स्वावलम्बन बैंक र बुम रेमिट बीच रेमिट्यान्स सेवा संचालन सम्झौता
काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंक लि. र बुम रेमिट्यान्स प्रा.लि बीच रेमिट्यान्स सेवा संचालन सम्झौता सम्पन्न भयो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश मान प्रधान र बुम रेमिट्यान्स प्रा.लि.का प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले एक समारोह बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पछि बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम बैंकले आफ्नो ५४ वटा शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवयेर मार्फत आन्तरिक विप्रेषन कार्य गर्न सकिने बताइएको छ ।
खैरहनी नगरपालिकामा एमाले विजयी
रत्ननगर । पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का लालमणि चौधरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र चौधरीलाई ९८४ मतले पछि पार्दै लालमणि विजयी भएका हुन् । लालमणिले १० हजार ७१७ मत प्राप्त गगरेका छन् भने राजेन्द्र चौधरीले नौ हजार ७३३ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया खरेल विजयी भएकी छिन् । थपलियाले १० हजार ४५१ मत प्राप्त गरेकी थिइन । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उम्मेदवार सुशीलादेवी उप्रेतीले नौ हजार ८८८ मत प्राप्त गरेकी छिन्। नेकपा ९माओवादी केन्द्र०का प्रमुख पदका उम्मेदवार एकराज डल्लाकोटीले तीन हजार १४७ मत प्राप्त गरे भने उपप्रमुखमा रेवती सेढाईंले दुई हजार ९२० मत प्राप्त गररिन् । खैरहनीको १३ वडा मध्ये एमालेले सातवटा वडामा अध्यक्ष जितेको छ भने नेपाली काँग्रेसले छवटा वडामा जित हासिल गरेको सहायक निर्वाचन अधिकारी एवम् सूचना अधिकारी दिवाकर पौडेलले जानकारी दिए उनका अनुसार वडा नं १, ६, ७, ८, ९, १०, ११ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नं २, ३, ४, १२ र १३ वडामा काँग्रेसले वडाध्यक्षमा जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस
अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक दङ्गालले गरे पद तथा गोपनीयताको शपथ
काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीश गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यात र महालेखा परीक्षकमा टङ्कमणि शर्मा दङ्गाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजना गरेको विशेष समारोहबीच कार्यवाहक प्रधानन्यायाधीश पराजुलीले बस्न्यात र दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । सो समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीमगर, मुख्य सचिव डा. सोमलाल सुवेदी, सचिव र नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त बस्न्यात र महालेखा परीक्षक दङ्गाललाई संसदीय सुनुवाइ समितिले आइतबार नियुक्तिका लागि सिफारिस गरेको थियो । नेपाल संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र महालेख परीक्षकमा दङ्गाललाई नियुक्त गर्ने व्यवस्था रहेको छ । रासस
सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गर्ने, जेठ १६ गते बुक क्लोज
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशनको लागि आगामी जेठ १६ गते कम्पनीको बुक क्लोज हुने भएको छ ।
संसद्को तेस्रो अधिवेशन शुरु, अर्को बैठक मङ्गलबार बिहान ११ः०० बजे बस्ने
काठमाडौं। व्यवस्थापिका-संसद्को तेस्रो अधिवेशन सोमबारदेखि शुरु भएको छ । बैठक शुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र वाचन गरेर सुनाएका थिए । बैठकमा विभिन्न आन्दोलन तथा सङ्घर्षमा सहादत प्राप्त गरेका ज्ञात तथा अज्ञात सहिदप्रति दुई मिनेट मौनधारण गरिएको थियो । यस्तै, बैठकमा आर्थिक वर्ष २०७४/७५ को आयव्ययको अनुमानमाथि सैद्धान्तिक छलफलका लागि मङ्गलबार विचारविमर्श गर्ने गरी कार्यसूची तय भएको जानकारी गराइयो । सो छलफल आगामी आवको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा केन्द्रित हुने छ । व्यवस्थापिका-संसद्को अर्को बैठक मङ्गलबार बिहान ११ः०० बजे बस्नेछ । आगामी आवको नीति तथा कार्यक्रम यही जेठ ११ गते प्रस्तुत गर्ने सरकारको तयारी छ । राष्ट्रपति भण्डारीले उक्त दिन सरकारको नीति तथा कार्यक्रम संसदसामु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । रासस
राजदूतद्वारा विद्यालय हस्तान्तरण
रसुवा । भूकम्पपश्चात् नर्वे सरकारको आर्थिक सहयोगमा सवलीकरण गरिएको ठूलोस्याफ्रु गाउँको विद्यालय हस्तान्तरण गरिएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएपछि रु ३६ लाख ६४ हजार ९१३ को लागतमा सवलीकरण (रेट्रोफिटिङ) गरिएको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित ठूलोस्याफ्रु नेपाल राष्ट्रिय निमावि भवन नेपालका लागि शाही नर्वेजियन राजदूत एचई केलेज टोर्मोड पिटर्सनले हालै जिल्ला शिक्षा अधिकारी सुकदेव सापकोटालाई हस्तान्तरण गरेका छन् । सो अवसरमा राजदूत पिटर्सनले ग्रामीण भेगका विद्यालय भवन निर्माणमा नर्वे सरकारले सहयोगी हात बढाउँदै आएको उल्लेख गरे । उहाँले आफू पहिला पनि ठूलोस्याफ्रु आइसकेको र यस क्षेत्रको आफूलाई सम्झना आइरहने बताए । भूकम्पबाट ठूलोस्याफ्रु विद्यालयमा क्षति हुँदा करिब ८० विद्यार्थी पठनपाठनका लागि गाउँबाट अन्यत्र जानुपरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छा लामाका अनुसार हाल त्यस विद्यालयमा ३२ बालबालिका मात्र अध्ययनरत रहेका छन् । रासस
नेपाल बङ्गलादेश बैंकको हकप्रद सेयर भर्नुभयो? म्याद अब ३ दिन मात्रै बाँकी
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन(जेठ १० गतेसम्म) मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १० बराबर ८(८० प्रतिशत) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । कम्पनीका अनुसार उक्त सेयर जेठ १० गतेसम्म बैंकिङ् समय सम्ममात्र भर्न पाइने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ । बैंकले २०७३/१२/१६ गते सम्म कायम साविक सेयरधनीहरुका लागि ८० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको जनाएको छ । कम्पनीले एक सय अंकित दरको ३ करोड २० लाख ९४ हजार ०६८ कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
एभरेष्ट बैंकले शुरु गर्यो ‘निक्षेप परिचालन योजना’, न्यूनतम मौज्दातमा ५०% छुट
काठमाडौं । वित्तीय समावेशीतालाई प्रोत्साहन गर्नका साथै बैंकको निक्षेपको आधारलाई अझ मजबुत पार्नका लागी एभरेष्ट बैंकले “निक्षेप परिचालन योजना” शुरुवात गरेको छ । जेठ १ गते देखि शुरु भएको यस योजनाको अवधि १ महिनाको रहनेछ । यस योजना अन्तर्गत बैंकले विशेष गरी बचत तथा चल्ती खातामा जोड दिएको छ र खाता खोल्न आवश्यक न्यूनतम मौज्दात रकममा ५० प्रतिशत छुट प्रदान गरेको छ । बचत तथा चल्ती खातामा विशेष जोड भएतापनि ग्राहकले मुद्दती र कल खाता पनि आर्कषक ब्याजदरमा खोल्न सक्नेछन् । बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।