विकासन्युज

कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीले गर्‍यो अनुरोध

काठमाडौं । प्रहरीले देशभरिका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सम्पर्कमा आउन अनुरोध गरेको हो । जेनजीको प्रदर्शनको क्रममा प्रहरीका विभिन्न कार्यालय र इकाई तथा कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको हो ।

हेटौंडामा जनजीवन सामान्य बन्दै

काठमाडौं । हेटौंडामा पछिल्ला दिनमा देखिएको अस्थिर अवस्था क्रमशः सुधार हुँदै गएको छ । आन्दोलनपछिको तनावपछि नेपाली सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन थालेको हो । नेपाली सेनाले कर्फ्युमा केही खुकुलोपन ल्याएको छ ।  बिहान ६ बजेदेखि १० बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई बाहिर निस्कने अनुमति दिइएको छ । सो अवधिमा बजारमा केही चहलपहल देखिएको छ भने मानिसहरू आवश्यक सामग्री खरिद र अन्य कामका लागि बाहिर निस्किएको देखिन्छ । त्यसपछि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पुनः निषेधाज्ञा जारी गरिएको छ । जसअन्तर्गत सुरक्षाको लागि कडा निगरानी अपनाइएको छ । बेलुका ५ देखि ७ बजेसम्म भने निषेधाज्ञा केही खुकुलो पारिने जानकारी दिइएको छ ।  नेपाली सेनाले सुरक्षाकर्मी, सञ्चारकर्मी, पानी आपूर्ति तथा सरकारी कर्मचारीलाई परिचयपत्रका आधारमा आवतजावतको अनुमति दिएको छ । समग्रमा सेनाको नेतृत्वमा शान्ति सुरक्षा मजबुत बन्दै गएकाले हेटौंडाको जनजीवन पुनः सामान्यतातर्फ उन्मुख भएको देखिन्छ । 

अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ ।  निजामती कर्मचारी अस्पतालमा छ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई र भेरी अस्पतलालमा पाँच गरी ३४ जनाको निधन भएको जनाइएको छ ।  त्यसैगरी अहिले ३२१ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ ।  सचिव डा. विकास देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौं मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । उनका अनुसार ९४९ जना उपचारपश्चात् घर फर्किसकेका छन् । रासस  

प्रसाईं समर्थक भन्छन्– बालेनले पिधँ देखाए, फिल्डमा उत्रिने आँटिलो नेता प्रसाईं हुन्, नेतृत्व दिनुपर्छ

काठमाडौं । दुर्गा प्रसाईंलाई नागरिक सरकारको नेतृत्व दिनुपर्ने माग गर्दै रत्नपार्कमा राजावादीहरूले नारा लगाएका छन् । प्रसाईंका समर्थकहरूले आगामी नागरिक सरकारको नेतृत्वका लागि उनको नाम अगाडि सारेका छन् । उनीहरूले अन्य सम्भावित नेताहरूलाई पछाडि राख्न जोड गरिरहेका छन् । समर्थकहरूले प्रसाईंलाई वास्तविक राष्ट्रवादी नेताको रूपमा प्रस्तुत गर्दै उनको विगतका कार्यहरूलाई मुख्य आधार बनाएका छन् ।  उनीहरूका अनुसार प्रसाईंले विदेशमा बेचिएका चेलीहरूलाई फिर्ता ल्याउन, मृत्युदण्डको सजाय पाएका नेपालीहरूलाई जोगाउन, घरजग्गा लिलाम भएकाहरूको सम्पत्ति फिर्ता गराउन र बैंकको १८ प्रतिशत  ब्याजदरलाई ८ प्रतिशतमा झार्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । समर्थकहरूले कुलमान घिसिङ र बालेन शाहजस्ता अन्य सम्भावित नेताहरूलाई नेतृत्वका लागि अनुपयुक्त ठहर गरिरहँदा प्रसाईंका समर्थकले कुलमान घिसिङलाई जलस्रोत मन्त्रालयका लागि उपयुक्त भए पनि प्रधानमन्त्री पदका लागि क्षमता नभएको बताउँछन् । त्यस्तै, बालेन शाहले पनि ‘पिँध देखाइसकेको’ भन्दै उनहरूले जनताको अपेक्षाअनुसार चल्ने र फिल्डमा उत्रिने आँटिलो नेता प्रसाईं भएको स्पष्ट पारे । ‘हामीलाई कोठाभित्र बस्ने होइन, जनतालाई बाटोमा ल्याउने र फिल्डमा उत्रिने आटिला नेता चाहिन्छ,’ एक समर्थकले भने ।  ‘दुर्गा प्रसाईं जस्तो नेता चाहिन्छ, जसले झापाको बिर्तामोडमा आन्दोलनकारीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ,’ उनले थपे । उनीहरुका अनुसार यस आन्दोलनको मूल उद्देश्य भ्रष्टाचारलाई जरैदेखि उखेल्नु र देशलाई ‘अन्योलको बन्दी’  हुनबाट जोगाउनु हो । अबको नेतृत्व जेनजीले नै गर्नुपर्ने उनीहरू बताउँछन् ।  

हातहतियारसहित अन्य सामग्री फिर्ता गर्न प्रहरीको आग्रह

काठमाडौं । जेनजी गरेको प्रदर्शनका क्रममा प्रहरीसहित अन्य सुरक्षा निकायका हातहतियारलगायत सामग्री फिर्ता गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।  प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै यही भदौ २३ देखि २५ गते भएको प्रदर्शनमा सुरक्षा निकायका हतियार, सञ्चार साधन, सवारीसाधन र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पारेमा फिर्ता गर्न आग्रह गरेको हो ।  उक्त हातहतियारलगायत अन्य सामग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नं १०० वा टोल फ्री नं १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन अनुरोध गरिएको छ । यस्तै, प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरीको पोसाकहरू दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई अनुरोध गरिएको छ ।  

विषम परिस्थितिको संवैधानिक समाधान खोज्न निरन्तर प्रयासरत रहेको छु : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा उत्पन्न विषम परिस्थितिको संवैधानिक समाधान खोज्न निरन्तर प्रयासरत रहेको जानकारी दिएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने विषयमा विभिन्न पक्षसँग विचार–विमर्श भइरहेको र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम राख्न हरसम्भव प्रयास भइरहेको बताए । राष्ट्रपतिले आन्दोलनकारी नागरिकहरूको जायज माग सम्बोधन गर्न छिटोभन्दा छिटो समाधान खोज्ने प्रक्रिया अघि बढेको भन्दै सबैलाई संयमित रहन र शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न आह्वान गरे ।  

जङ्गीअड्डा अगाडि जेनजीबीच हात हालाहाल, हर्क साङपाङलाई प्रधानमन्त्री बनाउने नारा गुञ्जियो

काठमाडौं । अन्तरिम सरकार गठनको तयारीमा जंगी अड्डा पुगेका युवाहरूबीच नै नेतृत्वको विषयमा विवाद चर्किएको छ । प्रधानसेनापति अशोक सिग्देलसँग वार्ता गर्न पुगेका युवाहरू नेपाली सेनाको मुख्यालय अगाडि आपसी भनाभनमा उत्रिएका हुन् । राजधानीको जङ्गीअड्डा अगाडि जेनजी आन्दोलनका केही समूहले धरानका मेयर हर्क साङपाङलाई प्रधानमन्त्री बनाउने भन्दै नारा लगाएका छन् । उनीहरूले  जेनजीकै अर्को समूहलाई हातपात गरेका छन् । उनीहरू अन्तरिम सरकारको प्रमुखमा अरूको नाम लिने समूहमाथि कुटपिटमा उत्रिएका हुन् ।  ‘श्रमदान जिन्दावाद ! हर्क साङपाङ जिन्दावाद !’  भन्ने नारा घन्किँदा आन्दोलनको मूल नेतृत्व नै अन्योलमा परेको छ । युवाहरूबीच नै आ–आफ्ना पक्षका उम्मेद्वारको नाममा झगडा भइरहेको हो ।  एक पक्षले प्रणाली परिवर्तनभन्दा पहिला नेतृत्वमा स्पष्टता हुनुपर्ने माग गरिरहेको छ भने अर्को पक्षले साङपाङको निष्कलंक छवि र देशसेवामा समर्पित भावनालाई प्रधानमन्त्रीको योग्यताका रूपमा अघि सार्दैछन् । नेतृत्व चयनको बहसले आन्दोलनको प्राथमिक एजेन्डा ओझेलमा पर्ने खतरा बढेको छ ।  कतिपयले भने यो बहसलाई लोकतान्त्रिक अभ्यासको रूपमा हेरिरहेका छन् । अन्तरिम सरकार कसलाई बनाउने भन्ने विषयमा जेनबीच नै विवाद नयाँ सरकार गठनमा संवैधानिक बहस : धारा ७६ कि धारा २ ?  

प्रमुख दलहरूको आह्वान– ‘संविधान र लोकतान्त्रिक बाटोबाटै समाधान खोजौं’

काठमाडौं । नेपालका प्रमुख राजनितिक दलहरुले देश संकटग्रस्त अवस्थामा पुगेको बताएका छन् । प्रमुख दलका नेताहरूले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनापछि देश राजनीतिक अनिश्चितता र संवैधानिक शून्यताको जोखिमतर्फ धकेलिँदै उल्लेख गरेका छन् । उनीहरुले आ–आफ्ना धारणा सार्वजनिक गर्दै वर्तमान संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत सहमति र संवादबाट मात्रै वर्तमान समस्याको समाधान खोज्न सकिने औंल्याएका छन् । नेपाली काँग्रेसका महामन्त्रीदय गगन थापा र विश्वप्रकाश शर्माले एक अपिल जारी गरी ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्नुपर्नेमा जोड दिएका छन् । विधि विहीनताले थप अराजकता निम्त्याउने उल्लेख गर्दै उनीहरुले नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शुन्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाउन राष्ट्रपति र जेनजीसंग आग्रह गरेका छन् । ‘२०७२ को संविधान पछाडि फर्कन सकिँदैन,’ अपिलमा भनिएको छ, ‘देशलाई संवैधानिक शून्यताबाट जोगाउन सबै वैधानिक उपाय खोजिनुपर्छ ।’ काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले देश राजनीतिक शुन्यतामा पुगेको उल्लेख गर्दै राष्ट्रपतिको पहलमा शान्ति–सुरक्षा कायम गर्न आग्रह गरेका छन् । लोकतान्त्रिक प्रक्रियाको पुन:स्थापना र संरक्षणका लागि फेरि सक्रिय हुन आवश्यक रहेको उनको भनाई छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदले संविधान बमोजिम नै नयाँ सरकार निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । जनताको आक्रोशलाई सम्मान गर्दै संवैधानिक मार्गबाट मात्र समाधान सम्भव हुने उनको भनाइ छ । संसदीय प्रणाली र लोकतन्त्रमा जनादेश तथा संसद्को अङ्कगणित बमोजिम सरकार निर्माण हुने र विघटन हुने विषय स्वभाविक र नियमित प्रक्रिया भएको उल्लेख गर्दै उनले यही प्रक्रिया बमोजिम छिट्टै नै संसदले संविधान बमोजिम नयाँ सरकार निर्माणको लागी पहल र समन्वय सम्माननीय राष्ट्रपतिसंग आग्रह गरेका छन् । मुलुकमा सिर्जना हुने हरेक राजनीतिक घटना र प्रश्नहरूको निरूपण तथा समस्याको वैध र सर्वस्वीकार्य समाधान मुलुकको संवैधानिक प्रवन्धहरूले निर्धारण गरेको लोकतान्त्रिक मार्गबाट मात्रै हुन सक्नेतर्फ उनले जोड दिएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जेनजी पुस्ताले उठाएका मुद्दा संविधान र संसदीय प्रक्रियाभित्रै पूरा गर्न सकिने बताएका छन् । बिहीबार सचिवालयमार्फत विज्ञप्ती सार्वजनिक गर्दै अध्यक्ष दाहालले जेनजी आन्दोलको एजेण्डा लोकतान्त्रिक व्यवस्था र संविधानविरूद्ध नभएको बताउँदै वर्तमान संसदीय प्रक्रियाबाटै पूरा हुन सक्ने उल्लेख गर्भरेका छन् । उनले लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै भएको बताएका छन् । जेनजी पुस्ताको माग लोकतान्त्रिक व्यवस्था, संविधान र संसद विरुद्ध नभएको उनको दाबी छ । काँग्रेस नेता एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनकारी र सबै दलसँग संवाद गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन् । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले जेन जी आन्दोलन दुरुपयोग गर्न खोज्ने प्रयास भइरहेको चेतावनी दिंदै संविधान खारेज र संसद भंग गर्नु मुलुकको अस्तित्वकै लागि घातक हुने बताएका छन् । उनले अन्तरिम सरकार गठन भए पनि संसदलाई जीवित राखेर निर्वाचनमा जानुपर्ने सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले लोकतन्त्रका आधारभुत अङ्गहरू संविधान, संसद, राष्ट्राध्यक्ष (राष्ट्रपति–उपराष्ट्रपति), राज्यका स्थायी अङ्गहरू यथावत कायम रहेकोले त्यसमा टेकेर नै अघि बढ्नुपर्ने बताएका छन् । यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भने वर्तमान संसद् विघटन, संविधान खारेजी र राजालाई अभिभावकको भूमिकामा पुन:स्थापित गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । नयाँ संरचना मार्फत देशलाई स्थिरतर्फ लैजान सकिने उनको दाबी छ । दलहरूबीच फरक–फरक दृष्टिकोण सार्वजनिक भइरहेपनि अधिकांश नेताहरूले लोकतान्त्रिक बाटो, संवैधानिक प्रक्रिया र संवादमार्फत मात्र वर्तमान संकटको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । जेनजी आन्दोलनप्रति भने दलहरूको फरक–फरक धारणा भाद्र २३ र २४ गतेको विरोध प्रदर्शन र त्यसपश्चात भएको हिंसा–तोड़फोडले मुलुकलाई गम्भीर राजनीतिक सङ्कटमा धकेलेको छ । राजधानी काठमाडौंदेखि देशका विभिन्न भागसम्म भएको प्रदर्शनमा ज्यान गुमाउने, घाइते हुने तथा महत्त्वपूर्ण राज्यका संरचना नष्ट हुँदा परिस्थिति थप जटिल बनेको छ । यस आन्दोलनप्रति प्रमुख राजनीतिक दलका नेताहरूले फरक फरक धारणा सार्वजनिक गरेका छन् । जनअपेक्षाको गतिमा काम गर्न नसकेको कांग्रेसको स्वीकार नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जनअपेक्षाको गतिमा काम गर्न नसकेकोले वर्तमान स्थिति आएको स्वीकार गरेका छन् । बेथिति र भ्रष्टाचार मौलाएको विषयलाई गम्भीर आत्मसमीक्षा गरिरहेको उनीहरुको भनाई छ । सत्तालाई जवाफदेही बनाउन गरेका प्रयास पनि अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको र नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा दुई महामन्त्रीले आत्माआलोचना गरेका छन् ।  उनीहरुले पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुननिर्माण गर्ने प्रतिबद्धता समेत जनाएका छन् । ‘अब फेरिएको यस परिस्थितिमा युवाहरूको आकांक्षा र अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रूपमा नेपाली कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुनर्निर्माण गर्ने प्रतिवद्धता गर्छौं । हामी विश्वस्त छौं–आवेग, उत्तेजना र प्रतिशोध यस्तो उथलपुथलका बेला आउने र जाने क्षणिक कुरा भएकाले अबको नेपाली कांग्रेस आम जनताको अपेक्षा, जेनजी युवाहरूको भावना र अन्य भिन्न पुस्ताको अभिमत समेतलाई गाँसेर अझ सशक्त र जन उत्तरदायी दल बनेर अघि आउनेछ,’ अपिलमा भनिएको छ । काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रदर्शनमा भएको क्षति माओवादी द्वन्द्वभन्दा पनि बढी भएको टिप्पणी गरेका छन् । प्रदर्शनका क्रममा भएको गतिविधि लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको उनको भनाई छ । ‘देश, जनता र लोकतन्त्रप्रति प्रतिवद्ध नवयुवाहरुले अवश्य पनि यस्तो चाहेका थिएनन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभुत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ,’ महतद्धारा जारी प्रेस नोटमा भनिएको छ । पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको सांघातिक आक्रमणको उनले निन्दा गरेका छन् । संविधान, व्यवस्था र प्रणाली माथि नै खतरा उत्पन्न हुनेगरी षड्यन्त्र हुँदैछ: एमाले नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले यतिबेला राष्ट्रका विरुद्ध संविधान, व्यवस्था र प्रणाली माथि नै खतरा उत्पन्न हुनेगरी भयानक षड्यन्त्र हुन खोजिरहेको बताएका छन् । उनले यसतर्फ सचेत रहँदै नेपाल र नेपालीको सुदूर भविष्यका बारेमा सोच्न आग्रह गरेका छन् । लोकतान्त्रिक लोकतान्त्रिक व्यवस्थामा सरकारको शासकीय कार्यशैली र प्रवृत्तिहरूका बारेमा नागरिक तहमा प्रश्नहरू उठ्नु, खबरदारी गर्नु, विरोध वा आलोचना हुनु वा सरकार प्रति नै अरुचि प्रकट भई नयाँ सरकारको माग गर्नु लोकतन्त्रले दिएको सुन्दर अधिकार रहेपनि लोकतान्त्रिक हकको उपयोग गर्दै गर्दा न्यूनतम कर्तव्य, जिम्मेवारी र राष्ट्र प्रतिको जबाफदेहितालाई भने कसैले पनि भुल्न नहुने उल्लेख गरेका छन् । ‘निरङ्कुशता र अधिनायकवादका विरुद्ध लोकतन्त्रका लागि जीवनभर लडेका राजनीतिक दलहरू र नेतृत्वका लागि सत्ता वा सरकार कुनै अलौकिक महत्त्वका कुराहरु होइनन्, यो त जनताले निर्धारण गर्ने या फैसला गर्ने विषयहरू हुन् । मुख्य वा महत्त्वको कुरा त मुलुकको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र लोकतन्त्र को रक्षा तथा हाम्रा संवैधानिक प्रवन्धहरुको जीवन्तता नै हो’, उनले जारी गरेको अपिलमा उल्लेख छ । उनले क्षणिक आवेग, उत्तेजना हडबड वा अल्पकालीन सोचबाट नभई देशको संविधान, अवलम्वन गरिरहेको अहिलेको व्यवस्था र प्रणाली बाट मात्रै देशको सुन्दर भविष्य निर्माण गर्न सकिने बताएका छन् । यसबाट मात्रै अग्रजहरूले रगत बगाएर, लडेर जोगाएको देशको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण गर्नसक्ने उनको भनाई छ । ओली नेतृत्वमा सरकारकै कारण अहिलेको स्थिति आयो: माओवादी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ओली नेतृत्वमा सरकारकै कारण अहिलेको स्थिति आएको दाबी गरेका छन् । माओवादी केन्द्रले निरन्तर खबरदारी गरेपनि सरकार दमनको निरंकुश बाटोमा अघि बढेर समस्या सिर्जना गरेको उनको आरोप छ । सरकारले सिर्जना गरेको परिस्थितिका कारण जेन जी पुस्ताका युवाहरूसहित जनताको आक्रोश विष्फोट भएको उल्लेख गर्दै उनले युवाहरुको आवाज सुन्नुको साटो सरकारले गरेको नरसंहारका कारण ठूलो मानवीय क्षति भएको उल्लेख गरेका छन् । उहाँले संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार, सुरक्षा निकायका कार्यालय लगायतका दर्जनौ संरचनामा आक्रमण गर्नेहरू जेनजी आन्दोलनकारी नभएको पनि बताउनुभएको छ । ‘त्यो जेन–जी आन्दोलनकारीले गर्न सक्दैनन्, ऊनीहरुबाट भएका होइनन् र भएका घटनाहरु उनीहरुको आदर्श अनुरुप पनि छैनन् भन्ने हाम्रो ठहर छ । हामी यी अकल्पनीय घटनाप्रति खेद प्रकट गर्दै आन्दोलनमा भएको बर्बर दमन, नरसंहार एवं लूटपाट र आगजनीका घटनाहरुको उच्चस्तरीय न्यायिक छानविन गर्न माग गर्दछौं,’ अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । जेनजीले पनि माओवादी केन्द्रले उठाउँदै आएको जस्तै प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि सांसदहरु मन्त्री बन्न नपाउने र उच्चपदस्थ कर्मचारी तथा नेताहरुको सम्पत्ति छानबीनका लागि अधिकारसम्पन आयोगका पक्षमा आवाज उठाएको उनको भनाई छ । ‘जेनजी युवा र हामिले एउटै मुद्दा उठाइरहेका बेला पनि हाम्रो पार्टी कार्यालय, निजी निवास र राज्यका साझा संरचनामा कसले र किन आगो लगायो ? यसको बारेमा हामीले गम्भीर रुपमा सोच्नै पर्छ । यसखालका घटना जेन जि पुस्ताको घोषित नीति र आदर्शविपरीत छन् र उनीहरूबाट यस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन,’ विज्ञप्तिमा दाहालले भनेका छन् । राजालाई अभिभावक बनाऔं: राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले संसद विघटन र संविधान खारेज गरेर राजालाई अभिभावक बनाउन आग्रह गरेका छन् । लिङदेनले जिम्मेवार व्यक्तिहरूको गैरजिम्मेवार क्रियाकलापले देशले अकल्पनीय र अपूरणीय क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै अब थप जनधनको क्षति रोक्न, मुलुकलाई दीर्घकालीन द्वन्द्वबाट जोगाउन र वैदेशिक हस्तक्षेप रोक्न तत्काल ठोस कदम चाल्नुपर्ने उल्लेख गर्दै राजसंस्था ल्याउन माग गरेका हुन् । उनले वर्तमान संसदको विघटन र संविधानको खारेजी, जेनजीको सहमतीमा अन्तरिम सरकार गठन, अन्तरिम संविधानको निर्माण, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, प्रदेश संरचनाको खारेजी, बलियो स्थानीय तह र गैरदलीय स्थानीय शासन व्यवस्था लगायतका व्यवस्था गर्न माग गरेका छन् । लिङदेनले नेपालको मौलिकता, संस्कृति र सामाजिक सद्भावलाई कायम राख्ने खालको नयाँ संरचना आवश्यक रहेको बताएका छन् ।