिमा रिलायन्सको व्यापार क्रमशः ११.५१, ११.०९, १०.७४ र ९.६३ प्रतिशतले वृद्धि भएको छ ।

‘पत्रकारितामा मात्रै होइन सबै क्षेत्रमा चुनौती छ, विश्वास गुम्न दिनु हुँदैन’

काठमाडौं । पत्रकारले समयमा तलब पाएन, आज फलानो मिडियाका पत्रकार सडकमा आए । आजभोलि पत्रकारका यस्ता समाचार आइरहन्छन् । श्रमजीवी पत्रकारले न न्यूनतम पारिश्रमिक पाउन सकेका छन्, न त मिडिया हाउसले दिएको तलब पनि समयमै पाउन सकेका छन् । नेपालमा ठूलो मिडियाको रुपमा कहलिएका प्रतिष्ठानका पत्रकारहरू नै यसको मारमा परेका छन् । यस्तो अवस्थामा पत्रकार भएर टिक्न कति सहज छ भन्ने प्रश्न अहिलेको अवस्थामा आफैंमा निकै जटिल बनेको छ ।  प्रेस युनियनका अध्यक्ष शिव लम्साल नेपालमा विभिन्न प्रतिष्ठानमा काम गर्ने पत्रकारले ज्याला नपाएको समस्या रहेको भन्दै यो क्षेत्रमा टिक्न गाह्रो भइरहेको बताउँछन् । सार्वजनिक रुपमा सडकमै आन्दोलन गरेर पत्रकारलाई १०/११ महिनादेखि तलब खुवाउनुपर्ने बाध्यता रहेको भन्दै उनले नेपाल पत्रकार महासंले यो मुद्दालाई प्राथमिकता राख्नुपर्ने बताए । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेल श्रमजीवी पत्रकारका मुद्दामा धेरै काम गर्न बाँकी रहेको बताउँछन् । आफ्नो कार्यकालमा मात्रै अदालतबाट र संवादबाट तीन करोड बढी पैसा पत्रकारको फिर्ता गराएको बताउँदै उनले आफूहरूले लडाइँ नगरेको भए पत्रकारले यो रकम पाउन सक्ने अवस्था नरहेको सुनाए । उनले अझै यस्तो समस्यामा धेरै पत्रकार रहेको बताए । महासंघले प्रेस तथा  अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आफूलाई उभ्याउँदै आएको बताउँदै उनले  यसमा पनि काम गर्न धेरै बाँकी रहेको बताए ।  ‘हामी एक मिनेट पनि आँखा झिम्क्यायो भने राज्यले हामीलाई नियन्त्रण गर्ने कानुन बनाउँछ भन्ने कुरा पटक-पटक देखिएको छ, ’उनी भन्छन, ‘हामी सजगता का साथ कानुन निर्माणका सन्दर्भमा  कानुन कार्यान्वयनका सन्दर्भमा  अत्यन्त गम्भीर र चनाखो भएर हेर्नुपर्ने छ ।’ उनले पत्रकारका सवालमा लड्दा लड्दै लेख्न बिर्सेको हो कि भन्ने अवस्थामा आइपुगेको बताए ।  ‘नेपाली पत्रकारहरू लेख्न जान्दैनन् भन्ने आलोचना गर्छन् यसको एउटा कारण हामी सधैं लडाइँमा लाग्नुपर्ने भएर हो,’ उनले थपे, ‘राज्यले लेख्न फुर्सद दियो भने पत्रकार लेखिरहन र टिकिरहन सक्छन् अब पत्रकारलाई लेख्न सक्ने सिक्ने ठाउँ राज्यले दिनुपर्छ ।’ नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकार भइरहन सहज नभएको बताइन् । उनले सहज छैन भन्दा पत्रकार महासंघ सदस्य हुने सङ्ख्या बढेको तर पत्रकार भएर बाँच्न अहिले नै असहज रहेको बताइन्  । उनले यसका लागि महासंघलाई पत्रकारकै संस्था बनाउने कि  पत्रकारमात्रै भएर बाँच्ने संस्था बनाउने भन्ने कुरा जटिल रहेको बताइन् ।  पारिश्रमिकसँगै अहिले पत्रकारको सूचनासँगको  पहुँच पहिलेको भन्दा पनि संकुचन हुँदै गइरहेको बताइन् । ‘सरकार दल र अरु संरचनाभित्र सूचना दिने प्रणाली अहिले पनि सहज छैन,’ उनी भन्छिन्,‘कार्यालयमा रहेका प्रवक्ता पनि सूचना दिन हो कि लुकाउन बसिरहेका छन् भन्ने छुट्याउन गाह्रो ।’ अर्को कुरा सूचनाको पहुँचमा पुगेपनि भेरीफाइ र क्रसचेक गर्न झन जटिल रहेको बताउँदै उनले गलत सूचना र गलत जानकारीको खतरा धेरै बढेको बताइन् । ‘समाचार दिन हामीलाई हतारो छ,को पहिलो हुने भन्ने हतारोले अहिले पनि भेरीफाइ नगर्दा यो जोखिम बढेको हो ।   यसै कारण पत्रकार नै भएर बाँचिरहन अहिले पनि समस्या छ,’ उनी भन्छिन,‘प्राइमरी सूचना पहिले नै आउँछ, तर पत्रकारले  छिटो गर्ने होडबाजीमा त्यही सूचनालाई भेरिफाइ नगरी लेख्दा गलत सूचना पनि सही हुने खतरा देखियो ।’ पहिले पत्रकार भन्दा सम्मान हुने ठाउँमा अहिले प्रश्न उठ्न थालेकाे उनकाे भनाइ छ । पत्रकारभन्दा राम्रो सूचना दिने जमात सामाजिक सञ्जालमा रहेको बताउँदै अब पत्रकारले पनि यो विषयमा ध्यान दिनुपर्ने उनकाे भनाइ छ ।  विश्वास दह्राे दिलाउनुपर्छ पत्रकार मोहन मैनाली पत्रकारको लागि सबैभन्दा ठूलो कुरा विश्वास भएको बताउँछन् । उनी  पत्रकारले विश्वास कायम गर्न सकेन, विश्वास घात ग¥यौ भने पत्रकारिता लामो समयसम्म कायम रहन गाह्रो हुने बताए ।  पत्रकारितामा विश्वासका कुरा गर्दा विगतमा भए गरिएको केही उदाहरण दिँदै मैनालीले  पत्रिकाकोमुनि समाचार लेखिसकेपछि यहाँ प्रकाशित सामाचार भेरीफाइ नगरिकन  नपत्याउनु होलादेखि  रेडियो र टेलिभिजनमा पनि  समाचार दिँदा धुन बज्ने बित्तिकै सुरुवातीमा यो रेडियो फलानो हो फलानोबाट समाचार सुन्नहोस् तर भेरिफाइ नगररिकन नपत्याउनुहोस् भनेर भन्ने गरियो उदाहरण सुनाए ।  उनले पत्रकारले भनेको कुरा जगतले पत्याउने भएकाले यसो भन्ने गरिएको र यसो गर्दा यदि कसैले भेरिफाइ गरेर सही सावित भयो भने पत्रकारकै शीर ठूलो हुने बताए  ।  विगतमा गोरखापत्रमा प्रकाशित सम्पादकलाई चिठी भन्ने एउटा स्तम्भमा त्यसको मुनितिर कोस्टभित्र यो सामाग्रीको जवाफदेही सम्पादक रहने छैन भन्ने लेखिएको हुनथ्यो ।  २०३७ साल पुस १५ गतेपछि त्योे स्तम्भ  मुनितर त्यो कुरा आउन छाडेकाे उनी सुनाउँछन् । यसको मतलब सम्पादकले अब यसको जिम्मा म लिन्छु भन्ने गर्यो । ‘४१ वर्ष भयो नेपाली सम्पादकले आफ्नो प्रतिष्ठानमा छापिएका सबै कुराको जिम्मेवारी म लिन्छु भनेको,’ मैनाली भन्छन्, ‘यसको मतलब हामीले त्यतिबेलादेखि नै कुनै सामग्री लेख्दा छाप्दा ट्रस्ट मी, आइ एम जर्नालिष्ट भन्ने कुरा सुरु गरियो ।’    मैनालीले पत्रकारप्रतिको विश्वास उसको अमूल्य र एक मात्र सम्पत्ति रहेको बताए । ‘विश्वास गुमेका दिन हामीले खाडी जाँदा हुन्छ वा काँशी जाँदा हुन्छ,’ मैनालीले व्यङ्ग्य गर्दै भने, ‘खाडी जाने तयारी हामी गर्न सक्दैनौँ किन कि त्यहाँ पनि निकै मिहिनेत गर्नुपर्छ, तर काँशी जाने तयारी यही उमेरमा हामी सबैले गरिरहेका छौँ कि जस्तो लाग्छ ।’ मिडियामा झुटा कुरा नजाने वातावरण बनाउन महासंघ लाग्नुपर्ने उनको सुझाव छ । अहिले समाजमा पत्रकारीलाई ढाट्ने जमात बढेको भन्दै मैनालीले सरकार पनि यो कुरामा सक्रिय रहेको बताए । मैले केही समय पहिले कक्षा ९ को इतिहास विषयको पाठ्यक्रम हेरेँ, त्यहाँ निकै त्रुटी पाएँ, जुन मैले किताबमा लेखेको कुरासँग मेल खाएको विषय थियो,’ उनले थपे,‘पाठ्यक्रममै त्रुटी फेला भनेपछि यहाँ सही सूचना पाउनै गाह्रो देखियो अब कुनैपनि सूचनामा हामीले विश्वास गरिहाल्नु हुँदैन, भेरीफाइ नगर्दा पत्रकार ढाटिनेक्रम बढेको छ सजगता अपनाउनु होला ।’ उनले पत्रकारले गल्ती गरिहाल्याे भने पनि  स्वीकार्न मिडिया हाउस र पत्रकार तयार रहनुपर्ने बताए ।  न्यू याेर्क टाइम्सजस्तो पत्रिकाले पनि एक जना मान्छेको नामको स्पेलिङ गल्ती भए पनि सच्याउने गरेको बताउँदै गल्ती सच्याउन नेपालमा कन्जुस्याइँ भइरहेको बताए । संसारभर मिडियाप्रति अरु मान्छेको गुनासो सुन्ने र त्यसको निश्पक्ष जाँच गरेर त्यो कुरा पाठकलाई भनिदिने चलन चलेको बताउँदे यसको सिको नेपालमा पनि तुरुन्तै गर्न आवश्यक रहेको बताए ।   पत्रकारप्रति नेताकाे दृष्टिकोण गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न पत्रकारले आफ्नो धर्म र नैतिक इमान्दारितालाई अक्षुण्ण राख्न सक्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशको तेस्रो पद हस्तान्तरण कार्यक्रमका अवसरमा आयोजित ‘पत्रकार भइरहन कति सहज ?’ विषयक अन्तरक्रियामा उनले पत्रकारिताको धर्म र नैतिकतालाई व्यवस्थित गरेर लैजान सकेको खण्डमा सिङ्गो पत्रकारिताको माध्यमबाट लोकतन्त्र र प्रजातन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे ।  ‘पत्रकारले आफ्नो व्यावसायिक धर्म छाड्नु हुँदैन, नकि पत्रकार, चिकित्सक, वकिल र राजनीतिकर्मी सबै आफू जहाँ छौँ आ-आफ्नो धर्म निर्वाह गर्नुपर्छ यसबाटै देश र समाजको बृहत्तर हित हुन्छ,’ उनले भने,‘आजको दुनियाँमा नैतिकताको ह्रास भइरहेको छ । यस्तो बेलामा पत्रकारको आफ्नो धर्म छ । तपाइँहरू जहाँ हुनुहुन्छ । व्यावसायिक धर्म नछोड्नुस् ।’     पत्रकार देश र समाजको प्रतिनिधित्व गर्ने वर्ग भएकाले पेसागत दायित्व र नैतिक इमान्दारिता कायम गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । यादवले आज संसारमा प्रजातन्त्रको क्षयीकरण भइरहेको सन्दर्भमा आफू विद्यार्थी राजनीति, चिकित्सा पेसा र पछिल्लो पदीय जिम्मेवारीमा रहदाँ करिब ८३ वर्षको उमेरमा लोकतन्त्रमाथि खतरा छभन्दा असाध्यै दुःख लाग्ने गरेको बताए ।  पूर्व अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्मा सञ्चार जगतले समाजमा उत्पन्न भएका सूचनालाई सुसचित गरेको बताउँछन् । पारिश्रमिक नपाउनु आफैमा दुःख भएको बताउँदै उनले सरकारलाई सही बाटोमा लाग्न सञ्चारमाध्यमले सरकारलाई खबरदारी गर्न सहयाेग गरिरहेकाे बताए ।  ‘पत्रकारले समाज र लोकतन्त्रलाई गती दिएको छ,पत्रकारले समाचार नलेखेको भए समाज यहाँ पुग्ने थिएन, हरेक आन्दोलनमा अगाडि बढ्न शक्तीको रुपमा यसले काम गरेको छ,’ उनी भन्छन,‘ तर कहिलेकाँही गलत सूचना पनि आउँछन्, यो राम्रो होइन ।’ ‘एउटा ठाउँमा बन्दुक पड्क्यो, गोली हानियो भनेर समाचार आउँदा देशभरका नागरिकलाई थाहा हुन्छ तर जहाँ बन्दुक पड्केको हो त्यहाँका नागरिकलाई थाहा हुँदैन किन कि त्यहाँ पड्केकै हुँदैन । ‘कहिलेकाँही व्यक्ति विशेषले पनि बद्लाको भावमा लेखिदिने, एउटा झुटो कुरा लेख्दिन सक्छ, त्यो कुरा सत्य हुँदैन, त्यो खण्डनयोग्य हुन्छ, त्यसको भुक्तभोगी हामी छौँ तर, यसलाई हामी सिंगो पत्रकारसँग जोडिएर हेर्नु हुँदैन,’ उनले भने । हरेक कुराभित्र विकृति बिसंगति हुने भन्दै उनले यसलाई सुद्धिकरण गरेर जानुपर्ने उनकाे भनाइ छ ।  पत्रकार भइरहन कत्तिको सहज छ भन्ने प्रसंगमा शर्माले कोही केही रहिरहन कति सहज छ भन्ने प्रश्नमा आएर हेर्नेहो भने कुनैपनि कुरा सहज नभएको बताए । ‘नेता हुन पनि सहज छैन, किसान हुन पनि सहज छैन, पत्रकार हुन पनि सहज छैन केही हुन पनि सहज छैन, उनी भन्छन्,‘ कुरा इमान्दारिताको हो, संकलपको हो लगनशिलताको हो, यो भयो भने कसरी सहज हुने नहुने भन्ने कुरा आफैमा भर पर्छ ।’  पूर्व सञ्चारमन्त्री एवं काग्रेस नेता डा. मिनेन्द्र रिजाल पत्रकार महासंघमा गठबन्धनको अध्यक्षको रुपमा अपेक्षा राख्नु मुर्खता भएको बताउँछन् । राजनीति जस्तो छ, पत्रकार पनि उस्तै भएको भन्दै उनले राजनीतिको प्रति छाया देखिएको भन्दै पत्रकारप्रतिछाया बन्दा पत्रकार नै नरहने बताए  । काग्रेस-एमाले मिलेको गठबन्धनको संस्कृतिलाई उपयोग गरेर बनेको महासंघले यो प्रवृतिबाट उम्काउन सक्नुपर्ने उनकाे भनाइ छ । 

सेयर बजारमा ५ अर्ब बढीको कारोबार, लगानीकर्ताको आकर्षण लघुवित्तमा

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार सेयर बजारमा १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७० कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । यस्तै, ३१२ कम्पनीको १ करोड २७ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको २० करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको हो । यसैगरी, जोशी हाइड्रोपावरको १९ करोड २७ लाख, नेपाल फाइनान्सको ९ करोड ५२ लाख, माउन्टेन इनर्जी नेपालको ८ करोड ६३ लाख र न्यादी हाइड्रोपावरको ८ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । लगानीकर्ताको आर्कषण लघुवित्तमा रहेको छ । साथै, उपसूचकमा उत्पादन तथा प्रशोधन र व्यापार समूह राताम्मे रहेको छ । २ वटाबाहेक सबै उपसूचक हरिया रहेकाे नेप्सेले बताएको छ ।

को हुन् रिलायन्समा सबैभन्दा ठूलो सेयर भएकी कोकिलाबेन ?

काठमाडौं । कोकिलाबेन अम्बानी अर्बपति मुकेश अम्बानीकी आमा हुन् । धीरुभाई अम्बानीकी पत्नी भएकाले उनले अम्बानी परिवारको विरासत निर्माणमा महत्त्वपूर्ण योगदान दिएकी छिन् । ९० वर्षीय कोकिलाबेनलाई अझै पनि परिवारमा उच्च सम्मान छ । उनी आफ्ना दुई छोरा मुकेश र अनिललाई असाध्यै माया गर्छिन् । कोकिलाबेन अम्बानीको जन्म २४ फेब्रुअरी १९३४ मा गुजरातको जामनगरमा भएको थियो । कोकिला र उनका श्रीमान धीरुभाईका चार सन्तान छन् – मुकेश अम्बानी, अनिल अम्बानी, नीना कोठारी र दीप्ति सालगाउँकर । कोकिलाबेन आफ्नो जेठो छोरा मुकेश अम्बानी र उनको परिवारसँग मुम्बईको विलासी घर एन्टिलियामा बस्छन् । यो २७ तले गगनचुम्बी भवनको मूल्य लगभग १५ हजार करोड भारु छ । यो संसारको सबैभन्दा महँगो निजी आवासमध्ये एक मानिन्छ। यो भवन ३७ हजार वर्ग मिटरमा फैलिएको छ । यो दुई अमेरिकी फर्महरू पर्किन्स एण्ड विल र हिर्श बेडनर एसोसिएट्सद्वारा डिजाइन र निर्माण गरिएको थियो । लक्जरी कारहरूको शाेख कोकिलाबेनलाई लक्जरी कार मनपर्छ । उनको आफ्नै कार संग्रह छ । मिडिया रिपोर्टका अनुसार उनको मनपर्ने कार मर्सिडिज बेन्ज हो । उनका पति धीरुभाई अम्बानीलाई भने उनको क्याडिलैक लिमोसिन मन पर्थ्यो । कोकिलाबेन श्रीनाथजीको भक्त हुन् । उनको गहिरो आस्थाका कारण उनी बारम्बार धार्मिक स्थलहरूमा जाने गर्छिन् । जामनगरको द्वारकाधीश मन्दिर र राजस्थानको नाथद्वारा उनको मनपर्ने धार्मिक स्थल हुन् । टीना अम्बानीले प्रायः सामाजिक सञ्जालमा आफ्नो तस्विर सेयर गरेर कोकिलाबेनप्रति आफ्नो माया र सम्मान व्यक्त गर्छिन् । पारिवारिक समारोहहरूमा नीता अम्बानी प्रायः आफ्नी सासूको हात समातेर मद्दत गरेको देखिन्छ । कोकिलाबेन र उनका दुई बुहारीबीचको सम्बन्ध प्रेम र स्नेहले भरिएको छ, जसले बलियो र मायालु पारिवारिक बन्धनलाई देखाउँछ । रिलायन्समा सबैभन्दा ठूलो सेयर रिलायन्समा कोकिलाबेनको सबैभन्दा ठूलो सेयर छ । उनीसँग १,५७,४१,३२२ कित्ता छ, जुन कम्पनीको कुल इक्विटीको ०.२४ प्रतिशत हो । यसले उनको कुल सम्पत्ति लगभग १८ हजार करोड भारु बनाउँछ । अर्कोतर्फ मुकेश अम्बानीको कम्पनीमा ०.१२ प्रतिशत सेयर छ । आफ्नी पत्नी नीता अम्बानी र उनीहरूका तीन छोराछोरीसँग रिलायन्स इन्डस्ट्रिजमा कुल ८० लाख ५२ हजार २१ सेयरहरू छन् ।

गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर

नेपालगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले यसवर्ष बाँकेका तीनवटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै सो मुद्दा दायर भएको हो । नेपालगञ्ज उपमहानगरपालिका- १५ स्थित डिउ ड्रिप ड्रिङिङ वाटर उद्योग निरीक्षणका क्रममा उद्योगले पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ विपरीत उद्योग सञ्चालन गरेको, नियमित पानीको परीक्षण नगरेको, उद्योग परिसर फोहर राखेको पाइएपछि मुद्दा दायर गरेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख प्रशान्त पोखरेलले जानकारी दिए । सो उद्योगसँग चार लाख ५० हजार रुपैयाँ मागदाबी गरिएको छ । ‘ती उद्योगको उजुरी पनि परेको थियो र अनुगमन गर्दा कैफियत भेटिएकाले मुद्दा दायर गर्न बाध्य भएको हो,’ उनले भने । प्रमुख पोखरेलले वाई के डिट्रिङ वाटर उद्योगविरुद्ध अघिल्लो महिना मुद्दा दायर गरिएको बताए । त्यसैगरी, गत कात्तिक २५ मा नेपालगञ्ज १८ स्थित क्वालिटी चाउमिन उद्योगले लेबल नलगाई चाउमिन बिक्री गरेको पाइएपछि खाद्य ऐन, २०२३ अनुसार तत्काल मुद्दा दर्ता गरेको थियो । बाँके र बर्दिया निरीक्षण गर्दा खाद्य स्वच्छताको प्रतिकुल खाद्य वस्तुमा मिसावट गर्ने, अनुमति पत्र नलिई खाद्य व्यवसाय सञ्चालन गर्ने, प्याक गरिएको खाद्य वस्तुमा लेबल नलगाई बिक्री गर्ने गरिएको पाइएकामा त्यस्ता उद्योगीलाई सचेत गराइएको कार्यालयले जनाएको छ । प्रमुख पोखरेलले अझै करिब १० उद्योगका फाइल अनुसन्धानका क्रममा रहेको जानकारी दिँदै अनुगमन गर्दा कैफियत पाइए कारबाही हुने चेतावनीसमेत दिए । सचेत गराउँदा पनि अटेरी गर्नेलाई कानूनी कारबाही गरिने प्रमुख पोखरेलको भनाइ छ । चालु आर्थिक वर्षमा यी मुद्दा दायर भएका हुन् ।

धरहरा सञ्चालनको एकै महिनामा ५५ लाखको टिकट बिक्री, हालसम्म ३१ हजार बढीले चढे

काठमाडौं । पुनःनिर्माणपश्चात धरहरा सशुल्क सञ्चालन भएको मंगलबार एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत ५५ लाख रुपैयाँ सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो । कामु आयोजना निर्देशक प्रकाश अर्यालले प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन दैनिक एक हजार दुई सयले धरहरा चढ्ने गरेको जानकारी दिए । ‘९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन,’ उनले भने, ‘बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो ।’ पछिल्लो समय छिमेकीमूलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति रु एक हजार शुल्क छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइएको हो । गत मङ्सिर ६ गतेको मन्त्रीपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो । यहाँ पार्किङ गर्दा चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुई पाङ्गे्रलाई रु १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार छ निर्धारण गरिएको छ ।

पूर्ण अपांगताका भएकालाई घरमै पुगेर सेवा

काठमाडौं । ललितपुर महानगरपालिका अपांगतामैत्री बन्दै गएको छ । महानगरले अपांगता क्षेत्रमा विगतका वर्षदेखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । भर्खर मात्रै महानगरले अपांगता परिचयपत्र प्राप्त गरेका पूर्ण अशक्त भएका व्यक्तिका लागि घरमै गएर तालिमप्राप्त सहयोगीमार्फत संरक्षकको प्रत्यक्ष निगरानीमा सहयोगीमार्फत सेवा दिने कार्यक्रमको सुरुवात गरेको छ । पहिलो चरणमा महानगरले एउटा वडामा दुईजना पूर्ण रूपमा अशक्त भएका नागरिकलाई सेवा दिने भएको छ । महागनरमा २९ वडा रहेका छन् । हाललाई ६० जनाले यो सुविधा प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रमको सहजीकरणको लागि महानगरले स्वावलम्बन जीवन पद्धति केन्द्रसँग सम्झौता गरेको छ । यस कार्यक्रमको लागि महानगरले पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ । महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईं नगरभित्र रहेका पूर्ण अशक्तता त्यसमा पनि परिवारले समय दिन नभ्याउनेहरूलाई थोरै भए पनि सहज होस् भनेर यो कार्यक्रम सञ्चालनमा ल्याएको बताउँछन् । उनका अनुसार पहिलो चरणमा ६० जनालाई सेवा दिएपछि त्यसको पृष्ठपोषण कसरी आउँछ, त्यसको आधारमा महानगरले संख्या बढाउँदै लैजाने तयारी गरेको छ । सूचना अधिकारी गुरागाईं भन्छन्, ‘ललितपुर महानगरले अपांंगताका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएकाे छ । जसमध्ये यो नयाँ कार्यक्रम हो । पूर्ण अशक्त भएकाहरूलाई केही सहयोग होस् भनेर यो कार्यक्रम सञ्चालन गर्न लागेका हौं ।’ महानगरका महिला विकास शाखाका प्रमुख शोभादेवी खरेल अपांगता भएका व्यक्तिहरुको लागि यो सेवा अत्यान्तै आवश्यकता रहेको बताउँछिन् । यसले अशक्त व्यक्तिहरूको मानवअधिकारको प्रत्याभूतिसमेत हुने बताइन् । उनले भनिन्, अपांगता भएका व्यक्तिलाई समाजले मात्रै नभएर घरपरिवारबाट पनि हेला, वेवास्ता गरिरहेका हुन्छन् । व्यक्तिगत सरसफाइमा ध्यान नदिने, उनीहरूको मनोभाव नबुझिदिने हुन्छ । यसरी नयाँ मान्छे गएर थोरै समय भएपनि सेवा दिँदा उनीहरू खुसी हुनुका साथै सेवा पनि पाउनेछन्, त्यसले यस्ता कार्यक्रमको धेरै नै प्रभावकारिता छ ।’ के-के सेवा पाउँछन् ? अपांगता भएका व्यक्तिहरूको लागि काम गर्दै आइरहेका संस्था स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ महानगरसँगको लामो समयको आग्रह र छलफलपछि यो कार्यक्रम ल्याउन सफल भएको बताउँछन् । अध्यक्ष श्रेष्ठका अनुसार आगामी माघ महिनाबाट यो कार्यक्रम नियमति रूपमा सञ्चालन हुनेछ । तालिमप्राप्त सहयोगीले घरघरमै गएर अपांगता भएकाहरूलाई सेवा दिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यसका लागि १२ जना कर्मचारी नियुक्त गर्ने उनको भनाइ छ । छनोट भएका १२ जना कर्मचारीलाई तीन दिनको आधारभूत तालिम दिएपछि केन्द्रले व्यक्तिगत सेवामा खटाउने उनले बताए । अध्यक्ष श्रेष्ठका अनुसार इच्छुक महिला तथा पुरुषले केन्द्रमा सम्पर्क गर्न सक्छन् । यसका लागि बेरोजगार युवायुवती प्राथामिकतामा रहेका छन् । ६० जना पूर्ण अशक्तमध्येमा पनि केन्द्रको प्राथामिकतामा आर्थिक रूपमा कमजोर भएका वर्ग पर्नेछन् । अध्यक्ष श्रेष्ठले भने, ‘अहिले कस्ता व्यक्तिहरूलाई सेवा दिने भन्ने विषयमा छलफल भइरहेको छ । महानगरका वडा अध्यक्षहरूसँग पनि हाम्रो यस विषयमा छलफल हुन्छ । आवश्यक पर्नेलाई मात्रै सेवा दिने हाम्रो मान्यता हो । सम्पन्न वर्ग छ, घरमै सेवा गर्ने मान्छे राखेको छ भने उहाँहरूलाई सेवा दिन जानु परेन । जसलाई साँच्चै सेवकको आवश्यकता छ, आर्थिक अवस्था कमजोर छ, त्यस्ता व्यक्तिलाई छनोट गरेर सेवा दिन्छौं । केन्द्रका अनुसार पहिलो चरणमा यो कार्यक्रम ६ महिनासम्मको लागि सञ्चालन हुने छ । केन्द्रका सचिव कृष्ण गौतमका अनुसार ६० जनाको लागि १२ जना पर्याप्त कर्मचारी नहुने भएकाले पालो सिस्टमअनुसार सेवामा पठाइने बताए । उनका अनुसार एक जना अपांगता भएका व्यक्तिले सातामा एक दिन र ६ महिनामा ४८ घण्टा यो सुविधा पाउनेछन् । उनले भने, ‘हामीले १२ जना कर्मचारीलाई रोटेसनअनुसार सेवाको लागि पठाउँछौं, आवश्यकताअनुसार कुनै सेवकलाई २ घण्टा, कुनैलाई चार घण्टा या त्योभन्दा पनि बढी समय सेवा दिन्छौं । यसरी एक जनाले हप्तामा एक दिन सेवा पाउनुहुनेछ भने ६ महिनामा ४८ घण्टा पाउनुहुनेछ ।’ केन्द्रका सचिव गौतमका अनुसार अपांगता भएकाहरूलाई सेवकले नुहाइदिने, तेल लगाइदिने, मालिस गर्दिने, नङ काटिदिने जस्ता सेवाहरू दिनेछन् । यसबाहेक आवश्यकताअनुसार १/२ घण्टाको लागि बाहिर घुम्न लैजाने, अफिस जान्छु भन्यो भने अफिस पुर्‍याउने या ल्याइदिने जस्ता सेवा पनि दिनेछ । स्वावलम्बन जीवन पद्धति केन्द्र, ललितपुर । चुनौतीपूर्ण काम अध्यक्ष श्रेष्ठ घरमै गएर त्यसमा पनि अशक्तता भएका व्यक्तिलाई सेवा दिनु भनेको अत्यन्त चुनौतीपूर्ण काम भएको सुनाउँछन् । उनी भन्छन्, ‘धेरैले व्यक्तिगत सहयोग सेवाबारे बुझ्नुभएको छैन । यसबारे बुझाउनकै लागि चुनौती छ ।’ यो कार्यक्रमको लागि बजेट सीमित हुँदा झन् चुनौती भएको उनले बताए । ‘हामीले घण्टाको हिसाबले सेवा दिनुपर्छ, नेपालमा यस्तो व्यवस्था लागू गर्न गाहो छ । तर हामी चुनौतीलाई सहज रूपमा लिएर प्रभावकारी तरिकाले कसरी चलाउने भन्नेमा केन्द्रित छौं,’ उनले सुनाए । नेपालमा पहिलोपटक यस्तो कार्यक्रम सञ्चालन गरिरहँदा आलोचित हुनुपर्ने हो कि भन्ने अर्को चुनौती पनि थपिएको उनले बताए । त्यस्तै, अपांगता भएकालाई सेवा दिनुपर्ने काम अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण भएकाले यसको ठूलो जिम्मेवारी संस्थामा काँधमा आइपर्ने पनि उनको भनाइ छ । नेपालमा यस्ता कार्यक्रम अत्यन्तै आवश्यक भएको अध्यक्ष श्रेष्ठ औंल्याउँछन् । यसले एकातिर बेरोजगारलाई रोजगार सिर्जना गरेको छ भने अर्कोतिर अशक्त व्यक्तिले सेवा पाएका छन् । यस्ता कार्यक्रममा सरकारले पनि ध्यान दिनुपर्ने उनले बताए । अपांगताका क्षेत्रमा महानगरले गरेका कार्यक्रम नेपालमा संघीयता कार्यान्वयनमा आएदेखि नै महानगरपालिकाले अपांगताका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । नगरपालिकाले विसं २०७८ सालदेखि हालसम्म ९२८ जनालाई अपांगता परिचयपत्र वितरण गरिसकेको छ । महानगरले महानगरसम्म आउन नसक्ने अपाङ्गता भएका व्यक्तिहरूको घरमै गई परिचय पत्र प्रदान गर्दै आइरहेको छ । महानगरले नगरभित्र अपांगतामैत्री सवारीसाधनको व्यवस्था गरेको छ । उक्त सवारीसाधन दैनिक सञ्चालन गर्न चाहिने एक चालक, इन्धन, सवारी बीमा, ब्लुबुक नवीकरण आदिका खर्च महानगरले नै बेहोर्दै आएको छ । यसैगरी, महानगरका शाखा तथा महाशाखाहरूमा सेवा लिनको लागि लिफ्टको व्यवस्था गरिएको छ । महानगरले सफ्टवेयर निर्माण र अपांगता भएका व्यक्तिहरूको कागजात र विवरण अद्यावधिक गर्दै आएको छ । महानगरभित्र अपांगतामैत्री सडकपेटी र शाैचालय सञ्चालनमा आएका छन् । हालसम्म तीन स्थानमा अपांगमैत्री शौचालय सञ्चालनमा ल्याइसकेको छ भने थप १२ स्थानमा अपांगमैत्री शौचालय निर्माण हुँदै गरेको महानगरले जनाएको छ । ‍त्यस्तै, कुशुन्तीवडा न १३ को रिङरोडमा लिफ्टसहितको आकाशे पुलको निर्माण हुँदैछ । यी कार्यक्रमबाहेक महानगरले बेलाबेलामा अपांगतामैत्री व्यवहार, लैंगिक हिंसाविरुद्धको सचेतना तथा हेरचाहसम्बन्धी तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै, ललितपुर महानगरबाट र अन्य संघसंस्थाहरूको समन्वयमा आवश्यकताअनुसार ह्विलचियर वितरण, सीबीआर कार्यक्रम सञ्चालन, तथ्यांक संकलन, आर्थिक अवस्था कमजोर भएका अपांगहरूलाई सरसफाइ तथा औषधी वितरण, समूह गठन तथा सिडमनी वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको छ । महानगरले फाउण्ड परियोजनाको सहकार्यमा अपांगता भएका १५ जना व्यक्तिहरूलाई सीप तथा रोजगारीको व्यवस्था गरेको थियो ।