फिनटेकमा बढ्दो लगानी, घट्दो संख्या
काठमाडौं । नेपालको भुक्तानी प्रदायक कम्पनीमा लगानीकर्ताहरूले पौने ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । २०८२ असोज मसान्तसम्ममा ८ वटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र २१ वटा भुक्तानी सेवा प्रदायक (पीएसपी) कम्पनीमा लगानीकर्ताहरूले ४ अर्ब ७० करोड ८९ लाख ७१ हजार रुपैयाँ, ३७ हजार ८२० अमेरिकी डलर (यूएसडी) र २० लाख युआन लगानी गरेका हुन् । असोजसम्ममा ८ वटा भुक्तानी सेवा प्रदायक कम्पनीमा २ अर्ब ६३ करोड ३२ लाख ७० हजार रुपैयाँ, ३७ हजार ८२० अमेरिकी डलर र २० लाख युआन लगानी भएकाे छ । यस्तै, २१ वटा भुक्तानी सेवा प्रदायक कम्पनीमा २ अर्ब ८ करोड ५७ लाख १ हजार रुपैयाँ लगानी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार भुक्तानी प्रणाली सञ्चालक कम्पनी नेपाल क्लियरिङ्ग हाउसमा १ अर्ब २६ करोड ८२ लाख ७० हजार रुपैयाँ, स्मार्ट च्वाइस टेक्नोलोजिजको ५० करोड रुपैयाँ, नेपाल पेमेन्ट सोलुसनको २५ करोड रुपैयाँ, फोनपे पेमेन्ट सर्भिसको ५० करोड ५० लाख रुपैयाँ, गेटवे पेमेन्ट सर्भिसको १० करोड रुपैयाँ लगानी रहेको छ । यस्तै, युनियन पे इन्टरनेशनल कम्पनीमा २० लाख युआन, भिजा वर्ल्डवाइडमा ८ हजार ९६८ यूएसडी, मास्टरकार्ड एसिया÷प्यासिफिकमा २८ हजार ८५२ यूएसडी लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार भुक्तानी सेवा प्रदायक कम्पनीमा आईएमई डिजिटल खल्तीको ५४ करोड ५४ लाख ५४ हजार रुपैयाँ रहेको छ । यस्तै, ई-सेवाको ३८ करोड रुपैयाँ, सेलकमको १ करोड ५० लाख रुपैयाँ, सीजी पे नेपालको १ करोड रुपैयाँ, पे नेपको ९ करोड ५० लाख रुपैयाँ, क्यु पे को ५ करोड रुपैयाँ, स्मार्ट कार्ड नेपालको १५ करोड ८७ लाख २२ हजार रुपैयाँ, फोकसवान पेमेन्ट सोलुसन्स्को ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । राष्ट्र बैंकका अनुसार कुराकानी पेको १ करोड ४ लाख २५ हजार रुपैयाँ, गोल्डमाइन बिजनेश ग्रुपको २ करोड ४५ लाख रुपैयाँ, वी पेको ६ करोड रुपैयाँ, फिनटेक इन्टरनेशनलको ५ करोड रुपैयाँ, लेनदेन सेवाको ४ करोड रुपैयाँ, डिजी पेको १ करोड रुपैयाँ पुँजी रहेको छ । यस्तै, नेपाल इ बिज म्यानेजमेन्टको ३ करोड रुपैयाँ, आई पेको १ करोड रुपैयाँ, आई क्यासको १ करोड रुपैयाँ, नेपाल डिजिटल पेमेन्ट्सको ४० करोड रुपैयाँ, सुलभ पेको १ करोड रुपैयाँ, छिटो पैसाको १ करोड ६६ लाख रुपैयाँ, सिटी वालेटको ५ करोड रुपैयाँ पुँजी रहेको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो तीन वर्षको अवधिमा भुक्तानी प्रदायक कम्पनीहरूमा लगानीकर्ताहरूले लगानी बढाए पनि कम्पनीको संख्या भने घटेको देखिन्छ । राष्ट्र बैंकका अनुसार २०८० वैशाख मसान्तसम्ममा १० वटा भुक्तानी प्रणाली सञ्चालक र २७ वटा भुक्तानी सेवा प्रदायक कम्पनीमा लगानीकर्ताहरूले ४ अर्ब ७ करोड १४ लाख २२ हजार रुपैयाँ लगानी गरेका थिए । विसं २०८० वैशाख मसान्तसम्ममा भुक्तानी सेवा प्रदायक कम्पनीमा २ अर्ब ४१ करोड ४३ लाख ७६ हजार रुपैयाँ, ३७ हजार ८२० अमेरिकी डलर र २० लाख युआन र भुक्तानी सेवा प्रदायक कम्पनीमा १ अर्ब ६५ करोड ७० लाख ४६ हजार रुपैयाँ लगानी थियो । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार भुक्तानी प्रणाली सञ्चालक कम्पनी ८ वटा र भुक्तानी सेवा प्रदायक २१ वटामा सीमित छन् । तर, ३ वर्ष अगाडिको तुलनामा १५.६५ प्रतिशत अर्थात् ६३ करोड ७५ लाख ४९ हजार रुपैयाँ लगानी बढेको तथ्याङ्कले देखाएको छ । पछिल्लो २ वर्षको अवधिमा २ वटा पीएसओ र ६ वटा पीएसपी कम्पनीको अनुमतिपत्र (लाइसेन्स) रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स), फस्ट पे टेक्नोलोजी, खल्ती, नेपाल पेटाइम, मोहर डिजिटल, प्रभु टेक्नोलोजी, इ-नेट पेमेन्ट, पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेजको लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । भुक्तानी सेवा प्रदायक संघका महासचिव विनय रेग्मी फिनटेक सेक्टरमा आजलाई भन्दा पनि भविष्य हेरेर लगानी गर्ने बताउँछन् । कुनै न कुनै नियामकीय प्रावधानले नयाँ व्यवसाय बनाउन अवसर दिन्छ भन्ने सोचले नयाँ घरानाहरू भित्रिरहेको उनको भनाइ छ । ‘जसरी प्रविधिको विकास भइरहेको छ सोहीअनुसार नियमन पनि बढ्दै जान्छ । र यसले नयाँ ढोका खोल्छ । यो विषय व्यावसायिक घराना र भुक्तानी सेवा प्रदायक, सञ्चालकहरूले बुझेर नै लगानी गर्नु भएको हो,’ उनले भने । भुक्तानी सेवा प्रदायक संघका अध्यक्ष विनय खड्का फिनटेक क्षेत्रमा ठूलो लगानी आवश्यक पर्ने बताउँछन् । यदि लगानी नथप्ने हो भने थप समस्या श्रृजना हुन सक्ने र व्यवसाय नै छोड्नु पर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। ‘यो क्षेत्रमा ठूलो लगानी चाहिन्छ । कुनैले स्टार्टअप सुरु गर्यो तर लगानी थप्दै गएन भने समस्या नै सिर्जना हुन्छ । पछि व्यवसाय नै छोड्नु पर्ने अवस्था आउँछ । यो ठूलो लगानी चाहिने क्षेत्र भएकोले ठूला कर्पोरेट हाउसहरु यो क्षेत्रमा प्रवेश गर्न आवश्यक छ,’ उनले भने, ‘यो उहाँहरूको लगानी विविधीकरण पनि हो । अहिले विश्वको टप टेन कम्पनी हेर्ने हो भने सातवटा टप कम्पनी टेकमा इनेवल छ । त्यसैले पनि ठूला लगानीकर्ता यो क्षेत्रमा आउनु समग्र यो क्षेत्रका लागि राम्रो हो ।’
व्यापार युद्धको बीचमा ट्रम्प–जिनपिङ भेट : सम्झौता वा अर्को टकराव ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी साता एसिया भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने भएका छन् । विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच व्यापार सम्झौता खोज्ने प्रयास भइरहेका बेला यो भेट वार्ता–तनाव घटाउने प्रयासको रूपमा हेरिएको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बिहीबार पत्रकारहरूलाई जानकारी दिँदै भनिन्, ‘राष्ट्रपति ट्रम्पले अक्टोबर ३० मा एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनको अवसरमा चिनियाँ समकक्षी जिनपिङसँग भेट्नेछन् ।’ ट्रम्पले त्यसपछि’मलाई लाग्छ हामी राम्रो परिणाम निकाल्नेछौं र सबैजना खुसी हुनेछन्’ भन्दै उनले आफ्नो आगामी भेटप्रति आशावादी प्रतिक्रिया दिए । दक्षिण कोरियाका राष्ट्रपति सुरक्षा सल्लाहकार वी सुङ–लकले पनि बिहीबार ट्रम्प र जिनपिङ दुबैको एपीईसी शिखर सम्मेलनमा सहभागी हुने राज्य भ्रमणको पुष्टि गरे । यद्यपि चीनले यसबारे आधिकारिक रूपमा वक्तव्य जारी गरेको छैन । यो ट्रम्पले जनवरीमा पुनः पदभार ग्रहण गरेपछि दुवै राष्ट्रप्रमुखबीचको पहिलो प्रत्यक्ष भेट हुनेछ । उनीहरूले यसअघि यस वर्ष दुई पटक फोन वार्ता गरेका थिए भने अन्तिम पटक २०१९ मा ट्रम्पको पहिलो कार्यकालमा प्रत्यक्ष भेट गरेका थिए । यो उच्चस्तरीय भेट नोभेम्बर १० मा समाप्त हुने व्यापार युद्धविराम पुनः विस्तार गर्ने वा नगर्ने निर्णायक क्षणमा भइरहेको हो । ट्रम्पले यसअघि नै नोभेम्बर १ लाई चीनमाथि थप १०० प्रतिशत शुल्क लगाउने म्याद तोकेका छन् । हालैका हप्ताहरूमा दुबै देशबीचका सम्बन्ध पुनः तनावग्रस्त भएका छन् — बन्दरगाह शुल्क, निर्यात नियन्त्रण र दुर्लभ धातु व्यापारमा कडाइका कारण । साथै कृषि खरिद, फेन्टानिल (एक घातक नशा पदार्थ) र ताइवानजस्ता भू–राजनीतिक विषयले पनि विवादलाई थप चर्काइरहेका छन् । ‘यो उच्च जोखिम र उच्च फाइदाको बैठक हुनेछ,’ ग्लोबल परामर्श कम्पनी द एसिया ग्रुपका चीन निर्देशक हान सेन लिनले भने, ‘दुबै पक्षले सम्बन्धमा ‘रिसेट बटन’ थिच्ने प्रयास गर्नेछन्, तर कुनै ठूलो सम्झौता घोषणाबाट टाढा रहन चाहनेछन्।’ लिनका अनुसार दुवै पक्षले व्यापक व्यापार सम्झौता होइन, बरु वार्ता पुनः सुरु गर्ने सहमति गर्न सक्छन् किनकि ‘गहिरा संरचनागत विवादहरू अझै समाधान भएका छैनन् र सम्भवतः कहिल्यै नहुने पनि हुन सक्छ ।’ ट्रम्पले आइतबार एयर फोर्स वनमा पत्रकारहरूलाई बताएअनुसार दुर्लभ धातु, फेन्टानिल, सोयाबिन र ताइवान चीनसँगका प्रमुख वार्ता विषय हुनेछन् । ताइवानका वरिष्ठ कूटनीतिक अधिकृतले भने, ‘हामी वाशिङ्टनसँग नजिक सम्पर्कमा छौं र ट्रम्प–सी भेटको नजिक निगरानी गर्नेछौं ।’ चीनका वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार चीनको आर्थिक योजनासम्बन्धी पत्रकार सम्मेलनमा भने, ‘अमेरिका र चीनले छुट्टिने होइन, कुरा गर्ने र सँगै काम गर्ने बाटो फेला पार्न सक्छन् ।’ यसैबीच चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार जनायो कि उपप्रधानमन्त्री हे लिफेङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल यस हप्ता मलेसियामा अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टसँग व्यापार र आर्थिक विषयमा वार्ता गर्नेछ । तनाव घट्ने संकेत ? हालैको हप्तामा वाशिङ्टन र बेइजिङबीच पुनः तनाव बढ्दै गएको छ, दुवै पक्ष आगामी निर्णायक वार्ताको तयारी गर्दैछन् । तर ट्रम्प–सी भेटको पुष्टि भएको तथ्यले वार्ता पुनः पटरीमा ल्याउने इच्छा देखाएको विश्लेषकहरूको भनाइ छ । राजनीतिक परामर्श संस्था युरासिया ग्रुपका चीन निर्देशक ड्यान वाङका अनुसार, ‘यो भेट चीनले केही रियायतहरू दिने संकेत हो — जस्तै अमेरिकी कृषि खरिद, लगानी प्रतिबद्धता र दुर्लभ धातु निर्यात स्वीकृति — जबकि अमेरिका पनि प्राविधिक प्रतिबन्धमा केही सहजता ल्याउन सक्नेछ ।’ यसअघि अक्टोबरको सुरुमा चीनले दुर्लभ धातु र प्रविधिमा निर्यात नियन्त्रण कडा गरेको थियो, जसको जवाफमा ट्रम्पले चिनियाँ वस्तुमा थप १०० प्रतिशत शुल्कको धम्की दिएका थिए । अमेरिकी ट्रेजरी सचिव बेसन्टले चीनको कदमलाई ‘विश्व अर्थतन्त्र कमजोर पार्ने प्रयास’ भन्दै आलोचना गरेका थिए । ट्रम्प प्रशासन चीनले पहिलो कार्यकालमा गरिएको व्यापार सम्झौताको प्रावधान पूरा नगरेको आरोपमा नयाँ व्यापार अनुसन्धान सुरु गर्ने तयारीमा पनि रहेको छ । न्यूयोर्क टाइम्सका अनुसार यो अनुसन्धान शुक्रबार नै घोषणा हुनसक्छ, जसले थप चिनियाँ वस्तुमा शुल्क लगाउने बाटो खोल्नेछ । अक्टोबरको सुरुतिर ट्रम्पले चीनको निर्यात नियन्त्रणका कारण सीसँगको भेट रद्द गर्ने विचार प्रकट गरेका थिए, तर पछिल्ला दिनहरूमा उनले आफ्नो स्वर नर्म पारेका छन् र जिनपिङसँगको ‘उत्कृष्ट सम्बन्ध’ भएको बताउँदै ‘राम्रो व्यापार सम्झौता हुने’ विश्वास व्यक्त गरेका छन् । ट्रम्पले बुधबार भनेका थिए, ‘मसँग दक्षिण कोरियामा जिनपिङसँग लामो बैठक तय भएको छ । म सोयाबिन खरिद र आणविक हतियार नियन्त्रणबारे सम्झौता हुने अपेक्षा गर्छु ।’ चीनले पछिल्ला वर्षहरूमा अमेरिकी प्रविधि प्रतिबन्धको सामना गर्दै आगामी पाँच वर्षभित्र प्राविधिक आत्मनिर्भरता बढाउने प्रतिबद्धता जनाएको छ । कम्युनिस्ट पार्टीले बिहीबार सार्वजनिक गरेको नयाँ आर्थिक नीतिमा यसलाई प्राथमिकता दिएको छ । चिनियाँ नेताहरूले शुक्रबारको पत्रकार सम्मेलनमा भने, ‘बाह्य चुनौतीहरू जटिल छन्, त्यसैले अमेरिका–निर्भरता घटाउँदै आफ्नै प्रविधि क्षमतामा अडिन जरुरी छ ।’ सल्लाहकार कम्पनी टेनेओका प्रबन्ध निर्देशक ग्याब्रियल विल्डाउका अनुसार ‘बेइजिङ अहिले यस्तो सम्झौता गर्न तयार छैन जुन उसकै लक्ष्य अनुसार नहोस, जबकि ट्रम्पले पनि १०० प्रतिशत शुल्क कार्यान्वयन टार्न चाहान सक्छन् ।’ हालैको तनावबीच पनि आगामी ट्रम्प–सी भेटले दुई देशबीच केही ‘शान्त वातावरण’ ल्याउने अपेक्षा गरिएको छ, जसले २०२६ सुरुमा सम्भावित व्यापार सम्झौताका लागि बाटो तयार गर्न सक्छ । ट्रम्पले अक्टोबर २७ मा जापानकी नयाँ प्रधानमन्त्री सानेई ताकाइचीसँग भेट गर्न टोकियो प्रस्थान गर्नेछन्, त्यसपछि उनी दक्षिण कोरिया पुग्ने कार्यक्रम छ । अमेरिकाको ऋण ३८ ट्रिलियन डलर नाघ्यो सुन–चाँदीको मूल्यमा एकैदिन दशककै ठूलो गिरावट रेयर अर्थ्सको चिनियाँ दबदबा बढ्दा अटो उद्योग आतंकित, दुर्लभ धातु खोज्दै कम्पनीहरू
समीर मास्केले स्थापना गरेको ‘फ्युजमेसिन्स’ अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत
वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने फ्युजमेसिन्सले बिहीबारदेखि अमेरिकाको प्रतिष्ठित नास्डाक कम्पनीबाट स्टक कारोबार सुरु गरेको छ । नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी काम गर्ने उक्त कम्पनीले दुई वर्षअगाडि गरेको ‘मर्जर’ पश्चात बिहीबारदेखि फ्युज नामबाट धितोपत्र कारोबार गर्न सफल भएको हो । कम्पनीका संस्थापकसमेत रहेका डा. मास्केले भने, ‘नवीनतम सोच र अवधारणाले कम्पनीको सानो समूहबाट यो उपलब्धि हासिल गर्न सफल भएकामा आगामी दिनमा अझै व्यापक बनाउन हामीहरूलाई प्रेरित गर्नेछ ।’ विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने कम्पनीमा सूचीकृत भएर कारोबार गर्न पाउनु महत्त्वपूर्ण उपलब्धि भएको डा. मास्केले बताए । उक्त कम्पनीको स्टक कारोबारमा फ्युज नामले सूचीकृत छ । कम्पनीमा हाल तीन सय पचास कर्मचारीले काम गरिरहेका डा. मास्केले जानकारी दिए । त्यसमध्ये दुई सय साठी जना नेपालमा कार्यरत छन् । यसैबीच नास्डाकले विज्ञप्ति प्रकाशित गर्दै सीएसएलएम एक्विजेसन कम्पनी र फ्युजमेसिन इन्क बीच साझेदारीसम्बन्धी प्रक्रिया पूरा भएको र बिहीबारदेखि नास्डाक पुँजीबजारमा कारोबार हुने उल्लेख गरेको थियो । योसँगै नेपालीले स्थापना गरेको कम्पनीले विश्वबजारमा प्रवेश पाएको छ भने लगानीकर्ताका लागि अवसरसमेत सृजना गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा डा. समीर मास्के र प्रमुख वित्त अधिकृतमा क्रिष्टिन च्याम्बर्स रहेका छन् । मर्जरपश्चात् कम्पनीको सञ्चालक समितिमा समीर मास्के, भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहेका छन् ।
नबिल बैंकले हटायो बचत खातामा दिइरहेको छुट सुविधा
काठमाडौं । नबिल बैंकले विभिन्न बचत खातामा दिइरहेको छुट सुविधाहरू हटाएको छ । बैंकले कात्तिक १ गतेबाट खोलिने नयाँ खाताहरूमा लकर शुल्कमा रहेका सम्पूर्ण छुट सुविधा र डेबिट कार्ड शुल्मा प्रदान गरिएका छुट सुविधा हटाएको हो । बैंकका अनुसार लकर शुल्कमा रहेका सम्पूर्ण छुट सुविधा कात्तिक १ गतेबाट खोलिने नयाँ बचत खाताबाट हटाइएको छ । यस्तै, डेबिट कार्ड शुल्मा प्रदान गरिएका छुट सुविधा भने नबिल प्रिमियम नारि बचत खाता, कर्मशील बचत खाता, जेन–एन अकाउन्ट, सेयरहोल्डरर्स सेभिङ्गस एकाउन्ट, प्रिमियम प्यारोल सेभिङ्गस एकाउन्ट, प्रिमियम रेमिट्यान्स सेभिङ्गस एकाउन्टबाट हटाइएको हो । छुट सुविधा हटाएसँगै अब बैंकको सेवा शुल्क सूची (एससीएस) अनुसार लागू हुनेछ ।
सिन्धु विकास बैंकको ७ लाख १५ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ७ लाख १५ हजार ६३५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर यसअघि बैंकका विद्यमान सेयरधनीहरूलाई बिक्रीमा राखेको थियो । तर, कुनै पनि सेयरधनीले आवेदन नदिएपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ । बैंकको उक्त सेयरमा योग्य इच्छुक जो कोही व्यक्तिले पनि आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
गाजाको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणमा ७ अर्ब डलर आवश्यक
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार गाजामा ध्वस्त बनेको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तीमा ७ अर्ब डलर आवश्यक पर्ने बताएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘इजरायली आक्रमणमा गाजामा भएका आक्रमणमा अस्पतालहरूसमेत निशानामा परेका थिए ।’ अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् । ३६ अस्पतालमध्ये १४ वटाबाट सेवा दिइएको उनले बताए । उनका अनुसार गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको गम्भीर अभाव छ । ध्वस्त बनेको गाजा स्वास्थ्य प्रणालीको पुनर्निर्माणको लागि कम्तीमा ७ अर्ब खर्च हुने उनकाृ भनाइ छ ।
मेची भन्सारबाट १२.२८ अर्बको सामान आयात हुँदा २१.८ प्रतिशत घट्यो निर्यात
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० लाख रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएका छन् । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १ अर्ब ४४ करोड २७ लाख रुपैयाँ अर्थात् १३.३१ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवको पहिलो त्रैमासिकमा १० अर्ब ८४ करोड ३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा ४ अर्ब ८० करोड ३९ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा ६ अर्ब ८ करोड ६९ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो । यो नाकाबाट निर्यात २१.८ प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी हुमागाईंले बताए । पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिस लगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुहरुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत रहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८२/८३ को पहिलो त्रैमासिकमा आयात निर्यातबाट ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १५.६९ प्रतिशत अर्थात् ५६ करोड २९ लाख ९७ हजार रुपैयाँले बढी हो ।
गरिमा विकास बैंक मर्जरमा जाने, केन्द्रीय कार्यालय बालुवाटारमा
काठमाडौं । गरिमा विकास बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । मर्जर तथा एक्विजिसन प्रस्ताव र लाभांश प्रस्ताव पारित गर्न बैंकले साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले कात्तिक २७ गते पोखरा, कास्कीमा १९औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले सञ्चालक समितिको निर्णय बमोजिम मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गर्नेछ । कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने तथा प्राप्ति गर्ने, उपयुक्त बैंकसँग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमति गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्न, नियामकसँग सहमति लिने लगायत सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशतका दरले २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव सभाले पारित गर्नेछ । सभाले बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड रुपैयाँ कायम गर्ने, रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिका-२, लाजिम्पाटबाट वडा नम्बर ३, बालुवाटारमा स्थानान्तरण गर्ने, बैंकको छाप तथा लोगो परिवर्तन गर्ने, सञ्चालकहरूलाई प्रदान गरिने बैठक भत्ता तथा टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्च बापत प्रदान गरिने रकम वृद्धि गर्ने र प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।