मानुङकोटमा पर्यटकको ओइरो, १२ सयमै रातको बास, खाना र बिहानको नास्ता उपलब्ध
काठमाडौं । ‘सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो,’ पोखराकी लक्ष्मी कार्कीले भने, ‘यहाँबाट देखिने सूर्योदय, हिमशृङखलाले लोभ्यायो ।’ पोखराबाट सोमबार बिहान २ बजे गाडी भाडामा लिएर व्यास नगरपालिका-५ मानुङकोट आएकी उनले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरे भन्दा अझ राम्रो लागेको उल्लेख गरिन् । उ उनले भनिन्, ‘मानुङकोटका बारेमा धेरै सुनेका थियौँ, साथीहरूसँग सल्लाह गरेर ४ जना मिलेर आएका हौँ ।’ काठमाडौंबाट आएकी लुनिभा श्रेष्ठले मानुङकोटको सुन्दरताले मोहनी लगाउने धारणा राखिन् । ‘आउन मन भए पनि पहिला विविध कारणले आउन पाएकी थिइँन, अहिले तिहार बिदाका कारण यहाँ आउने वातावरण जुर्यो, दृश्यले लोभ्यायो,’ उनले भनिन् । दमौलीका सुदीप गफ्फारले यतिबेला मानुङकोटमा पर्यटकको अत्यधिक चहलपहल भएकाले होटल व्यवसायीसँग पहिल्यै सम्पर्क गरेर आउनुपर्ने अवस्था रहेको बताए । चिसो मौसम सुरु भएसँगै मानुङकोटमा यतिबेला दैनिक पर्यटकको चहलपहल बढेको छ । हाल दैनिक एक हजारभन्दा बढी पर्यटक मानुङकोट पुग्ने गरेका छन् । सोमबार बिहान करिब दुई हजार पर्यटकले मानुङकोटबाट दृश्यावलोकन गरेका छन् । मानुङकोटस्थित अम्ब्रेला रेष्टुराँका सञ्चालक शैलेस सुनामले यतिबेला मानुङकोटमा पर्यटकको सिजन रहेको जानकारी दिँदै दसैँ तिहारसँगै पर्यटकको चहलपहल बाक्लिएको बताए । चिसो मौसममा सूर्योदय, कुहिरो, सूर्यास्तले यहाँ आउने पर्यटक लोभिने गरेको उनको भनाइ छ । ‘अहिलेका बेला भनेको पर्यटकको चाप हुने समय हो, पहिल्यै आफ्नो बस्ने स्थान सुरक्षित गरेर आउँदा सहज हुन्छ । हामीले प्रतिव्यक्ति १ हजार २०० रुपैयाँमा रातको बास, खाना र बिहानको नास्ता उपलब्ध गराइरहेका छौँ,’ उनले भने । आफ्नो रेष्टुराँमा दैनिक ७० जना बास बस्ने क्षमता रहेको उनले जानकारी गराए । मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्नेक्रम बढेको छ । विगतमा होटल नरहेको यस ठाउँमा अहिले एक दर्जन सञ्चालनमा छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदल मार्ग निर्माण गरिएको छ । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेद व्यासका पिता परासर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको ४ हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।
जेजनी आन्दोलनबाट वीरन्द्रनगर नगरपालिकामा १० करोडभन्दा बढीको क्षति
काठमाडौं । गत भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा वीरेन्द्रनगर नगरपालिकाको कार्यालयसहित विभिन्न वडा कार्यालयमा आगजनी र तोडफोड हुँदा १० करोडभन्दा बढीको क्षति पुगेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाका अनुसार नगरपालिकाको कार्यालय, वडा नं १ देखि १२ नम्बर वडा कार्यालयहरूमा आगजनी, तोडफोड, लुटपाट हुँदा १० करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको क्षति भएको छ । जेनजी आन्दोलनका क्रममा नगर कार्यपालिकाको कार्यालय, वडा नं. १ देखि १२ सम्मका वडा कार्यालयहरूमा रहेका फर्निचर, कम्प्युटर, प्रिन्टर, इलेक्ट्रोनिक सामग्री, कागजातहरू र वडा कार्यालय भवनहरू समेत जलेर नष्ट भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार हाल अनुसार हाल घटना सम्बन्धी थप विवरण संकलन र पुनःस्थापना कार्य अघि बढाएको छ ।
प्रधानमन्त्री कार्कीबाट समाजसेवी अञ्जली मास्के सम्मानित
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छन् । प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा लगाइदिएर सम्मान गरेकी हुन् । उनीहरूबीच केहीबेर भलाकुसारी पनि भएको थियो । ‘तपाईँले निःस्वार्थ रूपमा लामो समयदेखि सामाजिक काम गर्दै आउनुभएको भन्ने थाहा पाएको थिएँ । एकपटक भेट्ने इच्छा थियो । आज पूरा भयो । सरकारका तर्फबाट धेरै केही गर्न नसके पनि भेटेर सम्मान प्रकट गरौँ भनेर यो कार्यक्रम गरिएको हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यहाँलाई सम्मान गर्न पाउँदा हामी आफू पनि सम्मानित भएको महसुस भएको छ । यहाँको निःस्वार्थ भावनाबाट समाजमा सत्कार्यका लागि अरूलाई पनि प्रेरणा मिलिरहेको हामीले ठानेका छौँ ।’ काठमाडौंको ताहाचल निवासी मास्के विगत २७ वर्षदेखि दिदीबहिनी नभएका र भएर पनि भाइटीकाका दिन भेट्न नभएका दाजुभाइहरूको निधार खाली नहोस् भनेर टीका लगाइदिएका कारण परिचित छिन् । उनले वीर अस्पतालमा बेवारिसे तथा विपन्न बिरामी र तिनका कुरुवाका लागि निःशुल्क खानपिनको व्यवस्था गरिदिएर पनि समाजमा योगदान गरेकी थिइन् । त्यस्तै काष्ठमण्डपमा सामूहिक व्रतबन्धको व्यवस्थापन पनि उनले गर्दै आएकी छन् । यी सबै काम उनले आफ्नै निजी खर्चमा गर्दै आएको पनि प्रधानमन्त्रीसमक्ष जानकारी गराइन् । ‘मैले कसैसँग केही अपेक्षा राखेर यी काम गर्दिनँ,’ ८२ वर्षीया मास्केले भनिन्, ‘जे सक्छु, आफ्नै खर्चमा गर्छु। अहिले छोरा कमाउने भएपछि सोचेको काम गर्न थप सजिलो भएको छ ।’ मास्केले सरकारबाट पनि कुनै अपेक्षा नराखेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘मलाई केही चाहिएको छैन। हामीले आ–आफ्नो ठाउँबाट सकारात्मक काम गर्दै जानुपर्छ । एकले अर्कालाई सघाउनुपर्छ। सबैले अरूको सेवा गरून्। सेवाको भावना राखेर काम गरून् । सरकारसँग हामीले अपेक्षा राख्ने होइन, सरकारलाई हामीले सघाउनुपर्छ। अनि सरकारबाट देशको कल्याण हुन सक्छ।’ प्रधानमन्त्री कार्की देशकै पहिलो महिला प्रधानमन्त्री बन्नुभएको सुनेकै दिनदेखि निकै खुसी र भरोसा जागेको पनि मास्केले बताइन् । ‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नुभयो, त्यहाँ साहसिक काम गर्नुभयो,’ मास्केले भनिन्, ‘यस्तो मान्छे देशको प्रधानमन्त्री हुँदा राम्रो हुन्थ्यो भन्ने लागेको थियो। आज त्यो दिन देख्न पाइयो । एकदम खुसी र भरोसा लागेको छ। पहिलाजस्तै नडराइकन काम गर्नुहोला ।’ अफ्ठ्यारो परिस्थितिमा देश सम्हाल्न आएको भन्दै प्रधानमन्त्री कार्कीप्रति मास्केले कृतज्ञता पनि व्यक्त गरिन् । उनले भनिन्, ‘यहाँ प्रधानमन्त्री हुँदा हामी सबै महिला सम्मानित भएको महसुस भएको छ । भेट्ने कत्रो इच्छा थियो, आज पूरा भयो ।’ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको पनि उपस्थिति थियो।
कांग्रेसभित्र देउवाको भय, खड्का-थापा समूह शसंकित
काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनको मिति तोक्ने विषयमा पार्टी शीर्ष नेताहरूबीच अनिश्चितता बढ्दै गएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा दुवैले राजनीतिक समीकरण मिलाउन नसक्दा कांग्रेसभित्र महाधिवेशनको तयारी ठप्पप्रायः देखिएको हो । १४औं महाधिवेशनपछि देखिएको पार्टी सत्ताको सन्तुलन र गुटको समीकरण अझै कायमै रहेकाले दुवै नेताले हतारमा मिति तोक्ने जोखिम लिन चाहेका छैनन् । महामन्त्री थापा शेखर कोइरालासँगको राजनीतिक सामीप्यता कायम राख्दै पार्टीभित्र आफुलाई नेता बनाएर महाधिवेशनमा जान सक्ने अवस्था सुनिश्चित नभएसम्म मिति तोक्ने पक्षमा छैनन् । पार्टीभित्र शेखर समूहको समर्थनबिना थापाको नेतृत्वमा महाधिवेशनमा जान सम्भव नहुने ठानेका कारण उनले समय तान्ने रणनीति अख्तियार गरेको नेताहरू बताउँछन् । कार्यवाहक सभापति खड्काको अवस्थासमेत सहज छैन । सभापति शेरबहादुर देउवा निकट रहेका नेताहरूलाई विश्वस्त बनाउन नसकेसम्म महाधिवेशनमा जान खड्काका लागि पनि सहज नहुने देउवा निकट एक नेताले बताए । देउवाप्रति विश्वास राख्ने नेताहरूले खड्काको भूमिकाप्रति शंका व्यक्त गर्दै आएका छन् । कार्यवाहक सभापति खड्काप्रति गोपालमान श्रेष्ठ, कृष्ण सिटौला, प्रकाशमान सिंह, बिमलेन्द्र निधी र विजय कुमार गच्छेदारजस्ता पाका नेताहरु आश्वस्त नरहेको उनीहरुको अभिव्यक्तिबाट देखिन्छ । यस्तोमा मिति तोक्ने जिम्मेवारी सम्हाल्दा देउवा समूह असन्तुष्ट हुन सक्ने डर खड्कालाई लागेको स्रोत बताउँछ । पार्टीभित्र अहिले एउटा मनोवैज्ञानिक डर पनि व्याप्त छ । यदि कार्यवाहक सभापतिले मिति तोक्न वा महाधिवेशनको तयारीमा ठोस कदम चाल्न सकेनन् भने राजनीतिका चतुर खेलाडी देउवा पुनः सक्रिय हुँदै पदमा फर्किने सम्भावनाको डर पनि एउटा वृतमा छ । यही भयले गर्दा खड्का र महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा देउवाको पुनरागमन रोक्न सतर्क रहँदै आफ्नो गुटको सन्तुलन मिलाउने प्रयत्नमा केन्द्रित छन् । देउवा समूहले आगामी महाधिवेशनमा सभापतिका उम्मेदवारका रूपमा पूर्णबहादुर खड्कालाई समर्थन गर्ने सम्भावना अहिले शून्य बराबर देखिएको विश्लेषकहरूको मूल्याङ्कन छ । यही कारणले खड्का अहिले म्याद थप्दै गएर भए पनि महाधिवेशनलाई पछाडि धकेल्ने योजनामा रहेको आशंका पार्टीभित्र छ । उनले देउवा समूहसँग सिधा टकराव गर्नुभन्दा समय तान्दै परिस्थिति आफ्नो पक्षमा पार्ने रणनीति अपनाइरहेको बुझिन्छ । देउवा समूह, खड्का र थापा पक्षबीचको शक्ति–सन्तुलनले पार्टीको आगामी महाधिवेशन कहिले र कसरी हुने भन्ने विषय नै अनिश्चित बनेको छ । एकातिर देउवा समूहले पुरानै संरचनालाई कायम राख्ने प्रयास गरिरहेको छ भने अर्कातिर नयाँ पुस्ता नेतृत्वमा आउनु पर्ने आवाज पनि बलियो बन्दै गएको छ । हाल पार्टीभित्र महाधिवेशनको मिति तोक्न दबाव बढिरहेको भए पनि शीर्ष तहमा सहमति अभावले ठोस निर्णय आउन सकेको छैन । कांग्रेसका स्थायी समिति र केन्द्रीय कार्यसमितिका बैठकहरूमा पनि यो विषयमा गम्भीर छलफल भएता पनि अन्तिम निष्कर्षमा पुगेको छैन । राजनीतिक विश्लेषकहरूका अनुसार यदि यही गतिमा पार्टी अगाडि बढ्यो भने कांग्रेसभित्रको गुटगत असन्तुलन अझ बढ्ने र आगामी निर्वाचनमा यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने सम्भावना छ । त्यसैले पार्टी नेतृत्वले सहमतिको बाटो खोजी गरेर महाधिवेशनको मिति चाँडै तोक्नुपर्ने दबाव पनि बढेको कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ बताउँछन् । कार्तिक १३ गतेबाट पुनः सुरु हुने केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिकै बिषयमा छलफल हुने जानकारी गुरुङले दिए । सभापति देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल मंसिरमा सकिँदैछ । महामन्त्रीद्वय थापा र शर्मासहित इतर पक्षका नेताहरू यो नेतृत्वको कार्यकाल लम्ब्याउन नहुने पक्षमा छन् भने देउवा पक्षका नेताहरु कार्यकाल लम्ब्याउने पक्षमा देखिन्छन् । महामन्त्रीद्वयले नियमित नभए विशेष महाधिवेशन गरेरै भए पनि नेतृत्व परिवर्तन गर्नुपर्ने राय राखिरहेका छन् । उनीहरुले विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसमेत बुझाइसकेका छन् । देउवाले अब आफू नेतृत्वबाट विदा हुने संकेत अनौपचारिक रुपमा दिए पनि थापा पक्षले भने त्यसलाई थप संशयका रुपमा बुझेको छ ।
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा
जुम्ला । जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । पछिल्लो समयमा बीमाको महत्वबारे जानकारी प्राप्त भएपछि यहाँका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन् । आठ स्थानीय तह रहेको जुम्लामा बीमा लागू भएदेखि हालसम्म एक लाख ४७३ जना स्वास्थ्य बीमामा आबद्ध भएको जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिए । ज्येष्ठ नागरिक तीन हजार ७२६, अति अशक्त अपाङ्गगता ८७ र महिला स्वास्थ्य स्वंयसेविका २८८ जनाको परिवार स्वास्थ्य बीमामा आबद्ध भएको कार्यालय प्रमुख भण्डारीले बताए । उनले भने, 'जिल्लाका १३ हजार बढी घरपरिवार बीमामा आबद्ध छन्, विसं २०७४ देखि जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको हो ।' स्वास्थ्य बीमाका बारेमा पहिला यहाँका स्थानीयलाई पूर्ण रुपमा जानकारी नहुँदा यसको महत्वबारे बुझेका थिएनन् । अहिले बीमा सहजकर्ता घरघरमा गएर बीमाको कामबारे जानकारी दिएपछि यहाँ स्वास्थ्य बीमामा आबद्ध हुने स्थानीयको सङ्ख्या बढेको कार्यालय प्रमुख भण्डारीको भनाइ छ । सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, ज्येष्ठ नागरिक र अतिगरिब घरपरिवारलाई निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ । अन्यको हकमा शुल्क लिएर एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने गरिएको कार्यालयले जनाएको छ । बीमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालयले सह भुक्तानीको व्यवस्थासमेत गरेको छ । बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमा नै पठाएर नागरिकलाई बीमामा सहभागी गराउने अभियानमा रहेको स्वास्थ्य बीमा बोर्ड कार्यालयले जनाएको छ ।
यी हुन् बढी वैदेशिक व्यापार गर्ने भन्सार कार्यालय
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउन-असोज) महिनासम्ममा देशभरका २८ भन्सार कार्यालयबाट ४ खर्ब ६८ अर्ब ८ करोड ८ लाख रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । भन्सार विभागका अनुसार असोजसम्ममा सबैभन्दा धेरै वीरगञ्ज भन्सारबाट २ खर्ब १८ अर्ब ८१ करोड ४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । त्यसैगरी धेरै वस्तु तथा सेवा त्रिभुवन विमानस्थलबाट भित्रिएको छ । असोजसम्ममा उक्त कार्यालयबाट ५३ अर्ब २० करोड ९३ लाख रुपैयाँ आयात भएको छ । तीन महिनामा चोभार भन्सारबाट १ अर्ब ६९ करोड ९७ लाख रुपैयाँको वस्तु तथा सामान भित्रिएको छ । विभागको तथ्यांक अनुसार चोभार भन्सार कार्यालयबाट १ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ, भैरहवा भन्सारबाट ७१ अर्ब ६० करोड रुपैयाँ, विराटनगर भन्सारबाट ५८ अर्ब ७६ करोड रुपैयाँ, मेची भन्सारबाट १२ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ, तातोपानीबाट ९ अर्ब ४४ करोड रुपैयाँ, कृष्णनगर भन्सार कार्यालयबाट ६ अर्ब ९ करोड ४६ लाख रुपैयाँ, कैलाली भन्सार कार्यालयबाट ५ अर्ब ५५ करोड ७७ लाख रुपैयाँ, मुस्ताङ भन्सार कार्यालयबाट ५ अर्ब २७ करोड ९० लाख रुपैयाँ वस्तु तथा सामान भित्रिएको छ । जलेश्वर भन्सार कार्यालयबाट १ अर्ब ९० करोड ६६ लाख रुपैयाँ, सर्लाही भन्सारबाट ६८ करोड ४६ लाख रुपैयाँ, सुनसरी भन्सार कार्यालयबाट ५३ करोड ५१ लाख रुपैयाँ, कञ्चनपुर भन्सारबाट ५० करोड ७७ लाख रुपैयाँ, रसुवा भन्सारबाट ३८ करोड ८१ लाख रुपैयाँ, गौर भन्सार कार्यालयबाट ३७ करोड २ लाख रुपैयाँ, सुठौली भन्सार कार्यालयबाट २७ करोड ७६ लाख रुपैयाँ, जनकपुर भन्सारबाट २७ करोड ३० लाख रुपैयाँ, महेशपुर भन्सार कार्यालयबाट २० करोड २२ लाख रुपैयाँ आयात भएको छ । विभागका अनुसार नेपालगञ्ज भन्सार कार्यालयबाट १७ करोड ६८ लाख ३० हजार रुपैयाँ, सत्तीबाट १७ करोड १७ लाख रुपैयाँ, भद्रपुर ११ करोड ७९ लाख रुपैयाँ, सिराहाबाट १० करोड ५२ लाख रुपैयाँ, राजविराजबाट ६ करोड ९० लाख रुपैयाँ, ड्राइपोर्ट भन्सारबाट ४ करोड १० लाख रुपैयाँ, ठाँडी भन्सार कार्यालयबाट १७ लाख ३१ हजार रुपैयाँ, पशुपतिनगर भन्सार कार्यालयबाट १ लाख २७ हजार रुपैयाँ र त्रिवेणी भन्सारबाट ७४ हजार रुपौँ बराबरको वस्तु तथा सामान भित्रिएको छ । ७२ अर्ब ७८ करोडको निर्यात भन्सार विभागका अनुसार तीन महिनामा १६ भन्सार कार्यालयबाट ७२ अर्ब ७८ करोड २८ लाख रुपयाँ बराबरको वस्तु बाहिरिएको छ । जसमध्ये सबैभन्दा धेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । विरगञ्जबाट २६ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ निर्यात भएको छ । त्यस्तै विराटनगर भन्सारबाट ६१ अर्ब ६६ करोड २२ लाख रुपैयाँ, भैरहवा भन्सारबाट ७ अर्ब ४४ करोड रुपैयाँ, जलेश्वरबाट १ अर्ब ३८ करोड १५ लाख रुपैयाँ र मेचीबाट ४ अर्ब ८० करोड २५ लाख रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ ।
लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानविन गरि कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसंग आग्रह गरेको छ । महासंघले ती घटनामा संलग्नहरुको जाहेरी नै नलिएको सदस्यहरुबाट गुनासो आइरहेको हुँदा यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघले यी घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलाप मै नकारात्मक असर पुर्याएको जनाएको छ । 'घटनाका दोषीहरूमाथि जाहेरी दर्ता नलिने र कारवाहीमा उदासीनता देखिएको सदस्य व्यवसायीहरुबाट जानकारी प्राप्त भैरहेको र यस्तो अवस्था कायम रहे यसले दण्डहीनता बढन गइ लगानीको वातावरणलाई गम्भीर चुनौती दिने देखिन्छ । यसले रोजगारी सिर्जना, राजस्व संकलन, लगानी प्रवद्र्धन र समग्र अर्थतन्त्रमा नै दिर्घकालीन असर पार्ने छ,' महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै महासंघले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिको सहभागिताका लागि पनि आग्रह गरेको छ । यसबारे औपचारिक आग्रह गर्दै महासंघले गृहमन्त्रालयमा पत्राचार समेत गरिसकेको छ । सबै तहमा सरकार निजी क्षेत्र समन्वय र मुख्य गरि जिल्ला स्तरिय सुरक्षा योजना, जोखिम मुल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यवसायिक समुदाय प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न महासंघले समितिमा आफ्नो र सदस्य संघहरुको सहभागिताका लागि आग्रह गरेको हो । आइतबार महासंघका पदाधिकारी, स्थायी समिति तथा समिति/फोरमका सभापतिहरू सम्मिलित छलफलमा महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले शान्ति सुरक्षा नभइ स्थायित्व नहुने, स्थायित्व नभइ उद्यम व्यवसाय संचालन हुन नसक्ने र उद्यम व्यवसाय संचालन नहुँदा अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न हुने हुँदा व्यवसायीको शान्ति सुरक्षा अपरिहार्य सर्त भएको बताए । उनले दण्डहीनता अन्त्य गरि भविष्यमा पनि उद्यम व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता गरिनुपर्ने बताए । उनले समाजमा थप अन्यौल र अनिश्चितताको वातावरण बन्न नदिन र दण्डहिनताको अन्तको लागि दोषीमाथी छानबिन गरि कारबाहीको गर्नु पर्ने बताए । महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक गतिविधिलाई दिगो रूपमा अगाडि बढाउन, लगानीको वातावरण विश्वसनीय बनाउन तथा निजी क्षेत्र आत्मविश्वासपूर्वक क्रियाशील रहन सक्ने अवस्था सिर्जना गर्न निजी क्षेत्रले सरकारको सक्रियता अपेक्षा गरेको बताए । यस्तै उनले अहिलेको अवस्थामा शान्ति सुरक्षा कायम गरि स्थायित्वतर्फ लैजान र उद्योगी व्यवसायीहरूको मनोबल उठाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए । छलफलका क्रममा देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण हिस्सा राख्ने निजी क्षेत्रमाथिको आक्रमणले उद्यमी व्यवसायी निरुत्साहित भएको भन्दै यस अवस्थामा उद्यमी व्यवसायीले निर्वाध रुपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सम्पूर्ण सम्बन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराइएको थियो । छलफलमा महासंघमा उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य सहित स्थायी समिति तथा समितिरफोरमका सभापतिहरू सहभागी भएका थिए ।
कांग्रेस कार्यवाहक सभापति खड्काले भने - प्रतिनिधिसभा विघटन असंवैधानिक
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाल तरुण दलको ७३औँ स्थापना दिवस समारोहमा उनले आफ्नो विचार राख्दै असंवैधानिक कदमको कडा आलोचना गरेका हुन् । खड्काका अनुसार जनआन्दोलनको माध्यमबाट गठन भएको अन्तरिम सरकारले देशको लोकतान्त्रिक प्रक्रियामा चोट पुर्याएको छ । उनले भने, 'हाम्रो संविधान र लोकतान्त्रिक मान्यताहरूको मर्मलाई बेवास्ता गर्दै प्रतिनिधिसभा विघटन गर्नुले जनताको विश्वासमा ठूलो धक्का पुगेको छ ।' सभापतिले पार्टीको भातृ संगठन नेपाल तरुण दलका सदस्यहरूलाई लोकतन्त्रको रक्षामा सक्रिय भूमिका खेल्न र सचेत नागरिकका रूपमा अघि बढ्न प्रेरित गरेका छन् । उनले वर्तमान राजनीतिक परिस्थितिमा संवाद र सहकार्यको महत्त्वमा पनि जोड दिएका छन् । कार्यवाहक सभापति खड्काले युवाहरूलाई असंवैधानिक कदमहरूलाई नसहन र संविधानको सर्वोच्चता कायम राख्ने लडाइँमा अनवरत लाग्न निर्देशन दिएका छन् ।