यी हुन सोमबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं, ६ असार । आइतबारबाट ओरालो लाग्न सुरु भएको सेयर बजार सोमबार पनि निरन्तर बन्यो । पहिलो दिन १० दशमलब ६७ अंकले घटेको बजार दोश्रो ७ दशमलब १७ प्रतिशतले ओरालो लाग्यो । सोमबार १३५ कम्पनीको १८ लाख ४५ हजार कित्ता सेयर १ अर्ब १९ करोड रुपैंयाँमा कारोबार भयो । यस्ता छन् सर्वाधिक कमाउने १० कम्पनी राष्ट्रिय बीमा कम्पन लिमिटेड प्रमोटर सेयरको मुल्य ६५० रुपैंयाले बढेर ७१५० रुपैंयाँ पुगेको छ । नेको इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले पनि १६१ रुपैंयाँ कमाएका छन् । नेकोको सेयर मुल्य १७७८ रुपैंयाँ पुगेको छ । जेबिल्स फाइनान्सका लगानी कर्ताले २२ रुपैंयाँ कमाउने यसको सेयर मुल्य २४७ रुपैंयाँ पुगेको छ । युनियन फाइनान्सको मुल्य १६१ रुपैंयाँ पुग्दा यसका लगानी कर्ताले १४ रुपैंयाँ कमाएका छन् । सिनर्जी फाइनान्सको सेयर मूल्य १३ रुपैंयाले वृद्धि हुँदा यसको सेयर मुल्य १५० रुपैंयाँ पुगेको छ । आइसीएफसी फाइनान्सको मुल्य २१ रुपैंयाँले बढेर ३१० रुपैंयाँ पुगेको छ । साझा विकास बैंकको सेयर मुल्य पनि २० रुपैंयाँले बढेर ३०० रुपैंयाँ पुगेको छ । सानिमा माई हाइड्रो पावर लिमिटेडका लगानी कर्ताले पनि ६० रुपैंयाँले बढेर ९३५ रुपैंयाँ पुगेको छ । लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानी कर्ताले १८३ रुपैंया आम्दानी गर्दा सेयर मुल्य ३१४९ रुपैंयाँ पुगेको छ ।जनउत्थान सामुदायीक लघुवित्तका लगानी कर्ताले पनि ३० रुपैंयाँ कमाउँदा सेयरको मुल्य ६४९ रुपैंयाँ पुगेको छ । यी हुन गुमाउने कम्पनी सिन्धु विकास बैंकका लगानी कर्ताले ४१ रुपैंयाँ गुमाएका छन् । यो कम्पनीको सेयर मुल्य ४९९ रुपैंयामा झरेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले पनि ८५ रुपैंयाँ गुमाएका छन् । सूर्या लाइफको सेयर मूल्य ११३५ रुपैँयामा झरेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले १२० रुपैंयाँ गुमाउँदा सेयरको मुल्य घटेर १९८० रुपैँयामा झरेको छ । आइएलएफसीओ माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानी कर्ताले पनि ९६ रुपैंयाँ गुमाएका छन् । यो कम्पनीको सेयर मुल्य १७१५ रुपैंयामा झरेको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले ८० रुपैंयाँ गुमाउँदा सेयर मुल्य १५१० मा आइपुगेको छ । स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मुल्य १३६ रुपैंयाँले घटेर २६०७ रुपैंमा झरेको छ । प्रोग्रेसिभ फाइनान्सको सेयर मुल्य पनि ९ रुपैंयाँले घटेर १८० रुपैंयमा आइपुगेको छ । काष्ठमण्डप डेभलपमेन्ट बैंकका लगानी कर्ताले १७ रुपैंयाँ गुमाउँदा सेयरको मुल्य ३७५ रुपैंयामा झरेको छ । तिनाउ डेभलपमेन्ट बैंकको सेयर मुल्य पनि २६ रुपैंयाले घटेर ५४९ रुपैंयामा आइपुगेको छ ।
सेनाले सिन्धुलीमा ४८ परिवारका लागि सामूहिक आवास भवन बनाउँदै
सिन्धुली, ६ असार । नेपाली सेनाले सिन्धुलीमा अप्रेशन सङ्कटमोचन सञ्चालन गरेर पुनःनिर्माण–१ अभियान सञ्चानल गरिरहेको छ । वर्षा लागेपछि टहरोमा बसेका पीडितलाई समस्या भएको भन्दै सेनाले सामूहिक आवास निर्माण गर्न लागेको हो । पुनःनिर्माण अभियानअन्तर्गत सिन्धुलीमा रहेको सेनाको चण्डीदल गणले कमलामाई नगरपालिका–९ ढुङ्ग्रेवास, बासेश्वर गाविस–३ बलेनी र बितिजोर गाविस–२ बगैँचामा दुई दुई गरी जम्मा छवटा सामूहिक आवास भवनको निर्माण कार्य अन्तिम चरणमा पु¥याएको छ । आवास कोठा, ट्वाइलेट, बाथरुम, किचन र सौय ऊर्जासहितको व्यवस्था हुने उक्त आवासमा एउटा भवनमा आठ परिवार बस्न सक्ने छन् । निर्माण हुँदै गरेको छवटा स्टिल बडी भूकम्प प्रतिरोधी भवनमा ४८ परिवार अट्ने चण्डीदल गणका गणपति सूर्यबहादुर अधिकारीले बताए। तीनवटै स्थानका भवन असार १० गतेसम्म दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको अधिकारीले बताए । छ वटा भवनको निर्माणमा झन्डै रु एक करोड खर्च हुने अनुमान सेनाको रहेको छ । विनाशकारी भूकम्पपछि पीडितहरुको उद्धार, राहत तथा पुनःस्थापनामा निकै क्रियाशील नेपाली सेना चण्डीदल गणले जिल्लामा तीनवटा विद्यालय भवन र दुई हजार ३५५ घरटहराको निर्माण गरिसकेको जनाएको छ । रासस
अनाथ असहाय बालबालिकालाई हिमालयन बैंकको सहयोग
काठमाडौं, ६ असार । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानीलकण्ठको टुसालस्थित ‘अनाथ असहाय बाल सुधार संघ’मा रहेका बालबालिकालाई सहयोग प्रदान गरेको छ । बैंकले बाल सुधार संघमा रहेका चौंतीस जना बालबालिकालाई खाद्य(सामग्रीहरु (चामल, दाल, चिनी, तेल, नुन, बिस्कुट, गेडागुडीहरु) तथा पकाउने र खाने भाँडाकुँडाहरु (डेक्ची, प्रेसर कुकर, थाल, कचौरा, गिलास, चम्चा) सहयोग गरेको हो । देशका विभिन्न स्थानमा रहेका अनाथ तथा असहाय बालबालिकाहरुलाई संघले आश्रय तथा शिक्षा प्रदान गर्दै आइरहेको छ । बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
एनआईबिएल क्यापिटल मोबाइल एप अब आइओएस भर्सनमा पनि
काठमाडौं, ६ असार । एनआईबिएल क्यापिटल मार्केट्सले आफ्ना ग्राहकवर्गलाई लक्षित गरेर “एनआईबिएल क्यापिटल मोबाइल एप” आइओएस भर्सनमा पनि ल्याएको छ । यो एपबाट सजिलै आफ्नो एनआईबिएल क्यापिटलमा भएको डिम्याट अकाउन्ट लगायत अन्य सेवाहरुको बारेमा समेत जानकारी लिन सकिन्छ । साथै एनआईबिएल क्यापिटल मार्केट्स सम्बन्धि ताजा खबर तथा एनआईबिएल समृद्धि फण्ड–१ को बारे पनि जानकारी लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एनआईबिएल क्यापिटलले सर्वप्रथम एनरोइड भर्सनको लागि मात्र यो एप सञ्चालनमा ल्याएको थियो । ग्राहकवर्गको माग अनुरुप एनआईबिएल क्यापिटलले आइओएस भर्सनमा पनि यसलाई विकासित गरेको कम्पनीले जनाएको छ । ग्राहकले एप स्टोरबाट यसलाई डाउनलोड गरि त्यसमा आफ्नो डिम्याट अकाउन्टको पासवर्ड हाली लगइन गरे पछि ग्राहकको चाहाना अनुरुप एपमा रहेको बिशेषताहरु हेर्न सक्ने र साथै एनआईबिएल समृद्धि फण्ड–१ कोविक्ली मन्थ्ली एनएभी पनि हेर्न सक्ने कम्पनीले बताएको छ । यस एपबाट आइओएसको निष्काशन, हालसालै गरेको बोनस, नगद लाभांस, हकप्रद शेयरको बारे पनि जानकारी लिन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सेञ्चुरी बैंकद्वारा भिसा क्रेडिट कार्ड सेवा शुरु
काठमाडौं, ६ असार । सेञ्चुरी कमर्सियल बैँकले सेञ्चुरी भिसा के्रडिट कार्डको शुरुवात गरेको छ । बैंकका अनुसार ग्राहकवर्गहरुले गोल्ड र क्लासिक दुई प्रकारका क्रेडिट कार्डको सुविधा लिन सक्ने छन् । बैंकले भिसा के्रडिट कार्डको सेवा ३१ वटै शाखाहरुबाट उपलब्ध गराउने भएको छ । हालसम्ममा बैंकले ३१ वटा शाखा, २८ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । आ.व. २०७२/७३ को चैत्र मसान्त सम्म बैंकले कुल निक्षेप २६ अर्ब एक करोड रुपैयाँ र कर्जा रकम २२ अर्ब ८३ करोड रुपैयाँ परिचालन गरेको छ । सो अबधिमा बैंकले २३ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
काबुल बिस्फोटमा १४ नेपालीको मृत्यु
काठमाडौं, ६ असार। अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती हमलामा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । काबुलमा सोमाबार बिहान आतंकवादीहरुले मिनीबसमाथि बम आक्रमण गरेका थिए । मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृहमन्त्रालयले पुष्टि गरेको छ । घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये पाँच नेपाली र चार अफगान नागरिक छन् । अफगान गृह मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीका अनुसार पैदल हिड्दै आएका आत्मघाती हमलाकारीले रोकिएको बसमा बिष्फोट गराएका थिए । आक्रमणकारी समेत सोही विस्फोटमा मारिएका छन् ।
साना सवारीसाधनले मनपरि भाडा लिँदा यात्रु मारमा
उदयपुर, ६ असार । उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको कटारी बजारदेखि पहाडी क्षेत्र रुपाटार, घुर्मी, बाहुनीटार, ओख्ले बेतिनी क्षेत्रसम्म सञ्चालन हुने साना सवारीका साधनले यात्रुबाट मनपरि सवारी भाडादर लिने गरेको कारण यात्रु मारमा परेको गुनासो व्यापक बढ्दै जान थालेको छ । कटारी बजारदेखि घुर्मी, रुपाटार, ओख्लेसम्म क्षेत्रको सवारी भाडादर रु ३५० देखि ४०० सम्म निर्धारण भएको तर, सवारी सञ्चालकले यात्रुअनुसार मनपरि भाडा लिने गरेको यात्रु बताउँछन् । रुपाटारकाका स्थानीय मोहन राउतका अनुसार कटारीदेखि रुपाटार ओख्लेसम्मको यात्राको लागि अहिले एक सवारीसाधनले प्रति यात्रु रु ५५० देखि ७०० सम्म भाडा लिने गरेका छन् । साना यातायातका साधन जिप तथा सुमोको यातायात सङ्घको निर्णयअनुसार रु ४०० सम्म भाडादर लिन सक्ने भए तापनि सवारी चालकले बढी महँगो भाडा लिएर यात्रु ठग्ने गरेको ओख्ले–७ का भुपेन्द्र राई बताउँछन् । यस क्षेत्रमा साना सवारीका साधनमा भाडादर अनुगमन गर्ने निकाय नहुँदा र सम्बन्धित निकायले ध्यान नदिँदा यात्रु बढी मारमा पर्नुपरेको रुपाटरकै अर्का स्थानीय पदम खड्का बताउँछन् । तर कटारी बेतेनी, रुपाटारसम्मका एक जिप सञ्चालक होमबहादुर मगर भने आफूहरूले समयअनुसार सवारी भाडा बढाउन बाध्य भएको बताउँछन् । साना सवारीका साधन यातायात व्यवसायी सङ्घको समेत निश्चित सवारी भाडादर निर्धारण गरेको भए तापनि यस्ता भाडादर बाहिर देखाउनको लागिमात्र निर्धारण भएको सवारी सञ्चालक नै बताउँछन् । एकातिर एउटा सवारी भाडादर निर्धारण गर्ने र अर्कातिर यात्रुबाट महँगो भाडा लिने कार्य बढ्दै गए पनि सम्बन्धित निकायको यसतर्फ उचित ध्यान नगएको यात्रुको गुनासो रहेको छ । रासस