डिजिटल कारोबार बढेकोमा राष्ट्र बैंक सन्तुष्ट छ, ठगी हुनबाट आफै सतर्क हुनुपर्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल कारोबार बढ्दै गएकोमा राष्ट्र बैंक सन्तुष्ट रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘ग्लोबल मनी विक २०२५’ को उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । ठगी हुनुबाट ग्राहक आफै सतर्क हुनुपर्ने उनको भनाइ छ । गभर्नर अधिकारीले राष्ट्र बैंकले कोर कामसहित वित्तीय साक्षरतालाई जोड दिएको बताए । उनले भने, ‘नेपाल राष्ट्र बैंकले आफ्नो कोर कामसहित वित्तीय साक्षरतालाई जोड दिएको छ । बैंकमा बैंकमा खोलिएका खाता सक्रिय राख्न र खातामा बचत गर्ने बानी बसाल्नु वित्तीय साक्षरताको प्रभावकारीता हो । वित्तीय साक्षरताले आचरण, व्यवहारमा सकारात्मक ल्याउँछ ।’ उनले स्कुलको पाठ्यक्रममा वित्तीय साक्षरता राख्ने तयारी भइरहेको पनि जानकारी दिए । उनका अनुसार यसका लागि केही चरणमा छलफलसमेत भइरहेको छ । गभर्नर अधिकारीले बैंकका विभिन्न प्रडक्ट हुने र आफूलाई जुन उपयुक्त लाग्छ ती प्रडक्ट प्रयोग गर्नुपर्ने पनि बताए ।
‘घाँटी हेरेर हाड निल्नुपर्छ, २० रुपैयाँमा पाइने चियामा २०० खर्च नगरौं’
काठमाडौं । नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले सबैले बचत गर्ने बानी बसाल्नुपर्ने सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘ग्लोबल मनि विक २०२५’ को उद्घाटन सत्रमा बोल्दै उनले सबैले बचत गर्ने बानी बसाल्नुपर्ने धारणा राखेका हुन् । ‘घाँटी हेरेर हाड निल्नुपर्छ, आफ्नो क्षमताअनुसारको खर्च गर्नुपर्छ, जसको क्षमता जेछ सोही अनुसार व्यवहार गर्नुपर्छ, क्षमता छैन भने अनावश्यक खर्च पनि गर्नुहुँदैन,’ २० रुपैयाँमा पाइने चियाको २०० रुपैयाँ किन खर्च गर्ने,’ उनले भने । बैंकभित्र बचतका पनि विभिन्न प्रडक्टहरु हुने गरेको बताउँदै उनले त्यस विषयमा पनि बुझ्न आवश्यक रहेको बताए । पछिल्लो समय डिजिटल कारोबार बढेको बताउँदै त्यसमा आफू धेरै सन्तुष्ट रहेको बताए । डिजिटल कारोबारमा अवसरसँगै धेरै चुनौती पनि रहेको सुनाउँदै सबैले सर्तक भएर कारोबार गर्यो भने सुरक्षित बन्न सकिने बताए । उनले सबैको पहुँचमा बैंक खाता पुर्याउने लक्ष्य रहेको बताउँदै बैंकमार्फत बचत गरेर भविश्य सुनिश्चित गर्न सुझाव दिए । वित्तीय ज्ञानले व्यक्तिको व्यवहारमा पनि परिवर्तन ल्याउन भूमिका खेल्ने उनको भनाइ छ । वित्तीय साक्षरताले स्वच्छ समाज र सिंगो राष्ट्रलाई पनि स्वच्छ बनाउन भूमिका खेल्ने उनको धारणा छ । उनले विद्यालयको पाठ्यक्रममा पनि वित्तीय साक्षरतालाई समावेश गर्ने छलफल भइरहेको जानकारी दिए । वित्तीय शिक्षाको महत्वपूर्ण पाटो ‘फोर्स सेभिङ रहेको बताए । बैंक तथा वित्तीय संस्थाहरुले ‘लर्न, सेभ एण्ड अर्न’को नाराका साथ ग्लोबल मनि विक मनाइरहेका छन् । १३औैं संस्करणको ग्लोबल मनि विक नेपालमा राष्ट्र बैंकको नेतृत्वमा आयोजना हुँदै आएको छ । एक साताभर ग्लोबल मनि विक आयोजना गर्ने अभ्यास छ ।
ट्रम्पले मंगलबार रुसी समकक्षी पुटिनसँग युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा वार्ता गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने योजना बनाएको र युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘म मंगलबार राष्ट्रपति पुटिनसँग कुरा गर्दैछु । सप्ताहन्तभर धेरै काम भएको छ,’ ट्रम्पले फ्लोरिडाबाट वाशिंगटन फर्किने क्रममा एयर फोर्स वनमा सञ्चारकर्मीहरूलाई भने । ‘हामी त्यो युद्ध अन्त्य गर्न सकिन्छ कि भनेर हेर्न चाहन्छौं । हुन सक्छ, हुन नसक्ला, तर मलाई लाग्छ हामीसँग राम्रो सम्भावना छ,’ उनले थपे । ट्रम्पले युक्रेनले गत हप्ता स्वीकार गरेको ३० दिने युद्धविराम प्रस्तावमा पुटिनको समर्थन जित्न खोजिरहेका छन् । किनकि दुवै पक्षले सप्ताहन्तभर भारी हवाई हमला जारी राखेका थिए र रुसले युक्रेनी सेनालाई पश्चिमी रुसी क्षेत्र कुस्र्कबाट हटाउन झन् नजिक पुगेको छ । ‘हामी भूमिबारे कुरा गर्दैछौं । हामी पावर प्लान्टहरू बारे पनि कुरा गर्दैछौं,’ ट्रम्पले भने, ‘मलाई लाग्छ दुबै पक्ष युक्रेन र रुसले यसबारे धेरै कुरा गरिसकेका छन् । हामी पहिले नै केही सम्पत्तिहरू बाँडफाँड गर्ने विषयमा छलफल गरिरहेका छौं ।’
सहकारी अध्यादेश आज पारित हुँदै, प्राधिकरणले वैधानिकता पाउँदै
काठमाडौं । प्रतिनिधिसभा बैठकले सोमबार सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई पारित गर्ने भएको छ । आज बिहान ११ बजे बस्ने संसद बैठकले दफाबार छलफल गरेर सो ऐन प्रस्ताव गर्ने कार्यक्रम छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यतालिका छ । त्यसपछि सदनले बहुमतका साथ सो विधेयक पारित गर्नेछ । सरकारले सहकारी अध्यादेशबाट सहकारी क्षेत्रको नियमन गर्नका लागि भन्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरिसकेको छ । प्राधिकरण हालसम्म अध्यादेशबाट सञ्चादन हुँदै आएको भएपनि सोमबार विधेयक पास हुनासाथ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नेछन् । त्यसपछि विधेयक ऐन बनेर प्राधिकरण सोही ऐनमार्फत सञ्चालन हुनेछ । गत माघ १५ गतेदेखि काम कारवाही सुरु भएको प्राधिकरणले हालसम्म उल्लेख्य काम गर्न सकेको छैन । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई अध्यक्ष बनाएर काम गराइरहेको छ ।
स्वास्थ्य मन्त्रालय र तिलगङ्गा आँखा अस्पतालबीच सम्झौता, सस्तोमा लेन्स पाउने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच अभिवृद्धि गर्ने विषयमा सम्झौता भएको छ । मन्त्रालयमा एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र प्रतिष्ठानका कार्यकारी निर्देशक डा सन्दुक रुइतले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । सो अवसरमा मन्त्री पौडेलले आँखाको क्षेत्रमा तिलगङ्गाले पुर्याएको योगदान सराहनीय रहेको बताए । उनले भने, ‘तिलगङ्गाबाट उत्पादित लेन्सले अन्तरराष्ट्रियस्तरमै विश्वसनीयता प्राप्त गरेको छ । मन्त्रालयले अस्पतालले गरेका काममा सहकार्य र समन्वय गर्नेछ ।’ कार्यकारी निर्देशक डा डा रुइतले आँखाको क्षेत्रमा पहुँच नपुगेका र सिमान्तकृत वर्गमा तिलगङ्गा पुगिरहेको उल्लेख गर्दै उत्पादन गरिरहेको लेन्सको क्षमता विस्तार गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘हामीले हेटौँडामा लेन्स उत्पादनको क्षमता विस्तार गर्न तयारी गरिरहेका छौँ । यसले तीनदेखि चार गुणा नै बढी उत्पादन गर्छ । निर्माणमा खर्च अपुग छ । सरकारको सहयोगको अपेक्षा छ ।’ मोतियाबिन्दु शल्यक्रिया पश्चात उपयोग हुने लेन्स उत्पादनका लागि कच्चा पदार्थ र उपकरण आयातमा प्रचलित कानुन बमोजिम भन्सार तथा मूल्य अभिवृद्धिकर सहुलियतका लागि सिफारिस प्रदान गर्ने सहमति भएको छ । सहमतिअनुसार नेपाल आँखा कार्यक्रमबाट उत्पादन भएको मोतियाबिन्दु शल्यक्रिया पश्चात उपयोग हुने (पोलिमेथाईल मेथाक्रालेट ईन्ट्राअकुलर) लेन्समध्ये १० प्रतिशत लेन्स आँखा स्वास्थ्य सेवाका पहुँच बाहिर दुर–दराजका समुदायमा रहेका नागरिकको उपचारका लागि सरकारी अस्पतालद्वारा सञ्चालित शिविरमार्फत निःशुल्क प्रदान गर्न उपलब्ध गराउनुपर्नेछ ।
मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान
काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ । ‘पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ’, बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुर्याउँदै नेपालमा अन्तरराष्ट्रिय पर्यटकको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ छेन्दुबाट पोखरा हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’का लागि जानेछ । नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायत चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ । ‘यी प्रयासले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नाका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्नेछ’, बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बोर्डले यस ऐतिहासिक पहललाई सफल बनाउन सहयोग गर्ने सिचुआन एयरलाइन्स, सिचुआन प्रान्तीय सरकार, पोखरा पर्यटन परिषद् र सबै सरोकार भएकाहरूप्रति आभार व्यक्त गरेको छ । साथै यस कार्यले सांस्कृतिक आदान–प्रदानलाई अझ सघन बनाउनुका साथै नेपाललाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न थप सहयोग हुने बोर्डले अपेक्षा गरेको छ ।
पाँच वर्षमा पुनर्बीमा कम्पनीको लगानी १५० प्रतिशतले वृद्धि, कुन क्षेत्रमा कति ?
काठमाडौं । पुनर्बीमा व्यवसाय गर्ने पुनर्बीमकहरूको लगानी वार्षिक रूपमा बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहको दुई पुनर्बीमा कम्पनीको पाँच आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गर्ने लगानी १५० प्रतिशतले वृद्धि भएको देखिन्छ । प्राधिकरणको तथ्यांकअनुसार कम्पनीहरूले आव २०७६/७७ मा १५ अर्ब ४२ करोड ४० लाख लगानी गरेकोमा २०८०/८१ मा आइपुग्दा ३८ अर्ब ५६ करोड ४८ लाख लगानी गरेको हो । कम्पनीहरूले आव २०७७/७८ मा २४ अर्ब ४ करोड ३६ लाख लगानी गरेका थिए । जुन आव २०७६/७७ को तुलनामा ५५.८८ प्रतिशतले वृद्धि हो । उक्त आवमा हिमालयन इन्स्यारेन्स कम्पनीले लगानी सुरु गरेको हुँदा लगानीमा ठूलो वृद्धि भएको बीमा प्राधिकरणले जनाएको छ । रु करोडमा । आव २०७८/७९ मा कम्पनीहरुको लगानी ११.७८ प्रतिशतले बढेर २६ अर्ब ८७ करोड ५० लाख भएको छ । आव २०७९/८० मा आइपुग्दा ११.७५ प्रतिशतले वृद्धि भएर ३० अर्ब ३ करोड २७ लाख लगानी भएको छ । कुन क्षेत्रमा कति लगानी ? जीवन बीमा, निर्जीवन बीमा कम्पनीहरूले जस्तै पुनर्बीमा कम्पनीहरूले पनि सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको निक्षेपमा लगानी गरेको देखिन्छ ।प्राधिकरणको तथ्यांकअनुसार आव २०८०/८१ मा दुई पुनर्बीमा कम्पनीले वाणिज्य बैंकको निक्षेपमा कुल लगानीको ७५.५५ प्रतिशत लगानी गरेको छ । उक्त आवमा दुई पुनर्बीमा कम्पनीले वाणिज्य बैंकको निक्षेपमा २९ अर्ब १३ करोड लगानी गरेको छ । कम्पनीहरूले आव आव २०८०/८१ मा २९ अर्ब १३ करोड लगानी गरेका छन् । जसमा नेपाल पुनर्बीमा कम्पनीले १५ अर्ब ५४ करोड, हिमालयन रिइन्स्योरेन्स कम्पनीले १३ अर्ब ५९ करोड लगानी गरेको छ । विकास बैंकमा पुनर्बीमा कम्पनीहरूले बढीमा २ अर्ब एक करोड लगानी गरेका छन् । जुन कुल लगानीको ५.२३ प्रतिशत लगानी हो । आव २०८०/८१ मा नेपाल पुनर्बीमा कम्पनीले १ अर्ब ८६ करोड र हिमालयन रिइन्स्योरेन्सले १५ करोड लगानी गरेको छ । त्यस्तै, ‘ग’ वर्गको बैंकमा पुनर्बीमा कम्पनीको लगानी १० करोड रुपैयाँ छ । यस क्षेत्रमा नेपाल पुर्नबीमा कम्पनीको मात्रै लगानी देखिन्छ । उक्त कम्पनीले १० करोड लगानी गरेको हो । सरकारी बचत तथा ऋणपत्रमा ३० करोड रुपैयाँ लगानी गरेको छ । जसमा नेपाल पुर्नबीमा कम्पनीले लगानी रहेको छ । हिमालयन रिइन्स्योरेन्सले भने यस क्षेत्रमा लगानी गरेको छैन । यसबाहेक सूचीकृत पब्लिक कम्पनीको सेयरमा कम्पनीहरूले १ अर्ब १७ करोड लगानी गरेका छन् । जसमध्ये हिमालयन रिइन्स्योरेन्सले १ अर्ब ८ करोड र नेपाल पुर्नबीमा कम्पनीले ९ करोड रुपैयाँ लगानी गरेको छ । घरजग्गामा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था भए पनि पुर्नबीमा कम्पनीले आव २०८०/८१ मा लगानी गरेको देखिँदैन । त्यस्तै, पूर्वाधार, कृषि, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पनि कम्पनीले लगानी गरेको देखिँदैन । पुनर्बीमा व्यवसाय गर्ने पुनर्बीमकहरूको लगानी (करोडमा)
बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर
भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् । डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताए । मुख्य रूपमा बाँदर र पानीको समस्याले बसाइँसराइ बढ्दा अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिय बस्ती खालीझै बनेको उनले बताए । सविकको वडा नं ८ र ९ पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको हारहारीमा मानिसहरूले गाउँ छाडेर अन्यत्र गइसकेको उनले बताए । अर्चले गाउँका जम्मा ३५ घरमा अहिले दुई घर, भोर्लेनीका ३३ घरमध्ये तीन घर, दमाईछाँपमा ८० घरमध्ये ४० घर र थाक्लेमा २५ घर रहेको बस्तीमा अहिले दुई घरमात्र रहेको उनले बताए । त्यस्तै गुराँसे, राणागाउँमा ६५ घर रहेकामा अहिले ३५ र मोहोरियामा ८० घरपरिवारमा अहिले ३५ घरपरिवार मात्र बाँकी रहेको शिक्षक पराजुलीले बताए । ‘स्थानीयले गाउँ छाड्दा मानेभञ्याङका धेरै बस्ती खण्डहर बनेको अवस्था छ’, शिक्षक पराजुलीले भने, ‘मुख्य रूपमा बाँदर र पिउने पानीको समस्याका कारण मानिस अन्यत्र गइरहेका छन् । बाक्लो मानव बस्ती रहेका धेरैवटा गाउँ खण्डहर बनेका छन् ।’ विगतमा आफूले अध्यापन गराइरहेको भानुभक्त प्राथमिक विद्यालयमा तीन सयका हारहारीमा विद्यार्थी हुने गरेको भए पनि अहिले ५० जना मात्र रहेको उनले बताए । ‘गाउँघरमा सडक बिजुलीलगायत विकासको क्षेत्रमा काम भइरहेको छ’, उनले भने, ‘मानिस बस्ती छाडेर अन्यत्र गइरहेका छन् । तल्लो भेगका मानिसले बस्ती छाडिदिँदा माथिल्लो भेगमा बाँदरले दुःख दिन थालेको अवस्था छ । यसरी नै बाँदरको उप्रदो बढ्ने हो भने पूरै गाउँ खाली हुने अवस्था छ । राज्यले किसानको मुख्य समस्याका रूपमा रहेको बाँदर नियन्त्रणमा ध्यान दिन आवश्यक छ ।’ बाँदरको समस्याले किसानलाई हैरान बनाएको अर्चलेका स्थानीयवासी जगतकुमार तामाङले बताउनुभयो । खाली रहेको बस्तीको एक घरमा अहिले ठेक्कामा बस्दै आएको उनले बताए । अर्चलेमा आफूसहित अहिले दुई घर मात्र रहेको उहाँको भनाइ छ । बाहिर गएकाहरूले घरजग्गा बिक्री नगरी त्यत्तिकै छाडिएकाले संरक्षण अभावमा ती घर पनि भत्किन थालेको उनको भनाइ छ । ‘म पनि यहाँ अर्काको घरमा ठेक्का बसेको छु’, उनले भने, ‘यहाँका सबै घर बिक्री नगरी त्यत्तिकै छाडिदिँदा भत्किएर खण्डहर बनेका छन् । मानिस बस्ती छाडेर हिँड्दा उर्वरभूमि बाँझिएको छ । यहाँका जम्मा ३५ घरमा अहिले दुई घरमात्र छौँ ।’ सबैले छाडेको बस्तीमा बस्दा जीवन निर्वाह गर्न निकै कठिन रहेको उनको भनाइ छ । बस्ती खाली भएको कारण बाँदरले झनै दुःख दिने गरेको उनले बताए । सबैले बस्ती छाडेका कारण विद्युत् विस्तार हुने नसकेको उनको भनाइ छ । स्थायी रूपमा बसोबास गर्ने मानिस नै नहुँदा विद्युत् विस्तारमा पनि समस्या भएको छ । राज्यले बाँदर नियन्त्रणसँगै खाली रहेका बाँझो जमिनलाई प्रयोगमा ल्याउने खालका कार्यक्रम नल्याएको खण्डमा यस्ता धेरै बस्ती खण्डहर बन्ने अवस्था रहेको तामाङले बताए । बाँदरका कारण नै धेरै किसानलाई समस्या रहेको उनी बताउँछन् ।