विकासन्युज

एमएडब्लुको ‘नयाँ स्कोडा र्‍यापिड’ नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले  स्कोडा र्‍यापिडको फेसलिफ्टलाई नेपाली बजारमा भित्र्याएको छ । नयाँ क्रिस्टलाइन डिजाइन ल्यांगवेजमा तयार गरिएको र्‍यापिडको पफर्मेन्स अझ धेरै सुधारिएको कम्पनीको भनाइ छ। नेपालमा स्कोडा र्‍यापिड १६०० सीसी पेट्रोल र १५०० सीसी डिजेल इन्जिनमा उपलब्ध हुनेछ। ६ वटा रङ (ब्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, क्यापिचिनो बिग, कार्बन स्टिल, सिल्क ब्लु र फ्ल्यास रेड) मा उपलब्ध हुने नयाँ स्कोडा र्‍यापिड तीन संस्करणः एक्टिभ, एम्बिसन र स्टाइलमा उपलब्ध हुनेछन्। कम्पनीका अनुसार नयाँ स्कोडामा शार्म एंगल र कर्भहरु छन् जसले यसलाई आकर्षक सेडान बनाएको छ। बाह्य डिजाइन आधुनिक भएको यसमा सिग्नेचर ग्रिल र क्वार्ज-कट ह्यालोजिन प्रोजेक्टर हेडलाइट छ। त्यस्तै सुरक्षाको दृष्टिले अपरिहार्य डे रनिंग एलइडी लाइटका साथै सी आकारको टेललाइट, डोर ह्यान्डलमा लगाइएको डेक लिड र क्रोमले कारलाई प्रिमियम लुक्स दिएको छ। ड्युअल–टोन इबोनी–स्यान्ड कन्ट्रास्टले नयाँ स्कोडा र्‍यापिडको भित्री डिजाइन पनि उत्तिकै आकर्षक बनाएको कम्पनीको दाबी छ। प्रिमियम लेदरका सिटहरु भएको यो कारमा एडजस्टेबल मल्टिफंक्सन स्टेरिङ, इलेक्ट्रिल्ली फोल्डेबल र साइड टर्न इन्डिकेटरसहितको एड्जस्टेबल मिरर,‘ड्राइभ’-६.५ इन्टको कलर टचस्क्रिन सेन्ट्रल इन्फोटेन्मेन्ट सिस्टम जस्ता फिचर छन्। साथै, कारमा रहेको मिररलिंक प्रविधिले गर्दा आफ्नो स्मार्टफोनलाई विना कुनै अवरोध कारसँग कनेक्ट गराउन सकिने कम्पनीले जानकारी दिएको छ। युएसबी वा अक्स-इन वा ब्लुटुथ वा एसडी कार्डमार्फत पनि कारसँग स्मार्टफोन कनेक्ट गर्न सकिनेछ। र्‍यापिडमा एड्जस्टेबल ड्युअल रियर एसी भेन्टसहितको क्लाइमेट्रोनिक प्रविधि छ। साथै रेन सेन्सिङ वाइपर सिस्टम, बिल्ट–इन क्रुज कन्ट्रोल, एडजस्टेबल हेडरेस्ट, फोल्डेबल आर्मरेस्ट, ग्लोब बक्स र पर्याप्त लेग रुमले नयाँ स्कोडा र्‍यापिड ‘क्लास–लिडर’ बनाएको कम्पनीले जनाएको छ । नयाँ स्कोडा र्‍यापिड डिजेल इन्जिनले २१ किमी र पेट्रोलले १५ किमी प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ। ४६० लिटरको बुट भएको यसको डोरमा बोतल होल्डर, सेन्टर आर्मरेस्टमा स्टोरेज कम्पार्टमेन्ट र कप होल्डरहरु छन्। ड्युअल एयरब्याग,एबीएस, क्वार्ज–कट हेडलाइट, लिड डे रनिङ लाइट इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल र हिल होल्ड कन्ट्रोल, पार्कटोनिक रियर पार्किङ सेन्सर, अटोमेटिकल्ली डिमिङ रियर भ्यु मिरर र कारको झ्यालमा वान टच एन्टि पिन्च प्रविधि नयाँ स्कोडा कारका सुरक्षा विशेषताहरु हुन् ।  

चैत भित्रै हुलाकी राजमार्गको डिपिआर बनिसक्ने, एक करोड ५० लाख तराई बासीको जीवनस्तर उकासिँदै

काठमाडौं, १८ माघ । तराई बासी नेपालीको जीवनस्तरसँग प्रत्यक्ष जोडिएको हुलाकी राजमार्गको डिपिआर रिपोर्ट दुई महिना भित्रै आउने भएको छ । हुलाकी सडक आयोजनाका निर्देशक बलराम मिश्रका अनुसार हाल पुर्व पश्चिम मुल सडकको ९७५ किलोमिटरको डिपिआर बनिरहेको छ । ‘पुर्व पश्चिम खण्डमा पर्ने मुल सडकको डिपिआर धमाधम बनिरहेको छ, ६ वटा कम्पनीले ६ वटा ब्लकमा डिपिआर बनाईरहेका छन, मार्च महिनाभित्रै डिपिआर रिपोर्ट तयार हुन्छ’, आयोजनाका निर्देशक मिश्रले विकासन्युजसँग भने । मिश्रले दिएको जानकारी अनुसार हुलाकी सडक अन्तर्गत बिभिन्न ३२ वटा सडकहरु रहेका छन् । तीमध्ये ३१ वटा सडक पुर्व पश्चिम महेन्द्र राजमार्गबाट भारतको सिमासम्म जोडिन्छन् । यी सडकहरुको कुल लम्बाई ८१७ किलोमिटरको छ । त्यस्तै, मुल सडकका रुपमा रहेको पुर्व पश्चिम सडकको लम्बाई ९७५ किलोमिटर छ । जसको हाल धमाधम डिपिआर निर्माण भैरहेको छ । पुर्व पश्चिम महेन्द्र राजमार्गले १० लाख नेपालीलाई स्वरोजगार बनाएको बताइन्छ । हुलाकी राजमार्ग निर्माण सम्पन्न हुँदा त्यसले तराईमा बसोबास गर्ने ५१ प्रतिशत नेपालीको जीवन स्तर उकास्ने छ । ‘हुलाकी सडकले एक करोड ५० लाख नेपालीको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्छ’, मिश्रले भने । भारत सरकारले अघिल्लो सम्झौता अनुसार २७ दशमलब ७ किलोमिटरको लम्की-टिकापुर सडक र ४० किलोमिटरको धनगढी-सोती सडकको स्तरोन्नति गरेको छ । भारतीय सरकारले सिधै भुक्तानी गरेको सो सडकमा एक अर्ब २६ करोड खर्च भएको मिश्रले बताए । हाल पहिलो चरणको १७ वटा सडक अन्तर्गत पर्ने ५१८ दशमलब शुन्य ५ किलोमिटर सडक निर्माणको सम्झौता भारत सरकारसँग भएको छ । त्यसको पहिलो किस्ता वापत नेपालले २५ करोड रुपैंयाँ भुक्तानी दिईसकेको छ । हुलाकी सडकमा पर्ने १५० वटा पुलहरुको निर्माण नेपाल सरकार आफैंले गर्नेछ । हालसम्म ५३ वटा पुल निर्माण भैसकेका छन भने ५८ वटा पुल निर्माणको चरणमा रहेका छन् । ३९ वटा पुलहरु भने डिजाइनको चरणमा रहेका छन् ।

हिमालय एयरलाइन्सले भित्र्यायो दोश्रो एयर बस, उडान छिट्टै

काठमाडौं । नेपाल चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले आफ्नो दोस्रो नयाँ विमान ए-३२० लाई मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ ।  हैम्बर्ग, जर्मनबाट उडान गरिएको, ९एन-एएलभी रजिष्ट्रेशन नम्बरको उक्त विमानलाई पानीको तोपद्वारा सलामका साथ स्वागत गरिएको छ । उक्त स्वागत कार्यक्रममा संकृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री जीवनबहादुर शाही तथा नेपाल नागरीक उड्डयनका प्रबन्धक निर्देशक देवेन्द्र उपाध्याय र साथै प्राधिकरणका पदाधिकारीहरु सहभागी थिए । उक्त बहुप्रतिक्षित नयाँ एअरबस ए-३२० लाई स्वागत गर्न हिमालय एअरलाइन्सका विजय श्रेष्ठ, उपाध्यक्ष-प्रशासन, कप्तान जतिनदर पालसिहं ढिल्लन उपाध्यक्ष -अपरेशन लगायत कम्पनीका पदाधिकारीहरुको सहभागी थियो । यस एअरलाईन्सका प्रशासन-उपाध्यक्ष विजय श्रेष्ठले भने,“दोस्रो एअरवस ए-३२० को आगमनसँगै यस हिमालय एअरलाईन्सको समुह आगामी दिनमा ग्राहकहरुको उत्कृष्ट सेवाको लागी अत्याधिक मेहनतका साथ प्रस्तुत हुनेछ ।” साथै, नेपाललाई नयाँ गन्तव्य सँग जोड्ने अवसर ल्याउनुका साथै नेपालको आर्थिक बृद्धिमा समेत मद्दत गर्ने श्रेष्ठले बताए । उनले स्थापनाको पहिलो वर्षमै दुईवटा विमान सञ्चालनमा आउनु हिमालय एअरलाइन्स् तथा देशकै पर्यटन एंवहवाई उद्योगमा कोषे ढुङ्गा सवित भएको बताए । १५८ सिट क्षमता रहेको हिमालय एअरलाइन्सको नयाँविमान ए-३२०लाई दुई वर्गमा विभाजन गरिएको छ, जसमध्ये ८ वटा सिट विजनेस क्लासको लागि छुट्याइएको छ भने बाँकी १५० वटा इकोनोमी क्लासको रहेको छ । हिमालय एअरलाइन्स दुवै वर्गका उपभोक्ताहरुलाई आकाशमा उच्चस्तरीय र आरामदायी उडानको अनुभव गराउने कम्पनीले जनाएको छ ।

सुबिसु क्यान इन्फोटेक २०१७ सम्पन्न, ३ लाखले गरे इन्फोटेकको अवलोकन

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २३औं संस्करणको ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मंगलबार सम्पन्न भएको छ । मेला माघ १३ गतेदेखि ६ दिनसम्म सञ्चालन भएको थियो । महासंघले सूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले सन् १९९५ देखि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्दै आएको छ । प्रदर्शनीको अन्तिम दिन मंगलबार मात्रै ५५ हजार ७ सय १३ जनाले इन्फोटेकको अवलोकन गरेका छन् । यस वर्ष कुल ३ लाख १० हजार ९८ जनाले इन्फोटेकको अवलोकन गरेका आयोजकले जनाएका छन् । प्रदर्शनीमा सेलिब्रेटी, राजनीतिक दलका नेतृत्ववर्ग, नीति निर्मातालगायत बालकदेखि बृद्धसम्मका सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको थियो । अवलोकनकर्ताको उत्साहप्रद सहभागिता, उनीहरुको प्रतिक्रिया र विशिष्ट व्यक्तित्वहरुको अमूल्य सल्लाह, सुझावले इन्फोटेकलाई आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले कार्यक्रमहरु संचालन गर्न ऊर्जा मिलेको छ । ई-नेपाल निर्माणलाई मध्यनजर गर्दै स्मार्ट टेक्नोलोजी र डिजिटाइजेशनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न कम्पनीहरुले भित्र्याएको नयाँ नयाँ प्रविधि र उत्पादनले नेपालमा प्रविधिको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पुर्याउने इन्फोटेकले जनाएको छ । आयोजकका अनुसार २३औं संस्करणको ईन्फोटेकमार्फत् नेपालमा थुप्रै नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन् । जसको बारेमा ईन्फोटेकमार्फत आम नेपालीले प्रत्यक्ष जानकारी लिने अवसर मिलेको छ । प्रदर्शनीमा प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, ब्याट्री, सोलार, युपीएस, इन्डक्सन चुलो, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु, स्मार्टफोन/ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित बिशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, पावर बैंक, स्मार्टवाच, सेल्फी स्टिक लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो । इन्फोटेकमा विशेषगरी मोबाइल ब्राण्डका स्टलहरुमा अवलोकनकर्ताको आकर्षण रहेको थियो । ११ भन्दा बढी मोबाइल ब्राण्डले पछिल्ला मोडलका स्मार्टफोनहरु यसै प्रदर्शनीमार्फत् सार्वनजनिक गरेका छन्  । सुबिसुले यसै इन्फोटेकमार्फत् आफ्नो एचडी च्यानल पनि सार्वजनिक गरेको छ । प्रदर्शनीमा सहभागी कम्पनीहरुले इन्फोटेक अवधिभर आफ्ना वस्तु र सेवामा विशेष छुट र उपहार योजना ल्याएका थिए । त्यसैगरी नेपालमै सफ्टवेयर, सोलुसन्स र सर्भिसेसको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको पनि इन्फोटेकमा विशेष उपस्थिति रहेको थियो । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी १५८ कम्पनीका २२२ स्टल रहेका थिए । साथै हरेक वर्ष हुँदै आइरहेको क्यान आइसिटी कन्फेरेन्सको १७औं संस्करण माघ १६ र १७ गते होटल सोल्टीमा आयोजना गरिएको थियो । यसपटकको संस्करणको विषय ‘दिगो विकासका लागि आइसिटी’ (आइसिटी फोर डी) रहेको थियो । सो विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै शिक्षा क्षेत्र, आइटी व्यवसायी र व्यवस्थापिक सांसदहरुबीच प्यानल डिस्कसन गराइएको थियो ।

बाफियाले सांसद्लाई निषेध गरेपछि जनता बैंकका अध्यक्षले राजीनामा दिए, नयाँ अध्यक्षमा केशव रायमाझी नियुक्त

काठमाडौं । जनता बैंक नेपालको अध्यक्षमा केशबबहादुर रायमाझी नियुक्त भएका छन् । माघ १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । रायमाझी यस बैंकका संस्थापक सञ्चालक हुन् । स्थापनाकाल देखि लगातार उनी सञ्चालक पदमा छन् । धनकुटामा जन्मिएका रायमाझी चाईना व्यापारबाट जम्दै जलविद्युत र बैकिङ क्षेत्र आएका हुन् । उनी लम्जुङमा बन्दै गरेको ४९ मेघावाट क्षमताको पिपुल्स हाईड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक पनि हुन् । यसअघि बैंकको अध्यक्षमा उदय नेपाली श्रेष्ठ माघ १४ गते राजीनामा गरेका थिए । उनी एमाले सभासद् पनि हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ ले बैंक तथा वित्तीय संस्थाको अध्यक्ष तथा सञ्चालकमा सांसद बस्न नपाउने व्यवस्था गरेपछि श्रेष्ठले राजीनामा दिएका हुन् । सरकारको पूर्वसचिव समेत रहेका श्रेष्ठ विज्ञ सदस्यको रुपमा यस बैंकको सञ्चालक समितिमा नियुक्त भएका थिए । श्रेष्ठको राजीनामा सँगै जनता बैंकमा २ सञ्चालक पद खाली भएको छ । गत पुसमा बैंकका सञ्चालक गुरुप्रसाद न्यौपानेले राजीनामा दिएका थिए । श्रेष्ठ र न्यौपाने दुबैको पद तत्कालका लागि पूर्ति नहुने अध्यक्ष राममाझीले बताए । ‘त्रिवेणी विकास बैंक जनता बैंकसँग मर्ज हुँदैछ । मर्जपछि साधारणसभाबाट नयाँ सञ्चालक चयन गरिने छ’ अध्यक्ष रायमाझीले भने । आगामी चैत १ गतेसम्ममा मर्ज सकेर एकिकृत कारोबार गर्ने र बैशाखमा हकप्रद सेयर निष्काशन गर्ने लक्ष्यसहित काम भईरहेको उनले बताए । बैंकले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर दिदै छ भने त्यसपछि ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ ।

४४ करोडको लागतमा खानेपानी आयोजना सम्पन्न, ५ सय धुरीले पानी उपयोग गर्ने

सिन्धुपाल्चोक। भुकम्पका कारण खानेपानीको मुहानमा समस्या देखिएको सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा करिब ४४ करोड ८२ लाख ३३ रुपैयामा लागतमा खानेपानी आयोजना सम्पन्न भएको छ । उक्त सम्पन्न खानेपानी आयोजनाको उद्घाटन खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले गरेका छन् । सो आयोजनाबाट ५ सय धुरीले पानी उपयोग गर्नेछन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद मोहन बस्नेतले स्थानिय जनता, सरकारी निकाय तथा सांसद विकास कोषको सहयोगमा खानेपानी आयोजना निर्माण गरिएको बताए । केन्द्रीय सदस्य बस्नेतले यो निर्वाचन क्षेत्रका ३० वटै गाविसमा खानेपानीका साथै सांस्कृतिक भवन तथा पौडी पोखरी सहित बहुउद्देशिय आयोजना संचालन गर्ने बताए । उनले खानेपानी तथा विकासका कार्यक्रममा सरकारी खर्चमा नभएर स्थानिय जनताको समेत सहभागितामा बनेमा आपनत्व महशुस गर्ने बताए । कार्यक्रममा राज्यमन्त्री दिपक खड्काले देशभरको खानेपानी समस्या समाधानका लागि सरकार गम्भिर भएर लागेको बताउदै मुलुकमा खानेपानीका फरक फरक प्रकारका समस्या रहेका छन् । उनले तराईमा आफै प्रकारको समस्या रहेको सहर र पहाडमा अर्कै प्रकारको खानेपानीको समस्या रहेको बताए । मन्त्री खड्काले संविधानमा खानेपानी र सरसफाईलाई मौलीक हकका रुपमा ग्यारेण्टी गरिएकाले सरकारलाई यो संवैधानिक ग्यारेण्टीलाई कार्यान्वयन गर्न सरकार लागि परेको बताए । स्वस्थ्य खानेपानी नागरिकको मौलिक हक भएकाले सरकार त्यो जनताको मौलिक हकको संरक्षण गर्न लाग्ने बताए ।

मंगलबार मात्रै एक करोड ५९ लाख कित्ता हकप्रद र ८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । मंगलबार मात्रै एक करोड ५९ लाख १० हजार २४९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ८ करोड २८ लाख ८५ हजार ३१५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । मंगलबार तीन कम्पनीको हकप्रद र दुई कम्पनीको बोनस गरि जम्मा ५ वटा कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको हो । लक्ष्मी लघुवित्त संस्थाको ११ लाख कित्ता र सूर्या लाइफ इन्स्योरन्सकोे १२ लाख ५० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सिन्धु विकास बैंकको १२ लाख ९ हजार कित्ता र प्राइम कमर्सियल बैंकको एक करोड २३ लाख ५० हजार कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएको छ । उता तिनाउ विकास बैंकको ६ लाख ८२ हजार ७४० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, सिन्धु विकास बैंकको २ लाख ३ हजार १७५ कित्ता हकप्रद सूचिकृत भएको छ ।

विश्वव्यापी सार्वजनिक नीति अध्ययन प्रतिष्ठानको सूचीमा ६ नेपाली प्रतिष्ठान सूचिकृत

काठमाडौं । युनिवर्सिटी अफ पेन्सिल्भेनिया स्थित दथिङ्क टयाङ्स् एण्ड सिभिलसोसाइटीज प्रोग्रामले वार्षिक ग्लोबल गो टु थिङ्क टयाङ इन्डेक्स प्रतिवेदन २०१६ प्रकाशित गरेको छ । प्रतिवेदनले १२ नेपाली सार्वजनिक नीति अध्ययन प्रतिष्ठान(थिङ्क टयाङ) लाई मान्यताप्रदान गरेको छ र तीमध्ये ६ वटालाई विभिन्न वर्ग मध्ये ४ वर्गमा स्थान प्रदान गरेको छ । सेन्टर फर इकोनमिक डेभेलपमेन्ट एण्ड ऐड्मिनिस्ट्रेशन, इन्स्टिटूट फर सोसल एण्ड इन्वाइरन्मेन्टल ट्रैन्जिशन, सेन्टर फर नेपाल एण्ड एसियन स्टडीज, नेपाल साउथ एसिया सेन्टर, नेपाल इकोनमिक फोरम र समृद्धि फाउण्डेसन दक्षिण पूर्वी एसिया र पसिफिकको सर्वोत्कृष्ट सार्वजनिक नीति अध्ययन प्रतिष्ठान सूचीमा पर्न सफल भएका छन् । समृद्धि फाउण्डेसन अन्य तीन सूचीमा पनि पर्न सफल भएको छ । यो फाउण्डेसन सर्वोत्कृष्ट स्वदेशी सार्वजनिक आर्थिक नीतिअध्ययन प्रतिष्ठान, पारदर्शिता र सुशासनमा काम गर्ने सार्वजनिक नीति अध्ययन प्रतिष्ठान(विश्वव्यापी) र सर्वोत्कृष्ट निष्पक्ष सार्वजनिक नीति अध्ययन प्रतिष्ठान (विश्वव्यापी) मा सूचिकरण भएको छ । प्रतिवेदनले ४,७५० पत्रकार, नीति निर्माता, सार्वजनिक र निजी दाता संस्थान, र क्षेत्र विशेषज्ञको परामर्शबाट ६,८४६ वटा सार्वजनिक नीति अध्ययन प्रतिष्ठानलाई सूचीमा राखेको छ । प्रतिवेदनमा उल्लेखित वर्ग विभाजन “भौगोलिक क्षेत्र”, “अनुसन्धान क्षेत्र” र “विशेष उपलब्धि”को आधारमा विभाजन गरिएको छ ।