विकासन्युज

चक्रपथभित्र गुड्न थाले १० वटा महानगरका बस, थप ४० वटा सिटी बस भित्र्याउने तयारी

काठमाडौ, १५ पुस । चक्रपथमा लोकप्रियता कमाएको महानगर यातायातले शुक्रबारदेखि राजधानीका चक्रपथभित्रका रुटमा पनि बस सञ्चालनमा ल्याएको छ । हालसम्म चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगले यात्रुहरुको माग भएको भन्दै भित्री रुटमा १० बस सञ्चालनमा ल्याएको हो । महानगरका बसले शुक्रबारदेखि राजधानीको बनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चावहिल, नारायण गोपालचोक हुँदै नयाँबसपार्कसम्मका रुटमा दुईतर्फी बस सेवा शुरु गरेका छन् । यी रुटमा छिट्टै थप बस पनि सञ्चालन गर्ने जानकारी महानगरका अध्यक्ष मधुसुदन अधिकारीले दिएका छन् । यी रुटमा तत्कालका लागि चक्रपथमै सञ्चालनमा रहेका ३९ बसमध्ये १० वटा बस भित्री रुटमा सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगर यातायातले केही दिन अघि देखि आफ्ना यात्रुलाई प्रत्येक टिकटमा उपहारको व्यवस्था गरिसकेको छ । भित्रीरुटमा सेवा शुरु भएसँगै अब थप ४० वटा ठूला सिटी बस भित्र्याउने तयारी गरिरहेको जानकारी उपाध्यक्ष सन्तोष खतिवडाले दिएका छन् ।

युवा संघले जलायो बुद्धनगरमा सरकारी गाडी

काठमाडौं, १५ पुस । एमाले भातृ संगठन युवा संघ नेपालका कार्यकर्ताले बुद्धनगरमा सरकारी गाडीमा आगजनी गरेका छन् । युवा संघका पुर्व उपाध्यक्ष समेत रहेका एमाले केन्द्रिय सदस्य झपट रावल नेतृत्वको समुहले सरकारी गाडीमा आगो लगाएको हो । आगो लाग्दा लाग्दै युवा संघका सचिव वचन बहादुर सिंह पनि पुगेका थिए । उनीहरुले बुद्धनगरमै रहेको आफ्नो केन्द्रिय कार्यालय अगाडी सरकारी गाडीमा आगो लगाएका हुन् ।

अमेरिकाले गर्यो रसियालीलाई देश निकाला, निर्वाचनमा साइबर हमला गरेको आरोप

वासिङ्गटन, १५ पुस । संयुक्त राज्य अमेरिकाले ३५ जना रसियाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा रसियालीले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार ती रसियालीलाई देश निकाला गरेको घोषणा गरेका हुन् । आफ्नो कार्यकाल सकिन केही हप्तामात्र बाँकी रहेको बेला राष्ट्रपति ओबामाले ती रसियालीलाइे देश निकाला गरेका हुन् । अमेरिकी राष्ट्रपतिले ३५ जना रसियाली नागरिक र अरु विभिन्न ९ वटा संघ संस्थालाई पनि आर्थिक नाकाबन्दी लगाएको घोषणा गरेका छन् । पछिल्लो समयमा ती संस्था र व्यक्तिमाथि निगरानी राखिएको थियो । ती व्यक्ति र संस्थाले अमेरिकामा हालै भएको राष्ट्रपति निर्वाचनमा साइबर हमला गरी निर्वाचनमा अवरोध पुर्याएको जनाइएको छ ।  उनीहरुलाई ७२ घन्टाभित्रै घर छोड्न आदेश दिइएको छ । साथै ती सूचना प्रविधिमा कामगर्ने संघ संस्थालाई पनि आर्थिक कारोबार गर्नबाट रोक लगाइएको छ । त्यसैगरी रसियाली सरकारको मातहतमा रहेका भनिएका न्युयोर्कमा रहेको एक र म्यारिल्याण्डमा रहेको अर्को एक गरी दुई वटा कार्यालय पनि तत्काली बन्द गराइने अमेरिकी सरकारले जनाएको छ ।  अमेरिकी सरकारको यो पछिल्लो निर्णयले पछिल्ला केही समययता रहेका अमेरिका र रसियाको विवाद सतहमा आएको विश्लेषकहरुले जनाएका छन् । अमेरिकी निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको इमेल काण्डलाई बाहिर ल्याइएपछि त्यस विषयमा वर्तमान सरकारले त्यसको अनुसन्धान गरिरहेको थियो । इमेल काण्डलाई बाहिर ल्याउने र क्लिन्टनलाई हराउने काममा रसियाको हात रहेको जानकारी यसअघि नै बाहिर आएको थियो । रासस/सिन्ह्वा

विश्वकै सबैभन्दा अग्लो पुल खुल्ला, नदिदेखि ५६५ मिटर माथी रहेको पुलले दुई ओटा प्रान्तलाई जोड्ने

वेईजिङ, १५ पुस । चीनका दुई ओटा प्रान्तलाई जोड्ने गरी बनाएको विश्वको सबैभन्दा अग्लो पुल खुल्ला गरिएको छ । दुई ओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदिदेखि ५६५ मिटर माथी रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङ सम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार घण्टा भन्दा बढी समय छिटो हुने सवारी चालकहरुले बताएका छन् । “यी दुई ठाँउमा आवतजावत गर्नु पर्नेहरुकालागि यो पुल निकै उपयोगी भएको छ,” एक चालकले भने । यस पुलले यसअघिको सबैभन्दा अग्लो पुलमा रुपमा रहेको सि डु रिभर व्रिजलाई पनि उछिनेको छ । विश्वका अग्ला पुलहरु मध्ये धेरैजसो चीनमै रहेका छन् । रासस/एएफपी

टेलिकमको फोरजी सेवा आइतबारदेखि शुरु

काठमाडौं, १५ पुस । नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा फोर जी सेवा संचालनमा ल्याउने भएको छ । उक्त सेवा मार्फत ग्राहकले सुरुवातमा ३२ दशमलब ४ एमविपिएस गतिमा इन्टरनेट चलाउन पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त सेवाको उद्घाटन संचारमन्त्री सुरेन्द्रबहादुर कार्कीले गर्नेछन् ।

मोटर र्याली सौराहा प्रस्थान, २४ वटा कारको सहभागिता

काठमाडौं, १५ पुस । काठमाडौंदेखि सौराहासम्म आयोजना गर्न लागिएको मोटर र्याली काठमाडौंबाट प्रस्थान गरेको छ । लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र अन्य क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) को समन्वयमा उक्त मोटर र्याली आयोजना गरेका हुन् । र्यालीलाई नेपाल पर्यटन बोर्डका सदस्य कृष्णकुमार अर्याल, लायन्स क्लबका पीडीजी एमजेएफ लायन डा. जयहरिराज पाण्डे र नासाका अध्यक्ष दशरथ रिसालले विदाई गरेका छन् । मोटर र्याली काठमाडौंको लैनचौरस्थित स्काउट कम्पाउन्डबाट प्रारम्भ भएको थियो । त्यसपछि दामन, हेटौंडा हुँदै सौराहा पुग्ने छ । समय, दुरी र गति (टीडीएस) प्रणालीका आधारमा आयोजना हुने उक्त र्यालीका विजेताहरुलाई पुरस्कृत समेत गरिने आयोजकको भनाइ छ । मोटर र्यालीले नेपालमा विकसित हुँदै गरेको ड्राइभ टुरिजम्लाई प्रवद्र्धन गर्नुका साथै सडक सुरक्षाको सन्देश समेत प्रदान गर्नेछ । त्यसैगरी यसले घुमफिर वर्ष २०७३ लाई प्रभावकारी रुपमा मनाउन पनि सहयोग गर्नेछ । यो ‘टेन्थ सिन्सियर सिटिजन मोटर र्याली’ हो । नासा र लायन्स क्लब लगायतका विभिन्न संस्थाले यो भन्दा पहिले यस प्रकारका ९ वटा मोटर र्याली सम्पन्न गरिसकेका छन् । र्यालीमा २४ कारको सहभागिता रहेको छ ।

प्रसारण लाइनमा करिब १०० मेगावाट विद्युत् जडान, आइतबारदेखि थप ४० मेगावाट जोडिने

काठमाडौँ, १५ पुस । चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्न थालेका छन् । ऊर्जा मन्त्रालयमा निजी प्रवद्र्धकहरुले पछिल्लो पटक गराएको जानकारी अनुसार ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गरेको छ । नेपाली र चिनियाँ संयुक्त लगानीमा अगाडि बढाइएको सो आयोजनाले विगत केही दिन पहिलेबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन शुरु गरेको छ । यस्तै २५ मेगावाट क्षमताको माथिल्लो मादी आयोजना पनि निर्माण भएको छ । त्यसैगरी १५ मेगावाटको हेवाखोला, ६ मेगावाटको दरौदी र १ मेगावाटको नियाखोला जलविद्युत् आयोजना सम्पन्न भएका छन् ।  नदी प्रवाहमा आधारित ती जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरेको जनाए पनि अवस्था भने त्यस्तो नरहेको बताइन्छ । ऊर्जा मन्त्रालयले ९७ मेगावाट विद्युत् उत्पादन सुरु भएको जनाए पनि हाल ५० मेगावाट क्षमता मात्रै जोडिएको बताइन्छ । चिनियाँ लगानीकर्ता सिनो हाइड्रो कर्पोरेसन र नेपालको सगरमाथा पावर कम्पनीको संयुक्त लगानीमा निर्माण भएको माथिल्लो मस्र्याङदीको विद्युत् जोडिएपछि कास्की, तनहुँ र पोखरामा थप सहजता भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले परीक्षण उत्पादनबाट जोडिएको विद्युत्ले पनि राष्ट्रिय प्रसारण प्रणालीमा सहज भएको जानकारी दिएका छन् । यस्तै चीनको चाइना वाटर एन्ड इलेक्ट्रक कर्पोरेसन र नेपालको गोरखा कन्ट्रक्सन कम्पनीको साझेदारमा निर्माण भएको मादीको परीक्षण उत्पादन सुरु भएको छ । आयोजनाको शुक्रबार ऊर्जा मन्त्री जनार्दन शर्माले उद्घाटन गरेका छन् । यस्तै नेपालको पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवाखोला आयोजना निर्माण सम्पन्न भएको छ । पाँचथरको फिदीममा सव स्टेसन निर्माण सकिएकाले केही दिनभित्रै आयोजनाले व्यापारिक उत्पादन सुरु गर्ने जानकारी आफूहरुलाई दिएको प्रवक्ता अधिकारीले बताए । कालीका कन्ट्रक्सन प्रालिले निर्माण गरेको कालीका दरौदी जलविद्युत् कम्पनीले निर्माण गरेको ६ मेगावाट क्षमताको दरौदी ‘ए’ जलविद्युत् आयोजनाले पनि व्यापारिक उत्पादन सुरु गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिन पहिले सो आयोजनाको उद्घाटन गरेका थिए । सरकारले चालु आवको अन्त्यसम्म दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकामा हालसम्म करिब एक सय मेगावाट विद्युत् उत्पादन भइसकेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हाल मुलुकभर विद्युत्को माग एक हजार २४५ मेगावाटमा झरेको छ । यसअघि एक हजार २८६ मेगावाट रहेको थियो । भारतबाट आयात गरिएको समेत गरेर ८५५ मेगावाट विद्युत् उपलब्ध भइरहेको छ । यस आधारमा प्रणालीमा ३९० मेगावाट विद्युत् अपुग हुन पुगेको छ । थप विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ यही पुस १७ गतेदेखि भारतबाट थप ४० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । रासस

अपर मादीको साढे १२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

पोखरा, १५ पुस । कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको दुईमध्ये एउटा मात्र टर्वाइन आजदेखि सञ्चालन गरिन लागेको आयोजनाका को- अर्डिनेटर राजकुमार बरालले जानकारी दिएका छन् । आयोजनाबाट उत्पादन गरिएको विद्युत् लेखनाथ नगरपालिकास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । करिब रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक सहयोग जुटाई निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, महाभूकम्प र सुरुङ खन्ने क्रममा पहिरो जाँदा लागत बढेर सात अर्ब रुपैयाँ पुग्न गएको बताइएको छ । कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशत लगानीमा विसं २०६९ को पुस महिनादेखि आयोजना सुरु गरिएको थियो । ऊर्जामन्त्री जनार्दन शर्माले नवनिर्मित आयोजनाको आज उद्घाटन गर्ने कार्यक्रम छ । रासस