विकासन्युज

नागरिक लगानी कोषले वाईडबढी एयरबस खरिदको लागि १२ अर्ब ऋण दिने

काठमाडौं । नागरिक लगानी कोष र नेपाल बायु सेवा निगमबीच वाईडबढी एयरबस (ए३३०-२००) जहाज खरिद गर्ने योजना अनुसार कोषले एउटा वाइड बढी एयरवस खरिद गर्न ऋण दिने सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रवन्धक सुगतरत्न कसांकारले हस्ताक्षर गरेका छन् । नेपाल सरकारको जमानतमा कोषले जहाज खरिदको लागि १२ अर्ब रुपैया ऋण दिन लागेको हो । कोषले प्रदान गर्ने ऋण रकमको ब्याजदर ९ प्रतिशत रहेको छ । त्यसैगरी जहाज खरिदको लागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो ब्यवसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने ब्यवस्था गरिएको छ । उक्त जहाज खरिदको लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि १५ बर्षको राखिएको छ । उडान क्षेत्रको ब्यवसायिक योजनामा कोषले निगमलाई ऋण दिने कार्य पहिलो पटक गरेको हो । यसबाट प्रत्यक्ष रुपमा आर्थिक सम्वृद्धि, रोजगारी सृजना, पर्यटन क्षेत्रमा थप बिकास हुने आशा कोषले गरेको छ ।

जननिर्वाचित प्रतिनिधिको तलब सुबिधा विवादः मुख्य सचिव भन्छन् ३६६३९ जनालाई रोजगारी दिन लागेका होइनौं

काठमाडौं ।‘३६ हजार ६ सय ३९ जनाले रोजगारी पाउने गरि निर्वाचित प्रतिनिधिहरुको तलब सुबिधा तोकिनु हुन्न र हामी जनप्रतिनिधिलाई रोजगारी दिने पक्षमा पनि छैनौं’, सोमबार व्यवस्थापिका संसदको विकास समिति बैठकमा मुख्य सचिव डा.सोमलाल सुवेदीले बोलेको वाक्यांश हो यो । इन्फोग्राफिक्स: सेन्टर फर मिडिया रिसर्च नेपाल त्यस्तै, संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले पनि भने–‘गाडी भाडामा लिने देखि आफु खुसी खर्च गर्ने परिपाटी बढेको छ, यहाँ स्थानिय तहलाई बदनाम गराउने षडयन्त्र भैरहेको देखिन्छ ।’ उनले एउटा जिल्लाको सिडियोले मासिक एक लाख ५० हजारमा गाडी भाडामा लिन लगाएर जनप्रतिनिधिलाई चढ्न लगाएको पनि बताए ।‘म जिल्ला र सिडिओको नाम लिन चाहान्न तर सिडिओले स्थानीय तहका कर्मचारीलाई निर्देशन दिएर मासिक एक लाख ५० हजार दस्तुर तिरेर गाडी भाडामा लिन लगाएछन्, अहिले त्यहि गाडी निर्वाचित प्रतिनिधीले चढिरहेका छन, त्यो रकम सिधै बेरुजुमा पर्छ, यस्तो कामले स्थानिय तहलाई बदनाम गराउँछ ।’ स्थानिय विकास मन्त्रालयका सचिव थपलियाले पुरानो घट्ना पनि सम्झिन भ्याए । ‘बिरगञ्जमा २०५४ सालका जनप्रतिनिधिले एक महिनामा ३४ वटा बैठक राखेर भत्ता पचाएको पनि देखियो, त्यसपछि हामीले महिनामा ३ वटा मात्रै बैठक राख्न सकिने व्यवस्था गरेका थियौं’, थपलियाले भने । उनले अहिलेका प्रतिनीधिमध्ये जनताको सेवामा पुर्णकालिन रुपमा खटिनेलाई निश्चित तलबको व्यवस्था गर्ने र अरुलाई भत्ता दिने बताए । उता, पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले सेवा सुबिधाका नाममा जनप्रतिनिधिहरुको मान मर्दन गरिएको भन्दै आपक्ति जनाए ।‘सेवा सुबिधाको बहसले हामी जनप्रतिनिधिहरुको मान मर्दन भएको छ, हामीलाई अपमानित गर्न खोजिँदैछ, हामीलाई सुबिधाको लालच छैन’, जिसीले भने । सचिव थपलियाले भने स्थानिय तहका प्रमुख र उप प्रमुख तथा वडा अध्यक्षहरुलाई निश्चित तलब सुबिधा दिने तयारी गरिएको जानकारी दिए ।‘पुरै समय जनताका लागि बिताउनुपर्ने प्रतिनिधिलाई थोरै तलब दिने कुरा भएको छ, त्यस्तो प्रस्तावको फाइल अर्थ मन्त्रालय पठाएका छौं तर अन्तिम निर्णय गरिएको छैन’, थपलियाले भने ।

मेघौली सेराईलाई रोव रिपोर्टस् वेस्ट अफदि वेस्ट अवार्ड

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सिजीहोटल्स एण्ड रिसोर्टद्वारा संचालित मेघौली सेराई ताज सफारी रिसोर्टले रोव रिपोर्टस् २०१७ को वेस्ट अफदि वेस्ट अवार्ड प्राप्त गरेको छ । मेघौली सेराईले विश्वकै उत्कृष्ट एडभेन्चर जंगल सफारी रिसोर्टका रुपमा उक्त अवार्ड प्राप्त गरेको हो । यसअघि मेघौली सेराई ट्राभल एण्ड लिजरको वेस्ट जंगल सफारी रिसोर्ट २०१७को सूचिमा परिसकेको छ । आफ्नो विशिष्ट निर्माण शैली, अत्याधुनिक संरचना र उत्कृष्ट सेवाका कारण स्थापनाको छोटो समयमै चितवनको मेघौलीमा स्थापित उक्त रिसोर्टले अन्तर्राष्ट्रिय पर्यटन बजारलाई नेपालतर्फ आकर्षित गर्न सफल भएको छ । ‘नेपाली पर्यटन उद्योगकालागि यो विशिष्ट सम्मानहो । मेघौली सेराईमार्फत् हामीले नेपालकालागि यो सम्मान प्राप्त गर्नमा योगदान गर्न सकेकोमा म प्रशन्न छु’, चौधरी ग्रुपका कार्यकारी निर्देशक एवं सिजीहोटल्स एण्ड रिसोर्टका प्रवन्ध निर्देशक राहुल चौधरीले भने, ‘यो अवार्डले हामीलाई हस्पिट्याालिटी क्षेत्रमा अझै उत्कृष्ट सेवाहरु नेपालमा भित्रयाउन प्रोत्साहन गरेको छ । आगामी प्रोजेक्टको रणनीति तय गर्दा हामीले यसलाई मनन गर्नेछौं ।’ ‘मेघौली सेराई ताज सफारी रिसोर्टले रोव रिपोर्टस्को वेस्ट अफदि वेस्ट अवार्ड प्राप्त गरेकोमा हामी गौरवान्वित छौँ । ताज ग्रुपले उच्चस्तरका गन्तब्यहरुको सिर्जना गर्दै आईरहेको छ जसमा मेघौली सेराई पनि एक हो जहाँजंगल सफारीको अद्भुत् आनन्दलिन सकिन्छ । यो रिसोर्ट जंगल सफारीका शौखिनहरुकालागि उत्कृष्ट गन्तब्य हो’, ताज होटल, प्यालेस, रिसोर्ट, सफारीका अपरेशन भाईस प्रेसिडेन्ट रोहित खोसलाले भने । प्रवन्ध निर्देशक चौधरीले हस्पिटालिटी क्षेत्रमा ताजसँग आफ्नो ग्रुपको साझेदारी विशेष महत्वको रहेको बताए । ताज र सिजीहोटल्स एण्ड रिसोर्टको साझेदारीमा विश्वकै उत्कृष्ट होटल एवं जंगल सफारी रिसोर्टहरु संचालित छन् ।

भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण गर्न आग्रह

काठमाडौं । दैवी प्रकोपपीडित तथा उद्धार सघाउ संस्था नेपालले भूकम्प पीडितलाई चिट्ठा प्रणालीबाट वितरण गरिने ट्याक्सीको नम्बरका लागि तत्काल प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण धेरै नेपालीको रोजगारी तथा गाँसबासमा असर परेको अवस्थामा सरकारले तोकेबमोजिम पीडितलाई ट्याक्सी नम्बर उपलब्ध गराउन माग गरेको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका संरक्षक दीपककुमार राउत क्षेत्रीले भूकम्पले अत्यधिक क्षति पुर्याएको १४ जिल्लाका पीडित ट्याक्सी चालकलाई ट्याक्सी दर्ता प्रक्रियाको आधारमा जिल्ला विभाजन गरी चिट्ठा खोल्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । उनले पीडितले फारम भर्नका लागि समेत अनेक कष्ट व्यहोर्नु परेको र आर्थिक व्ययभार बढेको जानकारी दिए । सो कार्यका लागि झन्डै एक लाख ५० हजारको आवेदन परेको थियो । रासस

जगदम्बा स्टील्सद्वारा राईनो ५००डी फलामे छडको उत्पादन अब नेपाली बजारमा

काठमाडौं । शंकर गु्रप अन्तर्गतको भगिनी कम्पनी, जगदम्बा स्टील्सले नेपाली बजारमा ग्यारेण्टिड डक्टिलिटी सहितको एफई ५००डी ग्रेडमा राईनो स्टील्स फलाम डन्डीको उत्पादन थालेको छ । उत्त एफई ५००डी ग्रेडमा राईनो स्टील्स फलाम डन्डीको उत्पादनका सम्बन्धमा प्राविधिक जानकारी प्रदान गर्न कम्पनीले स्वयम्भु स्थित ठुलो भर्याङ्गमा ईन्जिनियरहरुका लागि टेक्निकल मिटको आयोजना गरको हो । कम्पनीद्वारा आयोजित टेक्निकल मिटमा जगदम्बा स्टील्स प्रालिका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर आनन्द नेपालले राईनो ५००डी नेपालमा भएको अहिलेका अन्य फलामे डन्डी भन्दा भित्र र एक स्तरमाथिको गुणस्तरीय फलामे छड पहिलो पटक नेपालमा ल्याइएको जानकारी दिए । उनले उत्पादन प्रक्रिया, भौतिक तथा रासायनिक गुणको समिश्रणलगायत कारणले यो छड बजारमा उपलब्ध अन्य उपलब्ध छडभन्दा विशेष र पृथक रहेको बताए । ग्रेड एफई ५००डीमा कम्पनीले सल्फर र फसफोरसको समिश्रणको अधिकतम् ०.०७५ प्रतिशत मात्र प्रयोग गरेको छ । यसले गर्दा छड अत्यधिक मजबुत हुनुका साथै बजारमा पाइने डन्डी (एफई ५०० ग्रेड) भन्दा ३३ प्रतिशत बढी लचक हुने उनले बताए । कम्पनीका अनुसार उच्च डक्टिलिटी, लचकता र शक्ति सहितको राइनो ५००डी उच्च भुकम्पीय जोखिम भएको हाम्रो जस्तो देशका लागि अति उपयुक्त रहेको कम्पनीले बताएको छ ।

सेयर बजारमा ४९ करोडको सेयर कारोबार

काठमाडौं । सोमबारको सेयर बजारमा ४९ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बजारमा १३८ कम्पनीको ७ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९ दशमलब ९७ अंकले घटेर १५८० अंकमा झरेको छ । झण्डै दोहोरो अंकले ओरालो लागेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहकको परिसूचक ८१ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, हाइड्रो र विकास बैंक समूहको परिसूचक दोहोरो अंकले झरेका छन् भने बाँकी समूहका परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी एभरेष्ट बैंक लि प्रमोटर सेयरका सेयरधनीले ९.४५ प्रतिशत गुमाएका छन् । सो दिन कम्पनीको सेयर मूल्य १४२ अंकले घटेर प्रतिकित्ता १३६१ रुपैयाँमा झरेको छ ।

सोलुखोला–दूधकोसी आयोजना इटालियन कम्पनीले बनाउने

सोलुखुम्बु । कुल ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक साहस ऊर्जा लिमिटेडले इटालीको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ । साहस ऊर्जा लिमिटेडले सोलुखोला–दूधकोसी आयोजना इटालियन व्यवसायी कम्पनी कोअपरेटिभा मोरातोरीई सेमिन्टिस्टा डी रेभनासँग ठेक्का सम्झौता गरेको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माणका लागि रु छ अर्ब ९६ करोडमा ठेक्का सम्झौता भएको कम्पनीका प्रबन्ध निर्देशक हिमप्रसाद पाठकले जानकारी दिए । निर्माण व्यवसायीले यही महिनाको अन्त्यमा आयोजनास्थलको भ्रमणपछि निर्माण कार्य सुरु हुनेछ । “काम सुरु गरेको चार वर्षभित्र निर्माण कार्य सम्पन्न गछौँ,” पाठकले भने । आयोजना निर्माणका लागि ११ बैंकले रु आठ अर्ब ६५ अर्ब लगानी सम्झौता गरिसकेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एआइडिसिएल), राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्श(एनसिसी) बैंक, सेन्चुरी कमर्सियल बैंक, सानिमा बैंक, एनआइडिसिएल डेभलपमेन्ट बैंक, सनराइज बैंक, प्रभु बैंक र सिभिल बैंकले लगानीको सम्झौता गरेका हुन् । आयोजनाको लागत रु ११ अर्ब ८६ करोड रहेको छ । सत्ताइस प्रतिशत अर्थात् रु तीन अर्ब २१ करोड प्रवद्र्धकले स्वपुँजीका रुपमा लगानी गर्दैछन् भने बाँकी ७३ प्रतिशत बैंकको कर्जा लगानी हुने गरी सेयर संरचना तयार गरिएको छ । आयोजनाको लागत प्रतिमेगावाट रु १३ करोड ७९ लाख रहेको छ । आयोजनाबाट वार्षिक ५२ करोड आठ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)भएको छ । ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स),कम्पनी रजिष्टारको कार्यालय र वातावरण मन्त्रालयबाट अनुमतिपत्र लिइसकेको छ । आयोजना सोलुखुम्बुको तिङ्ला, कागेल र पञ्चन क्षेत्रमा पर्छ । रासस

ट्रिटन ट्यालेन्ट हन्ट २०७४ सम्पन्न, बिजेतालाई निशुल्क छात्रवृती तथा प्रमाण पत्र

काठमाडौं । तिनकुनेमा अवस्थित ट्रिटन इन्टरनेशनल कलेजको दोस्रो ट्रिटन ट्यालेन्ट हन्ट २०७४ सम्पन्न भएको छ । जस अन्तर्गत डान्स, गायन र हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जस अनुसार गायन तर्फ संजिव श्रेष्ठ प्रथम , सरोज तामाङ्ग दृतिय र अर्मन चौधरी तृतिय भएका छन् । हाजिरजवाफ तर्फ रोशन बिष्ट प्रथम, राजबाबु चौधरी दृतिय, र शिशिर दाहाल तृतिय भएका छन् । त्यसै गरी डान्स बिद्या तर्फ श्रृजना श्रेष्ठ प्रथम, श्रृष्टी खड्का दृतिय र सुनिल सिंह तृतीय भएका छन् । बिजेताहरुलाई शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले एक समारोहकाबिच सम्मान गरेका थिए । त्यसरी नै ट्रिटन ट्यालेन्ट हन्ट २०७४ को दोस्रो संकायका बिजेताले कलेजमा निशुल्क छात्रवृती पुरस्कार तथा प्रमाण पत्र पाएका छन् । स्मरण रहोस ट्रिटन कलेजले गतबर्ष देखि यस ट्रिटन ट्यालेन्ट हन्ट को आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न कलाकारहरुले आ-आफ्नो प्रस्तुती दिदैं विद्यार्थी र उपस्थित सबैलाई मनोरञ्जन प्रस्तुत गरेका थिए । कार्यक्रममा कलेजका प्राचार्य प्रा. डा. बिहारी बिनोद पोखरेल, अध्यक्ष विश्वनाथ प्रसाद शाह, सह प्राचार्य श्रीकृष्ण बिष्ट लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए।