विकासन्युज

सेयर बजारको दुस्मन कम्युनिष्ट पार्टी र प्रचण्डलाई पत्याउने नेपाली पुँजीपति

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा गर्दैछन् । उनले राजीनामा गर्छन भन्ने पक्कापक्की हुँदा सेयर बजार रातो भएको छ । सेयरको मूल्य घटिरहेको छ  । नेकपा (माओवादी केन्द्र) नेपालभित्रका कम्यूनिष्ट पार्टीहरु मध्ये खरो पार्टीको रुपमा चिनिन्छ । यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पनि आफूलाई खाँटी कम्यूनिष्ट पार्टीको नेता भन्न रुचाउँछन् । तिनै कम्यूनिष्ट पार्टीका नेताले प्रधानमन्त्री पदबाट राजीनामा गर्दैछन् र आफूलाई लोकतन्त्र र पुँजीबादको पर्यायवाची भन्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन् । अर्थमन्त्री पनि नेपाली काँग्रेसले नै पाउँदैछ । तर सेयर बजार किन रोइरहेको छ ? संसारभर कम्युनिष्टहरु खुल्ला बजार अर्थतन्त्रका बिरोधी मानिन्छन् । अझ उनीहरुले सेयर बजारलाई त पुँजीपतिको जुवाघर भन्दै आएका छन् । नेपालमै पनि सेयर बजार प्रति कम्युनिष्ट पार्टीका नेताहरुको दृष्टिकोण नकारात्मक छ । तत्कालिन अर्थमन्त्री डा बाबुराम भट्टराईले पनि नेपालको सेयर बजार जुवा घर जस्तै देखिएको टिप्पणी गरेका थिए । यस्तो सोच र धरातलमा रहेको सेयर बजार नेकपा माओवादी केन्द्रका अध्यक्षले पद त्याग गर्दा किन हरियो भएन ? किन रातो भयो ? वास्तवमा तर्क र तथ्यबीच गज्जबको बेमेल छ । १० वर्ष युद्ध गरेर राजनीतिक मुलधारमा आएका प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा सेयर बजारले नयाँ र सकारात्मक रेकर्ड कायम गरेको छ । उनी प्रधानमन्त्री भएकै बेलामा नेप्से परिसूचक उच्चतम विन्दुमा पुगेको छ । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा २०६५ साल भदौमा नेप्सेले इतिहासकै सर्वाधिक उच्चतम विन्दु ११७५ छोएको थियो । उनी दोस्रो पटक २०७३ साउनमा प्रधानमन्त्री चुनिए । सोही महिना सेयर बजारले अर्को इतिहास रच्यो,  नेप्सेले १८८१ अंकमा टेक्यो । २०६५ देखि २०७३ को बीचमा नेप्से परिसूचक झरेर २९२ अंकमा पनि पुगेको थियो । २०६४ सालमा सम्पन्न संविधान सभाको निर्वाचनबाट  नेकपा(माओवादी) सबैभन्दा ठूलो पार्टीका रुपमा उदायो । तत्काल सेयर बजार डरायो र घट्न थाल्यो । ठिक त्यति नै बेला प्रचण्डले पत्रकार सम्मेलन गरेर आफूहरु खुल्ला बजार अर्थतन्त्रको पक्षपाती भएको बताए र सेयर बजारलाई उचाल्न सहयोग गरे । नेपालका कम्यूनिष्ट पार्टीहरुले अझै पनि खुल्ला बजार अर्थतन्त्रलाई भित्रैदेखि स्वीकार नगरेको भन्ने आरोप लाग्दै आएको छ । तर कम्यूनिष्ट दलले सत्ता समालेकै बेलामा पुँजीपतिहरुले सेयर बजारमा पैसा खन्याएको पनि देखिन्छ । अर्को तथ्य के पनि छ भने २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा छोटो अवधिमा दुई दर्जन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएका थिए । दोस्रो पटक उनी प्रधानमन्त्री भएको बेलामा एक दर्जन बीमा कम्पनीहरुलाई लाईसेन्स दिने निर्णय गराए । यी दुई तथ्यले पनि प्रचण्ड प्रधानमन्त्री भएको बेलामा नेपाली पुँजीपतिहरुले लगानी विस्तार गर्ने निर्णय लिएको देखिन्छ ।

सौर्य ऊर्जामार्फत सिँचाइ, पानी निकाल्न १४० वाटको २४ वटा प्यानल जडान

भद्रपुर। झापामा पहिलो पटक सौर्य ऊर्जा प्रविधि प्रयोग गरी पथरियाका किसान खेतमा सिँचाइ गर्न थालेका छन् । वर्षात्को पानी तथा बोरिङमा निर्भर किसानको खेतमा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले सौर्य ऊर्जा प्रविधि प्रयोग गरेर बोरिङबाट पानी निकालेको छ । १५ लाख रुपैयाँको लागतमा डिभिजन कार्यालयले सिँचाइको व्यवस्था गरेको डिभिजन प्रमुख ईश्वरीप्रसाद तिवारीले बताए। सौर्य ऊर्जा प्रयोग गरी बोरिङबाट पानी निकाल्न १४० वाटको २४ वटा प्यानल जडान गरेको छ । एक हर्ष पावरको पम्प जडान गरी बनाएको सौर्य ऊर्जा सिँचाइको सिँचाइ विभागका उपनिर्देशक वासुदेव लोहनीले आज उद्घाटन गरेका छन् । बोरिङबाट प्रतिसेकेन्ड तीनदेखि पाँच लिटर अर्थात् एक दिनमा ५० घनमिटर पानी आउने र यसबाट लगभग २५ बिगाहा खेत सजिलै सिँचाइ गर्न सकिने तिवारीले बताए । रासस

कोबेल्कोको एसके२२० एक्सडीएलसी एक्स्क्याभेटर नेपालमा, प्रतिघण्टा १२ लिटर तेल खपत हुने

काठमाडौं । नेपालका लागि विश्वप्रसिद्ध कोबेल्को ब्राण्ड एक्स्क्याभेटरका अधिकृत आयातकर्ता पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि ले नेपालमा २१ टन क्षमताको कोबेल्को एसके २२० एक्सडी मोडेलको एक्स्क्याभेटर उपलब्ध गराएको छ । यो मशीन आफ्नो श्रेणीमा शक्तिशाली तथा उच्च उत्पादकत्वयुक्त हुनुका साथै प्रतिस्पर्धीहरुमध्ये नविनतम पुस्ताको मानिएको छ । एसके २२० एक्सडी एक्स्क्याभेटर जापानी प्रविधि अन्तर्गत भारतको श्री सहरमा उत्पादन गरिन्छ । नेपालमा एक्स्क्याभेटरको प्रयोग सडक काट्ने कार्यमा तथा चुनढुंगा खानीमा हुने गर्छ जसका लागि ब्रेकर अपरेशन प्रक्रिया आवश्यक हुन्छ । विगतमा बिक्री गरिएकोमध्य ७० प्रतिशत मशीन ब्रेकर अपरेशनमा प्रयोग भएको तथ्यलाई मनन गर्दा कोबेल्को एक्स्क्याभेटर मशीन शक्तिशाली तथा उच्च उत्पादकत्वयुक्त मानिएको पूजा कन्स्ट्रक्सन नेपाल प्रालिका सीइओ बिबेक बिजक्छेले बताए । एसके २२० एक्सडी एक्स्क्याभेटरको मूल्य ९७ लाख रुपैयाँ कायम गरिएको छ । मशीनलाई सुचारु रुपमा पार्टपूर्जा तथा खरीदपछिको सेवा २४ घन्टा भित्र उपलब्ध गराइने प्रत्याभूति कम्पनीले दिएको छ । मशीनको मूल्य ९७ लाख रुपैयाँ परेता पनि दीर्घकालीन प्रयोगमा यसले इन्धनको खपतमा मितव्ययीता गरी वार्षिक १२ लाख रुपैयाँ बचत हुने कम्पनीको दावी छ । अन्य ब्रान्डका मशीनले प्रति घन्टा १७-१८ लिटर डीजल खपत गर्ने गरेको सन्दर्भमा एसके २२० एक्सडीले प्रति घन्टा ११-१२ लिटर मात्र डीजल खपत गर्ने हुँदा यसलाई आफ्नो वर्गमा इन्धनको बचतमा सर्वश्रेष्ठ मानिएको बिजुक्छेले बताए । नेपालमा तीन वर्षमा कोबेल्कोको ३०० भन्दा बढी एक्स्क्याभेटर बिक्री भएका छन् । कोबेल्को कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डिया प्रा. लि.का एमडी तथा सीइओ यातुका गोतोका अनुसार १०औँ पुस्ताको एसके २२० एक्सडीको नेपाल आगमले ग्राहकलाई थप मूल्य प्रदान गर्ने छ । उनका अनुसार नेपाल र भारतमा ७००० कोबेल्को एस्काभेटर कार्यक्षेत्रमा परिचालित छन् । अधिकांश मेसिनहरु २० हजार घन्टाभन्दा बढी समयसम्म चलेका छन् र यस क्षेत्रका कठिनतम कार्यमा पनि निरन्तर काम गरिरहेका छन् ।

नेपालको आर्थिक विकासमा भारत साधक र बाधकः विश्व बैंक

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक विकासमा भारत साधक र बाधक दुबै बन्न सक्ने बताएको छ । विश्व बैंकले मंगलबार राजधानीमा सार्वजनिक गरेको मध्यम आय तर्फ नेपाल नामक अध्ययन प्रतिवेदनमा नेपालको आर्थिक विकासमा भारत साधक र बाधक दुबै बन्न सक्ने उल्लेख गरेको हो । विश्व बैंकले आफ्नो अध्ययन प्रतिवेदनको मुख्य सारांशमै नेपालको आर्थिक विकासमा भारतको भूमिका समेटिएको टिप्पणीलाई समावेश गरेको छ । ‘नेपाल बिशेष ढंगले भारत प्रति खुल्ला छ र यसको आर्थिक विकासका पाइला पनि सकारात्मक र नकारात्मक रुपले भारत प्रति नै निर्भर छन’, विश्व बैंकको रिपोर्टमा भनिएको छ । अर्थ विद डा. पोषराज पाण्डेले विश्व बैंकको प्रतिवेदनमा नेपालको वास्तविकता उजागर गरिएको टिप्पणी गरे । उनले नेपालको अािर्थक विकासमा भारतको ठुलो योगदान रहने र उसले नचाहाँदा नेपालको आर्थिक विकासको गतिमा सुस्तता आउन सक्ने बताए ।‘नेपाल र भारतको मुद्रा सटही दर स्थिर छ, वैदेशिक व्यापारको हिस्सा पनि ठुलो छ, आपसी सहयोग पनि उस्तै छ, नेपालको विकासमा साधक बन्न सक्छ’, डा. पाण्डेले भने । उनले नेपाल भूपरिवेष्ठित मुलुक भएको र भारत तर्फबाट अन्तराष्ट्रिय व्यापारमा प्रवेश गर्न सहज भएकाले उसको असहयोगमा नेपाललाई अप्ठेरो पर्ने बताए । उता, अर्का अर्थविद डा. चन्द्रमणि अधिकारीले पनि नेपाल भुपरिवेष्ठित मुलुक भएको र तीन तर्फ भारतसँग सिमा जोडिएकाले नेपालको आर्थिक विकासमा भारतको योगदान हुनु स्वभाविक रहेको बताए । उनले पनि जसले विकासमा सहयोग गर्न सक्छ उसले नचाहाँदा विकास रोक्न पनि सक्ने तथ्यलाई भुल्न नहुने उनको भनाई छ ।‘भारतसँग हाम्रो ठुलो परनिर्भरता छ, ठुलो वैदेशिक व्यापार पनि छ, भारतले चाहदाँ हाम्रो विकासको गति बढ्न सक्छ र उसले नचाहाँदा गति घट्न पनि सक्छ’, डा. अधिकारीले भने । भारतले नाका बन्दी गर्दा नेपालको अर्थतन्त्रमा परेका प्रभावहरुलाई हेर्दा पनि नेपालको आर्थिक विकासमा भारतको सहयोग र असहयोगको भूमिका स्पष्ट हुन्छ ।

नेपालले वैदेशिक लगानी आकर्षित गर्ने रणनीति लिएको छ – मन्त्री जोशी

काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपालले हालै जारी गरेको संविधानले पूर्वाधार विकासको लागि वैदेशिक लगानीलाई एक महत्वपूर्ण अवसरको रुपमा अंगीकार गरेको बताएका छन् । जोशीले सोमवार अमेरिकाको न्यूयोर्कमा आयोजना भएको संयुक्त राष्ट्रसंघीय मञ्च फोरम फर फाईनान्सिङ्ग फर डेपलमेन्ट फलोअफ मन्त्रीस्तरीय राउण्ड टेवल छलफलमा सम्बोधन गर्दे अन्र्तराष्ट्रिय समुदायका माझमा नेपालको धारणा राखेका हुन् । मन्त्री जोशीले अगाडि भने – नेपालले दिगो विकासको लक्ष्य -२०३० को हासिलका लागि महत्वपूर्ण काम गर्दे आएको छ । यसको लागि हामीहरुलाई पूर्वाधार विकासमा लगानी नै प्रमुख वाधक रहेको छ, तर हामी वैदेशिक लगानीका लागि द्धिपक्षीय र वहुपक्षीय साझेदारहरु मार्फत काम गर्दे गरेका छौं । जोशीले भने – यही मार्च महिनामा हामीहरुले नेपालमा लगानी अभिवृद्धि गराउने अभिप्रायले लगानी सम्मेलन गर्न सफल भएका छौं, यसमा करिव १४ अर्व डलरको लगानीको प्रतिवद्धता हामीहरुले पाएका छौं । जोशीले विशेष आर्थिक क्षेत्र ऐन सरकारले पारित गरेको र सोही अनुसार भारतीय र चीनियाँ नाकालाई लक्षित गरेर १४ स्थानमा विशेष आर्थिक क्षेत्रको स्थापना केही वर्ष भित्र गरिने बताए । सरकारले आन्तरिक स्रोत समेत परिचालन गरेर पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दे काठमाण्डौं तराई फास्ट ट्रयाक, ७६ किमी राजमार्ग र ९०० मेगावाटको विद्युत उत्पादनको कार्य अगाडि वढेको जानकारी दिएका छन् ।

मिर्मिरे माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्दै, जेठ १७ गते बुक क्लोज

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई ५० प्रतिशत(१ः०.५ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि जेठ १७ गते कम्पनीको बुक क्लोज हुने छ ।

स्वदेशी लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी काठमाडौंको बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो ।

साझा पार्टीले भन्यो– ‘मतदाताले हामीलाई भरपर्दो राजनीतिक विकल्पका रूपमा लिए’

काठमाडौं । साझा पार्टीले मतदाताले हामीलाई भरपर्दो राजनीतिक विकल्पका रूपमा लिएको जनाएको छ । यस पार्टीको समर्थनमा ललितपुर महानगरपालिकामा उपमेयर र मेयर पदका लागि उमेदवारी दिएका क्रमशः शोभा शाक्य र रमेश महर्जनलाई असल विकल्प ठानेर विश्वास गर्ने मतदाताहरूलाई साझा पार्टीले हृदयदेखि नै धन्यवाद दिएको छ . ‘पार्टी निर्माणको प्रक्रिया सुरु गरेको दुई महिना पनि नबित्दै र कहीँ कतै सङ्गठन निर्माण नभई उमेदवारी दिँदा पनि सम्पूर्ण परिणाममा दुवै उमेदवार क्रमशः दोस्रो र तेस्रो स्थानमा आउनु भनेको मतदाताहरूले साझा पार्टीलाई एउटा भरपर्दो राजनीतिक विकल्पका रूपमा लिएको तथ्यको उत्साहजनक सङ्केत हो’ साझा पार्टीले आज जारी गरेको प्रेस विज्ञप्तीमा भनेको छ–जसरी हामीलाई मतदाताहरूले पत्याएका छन् त्यो हाम्रो लागि ठूलो उपलब्धि हो। यसबाट हाम्रै जीवनकालमा नेपाल बनाउने हाम्रो अठोट अझ दृढ भएको छ।’ शोभा शाक्यले १४ हजार २४० मत पाएकी छन् । रमेश महर्जनले १३ हजार ४५६ मत पाएका छन् । पार्टीले निर्वाचनमा मेयर र उपमेयरका रूपमा निर्वाचित भएका नेपाली काँग्रेसका चिरीबाबु महर्जन तथा गीता सत्याललाई बधाई तथा शुभकामना दिदै भनेको छ–‘तपाईँहरूको नेतृत्वमा ललितपुरबासीको सपना पुरा होस् भन्ने हाम्रो कामना छ। यस अभियानमा तपाईँहरूलाई हाम्रो तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग गर्न हामी तयार छौँ।’ यो देश बनाएरै छोड्ने अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा साझा पाटी विश्वस्त रहेको छ ।