बीमा कम्पनीमा २० अर्ब ७० करोडभन्दा बढीको बीमा दाबी, सबैभन्दा धेरै ओरिएन्टलमा
काठमाडौं । जेनजी आन्दोलको क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिबाट २० अर्ब ७० करोड रुपैयाँभन्दा बढी दाबी परेको छ । प्राधिकरणले सार्वजनिक गरेको भाद्र ३१ गतेसम्मको प्रारम्भिक तथ्यांकअनुसार १४ निर्जीवन बीमक र ४ लघु निर्जीवन बीमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको दाबी परेको छ । प्राधिकरणका अनुसार १८ वटा बीमा कम्पनीमा १ हजार ८८४ वटा दाबी परेको छ । तथ्यांकअनुसार सबैभन्दा धेरै दाबी दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ । भाद्र ३१ गतेसम्म ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँको ४० वटा दाबी परेको छ । दोस्रो धेरै दाबी पर्ने कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीमा ४ अर्ब ९३ करोड २२ लाख रुपैयाँ बराबरको २५८ वटा दाबी परेको छ । त्यस्तै तेस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरमा २ अर्ब ३९ करोड ४ लाख रुपैयाँ बीमा दाबी परेको छ । उक्त कम्पनीमा ३६६ वटा दाबी परेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको तथ्यांकअनुसार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्समा ७८ करोड ९३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्समा ६ करोड ८२ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ । लघु निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै प्रोटेक्टिभ माइक्रोमा १ करोड १३ लाख रुपैयाँ दाबी परेको छ । त्यस्तै, स्टार माइक्रोमा ६७ लाख ७ हजार रुपैयाँ, नेपाल माइक्रोमा ५६ लाख ३६ हजार रुपैयाँ र ट्रस्ट माइक्रोमा ४२ लाख रुपैयाँबराबरको बीमा दाबी परेको प्राधिकरणको तथ्यांक छ ।
अब नेताले अह्राएको काम गर्नु पर्दैन : महान्यायाधिवक्ता भण्डारी
काठमाडौं । नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बराल कानुन व्यवसायी भएर ४० वर्षभन्दा कामभन्दा बढी काम गरिन् । विसं २०१७ पुस ६ गते राजविराजमा जन्मिएकी वरिष्ठ अधिवक्ता भण्डारी कानुन व्यवसायमा सक्रिय थिइन् । कानुनमा स्नातक गरेकी उनले केही वर्षअघि राष्ट्रिय सूचना आयोगमा सूचना आयुक्त भएर पनि काम गरिन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २९ गते उनलाई नेपाल सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा भण्डारीलाई नियुक्त गरेकी थिइन् । यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा महान्यायाधिवक्ता कार्यालय र देशभरका सरकारी वकिल कार्यालयमा पनि निकै क्षति भएको छ । प्रस्तुत छ, यस्तो संवेदनशील र जटिल अवस्थामा महान्यायाधिवक्ता कार्यालयको संरचना र कर्मचारीको मनोबल कसरी अघि बढाउने भन्नेबारेमा नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारी बरालसँग कालिका खड्काले गरेको कुराकानीको अंश : निकै कठिन परिस्थितिमा नेपालको पहिलो महिला महान्यायाधिवक्ता बन्नुभएको छ । कुन मनोबलका साथ काम अघि बढाउनुभएको छ ? पहिलोपटक महिला महान्यायाधिवक्ता हुँदा धेरैले शुभकामना दिइरहनुभएको छ । तर अवस्था यस्तो छ कि शुभकामना लिने र खुशी हुने अवस्था पनि छैन । शपथ लिँदा पनि सर्वोच्च अदालतमा धुँवाबीचमा लिनुपर्यो । अर्कोतिर आन्दोलनमा हाम्रै परिवारभित्रकै बच्चाहरू हुनुहुन्थ्यो । आन्दोलननमा हाम्रै बच्चा बित्नुभएको छ । उनीहरूको अन्त्यष्टि हुने काम भइरहेको छ । अस्पतालमा घाइतेहरूको क्रन्दन त्यतिकै छ । यो कठिन मोडमा जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो । मलाई यो अवसरका लागि सोधियो । जस्तोसुकै मोडमा पनि जिम्मेवारी आयो भने पूरा गर्नुपर्छ भनेर म आएँ । मलाई यस ठाउँका लागि योग्य भएर नै दिएको होला भन्ने लाग्यो । जिम्मेवारी पाएको बेला अठोटका साथ सत्य र निष्ठाका साथ पूरा गर्नुपर्छ भनेर आएको हुँ । आन्दोलनबाट उब्जिएका थुप्रै विषय छन् । भ्रष्टाचारविरोधी अभियान थियो ती बालबालिकाको । त्यसलाई सार्थकता दिन म काम गर्नेछु । यसलाई मैले चुनौतीको रूपमा पनि स्वीकार गरेको छु । यो ठाउँलाई जीवन्त राख्ने काम गर्नेछु । ‘जेन जी’ पुस्ताले जुन सोचका साथ मुलुक बनाउन आन्दोलन गरेका थिए, त्यो अनुरुप काम गर्नुपर्छ । सकेसम्म राम्रोसँग जिम्मेवारी पूरा गर्छु । सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षाको अवस्थालाई कसरी लयमा ल्याउने तयारी गर्नु भएको छ ? भर्खरै शपथ लिएर पदभार सम्हालेकी छु । महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी कार्यालयसँग कुराकानी भइरहेको छ । महान्याधिवक्ता कायालयको फैसला, अभियोजन पत्र र महत्वपूर्ण कागजात सुरक्षित छन् । त्यो खुशीको कुरा हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयमा भएका मुद्दाका फाइल सर्वोच्च अदालतलाई पनि दिएर सहयोग गर्नुपर्ने हुनसक्छ भन्नुभएको छ । तर जिल्ला सरकारी वकिल कार्यालयका फाइल चाहीँ जलेको छ । सरकारी वकिल कार्यालयका प्रमुख, कर्मचारी पनि विक्षिप्त अवस्थामा हुनुहुन्छ । भर्खरै पनि सरकारी वकिल कार्यालयका प्रमुखहरूले विस्तृतरूपमा जानकारी गराइरहनुभएको थियो । परिस्थिति दुःखद् खालको छ । महान्यायाधिवक्ता कार्यालयमा प्रवेश गर्ने बित्तिकै धुँवाको गन्ध आउँछ । कति जलेको छ, कति फुटेको छ । फुटेका सिसा यत्रतत्र देखिन्छन् । सबै कर्मचारी हतास छन् । बस्ने कुर्सी छैन । कम्प्युटरहरू फुटेका छन्, जलेका छन् । अब कसरी काम गर्ने भन्ने विषयमा योजना बनाइरहेका छौँ । सबैभन्दा पहिला कर्मचारीको मनोवल उठाउने काम गर्नु पर्नेछ । केही समय लाग्ला तर काम गर्छौँ । मुद्दाका फाइल सुरक्षित हुनु पनि महत्वपूर्ण कुरा हो । विशेष अदालतमा पनि धेरै फाइल सुरक्षित छन् भन्ने जानकारी छ । त्यो राम्रो भयो । जेनजी आन्दोलनका क्रममा कति सरकारी वकिल कार्यालयमा क्षति भएको छ ? महान्यायाधिवक्ता कायालय पनि जलेको छ तर पूणरूपमा क्षति भएको छैन । झ्यालका सीसा धेरै फुटेका छन् । कागजात धेरै जलेको पनि छ । अहिलेसम्मको जानकारीमा २५ वटा सरकारी वकिल कार्यालय धेरै जलेका छन् भन्ने छ । क्षतिको विवरण आइरहेका छन् । यो विषम परिस्थितिमा राज्यसँग आश गर्ने अवस्था पनि छैन । आफ्नो आन्तरिक स्रोतबाट के के गर्न सकिन्छ गर्दै जाने हो । न्यूनतम् स्रोत साधनमा र आवश्यकतामा भए पनि काम सुरु गर्ने तयारी गरेका छौँ । क्षतिको विवरण आउँदैछ । लयमा आउन केही समय लाग्ला । विस्तारै क्षतिको विवरण आउँदैछ । सरकारवादी मुद्दा बढी हार्छन् भन्ने छ । सरकारवादी मुद्दामा बढी सफलता पाउन र छिटोछरितो न्याय दिन कस्तो योजना बनाउनु भएको छ ? यसमा धेरै काम गर्न सक्छु भन्ने अवस्था छैन । कार्यकाल पनि छोटो छ । कार्यालय जेलेको र कर्मचारीको मनोबल खस्किएको परिस्थिति छ । चाडपर्व नजिकै आइरहेको छ । म पनि कानुन व्यवसायीबाट आएको हुँ । सरकारी वकिलहरू सक्षम हुनुहुन्छ । सरकारी वकिलको प्रस्तुती राम्रो छ । भर्खरका वकिलको प्रस्तुती देख्दा आफू त्यो बेला यसरी प्रस्तुत गर्न नसकेको महसुस हुन्छ । नवयुवा सरकारी वकिल अझै राम्रो सक्षम र प्रतिस्पर्धी हुनुहुन्छ । सरकारी वकिलका कारणले मुद्दामा ढिलाइ हुँदैन । मुद्दा ढिला र चाँडो गराउन सरकारी वकिलको हात हुँदैन । सरकारी वकिलले मुद्दा रोक्ने गरेको पनि मलाई याद छैन । हाम्रो अदालती प्रक्रिया नै लामो छ । सरकारी वकिल प्रतिरक्षा गर्ने क्षमता छैन भन्ने मलाई लाग्दैन । मुद्दा लम्बिने पनि हुँदैन । मेरो जीवनको अनुभवमा यस्तो त्यस्तो भेटेको पनि छैन । महिला महान्यायाधिवक्ता हुँदा सरकारी महिला वकिललाई कस्तो प्रोत्साहन मिल्छ ? म पनि नयाँ छु, बुझदै छु । जे छ त्यही कुरालाई अघि बढाउने हो । संयोग मलाई अहिले महान्यायाधिवक्ता हुने अवसर मिल्यो । दक्षिण एसियामा राज्यका प्रमुख अङ्गमा महिला पुगेको अवस्था छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, महान्यायाधिवक्ता सबै महिला भएका छन् । संवैधानिक आयोगमा पनि हुनुहुन्छ । त्यो असाध्यै राम्रो विषय हो । सरकारी वकिल महिलाको सम्मेलन यही भदौ २३ र २४ गते भएको थियो । उद्घाटन र केही सत्र चल्यो तर आन्दोलनका कारण समापन हुन पाएको छैन । यही असोज २ गते समापन गर्नेछौँ । त्यो घोषणापत्रमा महिला सरकारी वकिलले के के आवश्यकता थियो । के चाहनुभएको थियो अनभिज्ञ छु । उहाँहरूको समस्या र गर्नुपर्ने विषय अध्ययन गरेर म काम गर्छु । अन्त्यमा, भन्नैपर्ने केही छ कि ? यतिबेला हरेक क्षेत्रमा चुनौती धेरै छन् । चुनौतीभित्र अवसर पनि छ । हिजोको परिस्थिति र अहिलेको परिस्थिति फरक छ । नेताहरूले अराएको काम मात्र गर्नुपर्ने हुन्थ्यो तर अहिले त्यो अवस्था छैन । म बदमासी गर्दिन । घुस खाने कुरा भएन । कठिन मोडमा जुन अवसर मिलेको छ । राष्ट्रका लागि केही गर्छु भनेर नै आएको हुँ । विगतका राम्रा कामलाई निरन्तरता दिन्छु । सुधार गर्नुपर्ने काममा पनि म निरन्तर लाग्नेछु । इमान्दर भएर काम गर्नेछु । जति सक्छु मेरो कार्यकालमा राम्रो गर्ने प्रयास सधैँ रहनेछ । रासस
दशैंमा भायानेटको अफर : इन्टरनेट जडान वा रिन्युमा छुट र आकर्षक उपहार
काठमाडौं । भायानेटले दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकका लागि अफर सार्वजनिक गरेको छ । प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझ ठूलो आकर्षक अफर ल्याएको जनाएको छ । यस अफर अन्तर्गत नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो सेवा नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन् । कम्पनीका अनुसार ३ हजार रुपैयाँ पर्ने मेस राउटरलाई ५०० रुपैयाँ छुटसहित २ हजार ५०० रुपैयाँमा उपलब्ध गराइनेछ । त्यस्तै, १० हजार ७४९ पर्ने डूअल ब्याण्ड फोन ‘जेडटिई नुबिया ए३६’ छुटसहित ८ हजार ९९९ रुपैयाँमा पाइनेछ। साथै, ४३ इन्चको हिमस्टार स्मार्ट टिभी २७ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । यसबाहेक, इसेवा एपमार्फत ८ हजार ४०० रुपैयाँ भन्दा माथि भुक्तानी गर्ने ग्राहकले प्रोमोकोड भीआइए ३०० प्रयोग गरी ३०० रुपैयाँ क्यासब्याक पाउनेछन् । त्यस्तै, ग्राहकले 'स्पीन द व्हील' कार्यक्रममा भाग लिएर थप १ महिना, २ महिना वा १२ महिनासम्म निःशुल्क इन्टरनेट सेवा पाउने अवसर पनि पाउनेछन् ।
एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेले दिए राजीनामा, यस्तो छ कारण
काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् । उनले बुधबार बैंक सञ्चालक समिति समक्ष राजीनामा पत्र बुझाएको सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए । उनका अनुसार बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ न्यौपानेको राजीनामा स्वीकृत गरेको हो । स्वास्थ्यमा आएको समस्याका कारण न्यौपानेले सीईओ पदबाट राजीनामा दिएको उनले बताए । ‘उहाँ योबीचमा भारत जानु भयो । भारतमा स्वास्थ्यमा समस्या आयो । उहाँको कार्यकाल पनि धेरै छैन । डाक्टरको सुझाव अनुसार रेष्ट गर्नुपर्ने भएकाले राजीनामा नै दिने निर्णय गर्नु भयो,’ उनले भने, ‘म्याडम (न्योपानेकी श्रीमती)को गाइनो सम्बन्धी समस्या छ । उहाँ (न्यौपाने)को नाकको समस्या भएर अप्रेशन गर्नु पर्याे ।’ न्यौपाने पहिलाेपटक २०७५ मंसिरमा बैंकको सीईओमा नियुक्त भएका थिए । ४ वर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरेपछि बैंक सञ्चालक समितिले न्यौपानेलाई दोस्रोपटक २०७९ कात्तिकमा बैंकको सीईओमा नियुक्त गरेको थियो । उनको दोस्रो कार्यकालको समय बाँकी नै छ । तर, दोस्रो कार्यकालको समय बाँकी हुँदा उनले राजीनामा दिएका हुन् । बैंक सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीलाई कायममुकायम सीईओको जिम्मेवारी तोकेको छ ।
जनमतका वरिष्ठ उपाध्यक्षसहित ६ जनाको सामूहिक राजीनामा
काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले बुधबार पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउत र सङ्गठन विभाग डा. जयकान्त राउतको २४ घण्टाभित्र स्वेच्छिक राजीनामाको माग गरेका थिए । माग पुरा नभएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रवक्ता यादवले जानकारी दिए । 'देशको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरुप पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित हामीले माग गरेको राजिनामा पत्रलाई तपाईँले अपहेलना गरी जेनजीले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अङ्हकारको भाषामा आफ्नो आधिकारीक फेसबुकमार्फत धारणा सार्वजनिक गरी सकेपछि हाम्रो ध्यानकर्षण भएको छ', राजीनामा पत्रमा भनिएको छ, 'त्यसैलाई आधार मानी आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी हामी पार्टीबाट राजीनामा गर्दछौँ ।'
प्रधानमन्त्री कार्की र मोदीबीच फोनवार्ता, के भयो कुराकानी ?
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरेका थिए । साथै उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराएका थिए । यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गरेका थिए । वार्ताका क्रममा प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका थिए । छिमेकी दुई देशका सरकार प्रमुखहरूबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।
डेरा खोज्दै ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली डेरा खोज्दै छन् । भक्तपुरको बालकोटस्थित उनको निजी निवास हालैको जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि नयाँ बासस्थानको खोजी भइरहेको एमाले स्रोतले जनाएको छ । ओली हाल नेपाली सेनाको कडा सुरक्षामा छन् । एमालेका एक नेताका अनुसार ओलीको सुरक्षालाई ध्यानमा राख्दै उपयुक्त स्थानमा डेरा मिलाइएपछि मात्र उनी सार्वजनिक हुने तयारीमा छन् । ‘अध्यक्षज्यूको निवास पूर्ण रूपमा क्षतिग्रस्त भएकाले अहिले डेरा खोज्दैछौं । डेरा सरेपछि मात्र उहाँ सार्वजनिक हुने हुनुहुन्छ,’ ती नेताले भने । आन्दोलनपछि विभिन्न राजनीतिक दलका बैठकहरू सुरु भए पनि एमाले औपचारिक रूपमा सहभागी हुन सकेको छैन । ओली नेताहरूसँग सम्पर्कमा भने निरन्तर रहेका छन् र आफू बाहिर आएपछि मात्र बैठकमा सहभागी हुने बताएका छन् । एमाले भित्रका नेताहरूले ओलीको शीघ्र सार्वजनिक उपस्थिति र पार्टीलाई सक्रियतामा फर्काउने तयारी गरिरहेको बताएका छन् । राजनीतिक वृत्तमा समेत ओलीको डेरा चयन र उनी कहिले सार्वजनिक हुने भन्ने विषय चासोको विषय बनेको छ ।
तेस्रो पटक नेगेटिभ सर्किट लागेपछि सेयर कारोबार बन्द, यी कम्पनीको मूल्य सर्वाधिक घट्यो
काठमाडौं । सेयर बजारमा तेस्रो पटक नेगेटिभ सर्किट लागेपछि आजका लागि कारोबार बन्द भएको छ । यसअघि २ पटक नेगेटिभ सर्किट लागेर स्थगित भएको सेयर कारोबार तेस्रो पटक फेरि हल्ट भएर कारोबार नै बन्द गरिएकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । आज नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १६०.३३ अंकले घटेर २ हजार ५११.९१ अंकमा झरेको छ । बिहीबार ७२ करोड ८७ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । यसअघि नेप्से खुलेको २ मिनेटमा ४ प्रतिशत अर्थात् १०७.०४ अंक घटेपछि २० मिनेट स्थगित भएको थियो । २० मिनेटपछि पुनः सेयर कारोबार हुँदा ५ प्रतिशत अर्थात् १३३.६१ अंकले घटेपछि फेरि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । जेनजी आन्दोलन पश्चात् पहिलो पटक खुलेको बजारमा तेस्रो पटक ६ प्रतिशतले ओरालो लागेपछि आजका लागि कारोबार बन्द गरिएको नेप्सले जनाएको छ । बिहीबार बैंकिङ समूह ५.५२ प्रतिशत, विकास बैंक समूह ५.१३ प्रतिशत, फाइनान्स समूह ४.५२ प्रतिशत, होटल तथा पर्यटन समूह ७.२४ प्रतिशत, जलविद्यत् समूह ५.४० प्रतिशत, लगानी समूह ७.१८ प्रतिशत, जीवन बीमा समूह ६.६६, उत्पादन तथा प्रशोधन ५.०२ प्रतिशत, माइक्रोफाइनान्स ४.०८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.३१ प्रतिशत, निर्जीवन बीमा समूह ५.४२ प्रतिशत, अन्य समूह ७.४८ प्रतिशत र व्यापार समूह ९.३४ प्रतिशत घटेको नेप्सले जनाएको छ । आज २१७ कम्पनीको सेयर मूल्य घटेपनि ९ कम्पनीको सेयर मूल्य बढेको छ । आज हिमस्टार उर्जा कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत, अभियान लघुवित्त र रावा इनर्जीको २/२ प्रतिशत सेयर मूल्य घटेको हो । बिहीबार उन्नती सहकार्य लघुवित्त, नेपाल रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, ट्रेड टावर, सिन्धु विकास बैंक, सोल्टी होटल, आईजीआई प्रडेन्सियल इन्स्योरेन्स, सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशत घटेको छ । यस्तै, क्रेस्ट माइक्रो इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.९९ प्रतिशत, चन्द्रागिरी हिल्स, शिखर इन्स्योरेन्स, हिमालयन पावर, नेशनल हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ ।