गुल्मीका ५१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा
तम्घास । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमप्रति गुल्मीका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरिएको थियो । जिल्लाका ५१.६५ प्रतिशत नागरिकमा स्वास्थ्य बिमा पहुँचमा पुगेको छ । २०७८ सालको जनगणनाअनुसार जिल्लामा कूल दुई लाख ४६ हजार आठ सय ३६ जनसङ्ख्या रहेकोमा एक लाख २७ हजार तीन सय ५५ जनाले स्वास्थ्य बिमा गराएका छन् । जसमा महिला ६५ हजार छ सय ६६ र पुरुष ६१ हजार छ सय ८९ जना रहेका छन् । सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका २४ हजार पाँच सय ४१ जनाले स्वास्थ्य बिमा गराएका छन् । त्यसैगरी चन्द्रकोटका छ हजार चार सय, छत्रकोटका १२ हजार दुई सय ६३, धुर्कोटका १० हजार तीन सय पाँच, गुल्मी दरबारका १० हजार दुई सय १०, इस्माका सात हजार तीन सय ५० नागरिकले स्वास्थ्य बीमा गराएका छन् । त्यसैगरी, कालीगण्डकीका छ हजार सात सय तीन, मदानेका तीन हजार छ सय ७६, मालिकाका आठ हजार एक सय ९९, मुसीकोटका सात हजार आठ सय ४१, रुरुक्षेत्रका १४ हजार ८५ तथा सत्यवतीका १५ हजार सात सय ८२ नागरिकले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख सुवास घिमिरेले जानकारी दिए । जिल्लामा हालसम्म शुल्क लाग्ने साधारण समूहतर्फ २१ हजार ३३ परिवारका एक हजार पाँच सय २४ परिवार र ५० प्रतिशत छुटमा आठ सय ८३ महिला स्वास्थ्य स्वयंसेविकाका परिवारका चार हजार छ सय दुई जनाले स्वास्थ्य बीमा गराएका छन्। सरकारले ज्येष्ठ नागरिक, अपाङ्ग एवं विभिन्न रोग लागेकाहरूको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा पनि गराइदिएको छ । जसमा १७ हजार सात सय १२ ज्येष्ठ नागरिक निःशुल्क बीमाको पहुँचमा आएका छन् । ‘क’ वर्गका अपाङ्गतर्फ सात सय ९३ परिवारका तीन हजार नौ सय ९९ जना, एचआइभी एड्स सङ्क्रमित एक सय ६६ परिवारका चार सय ८२ जना, कुष्ठरोगीका तीन परिवारका १२ जना तथा एमडीआर टिबीका छ परिवारका २५ जनाको पनि निःशुल्क स्वास्थ्य बीमा गराइएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख घिमिरेले बताए। गुल्मीमा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो । सरकारले तीन हजार पाँच सयमा एक परिवारका पाँच सदस्यसम्मको बीमा गर्दछ । जसमा एक लाख बराबरको औषधि–उपचार निःशुल्क प्राप्त गर्दछन् । त्यसैगरी, परिवार सङ्ख्या पाँचभन्दा बढी भएमा प्रतिव्यक्ति ७ सयका दरले प्रथम बीमा शुल्कमा थपिँदै जाने र सो रकमले २० हजार उपचार खर्च प्राप्त हुने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
चौथो ‘एनिभर्सरी’ मनाउँदै टेनएक्स क्लब, नेपाली र अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति
काठमाडौं । क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको छ । असोज ३० गते बिहीबार ठमेलमा रहेको नाइट क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको हो । वार्षिकोत्सवमा विभिन्न सांगीतिक समूह तथा कलाकारले आफ्नो प्रस्तुती दिने भएका छन् । दि जेनसीस ब्याण्ड,स्पाइसी एन्जल्सको प्रस्तुती र अन्तर्राष्ट्रिय डिजे समर्न, डिजे रह्न र डिजे नानीको समेत प्रस्तुती रहने छ । विगतका वार्षिकोत्सव जस्तै गरेर यस वर्ष पनि भव्य र सभ्य बनाउने गरी तयारी गरिरहेको क्लबका सीईओ पौरख मर्दन बस्न्यातले जानकारी दिए । चार वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लब टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को प्रस्तुती दिदैँ आएको छ । ‘तीन वर्षको अवधिमा हामीले पार्टीको चाहना राख्नेहरूको इच्छा पूरा गर्दै आएका छौँ,’क्लबका सीईओ बस्न्यात भन्छन् । उनका अनुसार क्लबमा ५० भन्दा बढी कर्मचारी कार्यरत छन् । क्लब टेन एक्समा नेपालका चर्चित डिजे तथा गायक-गायिकाले प्रस्तुति दिएका थिए । गायक अनिल सिंह, कालीप्रसाद बास्कोटा र एकदेव लिम्बू जस्ता थुप्रै नेपालका कलाकारले आफ्नो प्रस्तुती दिइ सकेका छन् ।
दुई महिनामा बीमा कम्पनीहरूबाट साढे ११ अर्ब बीमा दाबी भुक्तानी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिना अर्थात भदौसम्ममा सञ्चालनमा रहेका ३७ बीमा कम्पनीहरूले साढे ११ अर्ब रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार भदौसम्ममा १४ जीवन बीमक, १४ निर्जीवन बीकम, ३ लघु जीवन बीमक र ४ निर्जीवन लघु बीमक कम्पनीहरूबाट ११ अर्ब ५२ करोड २७ लाख रुपैयाँ दाबी रकम भुक्तानी भएको हो । चालु आवको दुई महिनामा बीमा कम्पनीहरूले भुक्तानी गरेको दाबीबापतको रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.४८ प्रतिशतले बढेको छ । कम्पनीहरूले अघिल्लो आवको सोही अवधिमा कल ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । चालु आवको भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले भुक्तानी गरेको दाबीको संख्या ४३ हजार ६३६ वटा रहेको छ । जसअन्तर्गत कम्पनीहरूले ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीहरूले ३६ हजार ४१ वटा दाबी संख्याको ६ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा जीवन बीमकहरूको दाबी भुक्तानी संख्या २०.३२ प्रतिशत र रकम १९.१८ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चालु आवको दुई महिनामा जीवन बीमकहरूले ५६ हजार ५९७ वटा दाबीको ४ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले ४५ हजार २९ वटा दाबीको ३ अर्ब १७ करोड ६३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा जीवन बीमकहरूको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम २५.६९ प्रतिशत र ४९.८१ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार दुई महिनामा निर्जीवन बीमकहरूले कुल २२ हजार ३८२ वटा दाबीको ३ अर्ब २५ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको भदौसम्म निर्जीवन बीमकहरूले २० हजार ९४१ वटा दाबीको २ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको भदौसम्मको तुलनामा समीक्षा अवधिसम्म निर्जीवन बीमकहरूको दाबी भुक्तानी संख्या ६.८८ प्रतिशत र भुक्तानी रकम भने ३१.७५ प्रतिशतले बढेको छ । भदौसम्ममा निर्जीवन बीमकहरूले १ लाख ५ हजार ४९९ वटा दाबीको ४० अर्ब ९५ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीहरूले १ लाख ९६९ वटा दाबीको २३ अर्ब १९ करोड ८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म निर्जीवन बीमकहरूको भुक्तानी हुन बाँकी दाबी संख्या ४.४९ प्रतिशत र दाबी रकम ७६.५९ प्रतिशतले बढेको छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरू अब सिद्धार्थनगर, रुपन्देहीस्थित एशियन बुद्ध होटलमा सेवा लिँदा छुट प्राप्त गर्न सक्ने भएका छन् । यस सम्बन्धमा बैंक र होटलबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार, ग्राहकहरूले होटलमा कुनै पनि सेवा लिँदा डिजिटल भुक्तानीमार्फत १५ प्रतिशत छुट पाउनेछन् । ग्राहकहरूले यो छुट सुविधा प्राप्त गर्नका लागि एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । यस सहकार्यले ग्राहकलाई आकर्षक छुट सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य बैंकले लिएको छ । नगदरहित कारोबारको विस्तार र डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन पनि यस कदमले सहयोग गर्ने बैंकको विश्वास छ ।
बीमकका सुझावसहित कृषि बीमा निर्देशिका संशोधन प्रक्रिया अघि बढाउँदै प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बुधबार ललितपुरस्थित कुपण्डोलमा रहेको आफ्नो केन्द्रीय कार्यालयमा बीमक कम्पनीका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्देश्य कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ लाई सामयिक परिमार्जन गर्नका लागि बीमकहरूको राय सुझाव संकलन गर्नु र प्राधिकरणले पहिलो पटक ल्याउन लागेको क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदामा छलफल गर्नु रहेको थियो । कार्यक्रममा प्रस्तुत दुवै मस्यौदामाथि विस्तृत छलफल भएको प्राधिकरणले जनाएको छ । साथै, नेपाल सरकारबाट प्रदान हुने अनुदानका लागि सिफारिस व्यवस्था, कृषि बीमा रियल टाइम सफ्टवेयरको सञ्चालन स्थिति, देखिएका समस्या र समाधानका उपायबारे पनि बीमक प्रतिनिधिहरूले आफ्ना सुझाव दिएका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले निर्देशिका परिमार्जन प्रक्रिया सामयिक आवश्यकताअनुसार अघि बढाइरहेको बताए। उनले बीमकहरूलाई वास्तविक सुझावहरू दिन आग्रह गर्दै भने, 'प्राधिकरणले पहिलो पटक क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिका ल्याउन लागेको छ, त्यसका लागि पनि ठोस रायसुझाव दिनुहोस् ।' सुवेदीले बीमकहरूबाट प्राप्त रायसुझावहरू समेटेर निर्देशिकाका मस्यौदाहरूलाई अन्तिम रूप दिने जानकारी दिए । कार्यक्रममा प्राधिकरणका निर्देशकहरू, कृषि बीमा शाखाका कर्मचारीहरू तथा निर्जीवन बीमा कम्पनीहरूको कृषि विभाग प्रमुखहरूको पनि सहभागिता रहेको थियो ।
ट्रम्पको बयानपछि अमेरिकी लगानीकर्ताले ७ मिनेटमै गुमाए ४५० अर्ब डलर
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक अभिव्यक्तिले मंगलबार लगानीकर्ताहरूलाई ठूलो घाटा बेहोर्नुपर्‍यो । उनको उक्त अभिव्यक्तिका कारण मात्र ७ मिनेटभित्र लगानीकर्ताहरूले करिब ४५० अर्ब डलर गुमाए । ट्रम्पले भनेका थिए कि चीनले अमेरिकाबाट सोयाबिन किन्ने काम रोकेको छ र यसको जवाफस्वरूप अमेरिका स्वयंले कुकिङ तेल उत्पादन गर्नेछ । यही कारणले सेयर बजारमा तीव्र गिरावट आएको हो । एसएन्डपी ग्लोबलको तथ्यांकअनुसार चीनले गत वर्ष २.९५१ मिलियन मेट्रिक टन कुकिङ तेल निर्यात गरेको थियो, जसमा अमेरिका सबैभन्दा ठूलो आयातकर्ता थियो — उसले १.२६७ मिलियन मेट्रिक टन तेल आयात गरेको थियो । ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘चीन जानाजानी हाम्रो सोयाबिन किनिरहेको छैन र यसले हाम्रा किसानहरूलाई समस्या सिर्जना गरिरहेको छ । हामी चीनसँगको व्यापार सम्बन्ध अन्त्य गर्नेबारे सोचिरहेका छौं । हामी सजिलै आफ्नै कुकिङ तेल उत्पादन गर्न सक्छौं, त्यसैले अब हामीलाई चीनबाट किन्ने आवश्यकता रहने छैन ।’ यता अमेरिकी व्यापार प्रतिनिधि ग्रीयरले भनेका छन् कि राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको बैठकको मिति तय भइसकेको छ । यस घोषणासँगै बजार फेरि सुधारतर्फ उन्मुख भयो । अमेरिका र चीनबीच लामो समयदेखि व्यापार युद्ध चल्दै आएको छ । हालै ट्रम्पले चेतावनी दिएका थिए कि यदि चीनले अमेरिकाका मागहरू स्वीकार नगरेमा नोभेम्बरदेखि उसमाथि १०० प्रतिशतसम्म अतिरिक्त शुल्क (ट्यारिफ) लगाइनेछ । यसको जवाफमा चीनले भनेको थियो, ‘हामी यो लडाइँ अन्तिमसम्म लड्नेछौं ।
विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताएकी छन् । प्रधानमन्त्री कार्कीले बुधबार जारी गरेको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ । 'उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँप्रति सदा कृतज्ञ बनाएको छ', समवेदनमा भनिएको छ, 'उहाँको यो वीरतापूर्ण कार्य, उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।' बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद् मृत्यु पुष्टि हुनेगरी मङ्गलबार आएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै समवेदनमा भनिएको छ, 'यो हृदयविदारक समाचारले सबैलाई गहिरो पीडा दिएको छ, म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।' समवेदनामा जोशी केवल एक विद्यार्थी मात्र नभई ज्ञानको खोजीमा विदेशिएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि भएको उल्लेख गर्दै भनिएको छ, 'उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो, उहाँ सकुशल फर्किएर नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिनुहुनेछ भन्ने हाम्रो कामना थियो ।' सदा शान्ति पक्षधर नेपालको छोरा अन्तरराष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बनी अपहरण भएको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका समवेदनमा छ । जोशीको निधनको खबरले दुई वर्षको सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको उल्लेख छ ।
नेप्सेका कर्मचारी २३ दिनदेखि आन्दोलित, सीईओ खोजिदिन अनुरोध
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीहरूले विगत २३ दिनदेखिकाे आन्दोलन जारी राखेका छन् । बोनस सुविधा पाउनु पर्ने भन्दै नेप्सेका कर्मचारीहरू २३ दिनदेखि आन्दोलन गरिरहेका हुन् । आज बुधबार २३ औँ दिनमा नेप्सेका कर्मचारीहरूले साढे २ घण्टा धर्ना तथा विरोध गरेकाे नेप्से कर्मचारी संघका अन्यक्ष नवराज थापाले जानकारी दिए । कर्मचारीहरूले असक्षम झोले सीईओ र अध्यक्ष राजीनामा दे भन्दै ब्यानर पनि प्रदर्शन गरेका छन् । साथै नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईं २३ दिनदेखि हराइ रहेकाले खोजिदिन कर्मचारीहरूले अनुरोध गरेका छन् । आन्दोलन जारी रहेपनि सेवा पनि नियमित रहेको अध्यक्ष थापाको भनाइ छ । नेप्सेले राम्रो नाफा गरिरहेको हुँदा कर्मचारीहरूले ५ प्रतिशतसम्म बोनस पाउनुपर्ने माग राखिरहेका छन् । साथै, श्रम अदालतले पनि कर्मचारीहरूलाई ५ प्रतिशत बोनस सेयर दिनु भनेर फैसला सुनाएको छ । तर, नेप्से सञ्चालक समितिको बैठकले भने श्रम अदालतको फैसला विरुद्ध सर्वाेच्च अदालत जाने निर्णय गरेपछि कर्मचारीहरू आन्दोलित भएका हुन् । सञ्चालक समितिको निर्णय फिर्ता नलिएसम्म कर्मचारीहरुले सीईओ चापागाईं र अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गरेका छन् ।