विकासन्युज

भायनेटको इन्टरनेट र भीआइए टिभी सेवा सामान्य स्तरमा फर्कियो

काठमाडौं । भायनेटले इन्टरनेट र भीआइए टिभी सेवा सामान्य अवस्थामा फर्किएको जनाएको छ । कम्पनीका अनुसार सेवा अझै पूर्ण क्षमतामा नपुगे पनि अधिकांश ग्राहकले प्रयोग गर्न थालेका छन् । भायनेटले आइतबार २९ भदौभित्र सम्पूर्ण सर्भर अर्को डाटा सेन्टरमा सारिसकेपछि सेवा पूर्ण रूपमा सामान्य हुने अपेक्षा व्यक्त गरेको छ । अहिले भने केही प्रयोगकर्ताले इन्टरनेट गति स्लो भएको अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको भायनेट कस्टमर मोबाइल एप पुनः सुचारु भइसकेको छ भने कल सेन्टर पनि बढाइएको क्षमतासहित सञ्चालनमा आएको छ। यसले ग्राहकलाई छिटो सहयोग गर्न सहज हुने कम्पनीको दाबी छ । भायनेटका फाइबर टेक्निसियनहरूले हालैका घटनाका कारण बिग्रिएका अधिकांश फाइबर लाइन मर्मत गरिसकेको र केही बाँकी काम निरन्तर भइरहेको जनाएको छ । कम्पनीले ४८ घण्टाभित्र सेवा सामान्य स्तरमा ल्याउन सफल भएको भन्दै यो उपलब्धिले आफ्नो नेटवर्कको मजबुती र टिमको समर्पणलाई पुष्टि गरेको जनाएको छ । यस अनुभवले भविष्यमा सेवा अवरुद्ध हुने जोखिम न्यून पार्न प्रणाली अझ बलियो बनाउन प्रेरणा मिलेको कम्पनीको भनाइ छ । भायनेटले पछिल्ला केही दिनमा ग्राहकले देखाएको धैर्य, बुझाइ र विश्वासप्रति आभार व्यक्त गर्दै विश्वसनीय र गुणस्तरीय सेवा दिन निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।

प्रधानमन्त्री शुशिला कार्कीलाई मोरङ उद्योग वाणिज्य संघले दियो बधाई

काठमाडौं । नेपालकी पहिलो महिला प्रधानमन्त्री शुशिला कार्कीलाई मोरङ उद्योग वाणिज्य संघले बधाई दिएको छ । कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको अवसरमा मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीले बधाईसहित शुभकामना व्यक्त गरेका छन् । राठीले जारी गरेको शुभकामना सन्देशमा नयाँ नेतृत्वले सुशासन, वाक स्वतन्त्रता, स्वदेशमै मर्यादित रोजगारी, राजस्वको सदुपयोग तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्ने विश्वास व्यक्त गरिएको छ । सन्देशमा अगाडि भनिएको छ, 'उहाँको नेतृत्वमा उद्यम–व्यवसाय निर्वाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षा सहितको वातावरण निर्माण हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।' राठीले कार्कीको कार्यकालले मुलुकको मुहार फेरिने विश्वास समेत व्यक्त गरेका छन्।

निडर स्वभाव र सरल जीवनशैलीको पर्याय प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छन् । सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी प्रमुख बन्न सफल भएकी छन् । जेनजी समूहको आन्दोलनका मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले विषम र असाधारण परिस्थितिमा युवापुस्ताद्वारा प्रकट गरिएको माग र आकांक्षाबमोजिम राजनीतिक दल तथा सरोकारवालासँगको परामर्शमा उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् । प्रधानमन्त्री कार्कीको जन्म विसं २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट विसं २०२८ बीए र बनारस हिन्दु विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी छन् । विसं २०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरी अधिवक्ताका रूपमा उनले विसं २०३५ चैत्र १६ गतेदेखि कानुन व्यवसाय सुरु गरेकी थिइन् । उनले विसं २०४२ देखि तीन वर्ष महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् । विसं २०४५ देखि २०४७ सालसम्म उनले कोसी अञ्चल बारको अध्यक्ष तथा विसं २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् । विसं २०६१ पुस ५ गते उनले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरिन् । त्यस्तै, २०६५ माघ ९ गते उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन् । विसं २०६७ मंसिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनेकी थिइन् । संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलंका, जापान, चीन, भारत, तान्जिनिया र नेदरल्यान्डलगायत देशको भ्रमण गरिसकेकी उनी नेपाली, अंग्रेजी र हिन्दीमा भाषामा निपुण छिन् । निडर स्वाभाव र सरल जीवनशैलीको उनको पहिचान हो । उनले प्रधानन्यायाधीशका रूपमा १४ महिना जिम्मेवारी सम्हालेकी थिइन् । रासस

शनिबार यी प्रदेशमा पर्नेछ भारी वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी र मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  

जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा

काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ ।   आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ । आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ ।  

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन‍, फागुन २१ गते चुनाव घोषणा

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो निर्णय संसद् (प्रतिनिधि सभा) विघटन गरेकी छन् ।  शुक्रबार राति पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि शीतल निवासमै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्ने निर्णय गरेको हो । कार्कीको अन्तरिम मन्त्रीपरिषदमा अन्य सदस्य नियुक्त नभएकाले उनी एक्लैको बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो ।  प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले त्यसलाई सदर गरेका छन् । त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।

देशले नयाँ प्रधानमन्त्री पायो, ओलीसहितका नेताले फिर्ता पाए जफत भएका मोबाइल

काठमाडौं । देशले नयाँ प्रधानमन्त्री पाउँदा केपी शर्मा ओलीसहितका नेताहरूले जफत भएका मोबाइल फोन फिर्ता पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा सपथ खुवाई रहँदा नेपाली सेनाको तालिम केन्द्र शिवपुरीमा रहेका निवर्तमान प्रधानमन्त्री ओलीसहितका नेताहरूले जफत भएका फोन फिर्ता पाएका हुन् ।  नेपाली सेनाको सुरक्षा घेराभित्र शिवपुरी ब्यारेकमा रहेका ओलीसहित निवर्तमान मन्त्रीहरूले मोबाइल फिर्ता पाएका छन् । भदौ २४ गते जेनजीको आन्दोलनकर्मीहरुले बालुवाटार, संसद् भवन, सिंहदरबार, राजनीतिक दलका कार्यालय तथा नेताका घरघरमा आगजनी गरेपछि नेपाली सेनाले हेलिकप्टर मार्फत तालिम केन्द्र शिवपुरीमा पुर्याएर सुरक्षा दिएको थियो ।  नेपाली सेनाले भैँसेपाटीस्थित मन्त्री निवासबाट हेलिकप्टरमा निवर्तमान मन्त्रीहरूलाई शिवपुरी पुर्याएको थियो । साथै उनीहरुको साथमा रहेका मोबाइल सेनाले जफत गरेको थियो । नवनियुक्त प्रधानमन्त्री कार्की शपथ सकेर राष्ट्रपति निवासबाट बाहिरिएसँगै शिवपुरीमा रहेका नेताहरूको फोन पनि लागि रहेको छ । 

प्रधानमन्त्री कार्कीको पदभार ग्रहण आइतबार हुने, किन रोकियो एकाएक ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीको पदभार ग्रहण आइतबार हुने भएको छ । उनले राष्ट्रपति निवास शितल निवासबाट सपथ लिएर सिंहदरबारका लागि हिँडे पनि उनले आइतबार मात्रै पदभार ग्रहण गर्ने योजना बनाएकी हुन् ।  यसअघि आजै पदभार हुने भनिए पनि एकाएक पदभार रोकिएको छ । यसको कारण भने खुल्न सकेको छैन ।  अहिलेका लागि उनले सबै मन्त्रालय आफूले नै सम्हालेकी छन् । शुक्रबार प्रधानमन्त्रीको सपथपछि उनले सबै मन्त्रालय आफूले सम्हाल्ने भएकी हुन् ।  अब आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ ।