विकासन्युज

आन्दोलनरत कर्मचारीलाई कार्यस्थलमा फर्कन युनिभर्सल मेडिकलको आह्वान

काठमाडौं । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) शिक्षण अस्पताल प्रशासनले आन्दोलनरत कर्मचारीलाई कार्यस्थलमा फर्कन आह्वान गरेको छ । युसिएसएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएसले प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको उपचारलाई मध्यनजर गर्दै आकस्मिकसहित सघन उपचार, प्रसूतिलगायत सबै सेवाहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी नियमित कार्यमा फर्किन आह्वान गरे ।  वर्तमान परिवेशमा आन्दोलनका कारण कुनै पनि बिरामीलाई प्रतिकूल प्रभाव पर्न गएमा सोको जिम्मेवार तथा जवाफदेही आन्दोलनकारी पक्ष नै हुने समेत विज्ञप्तिमा जनाइएको छ । हाल देखिएका समस्यालाई वार्ताको माध्यमबाट समाधानका लागि आवश्यक ‘समन्वय तथा सहयोग’ गरिदिन स्थानीय प्रशासन तथा सरोकार भएका सबैमा अपिल समेत गरिएको छ । यस कलेजमा कार्यरत नर्सिङ तथा प्यारामेडिक्स कर्मचारीले प्रशासन समक्ष विभिन्न माग राखी विसं २०८२ कात्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले कात्तिक ११ गते मङ्गलबार दिउँसो १ बजेसम्म पनि माग सम्बोधन नभए पूर्ण रूपमा ‘पेन डाउन’ गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

काठमाडौं । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानु पूर्व पूर्व सूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो ।  यस्तै, पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न एवं लेक लागि हालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कन समेत अनुरोध गरेको छ । पछिल्ला दुई दिन अर्थात् यही कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको छ भने एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । लेक लागेर जीवन गुमाएकाप्रति प्राधिकरणले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै लेक लागेर बिरामी परेका व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार यही कात्तिक १० र ११ गते केही प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । बङ्गालको खाडी र अरब सागरमा बनेको दुई वटा न्यून चापीय प्रणालीले आगामी मङ्गलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा र हिमपात गराउने सम्भावना रहेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागबाट सोसम्बन्धी सूक्ष्म विश्लेषण भइरहेको र छिट्टै पूर्वानुमान जारी हुने जानकारीसमेत प्राप्त भएको प्राधिकरणले जनाएको छ । 

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घय दिइँदै

काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घय दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घय दिने व्रत विधि रहेको छ ।  कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व  मनाउने गर्छन् । व्रतविधि कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घय दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीले जनाएको छ । षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घयदिएपछि यो पर्व समापन हुन्छ । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घयदिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरी लगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाइ चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रुपमा स्थापित भएको छ ।

हयात होटल सञ्चालनमा आउन एक वर्ष लाग्ने

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हयात रिजेन्सी) सञ्चालनमा आउन एक वर्ष लाग्ने भएको छ । हयात रिजेन्सीका कार्यकारी निर्देशक (ईडी) सुरेश लाल श्रेष्ठका अनुसार भदाै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त होटल सञ्चालनमा ल्याउन करिब एक वर्षको समय लाग्ने अनुमान गरिएको छ ।  उनका अनुसार हाल होटलमा भएको क्षतिको मूल्याङ्कन गर्ने कार्य चलिरहेको छ भने क्षतिको पूर्ण मूल्याङ्कन पश्चात् यस होटललाई स्तरोन्नति तथा पुनर्निर्माण गर्दै अझ विस्तारित र उत्कृष्ट सेवासहित यथासिघ्र पुनः सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता जनाए । ‘करिब एक वर्षको समय लाग्ने अनुमान छ । यस होटलले आगामी दिनमा सरकारको राजश्व स्रोतमा वृद्धि गरी देशको आर्थिक विकासमा थप योगदान पुर्याउने र नेपालको फ्ल्यागशिप होटलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्प बोकेका छौं,’ उनले भने । जेनजी आन्दोलनकारीहरुले होटलमा तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट अतिथि कक्ष, कार्य कक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्युट, चैत्यहरु लगायत संरचनामा ठूलो क्षति पुगेकाले पूर्ण रूपमा बन्द रहेको श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार पछिल्ला साढे दुई दशकमा उक्त होटल नेपालमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनहरूको साक्षी रहँदै आएको छ । यस अवधिमा चरम सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प तथा कोरोना महामारी जस्ता चुनौती पूर्ण अवस्थाहरूको सामना गर्दै वर्षोंदेखि हजारौं व्यक्तिलाई रोजगारी दिँदै मुलुकको पर्यटन अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ छ ।  साथै, नेपाल सरकारले हयात रिजेन्सीलाई आर्थिक वर्ष २०७९/८० मा समेत गरि ७ औं पटकसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा र २ पटकसम्म पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा सङ्कलन गर्ने होटलको रुपमा सम्मानित गरिसकेको उनले जानकारी दिए ।  ‘देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको यस होटलमाथि आन्दोलनको क्रममा गरिएको आक्रमण निन्दनीय छ । प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर प्रसाद खनालले यस विषम परिस्थितिलाई सम्बोधन गर्दै सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिनुभएको आश्वासनप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं,’ ईडी श्रेष्ठले भने । 

गौरी बहादुर कार्की नेतृत्वको आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिबारे जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता विपिन ढकालले आइतबार आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् ।  उनले आयोगलाई काम कारबाही गर्नबाट रोक्न माग गरेका छन् । सर्वोच्च अदालत प्रशासनका अनुसार रिट दर्ताका लागि अध्ययन भइरहेको छ । जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारले गत असोज ५ गते जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम उक्त आयोग गठन गरेको थियो । आयोगलाई आन्दोलनका क्रममा भएको क्षतिको सत्य तथ्य छानबिन गर्ने जिम्मेवारी दिइएको छ ।  तर, आयोगका अध्यक्ष कार्कीले आन्दोलनकै बेला सामाजिक सञ्जालमा आन्दोलनकारीलाई उक्साउने खालका अभिव्यक्ति दिएका थिए । उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतका केही नेतामाथि छानबिन हुनुपर्ने, तुरुन्तै गिरफ्तारी गर्नुपर्ने र विदेश भाग्नबाट रोक्नुपर्ने जस्ता कुरा सामाजिक सञ्जालमा लेखेका थिए । अधिवक्ता ढकालका अनुसार कार्कीले आयोगमा पुगेपछि पनि आफ्ना पूर्व धारणाअनुसार काम गर्न थालेका कारण आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ ।  रिट निवेदनमा ढकालले उल्लेख गरेका छन्, ‘छानबिन गर्नुपर्ने विषयमा आफ्नो पूर्वमत सार्वजनिक गर्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत विचार व्यक्त गर्नु न्यायिक मर्म र सिद्धान्तविपरीत कार्य हो । यसले नेपालको संविधानको धारा ४८(ग) अन्तर्गतको कर्तव्य उल्लङ्घन गरेका छन् ।’ रिटको अन्तिम टुंगो नलागेसम्म अध्यक्ष र सदस्यहरूलाई कुनै कार्य नगर्न–नगराउन अन्तरिम आदेश जारी गर्न उनले थप माग गरेका छन्  । रिट निवेदनमा जाँचबुझ आयोग ऐन, २०२६ र जाँचबुझ आयोग सदस्यहरूको सेवा सर्त नियमावली, २०५१ विपरीत कार्य भएको भन्दै सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम आदेश माग गरिएको छ ।

३ महिनामा ३० अर्बको सोयाविन तेल आयात

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउन–असोज) महिनामा ३० अर्बभन्दा बढीको कच्चा सोयाविन तेल आयात भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार तीन महिनामा ३० अर्ब २४ करोड ८७ लाख रुपैयाँ बराबरको सोयाविन तेल आयात भएको हो । सो रकम बराबरको सोयाविन तेल आयात गर्दा सरकारले ९४ करोड ९४ लाख रुपैयाँको राजश्व संकलन भएको छ । नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुमध्येमा सोयाविन तेल पर्छ । तथ्यांकअनुसार असोजसम्ममा सबैभन्दा धेरै आयात हुने वस्तुमा सोयाविन तेल नै रहेको छ । भन्सार विभागका अनुसार अर्जेटिना, ब्राजिलगायतका मुलुकबाट सोयाविन तेल आयात हुँदै आएको छ । तीन महिनामा सबैभन्दा धेरै अर्जेटिनाबाट २४ अर्ब ६८ करोड ६८ लाख रुपैयाँको भित्रिएको छ । दोस्रो धेरै सोयाविन तेल ब्राजिलबाट ४ अर्ब ६१ करोड ८४ लाख रुपैयाँको भित्रिएको छ । त्यस्तै पराग्वेवबाट ९४ करोड ३४ लाख रुपैयाँ बराबरको आयात भएको छ । 

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो लिलाम बिक्रीका सम्पत्तिहरूका लागि अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकका नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक गरेको उक्त अनलाइन पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको सम्पूर्ण विवरण—कित्तानम्बर, क्षेत्रफल, तस्बिर, नक्सा र स्थान पहिचानका लागि गुगल म्यापसहित हेर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकहरूले लिलाम सम्बन्धी सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी सो पोर्टलमा सहज रूपमा प्रवेश गर्न सक्नेछन् । त्यस्तै, इच्छुक ग्राहकहरूले आफूलाई रुचि भएको सम्पत्तिको बारेमा थप जानकारी लिन पोर्टलमा उपलब्ध ‘म्यासेज बक्स’ प्रयोग गरी आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरेर सन्देश पठाउन सक्ने व्यवस्था गरिएको छ । बैंकले अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका लिलाम बिक्रीका विवरणहरू अद्यावधिक गर्दै जाने जनाएको छ । यसरी डिजिटल प्रणालीमार्फत लिलामसम्बन्धी जानकारी सार्वजनिक हुँदा पारदर्शिता र पहुँच दुवै सहज हुने बैंकको विश्वास छ ।

खेलकुदमन्त्रीको पहिलो निर्णय : मन्त्रालयको छलफल लाइभ गर्ने

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आइतबार पदभार ग्रहण गर्दै पहिलो निर्णयका रूपमा मन्त्रालयको बैठक (छलफल) लाइभ गर्ने घोषणा गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएपछि गुप्ता मन्त्रालय पुगेका थिए । पदभार ग्रहण समारोहपछि उनले मन्त्रालयमा पारदर्शिता र जिम्मेवारी बढाउने उद्देश्यले सबै प्रकारका बैठक तथा छलफलहरू लाइभ प्रसारण गर्ने निर्णय गरेका हुन् । मन्त्री गुप्ताले खेल क्षेत्रलाई व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउन मन्त्रालयभित्रबाटै सुधार थालिने बताउँदै खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक पनि सार्वजनिक रूपमा लाइभ गरिने स्पष्ट पारेका छन् ।