विकासन्युज

हितेन्द्रदेवलाई हटाउने ऊर्जामन्त्री घिसिङको तयारी, मार्गप्रशस्त गर्न आग्रह

काठमाडौं । ऊर्जामन्त्री ​​कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने तयारी गरेका छन् । स्रोतका अनुसार उनले प्राधिकरणका प्रमुख शाक्यलाई हटाउने तयारी गरेका हुन् । यो घटनाक्रम राजनीतिक र प्राधिकरण भित्रको शक्ति समीकरणसँग जोडिएको मानिएको छ ।  प्राधिकरणमा घिसिङको पहिलो कार्यकाल अत्यन्त सफल मानिएको थियो । उनको दोस्रो कार्यकाल सकिन ६ महिना बाँकी रहँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हटाएर शाक्यलाई नियुक्त गरेका थिए।  सत्ता फेरिएसँगै मन्त्री बनेका घिसिङले प्राधिकरणभित्र नेतृत्व परिवर्तन गर्न लागेको स्रोतले जानकारी दियो ।  स्रोतका अनुसार मन्त्री घिसिङ प्राधिकरणलाई पुनः सशक्त बनाउने योजना लिएर अगाडि बढेका छन् । घिसिङको पहिलो कार्यकाल २०७७ भदौमा सकिएको थियो । उनी २०७८ साउनमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त भएका थिए ।  उनको पहिलो कार्यकाल सकिएपछि प्राधिकरणको नेतृत्वमा शाक्य थिए । करिब ३३ वर्षदेखि विद्युत प्राधिकरण अन्तर्गतका निकायमा काम गरेका शाक्यलाई २०७७ कात्तिक ११ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।  २०७७ मंसिरमा उनलाई प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशको जिम्मेवारी दिइएको थियो । त्यस्तै, २०७७ फागुनमा उनले चार वर्षका लागि कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए। उनलाई यसअघि कार्यकारी निर्देशक नियुक्त गर्दा पनि केपी ओली नै प्रधानमन्त्री थिए । सरकार परिवर्तन भएपछि उनलाई २०७८ साउनमै कार्यकारी निर्देशकबाट हटाइएको थियो ।  आफूलाई हटाउनुको स्पष्ट कारण नभएको भन्दै शाक्यले सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट हालेका थिए ।

एसवाई प्यानलले असोज ७ गतेदेखि आइपीओ निष्काशन गर्दै

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्ने भएको हो ।  कम्पनीले भदौ २९ गतेदेखि आईपीओ निष्काशनको तयारी गरेपनि देशको विषम परिस्थितिका कारण असोज ७ गतेदेखि निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दालाई छुट्याएको छ ।  यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई छुट्याएको छ ।  उद्योग प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरे पश्चात् बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले छिटोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रभु बैंकको सौराहा र टाँडी शाखा, उद्योगको कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

चार्ली किर्क हत्या प्रकरणमा बाहिरियो गोप्य नोट, अभियुक्तले के लेखेका थिए ?

काठमाडौं । अमेरिकामा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कलाई गोली हानी हत्या गर्ने अभियुक्तबारे सरकारी वकिलहरूले ठूलो दाबी गरेका छन् । सरकारी अभियोजन पक्षका वकिलहरूका अनुसार अभियुक्तले आफ्नै कोठामा बस्ने साथीलाई लेखेको गोप्य सन्देशमा अपराध स्वीकार गरेका थिए । २२ वर्षका टायलर रोबिन्सनमाथि किर्कको हत्या गरेको आरोप लगाइएको छ । युटाका अधिवक्ता जेफ्री ग्रेले बताएअनुसार अभियुक्तले आफ्नो कोठामा बस्ने साथीका लागि कम्प्युटरको किबोर्ड मुनि नोट छोडेका थिए । उनले यो पनि बताएका थिए कि सो साथी अभियुक्तको प्रेमसम्बन्धी पार्टनर थिए। ग्रेअनुसार सो नोटमा लेखिएको थियो, ‘मलाई चार्ली कर्कलाई समाप्त गर्ने मौका मिलेको छ र म यो गर्न जाँदैछु ।’ अभियोजन पक्षले दुबै कोठासाथीबीच भएका टेक्स्ट सन्देशहरू पनि प्रस्तुत गरेका छन् । तीमध्ये एकमा अभियुक्तले कर्कलाई गोली हानेको स्वीकार गर्दै भनेका थिए कि उनी ‘उनको घृणाबाट दिक्क भएका कारण’ यस्तो कदम चालेका थिए । चार्ली किर्क अमेरिकाका सबैभन्दा चर्चित कन्जर्भेटिभ कार्यकर्ता र मिडिया हस्तीहरूमध्ये एक थिए । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भरपर्दा सहयोगी मानिन्थे । गत हप्ता बुधबार युटाको एक कलेजमा उनलाई गोली हानी हत्या गरिएको थियो ।

ठूला व्यावसायिक कम्पनी र ६ वटा बीमा कम्पनी ‘नेगेटिभ वाचलिष्ट’मा, रेटिङ खस्किने त्रास

काठमाडौं । जेनजी आन्दोलनले ठूलो क्षति बेहोरेका एक दर्जन कम्पनीहरु रेटिङ एजेन्सीको वाचलिष्टमा परेका छन् । यसअघि रेटिङ गराएका ती कम्पनीहरूलाई रेटिङ एजेन्सी इक्रा नेपालले नकारात्मक प्रभावको निगरानीमा राखेको हो ।  इक्रा नेपालले बुधबार विज्ञप्ति जारी गर्दै १३ वटा कम्पनीलाई नकारात्मक प्रभावको निगरानीमा राखेको जानकारी दिएको हो ।  इक्रा नेपालले ६ वटा बीमा कम्पनीलाई पनि सो सूचीमा राखेको छ । व्यावसायिक कम्प्लेक्समा ठूलो क्षति हुँदा ती कम्पनीहरूले ठूलो परिमाणमा बीमा दाबीको माग गर्छन् । ठूलो रकममा दाबी परेपछि त्यसको प्रत्यक्ष प्रभाव बीमा कम्पनीमा पर्ने गर्दछ । सोही कारण इक्रा नेपालले नेपाल पुनर्बीमा कम्पनी, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सलाई नकारात्मक प्रभावको निगरानीमा राखेको छ ।  विज्ञप्तिमा सम्बन्धित बीमा कम्पनीहरूको वित्तीय अवस्थामाथि परेको प्रभावलाई इक्रा नेपालले निरन्तर निगरानी गर्ने उल्लेख छ । परिस्थिति प्रष्ट हुँदै जाँदा रेटिङ निगरानी हटाउने वा आवश्यक रेटिङ कदम चाल्ने जानकारी पनि दिएको छ ।  एक्राले सीजी इम्पेक्स प्रा.लि., आईओएल प्रा.लि. भाटभटेनी सुपरमार्केट, चन्द्रागिरी हिल्स लिमिटेड, मौलाकाली केबलकार लिमिटेड, कैलाश हेलिकप्टर र ओरियन्टल होटललाई पनि सो सूचीमा राखेको जानकारी दिएको हो । विज्ञप्तिमा यी रेटिङ प्राप्त संस्थाहरूमा भौतिक क्षति निकै गम्भीर भएको र यसले व्यवसाय सञ्चालन, आम्दानी क्षमता र ऋण भुक्तानी क्षमतालाई असर पार्ने देखिएको उल्लेख छ ।  यी संस्थाहरूका लागि इक्रा नेपालले सञ्चालन पुनः सुरु हुने समयसीमा, भएको क्षतिको परिमाण र बीमाबाट पाउने वास्तविक क्षतिपूर्तिलगायत विषयहरू निगरानी गर्ने जानकारी दिएको छ । यसका साथै पर्यटन पूर्वाधारहरू (तारे होटल, केबलकार परियोजनाहरू) मा भएको क्षतिले नेपालको पर्यटन क्षेत्रमा असर पार्ने सम्भावना रहेको उल्लेख छ ।  सेप्टेम्बरदेखि नोभेम्बरसम्मको प्रमुख पर्यटन सिजन भइरहेको बेला यी घटनाले विदेशी पर्यटकको आगमन घट्ने अनुमान इक्रा नेपालको छ । यसले विदेशी पर्यटकमा बढी भर पर्ने संस्थाहरूमा ठूलो असर पार्न सक्ने अनुमान इक्राको छ ।

मन्त्री घिसिङले जलेका सवारीसाधन व्यवस्थापन गर्न दिए निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।   जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उनले बुधबार निर्देशन दिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ  ।   'कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरुप हुन दिनुभएन, यथासक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका सवारीसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरुप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गरौँ,' मन्त्री घिसिङले भनेका छन् ।    उनले  विनासबाट हामी उठ्यौँ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन दिए ।  मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने स्पष्ट गरे ।   सहरी विकास मन्त्रालयले मातहतका संरचनमा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ ।   

नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न आग्रह

काठमाडौं । केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौंका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई अनुरोध गरिएको बताए । महासङ्घले नेपालभरिकै फलफूल तथा तरकारी थोक व्यावसायी सङ्घलाई सम्बोधन गर्दै केरा आयात नगर्न पत्राचार नै गरेको उनले बताए । महासङ्घले गरेको अनुरोधपत्रमा हाल नेपालमा उत्साहजनक रूपमा केरा उत्पादन भइरहेको र विद्यमान अवस्थामा नेपालको उत्पादनले नै नेपाली केरा बजारको मागले दसैँ, तिहार र छठसम्मै थेग्न सक्ने अवस्था रहँदारहँदै पनि नेपाली बजारमा विदेशी केरा निर्वाध रूपमा आयात भइरहेको उल्लेख गरेको छ । यसरी केरा आयात हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा, रोजगारमा प्रत्यक्ष रूपमा असर पार्नुका साथै नेपाली व्यावसायिक केरा उत्पादक किसान विस्थापित हुनसक्नेसम्म खतरा बढ्नुका साथै सबै जिल्लाका किसान आक्रोशित भई आन्दोलनमा जानसक्ने खतरा बढेको अध्यक्ष पन्तले जारी गरेको अनुरोधपत्रमा उल्लेख छ । अनुरोधपत्रमा भनिएको छ, 'समयमै हामी सबै सङ्घसंस्था र व्यापारीले देशको विषम परिस्थितिलाई समेत मध्यनजर गर्दै यहाँले सम्बन्धित व्यापारीसँग समन्वय तथा छलफल गरी यही असोज ६ गतेभन्दा पछाडि कुनै पनि व्यापारीलाई भारतबाट केरा आयात नगर्न वा नगराउन अनुरोध गर्दछौँ । यदि व्यापारीले बलजफ्ती आयात गरेमा नेपाली किसान वा समर्थकले पुर्याउन सक्ने क्षतिको जवाफदेही पनि यो महासङ्घ नहुने जानकारी तथा अनुरोध गर्दछौँ ।' उक्त विषयमा केरा उत्पादक किसानका आठवटा समिति तथा प्रतिनिधिले संयुक्त रूपमा सूचना जारी गरेका छन् । चितवनस्थित केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतो, कैलालीका अध्यक्ष दीपेन्द्र थारू, कञ्चनपुरका अध्यक्ष सुरेन्द्र चौधरी, बर्दियाका अध्यक्ष टोपलाल थारू, नवलपरासीका अध्यक्ष लक्खु विक, चितवनका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी, कैलालीका उपाध्यक्ष टेकेन्द्र धामी र केरा जोन समन्वय समिति नवलपरासीका संयोजक युवराज मौर्यसहित हस्ताक्षरित विज्ञप्तिमा केरा आयातमा रोक लगाउनसमेत माग गरिएको छ । रासस

सुनको मूल्य तोलामा एक हजार घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । बुधबारका लागि सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँको कीर्तिमानी मूल्यमा किनबेच भएको थियो । त्यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर दुई हजार ५५० रुपैयाँमा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।  

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन् । उनले लोकतन्त्रको खम्बालाई कत्तै पनि कमजोर पार्न नहुने उल्लेख गरे । उनले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनःसंरचना गर्नेमा शंका रहेको टिप्पणी गरे । पुराना पार्टीहरूमा अझै पनि पुराना नेताहरूको उकुसमुकुस रहेको भन्दै आगामी दिनमा एउटा वृहत खालको राजनीतिक पुनःसंरचना हुनुपर्ने जरुरी देखिएको बताए । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब सिर्जना गरे राजनीतिक पुनःसंरचना सम्भव हुने जिकिर गरे । उनले भने, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो। निश्चित मितिमै चुनाव गर्नुपर्छ । पुराना दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपाको पुनःसंरचना हुन्छ जस्तो मलाई लाग्दैन । जेन–जेड भनिने २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब सिर्जना गरे राजनीतिक पुनःसंरचना सम्भव छ । कहिलेकाहीँ भुइँको टिप्छु भन्दा पोल्टाको पनि खस्छ, त्यसमा मैले सतर्क गराउँदै आएको छु ।’ अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधिसभा विघटनलाई गलत निर्णय बताउँदै आएका छन् ।