२ हप्तामै मुस्ताङ भन्सारले उठायो डेढ अर्ब राजस्व, भित्रिए ७६९ वटा ईभी, ५ वटा कन्टेनर चीनतर्फ लागे
काठमाडौं । दुई हप्तामै मुस्ताङ भन्सारले डेढ अर्ब राजस्व संकलन गरेको छ । मुस्ताङको लोमान्थाङ-२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले सञ्चालनमा आएको दुई हप्तामै १ अर्ब ३७ करोड ७० लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत भदौमा रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण नाका अवरुद्ध हुँदा भन्सार विभागले यहाँको कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोगमा ल्याएको थियो । यो नाका भदौ ३० देखि पूर्ण रूपमा सञ्चालनमा आएको दुई हप्तामै राजस्व सङ्कलनमा निकै सुधार आएको कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिए । उनले दुई हप्ताको अवधिमा ७९१ मध्ये ७६९ वटा विद्युतीय सवारी साधन (ईभी)को भन्सार जाँच पास सम्पन्न गरी गन्तव्यतर्फ पठाइसकेको बताए । यसैगरी यहाँबाट भित्रिएका ३११ वटा माल वाहक ढुवानी कन्टेनरमध्ये २४६ वटा माल वाहक कन्टेनरको भन्सार जाँच पास सम्पन्न भई गन्तव्यतर्फ प्रस्थान गरेको भन्सार प्रमुख खड्काले बताए । भन्सारमा चीनबाट मालवस्तु ढुवानी गरी नेपाल भित्रिएका ६५ वटा मालवाहक कन्टेनरको भन्सार जाँच पास हुन बाँकी रहेको छ । ठूलो परिमाणमा मालवस्तु आयात हुँदा यस नाकाबाट हालसम्म पाँचवटा मालवस्तु कन्टेनर मात्र चीनतर्फ निकासी भएका छन् । भन्सार प्रमुख खड्काले नेपालबाट हस्तकलाका सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी भएको जानकारी दिए । चीनबाट मालसामान आउने क्रम जारी रहेकाले विभागले दसैँको टीकाको दिनबाहेक अन्य समयमा भन्सारको कार्यसम्पादन जारी रहने जनाइएको छ ।
शिक्षकले पाउँदैनन् नियमित तलब: आइतबारसम्म नदिए कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी
प्रकाश सिलवाल काठमाडौं । सामुदायिक विद्यालयका कतिपय शिक्षकहरूले समयमा तलब नपाएका बारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चासो दिएपछि कुन स्थानीय तहका कुन विद्यालयका शिक्षकले तलब पाउन बाँकी छ भन्ने खोजी सुरु भएको छ । शिक्षामन्त्री पुनले केन्द्र सरकारबाट रकम निकासा भइसकेको अवस्थामा सामुदायिक विद्यालयका कतिपय शिक्षकहरूले दसैँ आए पनि तलब नपाएको गुनासो सुनिएको भन्दै आइतबारसम्म तलब दिन सम्बन्धित स्थानीय तह र प्रधानाध्यापकलाई ध्यानाकर्षण गराए । उनले बिना कारण शिक्षकको तलब नदिने स्थानीय तह र प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी पनि दिए । केन्द्र सरकारले प्रचलित कानुन वा निर्देशन नमान्ने स्थानीय तहको सम्बन्धित शीर्षकको अनुदान रोक्का गर्न सक्छ तर जनप्रतिनिधिलाई सिधै कारबाही गर्न भने सक्दैन । प्रधानाध्यापकलाई पनि केन्द्र सरकारले आवश्यक कारबाही गर्न सक्नेछ । स्थानीय तहले हरेक तीन/तीन महिनाको रकम निकासा दिएपछि सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले तीन महिनाको एकमुस्ट तलब पाउँछन् । आन्तरिक स्रोत हुने विद्यालयले मासिक तलब खुवाएर पालिकाबाट निकासा आएपछि शोधभर्ना गर्छन् । कतिपय स्थानीय तहमा प्रमुख र उपप्रमुखको विवादका कारण पनि समयमा तलब नपाउने समस्या हुने गरेको छ । निजी (संस्थागत) विद्यालयका शिक्षकको सेवा सुविधाबारे आफ्नै समस्या छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरूले समयमा तलब खान पाऊन् भन्ने भावनाका साथ शिक्षामन्त्री पुनबाट ध्यानाकर्षण हुनुलाई सकारात्मक मान्दै नयाँ मन्त्री भएकाले प्रक्रियागत विषयमा केही अस्पष्टता हुन सक्ने बताए । उनले विद्यालयमा स्थानीय तहबाट रकम आइसकेपछि प्रधानाध्यापकले बिना कारण तलब नरोक्ने स्पष्ट गरे । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष हंस बहादुर शाहीले आफूहरूले मासिक रूपमा शिक्षक/कर्मचारीले तलब पाउनुपर्छ भन्ने आवाज उठाएपछि गत वर्ष केन्द्र सरकारबाट ‘सर्कुलर’ जारी भएको बताए । अहिले पनि कतिपय पालिकामा समस्या कायमै रहेको उनले गुनासो गरे । उनले सङ्खुवासभाको मादी नगरपालिका र अन्य केही स्थानीय तहले करार शिक्षकको अवधि थप नभएको भन्दै तलब रोक्का गरेको विषयमा आफूहरूले सरोकार भएका निकायको ध्यानाकर्षण गराउँदै आइएको जनाए । काठमाडौंको तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले प्राविधिक कारणले कहिलेकाहीँ शिक्षक र स्वास्थ्यकर्मीको तलब निकासामा ढिलाइ हुने भए पनि क्रमशः समस्या समाधान हुँदै आएको बताइन् । सोही पालिकामा पर्ने नागार्जुन माध्यमिक विद्यालयका लेखापाल रामशरण फुँयालले आजसम्म पालिकाबाट रकम निकासा नआएको बताउँदै आइतबारसम्म आएमा तलब वितरण हुने अपेक्षा गरे । मकवानपुरको थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले कोष तथा लेखा नियन्त्रण कार्यालयको निकासा प्रक्रिया र पालिकामा प्रशासकीय अधिकृत आउन समय लागेकाले चालु आर्थिक वर्षमा शिक्षकको तलब निकासमा ढिलाइ भएको बताए । उनका अनुसार अहिले भने दसैँ अगाडिसम्मको तलब निकासा भइसकेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयको सर्भर डाउन हुँदा पनि तलब निकासामा समस्या हुने गरेको जनाइएको छ । काठमाडौंको विजय स्मारक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्ली शर्माले सबै शिक्षकले समयमा तलब नपाएको भन्ने विषयमा शिक्षामन्त्री पुनले व्यक्त गरेको चिन्ताप्रति खुसी व्यक्त गर्दै स्रोत उपलब्ध भएका काठमाडौं महानगरपालिका जस्ता स्थानीय तहमा शिक्षकलाई तलब खुवाउन समस्या नरहे पनि केही स्थानीय तहमा भने समस्या रहेको प्रतिक्रिया दिए । कतिपय स्थानीय तहमा समयमा पालिका सभा/परिषदको बैठक भई बजेट पारित र योजना बाँडफाँड नहुँदा शिक्षकको तलब आउन समस्या पर्ने गरेको छ । देशभर के कति शिक्षक र विद्यालय कर्मचारीले समयमा तलब नपाएको भन्ने विवरण भने शिक्षा मन्त्रालय वा नेपाल शिक्षक महासङ्घ समेतसँग भएको देखिँदैन । सार्वजनिक भएका विवरणअनुसार सप्तरीको हरिपुरवा नगरपालिका, सर्लाहीको चन्द्रनगर गाउँपालिका, जाजरकोटको डोल्पोबुद्ध गाउँपालिका लगायत शिक्षकलाई समयमा तलब दिन नसकेको हो । गत वर्ष दसैँमा पर्साको बहुदरमाई नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा क्षेत्रका शिक्षकले तलब नपाएको गुनासो सार्वजनिक भएको थियो । हाल प्रारम्भिक बाल विकासमा ३० हजार, विद्यालय कर्मचारीमा ३० हजार, कक्षा १ देखि १० सम्म स्थायी दरबन्दीमा १ लाख ९ हजार ५०० शिक्षक दरबन्दी रहेको छ । स्थायी दरबन्दीमा करिब १५ हजार शिक्षक रिक्त छन् । यस्तै अस्थायी तथा राहतमा ४० हजार, उच्च मावि (अनुदान) मा ६ हजार, सिकाइ अनुदानका १० हजार र निजी स्रोतमा ३० हजार शिक्षक छन् । प्रारम्भिक बालविकास शिक्षक र विद्यालय कर्मचारीले आफूहरूलाई दरबन्दीमा कायम गरी हालको न्यून सुविधा पाउने अवस्था अन्त्य गर्न माग गर्दै आएका छन् । रासस
भगवती हाइड्रोको २० प्रतिशत लाभांश घोषणा, सेयरधनीले तिहार अघि नै पाउने
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५९ करोड ४९ लाख ४७ हजार रुपैयाँको १४ प्रतिशतका दरले ८ करोड ३२ लाख ९२ हजार ६ सय रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशतका दरले ३ करोड ५६ लाख ९६ हजार ८३६ रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश सेयरधनीहरुले तिहार अघि नै पाउने भएका छन् । लाभांश पारित गर्न कात्तिक २ गते बिहान ११ बज पोखरामा २५औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको जारी पुँजी वृद्धि गरी ६७ करोड ८२ लाख ३९ हजार रुपैयाँ पुर्याउने, सञ्चालक समतिको गठन र ७ जना (एक जना महिला समेत ६ जना र एक जना स्वतन्त्र) कायम गर्ने, सञ्चालकमा नियुक्ति हुनको १ सय कित्ता सेयर हुनुपर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, चालु आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । 'भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्तिसुरक्षा अमनचयन कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँग हातेमालो गर्दै सुरक्षाको प्रबन्ध गरेका छौँ । सम्भावित जोखिम क्षेत्रसमेत पहिचान गरी विशेष निगरानी बढाइएको छ,' उनले भने । प्रवक्ता घिमिरेका अनुसार आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिने छ भने सादा पोसाकमा प्रहरी परिचालन हुनेछन् । काठमाडौं उपत्यकामा मात्रै छ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यकताअनुसार थप जनशक्ति परिचालन हुने गरी तयारी गरिएको छ । मुख्यगरी सवारीसाधनको आवागमन सहज बनाउने तथा चाडपर्वमा हुने भेला, जमघटमा मदिरा खाएर होहल्ला, झगडा गर्ने तथा चोरी तस्करीलगायत आपराधिक घटना बढी हुने भएकाले त्यसतर्फ विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ । यस्तै, कालोबजारी र तोकिएभन्दा बढी सावारी भाडा लिनेलगायत गतिविधिको पनि निगरानी भइरहेको प्रहरीले जनाएको छ ।
प्रदर्शनका घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने
काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौं र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ । प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले घाइते भएका व्यक्तिलाई तोकिएका अस्पतालमा सहजीकरण गर्न गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सम्पर्क व्यक्ति तोक्नेछ । घाइतेको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषय विज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी सम्बन्धित अस्पतालमार्फत कार्य प्रारम्भ गरिने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । घाइतेको पहिचान एवम् सहज र प्रभावकारी उपचार व्यवस्थाका लागि यही असोज १२ गतेदेखि गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गरी घाइतेलाई परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको छ । यस्तै, घाइतेको उपचारमा स्वास्थ्य मन्त्रालयले सहजीकरण गर्ने जनाइएको छ । पुनः जाँच (फलो–अप)मा जानुपर्ने घाइतेलाई आवतजावतका लागि स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालले एम्बुलेन्स तोक्ने र सोको सम्पर्क नम्बर सार्वजनिक गर्ने तयारी भइरहेको छ । त्यसरी तोकिएका एम्बुलेन्समार्फत घाइतेले परिचयपत्रका आधारमा निःशुल्क अस्पताल आवतजावत गर्न सक्नेछन् । गत भदौ २३ र २४ गते धेरै जना घाइते भएका थिए । घाइतेमध्ये अझै केहीको विभिन्न अस्पतालमा उपचार जारी छ ।
एमाले सचिवालय बैठक आइतबार
काठमाडौं । जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको अबको भूमिका, सङ्गठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय हुने उनले बताए । पछिल्लो जेनजी आन्दोलन र त्यसले उत्पन्न गरेको वर्तमान अवस्थामा एमालेको सचिवालय बैठकलाई राजनीतिक वृतमा महत्त्वका साथ हेरिएको छ । एमालेका एकजना पदाधिकारीका अनुसार आइतबारको बैठकमा पछिल्लो घटनाक्रम र पार्टीका आगामी कार्यभार बारे छलफल हुनेछ ।
जेनजी आन्दोलनका घाइतेको स्वास्थ्यस्थिति बुझ्न शिक्षामन्त्री अस्पतालमा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्यस्थिति र उपचारको अवस्थाबारे जानकारी लिएका छन् गत भदौ २३ र २४ गते जेनजी समूहको आह्वामा भएको आन्दोलनमा घाइते भएकाहरु विभिन्न अस्पतालमा उपचाररत छन् । सरकारले घाइतेहरुको निःशुल्क उपचार गर्न गरेको निर्णय कार्यान्वयनमा आएको जानकारी उनले घाइतेलाईं दिए । साथै उनले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको मन्त्री पुनको निजी सचिवालयले जनाएको छ ।
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडौं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहारजस्ता पर्वमा विशेषगरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ । पर्यटक आगमनका दृष्टिले यो मुख्य याम पनि हो । पर्यटनको ‘सिजन’ सुरु हुने समयमा भएको जेनजी आन्दोलनले यस क्षेत्रले अपूरणीय क्षति बेहोर्नु परेको छ । कैयौँ पर्यटकीय संरचनामा अकल्पनीय हानिनोक्सानी भएको छ । परिणामतः पर्यटकीय गन्तव्यमा पर्यटकको आगमन निराशाजनक छ । विगतका दसैँमा भरिभराउ हुने बन्दीपुरका होटल तथा ‘होमस्टे’ले पर्यटक पर्खिरहेका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार विगतका दसैँ तथा तिहारजस्ता पर्वमा शतप्रतिशत ‘अकुपेन्सी’ हुने बन्दीपुरका होटल तथा होमस्टेमा अहिले मुस्किलले एक सय पर्यटक छन् । 'गत भदौमा आन्दोलन दैनिक एक हजारभन्दा बढी पर्यटक बन्दीपुर आइरहेका थिए, तर आन्दोलनपछि पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा घटेको छ, यसले बन्दीपुर भ्रमण वर्ष २०२५ प्रभावित हुन्छ कि भन्ने संशय पैदा भएको छ ।' आन्दोलनको असर बागलुङ कालिका मन्दिरमा पनि परेको छ । विशेष गरी बडादसैँ र चैते दसैँमा मन्दिरमा ठूलो मेला लाग्छ । तर यसपटक भने मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या करिब ५० प्रतिशतले घटेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ । पर्यटकीय गन्तव्य चितवनको सौराहमा पनि यसपटक उल्लासमय वातावरण नभएको क्षेत्रीय होटल सङ्घ सौराहका पूर्वअध्यक्ष दीपक भट्टराईले बताए। उनका अनुसार जेनजीको आन्दोलनपश्चात् सौराह आउने पर्यटक उल्लेख्य रुपमा घटेका छन् । 'विगतका वर्षमा दसैँ अगाडि होटलमा ८० देखि ९० प्रतिशत बुकिङ हुन्थ्यो, आन्तरिक र विदेशी पर्यटकको ठूलो उपस्थिति हुन्थ्यो, तर अहिले सबै बुकिङ रद्द भएर पाँच प्रतिशतको हाराहारीमा सीमित भएको छ', उनले भने । उनका अनुसार सौराहमा पर्यटकस्तरीय २०० होटलमा छ हजार कोठा छन् । पूर्वअध्यक्ष भट्टराई जेनजी आन्दोलन र बाटो बिग्रिएकाले पनि होटल बुकिङ रद्द हुनेक्रम बढेको बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै विदेशी पर्यटकले बुकिङ रद्द गरेका छन् । 'दसैँदेखि तिहारसम्मको समयमा विदेशी पर्यटकको बुकिङ थियो, उनीहरुले तिहारपछि सम्मको बुकिङ रद्द गरिसकेको अवस्था छ', उनले भने । क्षेत्रीय सिद्धार्थ होटल सङ्घका अध्यक्ष सिपी श्रेष्ठले पनि जेनजी आन्दोलनपछि लुम्बिनी आउने पर्यटक उल्लेख्य घटेको बताए । 'अक्टोबरदेखि पर्यटन सिजन हुन्छ, त्यसभन्दा अगाडि बुकिङ निकै राम्रो थियो, आन्दोलनपछि ९० प्रतिशत बुकिङ रद्द भएको छ, यो अवस्था केही समय लम्बिने देखिन्छ', उनले भने । उनका अनुसार भैरहवा, लुम्बिनी र भारतीय सीमा क्षेत्रमा गरी पर्यटक स्तरीय १४६ होटल छन् । जसमा पाँच हजार बेड सङ्ख्या छन् । उनका अनुसार आन्दोलनपछि भारतमा पनि राम्रो सन्देश नगएकाले उनीहरु पनि आउन सकेका छैनन् । जेनजी आन्दोलनको असर बर्दियामा पनि परेको छ । क्षेत्रीय होटल सङ्घ बर्दियाका अध्यक्ष मोहन चौधरीले भने, 'आन्दोलनपछि होटलको बुकिङ रद्द भएको छ, यहाँ आउने भारतीय पर्यटक पनि नआएको अवस्था छ, अहिले होटलमा पाँच प्रतिशत पनि अकुपेन्सी छैन ।' विशेष गरी बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरुको सङ्ख्या घटेसँगै होटल बुकिङ पनि रद्द भएको उनको भनाइ छ । बर्दियामा ४० वटा साना र ठूला होटल तथा होमस्टेमा एक हजारको हाराहारीमा बेड सङ्ख्या छ । जेनजी आन्दोलनको प्रभाव पर्यटन राजधानी पोखरामा पनि परेको छ । दसैँको समयमा गुल्जार हुने पोखरा बजार यतिबेला सुनसान जस्तै भएको होटल सङ्घ नेपाल (हान) गण्डकी प्रदेशका अध्यक्ष हरिप्रसाद शर्मा गैरेको भनाइ छ । 'यसपटक हामी पर्यटकीय सिजनको उत्साहका साथ पर्खाइ र तयारीमा थियौँ, अक्टोबरदेखि डिसेम्बरसम्मको बुकिङ निकै राम्रो थियो, तर आन्दोलनपछि डिसेम्बरसम्मको होटल बुकिङ रद्द भएको अवस्था छ', उनले भने, 'यसबाट हामीलाई ठूलो क्षति पुगेको छ ।' विशेष गरी कोरोना महामारीपछि यस वर्ष नेपालको पर्यटन क्षेत्रले पुनरुत्थानको चरण पार गर्छ भन्ने अवस्थाबाट फेरि शून्य अवस्थामा आइपुगेको उनको बुझाइ छ । 'जसरी आन्दोलनका क्रममा पाँचतारे होटलबाट स्वीमिङ गर्दै गरेका पर्यटकलाई उद्धार गर्ने काम भयो र ती भिडियो भाइरल बनाइयो, यसले निकै गलत सन्देश प्रवाह भयो', उनले भने, 'त्यसबाहेक आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दीको डर र सडक अवरुद्ध भएका कारणले पनि आन्तरिक पर्यटन चलायमान हुने अवस्था भएन ।' उनले आन्दोलनका क्रममा गण्डकी प्रदेशमध्ये कास्की सबैभन्दा बढी प्रभावित भए पनि समग्र प्रदेशकै अवस्था राम्रो नभएको बताए। उनका अनुसार प्रदेशमा १६ हजार होटल र रेष्टुरेन्ट छन् । जसमा यतिबेला बुकिङ पाँच प्रतिशत पनि छैन । विगतका विभिन्न कालखण्डमा पटकपटक भइरहेका आन्दोलन र महामारीलगायतका घटनाक्रमले दक्ष जनशक्ति पलायन भइरहेको उल्लेख गर्दै उनले व्यवसायीको पनि मनोबल घटेको बताए । ‘रिकभर’को चरणमा छ पर्यटन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जेनजीको आन्दोलनपछि पर्यटक क्षेत्र ‘रिकभर’को चरणमै रहेको बताउँछन् । 'गत भदौ २३ र २४ गतेको आन्दोलनअघिसम्म विदेशबाट औसतमा दैनिक तीन हजार ३०० पर्यटक आइरहेकामा आन्दोलनको साता यो सङ्ख्या एक हजार ६०० मा झरेको थियो, यस साता भने दुई हजार ९०० पर्यटक नेपाल आएका छन्', जोशीले भने, 'त्यसैले यो पर्यटन क्षेत्रका लागि रिकभरकै समय हो ।' सिइओ जोशीले हरेक सङ्कटमा सरकार र निजीक्षेत्र एक भएर पर्यटन पुनरुत्थानमा लागेको, नेपाल सुरक्षित र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तरराष्ट्रिय समुदायमा पुगेको बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले निजी क्षेत्रको सहकार्यबिना पर्यटन विकास सम्भव नभएको र मन्त्रालयले नीति र कानुनी अड्चन फुकाउन सधैँ खुला रहेको बताए । उनले भने, 'गत भदौमा भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा क्षति भए पनि निजी क्षेत्रले उच्च मनोबलका साथ पर्यटन उद्योगलाई उठाउन लागेको देख्दा खुसी लागेको छ । निजी क्षेत्रका समस्याहरु समाधानका लागि सहजीकरण गर्न मन्त्रालय सधैँ तयार छ ।' त्यसैगरी मन्त्रालयका सहसचिव इन्दु घिमिरेले छोटो अवधिमै पनि पर्यटनले रिकभरी गर्दै गरेको उल्लेख गर्दै सरकार व्यवसायीहरूसँगै उभिएको बताए । उनले भने, 'पर्यटनको रिकभरी सँगसँगै दिगो रुपान्तरणका लागि सबैसँग हातेमालो गर्न आवश्यक छ, पर्यटन क्षेत्र सरकार एक्लैले वा निजी क्षेत्र एक्लैले मात्र पूर्ण नहुने भएकाले सरकार र निजी क्षेत्र सँगसँगै हिँड्न आवश्यक छ । यसका लागि आवश्यक वातावरण तयार गर्न मन्त्रालय प्रतिबद्ध छ ।' कहाँकहाँ भयो क्षति ? त भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा पर्यटकीय पूर्वाधारमाथि आक्रमण भयो । प्रदर्शनकारीले होटलहरुमा तोडफोड, लुटपाट र आगजनी गरे । होटल सङ्घ नेपाल (हान)का अनुसार आन्दोलनका क्रममा होटलमाथि भएको तोडफोड, लुटपाट र आगजनीका कारण रु २५ अर्ब बराबरको क्षति भएको छ । आन्दोलनका क्रममा बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा भएको आक्रमणपछि बन्द भएको छ । होटलका अनुसार होटल पुनःनिर्माण भई सञ्चालनमा आउनका लागि करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ । होटलको क्यासिनो, रेष्टुरेन्ट तथा प्रवेशद्वारमा तोडफोड र आगजनी गरिएको छ । साथै केही सवारीसाधनमा आगजनी तथा तोडफोड गरिएको छ । काठमाडौंमा रहेको अन्तरराष्ट्रिय चेन होटल हिल्टनको मात्रै रु आठ अर्ब बराबरको क्षति भएको छ । राजनीतिक व्यक्ति जोडिएको भन्ने हल्ला चलाएर दाङको माला इन, मोरङको नेपालीरिका होटलमाथि आक्रमण भएको सम्बद्ध पक्षले जनाएका छन् । यसैगरी पोखराको सरोवर होटल, बगैँचा रिसोर्ट, गुडबिल होटल, अशुंभरा होटलमा आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको छ । त्यसैगरी काठमाडौंको वर्णबास होटल पनि आक्रमणको सिकार भएको छ । आइएमई समूहले निर्माण गरेको चन्द्रागिरि केबलकारको बेसस्टेशनमा लुटपाट र तोडफोड भएको छ । आगजनीका कारण केबलकार बन्द छ । सोही समूहले सञ्चालन गरेको मौलाकालिका केबलकारमा ठूलो क्षति पुगेको छ । चन्द्रागिरिको केबलकार मर्मतपछि तत्कालै सञ्चालनमा आउने सम्भावना भए पनि मौलाकालिकाको सञ्चालन भने अनिश्चित रहेको ढकालको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको आइएमई समूहले सातै प्रदेशमा केबलकार निर्माण गर्ने योजना अगाडि सारेको थियो । सोही क्रममा पूर्वको पाथीभरामा केबलकार निर्माणका लागि स्थापना गरिएको कार्यालयमा आक्रमण र तोडफोड भएको जनाइएको छ । रासस