स्वास्थ्य मन्त्रालय जलेपछि आपतकालीन सेवा वीर अस्पतालबाट
काठमाडौं । काठमाडौंस्थित रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालयको भवन जलेर खरानी भएको छ । मन्त्रालयभित्र रहेका दर्जनौं सवारीसाधनदेखि कागजात सबै जलेका छन् । मन्त्रालय नै जलेपछि अहिले कर्मचारीहरू घरमै बसेर काम गरिरहेको मन्त्रालयले जनाएको छ । तीन दिनसम्म लगातार दन्किरहेको आगोले कुनै पनि भाग र सामग्री बाँकी नराखेको मन्त्रालयका पदाधिकारीले बताएका छन् । मन्त्रालयमा रहेको स्वास्थ्य आपतकालीन केन्द्र (एचईओसी) भवन पूर्ण रूपमा जलेको छ । मन्त्रालयले यो केन्द्रलाई वीर अस्पतालको एउटा कोठामा सारेर वीरबाट कामलाई निरन्तरता दिएको जनाएको छ। केन्द्रले देशभरका अस्पतालमा समन्वय गरेर काम गरिरहेको छ । मन्त्रालयको अर्को भवनको टुंगो नलागेसम्म केन्द्रले वीरबाट र अन्य कर्मचारीले घरबाटै काम गर्ने भएका छन् ।
अर्को साता सेयर कारोबार नहुने
काठमाडौं । अर्को साता सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विज्ञप्ति जारी गर्दै सेयर कारोबार नहुने जनाएको हो । आगामी आइतबारदेखि बिहीबारसम्म कारोबार नहुने भएको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० उपदफा (१) खण्ड (घ) बमोजिम नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार नेप्सेले कारोबार नगर्ने भएको हो ।
अर्थशास्त्रीहरूहरू भन्छन्– ‘जेनजी आन्दोलन अर्थतन्त्रका लागि ‘कोर्स करेक्सन’को अवसर
काठमाडौं । अर्थतन्त्रका जानकारहरुले जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रूपमा उल्लेखनीय क्षति बेहोरे पनि अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रमा आशा जगाउँदै ‘कोर्स करेक्सन’को अवसर प्रदान गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरुले जेनजीको प्रदर्शन बेथिती, कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यो समयलाई कोर्स करेक्सनको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले भ्रष्टाचारका विरुद्ध मुलुकभरबाट मानिसहरु एकसाथ जाग्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । ‘नयाँ पुस्ताको नेतृत्वमा मुलुकभरबाट भ्रष्टाचारका विरुद्ध मानिसहरु एकसाथ जाग्नु हाम्रा लागि उपलब्धि हो, संविधान संशोधनलगायतका विषय पछि जोडिएका हुन्,’ उनले भने, ‘अब यो अवसरलाई सदुपयोग गर्दै सरकारले पुनःनिर्माण, नयाँ लगानीको अवसर सृजना र लगानीकर्ताको आत्मविश्वास बढाउनुपर्ने विषयलाई प्राथमिकता दिनुपर्छ ।’ उनले अहिलेको समस्या प्राकृतिक र महामारी विपत्ती नभइ आन्तरिक रूपमा मानव सृजित समस्या भएकाले दातृ निकायबाट सहयोग प्राप्त हुने अवस्था सहज नभएको बताए । ‘यसप्रकारको अवस्था २०३६ साल र माओवादीको द्वन्द्वको समयमा पनि देखिएको थियो, तत्कालीन समयमा भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो, सडक, पुलमा ठूलो क्षति हुनुका साथै सञ्चार सेवा नै अवरुद्ध भएको अवस्था थियो,’ उनले भने, ‘तर अहिले त्यो अवस्था छैन, त्यसैले हामीलाई फेरि उठ्नका लागि ठूलो समस्या हुन्छ भन्ने लाग्दैन ।’ पूर्वसचिव खनालले अन्य मुलुकको तुलनामा नेपाल छिटो ‘रिकभर’ गर्ने मुलुक भएकाले उल्लेख गर्दै प्रदर्शनको तेस्रो दिनमै स्थिरतातर्फ उन्मुख हुनु मुलुकका लागि सकारात्मक पक्ष भएको बताए । उनले यस प्रदर्शनले भ्रष्टाचार र कुशासन हटाउँदै शासकहरुलाई सच्चिनका लागि पनि सन्देश दिएको प्रतिक्रिया दिए । ‘जेनजीले जुन विषय उठाएर प्रदर्शन गरे र त्यसले जुन रुप लियो, यसबाट हामीलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन र आसेपासे पुँजीवादको जालो भत्काउन सहयोग गरेको छ,’ खनालले भने, ‘आगामी दिनमा मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार हटाउन सहयोग पुग्छ भन्नेमा मलाई विश्वास छ ।’ खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरु रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए । तर यसका लागि सञ्चारमाध्यमले सूचना दिँदा सत्यतथ्य र संयमित हुन भने जरुरी रहेको उनको भनाइ छ । अर्थशास्त्री डा समर खतिवडाले जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको टिप्पणी गरे । ‘जेनजी प्रदर्शनले ‘क्रोनी क्यापिटालिजम’लाई भत्काउने प्रयास गरेको छ, नयाँ पुस्ताले सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ’, उनले भने, ‘यो फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे लिस्टबाट नेपाललाई निकाल्नका लागि प्राप्त भएको अवसर पनि हो ।’ खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताए । उनले भने, ‘अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ ।’ उनले अबको अर्थतन्त्रमा खुला, पारदर्शी, स्वतन्त्र नीति अपनाउनुपर्नेमा जोड दिए । उनले जेनजीको प्रदर्शनले प्रत्यक्ष विदेशी लगानीमा ठूलो असर नपर्ने बताए । ‘हामीले ल्याइरहेको विदेशी लगानी कुल ग्राहस्थ उत्पादनको ०.३ प्रतिशतमात्रै हो, त्यो आफैमा सानो आकार भएकाले ठूलो चिन्ता लिनुपर्ने अवस्था छैन, बरु अब यसलाई बढाएर कसरी तीन प्रतिशत बनाउन सकिन्छ भन्ने विषयमा काम गर्न सकिन्छ,’ उनले भने ।
खनालपत्नी चित्रकारको स्वास्थ्यमा सुधार
काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार आएको छ । उनी नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी हुन् । कीर्तिपुरको बर्न अस्पतालमा चित्रकारको उपचार भइरहेको छ । उक्त अस्पतालका एक चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्थामा असाध्यै राम्रो सुधार आइरहेको छ । उनले सामान्य खाना खान र बोल्न थालेकी छन् । चित्रकारलाई अझै केही समय आईसीयुमै राखेर उपचार गर्नु पर्दछ । उनको शरीरका विभिन्न भाग जलेका छन् । जलेको भागमा शरीरका अन्य भागको मासु लगेर प्लान्ट गर्ने काम भइरहेको एक चिकित्सकले बताए । चित्रकार डल्लु आवासमा रहेको आफ्नै घरमा प्रदर्शनकारीले गरेको आगजनीमा परेर घाइते भएकी थिइन् । चित्रकारलाई बाहिरी मान्छेसँग भने भेटघाट गर्न नदिएको पनि चिकित्सकहरूले जानकारी दिएका छन् । जेनजी प्रदर्शनकारीहरूले नेता खनालको घर जलाउँदा उनकी पत्नी चित्रकार गम्भीर रूपमा जलेकी थिइन् ।
सभामुख र राष्ट्रियसभा अध्यक्षको संयुक्त वक्तव्य– ‘संविधानवादबाट बाहिर नजाऔं’
काठमाडौं । व्यवस्थापिका संसदका दुई प्रमुखहरू संविधानको रक्षामा सक्रिय भएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त वक्तव्य जारी गर्दै संविधानको रक्षामा सक्रिय भएको बताएका हुन् । पछिल्लो समयमा गहिरिँदै गएको संकटको समाधान संवैधानिक बाटोबाट खोजिनुपर्नेमा घिमिरे र दाहालले जोड दिएका छन् । विधिको शासन र संविधानवादबाट बाहिर जान नहुनेमा जोड दिँदै आन्दोलनरत पक्षका माग सम्बोधन गर्न समेत घिमिरे र दाहालले आग्रह गरेका छन् । उनीहरूले संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेल सक्रिय रहेको पनि बताएका छन् । संविधान संशोधनपछि निर्वाचन, सुरूमै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
जेनजी आन्दोलनमा विदेशी पर्यटक सुरक्षित
काठमाडौं । भदौ २३ र २४ गते जेनजी पुस्ताले देशभर गरेको आन्दोलनमा सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । साथै ३० जना बढीले ज्यान गुमाएका छन् भने ३ सय भन्दा बढी घाइते भएका छन् । उक्त आन्दोलनमा नेपाल भ्रमणमा आएका कोही पनि विदेशी पर्यटकलाई क्षति नपुगेको नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशीले बताउँछन् । उनका अनुसार हिल्टनसहित केही होटलमा क्षति पुगेपनि पर्यटक भने सुरक्षित नै छन् । हिल्टनमा प्रदर्शनकारीले आन्दोलन गर्दा त्यहाँ फसेका पर्यटकलाई इमर्जेन्सी एक्जिटबाट सुरक्षितसाथ बाहिर निकालेका थिए । सीईओ जोशीले सबैभन्दा धेरै पर्यटक काठमाडौं र पोखरामा रहेको र उनीहरुलाई सुरक्षित बसोबास र निश्चित गन्तव्यसम्म पुर्याउने काम भइरहेको बताए । कुनै पर्यटकलाई क्षति नपुगे पनि केही होटलहरूमा तोडफोड र आगजनी हुँदा पर्यटकहरूमा त्रासपूर्ण वातावरण भने सिर्जना भएको उनको भनाइ छ । जेनजी आन्दोलनमा हिल्टनसहित एक दर्जनभन्दा बढी होटलहरूमा क्षति पुगेको छ । जसमध्ये हिल्टनमा सबैभन्दा धेरै क्षति पुगेको छ ।
यथाशीघ्र बीमा दाबी फर्छ्याैट गर्न बीमकलाई प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा रहेका क्षतिको यथाशीघ्र बीमा दाबी फर्छ्याैट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले बिहीबार सबै निर्जीवन तथा लघु निर्जीवन बीमकका नाममा एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । प्राधिकरणले जारी गरेको परिपत्रमा भनिएको छ, ‘देशका विभिन्न स्थानमा भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको सर्वविदितै छ । उक्त परिस्थितिका कारण बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्याैट गर्न निर्देशानुसार अनुरोध गरिन्छ।’ प्राधिकरणले उल्लेखित परिस्थितिका कारणले भएको क्षतिको बीमा दाबी विवरण साप्ताहिक रूपमा (प्रत्येक हप्ता बुधबार) एक्सेल सिटल ढाँचामा गुगल फर्ममार्फत पेस गर्नसमेत निर्देशन दिएको छ ।
युवापुस्तालाई समर्थन गर्दै महासंघले खोज्यो विवेकपूर्ण अवतरण
काठमाडौं । सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजश्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति समर्थन जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघले विकसित घटनाक्रमको विवेकपूर्ण अवतरणमा जोड दिएको छ । युवापुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा महासंघले गरेको छ । ‘देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवं सहकार्य गर्न तयार छ । नवनिर्माण एवं पुन: निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्वाध संचालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि महासंघ आग्रह गर्दछ,’ शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ । महासंघको सबै जिल्ला र एक सय भन्दा बढी पालिकाहरूमा सदस्य उद्योग वाणिज्य संघहरु मार्फत उपस्थिति रहेको छ । जिल्ला, नगर, वस्तुगत, एसोसिएट लगायतका सदस्यता मार्फत महासंघले देशभरका करिब ६ लाख साना मझौला एवं ठूला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दछ । पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवं व्यवसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघले भर्त्सना गरेको छ । साथै महासंघ व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ । चाहन्छ । उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौ रुपैया बराबरको क्षति भएको छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको भएता पनि क्षतिका कारण राजश्व र कुल गार्हस्थ उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको छ । यसैगरी, निजी क्षेत्रका गतिविधि निर्वाध रुपमा संचालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्न जाने महासंघले जनाएको छ । त्यसैले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन हुन आग्रह गरेको छ । निषेधाज्ञा एवं कर्फ्युका समयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरूको आवतजावत एवं वस्तुहरू जस्तै औषधि, खाद्यान्न, दूध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसार पसार सहजीकरणका लागि पनि महासंघले आग्रह गरेको छ । यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहने सुरक्षा समितिमा महासंघ एवं महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिताका लागि महासंघ आग्रह गरेको छ । यसैगरी गुणस्तरीय सामानको नियमित आपूर्ति गरि बजारमा अभाव सिर्जना हुन नदिने तर्फ देशैभरका सबै उद्यमी व्यवसायीहरुमा आग्रह पनि गरेको छ । साथै यसको सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवं वस्तुगत संघहरुले अनुगमन गर्न पनि आग्रह गरेको छ । अन्तराष्ट्रिय विमानस्थल सुचारु भएपनि धेरै भन्सार नाका अहिले बन्द रहेका छन् । अत्यावश्यकीय लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिइ सुचारु गर्ने वातावरण निर्माणका लागि पनि महासंघले आग्रह गरेको छ । नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भइ समुन्नति र स्थायित्व कायम हुने विश्वास महासंघले लिएको छ । सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहीतको मर्यादित रोजगारी सम्भव भएको जनाउँदै महासंघले स्थायित्वका लागि युवाहरुको चाहनाअनुरूप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता संगै लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरि समुन्नत समाज निर्माणमा योगदान पुर्याउन सबैलाई आग्रह गरेको छ ।