नेशनल लाइफ इन्स्योरेन्सको सफलताको सुरुवात कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूका लागि ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८२ भाद्र महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य पुरा गर्न कार्यक्रमको आयोजना गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभागीय प्रमुखहरू, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरूसहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ३०० जना वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । सीईओ खत्रीले अभिकर्ताहरूलाई सम्वोधन गर्दै कम्पनीले आर्थिक बर्ष २०८१।८२ मा उल्लेखनीय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरूको मुख्य भूमिका रहेकोमा दुईमत नरहेका बताए । उनले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्त्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँनयाँ योजनाहरू प्रस्तुत गरेका थिए । यसैगरी, कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्बन्धमा तालिम प्रदान गरेका थिए । कार्यक्रममा सहभागी अभिकर्ताहरूले महानायक राजेश हमालसँग साक्षात्कार गर्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट वृत्ति विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
भक्तपुरमा पनि ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर शुभारम्भ
काठमाडौं । टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ का ग्राहकहरूका लागि भक्तपुरमा नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सिप्रदीले भक्तपुरको सल्लाघारीमा यो नयाँ सर्भिस सेन्टर सुरु गरेको हो । अब बालकुमारी र गोंगबुमा रहेका सर्भिस सेन्टरसँगै एक्सप्रेस–टीका सबै ग्राहकहरूले भक्तपुरमा पनि सेवा लिन सक्नेछन् । यस सर्भिस सेन्टरमा एक्सप्रेस–टीका लागि अत्याधुनिक उपकरणसहितको सर्भिस सुविधा उपलब्ध गराइएको छ । साथै फास्ट चार्जिङ स्टेशनको समेत व्यवस्था गरिएको छ । सिप्रदी ट्रेडिङका अनुसार हाल बालकुमारी, गोंगबु र भक्तपुरमा ‘एक्सप्रेस–टी’ का लागि डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा छन् । त्यस्तै, बालकुमारी, एकान्तकुना, टिकाथली, बनस्थली, सानेपा, गुह्येश्वरी, भक्तपुर, गोंगबु, कपन, खाडीचौर र दुधौली क्षेत्रमा फास्ट चार्जिङ स्टेशनहरू पनि सञ्चालनमा छन् । कम्पनीले ग्राहकलाई नजिकबाट गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले देशभर सेवा सञ्जाल विस्तार गर्ने योजनाअन्तर्गत भक्तपुर सर्भिस सेन्टर थप गरिएको जनाएको छ । ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी आधुनिक प्रविधि, आकर्षक डिजाइन र सुरक्षित संरचनाका कारण बजारमा अत्यधिक लोकप्रिय बनेको छ । प्रशस्त आन्तरिक ठाउँ, ठूलो बुट स्पेस, बलियो निर्माण र कम सञ्चालन लागतका कारण यात्रु तथा सञ्चालक दुवैबीच यसको माग लगातार बढ्दो छ । यस ट्याक्सीमा एक वर्षको निःशुल्क बीमा, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ र ब्याट्री तथा मोटरमा १ लाख ६० हजार किलोमिटरसम्मको वारन्टीको सुविधा प्रदान गरिएको छ ।
ट्रम्पले परमाणु परीक्षण पुनः सुरु गर्न आदेश दिएपछि रूस ‘रेड अलर्ट’ मा
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० वर्षभन्दा लामो विरामपछि अमेरिकालाई पुनः परमाणु परीक्षण सुरु गर्न आग्रह गरेपछि रूस सतर्क बनेको छ । क्रेमलिनले बिहीबार चेतावनी दिएको छ कि यदि शीतयुद्धकालीन परमाणु परीक्षण रोकको सम्झौता तोडियो भने ‘उपयुक्त रूपमा प्रतिक्रिया’ दिनेछ । चीनका राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय वार्ताको अघिल्लो दिन ट्रम्पले एसियाबाट ‘युद्ध विभाग’ (पूर्व पेन्टागन) लाई परमाणु परीक्षण पुनः सुरु गर्न निर्देशन दिएको घोषणा गरेका थिए । ट्रम्पले आफ्नो ट्रुथ सोसलमा लेखेका छन्, ‘संयुक्त राज्यसँग अरू कुनै पनि देशभन्दा बढी परमाणु हतियार छन् ... रूस दोस्रो र चीन टाढाको तेस्रो स्थानमा छ, तर ५ वर्षभित्र नजिक आउनेछ । अन्य देशहरूका परीक्षण कार्यक्रमका कारण मैले युद्ध विभागलाई समान स्तरमा हाम्रो परमाणु हतियार परीक्षण सुरु गर्न निर्देशन दिएको छु । त्यो प्रक्रिया तुरुन्त सुरु हुनेछ ।’ त्यसअघि बिहीबारै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई पत्रकारहरूले ट्रम्पको उक्त घोषणाबारे प्रतिक्रिया सोधेका थिए । पेस्कोभले भनेका छन्, ‘ट्रम्पले आफ्नो बयानमा अन्य देशहरूले पनि परमाणु हतियार परीक्षण गरिरहेको आरोप लगाएका छन् । अहिलेसम्म हामीलाई कसैले केही परीक्षण गरिरहेको जानकारी थिएन ।’ ‘यदि ‘बुरेभेस्टनिक’ परीक्षणको उल्लेख गरिएको हो भने त्यो कुनै पनि हिसाबले परमाणु परीक्षण होइन,’ उनले थपे । उनका अनुसार ‘सबै देशहरूले आफ्नो सुरक्षा प्रणाली विकास गरिरहेका छन्, तर यो परमाणु परीक्षण होइन ।’ पेस्कोभले भने, ‘अमेरिकालाई आफ्ना स्वतन्त्र निर्णय गर्ने अधिकार छ ।’ तर उनले राष्ट्रपति भ्लादिमिर पुटिनको पूर्व भनाइ दोहोर्याए — ‘यदि कसैले परीक्षण रोक सम्झौता त्याग्छ भने रूस पनि त्यसअनुसार प्रतिक्रिया दिनेछ ।’ तर उनले त्यस प्रतिक्रियाको स्वरूप खुलाएनन् । नयाँ शस्त्र दौड सुरु ? पेस्कोभलाई पश्चिमासँग नयाँ शस्त्र दौड सुरु हुने हो कि भनेर सोध्दा उनले भने, ‘होइन ।’ यद्यपि दशकौंदेखि परमाणु हतियार विकास, परीक्षण र आधुनिकीकरण रोक्ने प्रयासहरूका बाबजुद विश्व शक्तिहरूबीच तनाव बढ्दै आएको छ । १९६३ मा अमेरिका, बेलायत र रूसले हस्ताक्षर गरेको पार्शियल टेस्ट ब्यान सन्धिले भूमिगत बाहेक सबै प्रकारका परमाणु परीक्षणहरूमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि बनेको कम्प्रिहेन्सिभ न्यूक्लियर टेस्ट–ब्यान सन्धिमा हालसम्म १७८ देशले अनुमोदन गरेका छन् । अमेरिकाले १९९२ मा आधिकारिक रूपमा परीक्षण बन्द गरेको थियो र चीन तथा रूसले पनि त्यसयता कुनै परीक्षण गरेको जनाइएको छैन । तर २०२३ मा रूसले उक्त सन्धिबाट आफ्नो अनुमोदन फिर्ता लियो र अमेरिकाको ‘वैश्विक सुरक्षाप्रति नकारात्मक दृष्टिकोण’ लाई कारण बतायो । तथापि रूसले आफूले परीक्षण पुनः सुरु गर्ने वा नगर्ने बारे स्पष्ट बताएन । परमाणु प्रतिस्पर्धा र नयाँ जोखिम विश्व शक्तिहरूबीचको तनाव र भारत, पाकिस्तानजस्ता अप्रसारित देशहरू (ती देशहरू जसले कुनै सन्धि, सम्झौता, वा अन्तर्राष्ट्रिय सन्देश/सूचना प्रसारणमा भाग लिएका छैनन् वा त्यसको जानकारी बाहिर पठाएका छैनन्) ले पनि परमाणु हतियार विकास गरिरहेका कारण आधुनिक परमाणु प्रणालीहरूको जोखिम अझै बढ्दो छ । ट्रम्पको घोषणा रूसले गत हप्तामात्र गरेको ‘बुरेभेस्टनिक’ लामो दूरीको क्रूज मिसाइल परीक्षणपछि आएको हो — जसलाई परमाणु वा परम्परागत दुवै प्रकारका वारहेड बोक्न सक्ने भनिएको छ । रूसले दाबी गरेको छ कि उक्त मिसाइल ‘अजेय’ छ, ‘असीमित दूरी’ सम्म पुग्न सक्छ र हवाई तथा मिसाइल प्रतिरक्षा प्रणालीलाई छल्न सक्षम छ । ट्रम्पले त्यसबारे असन्तोष जनाउँदै भने, ‘रूसले यूक्रेनमा युद्ध अन्त्य गर्ने दिशामा ध्यान दिनु पर्छ ।’ ट्रम्प–सी वार्ता र मस्कोको चासो सोही दिन मस्कोले सावधानीपूर्वक हेरेको देखिन्थ्यो किनभने उसका दीर्घकालीन सहयोगी चीनका राष्ट्रपति सी जिनपिङ र ट्रम्पबीच दक्षिण कोरियामा मैत्रीपूर्ण वार्ता भएको थियो । रूसले यूक्रेनसँगको युद्धविराम प्रस्ताव नमान्दा असन्तुष्ट हुँदै हालसालै ट्रम्पले पुटिनसँगको वार्ता रद्द गरेका थिए । तर उनले सी जिनपिङसँगको वार्तालाई ‘अद्भूत’ र ‘धेरै विषयमा सहमति भएको’ भन्दै प्रशंसा गरे । ट्रम्पले चीनसँग दुर्लभ धातु (रेयर अथ्र्स) आपूर्तिमा १ वर्षको सम्झौता गरेको र फेन्टानिल सम्बन्धी कर आधा घटाएको बताए — जसले गर्दा चीनबाट आयात हुने वस्तुहरूमा कुल शुल्क ४७ प्रतिशतमा झरेको छ । चीनले पनि ‘अमेरिकी ऊर्जाको खरिद प्रक्रिया सुरु गर्ने’ वाचा गरेको ट्रम्पको भनाइ थियो । उनले भने, ‘अलास्काबाट तेल र ग्याँस खरिदसम्बन्धी ठूलो सम्झौता हुनसक्छ ।’ ट्रम्प–सी वार्ताको यो नतिजा मस्कोका लागि सुखद खबर होइन किनभने रूसले चीनलाई आफ्नो प्रमुख भूराजनीतिक र व्यापारिक साझेदारको रूपमा राखेको छ — विशेषतः २०२२ को यूक्रेन आक्रमणपछि पश्चिमबाट अलग्गिएको स्थितिमा । यूक्रेन युद्धबारे ट्रम्पले भने, ‘यो विषय उठ्यो’ र चीनसँग मिलेर ‘मानवहत्या रोक्ने’ प्रयास गर्ने बताएका छन् । तर उनले थकान जनाउँदै भने, ‘दुवै पक्ष लडिरहेका छन् र कहिलेकाहीँ त तिनीहरूलाई लड्नै दिनुपर्छ जस्तो लाग्छ । पागलपन ।’ ६ वर्षपछि ट्रम्प र सीबीच भेट : शक्ति सन्तुलन र आपसी निर्भरता पुनः परिभाषित गर्ने प्रयास
सेप्टेम्बरमा भारतको औद्योगिक उत्पादन वृद्धि ४ प्रतिशतमा स्थिर
काठमाडौं । औद्योगिक उत्पादन सूचकांकद्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि वृद्धि सेप्टेम्बरमा ४ प्रतिशत रहेको छ । जुन अगस्टमा सोही रहेको थियो । सेप्टेम्बरको लागि खानी, उत्पादन र बिजुली तीन क्षेत्रहरूको वृद्धि दर क्रमशः –०.४ प्रतिशत, ४.८ प्रतिशत र ३.१ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कले सेप्टेम्बरको लागि शीर्ष तीन सकारात्मक योगदानकर्ताहरू आधारभूत धातुहरूको निर्माण (१२.३ प्रतिशत), विद्युतीय उपकरणको निर्माण (२८.७ प्रतिशत) र मोटर सवारीसाधन, ट्रेलर र अर्ध–ट्रेलरहरूको निर्माण (१४.६ प्रतिशत) रहेको देखाएको छ ।
पुल निर्माणपछि १० किलोमिटर छोटियो यात्रा, ४ करोडमा बन्यो पुल
काठमाडौं । झापाको मेचीनगर नगरपालिका-१५ भएर बग्ने निन्दा खोलामा ४ करोड २० लाख १९ हजार रुपैयाँ लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ । मेचीनगर-१५ मा निन्दा नदीमाथि चौधरी चोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त मल्टिस्पान पुल सञ्चालनमा आएपछि नदीको पश्चिम किनारका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय र स्वास्थ्य संस्था आउजाउ गर्न सहज भएको मेचीनगर-१५ का वडाध्यक्ष गुणराज भट्टराईले बताए । पुल नहुँदा सामान्य स्वास्थ्य सेवा लिन १० किलोमिटर घुम्नुपर्थ्यो भने अहिले डेढ किलोमिटरको यात्रा गरेपछि अस्पतालसम्म सहजै पुग्न सकिन्छ । पुल बनेपछि कृषि उपज हाटबजार पुर्याउन तथा त्यहाँबाट दैनिक उपभोगका सामग्री ल्याउन सजिलो भएको स्थानीय भटभटिया राजवंशीले बताए । ‘पहिले ज्यानलाई नै जोखिममा पारेर नदी तरिन्थ्यो, अब त्यसबाट मुक्त भएका छौँ,’ विगतको पीडा राजवंशीले स्मरण गर्दै उनले भने ।
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
काठमाडौं । नारायणगढ-मुग्लिन सडकमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो । बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन् । पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न आफूहरू लागिपरेको उनले बताए ।
मितेरी डेभलपमेन्ट बैंकले खोल्यो मजर्रमा जाने ढोका, सेयरधनीलाई १२.१७ करोड रुपैयाँ नगद
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक मर्जरमा जाने भएको छ । बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने निर्णय गरेको हो । मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न बैंकले मंसिर ६ गते बिहान ११ बजे धरान, सुनसरीमा २०औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गरी कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै, मर्जर प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको करसहित १० प्रतिशतका दरले १२ करोड १७ लाख १० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको १ लाख रुपैयाँभन्दा बढिको खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सभाले गत आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक २३ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
काठमाडौंमा अतिक्रमित जग्गा हटाउन ७ दिनको अल्टिमेटम
काठमाडौं । काठमाडौंमा अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन ७ दिनको अल्टिमेटम दिइएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले ७ दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका हुन् । महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिने निर्णय गरेको थियो । काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिइएको छ । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवन जन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए/गरेका कार्यहरू ७ दिनभित्र हटाइ सहयोग गर्नुहोला,’ महानगर र प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।