विकासन्युज

निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा चलचित्रकर्मीहरुको जोड

काठमाडौं । चलचित्रकर्मीहरूले निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार साँझ मण्डला नाटक घरमा आयोजित चलचित्रकर्मीको भेलामा अभिनेता दयाहाङ राईले आफू अभिनेता भएर पटकथा पढ्ने क्रममै सबै पक्षबारे सोच्नु पर्ने दबाब महसुस गर्ने गरेको बताए । ‘चलचित्रलाई समाजको ऐना भनिन्छ, त्यसैले त्यहाँ सकारात्मक र नकारात्मक दुवै पक्षलाई देखाउने गरिन्छ । नराम्रो देखाएर त्यसले निम्त्याउने गलत अवस्थालाई चित्रण गरेर सही गर्नुपर्ने वा सकारात्मक हुनुपर्ने दृश्य देखाउनु पर्छ । तर, हामीले हरेक विषयमा आफूलाई सङ्कुचित पारेर काम गर्न थाल्यौँ भने त्यसले हाम्रो सृजनामा ह्रास आउँछ,’ उनले भने । निर्देशक दीपक रौनियारले आफ्नो देशको परिवेश र कथालाई निर्धक्कसँग चलचित्रमा ल्याउन सक्ने वातावरण हुनुपर्ने बताए । आफ्नो चलचित्र ‘राजागंज’ को प्रसङ्गलाई लिएर गरिएको कडाइमा आफ्नो असहमति रहेको उनको भनाइ छ । चलचित्रकर्मी दीपकराज गिरीले चलचित्र निर्माणको विषय छनोट गर्दा नै प्रदर्शनको समयमा हुनसक्ने अवरोधलाई सम्झिने गरेको बताए । ‘हामीले चलचित्र प्रदर्शनमा यी-यी विषयमा विनाकारण झमेला भोग्नुपर्छ भन्ने लागेपछि लेखकले त्यहाँ सिर्जना गर्ने पात्र र परिवेशमै अङ्कुश लागेको महसुस गर्छ, मैले व्यक्त गर्न चाहेको समाजको परिवेशलाई चलचित्रमा देखाउन सकेको छैन,’ उनले भने । निर्देशक अशोक शर्माले विश्वमै चलचित्र काँटछाँट भन्दा पनि वर्गीकरण गर्ने परिपाटी भएकाले त्यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदै आग्रह गर्नुपर्ने बताए । निर्देशक नवीन सुब्बाले चलचित्रकर्मीको आशय समाजको सदभाव बिगार्नु नभई मनोरञ्जन प्रदान गर्दै विचार प्रस्तुत गर्नु रहेको बताए । उनले बेलाबेलामा सुनिने चलचित्र ‘सेन्सर’ को विषयमा सम्बन्धित निकायसँग छलफल गर्नु आवश्यक रहेको बताए । भेलामा निर्देशक गणेशदेव पाण्डे, उपेन्द्र सुब्बा, विनोद पौडेल, मनोज पण्डितलगायत सहभागी थिए ।

मलेसिया, कतार, साउदी र युएईपछि गाउँमै कोदोको बिस्कुट, मह र उखुबाट बनेकोलाई २५० रुपैयाँ

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेका हुन् । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको भण्डारीले बताए । ‘कोदो फल्ने, पिस्ने, मह, उखुको खुदो, चिनी र काउलोको धुलो मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाउने गरेको छु,’ उनले भने, ‘स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरुले कोसेलीका रुपमा बिस्कुट लैजानुहुन्छ ।’ मह र उखुको खुदोबाट बनेको बिस्कुटलाई प्रतिदर्जन (१२ वटा)लाई २५० रुपैयाँ र चिनी मिसाएको बिस्कुट प्रतिदर्जन १३० रुपैयाँ मूल्य कायम गरिएको छ । काउलोले बिस्कुट र रोटी टुक्रा पर्न दिँदैन । गुलियो बनाउन कोदोको पिठोमा मिसाइने मह र उखुको खुदो शक्तिवद्र्धक मानिन्छ । पाउरोटी र केक बनाउने क्रममा परीक्षणका लागि तयार गरेको कोदोको विस्कुट उपभोक्ताले रुचाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट प्रयोगशाला परीक्षण गरी नियमित उत्पादनको तयारी गरेको भण्डारीले बताए । उनले मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्दै आएका छन् । ३७ वर्षीय भण्डारी रोजगारीका लागि ६ वर्ष मलेसिया, २ वर्ष कतार, २ महिना साउदी र ४५ दिन युएईमा काम गरेर फर्किएका हुन् । भाडाको घरमा व्यवसाय सञ्चालन गर्दै आएका उनले आफ्नै जग्गामा करिब ७५ लाख रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरिरहेका छन् । धवलागिरी गाउँपालिका–७ का वडाअध्यक्ष अशोक खत्रीले भण्डारीले बिस्कुट बनाउन थालेपछि कोदोलाई ब्रान्ड बनाउन सकिने सम्भावना देखिएकाले गुणस्तर प्रमाणित गराउन सहजीकरण गरिने बताए । ‘कोदो खेती कम हुँदै आएको छ, गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानलाई फाइदा पुग्छ,’ वडाअध्यक्ष खत्रीले भने, ‘विदेशबाट आयात गरेर गहुँ, जौ र मकैको पिठोबाट बिस्कुट बनाइरहेको अवस्थामा स्थानीय कोदोबाटै बिस्कुट उत्पादन हुन थालेपछि आयात घटाउन पनि सहयोग पुग्नेछ ।’

सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू-भागमा हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

एथर स्कूटरले बौद्धमा टेस्ट राइड जोन ल्याउँदै

काठमाडौं । एथर स्कूटरले बौद्धमा पहिलो टेस्ट राइड जोन सुरुवात गर्ने भएकाे छ । प्रिमियम ईभी प्रविधिलाई अझ सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता अनुरूप यो विशेष टेस्ट राइड स्पेस चैत्र ५ गते किबु अपार्टमेन्ट, फूलबारी, बौद्धमा सञ्चालनमा आउन लागेको हाे । एथरले उ‌द्घाटन परम्परागत बौद्ध पूजासहित गर्ने जनाइएकाे छ । टेस्ट राइड जोनको सुरुवातसँगै एथरले २० हजार रुपैयाँसम्मकाे क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर पनि दिने भएकाे छ । याे अफर सीमित अवधिको लागि मात्र हुनेछ । नेपालमा आफ्नो सुरुवातदेखि नै एथरले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहकहरूको विश्वासका साथ ईभी बजारलाई पुनः परिभाषित गर्दै आएको छ । हाल काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, र बुटवलमा गरी ६ वटा एक्सपेरियन्स सेन्टर सञ्चालनमा छन् । साथै एथरले काठमाडौं, भक्तपुर र चितवनमा तीनवटा सर्भिस सेन्टर सञ्चालन गरिसकेको छ भने चाँडै नै पोखरामा चौथो सर्भिस सेन्टर खुला गराउन लागेकाे छ। यसैगरी, एथरले नेपालभरका प्रमुख स्थानहरूमा २० वटा फास्ट चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ ।

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पदपूर्ति समितिको सिफारिशमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो । नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि नै कार्यभार सम्हालेका छन् ।

मुख्य याममै सौराहामा आएनन् पर्यटक, होटलको अवस्था नाजुक

चितवन । विगतका वर्षमा यो समय सौराहा पर्यटकले भरिन्थे । होटलहरुको अकुपेन्सी पनि राम्रो हुन्थ्यो । तर यसपाली  विगत जस्तो भएन । चिनियाँ पर्यटक कम आएसँगै यहाँको पर्यटकीय गतिविधि प्रभावित भयो । विगतमा जस्तो भारतीय र तेस्रो मुलुकका पर्यटक पनि उल्लेख्य आएका छैनन् । स्वदेशी पर्यटकको सङ्ख्या पनि न्यून रहेको व्यवसायीले बताएका छन् । चितवन फरेष्ट रिसोर्टका सञ्चालक दीपक भट्टराई विगतका वर्षमा यतिबेला आफ्नो होटलमा ८० प्रतिशत चिनियाँ पर्यटक हुने गरेकामा यस वर्ष ४० प्रतिशत पनि नपुगेको बताउँछन् । चिनियाँ पर्यटक किन आएनन् भन्ने जानकारी नभएको भन्दै उनले नेपालीहरु नयाँ गन्तव्यहरुमा गएको बताए ।  उनले भने, ‘मनाङ, मुस्ताङ, राराजस्ता हिमाली क्षेत्रका गन्तव्यमा स्वदेशी पर्यटक गएका छन्, यहाँ कम आए ।’ सौराहामा नयाँ कार्यक्रमहरु दिन नसक्दा पनि एक पटक यहाँ आउने पर्यटक फर्किएर आउन इच्छा नगर्ने उनको भनाइ छ । सिद्धार्थ भिलासा वनवासका महाप्रबन्धक प्रकाश न्यौपाने खर्चिला चिनियाँ पर्यटकहरु सौराहा नआएको बताउँछन् । चिनियाँ पर्यटकको एक समूहको भनाइलाई उदृत गर्दै उनले भने, ‘काठमाडौंमा फागु खेल्न यस वर्ष भारतीयभन्दा चिनियाँ पर्यटक बढी आए, यहाँ भने आएनन् ।’ क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया गतवर्षहरुको तुनलनामा सौराह आउने पर्यटक आधाभन्दा कमले घटेको बताउँछन् । चैतको पहिलो सातादेखि असारसम्म यहाँ धेरै पर्यटक आउने गर्दछन् । यो मौसमलाई सौराहाका होटल व्यवसायीहरुले राम्रो यामका रुपमा लिने गर्दछन् । थपलिया मुख्य रुपमा सडकका कारण पर्यटक कमी भएको अनुमान गर्छन् । काठमाडौंबाट आउने पर्यटकका लागि विस्तार हुँदै गरेको मुग्लिन–नौबीसे सडक, पोखराबाट आउने पर्यटकका लागि मुग्लिन–पोखरा सडक र भैरहवातर्फबाट आउने पर्यटकका लागि नारायणगढ–बुटवल सडकको अवस्था सहज नभएकाले पनि पर्यटक घटेको उनको अनुमान छ । यस्तै भारतको महाकुम्भ मेला पनि पर्यटकको घट्नुका कारण भएको उनको भनाइ छ । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे चिनियाँहरुले यसवर्ष ‘भिजिट नेपाल वर्षका’ रुपमा मनाएको भएपनि नेपाल कम आएको बताउँछन् । नेपालका पर्यटकीय गन्तव्यमा समेत गतिविधिहरु गरेर आकर्षण गर्न नसकेको उनको भनाइ छ । चीनको छेन्दु–पोखरा उडान भएपछि केही पर्यटक बढ्ने आशा आफूहरुमा रहेको उनले बताए । घिमिरेले भने, ‘सन् २०२५ मा चिनियाँ पर्यटकबाट धेरै आशा गरेको भएपनि हुन सकेन ।’ नेपालको पर्यटन प्रवद्र्धनका लागि चीन र भारत नै मुख्य रहेको घिमिरेको भनाइ छ ।  गत वर्षमा यतिबेला एउटा हात्तीले पर्यटकलाई दैनिक तीन पटक जङ्गल घुमाउँथ्यो । हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा अहिले यो सङ्ख्या आधा भएको बताउँछन् । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्ष समेत रहनुभएका खतिवडा रेष्टुरेन्टहरुको व्यापार पनि आशातित नभएको बताउँछन् ।  सङ्घका अध्यक्ष गङ्गा गिरी चिनियाँ पर्यटक धेरै आउँदा चिनियाँ पर्यटक धेरै राख्ने होटलहरु भरिने र अन्य पर्यटकले अरु होटल भरिने भए पनि अहिले त्यस्तो नभएको बताउँछन् । गत वर्षहरुमा यतिबेला दैनिक पाँच सय चिनियाँ पर्यटक सौराहा आइपुग्थे । यो वर्ष एक सय ५० देखि दुई सय मात्रै चिनियाँ पर्यटक आएको उनी बताउँछन् । एकैदिन एक हजार हाराहारीसम्म भारतीय पर्यटक आउने सौराहामा यतिबेला एक सय ५० हाराहारी मात्रै आएका छन् । गिरीले भने, ‘एक हजारभन्दा बढी तेस्रो मुलुकका पर्यटक आउने सौराहामा यो वर्ष देख्न मुस्किल छ ।’  उनको भनाइमा यस याममा ९९ प्रतिशतसम्म बुकिङ हुन्थ्यो । यस वर्ष ३५ देखि ४० प्रतिशत मात्रै पर्यटक छन् । भूकम्पअघिसम्म तातोपानी नाकाबाट आफ्नै सवारीमा आउने चिनियाँ पर्यटक सडक नबन्दा रोकिएको उनी बताउँछन् । यस्तै हवाई यात्रा महँगो हुँदा पनि चिनियाँसँगै अरु पर्यटक प्रभावित भएको गिरी बताउँछन् । अहिले आएका पर्यटकमध्ये ६० प्रतिशत नेपाली छन् । उनले भने ‘धेरथोर स्वदेशी पर्यटकले सौराहा धानेको छ’, सौराहामा १४८ वटा होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । गिरीका अनुसार ती होटलमा रु चार खर्बभन्दा बढी लगानी छ । प्रत्यक्ष रुपमा ६ हजार ४०० ले रोजगारी पाएका छन् । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ । बर्सेनि पर्यटक घट्दै गएपछि धेरै होटलको अवस्था नाजुक छ । गिरीले भने, ‘एउटा ठूलो होटल बैंकको लिलाम निस्किसकेको छ, अरु धेरै लिलामीको चरणमा छन् ।’ रासस

माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी

काठमाडौं । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउनका लागि तयारीस्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त समिति गठन गरेका छन् । इण्डोनेसियामा क्षेत्रीय स्वास्थ्य सम्मेलनमा सहभागी भएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलिलबीच गत असोज पहिलो साता त्यहाँका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने विषयमा कुराकानी भएको थियो । माल्दिभ्सले नेपालले वातावरण बनाएमा विद्यार्थी अध्ययन गर्न पठाउने बताए पछि मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिललाई चिकित्सा शिक्षाको दिव्पक्षीय मान्यता तथा प्रवद्र्धनका उपायबारे सुझाव दिन आग्रह गरेका थिए । सोहीअनुसार काउन्सिलले दुवै देशको मापदण्डका आधारमा दिव्पक्षीय सम्झौतापश्चात विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन सकिने आसयको प्रतिवेदन दिएको थियो । सोही आधारमा माल्दिभ्ससँग द्विपक्षीय सम्झौता गर्ने गरी तयारी गर्न मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा। चोपलाल भुषाल संयोजक रहेको सात सदस्यीय समिति गठन गरेका हुन् । ‘नेपालमा कम्तिमा सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउने वातावरण बनाउन हामी प्रयत्नरत छौं,’ उनले भने, ‘माल्दिभ्सबाट सकारात्मक थालनी गर्ने योजना छ ।’ समितिमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख सदस्य छन् । यसैगरी नेपाल मेडिकल काउसिन्सलका रजिष्ट्रार,चिकित्सा शिक्षा आयोगका निर्देशक तथा सदस्य सचिव सदस्य रहने समितिमा चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखाका अधिकृत सदस्य सचिव रहने गरि तोकिएको छ । समितिले दुवै देशमा अवस्थित चिकित्सा शिक्षा मापदण्ड र मान्यताबारे विस्तृत समीक्षा गर्नेछ । यसैगरी, दुवै देशका मेडिकल काउन्सिलका मापदण्ड अध्ययन गरेर दिव्पक्षीय सम्झौता तथा अन्त्यमा मन्त्रालयहरुबीच औपचारिक हस्ताक्षर गर्ने वातावरण तयार गर्न समितिलाई कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । यससँगै अन्य सार्क राष्ट्रका चिकित्सा विद्यार्थीसमेत अध्ययन गर्ने वातावरण तयार हुने उनले बताए ।

सेयरधनीको बदनियतले बर्बाद बनिरहेको विशाल बजार, बिचौलिया बनेर करोडौं कमाइ

काठमाडौं । चिटिक्क परेको सडक । फराकिलो फुटपाथ । देशविदेशका मान्छेहरूको आवतजावत । सडक वारपारमा सेतो रङ्ग पोतेको ठूला भवनहरु । सुनै सुनका पसल । नेपालीसँगै विदेशीहरुको पनि आवागमन । झट्ट हेर्दा जोकोहीलाई पनि लाग्छ, ‘वाह न्यूरोड’ । पुरानो व्यावसायिक हबका रुपमा स्थापित न्यूरोडमा पुग्ने अधिकांशले महसुस गर्ने कुरा हो यो । तर, कहानी यत्तिकै सीमित छैन । यो सुन्दर न्यूरोडभित्रको कुरुप रुप सुन्दा देख्दा र बुझ्दा लाग्छ, ‘मान्छेहरु यस्ता पनि छन् !’ हो, यही न्यूरोडमा रहेको विशाल बजार भित्रको संकुचित सोच भएका सेयरधनीहरुलाई कम्पनीलाई वर्षौं पछाडि धकलिरहेका मात्रै छैनन्, सिंगो न्यूरोडकै छवि गिराउन उद्देलित छन् । बिशाल बजारभित्र रहेका सटरमा सुनहरुको सौन्दर्य जति देखिन्छ त्यो भन्दा धेरै गुणाको कालो धब्बा वर्षौंदेखि जडा गाडेर बसेको छ । भएको के हो ? अब यो प्रवेश गरौं तत्कालीन राजा महेन्द्रले विदेश जाँदा ठूला डिपार्टमेन्टल स्टोर देखेपछि नेपालमा पनि व्यावसायिक भवन खोल्ने सोच बनाए । स्वदेश फर्किएपछि महेन्द्रले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राजदरबारका सचिव इन्द्रमणि राजभण्डारी र व्यवसायी जुद्धबहादुर श्रेष्ठलाई सबै सामान एउटै ठाउँमा पाइने गरी व्यावसायिक भवन खोल्न निर्देशनपछि विशाल बजार कम्पनी नेपालकै पहिलो आधुनिक सपिङ कम्प्लेक्स तथा सुपरमार्केटका रुपमा स्थापना भयो । विशाल बजार विस्तारै एउटा ब्राण्ड बन्यो । विशाल बजारको रुप हेर्न टाढा-टाढाबाट त्यहाँ मानिसहरु पुग्थे । विशाल बजारकै नाम दिएर गायकले गीत गाए । नायकले सिनेमा खेले । व्यावासयिक घरानाको व्यवसाय गर्ने ‘इपि सेन्टर’ बन्यो विशाल बजार । यही आकर्षणबाट प्रभावित हुँदै विशाल बजार एउटा कम्पनीमा परिणत भयो । विभिन्न सार्वजनिक संस्थानहरूको लगानीमा बनेको बीबीसीमा संस्थागत रुपमा १ र व्यक्तिगत रुपमा ९ जना संस्थापकबाट अधिकृत पुँजी १ करोड थियो । तर, संस्थापकहरूले २४ लाख ५० हजार कबुल गरेकोमा २२ लाख ३० हजार मात्रै सङ्कलन भयो । पछिल्लो समय भने सर्वोच्च अदालतको आदेशमा कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ । जसमध्ये ९८.७५ प्रतिशत सेयर सरकारको छ । आधा शताब्दी पार गरिसकेको विशाल बजारले विभिन्न उतारचढावहरु बेहोर्यो । विशाल बजारको सिको गर्दै देशमा भाटभटेनी, बिग मार्टजस्ता ठूल्ठूला सपिङ कम्प्लेक्सहरु बने । तर, विशाल बजारले आफ्नो ब्राण्ड गुमाउँदै गयो । ग्राहकको आकर्षण घट्दै गयो । व्यवसायीको आँखामा पर्न छोड्यो । बाहिरबाट देखिने विशाल बजार भित्रिरुपमा भने कुरुप बन्दै गयो । विशाल बजार कम्पनीभित्र बिचौलियाहरुको बिगबिगीले कम्पनीको बिरासत गुम्दै गयो । भीमप्रसाद शर्मालाई विशाल बजारमा व्यवसाय गर्न थालेको साढे दुई दशक भयो । उनी विशाल बजार व्यापार संघका अध्यक्ष समेत हुन् । विशाल बजारभित्रको बेथिति देख्दा उनको मन अमिलो बन्छ । गुम्दै गएको विशाल बजारको साखप्रति उनी चिन्तित छन् । विशाल बजारमा सटर भाडामा लिनेहरु नै सो कम्पनीको सेयरधनी बन्न पाउने व्यवस्था छ । सोही व्यवस्थाको फाइदा उठाउँदै व्यवसायीले सुरुवातमा धमाधम सटर भाडामा लिए । तर, अहिले ती व्यवसायी बिचौलिया बनेका छन् । अर्थात्, उनीहरु आफैले विशाल बजारमा पसल राखेका छैनन्, उनीहरुले अर्कैलाई भाडामा लगाएर उनीहरुबाट कमिसन लिन्छन् । कम्पनीले व्यवसायीको सहजताको लागि भन्दै सस्तो भाडादर तोके पनि सुरुमा भाडामा लिएर सेयरधनीहरु बनेकाहरुले अर्कै व्यवसायीलाई भाडामा दिएर ठूलो रकम असुल्ले गरेका छन् । भीमप्रसाद शर्मा । शर्माले प्रत्येक २/२ वर्षमा १० प्रतिशत भाडा वृद्धि हुने गरेको सुनाए । तर, उनले भाडाबापतको रकम कम्पनीलाई तिर्दैनन्, तिनै बिचौलियाहरुलाई बुझाउनुपर्छ । ‘मेरो पसलको भाडा ३० हजार रुपैयाँ छ । तर, मैले ५० हजार रुपैयाँ भाडा तिर्दै आएको छु, मेरो चिनजानको मान्छे भएकाले सटर भाडामा लिएको हुँ,’ उनले भने, ‘मैले पसलको भाडा सेयरधनीलाई नै तिर्छु । सेयरधनीले कम्पनीलाई त्यसको आधा मात्रै तिर्नु हुन्छ ।’ विशाल बजार कम्पनीको भवनमा करिब ४ सय सटर छन् । तर, विशाल बजार व्यापार संघमा भने करिब २३० व्यवसायी मात्रै आवद्ध छन् । शर्मा मात्रै होइनन् सञ्चालनमा रहेका अधिकांश व्यावसायीहरूले कम्पनीको खातामा भाडा बापतको रकम हाल्दैनन् । उनीहरूले कम्पनीका सेयरधनीहरूलाई भाडा बापतको रकम तिर्ने गरेका छन् । शर्माका अनुसार केही सटर व्यवसायीले पसलको भाडा ५० हजार रुपैयाँ भएपनि कम्पनीलाई भने ५ लाखको बहाल कर तिरेको देखिएको छ । यसले त पसलको मूल्य ५ लाख रुपैयाँ तिरेको देखिने उनको भनाइ छ । विशाल बजारका दोस्रो र तेस्रो तल्लामा अहिले व्यापार ठप्प छ । पसल खाली हुँदै गएका छन् । विगतको जस्तो आकर्षण अहिले छैन । विशाल बजारका सेयरधनीले सटरबाट लाख उठाएर कम्पनीलाई हजार तिर्ने गरेका छन् । यो समस्या एक/दुई सटरमा मात्रै होइन ३५० बढी सटरमा यो समस्या रहेको खुलेको छ । विशाल बजार कम्पनीका प्रबन्ध निर्देशक (एमडी) गोरख बहादुर शाही पनि यो समस्याले आजित छन् । सेयरधनी नै बिचौलिया बनेपछि उनी समस्या समाधानको बाटो खोजिरहेका छन् । सेयरधनीले सटर राखेका व्यवसायीबाट ठूलो रकम उठाएर कम्पनीलाई थोरै मात्रै तिर्ने गरेको विषय उनलाई राम्रोसँग थाहा छ । तर, उनलाई पनि यसको उपचार गर्न हम्मेहम्मे नै छ । उनले सेयरधनीले नै बिचौलिया बनेको आरोप लगाए । कम्पनीले पाउनु पर्ने अधिकांश भाडा रकम बिचमै हराउने गरेको उनको भनाइ छ । उनका अनुसार पसल भएका अधिकांश सेयरधनीहरू आफू व्यापार गर्दैनन् । उनीहरू अन्य कुनै व्यापारीलाई कम्पनीको पसल भाडामा लगाउने गरेको उनले  बताए । ‘सम्झौताका हिसाबले जसको नाममा पसल र सेयर छ, उनीहरू व्यापार गर्दैनन् । अर्कै मान्छेलाई पसल चलाउन दिइरहेका छन् । कम्पनीको भाडादरभन्दा बढी मूल्य तोकेर उनीहरु भाडामा लगाउँछन् । सेयरधनीहरू नै बिचौलिया बनेर व्यवसायीहरूबाट गैरकानूनी ढंगबाट अतिरिक्त रकम लिइरहेका छन्,’ उनले भने, ‘वास्तविक व्यवसायीले अधिकतम् भाडा रकम तिर्नु परेको छ ।’ यो रकम करको दायरामा पनि छैन । कम्पनीको आम्दानी घटाउन पनि यो गैरकानूनी कामले बढावा दिइरहेको छ । उनका अनुसार सेयरधनीरूले कम्पनीका अधिकांश पसल ओगटेर नियन्त्रणमा लिएका छन् । वास्तविक व्यवसायीहरूले तिरेको भाडा रकम सिधैं कम्पनीको खातामा जम्मा हुने हो भने त्यसको प्रतिफल सबै सेयरधनीहरूलाई समान रुपमा बाँडिने उनको भनाइ छ । तर, केही सेयरधनीहरूले आफू अनुकूल चलाउँदा कम्पनीलाई नोक्सानी भइरहेकोछ । गोरख बहादुर शाही । ‘व्यवसायीहरूले तिर्ने भाडा कम्पनीले पाउँदा नाफा बढ्छ । र, सबै सेयरधनीहरूले लगानीको अनुपातमा लाभांश पाउँथे । तर यहाँ कम्पनी र व्यवसायीलाई मर्कामा पारेर बिचौलियाले राज गरिरहेका छन्,’ उनले भने । कम्पनीका पसल सेयरधनीहरूले भाडामा दिइरहेको विषयमा अनुसन्धान हुन जरुरी रहेको उनको भनाइ छ । ‘यो राजस्वको विषय हो । धेरै नाफा हुँदा सेयरधनीको लाभांश पनि बढ्छ । राज्यलाई राजस्व पनि बढी आउँछ । यस्तो गम्भीर विषयमा अदालतलाई पनि बुझाउने प्रयत्न गर्छाैं । यसरी सेयरधनी र पसल जोड्ने वा गाभिने विषय नियमसंगत छैन । यसले सेयरधनीहरूबीच विभेदकारी व्यवहार गरेको देखिन्छ । जुन कम्पनी ऐनको विपरित हो,’ उनले भने । के छ सम्झौतामा ? कम्पनी र सेयरधनीहरूबीच विंसं २०५४ साउन १ गते भएको सम्झौताको दफा १२ मा पसलको बहाल प्रत्येक २/२ वर्षमा तत्काल लागू रहेको बहाल दरमा १० प्रतिशतका दरले वृद्धि भै करारनामा स्वतः नवीकरण हुने उल्लेख छ । साथै, कम्पनीको आर्थिक विनियमावली २०६४ को परिच्छेद ४ मा बहालवालाले पसलसँग अविभाज्य रुपमा रहेको सेयर वा सो वापत कम्पनीमा रहेको नगद धरौटी नामसारी गरेमा सम्बन्धित पसल कोठा समेत स्वतः नामसारी हुने व्यवस्था छ । कम्पनीका एमडी शाही उक्त सम्झौता नै व्यवहारिक र कानुनसम्मत नरहेको धारणा राख्छन् । त्यसको विरुद्धमा कम्पनीका पुराना सञ्चालकले मुद्धा पनि खेपेको र अदालतबाट दोषि ठहर समेत भएका छन् । ‘गैरकानुनी सम्झौता गरेर कम्पनीलाई हानी नोक्सानी पुर्याएको भन्दै तत्कालीन सञ्चालक समितिलाई दोषी ठहरिएको छ, सर्वाेच्च अदालत वा विशेष अदालतबाट भएको फैसलाले त्यस्तो सम्झौता गर्ने सञ्चालक दोषी हुन् भनेर ठहर गरिसक्यो,’ उनले भने, ‘हामी त्यो सम्झौता खारेज गरेर सबैलाई प्रतिस्पर्धात्मक वा बसिरहेका वास्तविक व्यवसायीलाई मात्रै व्यवसाय गर्न दिन खोजिरहेका छौं ।’ कम्पनीभित्र भइरहेको विकृति अन्त्य गर्न हस्तक्षेपकारी कदम चाल्न खोज्दा समस्या भइरहेको उनको भनाइ छ । वास्तविक व्यवसायीले सेयरधनीलाई भाडा तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न खोजेको उनको धारणा छ । ‘हामी सिधैँ हटाउन निर्देशन दिन सक्ने अवस्थामा छैनौं । किनभने सम्झौताले बाँधेको छ । त्यसैले कानुनतः यसलाई खारेज गर्न साधारण सभाबाट अनुमोदनका लागि प्रस्ताव गरिएको हो,’ उनले भने । साधारण सभाको अघिल्लो दिन आदेश विशाल बजारभित्र वेथितिका चाङ छन् । विगत १० वर्षदेखि साधारण सभा र लेखापरीक्षणको काम हुन सकेको छैन । कम्पनी सञ्चालक समितिको गत माघ २८ गते बसेको बैठकले विभिन्न प्रस्तावसहित फागुन २८ गते ३४औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको थियो । १० वर्षपछि बोलाइएको साधारण सभामा पसलकवलसँग सेयर गाभी स्वतः नवीकरण हुने सम्झौता खारेज गर्ने विशेष प्रस्तावमा राखिएको छ । तर, कम्पनीको उक्त प्रस्ताव सेयरधनीहरूको हितविपरित भएको भन्दै सेयरधनी विजयनारायण राजभण्डारीले काठमाडौं जिल्ला अदालतमा उजुरी दिए । उनका तर्फबाट वरिष्ठ अधिवक्ता सम्भु थापाले बहस गरे । कम्पनीसँग विसं २०५४ साल साउन १ गते भएको सम्झौताको दफा १२ मा पसलको बहाल प्रत्येक २/२ वर्षमा तत्काल लागू रहेको बहाल दरमा १० प्रतिशतका दरले वृद्धि भै करारनामा स्वतः नवीकरण हुने र आर्थिक विनियमावली २०६४ को परिच्छेद ४ मा बहालवालाले पसलसँग अविभाज्य रुपमा रहेको सेयर वा सो बापत कम्पनीमा रहेको नगद धरौटी नामसारी गरेमा सम्बन्धित पसल कोठा समेत स्वतः नामसारी हुने व्यवस्था रहेको ठहर गर्दै निवेदक राजभण्डारी अदालत पुगे । साधारण सभाको १० नम्बर बुँदा कार्यन्वयनमा रोक लगाई बदर गरी पसल यथावत संचालन गर्न पाउनु पर्ने माग उनले गरेका छन् । जिल्ला न्यायाधीश उमानाथ गौतमको फागुन २१ गतेको एकल इजलासले उक्त मुद्धामा प्रतिउत्तर परी सम्बन्धित सरोकारवालाको निवेदन उपर पुनर्विचार हुने गरी हाल कार्यन्वयन नगर्न आदेश जारी गरेको छ । काठमाडौं जिल्ला अदालतबाट यस्तो आदेश जारी भएको केही दिनमै फेरी वार्षिक साधारण सभा सेयरधनीहरूको हित विपरीत भएको भन्दै सेयरधनी सुनिलकुमार शाक्यसहित ११ जनाले उच्च अदालत पाटनमा रिट दायर गरे । शाक्यको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, सतिष कृष्ण खरेल, अधिवक्ता युवराज बन्जाडे र दिपेन्द्र झाले बहस गरे । उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको फागुन २६ गतेको इजलासले कम्पनीको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दियो भने १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ । ‘के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत खुलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नुहोला,’ उच्च अदालत पाटनको अन्तरिम आदेशमा उल्लेख छ । साथै, सेयरधनीहरूको लगानीको मूल्याङ्कन नगरी अलग राखी कम्पनीको साधारण सभा सञ्चालन गर्दा निवेदकहरूको हक हितमा प्रतिकूल असर पर्नसक्ने सम्भावना रहेको तथा सुविधा सन्तुलनको सिद्धान्त समेतलाई मध्येनजर गरी निवेदनको अन्तिम किनारा नलागेसम्म साधारण सभा स्थगित गर्न अदालतको आदेश छ । कम्पनीका एमडी शाही भोली हुने साधारण सभा एकदिन अगाडि रोकिँदा कम्पनीको खर्च मात्रै बढेको बताउँछन् । साथै अदालतले एक पक्षको बहसका आधारमा अदालतबाट साधारण सभा नै रोक्ने आदेश आएको सुनाए । ‘भोलि हुने साधारण सभाको सबै तयारी भइसकेको थियो । सभा व्यवस्थापनमा धेरै खर्च गरिएको थियो । तर, अदालतको फैसला साधारण सभाको अघिल्लो दिन आयो । यसले कम्पनीलाई नोक्सानी हुन्छ,’ उनले भने, ‘उच्च आदतलको फैसला एक दिन अघि आउँदा जिल्ला अदालत काठमाडौंबाट भने एउटै पक्षको बहसका आधारमा आदेश आएको छ ।’ शाहीका अनुसार सेयरधनीरूले पसलको भाडाबापत कम्पनीलाई ५०/६० हजार रुपैयाँ तिर्छन् । तर, व्यवसायीहरूबाट भने १० गुणा बढी भाडा लिने गरेको गुनासो कम्पनीमा आएको छ । यदि उक्त सम्झौता खारेज भए कम्पनीको नाफा तीन गुणा बढ्ने उनले दाबी गरे । हाल कम्पनीले २५ करोड रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेको छ । उक्त सम्झौता खारेज हुँदा हालको आम्दानी बढेर ६०/७० करोड रुपैयाँ पुग्ने अनुमान उनको छ । ‘कम्पनीले २०/२५ करोड रुपैयाँ कमाउँछ भने सेयरधनीहरूले ५० करोड कमाउँछन् । उक्त प्रस्ताव पारित भएपछि सेयरधनीहरूको बिना मिहिनेतको ५० करोड रुपैयाँ गुम्दैछ । यो रकम गुम्ने त्रासले मुद्धा मामिला भइरहेको छ,’ उनले भने, ‘प्रतिस्पर्धाबाट लागेका पसलबाहेकको भाडा रकम न्यून छ ।’ धेरै मेहेनत गरेर प्रस्ताव ल्याइएको भए पनि सेयरधनीहरूले काम गर्न दिने अवस्था नरहेको उनको गुनासो छ । यो प्रस्ताव साधारणसभाबाट पारित भएमा बिचौलियाका रुपमा रहेका सेयरधीको ठूलो आम्दानी गुम्ने देखिन्छ । त्रासमा सेयरधनीहरू साधारण सभाको १० नम्बर बुँदामा रहेको विशेष प्रस्तावले व्यापारी, सेयरधनी व्यावसायीलाई सशंकित बनाएको व्यापार संघका अध्यक्ष शर्मा बताउँछन् । तत्कालीन समयमा भवन बनाउन रकम अभाव भएपछि ५० हजार रुपैयाँ लगानी गर्ने व्यक्तिले एउटा पसल र सेयर पाउने भन्दै तत्कालीन पञ्चायत सरकार (सीडीओ)ले जारी गरेको सूचनाका आधारमा लगानी गरेका हुन् । श्याम प्रसाद भण्डारी । सरकारले लगानीको लागि आह्वान गरेपछि व्यापारी, पुँजीपति र साहुवर्गले हजारौं रकम लगानी गरेको र अहिले आएर गाभिएका सेयर र पसल अलग बनाउँदा सेयरधनी व्यवसायीलाई मर्का पर्ने उनले बताए । ‘सेयरधनीहरूलाई आफ्नो पसल जाने डर छ । जबकी ५० हजार लगानी गर्दा त्यतिबेला न्यूरोडमा घर आउँथ्यो । ५०औँ वर्षदेखि खाइपाई आएका व्यक्तिलाई अहिले आएर सेयर र पसल विभाजन गर्दा समस्या हुन्छ,’ उनले भने । सेयर र पसल छुट्याउँदा व्यापार संघमा आवद्ध २३० जना व्यापारीले कसलाई बहाल तिर्ने भन्ने विषय नै अन्योल हुने उनको भनाइ छ । कम्पनीले सेयर र पसल विभाजनपश्चात् व्यवसायीहरूलाई यसरी व्यवस्थापन गर्छाैं भनेर स्पष्ट रुपमा धारणा राख्नुपर्ने उनको तर्क छ । कम्पनीका अध्यक्ष श्याम प्रसाद भण्डारी पनि सम्झौता स्वतः नवीकरण हुने प्रावधानको फाइदा लुट्दै सेयरधनीहरूले आफू अनुकुल पसल भाडामा लगाउँदै आएको बताउँछन् । जसबाट थोरै भाडा कम्पनीलाई तिर्ने र आफूले महँगोमा भाडामा लगाउने सम्झौता खारेज गर्न लागिएको उनको भनाइ छ । ‘पहिलाको व्यवस्था अनुसार कुनै व्यक्तिले पसल भाडामा लियो, त्यो मान्छे कम्पनीको सेयरधनी पनि हो, त्यसको नाममा पसल पनि छ । तर, त्यो पसल अरुलाई नै भाडामा लगाइएको देखिन्छ,’ उनले भने, ‘कम्पनीलाई थोरै पैसा बुझाउनु हुन्छ, बढी पैसा व्यापारीसँग लिनु हुन्छ । उहाँहरूले बीचको फाइदा खाइरहनु भएको छ, यो दलाली अब रोक्नुपर्छ ।’