पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न
लिस्बन । पोर्चुगलमा अवस्थित नेपाल कल्चर कम्युनिटी कोइम्ब्राद्वारा आयोजना गरिएको तिहार विशेष सांस्कृतिक कार्यक्रम आइतबार कोइम्ब्रामा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता म्याक्स श्रेष्ठले गरेको थिए भने प्रमुख अतिथि पोर्चुगली प्रतिनिधि क्यातरिना पिइरेस रहेका थिए । कार्यक्रममा कोइम्ब्रा र वरपर क्षेत्रका नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सञ्चालक सन्तोष पाण्डेको प्रभावशाली प्रस्तुति र आकर्षक शैलीले कार्यक्रममा थप उत्साह र ऊर्जा भरेको सहभागीहरूले बताएका छन् । कार्यक्रममा गीत, नृत्य, कविता, तिहार विशेष भोजन र सम्मान कार्यक्रमजस्ता विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । कार्यक्रमले पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूबीच एकता, आपसी सम्बन्ध र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको आयोजक समितिले जनाएको छ । सहभागीहरूले पनि यस्ता कार्यक्रमहरूले विदेशमा रहेर आफ्नो संस्कृति, परम्परा र पहिचानलाई जोगाइराख्न महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्।
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन्। आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन तयारीका विषयमा छलफल हुने भएको हो । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपालगायत दलका नेताहरू छलफलमा सहभागी हुने बताइएको छ । अन्तरिम सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गराउने घोषणा गरिसकेको छ । यसअगाडि राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलसँग छलफल गरिसकेका छन् । उक्त छलफलमा दोस्रो तहका नेता उपस्थित भएका थिए ।
बलिउडका उम्दा कलाकार असरानीको निधन
काठमाडौं । बलिउडका उम्दा कलाकार असरानीको निधन भएको छ । स्वास्थ्य समस्याका कारण चार दिनदेखि मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना भएका असरानीको सोमबार दिउँसो ३ देखि ३:३० बजेको बीचमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको ८४ वर्षको उमेरमा उनको निधन भएको हो । उनको दाहसंस्कार सान्ताक्रुज क्षेत्रको शास्त्री नगरस्थित श्मशानघाटमा गरिय । असरानीको जन्म सन् १९४१ मा जयपुरमा भएको थियो । सन् १९६७ मा उनले काँच की चुँडियामार्फत सिनेयात्रा तय गरेका थिए । उनले ३५० भन्दा बढी हिन्दी फिल्ममा काम गरिसकेका छन् ।
अर्घाखाँची सिमेन्टसहित चार कम्पनीको बिजुलीको लाइन काटियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मंगलबार बिहान चार कम्पनीको बिजुलीको लाइन काटेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवाद कायम रहेको बेला घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन काटिएको हो । प्राधिकरणले दीपावली सकिएलगत्तै यी कम्पनीको बिजुली काटेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनले तिहारको सार्वजनिक बिदाको दिन पनि उद्योगहरूले बक्यौता रकम तिर्न सक्ने बताए। किस्ताअन्तर्गत पहिलो किस्ता तिरेमा काटिएको लाइन पुन: जोडिने पनि उनले बताए ।
झिलिमिली देखियो काठमाडौं उपत्यका (तस्बिरहरू)
काठमाडौं । लक्ष्मीपूजाको पावन अवसरमा काठमाडौं उपत्यका झिलिमिली बत्तीको उज्यालोमा स्नान गरिरहेजस्तै देखिएको छ । सोमबार साँझदेखि नै सहरका मुख्य चोकहरू, व्यापारिक केन्द्रहरू र आवासीय क्षेत्रहरू रंगीचंगी बत्तीहरूले सजिएपछि काठमाडौं साँच्चिकै झिलिमिली सहर बनेको छ । सुन्धारा, न्यूरोड, जमल लगायत चक्रपथका प्रमुख चोकहरू बत्तीको आकर्षक सजावटले झकिझकाउ छन् । निजी मल, शपिङ कम्प्लेक्सहरू, रेस्टुरेन्टदेखि घर आँगनसम्म बेहुलीझै सिंगारिएका छन् । लक्ष्मीपूजाको रात साथीभाइ भेला भई भैलिनी खेल्दै झनै रमाइलो थपिएको छ । तिहारका दिनहरूमा मात्र होइन, पूरै सप्ताह काठमाडौंको रूप र रंग फरक देखिन्छ । व्यापारिक भवन, कार्यालय र घरहरूमा राखिएका बत्तीहरू तिहार सकिएपछि पनि हटाइँदैनन्, जसले गर्दा झिलिमिली काठमाडौंको सौन्दर्य अझ केही दिनसम्म कायमै रहन्छ । बर्षेनी झिलिमिली बत्ती राख्ने चलन काठमाडौंमा बढ्दो क्रममा छ । हिजोआज पूरै घर झकिझकाउ बनाएर तिहार नमनाउने कमै भेटिन्छ । यही कारण तिहार अब केवल धार्मिक पर्व मात्र नभई काठमाडौंको सांस्कृतिक झिलिमिली उत्सवझै भएको छ । तस्बिरहरू:
विपिन जोशीको पार्थिव शरीर परिवारलाई हस्तान्तरण, महाकाली घाटमा अन्त्येष्टि हुने
काठमाडौं । प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा परेर ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर सोमबार साँझ नेपाली सेनाको सम्मानसाथ परिवारलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको टोलीले राष्ट्रिय सम्मानसहित जोशीको शव हस्तान्तरण गर्दा वातावरण शोकाकुल बनेको थियो । नेपाली राष्ट्रिय झण्डाले बेरेको कफिनमा राखिएको विपिनको शव उनका दाजु किशोर जोशीसहितको परिवारले बुझेका हुन् । शव बुझेलगत्तै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली घाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ । परिवार, स्थानीयबासी र सरकारी प्रतिनिधिहरूको उपस्थितिमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने बताइएको छ । २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका विपिनको मृत्युको पुष्टि इजरायली अधिकारीहरूले गत असोज २७ गते गरेका थिए । युद्धविरामपछि हमासले उनको शव इजरायली सेनालाई हस्तान्तरण गरेपछि, डीएनए परीक्षण र फरेन्सिक रिपोर्टमार्फत शव विपिनकै भएको प्रमाणित गरिएको थियो ।
लक्ष्मी पूजाको दिन देशभर १६ सय ५० मेगावाट विद्युत खपत, काठमाडौं उपत्यकामा मात्र ४०२.५ मेगावाट
काठमाडौं । तिहारको मुख्य दिन मानिने लक्ष्मी पूजाका दिन देशभर विद्युत् उच्च माग (पिक डिमाण्ड) १६ सय ५० मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १ हजार ६०२ मेगावाट पुगेको थियो । यस वर्षको माग गत वर्षको तुलनामा ४८ मेगावाटले बढेको छ। लक्ष्मीपूजाको दिन आवश्यक सम्पूर्ण विद्युत् देशभित्रैका उत्पादन गृहबाट आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार देशको माग पूरा गरेपछि पिक समयमा १ हजार १५ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको छ। गत वर्ष सोही समयमा २५३ मेगावाट मात्रै निर्यात गरिएको थियो। प्राधिकरणका अनुसार राजधानी काठमाडौं उपत्यकामै मात्र ४०२.५ मेगावाट विद्युत खपत भएको छ। गत वर्षको लक्ष्मी पूजाको दिन उपत्यकामा करिब ३ सय मेगावाट खपत भएको थियो। यस वर्ष उपत्यकामा विद्युत खपतमा करिब ३४ प्रतिशतले वृद्धि भएको हो । विगतमा तिहार विशेष गरी लक्ष्मी पूजाको दिनलाई उच्चतम लोड हुने समयको रूपमा लिने गरिन्थ्यो। तर, प्राधिकरणका अनुसार तिहारको बेला उद्योग-धन्दा बन्द हुने र कामदारहरू बिदामा घर फर्किने हुँदा औद्योगिक खपतमा कमी आउने गर्छ । यसले गर्दा समग्र प्रणालीमा लोड अपेक्षाकृत कम हुने देखिएको छ । प्राधिकरणका अनुसार घरायसी विद्युत खपत केही बढे पनि औद्योगिक क्षेत्रको खपत घट्दा समग्र लोड पहिलेको जस्तो उच्च हुँदैन । विद्युत आपूर्तिमा कुनै अवरोध नरहेको र सबै क्षेत्रमा सहज रुपमा सेवा दिइरहेको प्राधिकरणले जनाएको छ । तिहारको रमाइलो बेला उज्यालो र निरन्तर आपूर्तिको यो स्थिति उपभोक्ताका लागि सुखद पक्ष हो । अहिले काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ । घरघरमा बालिएको बत्तीका कारण उपत्यका उज्यालो देखिएको छ । हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ । झिलिमिली बत्तीले सजिएको उपत्यका नजिकका डाँडाहरूबाट मनमोहक देखिएको छ ।
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज पत्रकार सम्मेलन आयोजना गरी उनले खोजबिन समितिले औँल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने बताए । ‘त्रिभुवन विश्वविद्यालयको जग्गा हड्पेर धेरै वर्षदेखि उपयोग गरेर नाजायज फाइदा लिइरहेको अवस्था रहेको छ । समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने छ । मन्त्रालयबाट सल्टाउन नसकिने विषयको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइनेछ’, मन्त्री पुनले भने। त्रिविको जग्गा खोजबिनसम्बन्धी समितिको प्रतिवेदन अपूरो रहेको उल्लेख गर्दै उनले अझै गहन छानबिन गर्न गर्नुपर्ने आवश्यकता रहेको बताए। समितिको सिफारिसलाई नै टेकेर अर्को छानबिन समिति बनाउने तयारी गरिएको उनको भनाइ छ । यस्तै सुदूरपश्चिम विश्वविद्यालयको धेरै जग्गा हड्पेको भन्ने उजुरी मन्त्रालयमा प्राप्त भएको जानकारी दिँदै उनले त्यसका लागि पनि छानबिन समिति गठन गरिने बताए। मन्त्री पुनले पछिल्लो समय प्रविधिको विकास भएअनुसार हाम्रा विद्यार्थी पछि नपरून् भनेर माध्यमिक तहसम्म एक सय पूर्णांकको ‘कम्प्युटर’ विषय थप गर्ने निर्णय भएको जानकारी दिए ।