विकासन्युज

अनधिकृत भण्डारण नगरौं, बजारमा सामानको अभाव हुन नदिऔँ: महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विपदको समयमा बजारमा सामानको अभाव हुन नदिन आग्रह गरेको छ । महासंघले अपिल जारी गर्दै सामानको आपूर्तिमा जटिलता भएपनि यथाशक्य आपूर्ति गरी बजारमा अभाव हुन नदिन महासंघले आग्रह गरेको हो । २ दिनदेखि निरन्तरको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै २ दिन निरन्तर वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तो समयमा अनधिकृत भण्डारण पनि नगर्न महासंघले आग्रह गरेको छ ।  अविरल वर्षाका कारण राजमार्गहरु अवरुद्ध भएका छन भने आपूर्ति श्रृङ्खला प्रभावित भएको छ । यस्तो समयमा उच्च सतर्कताका साथ पेशा व्यवसाय गर्न हुन र आवश्यक सतर्कता अपनाउन महासंघले आग्रह गरेको हो । ‘यस घडीमा सामानको आपूर्तिमा जटिलता भएपनि यथाशक्य निरन्तर आपूर्ति गर्न, बजारमा अभाव हुन नदिन र अनधिकृत भण्डारण नगर्न र नगराउन महासंघ सम्पूर्ण सदस्यहरूमा हार्दिक अपील पनि गर्दछ । यसैगरी जोखिम न्यूनीकरण, उद्धार एवं राहतमा पनि सक्दो योगदान पु¥याउन हुन पनि आग्रह गर्दछ,’ महासंघले जारी गरेको अपिलमा भनिएको छ ।  

कोशी ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिए

काठमाडौं । अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको जानकारी दिए ।  उनका अनुसार आज बिहान ८:१५ बजे सो नदीको जलवहाव मापन गरिएको थियो । आज बिहान ७ बजे सो नदीको जलवहाव मापन गर्दा २ लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएकोे थियो  । शनिबार बेलुका ८ बजे पानीको प्रवाह मापन गर्दा १ लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको वहाव घटेको थियो ।  शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए ।  कोशी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । 

बिहानैदेखि त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

काठमाडौं । अविरल वर्षाका कारण शनिबारदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । प्रतिकूल मौसमका कारण शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फका सबै उडान रद्द गरिएको थियो ।  तर, आइतबार भने मौसम अनुकूल भएपछि आन्तरिक उडान सुरु भएको गरिएको हो । विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ ।

अत्यावश्यक हलुका सवारीलाई गन्तव्यतर्फ जान अनुमति, होल्डिङमा रहेकालाई यथास्थानमा रहन आग्रह

काठमाडौं । अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ ।  शनिबार साँझ ६ बजेदेखि नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको  सडकमा सवारी साधन आवागमन बन्द गरिएको थियो । जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फको सडकमा ठाउँठाउँमा पहिरोसँगै ढुङ्गा झरेको छ ।  ती ढुङ्गा र साना पहिरोहरु पन्छाएर अत्यावश्यक हलुका सवारी साधन गन्तव्यतर्फ पठाइएको हो । शुक्रबार साँझदेखि परेको वर्षाले सडकमा पहिरोको जोखिम रहेकाले लामो दूरीका सवारीसाधन रोकिएका छन् ।  उनका अनुसार काठमाडौं जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारी रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिनटार र मुग्लिन, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस ट्रमिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारी साधन रोकिएको छ । धादिङ, तनहुँलगायतका जिल्लाहरूमा समेत पहिरो एवं ढुङ्गा खसेर सडक अवरोध भएको उनले जानकारी दिए । सडकको अवरोध नहट्दासम्म र मौसमको प्रतिकुलताअनुसार जिल्लाका विभिन्न विभिन्न स्थानमा रहेका ‘होल्डिङ सेन्टर’ मा रहेका सवारी साधनलाई यथास्थानमा रहन समेत प्रहरीले आग्रह गरेको छ । अवस्था हेरेर ती साधन पार गराइने उनको भनाइ छ । 

सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ३९ ढोका खोलिए

काठमाडौं । अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ३९ गेट (ढोका)  खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड २ लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएको जानकारी दिए । उनका अनुसार आज बिहान ७ बजे सो नदीको जलवहाव मापन गरिएको थियो ।शनिबार बेलुका ८ बजे पानीको प्रवाह मापन गर्दा १ लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको वहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

वीरगञ्ज महानगरका अधिकांश क्षेत्र​​​​​​​ डुबानमा, छैन पानीको उचित निकास

काठमाडौं । अविरल बर्सातले वीरगञ्ज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ । शनिबारदेखि परेको भारी वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च देखिएको हो ।  वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लगातार वर्षाको कारणले महानगरमा विभिन्न स्थानमा डुबानको समस्या देखिएको जानकारी दिए ।  ‘लगातार ठूलो वर्षाको कारणले पानीको निकासको समस्या देखिएको छ । तर, डुबानकै कारणले अहिलेसम्म यहाँ धनजनको क्षति हुन भने पाएको छैन,’ उनले भने, ‘महानगरको ३२ वटै वडामा कतिपय ठाउँमा पानीको उचित निकास नहुँदा केही डुबान पनि देखिएको छ ।’ प्रमुख सिंहले सिर्सिया नदीमा पानीको बहाव बढेसँगै नदी किनाराका वस्तीमा भने उच्च सतर्कता अपनाइएको जानकारी दिए ।  ‘सिर्सिया नदीआसपासमा रहेका वस्तीलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सार्ने काम भइरहेको छ । महानगरमा अहिलेसम्म कुनै पनि खालको मानवीय क्षति हुन भने पाएको छैन,’ उनले भने ।  प्रमुख सिंहका अनुसार वडा नम्बर ११ र १७ का डुबान क्षेत्रमा जनतालाई अन्यतर्फ सार्ने काम भइरहेको छ । वर्षाको पानीले हुनसक्ने डुबानलाई लक्षित गरेर टोल-टोलमा रहेका विद्यालय र धर्मशालालाई खुलाएर प्रभावितलाई राख्नको लागि निर्देशन दिएर अहिले ती ठाउँहरु खुला रुपमा राखिएको उनको भनाइ छ ।  सबैसँग समन्वय गरेर उद्धारमा लागिरहेको उनले बताए । प्रमुख सिंहले केही समय अघि तयार पारेको भेडाहा खोलाको बाँधले काम गरेकाले पनि अहिलेसम्म ठूलो प्रकृतिको क्षति हुन नपाएको दाबी गरे ।  ‘विगतमा भेडाहा खोलाको कारणले वडा नम्बर ३१ र अन्य वडामा ठूलो क्षति भएको थियो । अहिलेसम्म भेडाहाखोलाको बाँधले थेगिरहेको छ । अब कति समयसम्म थेग्छ भन्ने हो,’ उनले भने ।  स्थानीय प्रशासनले थाल्यो सतर्कता पर्सामा अत्यधिक वषा वर्षा भएपछि स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यहाँ अत्यधिक वर्षा हुन थालेपछि आवश्यक सतर्कता र सावधानी अपनाउन थालेको जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित पर्सा जिल्लामा पानी परेसँगै आवश्यक सतर्कता र सावधानी अपनाउन थालेको जानकारी दिए ।  ‘वर्षापछि हुनसक्ने डुबानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तीन वटै सुरक्षा निकायले उद्धारका लागि तयारी अवस्थामा जुटेका छन्,’ उनले भने, ‘अहिलेसम्म वर्षाको कारणले कुनै पनि मानवीय क्षति भएको छैन ।’ प्रजिअ सुवेदीले वर्षा भइरहेकाले पनि कुनै पनि डुबान र अन्य प्रकृतिको समस्या भएको खण्डमा तुरुन्तै स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई खबर गर्नका लागि अनुरोध गरे ।  ‘अहिले वीरगञ्जसहित पर्सामा वर्षा भइरहेको छ । जुनसुकै समयमा पनि जोखिम हुनसक्ने भएकाले पनि सर्वसाधारणले पनि आवश्यक सावधानी र अत्यावश्यक परेको खण्डमा मात्रै निस्कन अनुरोध गर्दछु,’ उनले भने ।  भेडाहा खोलाको कारणले विगतमा वडा नम्बर ३१ र ३० मा क्षति पुर्याउने गर्थ्यो । वीरगञ्ज महानगर ३१ नम्बरका वडाध्यक्ष जीतेन्द्रप्रसाद यादवले डुबानको कारणले वडामा त्यति धेरै क्षति हुन नपाएको बताए ।  ‘भेडाहा खोलामा आएको बाढीले बालुवाको बोरा राखेर लगाइएको बाँधलाई केही क्षति पुर्याएको छ । लगातार पानी परेपछि बस्तीलाई अलर्ट गराउनेदेखि सतर्कता अपनाउनको लागि आह्वान गर्दै आइरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म ३१ नम्बर वडामा मानवीय क्षति र जग्गा कटान हुन पाइरहेको छैन ।’ वेल्वागाउँको उत्तरतर्फ रहेको छठघाट र वेल्वाको पश्चिम पुलतर्फ बाधिँएको बाँध पनि आधाजसो क्षतिग्रस्त भएको छ । वीरगञ्ज महानगर वडा नम्बर १७ का वडाध्यक्ष सञ्जु छत्कुलीले तिलावेपुलको पानी वडा नम्बर १७ तर्फ आउन लागेको बताए ।  ‘हाम्रो वडामा रहेको अलौँको कोनिया टोल डुबानमा पर्नसक्ने उच्च जोखिममा रहेको छ । सो बस्तीमा करिब १०० घरधुरी रहेका छन्,’ उनले भने, ‘जेसिबी स्क्काभेटर लगाएर पानी कटाउने काम भइरहेको छ । यद्यपि डुबान भइहालेमा कोनिया बस्तीका सर्वसाधारणलाई धर्मशालामा राख्नको लागि आवश्यक प्रबन्ध मिलाइसकेका छौँ ।’ वडाध्यक्ष छत्कुलीले एकीकृत जाँचचौकीको पछाडि भागमा रहेका दुई/चार वटा फुसका घर भने प्रभावित भएका छन् । अहिले डुबानको समस्या देखिएको ठाउँमा खटिएर जनतासँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ ।  तिलावे पुलको पानी अलौँतर्फ आएको खण्डमा भने थप जोखिम हुने सम्भावना पनि कायमै रहेको छ ।  त्यस्तै वीरगञ्ज महानगर वडा नम्बर ११ का वडाध्यक्ष अजयकुमार बरैले लगातार वर्षाको कारणले श्रीपुरको नयाँबस्तीमा धेरै समस्या पारेको बताए ।  ‘अहिले बिहानीपख पानी रोकिएर केही राहत भएको छ । डुबानको कारणले कृषि सामग्री लिमिटेडको पछाडि भागमा बसोबास गर्ने दलित बस्तीका १५० भन्दा धेरै जनालाई श्रीपुरको धर्मशालामा लगेर राखेका छौँ,’ उनले भने ।  त्यस्तै वीरगञ्ज महानगर वडा नम्बर २४ का वडाध्यक्ष विजयप्रसाद कुर्मीले वडा नम्बर २४ मा अहिले बिहानीपख ४ बजेदेखि नयाँबस्तीमा डुबानको समस्या देखिएको बताए ।  ‘सबैठादेखि ठाकुरराम क्याम्पससम्मका भुभाग वडामा पर्ने गर्छ । जुन एरिया सिर्सिया नदीको किनारा भएकाले पनि डुबानको उच्च जोखिममा रहेको छ । सिर्सिया नदीको कारणले नदी आसपासको बस्तीमा करिब बह्मटोल, मनमोहन नगर, ज्योत्ति कोलनी, बज्रङटोललगायतमा डुबानको समस्या देखिएको छ,’ उनले भने, ‘वडामा डुबानबाट भएका प्रभावितलाई उद्धार गरेर कुर्मी सेवा सदन र रामजानकी धर्मशालामा राखेका छौँ ।’ वीरगञ्ज महानगर २६ का वडाध्यक्ष शम्भु मिश्रले वर्षाको पानीले उचित निकास नहुँदा पानी जम्ने समस्या रहेको बताए ।  वीरगञ्ज महानगर वडा नम्बर ११ मा बसोबास गर्ने ठाउँमा भने पानीको डुबानको समस्या पारिरहेको छ । यो विपद्को घडीमा संयम भएर एकापसमा सहयोग गर्नका लागि अनुरोध गर्दछु,’ उनले भने । 

प्रमुख ८ नदीले पार गरे खतराको तह, १२ नदी सतर्कताको तहमाथि

काठमाडौं । अविरल वर्षातका कारण देशका विभिन्न ८ नदीले खतराको तह पार गरेका छन् ।  जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढी खोला-सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरूमा बाढीले खतराको तह पार गरेका हुन् ।  विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रहरूमा जल सतह सतर्कता तहभन्दा माथि रहेको छ । उनका अनुसार कोशी प्रदेशमा बढ्दो, बागमती र मधेस प्रदेशका केहीमा स्थिर र केहीमा घट्दो क्रममा रहेको छ । यसैगरी कोशी मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरुमा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।  बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न सुरु गरेको छभने कोशी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको पनि जनाइएको छ । जुन क्रम अबको केही घण्टा कायम रहन सक्ने देखिएको विभागले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ । ती नदीमा आज बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छ भने मध्यम जोखिम सोमबार बिहानसम्मै रहने जनाइएको छ ।

पहिराले पश्चिम म्याग्दीको यातायात प्रभावित

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ । विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखिकै पहिरोले हरेक बर्खायाममा वर्षा हुनेबित्तिकै पहिरो खस्ने र २४ किलोमिटर दूरीको बेनी-दरवाङ सडकमा सीधा यातायात सेवा बन्द हुने गरेको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् । स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पुर्याउन, दूध, तरकारी, फलफूल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको मङ्गला गाउँपालिका-२ बाबियाचौरका चक्रलाल पाण्डे (राजुं)ले बताए ।  ‘साँघुरो सडकमा गुडिरहेका सवारी साधनमाथि पहिरो खसेर चोटपटक लाग्ने, सवारीसाधनमा क्षति पुग्ने गरेको छ । जुनसुकै बेला पहिरो खस्ने खतरा भएकाले यात्रा गर्न जोखिम छ,’ उनले भने ।  म्याग्दी नदीमा निर्माणाधीन ३ वटा जलविद्युत् आयोजना र डाँडाखेत राहुघाट सवस्टेशन तथा प्रसारण लाइन, सडक, भवन, खानेपानी, सिँचाइलगायत विकास आयोजनामा पनि पहिरोका कारण असर परेको छ । सडकमुनि म्याग्दी नदी छ भने माथितिर ठूलो पहिरो छ । तत्कालीन जिविसले सडकमुनि पक्की पर्खाल निर्माण गरेर म्याग्दी नदीको कटान रोकथाम गरे पनि सडकमाथिको पहिरो नियन्त्रणका लागि भएका प्रयास असफल र लगानी खेर गएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले सडकमा खसेको पहिरो पन्छाउने र यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । जोखिमयुक्त सडकको विकल्पमा मङ्गला गाउँपालिका-३ पखेर र वडा नम्बर २ सिमलचौर जोड्ने गरी बेलिब्रिज निर्माण गर्ने योजना अघि सारिएको म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । ‘फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने, 'संघीय सरकारसँग भएको जगेडा बेलिब्रिज ल्याएर जडान गर्न पहल गरिरहेका छौँ ।’ तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री समेत रहेका जुग्जालीको प्रस्तावमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई वर्षअघि गरेको सङ्घीय सरकारसँग बेलिब्रिज माग्ने निर्णय राजनीतिक अस्थिरताका कारण दुई वर्षसम्म पनि कार्यान्वयन भएको छैन ।