आज दिउँसो देशभर साधारणतया बदली रहने, यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराईका भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा बाँकी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
कर बुझाउन एक महिना समय थप, जरिवाना पनि नलाग्ने
काठमाडौं । अर्थ मन्त्रालयले कर विवरण र कर रकम बुझाउने म्याद असोज २५ गतेसम्म बढाउने निर्णय गरेको छ । जेनजी आन्दोलनका कारण देशभर कफ्र्यू र निषेधाज्ञा लाग्दा करदाताले समयमा विवरण पेश गर्न असुविधा भएको भन्दै मन्त्रालयले कर बुझाउने समयसीमा सार्ने निर्णय गरेको हो । मन्त्रालयले भदौ २५ सम्ममा पेस गर्नुपर्ने विवरणको म्याद बढाएर असोज २५ सम्म पुर्याएको हो । २०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट्टी (शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम) २०८२ असोज २५ गतेसम्म दाखिला गर्न सकिने गरी नेपाल सरकार (अर्थमन्त्रीस्तरबाट) मंगलबार निर्णय भएको हो । थप गरिएको अवधिभित्र विवरण तथा विवरण बमोजिमको कर दाखिला गरेमा सम्बन्धित ऐन बमोजिम लाग्ने विलम्ब शुल्क, शुल्क, व्याज, थप दस्तुर वा जरिवाना नलाग्ने गरी आन्तरिक राजस्व विभागले एकीकृत कर प्रणालीमा आवश्यक व्यवस्था मिलाउने पनि मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयको ट्वीटर ह्याण्डल विष्णु रिमालको कब्जामा, सूचना प्रवाहमा समस्या
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक एक्स (ट्वीटर) ह्याण्डल विष्णु रिमालले आफ्नो कब्जामा राखेका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार रिमालले प्रधानमन्त्री कार्यालयको एक्स आईडीको युजर नेम र पासवर्ड नदिँदा समस्या भएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ । कार्यालयको एक्स आईडी निस्क्रिय हुँदा सरकारी सूचना प्रवाहमा समस्या भएको स्रोतको भनाइ छ । प्रधानमन्त्रीको सन्देश, गतिविधि र आधिकारिक धारणा सार्वजनिक गर्ने प्रमुख माध्यमकै रूपमा रहेको ट्वीटर ह्याण्डल सञ्चालनमा नआएपछि समाचार र अद्यावधिक जानकारी लिन खोज्नेहरु अनिश्चित बनेका छन् । यस विषयमा प्रधानमन्त्री कार्यालयले आधिकारिक प्रतिक्रिया भने दिएको छैन । जेनजी आन्दोलनपछि यसअघिको सरकारले राजीनामा दिएको थियो भने अहिले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की बनेकी छन् ।
भोलि शोक दिवस मनाइँदै राष्ट्रिय झण्डा आधा झुकाइने
काठमाडौं । सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिने भएको छ । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिने भएको हो । आज गृह मन्त्रालयले सूचना निकाल्दै भोलि सार्वजनिक बिदा दिएको जनाएको छ। सार्वजनिक बिदाको दिन राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय भएको छ । गत सोमबार बसेको अन्तरिम सरकारको मन्त्रिपरिषद्‌को पहिलो बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।
आजदेखि बीमा प्राधिकरणमा हाजिर भए शरद ओझा, यस्तो छ अदालतको आदेश
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा काममा फर्किएका छन् । प्राधिकरणका अनुसार अध्यक्ष ओझा मंगलबारदेखि काममा फर्किएका हुन् । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै उनलाई पुन:प्राधिकरण फर्किने बाटो खुलेको थियो । गत असार ३० गते सरकारले उनको योग्यतामाथि छानबिन गर्ने भएसँगै ओझा स्वतः निलम्बनमा परेका थिए । अध्यक्ष नियुक्तिदेखि नै उनको योग्यतासम्बन्त्री विवाद हुँदै आएको थियो । उनको योग्यतासम्बन्धी विवाद सर्वोच्च अदालतमा समेत विचाराधीन छ । प्राधिकरण अध्यक्षका लागि तोकिएको योग्यता अपुग रहँदारहँदै ओझालाई सरकारले अध्यक्षमा नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग गर्दै इन्दिरा धमलाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई विपक्षी बनाएकी थिइन् । फागुन १२ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।
गण्डकी प्रदेशमा एक अर्ब १३ करोडभन्दा बढीको बीमा दाबी, हिमालयन एभरेष्टमा सबैभन्दा धेरै
काठमाडौं । जेनजी प्रदर्शनीका क्रममा भएको क्षतिबाट गण्डकी प्रदेशमा एक अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गण्डकी प्रदेशमा १२ निर्जीवन बीमा कम्पनीमा २०९ वटा दाबी परेको छ । प्राधिकरणको तथ्यांकअनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै बीमा दाबी परेको छ । ५० करोड रुपैयाँको ९ वटा दाबी परेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) मा ३५ करोड रुपैयाँको ५० वटा दाबी परेको तथ्यांक छ । राष्ट्रिय बीमा कम्पनीमा सात करोड रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पाँच करोडको दाबी परेको छ । नेको इन्स्योरेन्स कम्पनीमा चार करोड ४५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा तीन करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा दुई करोड रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा दुई करोड दाबी परेको छ । त्यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा तीन करोड १५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीमा ८० लाख रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनीमा ७५ लाख रुपैयाँ, नेपाल माइक्रोको इन्स्योरेन्सको ५ वटा पोलिसी २५ लाख दाबी परेको छ । १२ निर्जीवन बीमा कम्पनीमा हालसम्म कुनै दाबी परेको छैन । दाबी नपर्ने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स हुन् ।
बिहीबारदेखि सेयर कारोबार हुने
काठमाडौं । बिहीबारदेखि सेयर कारोबार हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्देशन बमोजिम असोज २ गते बिहीबारदेखि सेयर कारोबार हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । उनका अनुसार धितोपत्र बोर्डको निर्देशनअनुसार असोज २ गते बिहीबारदेखि धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सुचारु हुनेछ । जेनजी आन्दोलनका कारण लगानीकर्ताहरुको माग बमोजिम सेयर कारोबार स्थगित गरिएको थियो ।
बिदाको दिन पनि बैंक र भन्सार खुला गरिने
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा सम्पन्न अन्तक्रिर्यामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स एण्ड कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एशोसिएसन, चौधरी समूह र भाटभटेनी समूहका प्रतिनिधिहरूको समेत उपस्थिति थियो । निजी क्षेत्रका प्रतिनिधिहरूले नवनियुक्त अर्थमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उद्योग व्यवसायको सुरक्षा र प्रवर्द्धन गर्न माग राखेका थिए । उद्योग व्यवसायमा पुगेको क्षतिपूर्ति छिटो उपलब्ध गराउने, कर सहुलियत, सहुलियतपूर्ण कर्जा र बीमा रकम शीघ्र भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको थियो । साथै सरकार, राजनीतिक दल, सञ्चार माध्यम र नागरिक समाजले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्नुपर्ने माग पनि निजी क्षेत्रले राखेका थिए । अन्तरक्रियामा अर्थसचिव घनश्याम उपाध्यायले दशैंबाहेक अन्य सार्वजनिक बिदामा पनि बैंक र भन्सार खुला राख्ने निर्णय भएको र तातोपानी नाका खुलाउनका लागि सरकारले पहल गरिरहेको जानकारी दिए । उद्योग व्यवसायीलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले अटो सेक्टर थापाथली, भाटभटेनी सुपरस्टोर कोटेश्वर, अन्नपूर्ण र कान्तिपुर मिडिया हाउस र ट्राफिक प्रहरी कार्यालयलगायतका क्षतिग्रस्त संरचनाहरूको स्थलगत अवलोकन गरेको बताए । उनले सार्वजनिक र निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा भइसकेको र समग्र व्यवसाय पुनःस्थापना योजना ल्याइने जानकारी दिए । अर्थमन्त्रीले कर र मौद्रिक नीतिबाट दिन सकिने सहुलियतमा सरकार सकारात्मक रहेको बताउँदै सबै सार्वजनिक निकायलाई नागरिक र निजी क्षेत्रले प्रत्यक्ष महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिइसकेको जानकारी दिए ।