साहारा विकास बैंकको २३ हजार ६०५ कित्ता सेयर लीलामीमा
काठमाडौं, २८ मंसिर । साहारा विकास बैंकले २३ हजार ६ सय ५ कित्ता सेयर लीलामी गर्ने भएको छ । बैंकले मंगलबार सुचना प्रकाशित गर्दै हकप्रदबाट नबिकेको १७ हजार ७ सय संस्थापक सेयर र ५ हजार ९ सय ५ कित्ता साधारण सेयरहरु बिक्री गर्न लागेको जनाएको छ । कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । सो सेयर खरिद गर्नका लागि इच्छुक कम्पनी तथा व्यक्तिहरुले पुस १४ देखि २१ गतेभित्रमा आवेदन दिन सक्नेछन् । सर्लाही जिल्लामा प्रधान कार्यलय रहेको बैंकले गत असोज १४ गतेदेखि कात्तिक १८ गतेसम्म एक सय पचास प्रतिशत हकप्रद बिक्रि गरेको थियो । बैंक २५ करोड ७८ लाख चुक्तापूँजी रहेको छ ।
विजुली थप भएकाले लोडसेडिङ कम गर्न सम्भव, ५६ मेगावाट आयातमा वृद्धि
काठमाडौं, २८ मंसिर । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले विभिन्न २३ वटा परियोजनाबाट करिब ३०७ मेगावाट विजुली थप उत्पादन भएकाले हाल विद्युत्भार कटौति (लोडसेडिङ) कम गर्न सम्भव भएको जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष रामेश्वर पौडेलले काठमाडौं उपत्यकाको अहिलेको माग पनि त्यति नै रहेकाले विद्युतभार (लोडसेडिङ) मा कमी गर्न सम्भव भएको जानकारी दिए । उनले ओली सरकारका पालामा विद्युतभार कटौति गर्ने कार्यलाई प्राथमिकतामा राखिएको र विद्युत उत्पादक कम्पनीलाई प्रोत्साहन गरिएकाले नयाँ आयोजना निर्माण भएको तथा भूकम्पले क्षति भएका आयोजना पुनः सञ्चालन भएको हुँदा नै हाल विद्युतभार कटौतिमा कमी गर्न सहज भएको विचार व्यक्त गरेका छन्। प्राधिकरण सञ्चालक समितिका सदस्य सुरज लामिछानेले विद्युतको माग बढेपछि विद्युतभार पुनः कटौति हुनसक्ने खतरा रहेकाले समयमै त्यसको विकल्प खोज्नुपर्नेमा जोड दिए । गत वर्ष भारतबाट २२७ मेगावाट विजुली आयात गरिएकोमा यसवर्ष ५६ मेगावाट आयातमा वृद्धि भएको पनि युनियनले जनाएको छ । रासस
कुकुरलाई पकाएको खाना खान बाध्य छन् घरेलु श्रमिक
ललितपुर, २८ मंसिर । घरेलु श्रमिकका रुपमा काम गर्दै आएकी काभ्रेपलाञ्चोककी सुनमाया तामाङले पुल्चोकको एउटा घरमा काम गर्दा दैनिक कुकुरलाई पकाएको खाना खाने गर्छिन् । घरबेटीलाई महँगो चामलको भात आफैँ पकाइदिएर उनी कुकुरलाई पकाएको खाना खाने गरेकी हुन्। खाजामा एकसाताको बासी र गन्हाउने खाना खान उनी बाध्य थिइन् । त्यस घरमा उनले घरबेटीले प्रयोग गर्न छाडेको पुराना भाँडामा भर्याङमा बसेर खाने गर्थिन् । घरबेटीकै व्यवहारका कारण उनले त्यो घरमा काम गर्न छाडिन् । अरू घरमा पनि घरबेटीको व्यवहार सम्मानजनक नभएको उनको गुनासो छ । बूढानीलकण्ठमा घरमा काम गर्दै आएकी अस्मिता खत्री पनि बिहान पाकेको बेलुका वा बेलुकाको खाना बिहान खान्छुभन्दा समेत नपाएको बताउँछिन् । उनले भनिन् “कुकुरले खाने खानाभन्दा बरु हामीलाई बासी खाना दिए हुन्थ्यो ।” पहिले मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनी त्योभन्दा सहज हुने सम्झेर घरेलु श्रमिकका रुपमा काम थालेकी थिइन् । काम गर्ने घरमा बिरामी हुँदासमेत बिदा नपाएको उनको गुनासो छ । उनी भन्छिन्, ‘उनीहरु बिमारी पर्दा हामीले स्याहार गर्नुपर्छ, तर हामी बिरामी भएको भन्दा काम गर्न ठगेको भन्ने गर्छन् ।” घरको काम गर्दा कामको समस्या नभए पनि घरबेटीको दुव्र्यवहारका कारण काममा टिक्न गाह्रो भएको उनी बताउँछिन् । बढ्दो सहरीकरणसँगै अरूका घरमा ज्याला लिएर काम गर्ने घरेलु श्रमिकको सङ्ख्या बढे पनि यो पेसा मर्या्दित बन्न सकेको छैन । अशिक्षित र ग्रामीण क्षेत्रबाट आएका यो पेसामा संलग्न छन् । अरू काम नपाएपछि घरको काम गर्ने धेरै छन् । कतिपयले भने मजदुरीभन्दा यो काम शारीरिक रुपमा सहज ठान्छन् । तर ज्याला अति कम र घरबेटीबाट पटक–पटक हुने दुव्र्यवहारका कारण घरेलु श्रमिकलाई टिक्न गाह्रो परेको छ । काभ्रेकै तीर्थमाया तामाङ दैनिक बासी र गन्हाउने खाना खान बाध्य छिन् । बिहान ९ देखि साँझ ५ बजेसम्म काम गर्ने सहमति भएपनि घरबेटीले त्योभन्दा धेरै समय काम लगाउने गरेको उनले बताइन्। तोकिएभन्दा बढी काम गर्दा पनि दैनिक रुखो व्यवहारले गर्दा टिक्न नसकेको उनको गुनासो छ । उनी भन्छिन् “पढे–लेखेका मान्छे नै झनै नराम्रो व्यवहार गर्छन् ।” दुई वर्षीया छोरी च्यापेर अरूका घरमा काम गर्दा नुवाकोटकी माया श्रेष्ठले एक महिनामा जम्मा दुई हजार कमाउँछिन् । घरधनीले गर्ने व्यवहार नराम्रो भए पनि काम गर्नु आफ्नो बाध्यता भएको उनी बताउँछिन्। घरेलु श्रमिकका रुपमा काम गर्दै आएकी उनले पेसा सम्मानजनक नभएको र पारिश्रमिक कम भएको गुनासो गरिन् । उनी भन्छिन्,“त्यही थोरै तलब माग्दा पनि झर्केर दिने गर्छन् ।” घरेलु श्रमिकका क्षेत्रमा कार्यरत सङ्घ–संस्थाले वर्षौंदेखि सम्मानजनक तलव र व्यवहारको माग गरेपनि लागू भएको छैन । अरू श्रमिक जस्तै उनीहरुले पनि आठ घन्टा काम, साप्ताहिक बिदा, न्यूनतम तलबको सुनिश्चितताको माग गरिरहेका छन् । श्रमिकका सङ्गठनले आठहजार तलब तोक्न भनेपनि श्रमिक त्योभन्दा आधामा काम गर्छन् । घरेलु श्रमिक मञ्चकी सचिव गोमा भण्डारीले अधिकार मागेर नपाए खोसेर लिनुपर्ने बताउँछिन् । उनी भन्छिन्, “हामी कमजोर भएर होइन बलियो भएर लाग्नुपर्ने खाँचो छ ।”
तलब नपाउँदा शिक्षक ऋण काढेर घरखर्च चलाउँदै
कञ्चनपुर, २८ मंसिर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको बेलडाँडीमा रहेको सिद्धनाथ आधारभूत विद्यालयका निजी स्रोतका तीनजना शिक्षकले छ महिनादेखि तलब पाउन सकेका छैनन् । सामुदायिक वनले तलबका लागि रकम दिन छाडेपछि निजी स्रोतका शिक्षकले तलब पाउन नसकेका हुन् । सामुदायिक वनको आम्दानी घटेपछि विद्यालयलाई प्रतिवर्ष दिँदै आएको रकम दिन सकेन, विद्यालयका शिक्षक हर्कबहादुर ऐरले भने, “विद्यालयसँग वैकल्पिक आर्थिक स्रोत नहुँदा शिक्षकले तलब नपाउँदा ऋण काढेर घर खर्च चलाउँदै आएका छन् ।” निजी स्रोतका शिक्षकले तलब नपाउँदा गाउँमा गठन भएका बचत समूहबाट पैसा ऋणका रुपमा सापटी लिई घर खर्च चलाउँदै आएका हुन् । “निजी स्रोतका शिक्षकलाई तलब दिनका लागि विद्यालयसँग स्रोत नभएको र अभिभावकको समेत आर्थिक अवस्था निकै कमजोर भएकाले चन्दा सहयोग उठाउन नसकिने अवस्था हुँदा शिक्षकलाई तलब दिन सकेका छैनौँ”, विद्यालयका प्रधानाध्यापक शङ्करदत्त जोशीले भने । विद्यालय नजिकैका सामुदायिक वनसँग तलबको जोहो गर्नका लागि रकमको व्यवस्था गर्न आग्रह गरेपनि हालसम्म रकम पाउन नसकिएको उनले बताए । आर्थिक अभावकै कारण विद्यालयले एउटा राहत कोटाको रकम दुईजना शिक्षिकालाई बाँडेर दिँदै आएको छ । विद्यालयमा तीनसयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय विसं २०४८ मा स्थापना भएको हो । रासस
बूढीगण्डकी आयोजना डुबान क्षेत्रका बासिन्दाले दिन गृहमन्त्रालयमा निवेदन, मुआब्जा रकम नपुगेको गुनासो
गोरखा,२८ मंसिर । एक हजार दुई सय मेगावाट क्षमताको बन्ने बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रका बासिन्दाले मुआब्जा रकम पुनरावलोकनका लागि गृह मन्त्रालयमा निवेदन पठाएका छन् । गत मङ्सिर ११ गते जिल्ला मुआब्जा निर्धारण समितिले तोकेको मुआब्जा उचित नभएको भन्दै आन्दोलनमा उत्रिएका बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मन्त्रालयमा मुआब्जा पुनरावलोकनका लागि निवेदन पठाएको हो । बूढीगण्डकी क्षेत्रमा पर्ने गोरखाका १४ गाविसका जग्गालाई विभिन्न एघार खण्डमा भाग लगाएर मुआब्जा निर्धारण समितिले प्रतिरोपनी रु पाँच लाख २५ हजारदेखि आठ लाख ३५ हजारसम्म मुआब्जा दिने निर्णय गरेको थियो । रासस
राष्ट्र बैंक सञ्चालक समितिको बैठक खर्च १२२ प्रतिशतले वृद्धि, भत्ता र खान्कीमा प्रतिव्यक्ति वार्षिक १२ लाख खर्च
काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको भत्ता र खाजा खर्च १२२ प्रतिशतले वृद्धि भएको छ । सञ्चालक समितिको बैठक संख्यामा वृद्धि भएको र क्यान्टिनको खान्की बन्द गरेर पाँच तारे होटल वा वहुराष्ट्रिय चेन रेष्टुरेन्टको खान्की मगाएर खान थालिएकोले खर्चमा उच्च वृद्धि देखिएको छ । राष्ट्र बैंक सञ्चालक समिति गत आर्थिक वर्ष २०७२/७३ मा सञ्चालक समिति भत्ता र खान्की खर्च ८० लाख रुपैयाँ नाघेको छ । गएको एक आर्थिक वर्षमा १०० पटक सञ्चालक समितिको बैठक बसेको छ । ती बैठकमा खाजा खर्चतर्फ ४५ लाख रुपैयाँ र बैठक भत्ता तर्फ ३५ लाख रुपैयाँ खर्च भएको स्रोतले जनाएको छ । सञ्चालक समितिमा भत्ता र खान्कीका लागि प्रतिव्यक्ति वार्षिक १२ लाख खर्च हुन थालेकाे छ । आर्थिक वर्ष २०७१/७२ सालमा मात्र खाजा खर्चतर्फ २० लाख २५ हजार र बैठक भत्ता १५ लाख ७५ हजार रुपैयाँ खर्च भएको राष्ट्र बैंक स्रोतले जानकारी दियो । आर्थिक वर्ष २०७१/७२ मा जम्मा ४५ वटा बैठक बसेको र सो बैठकमा सञ्चालक समितिको बैठक भत्ता र खाजा खर्च गरी जम्मा ३६ लाख रुपैयाँ खर्च भएको थियो । दुई आर्थिक वर्षको खाजा खर्च र बैठक भत्ता मात्र एक करोड १६ लाख भन्दा बढी पुगेको छ । राष्ट्र बैंक सञ्चालक समितिले प्रतिव्यक्ति प्रति बैठक पाँच हजार रुपैयाँ पाउने गरेका छन् । सञ्चालक समितिमा सात जना सञ्चालक रहेका छन् । राष्ट्र बैंक ऐन अनुसार महिनामा कम्तिमा एक पटक सञ्चालक समितिको बैठक बस्नु पर्ने व्यवस्था छ । त्यसबाहेक बोर्ड बैठकको खर्च कति भनेर सीमा नतोकिएका कारण राष्ट्र बैंकमा मनोमानी रुपमा खर्च हुन थालेको राष्ट्र बैंक स्रोतको दावी रहेको छ । ‘प्रत्येक बोर्ड बैठकमा भत्ता खर्च ३५ हजारको हाराहारीमा हुने गरेको छ भने खाजा खर्च ४५ हजारसम्म पुग्ने गरेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । पछिल्लो समय सञ्चालक समितिको बैठक भत्ता प्रति व्यक्ति प्रति बैठक ५ हजारबाट बढाएर सात हजार पाँच सय रुपैयाँ बनाउन प्रस्ताव गरिएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । राष्ट्र बैंकमा व्यवस्थापन समितिको बैठकमा पनि सहभागिलाई सञ्चालक समिति सदस्यले पाउने सरह भत्ता दिइन्छ । स्रोतका अनुसार पहिले सञ्चालक समितिले राष्ट्र बैंक भित्र रहेको क्यान्टिनमा तयार भएको खाजा खान्थे भने अहिले होटल र्याडिसन, बबरमहलस्थित रिभिजिटेड र केएफसीबाट खाजा मगाइन्छ । त्यस्तै, भाटभटेनीको जुस तथा ड्राइ फ्रुट्समा बोर्डका लागि खान्की मगाईन्छ । गभर्नरमा डा चिरञ्जीवित नेपाल र बोर्ड सदस्यमा लोकदर्शन रेग्मी आएपछि क्याटिनको खाना बन्द गरेर पाँच तारे होटल वा वहुराष्ट्रिय चेन रेष्टुरेन्टबाट खान्की मगाउन थालिएको स्रोतले बतायो । डा नेपाल गभर्नर भएपछि राष्ट्र बैंकको इतिहासमा पहिलो पटक गभर्नरले आवास सुविधा पनि लिएका छन् । हाल राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर नेपाल अध्यक्ष, अर्थसचिव शान्तराज सुवेदी, डेपुटी गभर्नरद्वय शिवराज श्रेष्ठ, चिन्तामणि शिवाकोटी, अर्थविद श्रीराम पौडेल, डा रामहरि अर्याल र बालकृष्णमान श्रेष्ठ सदस्य छन् । योग्यता विवादका कारण गत साता मात्र बालकृष्णमान श्रेष्ठलाई सर्वोच्च अदालतले काम गर्न बन्देज लगाएको छ । स्रोतका अनुसार बोर्ड बैठक कति समयसम्म बस्ने र कम्तिमा कतिवटा विषयमा निर्णय गर्ने भन्ने कुनै कार्यविधि छैन । बोर्ड बैठक प्रायः अफिस समय सकिएपछि बस्ने गरेको छ । कार्यालय समयमा अर्थसचिवले नभ्याउने र गभर्नर तथा डेपुटी गभर्नरहरु व्यवस्थापन समितिको काममा व्यस्त हुने भएकोले कार्यलय समयअघि वा पछि बस्ने चलन रहेको छ । सम्वद्ध स्रोतका अनुसार बोर्ड सदस्यहरु शुरुको आधा घण्टा आगमन भन्दै पिउदै र गफिदै बस्छन् । करिव आधा घण्टा छलफल गरेपछि उठ्न हतार गरेर खाजा खान्छन् र बैठक भत्ता बुझ्न थाल्छन् । करिव १ घण्टाको अवधिमा बैठक सकेर बाटो लाग्छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई जथाभावी बैठक नराख्न र बैठक भत्ता नबढाउन दबाब दिने नेपाल राष्ट्र बैंक अहिले आफै कुनै विषय नै नराखी पनि बैठक बस्ने र निर्णय विना नै उठेर भत्ता बुझ्ने गरेको स्रोतको भनाई छ ।
लोडसेडिङ घटाउन उर्जालाई पाँच अर्ब ३७ करोड, विद्युत् उपकरण किन्न खर्च गर्नुपर्ने
काठमाडौँ – अर्थ मन्त्रालयले विद्युतीय उपकरण खरिदका लागि ऊर्जा मन्त्रालयलाई पाँच अर्ब ३७ करोड ८० लाख रुपैयाँ खर्च गर्न सहमति दिएको छ । लोडसेडिङ न्यूनीकरणका लागि अर्थ मन्त्रालयले विशेष व्यवस्था गरेर यो रकमको सहमति जनाएको सचिव शान्तराज सुवेदीले जानकारी दिए । ‘लोडसेडिङ न्यूनीकरण गरी जनतालाई राहत हुन्छ भने काम गर्नुस् भनेर बजेटको सहमति दिइएको छ,’ उनले भने, ‘यो रकम नेपाल विद्युत् प्राधिकरणले आफूले ल्याएको कार्यक्रमअनुसार खर्च गर्नेछ ।’ सचिव सुवेदीका अनुसार प्राधिकरणले यो रकमबाट उच्च क्षमताका नयाँ ट्रान्सफर्मर खरिद गर्नेछ । यस्तो ट्रान्सफर्मरबाट प्राविधिक चुहावट नियन्त्रण गर्न सकिने प्राधिकरणको विश्वास छ । यो रकमबाट पोल, तार र मिटर पनि खरिद गरिनेछ । नयाँ पत्रिका दैनिकबाट ।
थप तीन हवाई रुट दिन भारत सकारात्मक, अहिलेको एउटै मात्र रुट भट्टेडाँडाको बिकल्प हुने
काठमाडौं २८, मंसिर । नेपाल आउने जहाजका लागि थप रुट दिन आनाकानी गर्दै आएको भारतल अन्ततः थप तीन रुट खोल्नका लागि अनुमति दिने संकेत गरेको छ। नेपाल र भारतबीच अर्को साता हुने बैठकमा यस्तो सुविधा प्रदान गर्न भारत सकारात्मक रेहको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। आइतबारको मन्त्रिपरिषद बैठकले भारतसँग हवाई रुट तथा हवाई क्षेत्रसँग सम्बन्धित विषयमा वार्ता गर्नका लागि वार्ता टोलीसमेत पठाउने निर्णय गरेको छ । नेपाल र भातबीच २०६६ मा वार्ता भएयता स्थगित भएको थियो । हवाइ रूट खुल्न सकेमा खाडी राष्ट्रबाट नेपालमा हुने उडानको दुरी छोटीनेछ। यस्तै भैरहवा र पोखराको विमानस्थलमा समेत दिल्लीबाट हुने उडान समय छोटिनेछ। सात वर्षपछि हुने वार्ताका लागि भारतले नै नेपाललाई निम्तो दिएको हो। कारोबार दैनिकबाट ।