विकासन्युज

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन् । यसैगरी बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी कुल ३० जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार उपचारका लागि आएका घाइतेहरूको सङ्ख्या दुई हजार ३१६ रहेको छ जसमा उपचारपश्चात् दुई हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् ।  त्यसैगरी अस्पतालमा आएकारमृत्यु भएका कुल सङ्ख्या ४९ रहेको छ । अस्पतालहरूमा २०८२ असोज १२ गतेदेखि हालसम्म जेनजी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेहरूको सङ्ख्या भने नौ जना रहेको छ ।   

धादिङमा एक युवाले गरे आफ्नै आमाको हत्या

काठमाडौं । धादिङमा एक युवाले आफ्नै आमाको हत्या गरेका छन् । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-५, थापाकटेरीमा आफ्नै छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका हुन् ।  ५५ वर्षीया राममाया कँडेललाई उनका छोरा ३० वर्षीय यम बहादुर कँडेलले आइतबार साँझ करिब साढे ८ बजे धारिलो हतियार प्रहार गरेका थिए । गम्भीर घाइते भएकी आमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आमाको हत्या छोरा यमबहादुरले नै गरेको पुष्टि भएको छ ।

डुबान, बाढी पहिरोको वितण्डा, हेर्नुहोस् तस्विरहरु

काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाले देशभर मानवीय र भौतिक क्षति पुर्याएको छ । मधेश प्रदेश डुबानमा परेकाे छ । इलाममा पहिराे खस्दा मानवीय क्षति हुँदा कोशी प्रदेश सोकमा छ ।  अविरल वर्षाका कारण आएको बाढीले पूर्वतर्फ व्यापक क्षति पुर्याएको देखिन्छ ।  हेर्नुहोस् तस्वीरहरु फोटो स्रोत: रासस  

सिटिजन्स क्यापिटलद्वारा २८ करोडभन्दा बढी प्रतिफल वितरण

काठमाडौं । सिटिजन्स क्यापिटलले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सिटिजन्स म्युचुअल फण्ड र क्यापिटलमार्फत करिब  २८ करोड ५ लाख २१ हजार २० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार सिटिजन्स म्युचुअल फण्ड–२ अन्तर्गतका इकाइधनीहरूले करसहित ८.२५५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । सोही योजना अन्तर्गतको लाभांश २०८२ भदौ २० गतेदेखि वितरण सुरु गरिएको छ । यस्तै, सिटिजन्स सुपर–३० म्युचुअल फण्डका इकाइधनीहरूले करसहित १२.७५५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । सिटिजन्स म्युचुअल फण्ड–१ गत २०८१ माघ १९ गते परिपक्व भइसकेको छ । सो फण्डले खुद सम्पत्ति मूल्य  ११.३० को दरले अन्तिम वर्षको १३ प्रतिशत लाभांश (१० करोड ६६ लाख ३ हजार ७२३ सहित) २०८२ जेठ २७ गतेदेखि वितरण गरिरहेको कम्पनीले जनाएको छ । यस्तै, कम्पनीले आफ्नै मुनाफाबाट आफ्ना सेयरधनीलाई ३ करोड २० लाख नगद लाभांश २०८२ भदौ २० गतेदेखि वितरण गर्न थालेको छ । सिटिजन्स क्यापिटलले विगतमा घोषणा गरिएका तर अझै नलिइएका लाभांश रकम लिन बाँकी रहेका इकाइधनीहरूले हितग्राही खाता तथा बैंक विवरण अद्यावधिक गरी सम्पर्क गर्न आग्रह गरेको छ । नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, अण्डरराइटिङ, सेयर रजिष्ट्रार तथा डिम्याट खाता सेवा गर्न अनुमति प्राप्त सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंकको सहायक कम्पनी हो  । कम्पनीमा कर्मचारी सञ्चय कोषसहित प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ  ।

बीपी राजमार्गको ४ किलोमिटर सडक वासआउट

बीपी राजमार्गको ४ किलोमिटर सडक बगायो  काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरोले बीपी राजमार्गको ४ किलोमिटर सडक बगाएको छ । सडक विभागका अनुसार बीपी राजमार्ग अन्तर्गत बर्खेखोला-धुलीखेल सडकखण्डको १६ ठाउँमा ४ हजार ८ मिटर (४ किलोमिटर) सडक वासआउट भएको छ । विभागका अनुसार काभ्रेको मम्ती खोलामा ४ सय मिटर, माथिल्लो मम्तीमा २५५ मिटर, तत्लो पिप्लेमा २२० मिटर, माथिल्लो पिप्ले २२० मिटर, सुख्खा पहिरो पिप्लेमा ३६२ मिटर, डलाबेसीमा ८४१ मिटर, कालढुंगामा ८५ मिटर, बोक्सीकुनामा २ सय मिटर, च्युउरी बासमा २ सय मिटर, नर्केमा ५० मिटर, गिम्दी बेसीमा १ सय मिटर, चर्सया बेसी ३८० मिटर, कुटुन्जे बेसीमा ३ सय मिटर, चौकी डाँडामा ३७५ मिटर, दाम्चा पुलमा २० मिटर क्षति पु¥याएको छ ।

मेटलाइफ फाउन्डेशनले फिफा-ग्लोबल सिटिजन एजुकेशन फन्डमा ९ मिलियन अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं । मेटलाइफले गरिबी अन्त्य गर्ने विश्वकै सबैभन्दा ठूलो अभियान ग्लोबल सिटिजन सँग तीन वर्षे साझेदारी गर्ने घोषणा गरेको छ । कम्पनी प्रमुख भागीदारको रूपमा अभियानमा सहभागी हुने भएको छ । यस साझेदारीमार्फत मेटलाइफले आर्थिक सुरक्षा सुनिश्चित गर्ने, स्रोतमा पहुँच दिलाउने र लचिलो समुदाय निर्माण गर्ने आफ्नो अनुभव र क्षमताको प्रयोग गर्नेछ । प्रमुख साझेदारको हैसियतले कम्पनीले आर्थिक सहयोग, कर्मचारी स्वयंसेवकहरूको सक्रियता र आफ्नो विश्वव्यापी सञ्जालमार्फत शिक्षा तथा आर्थिक सशक्तिकरणमा रूपान्तरणकारी पहलहरू अघि बढाउने जनाएको छ । मेटलाइफ फाउन्डेशनले फिफा–ग्लोबल सिटिजन एजुकेशन फन्डमा संस्थापक दाताको रूपमा ९ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । यस फन्डले विश्वभरका बालबालिकालाई गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँच दिलाउन १०० मिलियन अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको छ । स्थापना भएको करिब ५० वर्षदेखि शिक्षा सहयोगलाई आधारशिला बनाउँदै आएको मेटलाइफ फाउन्डेशनले हाल वित्तीय सिकाइ, मेन्टरिङ र सीप–प्रशिक्षणमार्फत विद्यार्थीलाई उज्ज्वल भविष्यका लागि तयार गर्दै आएको छ । मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले भने. 'हामी मानिस र समुदायका लागि महत्वपूर्ण क्षणहरूमा सधैं उपस्थित रहन विश्वास गर्छौं । ग्लोबल सिटिजनसँगको साझेदारीले वित्तीय स्वास्थ्य प्रवद्र्धन, शैक्षिक अवसरहरू विस्तार र सबल समुदाय निर्माणमार्फत सकारात्मक परिवर्तन ल्याउनेछ । यो साझेदारीले मेटलाइफ फाउन्डेशनको परोपकारी परम्परालाई अझ सबल बनाउनेछ, जसले १९७६ यता १ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको छ ।' मेटलाइफले विश्वभरका ग्लोबल सिटिजन अभियानलाई सशक्त बनाउनेछ । यसमा न्यूयोर्कको सेन्ट्रल पार्कमा सम्पन्न ग्लोबल सिटिजन फेस्टिभलसहित, ग्लोबल सिटिजन नाउ एक्शन समिटहरूमा पनि योगदान रहनेछ । ग्लोबल सिटिजनका सह–संस्थापक तथा सीईओ ह्यू एभान्सले भने, 'हाम्रो संसारले सामना गरिरहेका जटिल समस्याहरू समाधान गर्न साझेदारीको शक्तिमा हामी दृढ विश्वास गर्छौं । मेटलाइफ, मेटलाइफ फाउन्डेशन र ग्लोबल सिटिजनबीचको यो नयाँ सहकार्यले हाम्रो प्रभावलाई विस्तार गर्नेछ र सबैलाई प्रगतिशील जीवन बिताउने अवसर दिलाउने हाम्रो साझा दृष्टिकोणलाई तीव्र बनाउन मद्दत गर्नेछ ।' यस साझेदारीमार्फत ग्लोबल सिटिजन र मेटलाइफले विश्वभरका साझेदार, नेतृवर्ग र नागरिकलाई सक्रिय सहभागी हुन र अभियानलाई सफल बनाउन योगदान गर्न आह्वान गरेका छन् ।   

कोशी प्रदेश सरकार राहत तथा उद्धार कार्यमा सक्रिय

मोरङ । कोशी प्रदेश सरकारले हालको बाढी–पहिरोले प्रभावित क्षेत्रमा आफ्नो स्रोतसाधनलाई भ्याएसम्म स्रोतको परिचालन गर्दै राहत तथा उद्धार कार्य तीव्र बनाएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना इलाममा रही राहत तथा उद्धारमा खटिएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसैगरी प्रदेशका अन्य मन्त्रीसमेत आ–आफ्ना जिल्लाका प्रभावित क्षेत्रमा गएर प्रत्यक्ष रुपमा उद्धार तथा राहत कार्यमा सहभागी भएको कार्यालयले जनाएको छ ।      मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका सबै मन्त्री स्थलगत रुपमा रहेर राहत कार्यमा जुटिरहेको जानकारी दिए । उनले भौतिक तथा पूर्वाधार मन्त्रालयमार्फत बाढी–पहिरोका कारण अवरुद्ध भएका सडक तथा साना बाटो खोल्नका लागि १४ वटा पूर्वाधार कार्यालयलाई तत्काल काम अघि बढाउन निर्देशन दिएका छन् ।      मुख्यमन्त्री कार्कीले स्थानीय पालिकासँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाई प्रदेश सरकार विपद् व्यवस्थापनमा पूर्ण रूपमा सक्रिय रहेको स्पष्ट पारे । यसैगरी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्लास्तरीय सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय र सहकार्य गरिरहेको तथा सबैतिर आवश्यक समन्वय गरी उद्धार कार्यमा सक्रियता देखाइएको छ ।      आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी फिल्डमा नै रही जनताको सुरक्षाका लागि काम गरिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले केही दिनअघि प्रदेशका सुरक्षा निकायलाई लाइफ ज्याकेट, बोटलगायतका रु दुई करोड मूल्य बराबरका विपद्–उद्धार सामग्री वितरण गरेका कारण उद्धार कार्य सहज भएको जनाइएको छ । 

जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टले भुक्तानी गर्‍यो झण्डै २२ करोड

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको दाबी भुक्तानी प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले हालसम्म २८७ वटा दाबीमध्ये २४५ वटा दाबीबापत २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । कम्पनीका अनुसार यो रकम आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको अग्रिम तथा अन्तिम दाबी भुक्तानी दुवै समेटिएको हो । दाबी विभाग प्रमुख रोज राज लुइँटेलले कम्पनी नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि प्रतिवद्ध रहेको बताए । हिमालयन एभरेस्टले दाबी भुक्तानीलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको र मंगलबार २१ गतेदेखि पुनः यथावत रूपमा दाबी भुक्तानी सुरु हुने जनाएको छ । कम्पनीले विषम परिस्थितिलाई ध्यानमा राखी बीमित ग्राहकलाई तत्कालीन राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको स्पष्ट पारेको छ । कम्पनीले अझै बाँकी रहेका बीमित दाबीधारकलाई आवश्यक कागजात पूरा गरी नजिकैको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।