चितवनमा ५० करोडमा रङ्गशाला बन्ने
चितवन । पश्चिम चितवनको चित्रवनमा अत्याधुनिक सुविधासहितको रङ्गशाला निर्माणको काम अघि बढेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत रु ५० करोड बजेट दिलाउने र तत्कालका लागि रु ५० लाख पठाउने आश्वासनसँगै काम अघि बढेको हो । जिल्ला समन्वय समितिमा रु ५० लाख थप बजेटका रुपमा निकासा भइसकेको छ भने अरु रकम पूरक बजेटमार्फत बहुवर्षीय योजनामा पार्ने बताइएको छ । चित्रवन रङ्गशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र गुरुङका अनुसार दाता र सरकारी निकायबाट प्राप्त रकमले सुरुवाती काम भइरहेको छ । भरतपुर महानगरपालिका वडा नं २० को नयाँबजार नजिकै १० बिगाहा जग्गामा रङ्गशाला निर्माण थालिएको हो । रङ्गशालामा फुटबल र क्रिकेटका लागि छुट्टाछुट्टै मैदान निर्माण गरिनेछ । चित्रवन रङ्गशाला निर्माण उपभोक्ता समितिका सचिव टिएम गुरुङका अनुसार चार बिगाहा १० कट्ठा जग्गामा फुटबल खेल मैदान र पाँच बिगाहा १० कट्ठामा क्रिकेट मैदान बन्नेछ । साथै, रङ्गशालामा एथ्लेटिक्सका लागि ट्र्याक पनि निर्माण गरिने टिएमले बताए । उनका अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट प्राप्त रु १० लाखले फुटबलको प्यारापिट बनाउने काम भइरहेको छ । रङ्गशालाका लागि अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली महासङ्घका सदस्य सोम सापकोटासहितले रु नौ लाख विभिन्न देशबाट सङ्कलन गरिसकेको बताए। श्री टिएमले क्लिनिक नेपालका हरि भण्डारीको पहलमा रु १० लाख रङ्गशालालाई प्राप्त हुने आश्वासन आएको बताए । चितवन सोसाइटी जापानबाट रु दुई लाख प्राप्त भइसकेको छ । रङ्गशालाको नक्साङ्कनको काम सम्पन्न भइसकेको बताउँदै उनले फुटबलको प्यारापिटमा १४ हजार दर्शक बसेर खेल हेर्न मिल्छ भने क्रिकेटको स्टेडियममा २० हजारभन्दा बढी बस्न मिल्ने बताए । रासस
गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०९९ रुपैयाँ
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०९९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ७४६ रुपैयाँ रहने भएको छ ।
ओम डेभलपमेन्ट बैंकको सेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल नियुक्त
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब यस कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईबिएल क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । बैंकको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटमा रहेको एनआईबिएल क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो ।
चुडामणि शर्मालाई छुटाउन दिल्लीका नेतालाई गुहारेर फर्किए पत्रकार ऋषि धमला
काठमाडौं । पत्रकार ऋषि धमला अचानक दिल्ली पुगेर नेपाल फर्किएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेपछि उनलाई छुटाउने दाैडदूपकाे क्रममा उनी भारतीय नेताहरुलाई भेट्न दिल्ली गएको श्रोतले बतायो । श्रोतका अनुसार धमलाले दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंह, भाजपाका नेता भगतसिंह कोशियारी लगायतलाई भेटेर चुडामणी शर्मालाई जोगाइ दिन आग्रह गरेका थिए । धमलाले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुडामणी शर्माका पक्षमा बोल्न लगाउन आग्रह गरेका हुन् । धमलाले सञ्चालन गर्न लागेको प्राइम टेलिभिजनमा शर्माको समेत लगानी रहेको दावी पनि श्रोतले गरेको छ । यसैबीच धमलाले भारत गएर शर्माका पक्षमा दबाव सृजना गरेको भन्दै अख्तियारमा उजुरी परेको पनि बताइएको छ । धमलाले आन्तरिक मामलामा विदेशीलाई दबाव दिन लगाएको भन्दै शुक्रबार अख्तियारमा उजुरी परेको पनि श्रोतले बतायो । सो उजुरीका बारेमा आयोगको बैठकमै छलफल भएको समेत बताइएको छ । बिहिबार दिल्ली उडेका धमला आइतबार साँझ काठमाडौं फर्किएका छन् । शुक्रबार बिशेष अदालत काठमाडौंले शर्मालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपिदिएको थियो । पत्रकार धमला पटक पटक गैरकानुनी धन्धामा विवादमा मुछिदै आएका छन् । कहिले हतियार काण्ड, कहिले अपहरण काण्ड, कहिले यौन दुव्र्यवहार काण्ड, कहिले बलजफ्ती चन्दा असुली काण्डमा धमला विवादमा आउने गरेका छन् ।
एनबी इन्सुरेन्स कम्पनीको नयाँ शाखा ललितपुरको जावलाखेलमा संचालन
काठमाडौं । एनबी इन्सुरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९औं शाखा ललितपुरकोे जावलाखेलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् । शाखाको उद्घाटन कार्यक्रममा अध्यक्ष चापागाईले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिएका छन् । यस नयाँ शाखा सहित कम्पनीले १९ वटा शाखा, ४ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । हालै १ शेयर बराबर १ शेयरका दरले हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैयाँ पुग्ने कम्पनीले बताएको छ ।
देवःविकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने, पूँजी १ अर्ब ८० करोड रुपैयाँ नाघ्ने
काठमाडौं । देवः विकास बैंक लिमिटेडले सहारा विकास बैंक लिमिटेड प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा दुई संस्था बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा देवः विकास बैंक लि.को तर्फबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र सहारा विकास बैंक लि.को तर्फबाट संचालक समितिका अध्यक्ष सुगन्धकुमार गुप्ताले हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैकबाट जारी निर्देशन बमोजिम चुक्ता पूँजी कायम गर्न यो समक्षदारी पत्रमा हस्ताक्षर गरिएको हो । यस अधि यस बैंकले युनियन फाइनान्स लि. र साझा विकास बैंक लि. प्राप्ति गर्न समझदारी पत्रमा हस्ताक्षर गरी प्रक्रिया अगाडि बढाइ सकेको छ भने निष्काशित हकप्रद शेयर बाँडफाँड सम्पन्न भइसकेको जनाएको छ । उक्त संस्थाहरु प्राप्ति पछि बैंकको कुल चुक्ता पूँजी १ अर्व ८० करोड रुपैयाँ पुग्नेछ । यस बैंकले थप चुक्ता पूँजीको लागि अन्य संस्थाहरु प्राप्त÷मर्जर गर्ने योजना सहितको कार्यलाई निरन्तरता प्रदान गरिरहेको छ । उक्त संस्थाहरु प्राप्ति पछि नेपालको सुदुर पश्चिम तथा मध्य तराई क्षेत्रमा बैंकका शाखा सञ्जालहरु विस्तार भई नेपालभर ५१ वटा शाखा सञ्जाल पुग्नेछ । साथै, बैंकको कुल निक्षेप ११ अर्ब ५१ करोड रुपैयाँ र कर्जा लगानी १० अर्ब ०८ करोड रुपैयाँ पुग्ने छ । साथै, संस्थाको नाम देवः विकास बैक लि. नै रहने तथा संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेत देवः विकास बैंककै रहने समझदारी भएको बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको पार्वतीपुरमा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा चितवनको पार्वतीपुरमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन शुक्रबार चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले गरेका छन् । सो कार्यक्रममा गौतमले स्थानीय उत्पादनलाई प्राथमिकता दिई आयातलाई प्रतिस्थापन गरि निर्यात प्रवद्र्धन गर्नुुपर्ने, रेमिट्यान्सलाई पूँजी निर्माणमा रुपान्तरण गरि उत्पादन मुलक क्षेत्रमा लगानी गनुपर्ने बताए । जसका लागि मुक्तिनाथ विकास बैंकको भुमिका महत्वपूर्ण रहने उनले जनाए । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको विगत, वर्तमान अवस्था र बैंकको भावी रणनीतिका बारेमा चर्चा गर्नु भएको थियो । सो क्रममा उनले मुक्तिनाथ विकास बैंकले नेपाली समाजको आवश्यकता अनुसारका सेवाहरु जस्तै कृषि क्षेत्रको विकास र विस्तार, उद्योग व्यवसाय प्रबद्र्धनको लागि उपयुक्त वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको बताए । सो कार्यक्रममा स्थानीय व्यापारी, समाजसेवी, कृषक सर्बसाधारण लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । हाल बैंकले कुल ५९ वटा शाखा कार्यालयहरुबाट १ लाख भन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल ३ लाख भन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरी रहेको बताएको छ । यस विकास बैँकले हालसम्म कुल १५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । साथै बैंकले सेयर कारोवार गर्ने लगानीकर्ताहरुको लागि आश्वा (आश्वा) सेवा निःशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ ।
दुई महिनाभित्र ३५२ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन
काठमाडौं । वाणिज्य बैंकहरुले आगामी दुई महिनाभित्र ३५२ वटा स्थानीय तह (गाउँपालिका तथा नगरपालिका)मा शाखा विस्तार गर्नु पर्ने भएको छ । वाणिज्य बैंकहरुको शाखा स्थापना नभएको स्थानीय तहमा तत्काल शाखा खोल्नको लागि संसदको विकास समितिले सरकारलाई निर्देशन दिने निर्णय भएको विकास समितिका सभापति रविन्द्र अधिकारीले बताए । सोमबार सिंहदरबारमा बसेको विकास समितिको बैठकले बजेटमा व्यवस्था भएअनुसार स्थानीय तहमा बजेट निकासा गर्न वाणिज्य बैंकहरुको शाखा अनिवार्य खोल्ने व्यवस्था मिलाउन अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । समिति बैठकमा सहभागि सरकारका मुख्यसचिव, अर्थ मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयको सचिवहरुले उक्त निर्णय स्वभाविक भएको र कार्यान्वयनमा पनि लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । अर्थसचिव शान्तराज सुवेदीले स्थानीय तहका लागि सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत २ खर्ब २५ अर्ब रुपैयाँ विनियोजन गरेको, सो रकम स्थानीय तहको संचित कोषमा सोझै निकासा गर्ने व्यवस्था गरिएको र स्थानीय तहले संचित कोष खाता ‘क’ वर्गको बैंकमा मात्र खोल्न सक्ने व्यवस्था गरिएको बताएका छन् । सोही व्यवस्था कार्यान्वयन गर्नको लागि स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा अनिवार्य भएको सभासदहरुले बताएका छन् । अर्थसचिव सुवेदीका अनुसार ७४४ स्थानीय तह मध्ये हालसम्म ३९२ वटा स्थानीय तहमा मात्र ‘क’ वर्गको बैंक शाखा भएको र ३५२ वटा स्थानीय तहमा अझै ‘क’ वर्गका बैंक नपुगेको बताए । विकास समितिको निर्णय र निर्देशन अनुसार २ महिनाभित्र ती स्थानमा वाणिज्य बैंकहरुलाई शाखा खोल्ने व्यवस्था राष्ट्र बैंक मार्फत गरिने उनले बताए ।