विकासन्युज

राष्ट्रपति पौडेल अस्पताल भर्ना, अवस्था सामान्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि आज महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका छन् ।      हाल उनको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

साढे ४ लाख घुससहित विद्यालयका प्रधानाध्यापक पक्राउ

काठमाडौं । रौतहटस्थित जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक साढे चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्यालयका प्रधानाध्यापक संजय प्रसादलाई पर्साको वीरगन्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटेलबाट नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार प्रधानाध्यापक प्रसादले शिक्षक आवश्यक भनी खुलाइएको विज्ञापनमा एक जनाले मात्रै रीतपूर्वक दरखास्त दिएको अवस्थामा पनि बिचौलिया अरविन्द प्रकाश साहमार्फत साढे चार लाख रुपैयाँ घुस लिएका थिए । घुस लिइसकेको अवस्थामा दुवैजनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको छ ।

राहतदेखि पुनःनिर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ : मन्त्री घिसिङ

इलाम । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताएका छन् । आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने, 'सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।' रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली आइपुग्नुभएका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति र राहत व्यवस्थाबारे जानकारी लिनेछन् । उनले राजदुवाली सडक, मिल घुम्तीलगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था अवलोकन गरेका छन्। गत असोज १८ गते रातिको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बाढी र पहिरोका कारण अहिलेसम्म इलाममा ३९ जनाको मृत्यु भएको छ ।

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ । मन्त्रिपरिषद्को यही असोज २३ गतेको बैठकले प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न जिम्मेवारी दिएपछि मन्त्रालयले सोको तयारी गरेको हो । शिक्षामन्त्री महावीर पुनले आफूले प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको सामाजिक सञ्जालबाट जानकारी दिएका हुन् । गत पुस २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा खोजबिन समितिका सदस्य महेन्द्र थापाले सो प्रतिवेदन हस्तान्तरण गरेका थिए। विसं २०८० जेठ १७ गते मन्त्रिपरिषद्बाट पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौं उपत्यकाका २१ वटा क्याम्पसका जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि समाधानका उपायसमेत सुझाएको थियो । समितिले जग्गाको दुरूपयोग भएका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लेखी पठाउन पनि सुझाव दिएको थियो ।   

नेपालञ्जका होटलमा प्रहरीको छापा, ४५ जना पक्राउ

नेपालगञ्ज । नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ । ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।  उनले होटेल तथा रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताए । प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउपर्नेमा आठ जना भारतीय युवकसमेत रहेका छन् ।  

प्रधानमन्त्री र जेनजी समूहबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, जेनजीका माग सम्बोधन  र आसन्न निर्वाचनलगायत विषयमा जेनजी समूहका प्रतिनिधिसँग आज राष्ट्रपति कार्यालयमा छलफल भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा जारी छलफलमा प्रधानमन्त्री कार्की मन्त्री र जेनजी समूहका प्रतिनिधि सुदन गुरुङ, प्रवेश दाहाल, मिराज ढुङ्गानालगायत  सहभागी छन् । छलफलमा  सुशासन, संविधान संशोधनलगायत विषयमा जेनजी समूहका प्रतिनिधिले आफ्ना धारणा प्रस्तुत गरेका छन् । आगामी निर्वाचनमा केन्द्रित भएर  विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेताबीच शुक्रबार राष्ट्रपति भवनमा छलफल भएको थियो । युवाहरूको आन्दोलनपछि जेनजी समूहका प्रतिनिधिसँग राष्ट्रपति भवनमा पहिलोपटक छलफल भएको हो ।   

राष्ट्रपतिसँग वार्तामा सहभागी हुन नपाएको भन्दै शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजी युवाहरुको टोलीबीच भइरहेको छलफलमा सहभागी हुन नपाएका केही युवाहरुले शीतल निवास अगाडि विरोध प्रदर्शन गरेका छन् । शीतल निवास बाहिर भेला भएका युवाहरुले आफूहरुलाई वार्तामा सहभागी नगराएको भन्दै नाराबाजी गरेका हुन्। उनीहरुले ‘सबै प्रतिनिधिलाई समावेश गर’ भन्ने माग गर्दै चर्को नाराबाजी गरेका छन् । राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसहित जेनजी युवाहरूसँग आज बिहान शीतल निवासमा छलफल आयोजना गरेका हुन् । छलफलमा सुदन गुरुङ नेतृत्वको टोलीमात्र प्रवेश पाएपछि अन्य समूहका युवाहरु असन्तुष्ट बनेका हुन् । शीतल निवास बाहिर अहिले ठूलो संख्यामा जेनजी युवा जम्मा भएका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन र युवाहरुलाई सम्झाउन प्रयास गरिरहेको छ । राष्ट्रपतिसँगको छलफलमा सुरुवाती रूपमा १७ जना प्रतिनिधि सहभागी हुने तय भए पनि संख्या बढेर २० जनाभन्दा बढी पुगेको एक जेनजी अगुवाले बताएका छन् । भ्रष्टाचार नियन्त्रण, सुशासन र जिम्मेवार शासनको मागसहित जेनजी युवाहरु गत भदौ २३ र २४ गते देशव्यापी आन्दोलनमा उत्रिएका थिए। सो आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । आन्दोलनपछि जेनजी युवाहरुको सिफारिसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन्। उनलाई आगामी फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद् विस्तार र आगामी निर्वाचन तयारीका विषयमा जेनजी युवासँग परामर्श गर्न आजको वार्ता आयोजना गरिएको हो । तर जेनजी समूहभित्र नै औपचारिक प्रतिनिधित्वबारे विवाद रहँदै आएको छ ।

दैजी–जोगबुढा सडक : पञ्चायतमा ‘ट्रयाक’ खुल्यो, सडक अझै अधुरै

महेन्द्रनगर । कञ्चनपुर बेदकोट नगरपालिकाको दैजीबाट जोगबुढा हुँदै डडेल्धुरा पुग्ने सडकको ट्रयाक पञ्चायतकालमा खोलिएको भए पनि सडक कालोपत्रको काम अझै सकिएको छैन । तराईको जिल्ला कञ्चनपुरबाट भित्री मधेस डडेल्धुरा हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला पुग्ने छोटो बाटोको रूपमा रहेको दैजी–जोगबुढा सडक निर्माणले प्राथमिकता नपाउँदा समस्या भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाको दैजीदेखि डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्म १२ किलोमिटर सडक निर्माणका लागि नौ वर्षअघि ठेक्का सम्झौता भए पनि हालसम्म पाँच किलोमिटर सडक मात्रै कालोपत्र भएको छ । यहाँ २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसित रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार २०७६ साउन ५ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म सडक निर्माणले पूर्णताः पाउन सकेको छैन । पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले सडक निर्माणका लागि पछिल्लो पाँचौँ पटक २०८२ असार २० गते निर्माण सम्पन्न गर्नेगरी म्याद थप गरिएको भए पनि उक्त समयमा समेत सडक निर्माण हुन नसकेको जनाएको छ । गत आर्थिक वर्षमा सडक निर्माणको काम नहुँदा एक करोड रुपैयाँसमेत फ्रिज भएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीले सडक निर्माणको काम सुस्त रहेको स्वीकार गरे। ‘चालु आवमा ५० लाख बजेट आएको छ, अहिले बाटो मर्मत कार्य भइरहेको छ’, कार्यालय प्रमुख अधिकारीले भने, ‘काम भयो भने बजेट रकमान्तर गरेर पनि भुक्तानी गर्न सकिन्छ ।’ सडकको हालसम्म पाँच किलोमिटर सडक मात्रै कालोपत्र भएको छ । सात किलोमिटर सडक निर्माणको काम बाँकी नै छ । कार्यालयका अनुसार निर्माण व्यवसायीले हालसम्म १८ करोड ३६ लाख रुपैयाँ भुक्तानी पाइसकेको छ । पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने भए पनि सडक निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । ‘पञ्चायतकालमा सुरु भएको सडक अहिलेसम्म पनि निर्माण हुन सकेको छैन’, वेदकोट नगरपालिकाका स्थानीय केशव बोहराले भने, ‘यो सडक निर्माण नहुँदा हामीले धेरै दुःख पाएका छौं, हिउँदमा धुलाम्य हुन्छ बर्सातमा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ ।’ उनले जोगबुढासम्मको ३१ किलोमिटर सडक निर्माण नहुँदा यहाँका स्थानीय १५० किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपरेको गुनासो गरे । डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दूरीको सडक भीमदत्त राजमार्गको विकल्पको रूपमा लिइन्छ । तर कच्ची ट्रयाकमा यो खण्डमा बर्सेनि सडक दुर्घटनामा परी स्थानीयले ज्यान गुमाउँदै आएका छन् । त्यसैगरी वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले ट्रयाक खुलेको लामो समयदेखि दैजी–जोगबुढा सडक बन्न नसकेको बताए । ‘पञ्चायतको अन्ततिर २०४६ सालतिर ट्रयाक खुलेको हो’, नगरप्रमुख बोहराले भने, ‘तर सडक निर्माणकै अवस्थामा छ ।’