आन्तरिक हवाई उडानको उच्चतम भाडा दर सार्वजनिक, कुन ठाउँ जान कति लाग्छ ?
काठमाडौं । सरकारले आन्तरिक हवाई उडानको उच्चतम भाडा दर ताेककाे छ । दसैँको समयमा हवाई टिकटको उच्च माग रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर हुने उडानको उच्चतम भाडा दर ताेकेकाे हाे । नेपालीहरूको महान चाड पर्व (दशैं, तिहार तथा छठ) को समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगो भाडा दरमा समेत टिकट बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न प्राधिकरणले उच्चतम भाडा सार्वजनिक गरेको हो । स्वीकृत उच्चतम भाडा दर भन्दा कम भाडा दरमै टिकट बिक्री वितरण गर्न वायुसेवा कम्पनीलाई प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणका अनुसार काठमाडौं-विराटनगर उच्चतम भाडा दर ९ हजार ७८५ रुपैयाँ, काठमाडौं-भरतपुर ४ हजार ६४३ रुपैयाँ, काठमाडौं-भद्रपुर १२ हजार ११२ रुपैयाँ, काठमाडौं-जनकपुर ५ हजार ४७० रुपैयाँ, काठमाडौं-पोखरा ६ हजार ६३५ रुपैयाँ, काठमाडौं-नेपालगञ्ज १३ हजार १०३ रुपैयाँ तोकिएको छ । यस्तै, काठमाडौं-धनगढी १७ हजार ५७९ रुपैयाँ, काठमाडौं-सिमरा ३ हजार ९७८ रुपैयाँ, काठमाडौं-भैरहवा ८ हजार ४६१ रुपैयाँ, काठमाडौं-राजविराज ८ हजार २१० रुपैयाँ, काठमाडौं-सुर्खेत ९ हजार ३० रुपैयाँ, काठमाडौं-तुम्लिङ्गटार ७ हजार ६३० रुपैयाँ उच्चतम भाडा दर तोकिएको छ । उच्चतम हवाई भाडा दर भन्दा कुनै पनि वायुसेवा कम्पनी, आधिकारिक टिकट बिक्रेता तथा ट्राभल एजेन्सीले यात्रुसँग बढि रकम लिई टिकट बिक्री वितरण गरेको पाइएमा कारवाही गरिने प्राधिकरणले जनाएको छ ।
विश्वकै पहिलो २ अङ्कको खर्बपति बन्ने इतिहास रच्दै एलन मस्क
काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएको फोर्ब्स पत्रिकाले रिपोर्ट गरेको छ । मस्क अहिले विश्वको पहिलो २ अङ्कको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका हुन् । टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको नेटवर्थ हालै ५ खर्ब डलर नाघेको थियो । यद्यपि, उनको विद्युतीय गाडी कम्पनी टेस्लाको सेयरमा उतार-चढावका कारण बुधबार बिहान ५ खर्ब १० अर्ब डलर पुगेको सम्पत्ति केही समयमै झरेर ४ खर्ब ९९ अर्ब १० करोड डलरमा पुगेको फोर्ब्सको रियल-टाइम बिलियनेयर्स ट्र्याकर मा उल्लेख छ । विश्वका अन्य धनी व्यक्तिहरू मस्कपछि दोस्रो स्थानमा ओरेकलका सिइओ ल्यारी एलिसन ३ खर्ब ५० अर्ब ७० करोड डलर नेटवर्थसहित रहेका छन् । तेस्रो स्थानमा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्ग २ खर्ब ४५ अर्ब ८० करोड डलर सम्पत्तिसहित अगाडि छन् । मस्कको यात्रा: विद्यार्थीदेखि उद्यमीसम्म पेन्सिलभेनिया विश्वविद्यालयबाट स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन सुरु गरे पनि पूरा नगरेका मस्कले सन् १९९९ मा पहिलो ठूलो सफलता पाए । उनले आफ्नै अनलाइन प्रकाशन सफ्टवेयर कम्पनीलाई अमेरिकी कम्प्युटर निर्माता कम्प्याकलाई ३० करोड डलरभन्दा बढीमा बेचे । त्यसपछि सुरु गरिएको अर्को कम्पनी पछि पेपालसँग मर्ज भयो । त्यो उद्यम छोडेपछि दक्षिण अफ्रिकामा जन्मेका यी टेक उद्यमीले सन् २००२ मा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स स्थापना गरे । त्यसपछि सन् २००४ मा विद्युतीय कार निर्माता टेस्लाको अध्यक्ष बने कम्पनीलाई विश्वकै अग्रणी प्रविधि व्यवसायमध्ये एकमा उभ्याए । २ अङ्कको खर्बपति बन्ने सम्भावना विशेषज्ञहरूको भनाइमा मस्कको सम्पत्ति वृद्धि टेस्ला, स्पेसएक्स र अन्य प्रविधि व्यवसायको तीव्र विस्तारसँग जोडिएको छ । हालको प्रगति हेर्दा उनलाई विश्वकै पहिलो २ अङ्कको खर्बपति बन्ने सम्भावना निकट देखिएको छ । मस्कले आफ्नो व्यवसायिक साहस, नवीन सोच र प्रविधिमा लगानीमार्फत सम्पत्ति मात्र नभई विश्व अर्थतन्त्रको भविष्यलाई समेत पुनः परिभाषित गरिरहेको फोर्ब्सले टिप्पणी गरेको छ ।
विपद् व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिएका छन् । यही असोज १७ गतेदेखि असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानका पृष्ठभूमिमा आज आयोजित मनसुनसम्बन्धी विपद् संवाद भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त निर्देशन दिएका हुन् । उनले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह अटुट रहने कुरामा ध्यान दिनुपर्ने पनि बताए । सम्भावित विपद्लाई मध्यनजर गरी गृहमन्त्री अर्यालको समुपस्थितिमा गृहसचिव रामेश्वर दंगालसहित गृह मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुको सहभागितामा आज बैठक सम्पन्न भएको हो । चारवटै सुरक्षा निकायका प्रमुख एवं विपद् फोकल पर्सन, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यहरूको उपस्थितिमा भर्चुअल बैठक आयोजना गरिएको हो ।
५ प्रदेशमा ४ दिनसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न विपद् प्राधिकरणको आह्वान
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ५ प्रदेशमा ४ दिनसम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ । अत्यन्त जरुरी नभए असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले ४ दिनसम्म ५ प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा हुने सूचना सार्वजनिक गरेकाले प्राधिकरणले उच्च सतर्कताका लागि यस्तो अनुरोध गरेको उनले बताए । मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यी प्रदेशका नारायणी, बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तह आसपास पुग्न सक्ने अनुमानका आधारमा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको हो । बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बग्ने स-साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको प्राधिकरणले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ । यसैले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको उनले बताए । प्राधिकरणले अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न, सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा एवं बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउने बारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउन, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, डुबान हुने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिन र अरूलाई पनि जानकारी दिन, आवश्यक पर्ना साथ सुरक्षित स्थानमा जान पनि अनुरोध गरिएको छ । तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने, जोखिमयुक्त राजमार्ग र सडकमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न, पूर्वतयारी, पूर्वकार्य एवं प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्था जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्ट) मा रहन पनि प्राधिकरणले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्री कार्कीद्वारा सहिद परिवारसँग भेट, भनिन्- सहिदको रगतले न्याय पाउनुपर्छ
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका सहिद परिवारसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गरेका हुन् । प्रधानमन्त्रीले नागार्जुन-३ पुगेर सहिद कान्छी नगरकोटीका परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेट गरे । प्रधानमन्त्री कार्कीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहिद परिवारलाई भेट्न गएका थिए । मन्त्री खरेलले सहिद परिवारसँग भेट गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीले पनि विजया दशमीमा टीका लगाउनु भएन, मैले पनि टीका लगाइन, जेनजी आन्दोलनका मृतक तथा सहिद परिवारसँग भेटघाट र कुराकानी गरियो, सहिद परिवारको इच्छा सहिदको रगतले न्याय पाउनुपर्छ भन्ने चाहना रहेको थियो ।’
बिदाका दिन पनि सडक तथा पुल निरीक्षणमा निस्किए मन्त्री घिसिङ’
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बीपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भएका मन्त्री घिसिङ बडादसैँ पर्वको बिदाका अवसरमा पनि सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशन दिए । उनले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण सडक खण्डका बिग्रे भत्केका भौतिक संरचना र अलपत्र अबस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । सङ्घीय राजधानी काठमाडौंबाट बीपी राजमार्ग हुँदै गृहजिल्ला रामेछाप आउनुभएका मन्त्री घिसिङले बीपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधीन मध्यपहाडी लोकमार्गको कार्य प्रगतिका बारेमा जानकारी लिए । बाढी पहिरोलगायतका कारण बिग्रे भत्केका संरचनाहरूको अस्थायी रुपमा भने पनि जतिसके छिटो मर्मत गर्नुपर्ने बताउँदै उनले भत्केका पक्की पुलहरूको स्थानमा ‘बेली बृज’ र ‘कल्भटर्’ निर्माण गर्न र सडकमा देखिएका खाल्टाखुल्टी पुरी सहजरूपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको बताए ।
५ वर्षमा झण्डै १५ लाख व्यक्तिको आँखा उपचार
काठमाडौं । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित रुपन्देहीको भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालबाट पाँचवर्षको अवधिमा झण्डै १५ लाख बिरामीले उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्ममा १४ लाख ७७ हजार १७४ जनाको आँखाको उपचार भएको अस्पताले जनाएको छ । अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार आव २०७७/७८ मा १ लाख ५३ हजार ५३३, २०७८/७९ मा २ लाख ८२ हजार २३७, २०७९/८० मा ३ लाख २८ हजार ८४०, २०८०/८१ मा ३ लाख २९ हजार ५११ र २०८१/८२ मा ३ लाख ८३ हजार ५३ जनाको उपचार गरिएको हो । अस्पतालको तथ्याङ्कअनुसार उपचारका लागि आउनेको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ७६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको सो अस्पतालका सहव्यवस्थापक तुल्सीप्रसाद पराजुलीले जानकारी दिए । यसैगरी, आँखाको पर्दा फाटेका, आँसु आउने नली र आँखाको डेढोपनको समस्या झेलिरहेका १० हजार ६०६ जनाको शल्यक्रिया गरिएको सह-व्यवस्थापक पराजुलीले बताए । उनका अनुसार उल्लिखित सेवा लिन आउनेमा ५० प्रतिशतभन्दा बढी नेपाली रहेको छन् । सो अस्पतालले गत वर्षदेखि नाक, कान तथा घाँटीरोग (इएनटी) विशेषज्ञ सेवासमेत प्रदान गर्दै आएको पराजुलीले जानकारी दिए । उनका अनुसार हालसम्म आठ हजार बढीले यो सेवा लिइसकेका छन् । विसं २०४० सालदेखि सञ्चालनमा आएको यस अस्पतालले नेपालका विभिन्न जिल्लासँगै भारतीय बिरामीलाई समेत सेवा दिँदै आएको छ । यसैगरी सो अस्पतालले विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण शिविरसमेत सञ्चालन गर्दै आएको सूचना अधिकारी पाण्डेयले जानकारी दिए ।
९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलियो, १ हजार ५४ आयोजना सम्पन्न
काठमाडौं । विकास-निर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नौ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलेको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरपालिकाले गत आवमा ३.९४ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ । हालसम्म नगरपालिकाका १०५ किलोमिटर सडक कालोपत्र र ढलान भएका छन् । यी पालिकाका भित्री सडक पनि हुन् । सोही आवमा एउटा पक्की पुल र ५ वटा उद्यान पनि निर्माण भएका छन् । साथै ४९६ घरमा स्वच्छ खानेपानीको प्रबन्ध भएको छ । १ हजार ५४ आयोजना सम्पन्न नगरपालिकाले गत आवमा वर्ष १ हजार ५४ आयोजना सम्पन्न गरेको छ । १ हजार २१ उपभोक्ता समिति र ३३ वटा आयोजना ठेक्का मार्फत सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिए । पूरा भएका १६ वटा आयोजना ५० लाख रुपैयाँभन्दा बढी लागतका, १६६ वटा आयोजना ५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मका र ८७२ आयोजना ५ लाख रुपैयाँ भन्दा कम लागतका हुन् ।