विकासन्युज

भौतिक रूपमै बीमाको काम गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्राधिकरणले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएकाले पूर्ववत् कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको हो । सुरक्षा निकायले कर्फ्यु र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेकाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आजदेखि पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको हो । प्राधिकरणले भौतिक रूपमा नै कार्यालयमा उपस्थित भई कार्य गर्न गराउन अनुरोध गरेको सूचनामा उल्लेख छ । यसअघि प्राधिकरणले यही भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीको कामलाई सहज र सरल बनाउन निर्देशन दिइसकेको छ । 

आन्दोलनमा विजयको ज्यान गयो, गाउँमा बुबाआमा बेखबर

काठमाडौं । सिरहाका हरिप्रसाद चौधरी घरको बरन्डा अगाडि टोलाएर बसेका छन् । छेउमै जलेश्वरीदेवी (विजयकी आमा) उसैगरी टोलाइरहेकी छिन् । शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ । उनको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जहाँबाट अब विजय कहिल्यै फर्कने वाला छैन । तर उनीहरूलाई थाहा छैन, छोरोले ‘जेनजी पुस्ता’ आन्दोलनमा गत मङ्गलबार संसार छाडिसकेका छन् । मन बेचैनले भरिएको छ । अनुहारमा एकैचोटी अनेकन् कुरा खेलिरहेको प्रष्ट देखिन्छ । आशा, डर अनि थोरै शङ्का । गाउँमा विजयबारे आएको खबर आधामात्र हो । ‘गोली लागेको रे, तर उपचार भइरहेको छ,’ नजिकका एक आफन्तले आएर बताएपछि अत्तालिएको आमाबुबाको मन केही सम्हालिएको थियो । तर विजयको फोन, म्यासेज या कुनै खबर आउन छाडेको पनि कयौँ भइसकेको छ । घरको आँगन चिसो लाग्न थालेको छ । तर आमाबुबाको मन अझै तातो छ, छोरो आउने आशामा । भाइको मृत्युको खबर सुनेपछि हेटौंडामा बस्दै आएकी विजयकी दिदी काठमाडौं पुगेर आमालाई फोनमा सत्य लुकाएर ढाडस दिइरहेकी छिन् । ‘भाइलाई आइसीयुमा राखिएको छ आमा, बोल्न सक्ने अवस्थामा हुनुहुन्न । होसमा आएपछि खबर गर्छु,’ उनी भन्छिन् ।  २७ वर्षीय विजय चौधरी, लहान-१५ सिमल टोलका बासिन्दा हुन् । गत मङ्गलबार काठमाडौंको बानेश्वरमा ‘जेनजी पुस्ता’ आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो । त्यही ठाउँमा ढले । साथीले उनलाई तत्काल सिभिल अस्पताल लगे, तर त्यसबेला विजयको प्राण गइसकेको थियो । घटनाको पुष्टि हुँदै जाँदा, विजयको शव शिक्षण अस्पतालको शव गृहमा पुगिसकेको थियो । यता गाउँमा चाहिँ सत्य लुकाइएको थियो । ५ वर्षदेखि काठमाडौंमा ‘हाउसवायरिङ’को काम गर्दै आएका विजय गत साउनमा गाउँमा रोपाइँ सकेर १५ दिनअघि मात्र श्रीमती उर्मिला र चार वर्षकी छोरीसहित फेरि राजधानी फर्किएका थिए । आमाबुबाको औषधि, घर खर्च, बालबालिकाको पढाइलगायत सबै कुरा विजयको कमाइमै निर्भर थियो । तर जसको आशामा घर चलेको थियो, उनै विजय अब फर्कने छैनन् । भाइलाई गोली लागेको खबर पाएपछि हेटौंडामा रहेकी दिदी सुशीला सोही साँझ काठमाडौं पुगिन् । उनले राजधानीका दर्जनौं अस्पताल चहारिन् । २४ घण्टापछि बल्ल सार्वजनिक सूचीमा भाइको नाम फेला पारिन् । शिक्षण अस्पताल पुगेर भाइको शव पहिचान गरिन् । त्यसपछि विक्षिप्त बनेकी सुशीला बाबुआमालाई सम्हाल्न गाह्रो हुने ठानेर भाइ उपचाररत रहेको झुटा कुरा बताइन् ।  ‘छोरीले खबर गरिसकेकी छ, चाँडो निको होस् भनेर भगवानसँग कामना गरेकी छु,’ आमा जलेश्वरीदेवीले भनिन् ।  विजयको दाजु अजय वैदेशिक रोजगारीबाट शनिबार फर्किँदै छन् । उनले नै आमाबुबालाई यो पीडादायी खबर नसुनाउने योजना बनाएका हुन् । सायद उनलाई लाग्छ, भक्कानिएको आमाबाबुको मन सम्हाल्ने कोही हुने छैनन् । यो खबर सिधै भन्नु आमाको मुटुमाथि चोट हो । गाउँमा अहिले पनि विजयको कोठा खुलै छ । उनको श्रीमती अझै अर्ध चेत अवस्थामा छिन् । छोरीले बुझ्ने उमेर छैन । तर आमाको मनमा विजयको पाइला अझै सुनिन्छ– ‘पक्कै आउँछ नि १’ सबैसँग मिलेर बस्नसक्ने उहाँको स्वभाव थियो । लहान-१५ का वडाध्यक्ष तेजनारायण चौधरी भन्छन्, ‘विजय सधैँ शान्त स्वभावका थिए । कसैसँग झगडा गर्दैनथे । गाउँमा सबैलाई सम्झाइबुझाइ गर्थे ।’  उनका अनुसार विजय सो दिन साथीसँग सामान किन्न निस्किएका थिए । संसद् भवनअगाडि भीड देखेपछि भिडियो खिचिरहेका थिए । साथीहरूले फर्किन भनेका थिए, त्यसैबेला उनलाई गोली लाग्यो । गाउँमा अहिले सिङ्गो टोल स्तब्ध छ । तर त्यो स्तब्धताभन्दा गहिरो छ, सत्यलाई लुकाएर गरिएको प्रतीक्षा । आमाबुबा जसको आँखा बाटोमा छ, जसको कान मोबाइलको घण्टीतिर छ, अनि जसको मन आशा र भयको दोधारमा बाँधिएको छ । आमालाई सत्य कहिले बताइने हो, कुनै पत्तो छैन । रासस

अझै बालबालिका आफ्नो अधिकारबाट वञ्चित छन्: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन् ।  नेपालले बाल अधिकारसम्बन्धी महासन्धि अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बाल दिवसका नारा  ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ । राष्ट्रपति पौडेलले  सन्देशमा बाल दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवं विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताए । सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवं अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका आवश्यक रहन्छ । बालबालिकाको हितलाई प्राथमिकतामा राखी समाज र राज्यलाई सचेततापूर्वक कार्यसम्पादन गर्न यस दिवसले उत्प्रेरणा प्रदान गर्ने विश्वास गर्न सकिन्छ ।’ उनका अनुसार अझै पनि केही बालबालिका आफ्नो अधिकारबाट वञ्चित भएको कुरा सुन्नमा आउँछ । तसर्थ विभिन्न  कारणले बालबालिकामा पर्ने असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरुरी रहेको उनको भनाइ छ । बालबालिकामाथि हुने सबै किसिमका अमानवीय व्यवहार, हिंसा तथा दुर्व्यवहार रोक्नु सम्बन्धित सरोकारवालाहरूको दायित्व रहेको उनले बताए ।  सन्देशमा भनिएको छ, ‘बालबालिकाको भविष्य सुनिश्चित गर्न सृजनात्मक, व्यावहारिक, निःशुल्क र गुणस्तरीय शिक्षाको व्यवस्था, पोषण युक्त आहार, सुरक्षित खानेपानी र सरसफाइ, आवश्यक खोप एवं बाल मैत्री स्वास्थ्य संस्था एवं नीतिगत, कानुनी र बाल मैत्री कार्यसम्पादनको प्रबन्ध गर्नु आवश्यक हुन्छ । बालबालिकालाई घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण सृजना गरी सबै समूह र समुदायका बालबालिकालाई समन्यायिक अवसरको सुनिश्चितता प्रदान गर्न यस दिवसले सहयोग पुग्ने अपेक्षा गर्दछु ।’ बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि आआफ्नोतर्फबाट भूमिका निर्वाह गर्न  सम्बद्ध सबै पक्षको ध्यानाकृष्ट हुनेछ भन्ने विश्वासका साथ यस दिवसले बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि सम्बद्ध सबैमा थप प्रेरणा मिलोस् भन्ने कामना राष्ट्रपति पौडेलले व्यक्त गरे । 

प्रतिनिधिसभाको निर्वाचनका निम्ति सहयोग गर्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् ।  राष्ट्रपति पौडेलले शनिबार एक वक्तव्य जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई हार्दिक अपिल गरेका हुन्  ।  राष्ट्रपति पौडेलले  वक्तव्यमा भनेका छन्, 'देशको अत्यन्त असहज परिस्थितिमा कठिन प्रयत्न पश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्  ।'  

जेल फर्कने बेलामा रवि भन्छन् : ‘न्यायकी प्रतिमूर्ति प्रधानमन्त्री पाएका छौं’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्याय प्राप्त हुने विश्वाससहित कारागार फर्कन लागेको बताएका छन् । उनले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएको भन्दै अब आफूलाई अन्याय नहुने आशा रहेको उल्लेख गरेका छन् । आज आफ्नो जन्मदिन परेको प्रसंग जोड्दै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुनः कारागार पठाउन लागेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत लामो स्टाटस र भिडियो सन्देश जारी गर्दै भनेका छन्, 'पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुँदैन भन्ने आशा सहित म कारागार जाँदैछु ।' नख्खु कारागारमा रहेका लामिछाने भदौ २४ गते जेनेरेशन जेड (जेन्जी) आन्दोलनका क्रममा बाहिर निस्किएका थिए। सुरुमा उनले आफू कारागार प्रशासनकै निर्णयअनुसार बाहिर निस्किएको दाबी गरेका थिए । तर, प्रशासनले उनलाई थमाएको भनिएको पत्रबारे औपचारिक जानकारी नदिएपछि यसबारे आलोचना बढेको थियो । आलोचना चर्किएपछि लामिछाने स्वयं कारागार फर्किन लागेका हुन् । उनले यस विषयमा अनावश्यक मिडियाबाजी भएको भन्दै आपत्ति पनि जनाएका छन् ।

पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालनमा आउने

गण्डकी ।  ‘जेनजी’ प्रदर्शनका कारण बन्द भएका पोखरा महानगरपालिकाका विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । पोखरा महानगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको बैठकको निर्णयानुसार महानगरभित्रका सम्पूर्ण विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको महानगरपालिका शिक्षा महाशाखा निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए । यसैगरी, यस क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ ।  जिल्लामा विकसित घटनाक्रम र शान्तिसुरक्षाको अवस्थालाई विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिको निर्णयानुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा र कर्फ्यू आदेश आजै बिहान ९ः०० बजेदेखि हटाइएको छ । कर्फ्यू र निषेधाज्ञा हटेसँगै सार्वजनिक यातायात र बजार क्षेत्र सञ्चालनमा आउन थालेका छन् । 

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने - हाम्रो योगदान खेर नजाओस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले जानकारी दिए ।   'प्रधानमन्त्रीले घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । त्यसक्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ । पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस्,' डा. रेग्मीले भने । प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भवन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।    कार्यकारी निर्देशक रेग्मीका अनुसार गत सोमबार यता चार सय ५७ घाइते अस्पताल पुगेकामा ४४ जनालाई अन्यत्र ‘रेफर’ गरिएको थियो । तीन सय ६४ जना उपचारपछि घर फर्किसकेका छन् ।  अस्पताल भर्ना भएका ४९ मध्ये ११ जना हाल उपचाररत छन् । गम्भीर घाइते एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छभने ४५ जनाको शल्यक्रिया तथा सात जनाको पुनः शल्यक्रिया गरिएको छ । निजामती अस्पतालमा उपचारका क्रममा छ जनाको मृत्यु भएको थियो ।  

रूसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रूसको क्यामचात्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पको केन्द्र पेट्रोपावलोव्स्क-कामचात्स्की शहरको १११ किलोमिटर पूर्वमा थियो, जुन क्यामचात्का क्षेत्रको प्रशासनिक केन्द्र हो। भूकम्पको गहिराइ ३९.५ किलोमिटर थियो । शुरूवातमा यस भूकम्पको  ७.५ म्याग्निच्युड बताइएको थियो, तर पछि ७।४ म्याग्निच्युड रहेको जनाइएको छ । प्रशान्त महासागर सुनामी चेतावनी केन्द्रले शुरुमै यस भूकम्पका कारण 'खतरनाक' सुनामीका लहरहरू उत्पन्न हुने चेतावनी दिएको थियो, जसको उचाइ १ मिटर (३.३ फीट) सम्म हुन सक्थ्यो । पछि भने, उक्त चेतावनी हटाइयो र 'सुनामीको खतरा अब टरेको' भनेको छ ।  यस भूकम्पको कारण कुनै ठूलो सुनामी उत्पन्न भएको छैन र त्यसले तटीय क्षेत्रहरूमा खास असर गरेको पनि देखिएको छैन । साथै, जुलाई महिनामा क्यामचात्का प्रायद्वीपमा एक अत्यन्त शक्तिशाली भूकम्प ८.८ म्याग्निच्युडको आएको थियो । यस भूकम्पले प्रशान्त महासागरमा ४ मिटर (१३ फीट) उचाइका सुनामीका लहरहरू उत्पन्न गरेको थियो । यो भूकम्प २०११ मा जापानको ९.१ म्याग्निच्युडको भूकम्पपछि आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । क्यामचात्का क्षेत्रको भूकम्पीय गतिविधि उच्च म्याग्निच्युडका भूकम्पहरूको लागि प्रसिद्ध रहेको र भविष्यमा यस्ता घटनाहरू घट्न सक्ने सम्भावना पनि रहेको छ।