विकासन्युज

धमाधम धोका दिँदै पाइलट, तालिममा करोडौं खर्चिएका पाइलट नयाँ कम्पनीमा जाँदै

काठमाडौं ५, पुस । प्राविधिक तालिममा करोडौं खर्चिए काममा लगाइएका वरिष्ठ पाइलटले नियम लत्याउदै बढी तलबसुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेका छन्। पछिल्ला केही महिनामा विभिन्न वायुसेवा कम्पनीबाट करिब आधा दर्जन वरिष्ठ पाइलट उड्ययन नियमविपरीत अग्रिम जानकारीबिनै जागिर छाडेर अन्य कम्पनीमा गएपछि उनीहरूमाथि कारबाही माग गर्दै सम्वद्ध वायुसेवाले नियामक निकाय गुहार गरिरहेको छ। सेवासुविधा बढी पाएको भन्दै यती, बुद्ध, सिम्रिक, सौर्य एयरलाइन्स र नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट तथा माउन्टेन हेलिकप्टरका पाइलटहरू अरू कम्पनीमा गएका हुन्। यस क्रमले एयरलाइन्स कम्पनी कम्पनीबीच बैनश्यता समेत बढेको छ। सम्बद्ध कम्पनीका अनुसार यतीका प्रशिक्षक पाइलट प्रफुल्ल वैद्य र राजेश श्रेष्ठ तथा क्याप्टेन राजुसिंह महर्जन अर्को वायुसेवा कम्पनी श्री एयरलाइन्स गएका छन्। त्यस्तै बुद्ध एयरका क्याप्टेन प्रबल सिंह निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्समा गएका छन्। सिम्रिकबाट गोमा एयर गएका प्रशिक्षक पाइलट विनोद पुरी त्यहाँबाट पनि अर्को कम्पनी सीता एयर जान लागेको सम्बद्ध स्रोतले बतायो। त्यस्तै, सौर्य एयरलाइन्सबाट क्याप्टेन प्रज्ज्वल अधिकारी श्री एयरलाइन्स गएका छन् भने माउन्टेन हेलिकोप्टर्सका क्याप्टेन सुरेन्द्र थापा हालै सञ्चालनमा आएको नयाँ हेलिकोप्टर कम्पनी अल्टिच्युड हेलिकोप्टर्समा जान लागेको स्रोतले जानकारी दियो। त्यसबाहेक, नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट रविन्द्रपुरुष ढकाल हिमालय एयरलाइन्स गएपछि विवाद उत्पन्न भएको थियो। निगमले ढकालको राजीनामा अस्विकृत गरी काममा फर्कन निर्देशन दिए पनि उनले अटेर गरेका थिए। यसबारे निगम र उनीबीच समस्याको छिनोफानो भइसकेको छ। सिम्रिकका क्याप्टेन केशव सिलवाल पनि अन्य कम्पनीमा गएपछि विवाद उत्पन्न भएको थियो र दुवैबीच अहिले आपसी सहमतिमा कुरा टुंगिइसकेको छ। ठूलो लगानी गरी तयार पारेका पाइलट तथा इन्जिनियरले ऐन–नियमविपरीत धमाधम छाड्दै अन्य वायुसेवामा काम गर्न थालेपछि नियमअनुसार कारबाही गरिदिन सम्बद्ध कम्पनीले मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा उजुरी गरेका छन्। ुसम्बद्ध वायुसेवाबाट उजुरी परेपछि पाइलटहरूले अग्रिम जानकारीबिना काम छाडेका कम्पनी र ती पाइलटलाई जागिर दिने कम्पनीका जिम्मेवार अधिकारीलाई आमनेसामने राखेर बैठक गर्‍यौं,ु प्राधिकरणका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने, ुछलफलपछि वायुयान चालक तथा इन्जिनियरको उपयोग, नियन्त्रण र सेवा सुरक्षासम्बन्धी आदेश– २०७० कडाइसाथ पालना गर्न निर्देशन दिएका छौं।ु प्राधिकरणले पाइलट र इन्जिनियर मात्र नभई वायुसेवा कम्पनीलाई समेत कस्ने गरी तयार पारेको उक्त नियम संशोधनपछि गत असोज ७ बाट कार्यान्वयनमा आएको थियो। तर तीन महिना नपुग्दै पाइलटहरूले उक्त नियम लत्याउँदै धमाधम काम छाडेका हुन्। नागरिक दैनिकबाट ।

अमेरिकाले ६६ वटा नेपाली उत्पादनमा भन्सार छुट दिने, राष्ट्रपति अोवामाले गरे हस्ताक्षर

काठमाडौं, ४ पुस। अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालको अन्तमा नेपाल–अमेरिका ब्यापार प्रवर्धन सम्बन्धी एउटा ऐनमा हस्ताक्षर गरेका छन्। नेपालका लागि ब्यापार ग्राह्यता कार्यक्रम अन्तर्गत ब्यापार सहजीकरण तथा ब्यापार कार्यान्वयन ऐन, २०१५ (टिएफटिइए) मा ओबामाले बिहीबार हस्ताक्षर गरेका हुन्। कार्यक्रमअनुसार अमेरिकाले नेपालका ६६ वटा उत्पादनलाई भन्सार छुट दिनेछ। नेपालबाट खास मापदण्ड पूरा गरी अमेरिका निर्यात हुने गलैंचा, शल, स्कार्फ, भ्रमण सामाग्री लगायत ६६ वटा उत्पादनलाई यो ऐनले आधिकारिक रुपमा भन्सार छुट सुविधा प्रदान गर्छ। आगामी १० वर्षका लागि यो नेपाल कार्यक्रम स्वीकृत गरिएको काठमाडौँस्थित अमेरिकी दूतावासले शनिबार जनाएको छ। गत वर्षको विनाशकारी भूकम्पले गरेको क्षतिपछि नेपालको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम तर्जुमा गरिएको थियो। अमेरिकी बजारमा भन्सारछुट सुविधासहित प्रवेश पाउन हालसम्म अयोग्य रहेका केही नेपाली बस्तुलाई यो कार्यक्रमले भन्सारछुट सुविधा उपलब्ध गराउँछ। यसले एक ब्यापार क्षमता अभिवृद्धि कार्यक्रमलाई समेत स्वीकृति प्रदान गरेको दूताबासले जनाएको छ। ‘यो कानुनले नेपाली व्यवसायका लागि अमेरिकी बजारमा निर्यात विस्तार गर्ने सुनौलो अवसर प्रदान गरेको छ’, अमेरिकी राजदूत अलाइना बी टेप्लिजले भनेकी छन्, ‘यस्ता व्यापार ग्राह्यता कार्यक्रमले केही सहयोग प्रदान गर्नेछन् तर लगानीलाई प्रोत्साहन गर्ने नीतिगत सुधार, उन्नत व्यापारिक वातावरण र सबै क्षेत्रलाई सहयोग गर्ने श्रम सुधारमार्फत् नै अन्नत नेपालको बृहत आर्थिक विकाश हासिल हुनेछ।’

नेपाली ग्यास बुलेट भन्सारमा रोकिए, सरकारले घोषणा गरेअनुसार भन्सार छुट नदिँदा समस्या

काठमाडौं, ४ पुस। सरकारले ग्यास बुलेट खरिद प्रकृया सहज नबनाएको भन्दै नेपाल एलपि ग्यास उद्योग संघले आपत्ति जनाएको छ । संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी भन्सार प्रक्रिया सहज नहुँदा आफूहरुले खरिद गरेर ल्याएका ग्यास बुलेट नाकामा अलपत्र पर्दा समेत सरकार बेखवर रहेको भन्दै आपत्ति जनाएको हो।   सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा ग्यास बुलेट खरिद प्रक्रियामा दुई तिहाइसम्म भन्सार छुट दिने घोषणा गरेअनुरुप आफूहरुले परीक्षणका लागि ल्याएका दुईवटा ग्यास बुलेट वीरगञ्ज भन्सारमा अलपत्र परेको संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए। उनले सरकारले भन्सार प्रक्रिया सहज नबनाउँदा सन् २०१७ बाट नेपालले ग्यास ल्याउन नसक्ने अवस्था रहेको दावी गरे। आगामी नोभेम्बरदेखि नेपाली नम्बर प्लेटका बुलेटमार्फत नै ग्यास उठाउने भारतीय ट्रान्पोर्ट कम्पनीहरुसँग सहमति भएपनि सरकारी ढिलासुस्तीका कारण पहिलो पटक ल्याएका बुलेट परीक्षण गर्न नपाएको व्यापारीको गुनासो रहेको छ। आफ्नै बुलेट नभएकाले ग्यास ढुवानीमा मात्र सरकारले हरेक वर्ष २ अर्ब ५० करोड रुपैयाँ भारतलाई बुझाउँदै आएको छ । नेपालमा हाल ५५ वटा ग्यास उद्योग सञ्चालनमा आएका छन् । ती उद्योगहरुले पाँच सय भन्दा बढी भारतीय ग्यास बुलेट प्रयोग गर्दै आएका छन् । नेपाली व्यवसायीले ७ सय ७५ वटा ग्यास बुलेट खरिद गर्ने तयारी गरेको संघले जनाएको छ।

नेपालमा व्यवसायिक वातावरण सुधार हुँदै गएको अनुभुती भएको छ: राजदुत लक्स

काठमाडौं, ४ पुस । नेपालका लागि बेल्जीयमका राजदुत यन लक्सले पछिल्लो समय नेपालमा लगानीको वातावरण सुधार भएको बताएका छन् । सोमवार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा राजदुत लक्सले यस्तो धारणा राखेका हुन् । ‘राजनीतिक वातावरणमा भएको सुधार र नेतृत्वमा देखिएको आर्थिक समृद्धिको अभिलाषाले नेपालमा लगानीको वातावरण थप सुनिश्चित बन्दै गएको हामीले पाएका छौं,’ लक्सले भने । सकारात्मक बन्दै गएको वातावरणबाट लाभ लिन र उच्च एवं दिगो आर्थिक वृद्धि हासिल गर्न सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने उनको धारणा थियो । नेपाल समेत हेर्ने जिम्मेवारी पाएको भारतको नयाँ दिल्लीस्थित राजदुतावासबाट लक्सको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले परिसंघका पदाधिकारीहरु सँग परिसंघ सचिवालयमा भेटवार्ता गरेको हो । नेपालका लागि बेल्जीयमका अबैतनिक महावाणिज्य दुत आङ छिरिङ शेर्पा समेत सहभागी सो वार्ता दुई देश बीचको आर्थिक संवन्ध विकास र विस्तारमा केन्द्रित थियो । परिसंघका अध्यक्ष हरिभक्त शर्माले हालसम्म नेपालमा आफ्नो व्यवसाय विस्तार गरेका सबै विदेशी कम्पनीहरुले उच्च दरमा लगानीको प्रतिफल प्राप्त गरिरहेको बताउँदै बेल्जीयमका लगानीकर्तालाई त्यसका लागि आह्वान गरे । ‘प्रतिफलका हिसावले विदेशी कम्पनीहरुले हाँसिल गरेको प्रगती उदाहरणीय छ, शर्माले भने, ‘न्यून प्राविधिक र पूर्वाधार विकासको अवस्थामा रहेको नेपालबाट यस्तो प्रतिफल सम्भव छ भनेर सबैले जानकारी पाउन जरुरी छ ।’ परिसंघले देशको आर्थिक उन्नतीको लागि सरकारसँग मिलेर विदेशी लगानी र प्रविधि भित्राउन जोड दिइरहेको शर्माको भनाई थियो । परिसंघले सरकारसँगको सहकार्यमा औद्योगिक व्यवसाय ऐन र बिदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा सुधारका लागि काम गरेको परिसंघका गभर्निङ काउन्सिल सदस्य योगेश्वर लाल श्रेष्ठको भनाई थियो । ‘कुनै बेला नेपाली गलैचाको प्रमुख खरिदकर्ता बजार रहेको बेल्जीयम अहिले नेपालमा वस्तु आपूर्ति गर्ने बजारमा परिणत भएको छ, श्रेष्ठले भने । अहिले दुई देश बीच कायम दौत्य सम्वन्धलाई थप विस्तार र सुदृधिकरण गर्न दुई देश बीचका व्यवसायिक संघ संस्थाहरुको बीचमा समेत आपसी सहकार्य आवश्यक भएको जनाउदै उनले राजदूतावासको पहलमा बेल्जीयम स्थित यस्ता संघ संस्थासंग सहकार्य गर्न परिसंघ इच्छुक रहेको समेत बताए ।बेल्जीयमका निजी क्षेत्रका व्यवसायिक संस्थाहरुसँग आपसि सहमती गरेरअगाडी बढ्दा बेल्जीयम र नेपालको व्यावसायिक हितलाई मद्दत पुग्ने अध्यक्ष शर्माको भनाई थियो । सो अवसरमा परिसंघ पदाधिकारीहरुको साथै गभर्निङ काउन्सिल र राष्ट्रिय काउन्सिलका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

आईएमईद्धारा १० उत्कृष्ट एजेन्ट साझेदारलाई थाईल्यान्ड भ्रमण

काठमाडौं, ४ पुस । आईएमई लिमिटेडले आफ्ना १० उत्कृष्ट व्यावसायीक साझेदारहरुलाई थाईल्यान्ड भ्रमण गराएको छ । कम्पनीका अनुसार उक्त भ्रमणमा २०७२ साल पौष देखि २०७३ साल असारसम्म कारोबार लगायत अन्य मापदण्डका आधारमा १० उत्कृष्ट व्यवसायीक साझेदारहरु समेटिएका  थिए। कम्पनीको १ सय ४९ आईएमई सेन्टर सहित ७५ जिल्लाका ५,४०० सयभन्दा बढी सव–एजेन्टहरु रहेका छन् । हाल कम्पनीले बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कमाएको रकम देशका विभिन्न ठाँउममा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

अध्यक्षको प्रतिस्पर्धाबाट फत्तबहादुर केसी बाहिरिए, पुनः नियुक्ती नहुने भएपछि कर्मचारीसँग लिए बिदा

काठमाडौं, ४ पुस । बीमा समितिको अध्यक्षमा तेस्रो कार्यकालको लागि लविङ गर्दै आएका बर्तमान अध्यक्ष फत्तबहादुर केसी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनलाई प्रधानमन्त्री प्रचन्डका प्रशासकीय सचिव नारायण दाहालले समेत भेट गर्न नदिएपछि उनी निरास हुँदै दाैढबाट बाहिरीएका हुन् । आफू पुनः नियुक्ति नहुने पक्का भएपछि अध्यक्ष केसीले आईतबार सबै बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई समितिमा बोलाएर आफ्नो कार्यकालमा गरेका राम्रो कामको चर्चा गरेका थिए । त्यस्तै कर्मचारीहरुसँग पनि आफू बीमा समितिबाट विदा लिन लागेको जानकारी गराएका छन् । ८ वर्षसम्म समितिमा अध्यक्ष भएका केसी पुस ७ गतेबाट विदा हुँदैछन् । समितिको अध्यक्ष बन्ने लविङका लागि करिव डेढ दर्जन व्यक्ति अर्थमन्त्रालय पुगेका छन् । समितिको अध्यक्ष बन्न रविन्द्र घिमिरे, केवी बस्नेत, रणबहादुर श्रेष्ठ, केशव भट्टराई,  ऋषिराम गौतम, चिरञ्जीवि चापागार्इ, विजयबहादुर शाह, जनार्दन आचार्य, कृष्णप्रसाद आचार्य, श्रीमान् कार्की, रमेशकुमार भट्टराई, अश्विनीकुमार ठाकुर,  केशव दुवाडी, चिरायु भण्डारी, नरेन्द्र सिंह लगायत शक्ति केन्द्रमा  लविङ गर्दै गरिरहेका छन् ।

भक्तपुर फाइनान्सको छैटौँ वार्षिक साधारणसभा पुस ७ गते

काठमाडौं, ४ पुस । भक्तपुर फाइनान्स कम्पनीले आगामी पुस ७ गते आफ्नो छैटौँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको प्रस्तावित ३ दशमलब ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलब १८ प्रतिशत नगद लाभांशलाई अनुमोदन गर्न कम्पनीले सो दिन साधारणसभा बोलाएको छ । हाल बैंकको चुक्ता पूँजी २१ करोड १० लाख रुपैयाँ रहेको छ ।

कामना विकास बैंकले २१ प्रतिशत बोनस दिने, चुक्ता पूँजी ८० करोड रुपैयाँ नाघ्ने

काठमाडौं, ४ पुस । कामना विकास बैंकले २१ दशमलब ५८ प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय सोमबार बिहान बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकका आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैठकको निर्णयलाई सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ६६ करोड १६ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात बैंकको चुक्ता पूँजी ८० करोड ४३ लाख रुपैयाँ पुग्ने छ । सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३५५ रुपैयाँ रहेको छ ।