ग्लोबल आइएमई बैंकका काठमाडौं र ललितपुरका ८ शाखा मर्ज हुने
काठमाडौं । ग्लोबल आइएमई बैंकका काठमाडौं र ललितपुरस्थित ८ वटा शाखा कार्यालय समायोजन (मर्ज) हुने भएका छन् । बैंकका अनुसार काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाभित्र एक-अर्काको नजिक रहेका शाखाहरूलाई वि.सं. २०८३ वैशाख २८ गतेदेखि एक आपसमा समायोजन तथा एकीकरण गरी कारोबार सञ्चालन गरिनेछ । समायोजनपछि सञ्चालनमा रहने शाखाबाट ग्राहकहरूले सम्पूर्ण बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार काठमाडौंका ज्ञानेश्वर, नयाँ बानेश्वर, इन्द्रचोक र बाफल-कलंकी शाखा तथा ललितपुरका खुमलटार, धोबीघाट, सुन्धारा र कुमारीपाटी शाखा समायोजन हुनेछन् । समायोजनपछि ज्ञानेश्वर र सानो गौचरन शाखा सानो गौचरन शाखामा, नयाँ बानेश्वर र शंखमुल शाखा शंखमुल शाखामा, इन्द्रचोक र असन शाखा असन शाखामा तथा बाफल-कलंकी र कलंकी शाखा कलंकी शाखाबाट सेवा सञ्चालन हुने बैंकले जनाएको छ । यस्तै, खुमलटार र सातदोबाटो शाखा समायोजन भई सातदोबाटो शाखा, धोबीघाट र एकान्तकुना शाखा समायोजपश्चात् एकान्तकुना शाखा, सुन्धारा र ग्वार्को शाखा समायोजनपश्चात् सुन्धारा शाखा, कुमारीपाटी र लगनखेल शाखा समायोजनपश्चात् लगनखेल शाखाबाट सेवा सञ्चालन हुने बैंकको भनाइ छ । यस्तै, ललितपुरतर्फ खुमलटार र सातदोबाटो शाखा समायोजनपछि सातदोबाटो शाखा, धोबीघाट र एकान्तकुना शाखा एकान्तकुना शाखा, सुन्धारा र ग्वार्को शाखा समायोजनपछि सुन्धारा शाखा तथा कुमारीपाटी र लगनखेल शाखा समायोजनपछि लगनखेल शाखाबाट बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।
स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सम्झौता
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्न वीर अस्पतालसँग सम्झौता गरेको छ । महिलाहरूमा सबैभन्दा जोखिम र डरलाग्दो रुपमा स्तन र पाठेघरको मुखको क्यान्सर फैलिन थालेपछि यसबाट जोगिन सहज होस् भन्ने उद्देश्यले वीर अस्पतालसँग निःशुल्क परीक्षण गर्नेबारे सम्झौता भएको महानगरले जनाएको छ । सोमबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र वीर अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माबीच निःशुल्क सेवा सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार वीर अस्पतालले चैत १६ गतेदेखि परीक्षण कार्य थाल्ने छ । हरेक दिन १ सय जनादेखि १ सय २० जनासम्मको परीक्षण गर्ने गरी योजना बनाइएको छ । परिक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच गरिनेछ । सुरुवाती समयमै पत्ता लागेमा अल्ट्रासाउण्ड गरिनेछ भने त्यसपछि मेमोग्राफीका लागि गरिने छ भने पाठेघरको मुखको क्यान्स परीक्षणमा एचपीभी डीएनए पिसिआर परीक्षण गरिने छ । यसमा पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिने छ । सम्झातौको क्रममा कार्यवाहक प्रमुख डंगोलले कार्यालयमा काम गर्ने, गृहिणी तथा अन्य विभिन्न पेशा व्यवसायमा काम गर्ने महिलाहरूलाई पनि परीक्षण गराउन सहज पर्ने समय तालिका मिलाउन र धेरै समय कुर्न नपर्ने व्यवस्थापन गर्न अस्पताललाई आग्रह गरेकी छिन् ।
क्युबातर्फ ट्रम्पको नजर, अर्को द्वन्द्व सुरु गर्ने संकेत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेलको मूल्य उच्च रहिरहेकै अवस्थामा स्ट्रेट अफ होर्मुज सुरक्षित बनाउन अन्य देशहरूको सहयोग जुटाउने प्रयास गरिरहेका छन् । तर मध्यपूर्वमा तनाव बढ्दै जाँदा विशेषगरी इरानले आफ्ना छिमेकीहरूलाई निशाना बनाइरहेकाले उनका आग्रहहरू अझै स्वीकार भएको छैन । र अमेरिका एउटा द्वन्द्वमा अल्झिएको भए पनि ट्रम्पले अर्को द्वन्द्व सुरु गर्ने संकेतसमेत देखाएका छन् । ट्रम्पले अन्य देशहरूले स्ट्रेट अफ होर्मुज सुरक्षित बनाउन अमेरिकालाई सहयोग गरून् भनेर गरेको आग्रहले खासै उत्साहजनक प्रतिक्रिया पाएको देखिँदैन । तर पनि उनले सोमबार पत्रकारहरूसँग आत्मविश्वासी रूपमा कुरा गर्दै सहयोग गर्न तयार भएका देशहरूको नाम चाँडै सार्वजनिक गरिने दावी गरे । यसैबीच वाशिङटनडीसीले ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ता स्थगित गर्ने सोच बनाइरहेको छ किनकि इरानसँगको द्वन्द्व लम्बिँदै गएको छ । तेलको मूल्य उच्च रहिरहँदा अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले भने, ‘वाशिङ्टनले इरानी तेल ट्यांकरहरूलाई स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत गर्न अनुमति दिएको छ, हामीले विश्वका अन्य भागमा आपूर्ति कायम राख्न यस्तो हुन दिएका हौं ।’ अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूआईटी) कच्चा तेलको मूल्य करिब २ प्रतिशतले बढेर प्रति ब्यारेल ९५.३४ पुगेको छ भने विश्वस्तरीय मानक ब्रेन्ट कच्चा तेल १.८ प्रतिशतले बढेर १०२.०२ डलर पुगेको छ । मूल्यमा आएको यो वृद्धि इरानले आफ्ना छिमेकीहरूलाई लगातार निशाना बनाइरहेकाले भएको हो । मंगलबार दुबईमा मिसाइल र ड्रोन आक्रमण भएको खबर आएको छ, जसका कारण युएईले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । यद्यपि अमेरिका इरानसँगको द्वन्द्वमा अल्झिएको छ । ट्रम्पले सोमबार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रलाई अर्को द्वन्द्वतर्फ लैजान सक्ने संकेत दिएका छन् । उनले क्युबालाई ‘लिने’ सम्मान आफूलाई प्राप्त हुने बताएका छन् । ‘म क्युबालाई स्वतन्त्र गरूँ या नियन्त्रणमा लिऊँ, म त्यससँग जे चाहन्छु गर्न सक्छु,’ उनले भने । उनको यस्तो भनाइले बजारलाई थप अनिश्चित बनाउने सम्भावना छ । क्युबातर्फ ध्यान जानु विभिन्न राजनीतिक, रणनीतिक र ऐतिहासिक कारण ट्रम्पले क्युबातर्फ ध्यान दिनुको पछाडि विभिन्न राजनीतिक, रणनीतिक र ऐतिहासिक कारणहरू रहेको विश्लेषणहरूले जनाएका छन् । अमेरिकाको फ्लोरिडा राज्यमा ठूलो क्युबाली(अमेरिकी समुदाय बसोबास गर्छ, जसले क्युबाको कम्युनिस्ट सरकारविरुद्ध कडा नीति चाहन्छ । त्यसैले ट्रम्पले उनीहरूको समर्थन पाउन क्युबाप्रति कडा अडान लिएका थिए । क्युबा अमेरिकाको अत्यन्त नजिक रहेकोले पनि यसको भूराजनीतिक महत्त्व धेरै छ र रसिया तथा चीनजस्ता प्रतिस्पर्धी शक्तिहरूको प्रभाव त्यहाँ बढ्न सक्ने सम्भावनाले अमेरिकालाई सतर्क बनाउँछ । यसका साथै क्युबन मिसाइल क्राइसिस जस्तो ऐतिहासिक घटनाले क्युबाको रणनीतिक संवेदनशीलता पहिले नै देखाइसकेको छ । ट्रम्प प्रशासनले क्युबामाथि कडा आर्थिक प्रतिबन्ध लगाएर त्यहाँको कम्युनिस्ट सरकारमाथि दबाब सिर्जना गर्ने प्रयास गरेको थियो ताकि राजनीतिक परिवर्तन सम्भव होस् । खार्ग टापु : अमेरिका–इरान द्वन्द्वको नयाँ ‘कुरुक्षेत्र’ के इरानले ‘स्ट्रेट अफ हर्मुज’ इजरायल र अमेरिकाका लागि मात्र बन्द गर्न सक्छ ? युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली
रास्वपाका नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण तालिम सुरु हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम मंगलबार सवा ११ बजे सुरु हुने भएको छ । रास्वपाका नवनिर्वाचित सांसद प्रतिभा रावलका अनुसार नवनिर्वाचित सांसदहरू आउने क्रम जारी रहेको छ । १८२ सिटको आधारमा सरकार गठनको तयारीमा जुटेको रास्वपाले आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहितासम्बन्धी ज्ञान अभिवृद्धि गर्न दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको रावलले बताइन् । ग्वार्कोस्थित होटल रोयल टुलिपमा भइरहेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिने रावलले जानकारी दिइन् । रावलका अनुसार अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली, जनप्रतिनिधिको भूमिका र जिम्मेवारीसँगै पार्टीले अघि सार्ने नीतिगत दिशाबारे विस्तृत प्रशिक्षण प्रदान गरिनेछ । अभिमुखीकरण कार्यक्रम आवासीय हुने रावलले जानकारी दिइन् । कार्यक्रममा मोवाइलसहित सञ्चारका साधनहरूलाई निषेध गरिएको छ ।
सुनचाँदीको मूल्यमा बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ४ सय र चाँदी ७० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार (आज) छापावाल सुनको मोल प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ३ सय ३५ रुपैयाँ निर्धारण भएको छ । हिजो (सोमबार) छापावाल सुनको मोल प्रतितोला ३ लाख ९ हजार ५सय कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार २ सय ६५ रुपेयाँ निर्धारण भएको थियो । गत आइतबार १ तोला सुन ३ लाख ९ हजार ४ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औंस सुन ५ हजार ३० र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मेरो किसानले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । नेपालको कृषि क्षेत्रलाई प्रविधिमार्फत आधुनिकीकरण गर्ने लक्ष्यका साथ सञ्चालित मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । सोमबार कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुवै कम्पनीबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मेरो किसानले किसानहरूसँग प्रत्यक्ष सहकार्य गरी कृषि बीउ-बिजन उत्पादन, संकलन, भण्डारण र वितरणको कार्य गर्दै आएको छ । कम्पनीले डिजिटल प्लेटफर्मको माध्यमबाट उत्पादित कृषि उपजहरू सिधै उपभोक्तासम्म पुर्याउने कार्यलाई प्राथमिकता दिँदै आएको छ । सेयर निष्कासनपश्चात् कम्पनी पूँजी बजारमार्फत सर्वसाधारणसँग जोडिने र यसले कृषि प्रधान देश नेपालको कृषि क्षेत्रमा थप लगानी र विस्तार गर्न ठूलो सहयोग पुग्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् । कम्पनीले आफ्नो व्यावसायिक योजनाअन्तर्गत चितवनको पटिहानीमा करिब ३.५ बिघा जग्गा खरिद गरी कृषि प्रशोधन केन्द्र र दूध डेरी निर्माणको कार्यलाई तीव्र गतिमा अगाडि बढाएको छ । हाल संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्रै कृषि प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने कम्पनीको लक्ष्य छ । साथै आगामी आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आधुनिक दूध डेरी समेत सञ्चालन गर्ने तयारी भइरहेको छ । हस्ताक्षर कार्यक्रममा मेरो किसान लिमिटेडका तर्फबाट अध्यक्ष विष्णुमणी गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालकहरू सुनिल थापा र सन्तोष बस्नेतको उपस्थिति रहेको थियो । त्यस्तै, प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया र विशिष्टिकृत लगानी कोष प्रमुख सुदीप हरि ढुंगानाको उपस्थिति रहेको थियो ।
पोलले रोकेको पृथ्वी राजमार्ग विस्तार: नागढुङ्गा-मुग्लिन खण्डमा काम ठप्प
काठमाडौं । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन् । सडकको छेउकुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुङ्गा-मुग्लिन सडक आयोजनाको काम बाधा पुगेको हो । विशेषगरी नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने नौबिसेदेखि धार्के बजार क्षेत्र, गल्छी गाउँपालिकाको बन्छेटार, जरेखेत, बेल्खु र गजुरी गाउँपालिकाको घाटबेँसी, पोखरेखोला हुँदै गजुरी बजार आसपासमा विस्तारको काम द्रुतगतिमा अघि बढ्न सकेको छैन । आयोजनाका पूर्वी खण्डका इन्जिनियर केशवराज ओझाका अनुसार विद्युत् प्राधिकरणले पोल सार्न ढिला गरिदिँदा काम नै रोक्नुपर्ने अवस्था आएको छ । सडक आयोजनाले काम गर्ने क्रममा कतै पोल गाडिएको ठाउँलाई छाडेर चारैतिर कालोपत्र गरिसकेको छ भने कतै ग्राभेल बिछ्याएरै काम अधुरो छाडिएको छ । कतिपय ठाउँमा पोल गाडिएको चारैतिरको भाग खनेर पोलमात्र अलपत्र पारिएका कारण दुर्घटनाको जोखिमसमेत उच्च भएको छ । सडक विस्तारका क्रममा सार्नुपर्ने बिजुलीका पोल सार्ने खर्च सडक आयोजनाले व्यहोर्नेगरी सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश प्रादेशिक कार्यालयबीच सम्झौता भए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । प्राधिकरणले पोल सार्न ठेकेदारलाई जिम्मा दिएको र ठेकेदारले काममा ढिलाइ गरेको हो । पूर्वी खण्डमा सार्नुपर्ने करिब ५०० पोलमध्ये अब करिब १०० जति पोल सार्न बाँकी छ, तर तिनै पोलका कारण मुख्य खण्डको काम प्रभावित भएको पूर्वी खण्डका इन्जिनियर ओझाको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश, प्रादेशिक कार्यालयका इन्जिनियर शेरबहादुर सुनारले भने पोल सार्न ढिलाइ नगरेको र काम भइरहेको दाबी गरे । ‘काम भइरहेकै छ, व्यावहारिक कठिनाइ हो । ठेकेदारसँग बुझेर मात्र थप कुरा भन्न सकिन्छ’, उनले भने । काम गर्ने निकायहरूबीचको समन्वय अभाव र ठेकेदारको ढिलासुस्तीले राष्ट्रिय गौरवको आयोजना त्यसमाथि पनि राजमार्गजस्तो संवेदनशील क्षेत्रमा विकासको काममा अवरोध पुग्नुका साथै यात्रा जोखिम बन्दै गएको छ ।
प्रधानमन्त्रीले गरेको विवादित नियुक्तिमा रास्वपाले जवाफ खोज्ने, ‘निर्णय पुर्नविचार गर्नुपर्छ’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको कार्यकाल सकिने केही दिनमात्रै बाँकी रहँदा गरेको नियुक्तिका विषयमा अहिले आलोचना भइरहेको छ । प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ नजिक बहुमत ल्याएर नयाँ सरकार बनाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको रायबिना प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभा सदस्यका लागि वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति दिएपछि यो विषयको आलोचना भइरहेको छ । सरकारको नेतृत्व गरेर शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउन भूमिका खेलेको भन्दै वाहवाही पाएकी प्रधानमन्त्री कार्कीले अन्तिम अवस्थामा आफ्नो नजिकको पात्रलाई नियुक्ति दिइएको भन्दै सर्वत्र आलोचना भइरहेको हो । विगतका सरकारले आफ्ना आसेपासेलाई नियुक्ति दिएको स्मरण गराउँदै वर्तमान अन्तरिम सरकारले पनि सोही व्यवहार देखाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । यस विषयमा रास्वपाको चासो बढेको बुझिएको छ । रास्वपा प्रवक्ता मनिष झाले रास्वपाले सरकारको नेतृत्व गर्ने तयारी गरिरहँदा अन्तरिम सरकारबाट भएको विवादित नियुक्तिको विषयमा चासो बढेको बताए । उनले भने, यी नियुक्तिहरू अहिले नगर्दा हुन्थ्यो वा आगामी सरकारले निष्पक्षताका आधारमा यो गर्दा राम्रो देखिन्थ्यो, त्यसैले पनि आलोचना भएको हुन सक्छ,’ उनले भने यस विषयलाई रास्वपाले गम्भीरताका साथ लिएको छ ।’ यस विषयमा रास्वपाकै नेताहरूले पनि आलोचना गरिरहेका छन् । गुल्मीबाट निर्वाचित सांसद सागर ढकालले प्रधानमन्त्रीले गरेको गल्ती सच्याउनुपर्ने माग राखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्, ‘जाँदा जाँदै हिजो गरेका निर्णयमा भएको गल्ती सच्याउनुहुने छ भन्ने कामना गरेका छौं । न कुनै विज्ञता, न अनुभव । मात्र योग्यता प्रधानमन्त्रीको स्वकीय सचिव । यत्तिको आधारमा प्रकृति संरक्षण कोषजस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र ?’ रास्वपाकै केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पनि प्रमुख स्वकीय सचिवलाई दिइएको नियुक्तिबारे आलोचना गरेका छन् । जेनजी अभियान्ता समेत रहेका उनले भनेका छन्, ‘हामीले सडकमा उठाएको आवाज सत्ता परिवर्तनका लागि मात्र थिएन । सत्ता अभ्यासको संस्कार बदल्नका लागि थियो । त्यसैले आज पनि हाम्रो प्रश्न उही छ, राजनीति आदर्शको आधारमा चल्ने हो कि कृपाको आधारमा ?’ रास्वपाकै पूर्व नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पनि यो नियुक्तिको खुलेरै आलोचना गरेकी छन् । उनले भनेकी छन्, ‘अरूले गरे नातावाद, कृपावाद, नेपोबेबी । आफूले गरे योगदानको कदर । अरूले गरे भागबन्डा । आफूले गरे जिम्मेवारी बाँडफाँड । अरूले गरे नुनको सोझो-सेटिङ । आफूले गरे पारस्परिक सम्बन्ध । अरूले गरे जे कुरामा पनि विरोध । आफूले गरे मिहीन/रचनात्मक खबरदारी ।’ रास्वपाले भने यस विषयमा प्रधानमन्त्री कार्कीसँग समन्वय गर्ने तयारी गरेको छ । प्रवक्ता झाले रास्वपाले प्रधानमन्त्री कार्कीलाई सन्देश पठाउने योजना बनाएको बताए । उनले यो नियुक्तिमा पुनर्विचार गर्नुपर्ने धारणा राखे ।