आजदेखि विधिवत् सोह्र श्राद्ध आरम्भ हुँदै, पितृ ऋणबाट मुक्त
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपरान्हसम्म गरि सक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृ ऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । सोह्रश्राद्ध अपरान्ह कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् नेपाल बताउँछन् । कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्को भनाइ छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्म सिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णय सिन्धु, धर्म सिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख समेत रहेका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले सुनाउनुभयो । विधि पूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रही आएको छ ।
साल्ट ट्रेडिङको ६३औं वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रम (तस्बिरसहित)
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ६३औं वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । मिर्गौला रोग समाजको सहयोगका लागि कम्पनीले विगतका वर्ष झैं यस वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आज कम्पनीको केन्द्रीय कार्यालय, काठमाडौंको कालीमाटीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको विभागीय प्रबन्धक ब्रजेशकुमार झाले जानकारी दिए । उनका अनुसार आज ७३ जनाले रक्तदान गरेका थिए । उनका अनुसार नेपालको रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा मृगौला रोग समाजको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कम्पनीले वार्षिकोत्सव तथा विभिन्न अवसरमा सामाजिक कार्य गर्दै आइरहेको छ । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज
४५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । ४५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ (साविक माङ्खा–८) घर भई हाल काठमाडौं महानगरपालिका–१३, ताहाचल बस्दै आएका ७० वर्षीय तिमल्सिनालाई प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा आइतबार पक्राउ गरेको हो । सिन्धुपाल्चोककै साविक माङ्खा गाउँ विकास समिति( ७ मा २०३७ साल कात्तिक ७ गते जितबहादुर तामाङलाई आँखामा खुर्सानीको धुलो छर्की कुटपिट तथा खुकुरी प्रहार गरी हत्या गर्ने घटनामा संलग्न जीवनाथ तिमल्सिना पक्राउ परेका हुन् । उक्त घटनामा अदालतले तिमिल्सिनालाई २० वर्ष कैद सजाय तोकेको थियो । लामो समयदेखि फैसला कार्यान्वयनबाट पन्छिँदै आएका तिमल्सिनालाई प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरेको छ ।
फ्लाइट र बस टिकटमा कनेक्टआईपीएसमार्फत भुक्तानी गर्दा क्यासब्याक र छुट
काठमाडौं । चाडपर्वको अवसरलाई लक्षित गर्दै कनेक्टआईपीएसले फ्लाइट र बस टिकट भुक्तानीमा ‘शुभ लाभ अफर’ सार्वजनिक गरेको छ । यसअन्तर्गत भाद्र २२ गतेदेखि असोज १८ गतेसम्म कनेक्टआईपीएसमार्फत टिकट खरिद गर्ने ग्राहकहरुले आकर्षक क्यासब्याक तथा छुट प्राप्त गर्न सक्नेछन् । यो अफर बुद्ध एयर, श्री एयरलाइन्स, यति एयरलाइन्स तथा बस सेवा ट्राभल एण्ड टुरमार्फत उपलब्ध टिकट भुक्तानीमा लागू हुनेछ । अफर अनुसार बुद्ध एयरको टिकट किनेपछि कनेक्टआईपीएसमार्फत भुक्तानी गर्दा ग्राहकले १०१ रुपैयाँ क्यासब्याक पाउनेछन् । साथै ५ भाग्यशाली जोडीलाई माउन्टेन फ्लाईट जित्ने अवसर प्राप्त हुनेछ । श्री एयरलाइन्स को टिकट भुक्तानीमा ग्राहकलाई ५०१ रुपैयाँ क्यासब्याक प्रदान गरिनेछ । यति एयरलाइन्स को टिकटमा विशेष प्रोमो कोड "YTCIPS300" प्रयोग गर्दा ३०० रुपैयाँ छुट पाउने सुविधा रहेको छ । साथै १० भाग्यशाली जोडीलाई माउन्टेन फ्लाईट जित्ने अवसर दिइनेछ । बस सेवा ट्राभल एण्ड टुर मार्फत टिकट खरिद गरी कनेक्टआईपीएसबाट भुक्तानी गर्ने पहिलो १ हजार ग्राहकलाई ५१ रुपैयाँ क्यासब्याक दिइनेछ । यी अफरहरूमा प्रति बैंक खाताबाट एक पटक मात्र क्यासब्याक प्राप्त गर्न सकिनेछ। हाल कनेक्टआईपीएसमार्फत ५२ वटा बैंक तथा वित्तीय संस्थाका ग्राहकले सजिलै फण्ड ट्रान्स्फरसहित विभिन्न भुक्तानी गर्न सक्ने सुविधा पाउँछन् ।
काउले भाइनयार्ड रिसोर्टले आईपीओ जारी गर्ने, परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल
काठमाडौं । काउले भाइनयार्ड रिसोर्टले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवा प्रदायकको रूपमा नियुक्त गरेको छ । एक कार्यक्रमका बीच काउले भाइनयार्ड रिसोर्टका तर्फबाट निर्देशक इन्द्रवीर महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे । मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि सर्वसाधारणलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । संस्थागत परामर्श सेवा सहित पूँजी संरचना परिवर्तन तथा व्यवस्थापन लगायतका कार्य गर्न आवश्यक परामर्श दिने तथा कम्पनीको प्रबन्ध पत्रमा उल्लिखित उद्देश्य बमोजिम कार्य गर्न आवश्यक सहजीकरणको लागि उक्त सम्झौता गरिएको हो । सम्झौतापत्रमा सार्वजनिक निष्काशनको तयारी तथा व्यवस्थापनको लागि महत्वपूर्ण पक्षहरू समावेश गरेको रिसोर्टका अध्यक्षले जानकारी गराए । धादिङको शान्त र सुन्दर पहाडी क्षेत्रमा अवस्थित करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको काउले भाइनयार्ड रिसोर्ट नेपालको पहिलो अंगुरखेतीमा आधारित पर्यटनस्थल हो । वाइनप्रेमी, प्रकृति पारखी, विश्राम चाहने र नयाँ स्वाद तथा अनुभवको खोजीमा रहेका आगन्तुकहरूका लागि यो रिसोर्ट एक उत्कृष्ट गन्तव्य बन्नसक्ने कम्पनीले जनाएको छ । काउले भाइनयार्ड रिसोर्टले आधुनिक प्रविधि र परम्परागत शैलीलाई मिश्रण गरी अंगुरखेती र वाइन उत्पादनका साथै पर्यटकलाई अंगुर बगैँचाको अवलोकन, वाइन टेस्टिङ, स्थानीय परिकार, होम–स्टे अनुभव र प्रकृति नजिकको विश्रामको अवसर पनि प्रदान गर्दछ ।
जय नेपालमा यामाहा ब्लु फेस्ट सुरु
काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुईपाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आइतबारबाट हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा सुरु भएको छ । भदौ २२ देखि भदौ २७ सम्म सञ्चालन हुने यामाहा ब्लु फेस्टमा बाइक र स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन् । फेस्टमा कुनै पनि ब्राण्डका बाइक एक्सचेन्ज गर्न पाइनेछ । कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजारको मूल्याङ्कन हुनुका साथै अन्य ब्राण्डमा भने न्यूनतम २५ हजारको मूल्याङ्कन (कर म्याद पुरा गर्नुपर्ने) गरिनेछ । यसैगरी, एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स हुने जनाइएको छ । त्यस्तै हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट पाइनेछ । साथै द्यभाग्यशाली विजेताहरूका लागि ‘राइड द ब्लु विथ रोडिज’ अनुभव पनि प्राप्त हुनेछ । एक्सचेन्जमा यामाहाले आरवनफाइभ भी फोन, एमटी फिफ्टिन भी टु, एफजेड भी थ्री डिलक्स, रेजेडआर १२५ एफआई हाइब्रिड, एईरोक्स १५५ लगायतका मोडेलहरू राखेको छ । नेपालमा यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज हो ।
कामना सेवा विकास बैंकको १५.७९ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको गत वर्ष वितरणयोग्य नाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको थियो । सो आधारमा बैंकले १७.३० प्रतिशत लाभांश वितरण गर्ने क्षमता राखेको थियो । तर, बैंकले केही रकम जगेडामा राखेर सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने जनाएको छ ।
ब्रिटिस गोर्खाका वंशजलाई नागरिकता दिन संविधान संशोधन आवश्यक रहेको सांसदहरूको धारणा
काठमाडौं । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समितिले आयोजना गरेको छलफल तथा समीक्षा कार्यक्रममा विदेशमा जन्मिएका ब्रिटिश गोर्खाका वंशजलाई जन्मसिद्ध नागरिकता दिनुपर्ने विषय प्रमुख एजेन्डाका रूपमा उठाइएको छ। शनिबार आयोजना भएको कार्यक्रममा संविधान, ऐतिहासिक सन्धि र गोर्खाको योगदानलाई आधार मानेर गोरखाका सन्तानलाई नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो । संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले नेपालको संविधानले दोहोरो नागरिकता नदिने व्यवस्था गरेको भए पनि समाधान कानुनबाट खोजिनुपर्ने बताए। उनका अनुसार वंशको आधारमा विदेशमा जन्मिएका ब्रिटिश गोर्खा सन्तानलाई स्वतः नेपाली नागरिकता दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्छ। यसले पूँजी पलायन रोक्नेछ र विदेशी मुद्रा राष्ट्र बैंकमार्फत भुक्तानी हुने सम्भावना बढ्नेछ। उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित भइसकेको भन्दै यसले केही सहजता ल्याउने अपेक्षा व्यक्त गरे। राष्ट्रिय सभा सांसद सुरेशकुमार आले मगरले यो कुनै विशेष समूहको मात्र नभई सम्पूर्ण नेपाली जनताको मुद्दा भएको बताउँदै सरकारले यसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए। त्यस्तै अर्का सांसद प्रकाश ज्वालाले पनि नागरिकताको समस्यालाई हटाउन पहल गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति इश्वरी न्यौपानेले संविधान संशोधनको आवश्यकता औंल्याउँदै नेपालमै लगानी गर्न चाहने नेपालीहरूलाई नागरिताका कारण कानुनी अवरोध हुने अवस्था रहेकाले यसलाई व्यवस्थित गर्न संविधान संशोधन आवश्यक देखिने बताइन् । वक्ताहरूले ऐतिहासिक सन्दर्भ पनि स्मरण गरेका थिए । सन् १८१४ को नेपाल–ईस्ट इण्डिया युद्धपछि १८१५ मा ब्रिटिस गोर्खा बटालियनको स्थापना, १८१६ को सुगौली सन्धि र त्यसयता गोर्खाहरूले विश्वयुद्धलगायत सयौँ युद्धमा देखाएको बलिदानलाई उल्लेख गर्दै उनीहरूले गोर्खा वंशजको अधिकार सुरक्षित गर्न ढिलाइ गर्नु अनुचित भएको बताएका थिए ।