यूनाइटेड मोदीको एक करोड १५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको एक करोड १५ लाख कित्ता साधारण सेयर सूचिकृत भएको छ । आइतबार मात्रै कम्पनीको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । हाल कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंको कमलादीमा रहेको छ ।
सेयर आपूर्ति बढ्दा मूल्य दोहोरो अंकले घट्यो, एक सातामा नै ३ अर्ब रुपैयाँको सेयर थपियो
काठमाडौं । आइतबार नेप्से परिसूचक १६ दशमलब ६३ अंकले घटेर १६२७ दशमलब २४ अंकमा झरेको छ । सो दिन ६८ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ । जुन रकम अघिल्लो कारोबार(बिहीबार) को तुलनामा ७ करोड रुपैयाँले बढी हो । बजारमा सेयर आपूर्ति वृद्धि हुनु तर निक्षेप तथा कर्जाको व्याजदर नघट्नुले बजारमा गिरावट आएको जानकारहरु बताउँछन् । सरकार परिवर्तन र तराईका क्षेत्रीय दलहरुको बढ्दो असन्तुष्टि पनि बजार घट्नुको कारण मानिएको छ । गत साता मात्र नेपाल स्टक एक्सचेञ्जमा ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्यको सेयर सूचिकृत भएको छ । १४ वटा कम्पनीको हकप्रद सेयर, बोनस सेयर र साधारण सेयर गरी उक्त मात्रामा सेयर सूचिकृत भएको हो । सेयर आपूर्तिको क्रम बढ्दो रहेकोले मूल्यमा प्रेसर परेको बताईन्छ । बजार दोहोरो अंकले घट्दा पनि सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सो दिन एनबी इन्स्योरेन्स कम्पनी र बोटलर्स नेपाल(तराई) लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आइतबार यी दुई कम्पनीको सेयर मूल्य क्रमशः १२१० र ६६४४ रुपैयाँ रहेको छ । त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट, हिमालयन डिस्टीलरी र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.९७, ९.९७ र ९.९६ प्रतिशतले बढेको छ । सो दिन सबैभन्दा बढी जनता बैंक नेपालको सेयर मूल्य ६.२७ प्रतिशतले घटेको छ । बजारमा सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । एकैदिन कम्पनीको ४ करोड १५ लाख रुपैयाँ माथिको सेयर किनबेच भएको छ । सो दिन इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १५२० रुपैयाँ रहेको छ । आइतबार कारोबार भएका दुई समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ६ समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १०४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, हाइड्रोपावर, बैंकिङ र विकास बैंकको परिसूचक क्रमशः ४९, २२, १८ र १५ अंकले ओरालो लागेका छन् । उत्पादनमूलक र अन्य समूहको परिसूचक क्रमशः ५४ र ०.८७ अंकले उकालो लागेका छन् ।
प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालद्धारा पदभार ग्रहण, जवाफदेही पत्रकारिताको विकासमा जोड
काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानीप्रसाद बराललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैंठकले जेठ ४ गने बराललाई अध्यक्षमा नियुक्त गरेको हो । बरालले आज पदभार समालेका छन् । पदबहाली पछि बरालले स्वस्थ, मर्यादित र जवाफदेही पत्रकारिताको बिकासका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आजै काउन्सिलले नयाँ अध्यक्षको स्वागत गरेको छ । स्वागत कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिस्टले मिडियाको संख्यात्मक वृद्धि भएको र गुणस्तरतालाई ध्यान दिई बदलिदो परिस्थितिमा काउन्सिलले स्वतन्त्र र स्वायत्त निकायकोरुपमा स्थापित भई आफ्नो भूमिकालाई फराकिलो पार्दै जानुपर्ने बताए । प्रेस काउन्सिलका बोर्ड मेम्बर अध्यक्ष किशोर श्रेष्ठले काउन्सिल अहिले नयाँ प्रविधि युक्त भएको बताए । काउन्सिलको विश्वसनियता र प्रभाव बढ्दै गएकोले उच्च ओहोदाका महानुभावहरु समेत उजुरीका गर्न काउन्सिल आउन थालेको बताए । प्रेस काउन्सिल कर्मचारी संघका अध्यक्ष मानबहादुर लामिछानेले जनशक्ति व्यवस्थापन गर्दै काउन्सिलको भूमिकालाई प्रभावकारी बनाउन जोड दिए ।
एसबिआई बैंकको ४० प्रतिशत हकप्रद सेयर खुला, कहाँ कहाँबाट आवेदन दिने ?
काठमाडौं । नेपाल एसबिआई बैंकले सर्वसाधारणको लागि ४० प्रतिशत(अर्थात १० बराबर ४ को अनुपातमा) हकप्रद सेयरको निष्काशन खुला गरेको छ । कम्पनीले जेठ ७ गते (आइतबार)देखि एक सय अंकित दरको एक करोड ९९ लाख १९ हजार ४२३ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै, काठमाडौंको हात्तिसारमा रहेको नेपाल एसबिआई मर्चेन्ट बैंकिङ् लिमिटेड र नागपोखरीमा रहेको एनएमबि क्यापिटल लिमिटेडबाट आवेदन भर्न सक्ने कम्पनीले जनाएको छ । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी असार ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १०३५ रुपैयाँमा कारोबार भएको थियो ।
बाँसको पेसा आम्दानीको भरपर्दो स्रोत
इटहरी । दक्षिणी भोजपुरको होमताङ, घोरेटारलगायतका किराँत समुदायले पछिल्लो समय डालो, नाङ्लो, थुन्से र डोको लगायतका सामग्री बुनेर प्रशस्त आम्दानी गरिरहेका छन् । अहिले तराईका अन्य समुदायमा पनि यो पोसा रोजीरोटीको मुख्य पेसा बनिरहेको छ । धेरै पहिले घरेलु समस्या टार्ने काममामात्र प्रयोग हुँदै आएको डोको, नाङ्लो , थुन्से, ढाकर, चाल्नो मान्द्रो भकारी चित्रालगायतका झुपडिदेखि महलसम्म आवश्यक बन्दै आएको छ । घरपरिवारका सदस्य मिलेर थोरै लगानीमा घरमा नै बसेर बसिबियाँलो मै बनाइने यस्ता सामानले औद्योगिक रुप लिएपछि व्यवसाय पनि फस्टाउँदो छ । किराँती अर्थात वान्तवा चाम्लिङ राईले उत्साहित बनेर गाउँघरमा नै ठूलो परिमाणमा बाँसका ती सामग्री उत्पादन गरी सुनसरीको बराह क्षेत्रसम्म बोकेर ल्याउने गरेकामा अहिले विदेशमा समेत यी सामान निर्यात हुन थालेको छ । धेरैले बाँसका सामग्री बनाएर प्रशस्त आन्दानी लिने गतिलो वैकल्पिक उद्योगका रुपमा यो पेसा अङ्गालेको स्थानीय व्यवसायी राजेन्द्र राईको भनाइ छ । इटहरीको हाटखोलामा थोक बिक्रेताका रुपमा नाङ्लो , डालो, मुडा र थुन्से लगायतका बाँसजन्य तयारी सामान रु १० लाखदेखि रु २० लाखसम्मको कारोबार गर्दै आएको व्यवसायी मोहन राईले बताए । वैदेशिक रोजागरमा गाउँ नै रित्तो बनाएर युवा विदेशिने क्रम तीव्र बनिरहेका बेला बाँसको यो पेसा भोजपुरमा नै सयौँको हाराहारीमा छ भने पूर्वी नेपालका तराईका जिल्लामा पनि यसको व्यवसाय विस्तार हुँदै आएको छ । रासस
स्वरोजगार लघुवित्तले ५० प्रतिशत हकप्रद निष्कासन गर्दै, जेठ १७ गते बुक क्लोज
काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले सर्वसाधारणकोलागि ५० प्रतिशत (२ः१) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी जेठ १७ गते कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड ९९ लाख रुपैयाँ रहेको छ । बोनस बाहेक हकप्रद पश्चात कम्पनीको पूँजी १० करोड ४९ लाख रुपैयाँ नाघ्ने छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता २६२० रुपैयाँमा कारोबार भइरहेको छ ।
लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता २२८४ रुपैयाँ मात्र
काठमाडौं । आइतबार लाइफ इन्स्योरेन्स कम्पनी नेपालको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २४.४ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २२८४ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २५२९ रुपैयाँ रहेकाे छ ।
पेट्रोलियम खानीको उत्खननः १२.५ प्रतिशत रोयल्टी, शून्य लगानीमा ठूलो हिस्सा दिने कम्पनीलाई ठेक्का
काठमाडौं । आगामी एक महिना भित्रै मुलुकका १० वटा पेट्रोलियम खानीहरुको ग्लोबल टेण्डर आव्हान गरिँदैछ । १२.५ प्रतिशत रोयल्टीसहित सबै भन्दा धेरै प्रतिशत आम्दानीको हिस्सा दिने आवेदकलाई पेट्रोलियम खानी उत्खननको जिम्मेवारी दिन लागिएको हो ।‘राष्ट्रिय खनिज निती पास भैसक्यो, अहिले नियमावली पनि आएको छ, त्यसमा १२.५ प्रतिशत रोयल्टीको व्यवस्था छ, सबै भन्दा धेरै प्रतिफल दिने आवेदक कम्पनीलाई ठेक्का दिन्छौं’, पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेले विकासन्युजसँग भने । उनका अनुसार पेट्रोलियम खानीहरुको उत्खननमा नेपाल सरकारलाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन् ।‘हामीले शुन्य लगानीमा अधिकतम प्रतिफल दिने कम्पनीलाई ठेक्का दिने हो, पेट्रोलियम पदार्थ फेला पर्यो भने आम्दानी बाडफाँट हुन्छ नत्र कम्पनी खाली हात फर्कन्छ तर नेपाल सरकारलाई आर्थिक भार पर्दैन’, रजौरेले भने । नेपालका बिभिन्न १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । ती खानीहरुले क्रमशः धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, बिरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ । गत बर्ष चिन सरकारको स्वामित्वमा रहेको चाईना जिओलोजिकल सर्भको प्राबिधिक टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेको थियो । उनीहरुले नेपालमा पेट्रोलियम पदार्थ रहेको प्रारम्भिक रिपोर्ट तयार पारेको अनौपचारिक जानकारी नेपाल सरकारलाई पठाएका थिए । तर औपचारिक रिपोर्ट भने अझै पठाएको छैन् । कन्भिन्स गर्ने आधार तयार पारिँदै पेट्रोलियम अन्वेषण परियोजनाले नेपालमा बिभिन्न १० ब्लकमा पेट्रोलियम पदार्थको भण्डार रहेको पुष्टि गर्ने आधार तयार पारिरहेको छ । ‘हामीले आफ्ना अध्ययनका रिपोर्ट, माटो, चट्टानको प्रकृति, चिनियाँ कम्पनीले पठाएको प्रारम्भिक अनौपचारिक रिपोर्ट लगायतका तथ्यांक अघि सारेर ग्लोबल टेण्डर मार्फत विदेशी कम्पनीलाई आकर्षित गर्नेछौं’, रजौरेले भने ।