विकासन्युज

१ करोड लगानीमा साबुन उद्योग सञ्चालन, ५० लाख रुपैयाँ आम्दानी

काठमाडौं । १ करोड रुपैयाँ लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठे खोला गाउँपालिका-७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका साबुन उत्पादन गर्दै आएका हुन् । उनीहरू दुवै स्नातकोत्तर उत्तीर्ण हुन् । उनीहरुलाई समकालीन साथीहरू विदेशिँदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन् । परिवारकै सदस्यले पनि विदेश जानुको विकल्प देखिँदैन भन्थे । तर, तीर्थ र ताराले विदेशको विकल्प रोज्ने होइन, नेपालमै उद्यमी बन्ने सपना देखे । यतिबेला उनीहरू दुई वर्षको छोरासँगै आफ्नो उद्योगलाई हुर्काइरहेका छन् । स्वदेशमै स्वरोजगार सृजना गरेका तीर्थ र ताराको उद्योगमा अहिले ६ जनाले रोजगारी पाएका छन् । बागलुङ बजारको हल्लन चोक नजिकै रहेको टिएण्डटी म्यानुफ्याक्चरिङ उद्योगबाट तीर्थ र ताराले भाँडा र कपडा धुने साबुन उत्पादन गरेर बागलुङको गलकोट, बुर्तिबाङ, कुश्मिसेरा, बरेङ र म्याग्दी र पर्वत जिल्लाका मुख्य सहरमा बिक्री गर्दै आएका छन् । विसं २०७८ मा पर्यटन तथा उद्योग कार्यालय र बागलुङ नगरपालिकामा उद्योग दर्ता गरेका तीर्थ र ताराले २०८० सालबाट साबुन उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । ५० लाख रुपैयाँ लगानी गरेर सुरु गरेको उद्योगमा १ करोड रुपैयाँभन्दा बढी लगानी पुगेको छ । निकट भविष्यमा सरफ, हार्पिक र कुलिनसमेत उत्पादन गर्ने लक्ष्य रहेको ताराले बताए । ‘अहिले विदेश जाने लहर चलेको छ, तर हामीहरूले यही नै केही गर्नुपर्छ भन्ने सोच बनायौँ र साबुन उद्योग सुरु गरेका हौं, नयाँ कामको सुरुआत आफैँबाट थालनी गर्नुपर्छ भन्ने मान्यता राख्छौँ, यहाँ साबुन उद्योग सञ्चालन हुँदा गाउँ ठाउँकै स्थानीयले नै रोजगार पाउँछन्,’ उनले भनिन् ।  साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौंबाट खरिद गर्ने तीर्थले बताए ।  आफूहरूले वार्षिक ५० लाख रुपैयाँ बराबरको कारोबार गर्ने उनको भनाइ छ । २ सय ग्रामको कपडा धुने कालिका साबुनलाई ५० रुपैयाँमा बिक्री गर्दै आएको उनी बताउँछन् । उत्पादनमा मात्र नभएर उत्पादित साबुनको गुणस्तरमा समेत ध्यान दिने गरेको उनको भनाइ छ । 

कोशी र कर्णालीमा भारी वर्षा, निम्न चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्न चापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भू-भागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रहि बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भागका केही स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी पहाड र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

गँड्यौलाबाट मनग्गे आम्दानी, प्रतिकिलो २५ रुपैयाँका दरले बिक्री

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ का उत्तम सुनारले गँड्यौलाको मल उत्पादन गरेर मनग्गे आम्दानी गर्न थालेका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको माध्यमबाट सिकेर गँड्यौला मल उत्पादन गर्न लागेका हुन् ।  ‘अध्ययन गर्दागर्दै केही गरेर आम्दानी गर्ने सोच आयो, त्यसपछि इन्टरनेटमा के गर्दा ठिक होला भनेर खोज्न थाले,’ उनले भने, ‘गँड्यौला मल उत्पादनबाट कम लगानीमा बढी आम्दानी गर्न सकिने थाहा पाएपछि यसतर्फ लागे ।’ सुनारले २ वर्षअघि ४ लाख रुपैयाँ लगानीमा चार ब्याडबाट मल उत्पादन सुरु गरेको बताए । उनले चार ब्याडबाट राम्रो आम्दानी भएपछि मल उत्पादन थप गरेर २५ ब्याडमा विस्तार गरेका छन् ।  ‘माग धेरै आउन थालेपछि मल उत्पादन बढाएको छु, तर पनि बजारको माग धान्न सकिएको छैन,’ उनले भने, ‘किसानले रासायनिक मलको विकल्पमा गँड्यौला मल प्रयोग गर्न थालेपछि यसको माग धेरै आउने गरेको छ ।’ उनले उत्पादन गरेको मल कैलालीसम्म बिक्री हुने गरेको बताए । पछिल्लो समय तरकारी खेती, बगर खेती, बेमौसमी खेती गर्ने किसानले मलको माग गर्ने गरेको उनको भनाइ छ ।  ‘सुरुआतमा करिब ४ लाख रुपैयाँ लगानी गरेको थिएँ, त्योभन्दा बढी आम्दानी गरिसकेको छु,’ उनले भने, ‘एक महिनामा मात्र १ लाख ५० हजार रुपैयाँको मल बिक्री गरेको छु, यसरी बिक्री भयो भने वर्षमा ७ लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।’ सुनारले तीन महिनामा ४८ क्विन्टल बढी मल बिक्री गरेको बताए । गँड्यौला मल प्रतिकिलो २५ रुपैयाँका दरले बिक्री हुने गरेको छ ।  ‘बजारको मागअनुसार उत्पादन गर्न सकिएको छैन, मलका लागि जिल्लाबाट समेत माग आउने गरेको छ । मल उत्पादन थप गर्ने योजना बनाएको छु,’ उनले भने ।   गँड्यौला मलको प्रयोगले उत्पादन राम्रो हुने भएपछि पछिल्लो समय किसानले खेतीमा गँड्यौला मल प्रयोग गर्ने गरेका छन् । उक्त मलले माटोको उर्वराशक्ति बढाउनुका साथै कम लागतमा उत्पादनमा वृद्धि र मानवीय स्वास्थ्य तथा वातावरणीय सुधारका निम्ति पनि यो उत्तम छ ।  पछिल्लो समय किसानले रासायनिक मलको विकल्पका रुपमा यो मल प्रयोग गर्ने गरेका छन् । गँड्यौला मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकाले अरू मलभन्दा यो बढी गुणस्तरीय मानिन्छ । यस मलमा सामान्य माटोमा पाइने नाइट्रोजनभन्दा पाँच गुणा, फस्फोरसभन्दा सात गुणा र पोटासभन्दा ११ गुणा बढी मात्रामा पाइने कारण खेती बालीका लागि बहु उपयोगी मानिएको छ । 

भाडा पुर्ताल सम्झौतासम्म नियमित, सकिएपछि विमान बिग्रिएको त कहिले मौसम खराब

काठमाडौं । इलाम जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका-९ स्थित यो विमानस्थलमा उडान नियमित रुपमा गर्न जिल्ला वासीले माग गरेका छन् । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका जनताले नियमित रुपमा जहाज उडानको आश गरेका थिए । त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । नियमित उडान नहुँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विराटनगर धाउन बाध्य छन् । यस विमानस्थलबाट गत जेठ यता कुनै पनि उडान हुन सकेको छैन । सुरुआतमा तारा एयरको जहाजले बुधबार र शनिबार गरी सातामा दुईपटक उडान भरेको थियो । नगरपालिकाले इलामबाट काठमाडौं फर्कँदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । सो सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलाइन्ससँग सम्झौता गरी २०७९ साल माघ १ गतेदेखि सोही तालिकामा इलाम-काठमाडौं उडान गरेको थियो । तर त्यसपछिका वर्षमा नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काले बताए । ‘पहिला केही वर्ष नगरपालिकाले केही रकम व्यहोर्ने गरी तारा एयर र नेपाल एयरलाइन्ससँग सम्झौता गरी उडान हुँदै आएको रहेछ,’ प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, ‘अहिले त्यस्तो कुनै सम्झौता छैन, हामीले कुनै दायित्व ब्यहोर्नुपर्ने छैन ।’ नगरपालिकासँगको सम्झौता सकिएपछि पनि नेपाल एयरलाइन्सले सातामा शनिबार एक दिन उडान भर्दै आएको थियो । तर एयरलाइन्सले मौसमका कारण २०८२ जेठ १४ गतेदेखि उडान भर्न नसकेको विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए। तीन महिना यता सो विमानस्थल सुनसान बनेको छ । इलाम नगरपालिका-९ का वडाध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालन गर्नुपर्नेमा आफूहरू लागिपरेको बताए ।  ‘नगर कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाएर विमानस्थल सञ्चालनका लागि पहल भइरहेको छ । तर कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै विमानस्थल नियमित सञ्चालनको दीर्घकालीन समाधान हुन सकिरहेको छैन,’ उनले भने ।  ३२८ रोपनी क्षेत्रमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो । विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्र भएको छ । तर स्थायी टर्मिनल भवन, पक्की पहुँच मार्ग, सुरक्षित तार बारलगायत संरचना अझै अधुरै छन् । स्थानीयबाट करिब ४ करोड रुपैयाँसहित अहिलेसम्म विमानस्थलका लागि २८ करोड रुपैयाँ बढी खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  विमानस्थल निर्माण हुने भएपछि स्थानीयले प्रतिव्यक्ति एकदेखि ४२ रोपनीसम्म जग्गा दिएका थिए । विसं २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको विमानस्थलको २०७८ साल फागुन १ गते खनालले नै उद्घाटन गरेका थिए । 

तेल्या इँटा बिछ्याए पछि पाटन दरबार क्षेत्र थप आकर्षक, लागत डेढ करोड रुपैयाँ

काठमाडौं । विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्य पूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याए पछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको छ । महानगरपालिकाले करिब १ करोड ५२ लाख रुपैयाँ लागतमा पुरानो चाइनिज इँटा हटाएर स्थानीयस्तरमै उत्पादित रैथाने ‘तेल्या’ इँटा बिछ्याउने कार्य सम्पन्न गरेको हो । यो इँटा मल्लकालदेखि प्रयोग हुँदै आएको परम्परागत प्रकारको इँटा हो, जुन बलियो, टिकाउ र सौन्दर्य पूर्ण मानिन्छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनका अनुसार तेल्या इँटा रैथाने इँटा हो, यो निकै चम्किलो र बलियो हुन्छ । पुरानो इँटा काम नलाग्ने भएकाले सम्पदा संरक्षणका लागि नयाँ तेल्या इँटा बिछ्याएका उनले बताए । नगर प्रमुख महर्जनका अनुसार तत्कालीन राजा वीरेन्द्र शाहको राज्याभिषेकको समयमा चाइनिज इँटा बिछ्याइएको थियो, जुन समयसँगै जीर्ण भइसकेको थियो । त्यही इँटा हटाएर अहिले तेल्या इँटा राखिएको छ, जसले पानी जम्न नदिने र सफा देखिन्छ । इँटा राखिएपछि सम्पदा क्षेत्रको सतह पनि करिब चार इञ्च अग्लो भएको छ । स्थानीय उपेन्द्रकुमार श्रेष्ठले महानगरपालिकाले अत्यन्त सकारात्मक काम गरेको प्रतिक्रिया दिए ।  ‘पुरानो इँटाका कारण पाटन दरबार क्षेत्र फोहर देखिन्थ्यो । अहिले त निकै चम्किलो र सफा देखिन्छ । सफा गर्न पनि सजिलो छ, पानी जम्ने समस्या पनि छैन । निकै राम्रो काम भएको छ,’ उनले भने । महानगरले यस किसिमका कार्यमार्फत ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटकीय आकर्षण बढाउने प्रयास गरेको देखिन्छ । दरबार क्षेत्रको मर्मत र पुनर्निर्माणलाई निरन्तरता दिइरहेको महानगरले भविष्यमा पनि यस क्षेत्रको मौलिकता जोगाउने प्रतिबद्धता जनाएको छ । 

६ हजार ३८ मिटर उचाइको चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि खुला

काठमाडौं । सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहणका लागि खुला गरेको छ । दामोदर हिमशृङखला अन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि खुला गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । सो हिमालको कुल उचाइ ६ हजार ३८ मिटर रहेको छ । सो हिमाल आरोहणका लागि जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङला, लेडर हुँदै आधार शिविरतर्फ जान सकिनेछ । यस्तै, चामे, सिपाङ, हुम्डे, मनाङ लेडर हुँदै आधार शिवरसम्म पुग्न सकिनेछ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ । डिस्याङ गाउँपालिका-५ र नार्पाभूमि गाउँपालिका–३ मा रहेको हिमालचुली पर्वतारोहणका लागि खुला गरिएको छ । चुलु सुदूरपूर्वको नामले परिचित सो हिमालको आरोहणमा प्रायः गरेर ‘अन्नपूर्ण सर्किट ट्रेकसँग जोडिन्छ । चुलु पूर्व हिमाल मनाङ उपत्यकाभन्दा माथि रहेको छ । जहाँ अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो र अन्नपूर्ण चौथो, गङ्गापूर्ण, हिमनदी, धवलागिरि, तिलिचो र मनास्लुको मनमोहक दृश्यहरूसमेत हेर्न सकिन्छ । नेपाल पर्वतारोहण सङ्घले सो हिमाल आरोहणका लागि व्यवस्थापन गर्दै आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही भदौ १२ गते रापजत्रमा सूचना प्रकाशित गरी चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि अनुमति दिइएको जनाएको छ । आरोहीहरूका अनुसार चुलु सुदूरपूर्व चुचुरोलाई नेपालका अन्य चुचुराका तुलनामा सजिलो मानिन्छ ।

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ ।  शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताए । तेस्रोपटक  प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उनले बताए । यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए । 'सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्दछ, तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीलगायत विविध समस्याले मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ', उनले भने,'प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । मैले बेलायतमा यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएकाले नेपालमा  सम्भव भएको हो । अब हामी जटिल प्रत्यारोपणका लागि सक्षम छौँ ।' चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनऊमा गरिएको थियो भने विसं २०७२ मा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरी गरिएको उनले जानकारी दिए । नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण वीर अस्पतलमा डा श्रेष्ठकै नेतृत्वमा सन् २०१० मै सुरु भएको र तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ । प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा एक हजार ५०२ जनाको सफल मिर्गौला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ । रासस

रविन्द्र ढाँट बने रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजका ब्रान्ड एम्बास्डर

काठमाडौं । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । १७ वर्षअगाडि स्थापना भएको रोहिणी इन्टरनेसनलले आफ्नो सफलतायात्रामा ढाँटलाई एम्बास्डरको रूपमा प्रस्तुत गर्दै नयाँ अध्याय सुरू गरेको हो । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष शेषराज भट्टराईले रोहिणीलाई इतिहास बोकेको संस्था भन्दै ढाँटलाई एम्बास्डर बनाउनु गर्वको विषय भएको बताए । उनले ढाँटको प्रशंसा गर्दै भने, 'देशले यस्तो व्यक्तित्व पाउनु सौभाग्य हो, उनले नेपालको खेल क्षेत्रमा ठूलो योगदान दिएका छन् ।' त्यस्तै, रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजका म्यानेजिङ डाइरेक्टर श्याम भण्डारीले ढाँटको समावेशीले संस्थाको गरिमा बढ्ने विश्वास व्यक्त गरे । उनले भने, 'ढाँटले मेहनत र समर्पणबाट सफलता हासिल गरेका छन् । यसले युवालाई प्रेरणा दिनेछ ।' ब्रान्ड एम्बास्डर नियुक्त भएपछि रविन्द्र ढाँटले रोहिणी परिवारलाई धन्यवाद दिदैँ यो जिम्मेवारीलाई प्रचारभन्दा बढी सहयोगको रूपमा लिने बताएका छन् । 'जीवनमा अझ धेरै गर्न बाँकी छ, आगामी बाटो सहज हुने विश्वास छ,' उनले भने । इक्यानका पूर्वअध्यक्ष राजेन्द्र बरालले ढाँटको योगदानलाई ऐतिहासिक ठहर गर्दै भने, 'बैतडीबाट काठमाडौं  आएर उनले नयाँ इतिहास रचेका छन् । भारतमा घाइते भएर पनि देश चिनाएका ढाँटलाई रोहिणीले एम्बास्डर बनाउनु गौरवको विषय हो ।' रोहिणी इन्टरनेसनलका मार्केटिङ डाइरेक्टर दया थापाले एम्बास्डर नियुक्तीलाई कसैलाई सहयोग गर्ने उद्देश्यसँग जोडिएको बताए । उनले भने, 'रोहिनीले समय–समयमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । ढाँटलाई पनि निरन्तर साथ दिनेछ ।' रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेज काठमाडौंस्थित एक अग्रणी विदेश अध्ययन सल्लाहकार संस्था हो । विशेषगरी न्यूजिल्यान्डमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विशेषज्ञ मार्गदर्शन प्रदान गर्दै आएको छ । संस्थाले अंग्रेजी तयारी कक्षा, आईईएलटिएस तयारी कक्षा तथा अन्य शैक्षिक परामर्श सेवा पनि प्रदान गर्दै आएको छ ।