कमजोर बिक्रीको बाबजुत पनि टेस्लाले साइबरट्रक झन् महँगो बनायो
काठमाडौं । टेस्लाले अमेरिकामा आफ्नो सबैभन्दा महँगो साइबरट्रक पिकअप ट्रक मोडेलको मूल्य १५ हजार डलरले बढाएको छ । टेस्लाले बिक्री अपेक्षाअनुसार नभएको अवस्थामा पनि मूल्य बढाएको हो । पिकअपले टेस्लाले गरेको प्रारम्भिक वाचा पुरा गर्न संघर्ष गरेको छ र हालसम्म बिक्री अपेक्षाभन्दा निकै कम देखिएको छ । अब १ लाख १४ हजार ९९० डलर पर्ने 'साइबरबिस्ट' भेरियन्ट नयाँ 'लक्ज प्याकेज' सहित आउनेछ जसमा सुपरभाइज फूल सेल्फ ड्राइभिङ र सुपरचार्जर नेटवर्कमा निःशुल्क पहुँच समावेश छ । अन्य साइबरट्रक मोडेलहरूको मूल्य भने परिवर्तन भएको छैन । यस मोडेलको मूल्य २०१९ मा सीईओ एलन मस्कले प्रस्तुत गरेको करिब ४० हजार डलरको प्रारम्भिक मूल्यभन्दा निकै माथि पुगेको छ । तर सन् २०२३ को अन्त्यमा सार्वजनिक हुँदा टेस्लाले आधारभूत मोडेलको मूल्य ६० हजार ९९० डलर तोकेको थियो, जुन अघिल्लो लक्ष्यभन्दा ५० प्रतिशत बढी हो । फोर्डको एफ- १५० लाइटनिङ र शेभ्रोलेट सिल्भेराडो ईभी साइबरट्रकका प्रतिस्पर्धी मोडेलहरू हुन् । टेस्लाले स्टकमा रहेका केही साइबरट्रक युनिटमा करिब १० हजार डलरसम्म छुट पनि दिइरहेको छ । मस्कले पहिले टेस्लाले वार्षिक १ लाख २५ हजारभन्दा बढी साइबरट्रक उत्पादन गर्ने क्षमता भएको बताएका थिए र सन् २०२५ मा करिब २ लाख ५० हजारसम्म पुर्याउने सम्भावना रहेको बताएका थिए । तर उनले उत्पादन विस्तार चुनौतीपूर्ण हुने चेतावनी पनि दिएका थिए । तर, यो पिकअपले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन । कम्पनीको कुल डेलिभरीको सानो अंश मात्रै यसले ओगटेको छ र बारम्बार हुने रिकल तथा गुणस्तरसम्बन्धी समस्याका कारण माग कमजोर हुँदै गएको छ । हाल टेस्लाले साइबरट्रक डेलिभरीको आँकडा सार्वजनिक नगरे पनि मार्चमा गरिएको रिकलमा ४६ हजार सवारीसाधन समावेश भएको तथ्यले देखाउँछ कि सन् २०२३ नोभेम्बरमा डेलिभरी सुरु भएसँगै २०२५ फेब्रुअरी २७ सम्म बनेका ट्रकहरूको कूल बिक्री वार्षिक उत्पादन क्षमताभन्दा निकै तल छ ।
७.२८ करोडको फायर वाल र राउटर खरिद गर्दै राष्ट्रिय वाणिज्य बैंक, ७ वटाको आवेदनमा २ कम्पनी छनोट
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सवा ७ करोड रुपैयाँभन्दा बढीको नेटवर्क र सुरक्षासम्बन्धी उपकरण खरिद गर्ने भएको छ । बैंकले ७ करोड २८ लाख ७८ हजार ९४२ रुपैयाँ बराबरको नेटवर्क एण्ड रिलेटेड इक्विपमेन्ट फायर वाल तथा राउटर, स्वीचहरू र कोर फायर वाल खरिद गर्न लागेको हो । नेटवर्क तथा सुरक्षा उपकरणको खरिद, आपूर्ति तथा सञ्चालनका लागि बैंकले विभिन्न दुईवटा कम्पनीलाई छनोट गरेको छ । बैंकका अनुसार फायर वाल तथा राउटर र कोर फायर वाल खरिद, आपूर्ति तथा सञ्चालनका लागि डिजिटल नेटवर्क सोलुसन प्रालिलाई छनोट गरेको छ भने स्वीचहरूका लागि ग्रन्थ नेटवर्क्स प्रालिलाई छनोट गरेको छ । डिजिटल नेटवर्क सोलुसन प्रालिले ५ करोड ४५ लाख ८० हजार २५४ रुपैयाँमा फायर वाल तथा राउटर र कोर फायर वाल सञ्चालन गरिदिनेछ भने ग्रन्थ नेटवर्क्स १ करोड ८२ लाख ९८ हजार ६८८ रुपैयाँमा स्वीचहरू उपलब्ध गराउनेछ । बैंकका अनुसार उक्त सामानहरू खरिदका लागि ७ वटा बोलपत्र परेका परेका थिए । तीमध्ये डिजिटल नेटवर्क र ग्रन्थ नेटवर्क्सको न्यूनतम् मूल्याङ्कन भएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) बमोजिम छनोट गरिएको बैंकले जनाएको छ ।
झन्डै ७० लाखले लिए स्थायी लेखा नम्बर
काठमाडौं । नेपालमा झन्डै ७० लाख उपभोक्ताले स्थायीलेखा नम्बर लिएका छन् । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार एकै वर्षमा ७ लाख ७३ हजार २१७ करदाता थपिएसँगै स्थायी लेखा नम्बर लिने करदाताको संख्या गत असार मसान्तसम्म ६९ लाख ९९ हजार ३५० पुगेको हो । करकट्टी गर्ने निकायले लिएको व्यावसायिक स्थायीलेखा नम्बर (बीप्यान), स्थायी लेखा नम्बर (डब्ल्यूप्यान), व्यक्तिगत स्थायी लेखा नम्बर (पीप्यान) लिनेको संख्या क्रमशः बढेको छ । अर्थ मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाकाअनुसार व्यावसायिक स्थायी लेखा नम्बर (बीप्यान) लिनेको संख्या एकै वर्षमा २ लाख ८ हजार ४३० ले बढेर २० लाख ६० हजार ७५८ पुगेको छ भने डब्ल्यूप्यान लिनेको संख्या २हजार ५४२ ले बढेर ३५ हजार ८७० पुगेको छ । व्यक्तिगत स्थायी लेखा नम्बर (पीप्यान) लिनेको संख्या एकै आर्थिक वर्षमा ६ लाख ५४ हजार १८ जनाले लिएका छन् । जसअनुसार कुल व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४९ लाख २ हजार ७२२ पुगेको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षसम्ममा मूल्य अभिवृद्धि करमा दर्ता हुनेको संख्या ३ लाख ५१ हजार ७३५ र अन्तःशल्कमा दर्ता हुनेको संख्या १ लाख २४ हजार ९९७ पुगेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’ को नीति लिएसँगै व्यक्तिगत स्थायीलेखा नम्बर लिनेको संख्या ह्वात्तै बढेको थियो । तर बीचमा कोभिडका कारण स्थायी लेखा नम्बर लिनेको संख्यामा कमी आएको थियो। अहिले व्यक्तिगत स्थायी लेखा नम्बरबाटै सरकारले कर दाताको पहिचान गर्दै आएको छ । खासगरी आयकर दाखिला, कर रिटर्न फाइल गर्न र अन्य कर सम्बन्धीकार्यहरूका लागि यो अनिवार्य गरिएको छ । बैंक खाता खोल्न, ठूलो रकमको कारोबार गर्न, ऋण लिन वा क्रेडिट कार्ड बनाउन स्थायी लेखा नम्बर आवश्यक पर्छ । सेयरबजारमा लगानी, म्युचुअल फण्ड, सम्पती खरिदबिक्री वा अन्य वित्तीय लगानीका लागि पनि यो अनिवार्य गरिएको छ भने ठूलो रकमको लेनदेन निश्चित रकम भन्दा माथिको कारोबारमा समेत यसलाई अनिवार्य गरिएको छ । आन्तरिक राजस्व विभाग र सो मातहतकाबाट यस्तोनम्बर निःशुल्क दिने गरिएको छ । यो नम्बरले व्यक्तिको आर्थिक कारोबारलाई व्यवस्थित र कानूनी बनाउन मद्दत गरिरहेको कर अधिकारीहरुको भनाइ रहेको छ ।
सुनको मूल्य तोलामा २३ सयले बढ्यो
काठमाडौं । स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा दुई हजार ३०० रुपैयाँ र चाँदीमा ४० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य एक लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार एक तोला सुन एक लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३१० रुपैयाँमा क्रयविक्रय भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आईएमई लाइफमा ८ औं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न
काठमाडौं । आईएमई लाइफले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । कर्पोरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समूहका कर्मचारीबीच भएको मैत्रीपूर्ण प्रतियोगिता उत्साहपूर्ण माहोलमा सम्पन्न भएको कम्पनीले जनाएको छ । 'खेलकुदमार्फत स्वास्थ्य, एकता र ऊर्जा' भन्ने नारासहित आयोजित उक्त प्रतियोगितामा कम्पनीका विभिन्न विभाग र शाखाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कम्पनीका अनुसार, प्रतियोगिताको उद्देश्य कर्मचारीबीच आपसी समन्वय, टीमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै कार्यस्थलमा ऊर्जा र उत्साह थप्नु रहेको हो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा शीर्ष गोलकर्तालाई विशेष पुरस्कारसमेत प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।
खानेपानीमा ढल मिसिँदा वीरगञ्जमा फैलियो झाडापखाला, दुईजनाको मृत्यु
काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा हैजाको प्रकोप फैलिएको छ । हैजाबाट दुईजनाको मृत्यु भएको छ भने १ सय २० जना अस्पताल भर्ना भएका छन् । जसमध्ये ४२ जनामा संक्रमण पुष्टि भएको वीरगञ्ज महानगरले जनाएको छ । महानगरका सूचना अधिकारी सुनिलकुमार कर्णका अनुसार खानेपानीमा ढल मिसिँदा हैजा फैलिएको हो । पालिकाको वडा नम्बर १२, १३ र १६ का विभिन्न ठाउँमा फैलिएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ। पर्साका सहायक प्रमुख सुमनकुमार कार्कीले हैजा फैलिएको जानकारी दिए । उनका अनुसार जिल्लाका सरकारी र निजी अस्पतालका साथै शिक्षण अस्पतालमा भर्ना हुनेको संख्या १ सय २९ पुगेको छ छ भने हैजा संक्रमितको संख्या ४२ पुगेको छ । त्यसमध्ये ११ जना आईसीयू तथा एचडीयूमा रहेको छ । गत २८ साउनदेखि नै झाडा पखलाका बिरामीहरू फाट्टफुट्ट रूपमा देखिए पनि हैजा पुष्टि भएको भने भदौ ५ गते हो । पानी शुद्धिकरण गर्ने, क्लोरिन हाल्ने काम जिल्ला स्वास्थ्य कार्यालय र महानगरले गरिरहेको छ । हैजाको प्रकोप देखिएपछि भने जिल्ला प्रशासनको विपद स्वास्थ्य सङ्कट व्यवस्थापन समितले काम गरिरहेको छ । उसले झाडा पखाला देखिएका बिरामीलाई पायक पर्ने अस्पतालले प्राथमिकता दिएर उपचार गर्नुपर्ने गरी समन्वय गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।
स्पेनको अर्थतन्त्र लगातार वृद्धि : पर्यटन, लगानी र आप्रवासनले बनायो आर्थिक शक्ति
काठमाडौं । उदीयमान अर्थतन्त्र पर्यटन, विदेशी लगानी र आप्रवासनको कारण स्पेन युरोपेली छिमेकीहरूलाई पछि पार्दै गइरहेको छ । दक्षिण युरोपेली देश यस वर्ष २.५ प्रतिशत जीडीपी वृद्धिको अनुमानसहित युरोजोनमा अग्रणी रहिरहेको छ । यसै अवधिमा फ्रान्सको अर्थतन्त्र ०.६ प्रतिशत, जर्मनीको ० प्रतिशत र इटलीको ०.७ प्रतिशत मात्र बढ्ने अनुमान गरिएको छ । स्पेनको जीडीपी दोस्रो त्रैमासिकमा ०.७ प्रतिशतले बढ्यो, जुन रोयटर्सको ०.६ प्रतिशतको अनुमानभन्दा माथि थियो । यो वृद्धिदर अघिल्लो तीन महिनाको ०.६ प्रतिशतभन्दा पनि उच्च भएको स्पेनको राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) ले जनाएको छ । ‘लगातार दोस्रो वर्ष हामी जीडीपी वृद्धिदरका हिसाबले विश्वकै अग्रणी विकसित अर्थतन्त्र हुनेछौं,’ स्पेनका अर्थमन्त्री कार्लोस कूएर्पोले अप्रिलमा सीएनबीसीलाई भनेका थिए । ‘स्पेन अहिले वृद्धिका हिसाबले एकदमै विशेष छ । लगानीका लागि पनि यो उत्तम स्थान हो,’ उनले थपे । स्पेनको अर्थतन्त्रको सफलतामा उच्च खपत र लगानीसँगै पर्यटन, ‘नेक्स्ट जेनेरेसन युरोपियन फन्ड्स’ र आप्रवासन प्रमुख आधार बनेका छन् । कूएर्पोका अनुसार, ‘यो केवल पर्यटन मात्र होइन, गैरपर्यटन सेवा क्षेत्र पनि हो । आईटी, लेखा परीक्षण, वित्तीय सेवाजस्ता क्षेत्रमा सेवाको निर्यात पर्यटनभन्दा बढी छ - पर्यटनमा ९४.९५ अर्ब युरोको तुलनामा सेवामा १०० अर्ब युरो । यो स्पेनिश अर्थतन्त्रको आधुनिकीकरणको एउटा संकेत हो ।’ तर यति प्रगति हुँदाहुँदै पनि स्पेनलाई जीवनयापन खर्चसँग मेल खाने तलब, जलवायु परिवर्तन, विभाजित राजनीतिक वातावरण र ईयूभित्रकै सबैभन्दा उच्च युवा बेरोजगारी जस्ता चुनौतीहरू छन् । बीबीभीए रिसर्चका प्रमुख अर्थशास्त्री मिगेल कार्डोसोका अनुसार अर्को चुनौती भनेको विशेषगरी सामानको निर्यात हो जुन गत १५ वर्षमा उल्लेखनीय रूपमा बढेको छ । त्यसबाहेक उच्च बचत दर, न्यून लगानी दर, सरकारी घाटा र सार्वजनिक ऋण घटाउने चुनौतीहरू पनि छन् । आप्रवासन र पर्यटनको उछाल पर्यटन अझै पनि स्पेनको जीडीपीको करिब १२ प्रतिशत हिस्सा ओगट्छ । महामारीपछिको पुनरुत्थान र अरू पश्चिम युरोपेली मुलुकहरूको तुलनामा सस्तो मूल्यका कारण यो क्षेत्रमा उन्नति भएको हो । तर यसले स्थानीय समुदायहरूलाई असन्तुष्ट बनाएको छ । बार्सिलोना लगायतका सहरमा गत वर्ष जूनमा प्रदर्शनकारीहरूले यात्रुहरूलाई पानीको पिस्तोलले छेप्दै ‘पर्यटक घर फर्क’ भन्दै नारा लगाएका थिए । यस क्षेत्रको श्रमशक्ति पनि बढिरहेको छ– २०२४ सम्म करिब ३० लाख रहेका छन् । जुन २०२३ को भन्दा ९.७ प्रतिशतले बढी हो । रोजगार सिर्जनामा आप्रवासनले पनि ठूलो योगदान दिएको छ । अन्य युरोपेली मुलुकहरूले सीमा बन्द गरिरहँदा स्पेनले आगामी तीन वर्षमा करिब दस लाख आप्रवासीलाई स्वागत गर्ने योजना बनाएको छ, जसमा वर्कभिसा र कागजातविहीन श्रमिकलाई बसोबास अनुमति दिने व्यवस्था छ । ‘२०२१ देखि श्रमशक्तिमा आएको ९० प्रतिशत वृद्धिको कारण आप्रवासन हो,’ कार्डोसोले भने । यसले सेवा क्षेत्र विस्तार गर्न मद्दत गरेको छ, श्रम लागतलाई नियन्त्रणमा राख्दै प्रतिस्पर्धी बनाउन सहयोग गरेको छ र उच्च मुद्रास्फीति बीच सेवाको मूल्यलाई पनि केही हदसम्म स्थिर राख्न सक्षम बनाएको छ । गत वर्ष स्पेनमा आएका आप्रवासीमध्ये धेरैजसो कोलम्बिया, भेनेजुएला र मोरक्कोबाट आएका थिए । ईयूको सहायता र लगानी स्पेनलाई ईयूको ‘नेक्स्ट जेनेरेसन ईयू फन्ड्स’ बाट अनुदान र ऋणमार्फत १६३ अर्ब युरो उपलब्ध भएको छ । यो रकमका हिसाबले स्पेन इटलीपछि दोस्रो ठूलो लाभार्थी बनेको हो । कूएर्पोका अनुसार अनुदानको ७० प्रतिशत अर्थात् ५५ अर्ब युरो पहिले नै वितरण भइसकेको छ । सरकारले यी रकमलाई नवीकरणीय ऊर्जा र गैर–पर्यटन सेवाको निर्यातमा लगानी गर्ने लक्ष्य राखेको छ । सस्तो ऊर्जा र विदेशी लगानी २००० को दशकदेखि हरित ऊर्जामा लगानी गर्दा स्पेनले युरोपेली ऊर्जा संकटको कम असर भोगेको छ । ‘पछिल्लो पाँच–छ वर्षमा नवीकरणीय ऊर्जाको हिस्सा बढ्दा थोक बिजुली मूल्य ४० प्रतिशतले घटेको छ,’ कूएर्पोले भने । सस्तो उत्पादन खर्चले विदेशी लगानीकर्तालाई आकर्षित गरेको छ । चीनमा स्थापना भएको सौर्य प्रविधि कम्पनी आर्कटेकले २०२४ मा मड्रिडमा आफ्नो युरोप मुख्यालय स्थापना गरेको छ । यस्तै, अटो कम्पनी स्टेलान्टिसले २०२४ मा ४.३ अर्ब डलरको ब्याट्री कारखाना जारागोजामा बनाउन घोषणा गर्यो। स्पेन युरोपेली संघभित्र लगानीकर्ताको लागि चौथो आकर्षक गन्तव्य बनेको छ । चीनले मात्र २०२५ सम्ममा ११ अर्ब युरो लगानी गर्ने र ३३ नयाँ परियोजना अघि बढाउने घोषणा गरिसकेको छ । ‘सबैभन्दा ठूलो लगानीकर्ता त अमेरिकै हो,’ कूएर्पोले भने, ‘तर हामीले चीनसहित अन्य देशबाट पनि नवीकरणीय ऊर्जा, दिगो यातायात र आर्थिक सुरक्षासँग सम्बन्धित क्षेत्रमा लगानी आकर्षित गरेका छौं ।’
हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव पानी परीक्षण स्थलमा
वीरगञ्ज । गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परीक्षण तथा शुद्धिकरणको कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको र उक्त टोलीले अहिले तीव्र रूपमा पानी परीक्षणको कार्य अगाडि बढाएको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए । उनले भने, 'आज बिहानदेखि हैजा प्रभावित क्षेत्रहरूमा मसहित हाम्रो प्राविधिक टोलीले विभिन्न वडाहरूमा पानी परीक्षणको कार्य प्रारम्भ गरेका छौँ । प्राविधिक टोलीले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धिकरणको कार्य तीव्र रूपमा अगाडि बढाएको छ ।' वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा हैजा रोगको सङ्क्रमण देखिएको र केहीको मृत्यु समेत भएपछि अहिले मन्त्री यादवसहित खानेपानी मन्त्रालय र विभागको प्राविधिक टोली हैजा प्रभावित क्षेत्रमा खटिएको छ । हैजा रोगको सङ्क्रमण भेटिएको क्षेत्रमा त्यहाँको खानेपानी परीक्षण र शुद्धिकरणका लागि आवश्यक सामग्रीसहितको मोबाइल भ्यान टोली तत्कालै खटाइएको र आवश्यक थप सामग्री आज पठाउन लागिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, 'हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै भ्यानसहितको मोबाइल टोली खटाएका छौँ । पानी परीक्षण र शुद्धिकरणका लागि आवश्यक पर्ने थप सामग्री आज पठाइँदै छ ।' वीरगञ्जमा शुक्रबार तीन जनामा हैजा रोगको सङ्क्रमण पुष्टि भएको थियो । हैजा रोगकै लक्षण देखिएका तर हैजा पुष्टि नभएका दुई जनाको शनिबार मृत्यु भएको जनाइएको छ ।