गण्डकीका ४६१ कैदीबन्दी अझै फरार
पोखरा । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकीका विभिन्न कारागारबाट भागेका १ हजार १९५ कैदीबन्दीमध्ये आइतबारसम्ममा ७३४ कैदीबन्दी कारागार फर्किएका छन् । ४६१ कैदीबन्दी अझै फरार अवस्थामा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कारागार कार्यालय, कास्कीबाट भागेका ७७३ कैदीबन्दीमध्ये ३८१, तनहुँ कारागारबाट भागेका ३२७ मध्ये २७६, म्याग्दी कारागारबाट भागेका ७६ मध्ये ६७ जना र पर्वत कारागारबाट भागेका १९ मध्ये १० जना कैदीबन्दी कारागार फर्किएका हुन् । कास्की कारागारबाट भागेका ३९२, तनहुँ कारागारका ५१, म्याग्दी र पवर्त कारागारका नौ/नौ जना अझै पक्राउ पर्न नसकेको सूचना अधिकारी कार्कीले बताए । कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको उनको भनाइ छ । भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । जेनजी आन्दोलनका क्रममा चारवटै कारागारमा रहेका कुल १ हजार २ ८१ कैदीबन्दीमध्ये १ हजार १९५ जना भागेका थिए । प्रदेशका अन्य केही कारागार कार्यालयबाट पनि कैदीबन्दी भाग्न खोजेपनि कडा सुरक्षा व्यवस्थाका कारण उनीहरू भाग्न सकेका थिएनन् । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी बस्नेतले बताए । उनका अनुसार हिरासतबाट ८३ थुनुवा भागेका थिए । यस्तै कास्कीको सराङकोटमा रहेको बाल सुधारगृहबाट भागेका एक सय छ जना बाल बन्दीमध्ये ४६ जना सुधारगृहमा फर्किएको जनाइएको छ । कारागार र प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई आफै कारागार फर्कन सुरुदेखि नै आग्रह गरेका छन् । टोलछिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी वा थुनुवा देखेमा कारागार कार्यालय र प्रहरीमा खबर गर्न अनुरोध गरिएको सूचना अधिकारी बस्नेतले बताए । कारागार व्यवस्थापन विभागले कैदीबन्दी आफै कारागार नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर उनीहरूलाई फर्काउने योजना बनाएको छ ।
काठमाडौंमा सुरु भयो दोस्रो पक्कु फेस्टिवल
काठमाडौं । प्रेसिडेन्ट बिजनेस ग्रुपद्वारा आयोजित दोस्रो पक्कु फेस्टिवल २०८२ सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । सोमबार ९ः४५ बजे नवरात्रको प्रथम दिन नौ कन्याहरूबाट पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा विशेष महत्वसहित नव कन्याहरूलाई भोजन र टीका लगाई कन्याहरूका हातबाट कार्यक्रम शुभारम्भ गरिएको अध्यक्ष टिआर भण्डारी (शंकर) ले जानकारी दिए । वि.सं. २०६३ सालमा सुन्धाराबाट सुरु भएको प्रेसिडेन्टको व्यवसायिक यात्राले हाल १९ वर्ष पार गरिसकेको छ हाल प्रेसिडेन्ट होटल, रेस्टुरेन्ट, सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट र प्रेसिडेन्ट बेकरीसहित मुलुकका १६ स्थानबाट सेवा दिइरहेको समूहले वि.सं. २०६८ सालदेखि ‘प्रेसिडेन्ट बिजनेस ग्रुप’ नाममा ब्रान्डिङ गर्दै आएको छ । गत वर्ष आयोजित पहिलो पक्कु फेस्टिवल–२०८१ को सफलतापछि यस पटक दोस्रो पटक यो फेस्टिवल आयोजना गरिएको हो । प्रेसिडेन्ट सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट, महाराजगञ्जमा आयोजना भएको यस फेस्टिवलमा दशैंसँग सम्बन्धित स्थानीय हस्तकला, सांस्कृतिक बाजा, परम्परागत परिकार र पक्कु खानाको प्रदर्शनी हुने जनाइएको छ । फेस्टिवलले विशेषगरी नयाँ पुस्तालाई संस्कृति, रहनसहन, खानपान र परम्परासँग जोड्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। साथै, शहरमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै गाउँ टाढिएका मानिसलाई पर्वको माहोल दिने उद्देश्य पनि रहेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले भने, ‘आर्थिक व्यापारभन्दा बढी यो फेस्टिवलले मनोरञ्जन, परम्परा र हाम्रो मौलिकताको जगेर्नामा जोड दिनेछ ।’
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
काठमाडौं । सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली सञ्चालन गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटिजिएस प्रणाली सञ्चालनमा रहनेछ । 'सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा रहेता पनि आरटिजिएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने भएको छ', राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ । आरटिजिएस ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ ।
साउन र भदौमा एक खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी समान भित्रिएका हुन् । जबकी गत आवको दुई महिनाको अवधिमा भने एक खर्ब २२ अर्ब ३२ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आवको दुई महिनाको तुलनामा चालु आवमा आयात र निर्यात दूवैमा वुद्धि भएको जानकारी दिए । ‘गत आवको दुई महिनाको तुलनामा चालु आवमा २४ अर्ब ३२ करोड बढी सामान भित्रिएका छन्,’ उनले भने, 'आयात मात्रै होइन् राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ ।' वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखनीय सुधार भएको छ । गत आवको दुई महिनामा ६ अर्ब पाँच करोड मूल्यको सामान विदेशीमूलक निर्यात भएको थियो । तर, चालु आवको दुई महिनामा यो नाका हुँदै रु १७ अर्ब तीन करोड मूल्य बराबरको सामान निर्यात भएको छ । गत आवको दुई महिनाको तुलनामा चालु आवमा १० अर्ब ९८ करोड बढीको सामान निर्यात भएको देखिन्छ ।
१७ वर्षको यात्रापछि वारेन बफेटले चीनको बीवाईडी छाडे
काठमाडौं । वारेन बफेटको बर्कशायर हाथवे चीनको बीवाईडीबाट पूर्ण रूपमा बाहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । वारेन बफेटको बर्कशायर हाथवेले चिनियाँ अटोमेकर बीवाईडीबाट पूर्ण रूपमा लगानी फिर्ता लिएको फाइलिङमा देखाइएको छ । यससँगै १७ वर्षको लगानी अन्त्य भएको छ, जसको मूल्य यस अवधिमा २० गुणाभन्दा बढी बढेको थियो । बर्कशायरको ऊर्जा सहायक कम्पनीको फाइलिङअनुसार २०२५ मार्च अन्त्यसम्म बीवाईडीमा गरिएको लगानीको मूल्य शून्य देखाइएको छ, जुन २०२४ अन्त्यमा ४१५ मिलियन डलर थियो । बफेटको कम्पनीले सन् २००८ मा सेन्जेनमा आधारित बीवाईडीमा करिब २२५ मिलियन सेयर खरिद गर्दै २३० मिलियन डलर लगानी गरेको थियो, जसले त्यतिबेला कम्पनीमा करिब १० प्रतिशत स्वामित्व दिएको थियो । २०२२ मा बर्कशायरले ती सेयर बेच्न सुरु गर्यो, जब बीवाईडीको सेयर मूल्य २० गुणाभन्दा बढी बढिसकेको थियो। सोमबार टिप्पणीका लागि गरिएको अनुरोधमा बर्कशायरले तत्काल प्रतिक्रिया दिएको छैन । सीएनबीसीले आइतबार बर्कशायरले आफ्नो हिस्सेदारी बिक्री पूरा गरेको समाचार पहिलो पटक दिएको थियो । बीवाईडीका ब्रान्डिङ र सार्वजनिक सम्बन्धका महाप्रबन्धक ली युनफेईले आफ्नो आधिकारिक वेइबो खातामा पोष्ट गर्दै बर्कशायरलाई ‘गत १७ वर्षमा गरेको लगानी, सहयोग र साथका लागि’ धन्यवाद दिएका छन् । उनीहरूले यस हिस्सेदारी बिक्रीलाई ‘सामान्य’ सेयर लगानीको कारोबारको रूपमा वर्णन गरेका छन् । थप टिप्पणीका लागि गरिएको अनुरोधमा बीवाईडीले तत्काल प्रतिक्रिया दिएको छैन । टेस्लाको सबैभन्दा ठूलो प्रतिस्पर्धी बीवाईडीको साढे तीन वर्षपछि पहिलो पटक त्रैमासिक नाफा घटेको छ, किनकि मूल्ययुद्धविरुद्धको सरकारी अभियानबीच यसको विस्तारमा अवरोध आएको छ । बीवाईडीको घरेलु बिक्री, जसले यसको विश्वव्यापी आपूर्तिको करिब ८० प्रतिशत हिस्सा ओगटेको छ, अगस्त महिनामा लगातार चौथो पटक घटेको छ । रोयटर्सका अनुसार कम्पनीले वार्षिक बिक्री लक्ष्य १६ प्रतिशतसम्म घटाएर ४.६ मिलियन गाडी बनाएको छ । विशेषज्ञहरूका अनुसार बर्कशायरले लामो समयपछि नाफा काट्ने रणनीति अपनाएको र चीनको बजारमा बढ्दो प्रतिस्पर्धा तथा राजनीतिक जोखिमलाई ध्यानमा राखी सेयर बिक्री गरेको अनुमान गरिएको छ । चीन–अमेरिका सम्बन्धमा चिसोपन बढ्दै जाँदा विदेशी लगानीकर्ताहरू सतर्क देखिएका छन् । बीवाईडी हाल विश्वकै ठूलो विद्युतीय गाडी उत्पादक कम्पनीमध्ये एक बनेको छ र टेस्लासँग प्रत्यक्ष प्रतिस्पर्धामा छ । तर हालको मूल्यांकन उच्च भइसकेको र भविष्यमा मुनाफा घट्नसक्ने सम्भावनाले बर्कशायरले लगानी फिर्ता गरेको हुनसक्ने विश्लेषण गरिएको छ । बर्कशायर हाथवे विश्वकै सबैभन्दा सफल लगानी कम्पनीमध्ये एक मानिन्छ। प्रारम्भमा कपडा उद्योगका रूपमा स्थापना भएको यो कम्पनीलाई बफेटले सन् १९६५ मा नियन्त्रण लिएर लगानी होल्डिङ कम्पनीमा रूपान्तरण गरेका थिए । हाल बर्कशायर हाथवेले बीमा, रेल्वे, ऊर्जा र उपभोक्ता उत्पादन क्षेत्रमा ठूलो लगानी गरेको छ । यसका पूर्ण स्वामित्वका कम्पनीहरूमा गाइको, बीएनएसएफ रेल्वे , डेरी क्विन र ड्युरासेल जस्ता प्रसिद्ध ब्रान्डहरू छन् । साथै एप्पल, कोका–कोला, अमेरिकन एक्सप्रेस र बैंक अफ अमेरिका जस्ता बहुराष्ट्रिय कम्पनीमा यसको ठूला हिस्सेदारी रहेको छ । संसारकै सबैभन्दा महँगो सेयरको रूपमा चिनिने बर्कशायर हाथवेका क्लास–ए सेयरको मूल्य लाखौं अमेरिकी डलरसम्म पुग्छ । दीर्घकालीन लगानी रणनीतिका लागि चिनिने वारेन बफेटलाई ‘ओराकल अफ ओमाहा’ नामले समेत पुकारिन्छ । हुवावेको एटलस ९५० : एनभीडीयालाई हल्लाउने ‘एआई बम’ !
सुन प्रतितोला दुई लाख १७ हजार ८०० पुग्यो
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार सुन प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा सोमबार सात सय रुपैयाँ बढेको हो । त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय ५० रुपैयाँमा खरिद बिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
नेपाल टेलिकमले ल्यायो चाडपर्व अफर, ५ हजार रुपैयाँसम्मको छुट र अनलिमिटेड डेटा सुविधा
काठमाडौं । नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि अफर सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको ‘दसैं–तिहार–छठ अफर २०८२’ अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटसहित विभिन्न मोबाइल सेवा प्याकेज उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क (रु. ५,०००) पूर्ण रूपमा मिनाहा गरिनेछ । यसैगरी जीएसएम सेवामा विशेष डेटा प्याकेजसमेत उपलब्ध गराइएको छ । रु. ४९९ मा ५ जीबी ‘फेस्टिवल अनलिमिटेड’ र रु. ६९९ मा १० जीबी ‘फेस्टिवल अनलिमिटेड प्रिमियम’ डेटा प्याकेज खरिद गर्न सकिनेछ । यी प्याकेजमा प्रतिदिन तोकिएको भोल्युम सकिएपछि पनि क्रमशः २ एमबीपीएस र ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, रु. २५० मा १००० मिनेट अल–नेट भ्वाइस सुविधा उपलब्ध हुने ‘जॉयफुल मिनेट्स’ प्याकेज र रु. ९९ मा १००० अन–नेट एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यी प्याकेजको समयावधि प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिन तोकिएको छ । जीएसएम सेवाका प्याकेज असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछन् । अफर प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट 14153# डायल गर्न वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । कम्पनीले विभिन्न चाडपर्वको अवसरमा उपलब्ध गराइने यस्ता अफरहरूले आफन्तसँग खुशी बाँड्न, सम्पर्कमा रहन र डिजिटल सेवाको प्रयोगलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।
गोरखा दरबारको दसैँघरमा जमरा राखियो
गोरखा । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । वडादसैँ अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९:१३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । परम्परा अनुसार आज बिहान कैलास कोठाबाट देवी भगवतीलाई मूलदरबारको गर्भगृह (पूजा कोठा) मा राखेपछि लगत्तै पानी घडा थापेर त्यसैको शुभसाइतमा जमरा राखिएको उनले बताए । ‘कैलास कोठामा देवीलाई राखेपछि बिहानको शुभसाइतमा विधिपूर्वक घटस्थापना अर्थात जमरा राखिएको हो’, उनले भने, ‘जमरा राख्ने तयारीका लागि त्यसअघि नै कालिका मन्दिरको पटाङगिनीमा देवीको पूजामा प्रयोग हुने भाँडावर्तन माझ्ने तथा शैलपुत्रीको पूजाका लागि आवश्यक सामाग्री तयार पार्ने काम गरिन्छ ।’ गोरखा दरबारको दसैँघर र कालिका मन्दिरमा एक–एक पाथीका दरले जौँको जमरा राखिएको उनले बताए । गोरखनाथ मन्दिरमा चार माना तथा उपल्लो कोट र तल्लो कोटमा एक–एक मानाका दरले जमरा राखिएको मूलपूजारी भट्टराईले बताए । घटस्थापनाका दिन गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दुधर्मालम्बीले घर–घरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै आजदेखि कालिका मन्दिरमा नियमित रुपमा बलि दिने प्रचलनसमेत रहेको छ । गोरखाको अर्को प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज बिहानको शुभसाइतमा जमरा राखिएको मन्दिरका मूलपूजारी इन्सान थापाले जानकारी दिए । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहेको पाइन्छ ।